Sunday, October 05, 2008

आँखै अगाडी विलाएको दशैँ...

'आमा, आज दशैँ है?' निर्दोष र मायालु भावमा बोल्छे झुमाकी ४ वर्षे छोरी।
'हो छोरी आज दशैँ हो' मनमा केही गुने झैँ गरी जवाफ दिन्छे झुमा।
'त्यसोभा आज हामी चिचि खाने हगि?'
'हो, आज हामी चिचि खाने । बाबाले ल्याउँदै हुनुहुन्छ। एक्कैछिनमा है'छोरीहरुलाई थम्थमाउँदैछे झुमा। तर उस्को मन पनि कम हतारिएको कहाँ छ र?

दशैँ भित्र्याउँने सूर कसेर झिसमिसेमा ओछ्यानबाट उठेर हिडेको लोग्नेको प्रतिक्षामा छे झुमा। अरु बेला पकाइतुल्याई गर्दा र अलि परको सार्वजनिक इनारबाट पानी ओसार्दैमा थाहै नपाई मध्यदिन हुन्थ्यो। तर आज त्यही विहान उदेक लाग्नेगरी लाम्बिएको लम्बिएकै छ।

बाग्मतिको किनारमा एउटा छाप्रो छ झूमाको। जहाँ ४ जनाको जहान बस्छन्। झुमा, उसकी दुईटी बालख छोरीहरु अनि उस्को लोग्ने बुँदे। पोहोरको दशैसम्म गाउँमा थिए उनीहरु। गाउँको पुछार ऐलानी जग्गामा एउटा घर थियो। त्यसबाहेक आफ्नो दुईटी छोरीहरु नै उनीहरुको जायजेथा हो। दाउँरा बोकेर बेच्थे, मेलापात र बनीबूतो गरेर जीविका धान्थे। २ दिन लगातार परेको वर्षे झरीले उनीहरुको बासलाई भीरतिर सोहोर्यो। झुमा र बुँदेको मुन्टो लुकाउने बास मात्रै लगेन त्यो झरीले । उनीहरुको साहस र पौरखलाई पनि गलायो, चकनाचुर पारीदियो। त्यसपछि राम्रो जीवन जिउँने आशमा गाउँबाट शहरतिर बाटो लागे। भौतारिदा भौतारिदा काठमाडौं छिरे। त्यसपछि शुरु भयो शहरसँगको भलाकुसारी। बुँदेले घरघरबाट फोहोर मैला बटुल्ने काम पायो।

सबैतिर दशैँको रमझम, खानपिन र हल्लाखल्ला भएको ५ दिन भयो। वरपर आकर्षक र तलैतलाको अग्ला अग्ला घरहरु, ती घरलाई सुरक्षा दिने पर्खाल तथा तारहरु छन्। ती पर्खाल र तारहरुले त्यहाँभित्रको रमझम र हल्लाखल्ला छेक्न नसकेकोमा झुमालाई औडाहा लाग्छ। आफ्नो गरिबी र लाचारपनासँग अत्ति नै रीस उठ्छ। दशैको नाममा एक छाक मिठो मसिनो पकाएर आफ्नो सन्तानलाई खुवाउन धौ धौ हुनुको पीडा आँखामा छल्काउँछे। पीडाले छल्किएको आँसु फरियाको फेरोले पुछ्दै छोरीतिर हेर्दै आफैसँग प्रश्न गर्छे झुमा- गाउँको दशैँ र शहरको दशैँ अलग्गै किन भाको होला? गाउँमा त सबैको दशैँ एकैचीटि आउँथ्यो, एकैचोटि जान्थ्यो। यहाँ ठूल्ठूला घर अनि थरीथरीका चीजबीजहरु छन्। तर आफ्नो घरमा केही छैन किन होला यस्तो? झुमाको मनमा यस्ता अनेक प्रश्नबाहेक अरु कुरा सल्बलाएकै छैन यसबेला।

'अब हामी चिचि खाने हि बुनु' दिदीबहिनी रमाउँदै खेल्दै गरेको दृश्यले झुमा झस्किन्छे। लोग्नेले मासु ल्याइपुर्याउँला र पकाएर छोरीहरुलाई दिइहालुँ भन्ने हतारमा स्टोभ तयार पार्छे। कराई ठिक पार्छे। पोकापाकी सबै फुकाउँदै मरमसला भेला पार्छे।

बुँदे हरेक दिनझैँ एकाविहानै उठेर घरघरबाट निस्किने फोहोर-मैला बटुल्ने काम सकेर मासु पसलमा जान्छ। १ किलो खसीको मासुको पैसा तिरेर हातमा झोला झुण्ड्याउँछ। खल्तीमा हेर्छ जम्मा दश रुपैयाँ बाँकी छ। भएनि मनमनै- 'आज त जहान परिवार मिलेर खाइने भो, आखिरी दशैँ पो त' भन्ने सोचले खुशी हुन्छ। छेवैको नाङ्लो पसलमा गएर चुरोट किन्छ र धुवाँ उडाउँदै वरपरको चलहपहल नियाल्दै घरतिर लाग्छ। हिड्दाहिड्दै हातमा बोकेको दशैको पोकोमा छोरीहरुको खुशी देख्छ बुँदे। आफ्नी प्यारी झुमाको फुर्तिलोपनसहितको हसिलो मुहार देख्छ ऊ। त्यो हातमा झुण्डिएको पोकोमा धेरै खुशी गुट्मुटिएर रहेको छ। झुमालाई पोको हात लाएपछि पोकोमा गुट्मुटिएको खुशी सबैको मुहारमा छल्किनेछ भन्ने मीठो कल्पनासँगै बुँदै लम्कीरहेको छ। मनमा अनेको तरंग र उमंग पैदा गर्दै खुशीलाई भित्र्याउँने हतारमा छिटो छिटो पाइला चाल्दै छ बुँदे।

एक्कासी कुकुरले झम्टिन्छ- न कुनै भुकाई न कुनै संकेत। हुन त पहिला पहिला पनि फोहोर मैला बटुल्ने क्रममा कुकुरहरुको आँखाको तारो बन्नु पर्थ्यो बुँदेले। अरुको घरघरमा जानुपर्ने हुनाले पनि त्यत्ति बेलाको अवस्थासँग बुँदे सधै सचेत हुन्थ्यो। तर बुँदेको लागि आज बेग्लै परिवेश र उमंगको बेला छ। दशैँको पोकापाकी बोकेका अन्य बटुवाहरुको माझमा बुँदे नै किन कुकुरको नजरमा पर्यो? आखिर किन?

अचानक भएको त्यो आक्रमणले बुँदे झँस्किएर अक्क न बक्क हुन्छ। सोच्दै नसोचेको कुरा हुँदा एकछिनलाई दिमाग खाली हुन्छ। शरीर चिसो हुन्छ। हातमा बोकेको झोला भुईमा झर्छ- फ्यात्त। उसको आँखा खुल्लै छन् अनि त्यो आँखाले हेरीरहेछ- त्यही कुकुरलाई, अनि उसको चर्तीकलालाई। तर खुला आँखाले हेरीरहेको कुरा दिमागले पढ्न भ्याएकै छैन। हातमा झुण्डिएको झोला खसेको आवाजले कुकुरको ध्यान खिच्छ। बुँदेलाई भुक्न र झम्टिन छाड्छ। भुईमा झरेको पोका खोतलखातल पारेर टपाटप खान थाल्छ। अरु कुकुरहरु पनि जम्मा हुँदै हारालुछ गर्दै मासुको चोक्टा खान थाल्छन्।

बटुवाहरु यसो हेर्छन् अनि बाटो लाग्छन्। कसैले ध्यान दिँदैनन्। हेर्दाहेर्दै प्लाष्टिकको झोलामा पोका परेको दशैँ सकिन्छ। झोला झ्यान्द्रो झ्यान्द्रो पारेर कुकुरहरु ङ्यार्रर ङुर्रर गर्न थाल्छन्। काक्राको थाक्रो झैँ बुँदे ठाउँको ठाउँ उभ्या उभ्यै छ अझैपनि। बिस्तारै कुकुरहरु त्यहाँबाट हराउँछन्।

सबै खुशी चकनाचूर भएर बिलायो पलभरमै। बुँदे बडो असमञ्जस्यमा पर्छ। के गरुँ कसो गरुँ? कसलाई गाली गरुँ? कसलाई गुहारु? पाइला चालु कि नचालुँ? नचाल्नुको उपाय नै के छ र? चालु भने कुन दिशामा? खल्तीमा ७ रुपैयाँ छ दाम। खाली हात घर जाउँ भने कुन मुखले जाउँ? हातभरी पारुँ भने के उपाय छ र यो विरानो शहरमा? बुँदेको वरपरको सबै चीजबीच घुम्छ। अनि आँखा चिम्लिन्छ। दुईटी छोरी र छोरीकी आमा आफ्नो बाटो हेरेर दशैँलाई स्वागत गर्न आतुर भएको देख्छ। त्यसबेला आफ्नो भन्दा ती कुकुरहरुकै जीवन जाती रहेछ भन्ने लाग्छ। आफैलाई धिक्कार्छ।

सडक छेउमा टुसुक्क बस्छ। जिन्दगीको सबैभन्दा नमिठो र संसारकै लाचारी र निम्छरो बाबु र लोग्ने भएको अनुभव गर्छ। सुनिदिने कोही नहुँदा आफ्नै मनसँग वार्तालाप गर्न थाल्छ- 'दशैँको दिनमा सागमा आफ्नै छाया देखिनेगरी झोल हालेर जहान परिवारलाई दिनु? अहोऽऽऽ कत्ति नमि...ठो। अनि जहान छोरीहरुले मानुन् पनि किन? के उनीहरुको देह हैन र? बाहिरी आँखाले देख्ने दशैँ मनले भोग्न नसक्ने भो। एक पाइलाको दुरीमा उभिएको दशैँ फुत्काउँने म हुतिहारा, कर्महारा। अझ म भन्दा अभागी ती मेरी सानी सानी छोरीहरु। जसको मुखमा एक छाक मिठो मसिनो खाना जुटाउँन नसक्ने म निम्छरो। के के न पाइन्छ भनेर शहर आइयो। ईऽऽऽ खाइस्! आँखा अगाडी खानेकुराको चाङ हेरेर भोकोपेट बस्नुपर्ने। थुइक्क जीवन। यस्तो हालतमा म रुन पनि सक्दिन'। लामो सास फेर्छ।

'साला काठमाडौँ, साला यहाँको दशैँ, साला म, साला कुकुरहरु, साला...' रीसले झोक्किँदै जुरुक्क उठ्छ। मुखभरी आको गाली फलाक्न सम्म फलाक्छ। तर उस्को यो अवस्थाप्रति न कसैको चासो छ। न कसैलाई चिन्ता।

8 comments:

Kumar said...

-----------------------------
मार्मिक कथा। समय सापेक्ष छ।

कहिले कहिले यस्तो लाग्छ, हामी मध्यम वर्गीयहरु पनि खास दुखसँग परिचित छैनौं कि क्या हो? हामीलाई आफू उँभो लाग्ने सुरमा बग्गीघोडा जस्तो एकतिर मात्रै हेरिरहन्छौं। वरिपरि नियालेर केलाउने हो भने र दुखसुख बाँड्न सक्ने हो भने हामी अहिलेभन्दा बढी सन्तुष्ट भएर बाँच्न सक्छौं।
यथार्थवादी कथाको लागि धन्यवाद!
-----------------------------
Kumar
Majheri.com

sangamkirati said...

कैलाश जि तपाईको कथा भनौ या यथार्त सारै मार्मिक लाग्यो।यो साला सबै थोक सम्झदा त यो दसै पनि किन आयो होला जस्तो लाग्ने तर बर्ष दिनको चाड हो सबैले खुशिसाथ मनाऔ।दुर्गामाताले सबैलाई शुख सान्ति फैलाओश।एहि कामना गरौ।।।

Oreste said...

A salute from Rome. Ciao

दीपक जडित said...

कैलाशजी बडो मार्मिक र यथार्थ कथा लेख्नुभयो । लाखौं बुँदेहरु यहि नियति भोगीरहेछन यो दशैंमा ।

Luna said...

कैलाश जि ! मार्मिक कथा लेख्नु भो । एक दिन त त्यो दिन आउँला जुन दिन सबै नेपालीले आ- आफ्नो चाड पर्ब खुशी साथ मनाउन सक्ने हैसियत राख्ला भनेको खै ! साला नेपाली नेताहरु ! जनताले ठुलो आस गरेर सरकार मा पुर्याउछन , उनिहरु भने जनता को दु:ख भाषाण मा सिमित राख्छन । साला नेताहरु !

कैलाश said...

कथा पोस्ट गरेपछि आज बल्ल कुटिभित्र छिरे म । साथीहरुको प्रतिकृया पढेर खुसि लग्यो। कुमरजी, सङ्गमजी, दिपकजी लगायत कुटिभित्र पाल्नु हुने सबै साथिहरुको दसै राम्रै चल्दै होला भन्ने आश गर्छु। अनि सायद पहिलोपल्ट हुनु पर्छ लुनाजिलाइ कुटिमा देख्दैछु, तपाइलाइ स्वागत छ अनि धन्यवाद पनि। अब फेरि ४ दिनपछि म झुल्किन्छु। तबसम्मलाइ बिदा।

बेदनाथ पुलामी ( उमेश ) said...

कैलाश जी का 'दशैं विशेष कथा' आँखै अगाडी विलाएको दशैँ... धेरै रोचक लाग्यो , मार्मिक र यथार्थता रहेको छ । झुमा जस्तै हाम्रो देशका धेरैलाई दशैं ले दशा बनाएर सताएको छ ।

अनाम पुस्तकालय said...

एउटा सुचनाः
नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
http://nepalibloglist.blogspot.com/