Sunday, April 26, 2009

लेख्ने सोच गुल्टिएको कुरा

वर्षदिनको यात्रा तय गरेपछि अर्को वर्ष लाग्नासाथ मेरो ब्लगिङको हाजिरी तुलनात्मक रुपमा कम भयो। यति छोटै समयमा म ओइलाएछु कि क्या हो हँ? कुटीभित्र छिरेपछि र ब्लगिङको बारेमा सोच्दैखेरी पनि आफैसँग यदाकदा प्रश्न गर्ने गर्छु। लेख्ने कुरा यति धेरै छन् जस्तो लाग्छ सम्झेर ल्याउँदा। फेरी लेख्ने बेलामा खै के खै के हुन्छ। यो लेख्छु, त्यो लेख्छु भन्दाभन्दै योजनाको पोको खुस्काइरहन्छु म। छरपष्ट पारिरहन्छु भनेको नि। कहिले जानी जानी। कहिले बाध्यताबस। कहिले अल्छीले। गत सातादेखि ब्लगमा नयाँ टाँसो ठेल्ने सोच दिमागमा बोकेर बस्दाबस्दै आजको सातामा आइपुगे। खुस्किएको योजनाको पोकोलाई बाँध्नुको सट्टा छरिएकै योजनाको पोकोलाई टपक टपक टिपेर राख्दै हाजिर हुँदैछु कुटीमा आज।

अँ! म कुरा गर्दैथिए नि गत सातादेखि कुटीमा ठेल्ने योजनाबारे। नयाँ वर्षको प्रसंगलाई रमाइलोसँग मनाएको कुराकन्थोलाई कुटीमा छिराउँने योजना राखे मैले. नयाँ वर्ष मनाइयो आफ्नै अन्सारले। तर लेख्ने बेलामा योजना अनुरुप लेख्ने मुड नै चलेन मलाई त। अनि बिना इच्छा के लेख्नु भनेर टारे। त्यसपछि अर्को विषयमा लेख्ने सोचको जन्म भयो यो खोपडीमाः मिस मंगोल २००९ को बारेमा। गएको शनिबार (१८ अप्रिल)राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा 'मिस मंगोल २००९' सम्पन्न भयो। कार्यक्रम हेर्न पनि गइयो। रमाइलो पनि भयो। मिस तामाङ, मिस नेवालगायतका नेपालका आदिवासी जनजातिहरुको विशेष जात जातीको अलग अलग प्रतियोगिता हुने गरेकोमा समग्र मंगोल मूलकाहरुका लागि आयोजना भएको उक्त कार्यक्रम पहिलो थियो।

माम खानालाई काम गर्नैपर्ने बाध्यता र नयाँ डेराको घरेलु टिपनटापनले त्यो कुरा लेख्न भ्याइन। त्यसपछि त्यो बारेमा लेख्ने सोचलाई त्यसको दुईदिनपछि अर्को लेख्ने सोचले थिच्यो। त्यो सोच थियोः केही वर्ष अघि भक्तपुर क्यान्सर अस्पतालमा बिताएको महत्वपूर्ण क्षणको संस्मरण लेखेर ठेल्ने। लेख्न शुरु पनि गरे। तर...।

तरले फेरी कुरो पर सर्यो। त्यो लेख्न शुरु गरे। लोडसेडिङको हिसाबकिताबमा दुईफेर गरेर सक्ने योजना बनाए। त्यो लेख्दालेख्दै घाँटी दुख्न थाल्यो ज्यानको। अनि सँगै रुघाखोकी र ज्वरोले च्याप्पै पार्यो। त्यसपछि लेखन कार्य थाँती राखे। गर्मीमा तातोपानी र औषधीको पछि लागे। त्यो संस्मरण अझै पनि आधाकल्चो छ। कुनैदिन पूरा गर्छु अनि ठेल्छु भनेर राखेको छु। अँ अनि नि, मदौरु भएर पुरै ३ दिन थन्किए कोठामा। तेस्रो र चौथो दिनको दिनमा पुराना दुईटा नेपाली फिल्म हेरे इन्सटलमेन्टमा– 'लोभीपापी' र 'अन्याय'। ति दुई पुराना फिल्ममा एकप्रकारको माधुर्यता, सेन्टीमेन्ट भ्यालु भएको महशुश भयो। फिल्म हेरीसकेपछि फिल्मकै बारेमा लेख्छु भन्ने पनि सोच आयो। र म आज त्यही फिल्मको बारेमा लेख्न बसे। तर...। फेरी यो 'तर' बीचमा घुस्रियो। त्यसो हुनासाथ कुरा अर्कै भयो। योजनाको पोका फुट्यो। कस्तो भयो भनेर भन्दा, ई यस्तै भयो, टिप्स मात्रै आयो।

Sunday, April 12, 2009

नयाँ सालको शुभकामना नयाँ डेराबाट!

नयाँ वर्षको
उपलक्ष्यमा मेरो
शुभकामना!

कामना यही
मन सँधै रमोस्
उमंग होस‍्!

२०६५ को बिदाई र नयाँ साल २०६६ को समयचक्रलाई अब थाप्लोमा थुपार्दैछौ हामीहरु। सम्पूर्ण साथीहरुलाई नयाँ वर्षको हार्दिक शुभकामना। कुटीमा धुपध्वाँर गर्न डेरा पाइएको कुरालाई नै लिएर म आए। डेरा बसाई र सराईको कुरा सम्झेर ल्याउँदा, औँला भाँचेर ल्याउँदा २०६१ यता छैठौपल्ट नयाँ डेरामा प्रवेश गरिएछ। संयोग नै होला धेरैचोटि नयाँ वर्षकै आसपासमा हुने गरेको पनि रहेछ। नयाँ डेराबाट नयाँ सालको शुभकामना सबैलाई। डेरा खोजी गर्ने काम सकिएकोमा यी हाइकुरुपी टुक्रा छाड्दैछु।

यसपाली नि
म नयाँ डेरावाल
थुप्रै सवाल!

कुम्लो कसियो
मालमत्ता सारियो
डेरा फेरियो!

यो नयाँ साल
अनि नयाँ नेपाल
नयाँ बहाल!