Friday, January 30, 2009

ब्गलर मित्रहरुसँग अल्छी र दिक्कदारीको कुरा

टुप्लुक्क साहित्य संसारका दीपकजी अनलाईन देखिनुभो। केहीबेर उहाँलाई नबोलाईकन बसे। मनले धरै दिएन। 'दीपकजीबाटै कामको शुरुआत गर् केटी' मनमनै आफैलाई आदेश दिँदै दीपकजीलाई कोट्याए- 'नमस्कार दीपकजी'। मेरो दिक्कपनले जन्माएको कदमको पहिलो शिकार बन्नुभो दीपकजी (क्या भाग्यमानी हगि म) मनमनै यस्तै सोच्दै गफिनतिर लागे। त्यसबेला उहाँले पोष्ट गर्नुभएको 'माथ्लो घरको ढिकी' भन्ने कथामा मलाई केही कुरा भन्न मन थियो। त्यहीबाट कुरा शुरु भयो। हाम्रो साक्षात्कार नभएपनि ब्लगिङमार्फतै चिनैकै आडमा म भन्दैछु- दीपकजी त साह्रै 'कूल' मान्छे (चिसिएको भनेको चाहिँ हैन है फेरी)। उहाँको दिमाग चाटेर दिक्क लगाउने सोच राख्नु नै व्यर्थ हो भन्ने मलाई थाहा थियो। त्यसैले म भाग्यमानी भए भनेको क्या। यहाँ अलिकति ब्रेक लिन्छु है- दीपकजीसँगको च्याटिङबाट।

मैले ब्लगिङ शुरुगरेयता एक खालको सम्बन्ध सञ्जाल बनेको छ केही ब्लगर साथीहरुसँग। सायद प्राय ब्लगरहरुमा यो कुरा लागू हुन्छ। ती सञ्जालमध्येबाट प्रायजसो च्याटिङमा भेट हुने केही ब्लगर मित्रहरुको दिमाग चाटेको थिए मैले, केहि दिन अघिपछिको फरकमा। मलाई एकदिन साह्रै दिक्क लागेको थियो। घरी दिमाग नै खाली खाली लाग्थ्यो। घरी थुप्रै कुराहरुले जकडेको जस्तै लाग्थ्यो। केही गर्न पनि मन नपरेको अनि जे गरेपनि चित्त बुझेको थिएन। अनि त्यही बेला सोचेजस्तो काम पनि नबनेको। लास्टै बोरिङ भइराथ्यो। भएभरको झ्याउँ जति मेरै दिमागमा उम्रेको झैँ क्या। त्यसलाई हटाउने ध्याउन्नमा दिमागमा एउटा कुराले क्लिक गर्यो- दिक्क लाग्दा ब्लगर साथीहरु के के गर्दा रहेछन्? दिमाग चाटेर ब्लगमा ठेल्दिने सोचको जन्म भयो। त्यसमा तीनदिनभित्र भेटिएकालाई सोधीहाल्ने निधो गरे। को को भेटिए त मेरो 'दिक्कदारी संवाद'को सेरोफेरोमा। भेटघाट गरौ है त सामुहिक रुपमै।

अर्को ब्लगर मित्रको दिमाग चाट्ने मौका जुर्यो- CaFe मंगलम्‌का जोतारे धाइबाजीसँग। जोसँग मेरो चिनजान ब्लगिङभन्दा अगावै भएको हो। तैपनि ब्लगिङले हामीबीच थप नजिकको साइनो गाँस्न टेवा दियो। उनी अनलाईन देखिनासाथ मैले च्याप्पै पक्रे- 'तपाईसँग केही कुरा सोध्नुपर्ने छ'। 'अप्ठ्यारो मान्नुपर्दैन' सजिलै अनुमति पाए। के के न सोध्न लाग्यो भन्ने भयो उहाँलाई। 'अल्छी लाग्यो भने तपाई के गर्नुहुन्छ नि?' अल्छी लाग्नु त मानव स्वभावै हो भन्ने मान्यतासँगै सबैलाई कुनै न कुनै बेला त अल्छी लागी नै हाल्छ भन्दै मैले सोझै प्रश्न फ्याँके। 'लौ!' आश्चर्यजनक उत्तरले मेरो अनुमान सही निस्क्यो। एकछिन उहाँको चालचुल देखिन।

'चुपचाप बस्छु, अल्छी कहिले जान्छ भनेर। या त टहलिन कतै निस्किन्छु' बल्ल बल्ल भेट्दा नि कस्तो बाहियात कुरा गरेको होला भन्ने मनगर्दै एकैछिन सोचेर भन्नुभयो उहाँले। 'कुनै काम नभएपछि बहानाबाजीको रुपमा पनि अल्छी लाग्दोहोला कि??' किन अल्छी लाग्दो हो भन्ने मेरो जिज्ञासामा भन्नुभो उहाँले। 'अनि दिक्क नि?', 'दिक्क? तपाईले यसरी नै के के सोधीराख्नु भयो भने लाग्छ... हा हा हा...' मलाई स्वाद पर्यो। किनकी मैले अपेक्षा गरेकै जबाफ आयो (मेरो हेराईमा इमान्दारिता पनि देख्छु यो शब्दमा)। फेरी दिक्क पार्ने मनसायले भने- 'के था यो तपाईको धैर्यताको परिक्षाको घडी पो हो कि?', 'के था, त्यो उदाहरण पनि तपाईको प्रश्नकै एउटा नमूना कसो नहोला?' ए बा उहाँले त ठ्याक्कै बुझेरै उत्तर दिनुभो। फेरी पनि मैले सोध्न छाडिन- 'टिप्स त दिनुस् न केही'

'धुम्धुम्ती बस्नु, अध्यात्मिक किताब पढनु, वा मन बहलाउन नजिकको रमाइलो ठाउँतिर जानु या मनमिल्ने साथीसँग कुरा गर्नु'। लौ जा दिक्क लाग्दा यत्तिका कुरामध्ये एउटा गर्दा त कसो केही न केही नहोला हगि? अनि दिक्क पनि भाग्न सक्ला? 'भाग्न सक्छ। ग्यारेण्टी त छैन। मान्छेपिच्छेको स्वभाव हुन्छ नि।' हो त नि। कसैलाई के ले छुन्छ। कसैलाई के ले। कसैलाई त्यसैले। कसैले अर्कैले। धाइवाजीको कुरोमा दम छ। त्यसो त एउटै मान्छेमा पनि यही कुरा लागू हुन्छ नि। सँधै एउटै कुरा गर्दा मात्रै पनि दिक्कपना नभाग्न सक्छ। धाइवाजीले पनि यही कुरा भन्नुभो। क्या गाह्रो कुरो हगि?

'तपाईसँग केही कुरा सोध्नुपर्नेछ भन्नुहुन्थ्यो। खास कुरा यही नै हो त? म त जिल्ल परे नि!' लौ खा त मैले दिमाग चाटेर अलमलमै पारेछु। म आफै हाँस्दै लेखे- 'हो नि त। अहिलेलाई मेरो लागि यहि कुरा थियो दिमागमा। अनि त'। क्या सजिलो कुरा। दिमागमा जे आयो त्यही सोधे मैले। के फरक पर्यो र। फेरी फेरी वार्ता जारी रहने कुरासँगै बिदा हुने कुरा गर्न थाल्नुभो धाइवाजीले। दिमाग चाट्नुको आशय खोल्दै थोरै संकेत दिए। नत्र फेरी दिक्क मानेरै बस्नुहोला भनेर पनि कुरा फुकाए (साथीहरुको दिमागमा दिक्कपन पैदा गरेर छाडेभने त म आफै दिक्क हुन्छु फेरी)। सटिक जवाफ दिनुभो 'सायद कुटीमार्फत नै!'। कुटीमार्फत नै दिमाग चाटेको कुरा बाहिर आउँछ भन्ने पनि सोच्न भ्याउनुभएछ। साह्रै जाती।

मेरो प्रश्नले झ्याउ उम्रेर गायब भएको हो कि भन्ने पारेरै अफलाइन हुनुभएको अर्का ब्लगर दाई हुनुहुन्छ- दुम्माली दाई। २ महिनापछि कसो कसो गर्दा अनलाईन भेटिनुभो। ब्लगिङ सुस्ताएको बारेमा उहाँले भन्नुभयो- '९०% भुँडी भर्ने ब्यस्ततामा बित्छ समय। १०% मा के के मात्रै गर्नु' अहो कस्तो खँदिलो क्यालकुलेसनयुक्त व्यस्त दिनचर्या। कुरै गर्न पनि मुश्किल। भएनि मैले अल्छिको कुरा कोट्याए। केहीबेरसम्म जवाफ आएन। त्यसपछि उहाँ अफलाईन हुनुभो। त्यही दिन पुनः अर्को पल्ट हाम्रो भेट भयो। फेरी मैले त्यही प्रश्नको तगारो लगाए। हालचालको प्रसंगमा त फ्याट्टै फ्याट्टै शब्दको लेनदेन भाको थियो। अल्छीको सन्दर्भमा भने दुबै पल्ट मौन रहनुभयो। के थाहा? मान्छेलाई कत्रो कत्रो काम फत्ते पार्ने चटारोमा यो कैलाश चाहिँ नानाभाँती कुरा सोध्दै बस्छ, भन्ने सोच्नु भयो कि त? या त लोडसेडिङको मायाजालमा फस्नुभयो कि?

ढेन्टेडेन.........।

अब दीपकजीको Cool अवस्थामा जाउँ। त्यस्तैउस्तै कुराकानीको बीचैमा मैले प्रश्न तेर्याए। उहाँले मजाले भन्नुभयो- 'म त You Tube मा छिर्छु, र कि त बिसमिल्लाह खानको सहनाई सुन्छु। कि चाहिँ गजलहरु सुन्छु' एकैछिनपछि मेरो स्क्रीनमा पुन ठेलेर पठाउनुहुन्छ- 'कि बासुरीका धुन, तबलाको धुन सुन्छु' अहो मधुर धुन र मधुर संगीतसहित अल्छीको सेलिब्रेसन। मलाई त्यो शब्द पढ्दैमा रमाइलो लाग्यो। फेरि कति मजाले खुरुखुरु जवाफ दिइहाल्नु भो। 'हुन त अल्छी लाग्यो भने जे गरेनि हुन्छ है'। दिक्क लागेको बेला भएनि मलाई रमाइलो लाग्दै थियो कुराकानी। अल्छी लाग्नु त उहाँको लागि सबैभन्दा सजिलो कुरा पो रहेछ बाबै। 'खासमा भन्ने हो भने अल्छी लाग्नु जत्तिको सजिलो केही हुँदैन क्या जिन्दगीमा। जे गरेनि भयो। अल्छी लागेकै त हो नि' लौ जा अल्छी जाबो त हो नि के फरक पर्यो र? जाबो अल्छी मार्ने सय उपाय भनेझैँ।

आफूले १६ घण्टे लोडसेडिङको मार खेपीरहेको बेला सबै विद्युतीय र नेटकै खुराकको कुरा गर्नुभो दीपकजीले। हत्त न पत्त भनिहाले- 'ती सब त विद्युतिय माध्यमबाट सञ्चालित हुन्छन्'। त्यसको जवाफमा अर्को कुरा फुत्कियो- 'गीत गाउने। म त्यो पनि गर्छु'। यति भनिसकेपछि मैले भने- 'ब्लगरहरुलाई अल्छी लाग्यो भने के के गर्दा रहेछन् भन्ने जान्न मन लाग्या थियो। तपाईबाटै शुरु गरिहालेछु बा'। 'हा हा हा' मजै मानेर हाँस्नुभो क्यारा दीपकजी (भलै त्यो देख्न असक्षम थिए म)। 'यो कैलाश भन्ने जन्तु पनि के के गरिहिड्छ' भन्ने सोच्नुभो सायद भन्ने पनि अनुमान लगाए मैले। उहाँ हाँसेको कल्पना गर्नासाथ मलाई दिक्कदारीको झ्याउपनाबारे कोट्याउने मन भयो। 'तर नि दीपकजी दिक्क लाग्नु र अल्छी लाग्नु अलि भिन्नै कुरो हैन र?'

'हो त' दिक्कपना र अल्छीपनाको फरक अवस्थालाई उहाँको दिमागले उहिल्यै मजाले खुट्टाइसकेछ। 'अल्छी लाग्दा त सजिलो पो हुन्छ। दिक्क लाग्यो भने चाहिँ अप्ठ्यारै हुन्छ' उहाँको झटपट उत्तरले यही बुझे। मलाई पनि ठ्याक्कै यस्तै लाग्छ। यहाँनेर आइपुगेपछि दीपकजी मेरो प्रश्नप्रति पुन सचेत बन्नुभो- 'तपाईले के पो सोध्नु भाथ्यो?' मैले दिक्क लाग्दाको कुरा सोधेको बताएपछि- 'मैले त अल्छीमा लगेर पो मिसाइदिएछु'। उहाँको यो कुरा पढेपछि पो म झसंग भए र टाइप गरे- 'ए ला! बा तपाई निकै ब्यस्त पो हुनुहुन्थ्यो कि? मैले भुसुक्कै पारे क्यारा'।

'दिक्क लाग्दा त अल्छी लागेको हुँदैन नि। मनपर्ने खानेकुरा बनाएर खाने नि, चट्ट अमिलो-पिरो-नुनिलो-गुलियो सब मिलाएर। पिरोले कानको जरी नै तताउने पारे नि हुन्छ' लु खा अल्छी लाग्दा पो काम गर्न जाँगर चल्दैन त। दिक्क लाग्दा त चल्छ नि। त्यसैले दीपकजीको यो टिप्स पनि लागू हुन्छ नि धेरैलाई। उहाँको कुराले मलाई नि हाँस उठ्यो र हाँसे- 'हे हे हे'। बिजुली जाने बेला भयो। मलाई अरु कुरा नि सोध्नु मन थियो दीपकजीसँग। तर बाध्यता। जाहेर गरे- 'ला दिपकजी बिजुली जान लाग्यो १ मिनेट समय मात्र बाँकी भो'। बाँकी रहेको समयको भरपूर उपयोग गर्दै मैले दीपकजीसँग मेरो आशय बताए। उहाँले भन्नुभो- 'मैले लख काटीसके एकछिन अगाडि', 'क्या बाठो बाई, तपाई त' भनीहालु जस्तो।

अर्को दिन भोजपुरे ब्लगका बिजे बान्तावा भेटे। हरियो बत्तीमा पिल्पिलाउँदै गरेका। उहाँसँग पनि ब्लगिङले नै नाता जोडेको हो। संयोगबस उहाँ र म एउटै गाविसका र एउटै स्कूलमा १२/१३ वर्ष पहिले पढेका रहेछौ। उहाँलाई पनि अठ्ठाए उसैगरी। क्या संयोग, अल्छी र दिक्कपना दुबैको पोखरीमा चुर्लुम्म डुबेर बसीराख्नु भएको रहेछ। मेरो प्रश्न झर्न नपाउँदै भन्नुभो- 'धेरै नै लाग्छ। अनि चुपचाप बस्छु। मौन रहन्छु' अल्छीले उहाँको त हातै लाग्दैन रे। केही नै गर्न मन लाग्दैन रे। लु खा। उहाँको च्याटिङको वेग हेर्दा नि त्यो त प्रष्टै थियो। कहिले झटपट जवाफ लेखीहाल्ने। कहिले थुप्रै समय कुराउँने। मैले झक्झकाइन भने त हरियो बत्ति बालेर मौनधारण नै गर्ने। सायद अल्छी भगाउँने तरकीपको खोजीमै हुनुहुन्थ्यो कि। निकैबेरपछि मलाई नै सोध्नुभयो- 'के पो गर्नु हौ बैनी? तपाई नै भन्नु न' मैले दिएको सल्लाहले पनि उहाँलाई कही लगेन। 'किन-किन अल्छी पनि अनि दिक्क पनि सँगै लागेर आउँछ कहिलेकाही' दिक्दारी पारामा नाक खुम्चाएकै गन्ध आयो। अहो च्याउँ-झ्याउँ सँगै पलाएछ। दिपकजीले भनेको 'सजिलो अल्छीपना' बिजेजीको लागि साह्रै असजिलो मोडमा पो पुगेको बेला परेछ। त्यसमाथि दिक्कदारीपनाले समेत घर्लप्पै छोपेको छ। बब्बालै दिक्क लागेको हो कि क्या हो भन्ने मेरो सोधाईले दिक्कपनाको जालोबाट फुत्किएझैँगरी भन्नुभो- 'अब के अपडेट हुनेवाला छ?', 'त्यही सामाग्री त जोड्दैछु नि म'। 'ए हो, ल ल। स्वादिलो लिएर आउनु है' दिक्कपना भाग्नेखालको है भन्ने मनसाय राख्दै फेरी ठेल्नुभो- 'सरी है झ्याउँ कुराको लागि'। झ्याउ लागेको बेला भएनि सरी भन्ने जाँगर चाहिँ कहाँबाट आएछ त? म हाँस्दै थिए यस्तै सोचेर। उहाँ बिलाउनुभो आफ्नै दुनियाँमा। थाहा छैन उहाँलाई कत्तिको स्वादिलो लाग्ने हो यो पोष्ट।

Hm....के बाँकी रह्यो? अँ। म के गर्छु अल्छी लाग्यो भने? गीत सुन्दै मजाले लमतन्न परेर सुत्छु। पूरै शरिरलाई कहि कतै पनि कुनै खालको जोर नदिईकन स्वतन्त्र छाडिदिन्छु। दिमागलाई गीतमै केन्द्रित गर्छु। बिस्तारै अल्छी हट्दै जान्छ। अनि बज्दै गरेको गीतमा स्वर खाप्न थाल्छु। धेरथोर समय खर्चेर अल्छी मर्यो भने उठेर गीतको धुनमा हल्लिन थाल्छु। बस्। अनि दिक्क लाग्यो भने चाहिँ अलिक गाह्रै पर्छ। दीपकजीले भनेझैँ। दिक्दारीपनलाई फकाउन म अनेकै गर्छु। दिक्क लाग्नुको कारण र वरपरको वातावरणअनुसार म थुप्रै कुरा गर्छु। हेर्न मन परेको फिल्म या डकुमेन्ट्री खोजेर हेर्छु। कुनै साथीसँग घुम्न निस्किन्छु। कुनै पाचके गफ (जे पायो त्यही खालको)मा भुलिन्छु। विभिन्न खालको गीत सुन्छु। डायरी लेख्छु मनमा जे आयो त्यहीबारेमा। लेखीसकेपछि मन परेन भने च्यातिदिन्छु। साथी या आफन्तसँग सल्लाह मिलाएर कुनै परिकार बनाएर खान्छु। भएभरको कपडा निकालेर आफ्नो ज्यानलाई प्रयोगशाला बनाउँछु। यी सबै चाहिँ मेरो निर्णयको अनुकूल वातावरणमा हुने कुरा भए। यदि त्यसो नहुने भएमा जे गर्नुपर्ने हो त्यही काम जबर्जस्ती आफैलाई पेलेरै गरिरहन्छु। गरिरहन्छु। गरीरहेकै कामबाट छुटकारा नपाएर दिक्क लागेको भन्ने नलागुञ्जेल गरिरहन्छु। त्यसो लाग्न थालेपछि त्यो कामबाट छुटकारा पाउनासाथ दिक्दारीपना धेरै कम हुन्छ। अनि अरु त्यस्तै उस्तै कुराले थपथाप पेलिदिने। बस्। आखिर दिक्क पनि आफ्नै हो। अल्छी पनि आफ्नै हो। लाग्छ। हट्छ।

नोटः यो टाँसो तयार पार्ने क्रममा अप्रिय या झिँझट लागेको पनि हुनसक्छ साथीहरुलाई। त्यसो भएको भए माफ गर्नुहोला। यहाँ समेटिनुभएका ब्लगर मित्रहरुलाई धन्यवाद। अझ धेरै ब्लगर मित्रहरुको कुरा राख्ने मन हुँदाहुँदै पनि त्यतातिर गईन। एक, ब्लगर मित्रहरु सबै व्यस्त हुनुहुन्छ। दुई, नाई नाई भन्दाभन्दै भएभरको सबै खाई भनेझैँ मेरो लेखाईको डोरी असाध्यै तन्किने। त्यसै त यत्तिका विधि लामो भो। पढ्नेलाई अल्छी मात्रै हैन दिक्कदेखि पनि महादिक्क लाग्न सक्छ। यस्तै खालका अरु टाँसो राख्ने नराख्ने बारेमा तपाई मित्रहरुकै विचारले निर्धारण गर्नेछ।

Tuesday, January 27, 2009

एक दिनको हाईकिङ र 'काकाकोला'को रमाइलो

धेरै जनाको समूह, तन्नेरीदेखि पाकासम्मका व्यक्तिहरु। एकै गन्तव्यमा हिडेका। न देशको राजनीतिप्रतिको चिन्ता। न जलविद्युतको अभावप्रतिको टेन्सन। न कैयौ दिनदेखि नउठाइएको फोहोरको डंगुरको चिन्ता। न अरु खालको समस्याग्रस्त दिमाग। एकदिन भएनि खुला र स्वतन्त्र मन। मजासँग गाउँ नि हेर्ने। रमाइलो नि गर्ने। उपत्यकामा खुम्चिएको ज्यानलाई यसो तानतुन पनि पार्ने। अनि आ-आफ्नो पाराले मजा लिने। आहा! क्या मस्ती। ६०/६५ जनाको जमात एउटै गाडीमा कोचिएर पनि खूब रौसीरहेका हामी। पुसको जाडो भएनि हूलमूल र मनमा पलाएको एकप्रकारको जोशले गर्दा होला खासै चिसो महशुश भएन। कोही खाँदिएर २ जनाको सिटमा ४ जना बसेका। कोही थाँक्रोमा झुण्डिएका सर्लक्क सर्लक्क काक्रोझैँ बसको डण्डी समाएर झुण्डिएका। झुण्ड झुण्डमा आ-आफ्नै तालमा रमाउँदै अघि बढिरहेका हामी। म कुरा गर्दैछु गत पुस २८ गते शनिबारको दिन धुलीखेल-देवीथान-काभ्रेभञ्याङ-नमोबुद्ध हुँदै पनौतीसम्मको हाईकिङको।

२० देखि ६० वर्षसम्मका व्यक्तिहरु टोलीमा सामेल थियौँ। त्यसैले पनि यात्रा रमाइलो र रोचक हुने सबैको ठहर थियो सायद। यात्राको संयोजकको भार उठाएका विमल दाई चाहि को को आए, को को बाँकी रहे भन्ने बारेमा खैलाबैला गर्दै थिए। निर्धारित समयभन्दा ढिला पुगेकोमा केही साथीहरुले भित्तामा टाँस्ने पोष्टरै बनाउँला जत्तिकै रमाइलो पारामा टाँग्न खोजे मलाई। अनि शुरु हुन्छ हाम्रो यात्रा।

गत सालको भन्दा नयाँ नयाँ अनुहार थुप्रै थपिएका थिए यसपाली। गाडी आफ्नै गतिमा गुड्दै थियो। हामी घुम्न निस्केका मनुवाहरु आ-आफ्नै सूरमा बुद्धि बिलासिता गर्दै, कुराकानीमा चटनी थप्दैखेरी थाहै नपाई धुलीखेल पुग्यौ। त्यहाँ पुगेपछि यात्रामा च्यापु हल्लाउन केही फलफुल र खानेकुराको जोहो गरेर पोको पन्तुरा कसियो र लागियो देबीथानको उकालोतिर। तब हाइकिङको मेलो बस्यो। उकालो चढ्दाखेरी खासै खैलाबैला भएन। सास फुलेर, रक्तसञ्चारको गति तीब्र भएर धेरैजसोको ज्यानै रन्किएको थियो। पाकेको गोलभेडाझैँ मुहार बोकेर, ज्यानलाई दुई खुट्टाले घिच्याउनै भारी मानेको बेला, विहानको जाडो छल्न भिरेको ज्याकेट र सुईटरहरु नै कहाँ फालुँ भन्ने बेलामा के को खैलाबैला गर्नु त अनि। त्यसैले हिड्न सक्ने बूतानुसार कहिले अगाडि, कहिले बीचमा त कहिले पछाडि हुँदै मिसमासे पारामा उकालो काट्यौ प्रायजसोले। खगेन्द्र दाई, जगन्नाथ दाई, हरि दाई, बिष्णु दाई, कुमार दाई, झलक दाई लगायतका समूहभित्रमध्येमा सबै हिसाबले पाका मानिने दाईहरु भने उकालोमा ठम्ठम्ती हिडीरहेका थिए- अगुवा बनेरै। हिडाईको बेग देखेर कतिले त र्यालै काढे। अनि भन्दैथिए 'अहो! क्या तन्दुस्तीपना' ('हुन त यो शरिरलाई जसो गर्यो उसै हुने हो, हामी अल्छी भएर बिग्रेका' भनेर कसैले भनेको पनि सुने)।

उही दिनचर्या। उही कामकाज। उही ठाउँ। उही परिवेश। उही रहनसहन। सबैकुरा उही र उस्तै माहौलबाट बाहिर निस्कँदाको उमंग सबैमा छाएको थियो। एकोहोरो कामकाज र परिवेशबाट मुक्त हुनुको साथै दिमाग र शरिर दुबैलाई स्फुर्त बनाउँने लालचले धेरैलाई त्यहाँ पुर्याएको थियो। देबीथानबाट काभ्रेभञ्याङ हुँदै ध्वजापताका र कलात्मक गुम्बाले झकीझकाउ नमोबुद्धको डाँडोमा पुग्यौ। हाम्रो प्रमुख गन्तव्य त्यही थियो। शुरुमा उकालो लाग्दा विशेष व्यक्तिको जन्त गएझैँ लागेथ्यो। तर नमोबुद्धसम्म पुग्दाखेरी समूहका मान्छेहरु छ्यालब्याल भएका थियौ। कोही तलै छुटेका। कोही डाँडोमा पुगेर घुम्दै गरेका। केही साथीहरु र पाका दाईहरु चाहि डाँडोको आडैमा रहेको पसलतिर छिरे। हामी केही साथीहरुसहित छुटेका साथीहरुको प्रतिक्षामा डाँडोको वरपर घुमघाममा लाग्यौ। फोटो सोटो नि खिच्यौ। केहि खानेकुरालाई भौतिक कारवाही पनि गर्यौ।

डाँडोमा सबै पुगेपछि सबैले आ-आफ्नो पोका फुस्काए। बाफरे बाफ! उकालो चढ्दा बीचबीचमा चापचापचुपचुप च्यापु नहल्लाएका साथीहरुले पोका फुस्किएपछि त निर्मम तरिकाले नै खानेकुरालाई भौतिक कारवाही गरे। भन्छन् नि 'हूलमूलमा जीउ जोगाउनु-अनिकालमा बीउ जोगाउनु'। त्यस्तै त्यस्तै पो देखे मैले त। अगाडि जो पुग्यो र जो जोसँग गतिलो खान्की थियो। उनीहरु जत्ति सबैको खानेकुरा हेर्दाहेर्दै सकिगो। अगाडिदेखि नै पेट पुजा गर्दै हिडेको भएनि आफूले नि छानी छानी दनक दिइयो। कहाँ छाड्नु र हैन? कुरै छैन नि।

कस्तो लाग्यो त साथी भनेर मैले मनोजलाई सोधेको थिए भोलिपल्ट। 'धेरै रमाइलो भयो नि। अनि आफैले बोकेको खानेकुरा आफैले खान पाइएन' भने उनले। तर कोही पनि खाली पेट हुनुपर्ने अवस्था त रहेन। अँ साँची त, रमिताले मेरै अनुरोधमा गुन्द्रुक साँदेर बोकेको थियो। पोहोरजस्तै यो साल नि गुन्द्रुक रुचाउने साथीहरु टन्नै रहेछन्। एकैछिनमा भाँडो रित्तियो। अनि पछाडि आउने साथीहरुले त सुघ्न नि पाएनन्। साथी नेत्रले नयाँ पत्रिकामा 'गुन्द्रुकको अमिलो अचारचाहिँ कैलाशले भरिसक्के सबैलाई चटाइन्' भन्ने एकवाक्य टुच्च हालेछन्। त्यो पढेपछि मलाई फोन गरेर र भेटेको बेलामा 'हाम्लाई सौतेनी व्यवहार गर्ने तिमी' भन्दै केही साथीहरुले रिँगाए। साथीसाथी रमाइलो गर्नु न छ आखिर। अनि रमिताले नि मलाई भन्यो- 'के हो? बोक्ने चाहिँ अर्कै नाम चाहि कैलाशको?'। 'हो नि यार! लेख्नेलाई कारवाही गरौ त?' भन्ने मन भाथ्यो। तर भनिन मैले। तिनले नि देखेको कुरा लेखे। बाँकी सोधेनन्।

जे होस् खानपिन भयो रमाइलोसँग। खान त सगोलमै हो पोहोर पनि र अहिलेसाल पनि। तर पिनको कुरामा अघोषित रुपमा दुईटा गुट रह्यो दुईटै साल। पोहोर साल काकाकोला भन्दै कोकाकोला पिउँदै गरेको साथीहरु एकैछिनमा दुगुना फुर्तिलो र रौसे भएर निस्केपछि मैले सोधखोज गरे। कोकाकोला, पेप्सी, स्प्राइटजस्ता पेय पदार्थमा थोरबहुत 'लाग्ने तरल पदार्थ' मिसाएर काकाकोलाको न्वारन गरेर दनक दिएपछिको नतिजा पो रहेछ। अनि कोकाकोला या पानी मात्रै खाने एक गुट अनि अर्को त उही काकाकोला गुट। गुट जे भएनि रमाइलो गर्ने मामिलामा कोही भन्दा कोही कम रहेनन्। फरक यति हो कोही कोकाकोलाकै भरमा रमाए। कोही काकाकोलासँगै। काकाकोलाको त्यो रन्कोमा यो सालभन्दा पोहोरसाल अलिक बढी नाचगान, ख्यालठट्टा, सायरीजस्ता कुराहरु फुत्किएका थिए। यो साल भने खासै त्यसो हुन सकेन। गीतमै बढी केन्द्रित रह्यो। लामो दुरीको यात्रा भएकोले पनि होला सायद।

मुख्य गन्तव्य भेटिसकेपछि अर्को गन्तव्य निर्धारण भयो- कुटितिर लम्किने। र ओरालो लागियो। ओरालो लागेपछि भने हल्लाखल्लाको माहौल बन्यो। केही साथीहरु ठाडो भाकाको दोहोरी निकाल्दै केटीहरुलाई उकास्दै थिए। जुवारी खेल्नलाई जोरी खोज्दै थिए। भएपनि यो काममा केटीहरुको साथ पाएनन्। केही गरि गाउँदागाउँदै टुक्का मिलेन वा गीतको शब्द आएन भने भन्थेः 'हत्तेरी! गीतको पोको हरायो। लौ न पोको खोज्नुपर्यो'। गीतको पोको कसै न कसैको झोलामा थियो भन्ने संकेत मैले पाए। कोही भने त्यहाँको जनजीविका, दृश्यहरुसँगै रमाइरहेका, आफ्नो क्यामेरामा कैद गरिरहेका, आँखै वरपर पहेलै पाकेको सुन्तलायुक्त लटरम्म रुखसँगै रमाउँदै हिडिरहेका। ओरालोको आधाउधी बाटो काटेपछि कतिपय साथीहरुलाई घर पुग्ने र काम गर्ने चटारोले दिमागलाई गाँज्न थाल्यो। र पनौती बस पार्कमा पुगेर चाँडै आफ्नो कुटीमा पुग्नेगरी पाइला लम्काउन थाले। हामी बीचैमा रह्यौ। घरी काकाकोलाको करामत सुन्ने झुण्डमा हाँस्नको लागि घुस्दै, घरी त्यहाँको वातावरण र सुर्यास्तलाई नियाल्दै, घरी बेग्ला बेग्लै झुण्डको अनेकओली गफगाफ सुन्दै।

हामी पनौती बसपार्क आइपुग्दा एक लट साथीहरु काठमाडौँ हुईकिई सकेछन्। पछि रहेका हामी धेरै थियो र रुटको गाडी नपाएपछि रिजर्भ गर्ने काम भयो। तर फेरी त्यही बेला हाम्रा अगुवा दाईहरुमध्येबाट ३ जना त गायब भइदिए त्यहीको त्यही। समूहबाट ३ जना विछोड हुँदाको त्यो क्षणमा काकाकोलाको इनर्जीको भरपूर उपयोग भयो। गाडीभित्र अघिल्तिर र पछिल्तिर बसेका दुई गुटका थरीथरीका चुड्के गीत, पश्चिमी भेगको ठाडो भाका, झ्याउरे, सुदूरपश्चिमको देउडादेखि पुर्वेली भेगको लम्बेतान भाकाहरु सुन्न पाइयो। गायब भएका दाईहरुकै सन्दर्भमा निकै गीत बने त्यहाँ। एकपछि अर्को गर्दै गीतको शब्दैपिच्छे उनीहरु गायब भएकै कुरा समेटिदै थियो। हामीमध्येकै एकजनाले 'हो, ठ्याक्कै यही लाइन उनीहरु आएपछि रिपिट गर्नु है'भनेको सुने। अरुले पनि सहमति जनाए। कसैको मोबाइलको नेटवर्क नभएपछि सम्पर्कै हुन नसक्दा कुरेको केही सीप लागेन। सबैजना केही रिसाए पनि। अनि गाडी गुड्यो काठमाडौतिर। केही बेरमा फेरी सम्पर्क भयो र पुनःमिलन भयो हाम्रो। पुनःमिलनपछि पनि धेरथोर त्यही सेरोफेरोको गीत सुनियो। जे भएनि शब्दसञ्जाल र गीतको आडमा अलिअलि पेलपाल भयो। त्यसमाथि काकाकोलाको रमाइलोको बहाना त ज्यूदै छँदैथियो। अनि सिरियसली लिने कुरै भएन।

गाडी काठमाडौतिर हुईकिरहेको थियो। गाडीभित्र बसेका काकाकोलाको दमसहित र रहितका हामीहरुमाझ भने वातावरण रन्किरहेकै थियो। गिताङ्गे टोली लोकगीतको भाका छाडेर आधुनिक तथा पप गीतहरुमा उक्लियो। त्यत्ति भएपछि रिमिक्समा नपुग्नै त कुरै भएन। पाकाहरु भने आफ्नै पारामा गफिनतिर लागे। ठिटौलाहरु चाही घोक्रोको कसरतमै रमाइरहेका देखिन्थे। त्यत्तिञ्जेलसम्म केहीको काकाकोलाको दम खत्तम भएपनि केहीको भने यथावतै रहेको भान हुन्थ्यो। त्यत्तिकैमा काठमाडौ छिरियो। साँझ छिप्पिदै गएपछि र काठमाडौको हावापानीले छोएपछि त हाईकिङ र काकाकोलाको रमाइलो मन मस्तिष्कको एउटा कुनामा थन्कोमन्को लाग्न थालेछ क्यारा। गाडीमा हल्लाखल्ला सेलाउँदै गयो। बीचबीचबाट साथीहरु फुत्त फुत्त निस्केर कुटीतिर जान थाले। आफूपनि लागियो कुटीतिरै।

(भनु भने थुप्रै कुरा निस्किन्छ। सोझो कुरो कुटीको लागि समय निकाल्न सकिन। बल्लबल्ल आज यो यात्रा संस्मरण लिएर झुल्किए। छिमेकमा चियाउँदाखेरी मनुजीको ब्लगमा हाईकिङको फोटोसहित छोटो जानकारी मात्रै भेटे। मैले लम्बाइदिए थोरै।)

Friday, January 16, 2009

म भट्टीवाल्नी, आज पाठशालाका कुरा सुन्नुस्

काठमाडौको एकछेउमा एउटा भट्टीपसल छ। म त्यहाँको साहुनी। मुखै फोरेर भनुँ न- भट्टीवाल्नी। अली पहिलेसम्म अरु अरु पनि पसलमा हुन्थ्यो। तर यो नयाँ सरकारले पिउँदा लाग्ने चीज बेग्लै बनाउँने भनेदेखि भने मेरो भट्टी बेग्लै बनाएको छु- अलिक फराकिलो गरेर। प्रायजसो उही अनुहार, उही समूहका व्यक्तिहरुको अनेक कुराकानी, विचार, गन्थनमन्थन, आक्रोश, खुशी, पीडा सुन्न पाइरहन्छु। अनि उनीहरुको थेत्तरपन, काँतरपन, निर्लज्जपन, हाकिमीपारा, धाक-रबाफ, फाईफुट्टीपन, मर्दाङ्गीपनलाई पनि कहिलेकाही झेल्नैपर्छ। के गर्नु त्यो मेरो बाध्यता पनि हो। अनि मेरो व्यावसायिकताभित्र लुकेको मानवता पनि। जहिले अरुको सुन्दा सुन्दा वाक्क भए भनुँ भने पनि धर नपाउने। के गर्नु यस्तै नै छु- म, मेरो काम, अनि मेरो दिनचर्या। तर आज म केही कुरा भन्छु। देशमा अनेकथरीको तन्त्र आको बेलामा पनि नभने कहिले भन्नु र? कि कसो हो कुन्नी? भनेर म आफैले आफैलाई सोध्दा 'होत्तनि'भन्यो। लज्जा त भनेर आज त भन्दैछु। तर म राम्रा कुरा मात्रै सुनाउँछु है। भट्टीको नराम्रा कुरा त भन्नै पर्दैन। किनकी त्यस्ता नराम्रा कुरालाई त हावाले नि उडाएर टाढाटाढासम्म लैजान्छ रे। तर राम्रा कुरा चाहिँ खेपैपिच्छे दोहोर्याइराख्दा मात्रै फैलिन्छ रे क्या। भनेको सुनेको मैले नि। अनि आधाउँधी त साँचो नै हो भन्ने ला'छ मलाई नि।

आजकाल त यो बिजुलीबत्ती नहुनाले पनि धेरै मान्छेहरु ओइरिन थालेका छन् मेरो भट्टीमा। त्यसहिसाबले ब्यापार नि हुन्छ। चुरोटको धुवाले कोठानि धमिलिन्छ। हल्लाखल्ला र खैलाबैलाले माहोल नि तात्तिन्छ। अनि कहिलेकाही किचलो हुनु त सामान्य कुरा भो यो लाइनमा। ए साँची! पहिला पहिला त खाली लोग्नेमान्छेहरु र विदेशी स्वास्नीमान्छेहरु मात्रै आउँथे। आजकाल त जमाना निकै बद्लिदै छ। स्वास्नीमान्छेहरु पनि आउँछन्- भर्खरकादेखि लिएर पाका पाका जस्ता लाग्नेहरु। बाबै! उनीहरु पनि मजाले चुरोट सल्काएर सानसँग धुवा उडाउँदै ठुल्ठुला राजनीतिका कुरा गर्छन्। हातमा रक्सीको गिलास लिएर कस्तो निर्धक्कसँग बस्छन्।

शुरु शुरुमा त उनीहरुलाई देखेर मेरो मुख आऽऽऽ को आऽऽऽ हुन्थ्यो। आँखा एकोहोरिएर उनीहरुको चर्तीकलातिरै अडिन्थ्यो। अनि साह्रै अचम्म लाग्थ्यो। कस्ता नकचरी, बाइफाले अनि थेत्तर र'छन् भनेर मनै पराउन्नथे म। यिनका घरमा को को छन्? किन यसरी बिग्रिएका होलान्? यिनलाई कसैको डर लाउन्न कि क्याहो? भन्ने सोचेर म भुतुक्कै हुन्थे। तर बिस्तारै बिस्तारै उनीहरुको कुरा सुन्दै जाँदा, व्यवहार हेर्दै लादा त नयाँ कुरा हैन रहेछ भन्ने लाग्न थाल्यो। अनि उनीहरु हाम्रा देशका गन्नेमान्ने आइमाईहरु नै होलान् भन्ने अड्कल काटे। तर मजस्ता चाही पक्कै हैनन् है भन्ने पनि मजाले बुझे। अनि कि, आइमाईले भट्टी मात्रै चलाउने हैन भट्टीमा गएर ती लोग्नेमान्छेहरु जत्तिकै रमाउन पनि हुने रहेछ भन्ने पनि मनमा लागेको छ। तर यही कुरा मेरो लोग्नेलाई चाहि पिटिक्कै ठिक लाग्दैन। खै किन हो कुन्नी मैले के खा'र बुझ्नु? त्यसैले मैले नि मेरो मनमा लाग्या कुरा लोग्नेलाई भनेकै छुईन अहिलेसम्म। भन्न नि सक्दिन होला सायद। मैले भन्न नसके के भो र मेरा सन्तानले आफै बुझ्छन् झैँ ला'छ मलाई। एता सुन्नुस् न, मैले भनेको थिएँ नि, ती आइमाईहरु गन्नेमान्ने नै होलान् भनेर। बाफरे, हो त रहेछ नि। म पनि ठीकै अड्कल काट्दो रहेछु गाँठे।

मेरा भट्टीमा आउनेमध्येमा एउटा टोली छ। त्यो टोली हप्तामा एकदिन झुल्किन्छन्, हप्ताभरीको कुराकानी एकअर्कासँग फुकाउँछन् अनि हराउँछन्। अनि फेरी त्यस्तैगरी अर्को हप्तातिर देखिन्छन्। उनीहरु साह्रै मिजासिला अनि राजनीतिसम्बन्धी धेरै कुरा गर्ने, देशमा भइरहेको हरेक घटनाप्रति जानकार रहने अनि खुला विचारका लाग्छन् मलाई। उनीहरुको अनेकथरीको कुराले मैले नि धेरै कुरा था पाउछु। कहिलेकाहीँ त अचम्ममा पर्छु म उनीहरुको कुरा, एकअर्काको कुरामाथि अरु कुरा थपेको देखेर। अनि एकअर्कालाई बुझेको र आदर गरेको देखेर। अनि उनीहरुले मेरो भट्टीलाई आफ्नै हिसाबले नामाकरण गरेका छन्- पाठशाला। अनि उनीहरुमध्येको कोही एकजनालाई पालैपालो गरेर भेलापिच्छे माट्साप बनाउँछन्। अनि अनेकवली कुराकानी शुरु गर्छन्। एकआपसमा वादविवाद गर्छन्। उनीहरुको टोलीमा कहिलेकाही अघि मैले माथि भनेझैँ आइमाईहरु पनि सामेल हुन्छन्। उनीहरुले नै भनेका कहिलेकाही आउने चाही विशेष अतिथि रे पाठशालाका। अनि क्या गजबले तालमा ताल मिलाएर कुराकानी गर्छन्। कहिलेकाही त झगडै गरे जत्तिकै चर्काचर्की पनि पर्छ। तर एकैछिनमा फेरी कस्तरी मिलीहाल्छन्। उनीहरुलाई देखेर त नि छक्क पर्छु। यस्तो भट्टीमा आएर मजाले रक्सीसक्सी पिउँछन्। चुरोटसुरोट तान्छन्। अनि कत्रा कत्रा ठुल्ठूला योजना सोजना खै संघीय राज्य, के के जाती बाँडफाँडका कुरा, फलाना पार्टीले यस्तो गर्यो, उस्तो गर्यो, फलानले यस्तो लेख्यो, खै के के हो के के भनेर कुराकानी गर्छन्। तर पनि उनीहरुको व्यवहार भने अरु जड्याहाँ र रक्स्याहा जस्तो हुन्न। मेरै लोग्नेकै बारेमा म यसो विचार गर्छु। अहँ, म त्यस्तो पाउँदिन। खैर, सबै उनीहरु जस्तै भइदिए त कस्तो होला हगि? भन्ने सोचेर घरीघरी म त्यसै फुरुङ्ग हुन्छु। अरुझैँ जाँड खाने मान्छे पनि सद्दे हुँदारहेछन् भनेर म घरीघरी दंग नि पर्छु।

साँची त, खै कुन कुरासँग जोडेर राखे उनीहरुले मेरो भट्टीको नयाँ नाम। तर सुन्दाखेरी मेरो कानलाई सन्चो हुन्छ। अनि मन पनि फुरुङ्ग हुनेगर्छ। उनीहरुको अगाडी उभिँदा मलाई मेरो भट्टी र जाँडसाँड बेच्ने काम पनि निकै ईज्जतीलो पेशा हो भन्ने लाग्छ। उनीहरुले मेरो विचार पनि बुझ्नेगर्छन् कहिलेकाहीँ। व्यापार कस्तो चल्दैछ? कमाई कत्तिको हुँदैछ? केटाकेटीहरु के गर्दैछन्? यस्तै पारिवारिक कुराकानीदेखि देशमा भइरहेको के के जातीबारेमा मेरो मनमा के छ? मैले कसरी बुझेको छु भन्ने पनि सोध्न भ्याउँछन्। उनीहरुको त्यो सोधाईले मैले पनि मनमा केही कुरा गुन्नु उन्नुको मतलब फेला पारे। अनि आजकाल त धेरैजसो कुराहरुमा मेरो चासो बढेको छ झैँ ला'छ। अनि पहिले भन्दा कुरा नि अलिक बढी नै बुझ्न थालेछु कि भन्ने नि ला'छ। तर अरुलाई भनुँ भने बढी भईखाकी भन्लान् भन्ने पीर'नि छ मनमा। मेरो आमाले म तरुनी छँदा मलाई सम्झाउँदै भन्नुहुन्थ्यो 'संगत गुणाको फल'। हो र'छ भन्ने ला'छ। सँधै उही मात्तिएका/पात्तिएका पिउनकै लागि मात्र पिउँनेहरुको संगतले त के उँभो लागिदोरहेछ र? के नै कुरो बुझिदोरहेछ र? सँधै यस्तै यस्तै मान्छे मेरो भट्टीमा आउँने जाने गरेमा त धेरै कुरा बुझ्न सक्ने रहेछु।

त्यो टिभी अनि एफएमहरुले दिने सम्‌चार त उनीहरु आको बेलामा था पाउँछु म। बत्ती हुँदा नि त्यत्ति सारो सम्‌चार हेर्ने अनि सुन्ने चलन हुन्न मेरोमा। अरुले भनेको 'अरे'को भरमा बस्नुपर्थ्यो। अस्ती भर्खरै मात्रै सबैजना खूबै दुःखी भए- जनकपुरको एकजना आइमाई पत्रकार मारेको भनेर। त्यो भन्दा अघि नि अरु थुप्रै कुरामा यस्तै चिन्ता गर्दै थिए उनीहरु। अब यो लोडसेडिङको राजनीतिबारेमा नि थुप्रै कुरा गर्छन्। अनि विशेष अतिथिमा आउने आइमाईहरु भाको बेलामा त अरु बेला भन्दा फरक, खै के भन्थे हौ....अ... याद आयो जेण्डर हो क्यारा। हो हो, त्यही भन्थे। हौ त्यो भन्ने शब्दबारेमा नि कुरा गर्छन्। तर मैले चाहि गाँठ्ठी कुराको भ्याउ पाएको छुइन। तर त्यो चीज निकै भयंकर नै होला भन्ने ला'छ।

आच्या! भुसुक्कै भो नि। भट्टीवाल्नी भएर पनि मैले त भट्टीमा आएका ग्राहकझैँ लम्बेतान कुरा पो सुनाउँन पुगेछु। यस्तै पारा हो भने मेरो भट्टी सुक्दैन होला त? कसरी सुक्ला र भन्ने भा'छ तपाईको मनमा? अब ग्राहकले गर्ने आधा काम मैले नै भ्याइदिएपछि सुकेन त? ए अँ, एउटा कुरा त भनेरै छाड्छु है। हिजो मात्रै मलाई मनपर्ने टोलीको एकजना माट्साप निकै चाँडै आइपुगे। आएर सँधै झैँ 'हैन माट्साप म त चाँडै पाठशाला आइपुगे। सबै चाँडै भेला हुने कि?' भनेर मोबाइल नि गरेनन्। ग्राहक धेरै थिएनन् मेरा नि। उनले चुरोट मगाए सँधै खानेगरेको- सुर्य। अनि मेरो हालचाल, व्यस्तता सोध्न थाले। कुरा गर्दै जाँदा मलाई बत्ती नहुँदा कसरी कामकाज चलाउँदै हुनुहुन्छ भनेर सोधे। मैले आफ्नो कठिनाई र थप कसरत हूबहू बताए। उनी त झनै सोचमग्न पो देखिए।

बोल्दाबोल्दै मैले भनिदिए उनलाई- 'यो चिम कस्ले बनायो कुन्नी तर त्यो मान्छेले जानेन'। एक्कासी उनले भने 'कसरी?'
'कसरी हुनु नि अब। चिम त बनायो नि तर त्यसलाई बिजुली चाहिने किन बनायो त? अरु देशमा मात्रै फिट भयो नि त। खै हामीकहाँ त फिट भएन नि'। मलाई हेरेर मजाले हाँसे सही थप्दै भन्न थाले- 'हो नि साँची। अनि यो गाडी बनाउनेले पनि पेट्रोल अनि डिजेल चाहिने किन बनाएको होला हगि? अनि यो टिभी बनाउनेले पनि त बिजुली चाहिने बनायो नि हैन?'।
'हो नि' भन्दै म पनि हाँसे। तर एकैछिनमा उनले मलाई सोधे- 'यस्तो कुरा कहाँबाट पत्ता लगाउनुभो तपाईले?'।
'तपाईहरुकै गफगाफबाट नि' मेरो कुराले उनी छक्क परे। अनी मैले नै भने- 'खै अस्ती मात्रै तपाईहरुले भनेको सुनेको मैले। अरु देशको जस्तो संघीयता नेपालमा फिट हुन्न भन्ने कुरा। त्यही भएर मैले नि अरुले बनाएको चीम हाम्लाई फिट नभएको होला भनेर जोडेको नि'।

'ए त्यसो भा कुरा सही सुन्नुभो तर पूरै बुझाउन बाँकी भएछ। पूरै कुरा बुझ्नको लागि आज हाम्रो विशेष पाहुना हुने हो त?'
आम्मै! राम राम राम, मेरो त होशै उड्यो नि एकछिनलाई त। मैले भन्दै थिए नि अघिनै। नराम्रो कुरा हावाले फैलाउँछ भनेर। मेरो दिमागमा नि त्यो चुरोटको धुवा उडाएको आइमाई पो आयो। हातमा गिलास लिएर विशेष पाहुना बनेको मात्रै देखे। अरु कुरा त केही नि देखिन। अनि मेरो त मुहारै रातो भयो। मुखै सुकेझैँ लाग्यो।

'दिदी तर्सिनुपर्दैन त्यसरी। हामी आज तपाईले बुझ्नेगरी कुरा गर्छौ। तपाई आफ्नो काम गर्दै सुन्न सक्नुहुन्छ। अनि नभ्याएको बेला छुटेको कुरा, नबुझेको कुरा भ्याएको बेलामा आएर सोध्न सक्नुहुन्छ। अनि विशेष पाहुना हुनुभएन त?'
'ए त्यसरी त हुन्छ नि किन नहुनु र' ए रात्तै, कस्तो ट्याक्कटुक्क कुरा मिलाएको बा। दिमागले नि कत्ति छिटो भ्याको त।
'तपाई आजदेखि हाम्रो पाठशालाको नियमित विशेष पाहुना है त दिदी। तपाईलाई लागेको कुरा हामीसँग जहिले सोधे नि, भने नि हुन्छ' अहो म पो उनीहरुको नियमित पाहुना रे। लौ जा। जिब्रो बाहिर निकालेरै टोकेछु। तर बडो खुशी छु म। सन्नुस् न खुशी नहुनु पर्ने कारण के नै छ र हैन त। कमसेकम यो लोडसेडिङले मेरो लागि यत्ति त राम्रो गरेको छ। धन्य लोडसेडिङ। तर १६ घण्टाभन्दा बढी चाहि नहोस् बरु चाँडै कम होस् भन्ने मेरो भित्री मनदेखिको प्रार्थना छ। त्यसको बदलामा लोडसेडिङ कम हुनासाथ पाठशालाका ती टोलीको कुरा कम सुन्न पाइए पनि ठिकैछ। कस्तो लाग्यो त मेरो कुरा तपाईहरुलाई? भट्टी र भट्टीवाल्नीका कुरा नि सुन्ने हो भन्ने त लागेन कतै? जे लागे नि भन्नुस् है। अब मेरा लागि तपाई नि विशेष पाहुना। ती माट्सापले भनेझैँ क्या त। नमस्कार!

Tuesday, January 06, 2009

I Want to Cry

आज निकै दिनपछि घाम लागेकोले न्यानो थियो दिन। तर दिन लुक्यो स्वात्तै। साँझ पर्यो झमक्कै। रात छिप्पीदैछ आफ्नै गतिमा। कठ्‌याङ्ग्रिने पुसको यो जाडो। मोबाइलको ब्याट्री आधा देखेपछि एफएम बजाउँछु। 'चिसो चिसो सिरेटोमा हिउँ पर्ला जस्तो छ' यामअनुसारको गीत बजीरहेको छ। गीत बज्दाबज्दै रोकिन्छ र फोन आको संकेत दिन्छ। स्क्रिनमा हेर्छु Puran calling। 'Hi P.Da how are you?' धेरैदिनपछि दाको फोन आएकोले दंग पर्दै रिसिभ गर्छु। हामी सँगै हुर्केको हुनाले म उसलाई पी. दा. (यसको मतलब हो- पुरन दादा)भन्छु। अझ छोटकरीमा दा मात्रै भनेर बोलाउँछु। उनी मलाई बुनु भन्छन्। नाताले मामाचेला-फुफूचेली दाजुबहिनी। तर एकअर्काको मिल्ने साथीमध्येभित्र पनि पर्छौ हामी।

'I need... can you do a favour?' कामेको स्वरमा उनी केही भन्न खोज्दै थिए। तर भन्न सकीरहेका थिएनन्। म छक्क परे। छक्क मात्रै हैन तीनछक्क परे।
'Hey Da, i think we need to talk. If you can, come here right now' भेटेरै कुरा गर्नु ठीक ठानेर तुरुन्तै आउन भने।
उनी कतिखेर आइपुग्लान् भन्ने पर्खाईमा उनकै बारेमा सोच्न थाले म। पढाईमा अब्बल। आत्मविश्वासी अनि रसिला पाराका उनी। सँधै सबैलाई हसाईरहने उनको त्यो मिजासिलो अनि funny चरित्र। सारोगारोको बेलामा पनि ख्यालठट्टाले सजिसजाउ हुन्छन् उनी। तर सहयोगी र संवेदनशील पनि उत्तिकै छन्। तर उनको संवेदना बाहिर देखिदैन। उनको हस्यौली बानीले छोपेको हुन्छ जहिलेपनि। उनी Handsome अनि stylist पनि छन्। उनलाई साथी मान्नेहरु धेरै छन्। तर उनको भित्री मन बुझ्ने साथी उनी आफैले औँलामा गनेर राखेका छन्। सायद उनी सबैजस्तो बन्छन्। अनि उनीजस्तो कमै मात्र भेटछन् र पनि त्यस्तो भएको होला। आज एक्कासी के आपत आइपरेछ? भन्नेबारेमा सोच्न थाले।

दा आईपुग्नासाथ 'यहाँ बस दा। अनि मलाई भन के भयो' भन्दै हात समातेर छेवैको कुशनमा राख्दै उनको अनुहार नियाले। हसिलो मुहारमा बादल छाएको थियो। लाग्थ्यो आकाश मडारिएर पानी चुहिनै लागेको छ। मनभित्र ठेलम्ठेल उकुसमुकुस लिएर छट्पटिदै थियो उनको त्यो आँखा। चुपचाप आँखाको गेडी घुमाउँदै थिए उनी। उनको आँखाभित्र पानी टल्कीएको प्रष्टै देख्थे म। मैले फेरी सोधे 'Tell me Da, what's the matter?'

एक वचन पनि बोल्दै नबोली भक्कानिएर रुन थाले उनी। बिना कुनै प्रश्न, बिना कुनै संवाद उनी एक्कासी मेरो काँधमा अडिएर रोइरहेको देखेर म के गरुँ भन्ने नै मैले सोच्न सकिन। केही सोधुँ भने पनि उनको रुवाई देख्दा बोलाउने मन भएन। उनको आँसुको रापले मेरो मनलाई छोइसकेको थियो। उनको त्यो आँसुको तातोपनाले मेरो कुमलाई स्पर्श गर्न थाल्यो। भएनि उनकै हालमा छाडिदिए केहीबेर। मनमा धेरै पीडा र बेदनाहरुको चाङ लागेको बेला र त्यसलाई धोको फुकाएर बाहिर ल्याउने मौका नपाएर लाचार हुँदा म पनि यसरी नै धित मर्ने गरी रुन्छु। कहिले एक्लै रुन्छु। कहिले पी दाकै आडमा बसेर रुने गर्थे। फरक यति हो उनी म रोएको बेला मसँगै रुदैनथिए। म उनीसँगै आँसु खसाउन थालीसकेछु। आत्मीय सम्बन्धको संवेदनशील पक्ष यही हो सायद भन्दै म उनले नदेख्ने गरी आँसु पुछ्छु। एकपल्ट उनलाई नियाल्छु। अझै उनी रोईरहेकै छन्। म पनि उनलाई रोक्न चाहन्न। बरु म आफैले आफैलाई उनीसँगै रुनबाट रोकीरहेको छु। दा काँधमा टाउको राखेर रुदैछन्। म विगतको घटना सम्झन थाले।

केही वर्ष अघि मात्रै म भर्याङबाट लडेपछि म रोएको थिए। त्यसबेला दाले सम्झाउँदा सम्झाउँदै भनेका थिए 'Im going to buy a special & big bowl for you'। मैले किन भनेर सोधेपछि 'रुमालको क्षमताभन्दा बाहिर गइसक्यो अब त big bowl मै तिम्रो आँसु थाप्नुपर्ला' भनेपछि म तुरुन्तै हाँसेको थिए। तर आज पक्कै पनि स्थिति त्यस्तो छैन भन्ने मेरो ठम्याई हो। मेरो आमाले संसार छाड्नुभएपछि लत्ता छाडेरै दाकै आडमा निकै रोएको थिए म। त्यो दिन म कसरी बिर्सन सक्छु र। जसरी आज दा मेरो आडैमा निर्धक्क रुदैछन्। किन किन आज मलाई त्यो बेला म रोएको र आज दा रोएको उस्तै उस्तै हो झैँ भा'छ। मनमनै त्यस्तो केही नहोस् भन्ने पनि सोच्दैछु।

'कस्लाई के भो दा' सोच्दासोच्दै मुखबाट फुत्किगो।
'आमा' झसङ्ग भएर टाउको उठाउदै दाले भन्नुभो। म तर्सिए कतै केही घटना त भएन भन्ने सोचेर।
'आमा... के त? बोल न दा' कुरा के हो भनेर जान्ने हतारमा म उसलाई झक्झकाउँछु।

'She is in hospital' घाँटीमा स्वर अड्काअड्काईकन यति भन्छ।
'What?', 'oh god! यस्तो भइसक्यो मलाई अहिले थाहा हुँदैछ!' भन्दै म दुबै हत्केलाले नाक मुख छोप्दै जुरुक्क उठ्छु। आँखा चिम्लेर लामो सास फेर्छु। दा बताउँन थाल्छन्।
'एक्कासी हिजो बेलुकी आमाले टाउको भारी भयो भन्दैहुनुहुन्थ्यो। तैपनि लोडसेडिङको तालमेल मिलाउँदै राती १ बजेसम्म काम गरेर सुतेको मलाई थाहा छ। तर उहाँको विहान भएन। पुरै बेहोशीको अवस्थामा अस्पताल पुर्याउँदा डाक्टरले घोषणा भन्यो- Case of Brain haemorrhage।' छेवैको पानीको ग्लास रित्त्याउदै दा एकछिन चुप लागे।

बोल्ने शब्दै नपाएर रित्तो मन र दिमाग लिएर दाको कुरा थप सुन्ने मनसाय बोकेर बसेको छु म। एकदमै चुपचाप। शान्त।
'Now she is completely senseless, in fact she is in coma' बन्द भएको नाक खोल्ने चेष्टासँगै एकपट्टीको नाकबाट सुइय्या सास तानेपछि दाले भने।

'I'm so sorry Da. It's really unwanted but...' बोल्दाबोल्दै म विचैमा रोकिए। उनको हातमाथि मेरो हात राखे। मनमनै सोचे। उफ्! सुन्नेलाई यत्तिका सास्ती छ भने भोग्नेलाई के होला भन्ने सोच्दाखेरी नै मेरो शरीरको तापक्रम बिथोलिन्छ। मथिङ्गल रन्थनिन्छ। अनि दा किन नरुनु त? आमाको चेत फर्किन्छ फर्किन्न? कहिले फर्किन्छ? या के हुन्छ कसैलाई थाहा छैन। हरे!

'Bunu, What do you feel, when im crying in front of you?' मेरो आँखामा आफ्नो आँखा जुधाउँदै दाले मसँग सोधे। उनको सोधाईको आशय के हो भन्ने भेउ नपाइकनै मैले भने- 'कस्तो कस्तो लाग्यो। भित्रैदेखि दुःख लाग्यो। सँधै हाँस्ने र हसाउँने मान्छे मेरो अगाडी रुँदा कस्तो लाग्ला तिमी आफै कुरा बुझ्छौ नि?' दाको आँखामा मेरो उत्तरको प्रतिक्रिया छल्किने अनुमानसँगै आँखामा हेरे। शान्त तर थाकेको आँखा देखे। 'तर मलाई कता कता थोरै सन्तोष पनि लाग्यो दा।' मैले यति भन्न नपाउँदैमा उनले सोधीहाले- 'केको सन्तोष?',
'मलाई पहिलेझैँ आफ्नै ठानेर मसँग खुलेकोमा। नत्र सबैको सामु यसरी रुन कहाँ सकिन्छ र? मेरो विश्वास हो दा, आत्मियताको घेराभित्र मात्रै आँसुका बर्षात् निर्धक्कसँग उर्लन सक्छ। नत्र त आँसु रोक्दा रोक्दै आँखाको चेपचेपबाट रसाउँदा मात्रै पनि आफैलाई अप्ठ्यारो लाग्छ' मेरो अनुभव र भोगाईलाई मैले ओकले यसबेला।

'Yes Bunu, you are right. You are absolutely right' मेरो नाकको डिललाई चोरी औँलाले च्वास्स छुदै भन्छन् 'Now im feeling good'। साँच्चै दा केही फ्रेस भएझैँ देखिए।
'Da, Do you need something? tea, coffee?' उनको फ्रेस मूडलाई सघाउ पुर्याउन सोध्छु।
'No Thanks Sweety, but i need to talk more' मलाई बस्ने संकेत गर्दै भन्छन् उनी।
'लोग्नेमान्छे भएर रुनु हुन्न भन्ने गीत थाहा छ हैन तिम्लाई?', फेरी रुवाईकै कुरा। तर केही ठट्टाको पारामा दाले सोधे मलाई। 'किन थाहा नहुनु?' मैले नि सहज रुपमा भने- 'तर नि दा, त्यसको भिजुअल हेर्दा त त्यस्तो लाग्दैन हगि?'। प्रतिउत्तरमा फिसिक्क मुस्कुराए मात्र दा।
'No women no cry भन्ने नि?' फेरीपनि उही आशयको प्रश्न आएपछि दाले केही कुरा भन्न खोजेको बुझ्न गाह्रो भएन मलाई। मैले सुनेको छु भन्ने संकेतमा इशारा गरे। 'Do you think it is true?', 'No' मैले तत्काल भने। मेरो एक शब्द सुनेपछि दा लगातार बोल्न थाले।

'बाथरुममा गएर धारा खुल्ला पारेर बाबा रुनुभयो आज आमालाई हस्पीटलमा छाडेर फर्केपछि। जब म सबैको अगाडी रोए विहान 'don't cry like a girl' भन्नुभयो। आन्टीले पनि भन्नुभयो 'Yes son, you are a brave man, don't cry like silly girl'। मेरो साथीले पनि त्यसै भन्यो। हस्पिटलमा नर्सले पनि भन्यो- 'हेर त छोरा भएर यसरी रुने हो?' उनको मनोभावलाई नबुझ्नेहरुप्रतिको आक्रोश उनको मुहारमा देखियो- 'जब जब मलाई भित्रैदेखि पीडा हुन्छ। त्यो पीडा शान्त पार्न रुन पुग्दो रहेछु। त्यो मेरो चाहना हैन आन्तरिक संवेदनाको प्रष्फूटन हो। म जीवित हुनुको एउटा संकेत हो। म मानव हुनुको एउटा प्रक्रिया हो। तर जहिले पनि मैले एउटै कुराको प्रतिक्रिया पाउँछु। so disgusting, so irritating' शरीरमा लागेको लूतो जत्तिकै इलर्जी भयो दालाई भन्ने उनको कुराबाट अनुमान लगाए मैले।

'Why in Bathroom?' what baba answered me? can you guess bunu?' तिमी विश्वासै गर्दिनौ सायद भन्ने हिसाबले मलाई हेर्दै फेरी भने दाले- 'Baba told me that: 'I'm the head of the family, As well as I'm a Man'. Besides that, What he said, listen 'सबैको मनोबल कमजोर हुन नदिन पनि मैले रुनु हुन्न' बाबाको कुराप्रति पटक्कै चित्त नबुझेको आशय व्यक्त गर्दै थिए दा 'I fell, it's not true'।

बाबाभन्दा अघि हजुरमा Head of the Family हुनुहुन्थ्यो। उहाँ रोएको दा र मैले नै देखेका हौ। फेरी लुकीछिपी रोए पनि खुलेआम रोएपनि रुने मान्छे त उही हो। देख्ने मान्छे भए नि नभएनि। कसैले थाहा पाए नि नपाएनि। लोग्ने मान्छे रुदैनन् रे या त रुनु हुन्न रे भन्ने त मैले नि सुनेको हो। तर 'रे'को कुराभित्र यस्तो विधि पीडा गुम्सेर आउनेछ भन्ने सोच्न भ्याएको थिइन मैले। त्यो पीडाले दाको मनमा थुप्रै प्रश्न उब्जायो- 'के बाबाले बाथरुममा रोएको चाहि रुवाई नै हैन या त्यो चाहिँ लोग्नेमान्छेको रुवाई होला त?' खै के भन्नु र मैले? यो समाजको प्रवृत्ति बोलेको हो भन्ने कुरा दालाई पनि महशुश भएकै हो। त्यसैले त होला दा आफैसँग, मसँग, अनि यो समाजसँग गन्गनिन थाले-

'के हामी जस्तोको संवेदना, भावना, पीडा र दुखाइले आँसुको रुप धारण गर्न सक्दैन र? आखिर केटाहरु रुनलाई किन यत्रो सास्ती? आखिर म पनि त मान्छे नै हुँ। केटामान्छे हुँदैमा मन भक्कानिएर आको बेला रुन नि नपाउनु? कै मैले केटा मान्छे भएर रुनु अपराध हो र? कसैले खुलेआम भट्टीमा रक्सी खाएर मातेर हल्लाखल्ला गर्दा 'आफ्नै सम्पत्ति खाको' भन्नु हुने, कसैले स्वास्नी कुटेर 'मेरो पारिवारिक मामिला' भन्दा हुने, सडक पेटीमा उभिएर खुलेआम पिसाब फेर्नु हुने, तर यस्तो संवेदनशील र जटिल स्थितिको सामना गर्दा एकैछिन रुन पनि नपाउने? गतिछाडा हुन छुट दिने तर संवेदनशील भएर संवेदनशीलताको प्रदर्शन गर्न नदिने यो कस्तो समाज हो? बडो असंवेदनशील अनि सोचनिय कुरा लाग्छ मलाई यसरी सोचेर ल्याउँदा। डाँको छाडेर रुने ठेक्का चाहि सबै केटी मान्छेकै भागमा राख्ने कुन चाहि विद्वान होलान्? अनि के र कुन आधारमा यस्तो भनियो? सानोछँदा त्यही आमाको काखमा थोरै रुदा मात्रै पनि फकाउँनेको ओइरो लाग्थ्यो सायद। तर आज त्यही आमा, जसले मेरो हरेक रुवाईलाई हाँसोमा बदल्दैमा जीवन बिताउनुभो, उनको खातिर मैले रुन पनि नपाउँने?

जब की मेरो सामुन्ने बसेर दिदीबहिनीहरु छाती पिटी पिटी मनको पीडा पोख्छन्। चिच्याई चिच्याईकन आमासँगको हरेक कुरालाई फलाक्छन्। मनको पीडा चोक्टा चोक्टा पारेर सबैको सामु बाहिर फाल्छन्। म भने चुपचाप उनीहरुको अगाडी मूर्ति बनेर उभिनुपर्ने- मानौ कि ममा कुनै भावना र संवेदना नै छैन। छ भने पनि मैले मेरो भावना र संवेदनालाई थाँती राखेर अनावश्यक कुराको आड लिदै आफैलाई भित्रभित्रै तड्पिनुपर्ने? आफूलाई तड्पाउनुको पनि हद हुन्छ। मेरो आमा मेरो लागि सबैकुरा हो। म किन नरुनु? मेरो रुवाईले के फरक पर्थ्यो र त्यहाँ? आखिर सबै रोईरहेकै थिए। सिर्फ म केटा मान्छे भएकैले रुनु नहुने कस्तो मानसिकता हो यो बुनु?' बाफरे! दाको मनमा कत्रो उकुसमुकुस? लगातार उनी बोलीरहेकै छन् अझैपनि। त्यो पनि पूरै नेपालीमा। कुनै अंग्रेजी शब्द नमिसाइकन। मलाई उनको व्यक्त पीडा लगातार होस् भन्ने लागिरहेछ। त्यसैले चुपचाप सुनिरहेछु।

'यो समाज हामी आफैले निर्माण गरेको हो भन्ने मान्ने हो भने किन कसैसँग लुकीलुकी रुनु? आफुमा भएको सही भावना, कसैप्रतिको आदर र संवेदनाको प्रष्फूटनमा किन कञ्जुस्याई गर्ने? रुनु र हाँस्नु मानव संवेदनाकै दुई पाटो हुन्। म कसैको सामु अट्टहाँस हाँसो हाँस्न सक्छु भने रुनु पनि सक्छु। यदि त्यसो गरिन भने लोग्नेमान्छे भएर कठोर बन्नुपर्ने या महान् बन्नुपर्ने चौघेराभित्रै जकडिएर रहन्छु सायद। मलाई महान् बन्नु छैन। न कठोर नै बन्नु छ। साधारण जीवन बाँच्नु छ मलाई। पीडाले छट्पटिएर रुन नपाएर कुनै मादक पदार्थको सहारा लिनु छैन मलाई। कुलतमा फस्नु छैन मलाई। मनमा गुम्सिएको पीडा र दुखाईलाई भडासको रुपमा बाहिर ल्याउनु भन्दा म खुलेरै रुन तयार छु। किनकी म बाबाजस्तै बाथरुममा गएर एक्लै रुन चाहन्न। म कुनै आत्मिय र मन मिल्ने साथी या मान्छेको अगाडी बसेर रुन चाहन्छु। आफ्नो कुरा खुलेर बाँड्न चाहन्छु। त्यसैले म भन्छु बुनु, स्वास्नीमान्छे होस् या लोग्नेमान्छे, मानव संवेदनाका लागि छाडिने जो सुकैको डाकोको आवाज निकै प्रिय लाग्नुपर्छ यो समाजलाई, मलाई अनि मजस्ता सबै सबैलाई। जो सुकैको आँसुको मूल्य जोसुकैले बुझ्नुपर्छ।' त्यत्ति भन्दाभन्दै मेरो मोबाइलको घण्टी बज्छ। स्क्रीनमा उही पहिलेकै नाम देखिन्छ- 'Puran Calling...'। दाले आफ्नो मोबाइल Switched off गरेका छन्। त्यसैले घरबाट फोन आयो।

'Oh. It's 9:30. Now i have to go sweety. Thanks dear' आफ्नो मोबाइल अन गर्दै भन्छन्।
'Oh Da, pls don't thank me as a stranger'
'Okey bunu, but i really... want... to say 'Thank you'' आत्मीयता र सद्‌भावस्वरुप फेरी एकपल्ट धन्यवाद दिन्छन् उनी।
'You are welcome'।
'Only when i want to cry?'।
'Oh no! You are always, all the moment welcome my dear Da' दा ढोका बाहिर निस्के।
'It's really really worthy place for me. And i'm going to miss you and your room a lot' एक्कैछिन रोकेर 'Specially the moment, when i feel loneliness, and I want to cry' म ढोका लगाउने तरखरमा थिए अचानक फर्केर मेरो टाउकोमा सुम्सुमाउँदै मुस्काए दा।
'आमाको बारेमा खबर गर्दैगर्नु है' म ढोका बन्द गर्छु। बिजुली बत्ती आउन आधा घण्टा मात्र बाँकी छ। पुन मोबाइलको एफएम बजाउँछु। गीतले भन्दैछ-
"याद आउने छ त्यो दिन, याद आउने छ समय
कुनै दिन हामी टाढियौ भने, बहाना बन्ने छ
सम्झी त्यो दिनलाई, मन बुझाउनलाई"।