Thursday, July 08, 2010

फिलिलि.... सिन्धुली गढी

'सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै
कतिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो'

ऐतिहासिकता बोकेको त्यो सिन्धुली गढी अनि त्यसैको सेरोफेरोमा रचिएको यो प्रख्यात लोक गीत धेरैले सुनेको र धेरैको मुखमा झुण्डिएको हुनुपर्छ। गायक कृष्णविक्रम थापाको स्वरमा गुञ्जिने यो गीत सुन्दा सिन्धुली गढीस्थित दरबार उति नै सुन्दर, आकर्षक होला, जति पहिले थियो भन्ने लाग्न सक्छ। तर यो गीतको भाव बोक्ने सामर्थ्य अब त्यो दरबारमा रहेन। यद्यपि गीत रहुञ्जेलसम्म गीतमा उक्त दरबार सदैव उत्तिकै सुन्दर भई बाँचीरहनेछ कालान्तरसम्म।
सिन्धुली गढी घुमेर हेर्दाः दरबार...।

सिन्धुली गढी पुग्नु अघि त्यहाँको दरबार कस्तो होला ? गढीहरु कस्ता होलान् ? कस्ता थिए अनि कस्ता भए होलान् ? भन्ने कौतुहलता मनमा थियो। त्यहाँ पुगेपछि थाहा भयो– कृष्णविक्रम थापाको स्वरमा जीवित रहेको दरबार अब भग्नावशेष भइसकेछ । पर्यटकीय महत्वको स्थल हैन अब पुरातात्विक महत्वको गढी बनिसकेछ। बाँकी रहेका भौतिक संरचनाको संरक्षण अलि पहिल्यै भएको भए यसले पर्यटकीय स्थलको रुपमा विकसित हुने थप सम्भावना बोक्थ्यो सायद भन्ने भान हुन्छ। तर दरबारबाहेक गढीहरुमा भने संरक्षण गरिएकैले जे जति र जस्ता संरचना छन्, अहिलेसम्म बचेका हुन्।
जापानको सहयोगमा बनेको फिलिलि बाटो।

केही हप्ता अघि मात्रै ऐतिहासिक थलो सिन्धुली गढी, दरबार र व्यवस्थित नागबेली सडकसँग साक्षात्कार हुने मौका मिल्यो। स्थानीयसहित आठ जनाको समूहमा हामी सिन्धुलीको कमलामाई नगरपालिकाबाट गढीतर्फ लाग्यौँ मध्यान्हतिर। जापानकै लगानी र निगरानीमा बनेको सडक हाम्रो लागि गन्तव्यतर्फ लम्कदाको मुख्य आकर्षणको विषय बन्यो। साँघुरा देखिने पहाडका भित्ताहरुमा सजिलैसँग घुमाइएका आकर्षक सडक, वर्षायाममा पानी काट्‍न बनाएका कलबर्ट, वरपरको रमणीय प्राकृतिक दृश्यहरुसँगै हामी गढी चढ्‍दै थियौँ। प्रदुषणयुक्त खाल्डाखुल्डी बाटोमा अटाइनअटाइ घस्रीने गाडीमा यात्रा गर्दागर्दाको हैरानी त्यहाँ रहेन- फिलिलि गाडी गुड्यो। मनै चंगा। अझ हाम्रो भ्रमण टोलीमा लेखक खगेन्द्र सँग्रौला दाई पनि भएकाले विशेष रमाइलो थियो। त्यहाँको भूगोल र सडकको बनोटसँग दंग पर्दै गरेका उनको मुखबाट एक वाक्य फुत्कियो 'बाटोचाहिँ काइदाको बनाएछन्'। स्थानीय सहकर्मीहरु पनि साथै भएको हुनाले जानकारी थुत्न हामीलाई सजिलो थियो। सिन्धुली गढीको विशेषता, महत्व र इतिहासका पक्षसँग जानकार बन्दै हामीले बाटो कटायौँ। साथै विश्वकपको रन्को पनि चलेकोले छोटो विश्रामकै रुपमा विचविचमा धेरथोर त्यसको चर्चासँगै हामीले गढीको प्रमुख गौँडामा पाइला टेक्यौँ। प्रमुख गौँडा प्रवेशद्वार। यो द्वार केही समय अघि मात्रै बनाइएको हो। पुरानो द्वारको आधारमा यो द्वार बनाइएको रहेछ।

अँग्रेज र गोर्खालीको युद्धमा गोर्खालीको जीत हुनुमा त्यहाँको भौगोलिक बनोट पनि प्रमुख पक्ष थियो। त्यहाँ पुग्दा लाग्यो, त्यो कुरा सत्य रहेछ। गौँडाको भूगोल निकै उचाईमा छ। त्यहाँबाट बैरी (दुश्मन)हरु आए-गएको सजिलै देख्न सकिने र जताततै सिस्नु र अरिङ्‍गालको गोलो भएको हुँदा त्यत्तिबेला दुश्मन 'यहाँको झारै बैरी, किरै बैरी' भन्दै भागेका थिए रे ! स्थानीयबासी दाई मोहन बराल वरपरका सिस्नु्‍घारीतिर देखाउँदै हामीसँग भन्दै थिए। गौँडालाई चौतारामा रुपान्तरण गरिएको रहेछ। वरपर लहलहाउँदो सिस्नुघारी, बिचमा ठूलो बरपिपलको जोडा र सिरसिरे बतासले यात्रीहरुलाई लोभ्याइरहेको थियो। त्यसपछि हामी सोझै गढी दरबारतिर हानियौँ। दरबार हेरेर गढीतिर लाग्दै गर्दा थक्‌थक् मान्दै खगेन्द्र दाई भन्दैथिए 'कम्तीमा यसको भौतिक संरचना मात्रै बचाउन सकिएको भए अर्कै महत्वको हुन्थ्यो यो स्थल।' भग्नावषेश दरबारलाई वरपर पलाएका बोटविरुवाहरुले ढाकेझैँ देखिन्थ्यो अलि परबाट हेर्दा। छेउमै पुग्दा ईटाद्वारा निर्मित दरबारको मोटामोटा भित्ता, केही बाँकी रहेका झ्याल र बिम मात्र थिए। स्थानीयबासी दाई उज्जवल बरालले बच्चाबेला देखेको दरबारको सम्झना गर्दै भने 'म सानोछँदा दरबारमा जस्ताको छानो थियो, झ्यालहरु थिए, यो दरबार दुईतले थियो।' अहिले छानाको नाम निशान छैन। झ्यालहरु भ्वाँङमा परिणत भएका छन्।
गढीस्थित ठूलो किल्लाको बीचमा रहेको ईनार। जसलाई केही समयअघि मात्रै मर्मत गरिएको प्रष्टै देखिन्छ।

बनोटको हिसाबले एकदमै टिकाउ देखिने दरबारलाई संरक्षण नपुगेकैले भौतिक संरचना मासिदै गएको प्रष्टै हुन्थ्यो। दरबार र गौँडा पुग्दैखेरी उहिलेका शासकहरुले आफ्नो राज्य टिकाउनको लागि रोजेको भौगोलिक उत्कृष्टता, दुश्मनसँग लड्नलाई अपनाएको दुरदर्शितालाई मनमनै सलाम दिए। सुरक्षाकोनिम्ति खडा गरिएका गौँडा उचाईमा छ। मुख्य मुख्य गढी (किल्ला)हरु उचाईमा छन्। पिउने पानीको भण्डारणको लागि एउटा दीर्घकालीन इनार छ। सुरक्षामा खटिनेहरुको लागि ढुंगा खोपेर बनाइएको गहिरो कुवा छ, जसमा धारा पनि जडान गरिएको छ। दरबार उचाईमा भएपनि थुम्काको आडमा सुरक्षित बनाइएको छ। छेवैमा ठूलो टुँडीखेल छ, जहाँ भर्खरै मात्रै एकीकृत नेकपा माओवादीले भारत विरुद्ध भण्डाफोर अभियानबारे आमसभा गरेर अभियानको आरम्भ गरेको थियो। गढीको चुचुरोमा उभिँदा नेपालको विशिष्ट भौगोलिकता : हिमाल, पहाड, तराईलाई एकै साथ देख्न पाउनु एउटा आनन्दको क्षण थियो। गढीस्थित टुँडीखेल। जहाँ भर्खरै माओवादीको अभियानमा प्रयोग गरिएको हेलीप्याडको निशान आलै छ।

कमलामाई र गढीको यात्रामा आधा घण्टाको दुरीमा छाला काढ्‍ने गर्मी र मनै लोभ्याउने शितलताको अनुभव गर्‍यौँ। गुड्दागुड्दैको गाडीबाट अचानक हातको चोरी औँला एउटा थुम्कोतिर सोझ्याउँदै सञ्जय दाईले भने 'ऊ त्यो सक्कली भद्रकाली हो। सबैभन्दा पहिले भद्रकाली यहि उत्पति भएको हो। पछि काठमाडौमा सारिएको हो रे' तर त्यसभन्दा बढी त्यसबारेमा सोधखोजै भएन। मैले झ्यालबाहिर हात निकालेर क्यामेरा सोझ्याइहाले हत्त न पत्त। सक्कली भद्रकाली उत्पति भएको मानिने थुम्को।

सिन्धुली गढीको चुचुरामा घुमीरहँदा दरबारको सुन्दरता बोकेको त्यही गीत मुखमा झुण्डिरहेको थियो। सायद म नजानिदोगरी गुन्गुनाइरहेको थिएँ। एक्कासी समूहमा कसैले भन्यो : सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै कतिमा राम्रो दरबार... हैन, अब त 'सिन्धुली गढी लेट्‍स् गो बडी भत्कि नै सक्यो दरबार...' भन्नुपर्ने भएछ।

Friday, July 02, 2010

अल्छे ब्लगर

मेरो ब्लग लामो समयदेखि लम्पसार परेको देख्दा सबैलाई थाहा भइसकेको छ- अब्बल अल्छे ब्लगर परे। कुटीमा चहलपहल हुन पनि ठूलै उत्सव हुनुपर्ने झैँ भयो अब त। केही दिन अघि सक्रिय ब्लगर जोतारे धाईवा (जीवन कार्की)ले च्याटमा '१ नम्बरको अल्छे' भन्दा मलाई खूब घत पर्यो। म निकै बेर हाँसे। म हाँसीरहेकै बखत उनले 'यसैमा ब्लग गर्नुस्' भनेर सुझाए। यसो विचार गरेः सक्रिय रहेकाहरुले अल्छे ब्लगरका बारेमा लेख्नुभन्दा अल्छेले नै एकपल्टलाई झारो टार्दा बेसै होला भन्ने सोचे र उनको सुझावलाई माने। फेरी उनले 'म पर्खेर बस्छु है' भनेर अल्छेलाई झक्झकाउदै उत्साह पनि दिए। धाईवाजीले सोचेअनुरुप होला नहोला। राम जाने। मैले यति नै जाने।

मेरो विचारमा अल्छे ब्लगरमा हुने या हुनुपर्ने केही गुणहरु छन्। जसले अल्छेको पहिचान दिन्छ। त्यसैको आधारमा अल्छे ब्लगरको कोटामा नियुक्त हुन उपयुक्त वा अनुपयुक्त भनेर खुट्टयाउन सकिन्छ। यी कुरामा सहमत-असहमत या थपथाप गर्न पनि ब्लगर साथीहरुलाई आग्रह छ। जे भएपनि यो चाहिँ अल्छे ब्लगरको जुझारु अनुरोध हो है।

अल्छे ब्लगरका गुणः
अल्छे ब्लगरको ब्लग पोष्टबीचको दुरीको अन्तराल एकदमै लामो हुनु नै उसको प्रमुख पहिचान हो। कार्य व्यस्तताको कारणले पनि यो हुनसक्छ। तर जहाँ इच्छा त्यहाँ उपाय भन्ने उक्ति पनि लागू हुन्छ होला। किनकी वरपरका केही परिचित व्लगरहरुले साइबरमा धाइधाइकन पनि समय समयमा ब्लग गरेकै छन् भने कम्प्यूटर, इन्टरनेटको पहुच र सुविधा भएका ब्लगरहरुले पनि समयमा अपडेट गरेका हुँदैनन्।

१. बीस दिन, महिना, दुई महिना, तीन महिनामा एउटा टाँसो हालेर ब्लगलाई त्यान्द्रोझैँ झुण्ड्याएर बेला बेलामा व्युझाउँने। तर ब्लगिङ भने नछाड्नु।
२. टाँसो हालेको केही दिनसम्म केही प्रतिक्रिया आए कि भनेर ब्लगमा छिर्ने तर बिस्तारै आफैले आफ्नो ब्लगमा छिर्न कम गर्नु। तर अर्को टाँसोको लागि भने बेलाबेलामा हल्का सोच्नु।
३. आफ्नो ब्लगमा हप्ता वा पन्ध्र दिनमा एउटा पोष्ट हाल्न पनि साइत नजुराउनु तर छरछिमेकी ब्लगतिर भने अपडेट हुनासाथ चाहार्न नछाड्नु। मन लागे कमेन्ट पनि ठेलीहाल्नु, बेलाबेला 'ह्या के लेख्नु' भन्दै कमेन्ट नठेलीकनै बाहिरिनु।
४. टाँसो हाल्नुपर्ने भनेर धङधङी बोक्दाबोक्दै छरछिमेकमा टाँसोको ओइरो लागिसक्दा पनि आफ्नोमा एउटा पनि ठेल्न नसक्नु।
५. आफूले सोचेझै अरुले ठेलीसकेछन् भने एउटा गतिलो बहाना 'अर्कैले गरिसकेछ अब मैले किन गर्नु' भन्दै आफैलाई सम्झाउँदै बस्नु।
६. किन ब्लग चाँडो चाँडो अपडेट नगरेको भनेर कसैले सोधेमा स्पष्टीकरण दिने खुराकको खाँचो नपर्नु। यद्यपि जाँगर चलाएमा अपडेट हुन सक्ने कुरा आफैलाई भलीभाँती थाहा हुनु।
७. ब्लगर हुँ पनि होईन पनि 'खै...' भन्ने दोसाँधमा बस्नु। तर मौका परेमा ठाँटले म पनि ब्लगर हुँ भन्न रुचाउनु।
८. कहिलेकाही ब्लगिङ छाड्दिन्छु भन्ने तैपनि छाडीहाल्न चाहि नसक्नु। ब्लगिङको मोह बोक्ने तर मोहलाई व्यवहारमा उतार्न ढिलाई गर्नु।
९. अल्छे ब्लगरकै रुपमा सही तर ब्लगिङ चाहिँ गर्छु भनेर ओकेजनल्ली अपडेट गर्नु। जे पायो त्यही विषयलाई पक्रेर ठेलिदिनु।
१०‌. छिमेकीको अपडेटहरु हेर्दा दंग पर्नु तर आफ्नो अपडेट देख्दा 'अब गर्छु' भन्दै बस्नु।

अब साथीहरुले पनि केही थप्नुस्, घटाउनुस्। स्वीकार्नुस्, नकार्नुस्। यी गुणहरु तपाईमा छन् भने अल्छे ब्लगरको एउटा समूह नै खडा गरुँ कि? कि चाहिँ जाँगरे ब्लगरमा लाम्कौ कि?