Showing posts with label जे-पायो-त्यई. Show all posts
Showing posts with label जे-पायो-त्यई. Show all posts

Sunday, August 24, 2008

What an Idea !

अध्ययन/अनुसन्धानको क्रममा ३ जना व्यक्तिले अपनाएको तरिकाबारे छोटो गफ गरौँ आज। त्यसो भन्दाखेरी Research Method/Methodology बारेमा चाहि होइन नि फेरी। अध्ययन/अनुसन्धानको क्रममा आवश्यक सामग्री संकलन गर्दा बाधा आएपछि गाँठो फुकाउँन अपनाएको Tricky कुरो मात्रै हो। जसले अरुलाई थप Idea फुर्ला कि?

घटना १- एकजना साथी, जो अध्ययनमा रमाउँछन्, लेख रचना लेखीरहन्छन्। ३ वर्ष अगाडि ब्लग खोले उनले। त्यो ब्लग हेर्दा मैले केही बुझिन। अफडेट पनि हुन छाडेको थुप्रै भाको। मैले त केही बुझिन तपाईको ब्लगबारे भनेर मैले मेरो जिज्ञासा राखे। उनले सरल जवाफ दिए 'मैले ब्लगिङको लागि खोलेकै थिइन'। अनि के को लागि त? अध्ययनको लागि काठमाडौको नामी डकुमेन्टेसन सेन्टर/पुस्तकालयमा गएछन्। त्यहाँ अनलाइन सर्भिसमा कम्प्यूटरमा बसेर मजाले पढ्न सकिने। आफूलाई चाहिने जति कुरा कपीमा लेख्न जत्ति पनि सकिने। तर त्यो बाहेक print/photocopy/email केही गर्न नपाइने। आफूलाई चाहिने कुरा कपीमा लेख्दै गएछन्। तर जति पढ्दै गयो आवश्यकीय लेख बढ्न थाल्यो। अब कपीमा लेखेर साध्य नहुने भो। चाहिने भएपछि उनले टिरिक निकाले। साइबर क्याफेमा गएर ब्लग बनाए। अनि डकुमेन्टेसन सेन्टरमा गएर आफूलाई चाहिने जति कुरा कपि गर्दै खुरुखुरु ब्लगमा थन्काएछन्। पछि ब्लगमा भएको कुरालाई भेला पारेर मजाले काम फत्ते पारेछन्। अहो ! What an Idea sir jee।

घटना २- अध्ययन/अनुसन्धान कै लागि त्रिविको पुस्तकालयमा दैनिक पत्रिकामा लेख रचना हेरेर/छानेर फोटोकपी गरेर डाटा संकलन गर्नु थियो अर्को एकजना साथीलाई। त्यहाँको पत्रिका हेर्न/पढ्न त सकिन्छ। तर फोटोकपी गर्न निकै झन्झट अनि पालो पनि नआउँने। अन्य पुस्तकको फोटोकपी गर्नुभन्दा निकै नै झन्झट हुने हुनाले पनि पत्रिकाको पालो त्यहाँ सितिमिति आउँदैन। त्यो साथी १/२ दिन गएर यसो पत्रिका हेरेछन्। अनि फोटोकपि गर्ने मामिलामा हप्तादिन भन्दा बढी कुर्नुपर्ने। अनि उनले दिमाग लगाएर साथमा क्यामेर लिएर गएछन्। अनि पत्रिकामा छापिएको लेख/रचना/समाचारलाई क्यामेरामा कैद गरेर ल्याएछन्। अफिसमा ल्याएर मिलाउँदै प्रिन्ट गरेपछि त काम चलि गो नि। यार Good Idea। यस्तै काममा म पनि २ वर्ष अघि फसेको हुनाले सम्झेर ल्याउँदा ढंग पुर्याइएन छ भन्ने लाग्छ।

घटना ३- म काम गर्ने कार्यलय कोठाभित्र छिर्दा आफूलाई उपयोगी हुने अनुसन्धानमूलक लेख, जर्नलहरु अनलाईन साइटहरुमा सर्च गर्दै थिए- अनुसन्धानकर्ता एकजना दाई। आफ्नो अध्ययनसँग मिल्ने सामाग्री पाएपछि उत्साहित बन्दै थिए। PDF फाइल खोल्नासाथ १ पेज खुल्यो। अरु पेज हेर्नको लागि पैसा माग्यो। त्यसले छुटकारा पायो। अर्को फाइल खोल्नु भो। त्यो चाहि सबै खुल्यो। तर त्यो अनलाईन पढ्नबाहेक अरु केही गर्न नसकिने रहेछ। न प्रिन्ट गर्न मिल्ने, न त Copy गर्न मिल्ने। महत्वपूर्ण लेख छ, जसरी पनि पढ्नुपर्ने हुनाले एकछिन सोचमग्न भए।

केही बेरपछि 'तिमीसँग क्यामेरा छ?' भनेर मलाई सोधे। मसँग थिएन। केहीबेर कोठाबाट हराउनुभो। एकैछिनमा क्यामेरा लिएर कम्प्यूटर अघिल्तिर बसे। अघिदेखि कम्प्यूटरको स्क्रीनमा झोक्राएर रहेको डकुमेन्टको फोटो खिचे उनले। खिचेको कुरा प्रिन्ट भएर आउदा पढ्न सकिन्छ कि सकिन्न भनेर जाँच पनि गरे। कुरो मिल्ने भो। पेजवाइज ख्याच्याक्क ख्याच्याक्क गर्दै क्यामेरामा थन्काएपछि एकैछिनमा प्रिन्ट निकालेर मजाले पढ्न मिल्ने भो। काइदा! ब्लगमा गफ जोत्ने मनसायले मैले पनि एउटा दृश्य कैद गरे।

'हो हो होऽऽ हो हो होऽऽ... What an Idea सर जी' भारतीय टेलिभिजन च्यानलहरुमा प्रसारण हुने यो विज्ञापन धेरैलाई थाहा होला। हो हो होऽऽ को ट्यून गाउँदै ३ जना साना भाईबहिनी उफ्रिदै/नाच्दै What an Idea भन्दै खेल्दै गरेको देखेथे आफन्तहरुकहाँ। अहिले म त्यस्तै भन्दैछु- हो हो होऽऽ हो हो होऽऽ... What an Idea सर जी ।

Thursday, June 05, 2008

What i supposed to write (खै म के लेखुँ) ?

खै म के लेखुँ ?

लौन ! दिमागमा थुप्रै कुरा छरपष्ट भएकोले हो वा दिमाग नै शुन्य भएकोले हो म असमञ्जस्यमा परे। यत्तिका दिन भइसक्यो, अब त मेरो कुटीमा केही न केही त लेख्नैपर्छ भनेर यसो घोरिए । मनुवाको प्राण धान्नलाई यसो काम गर्नैपर्नै। काम गर्दा यसो नून त खाईहालिन्छ। मतलब साहूको नून खाएपछि के हुन्छ ? यसो झोक्राउँने बाध्यता त परिहाल्छ नै। कुनैपनि लेख्न मन लाग्ने कुरा पो भेटिन। आ ... खै म के लेखुँ ? भन्दै नाक खुम्चाउँदै थिए। एक्कासी 'ल यो पनि मेरो कुटीको खुराकै हो नि' भन्ने लाग्यो।

त्यस्तो अवस्थामा कहिलेकाही केही साथीहरुले भन्ने गरेको 'खै म के भनु', 'जी मे क्या बोलु', 'what i supposed to say'भन्ने कुराले दिमागमा क्लिक गर्यो। अनि त के चाहियो र। एकचोटीलाई यही सही। जे पर्ला पर्ला नी। ए ... अब मलाई नि यही कुरामा ब्लगिङ गर्दा आउने कमेन्टको प्रसङ्गको सानो अनुभव लेख्न मन परिनिस्क्यो है। मनचिन्ते मान्छे, मनले चिताको लेखीहाल्छु है म। केही साथीहरु मलाई भन्थे 'तिम्रो ब्लग पढे'। केही कमेन्ट देउ न त भन्दा भन्थे 'खै म के भनूँ ?' तर आजकाल केही साथीहरुले कमेन्ट लेखीदिनुहुन्छ अनि स्वाद लाग्छ।

कमेन्टको कुरामा एकजना साथी छन् मैले भेटेको। जसले मेरो ब्लगमा हालेको कुरा हैन, त्यो कुरा पढेर अरुले गरेको कमेन्ट मात्रै पढ्न रुचाउँदो रहेछ। कहिलेकाहीँ पढीहालेमा पनि १ हरफ धेरै पढेको खण्डमा १ अनुच्छेद। ब्लगको कुरामा 'कमेन्ट आउन थालेछ नि' भन्छ। अनि मेरो लेखनको बारेमा नि भन्ने पश्नमा उ पनि भन्छ 'खै म के भनुँ ?'। सकारात्मक तथा नकारात्मक कमेन्ट पाउँदा लेख्ने मान्छेलाई प्रोत्साहन तथा आफ्नो शैली, क्षमता, खुबीबारे जानकार त भइन्छ नै। तर कमेन्ट गर्दा पनि त उत्तिकै खुबी र मन चाहिन्छ। अनि फेरी कमेन्ट मात्रै पढ्न रुचाउँने व्यक्ति पनि छन् भन्ने थाहा पाएपछि त कमेन्टको महत्व अझ बढी नै पो हुँदो रहेछ। यसबारेमा अरु 'खै म के भनु र?' अन्य कमेन्टटेटर साथीहरुको जिम्मामा छाडीदिन्छु है। पालो तपाईहरुको पनि, अब हेरौ 'खै तपाईहरु के भन्नुहुन्छ?।

Sunday, February 24, 2008

मन सल्बलाएको १२० सेकेण्ड

गत माघ ८ मा सरकारले पेट्राेलियम पदार्थमा मूल्यबृद्धि गरेपश्चात सडकमा उर्लेका सर्वसाधारण ।

यसो विचार आयो मनमा, २ मिनेट दिमागलाई कष्ट दिउँ न त । आखिर के चाहिँ सोच्दो रहेछ ????
समय शुरु...

बिना सोच, बिना टुङ्गो धुन्मुनिदै, धरमरिदै भविष्यतिर लम्किरहेको बालापन । न कोही पथ प्रदर्शक, न कुनै तथस्ट विचार । बाक्लो कुहिरोभित्र रुमिल्लएझैँ चलिरहेको दिनचर्या । 'जे पर्छ त्यहि टर्छ' भन्ने ढाँचामै बितिरहेका प्रत्येक पल अनि त्यहि पलहरुसँगै भौतारिदै, अल्मलिदै, बिना योजना, बिना चेत तर केही उत्साहसाथ अनायसै राजधानी प्रवेश । यहाँ ल्याइपुर्‍याउने तत्व वा बहाना जे जस्तो भएपनि आफ्नै सपना, कल्पना, लक्ष्य खुट्‍याउनै सकिएन । जहाँ, जहिले जसको सामु या जुनसुकै परिस्थितिमा पनि सम्झौता गर्ने बानीसँगै हुर्कीबढी आज पनि त्यही बानी । नानीदेखि बसेको बानी, कठै कसरी छुट्‍ला र ? सायद एउटा विडम्बना नै हो यो ।

राजधानीको वातावरणमा नयाँ परिवेश र नौलो अनुभूति छ । शनिबार बिहान मात्रै जय बागेकश्वरी र चावहिलमा मटि्टतेललगायतका इन्धन नपाएवापत बिभिन्न भाँडाकुँडासहित चक्काजाम गर्दै टायर बालियो । यो कथित शहरमा सबै छ । के दिएन र शहरले ? दु:ख, सुख, परिवर्तन, कोलाहल र त्यसभित्रको एक्लोपन, उदासीनता अनि धेरै कुरामा 'बानी पर्नु' । अझ तत्कालिन परिस्थितिमा भन्ने हो भने हरेक कुराको अभावसहितको मूल्यबृद्धि र कष्टकर दिनचर्या अचूक बनेको छ । जस्तै: 'बिना'को सन्दर्भमा– बिना इन्धनको यातायात, बिना बिजुलीको उज्यालो, बिना ग्यास–मट्टितेलको चुल्हाचौका, बिना पानीको धारा तथा नल आदि आदि । अब 'सहित'को सन्दर्भमा उपलब्ध हुने कुरा पनि हेरौँ न । घण्टौँको कष्ट तथा लामो समयसम्म पालो कुराईसहितको इन्धन, भारी मूल्यबृद्धिसहितको खाद्यान्न, तरकारी तथा फलफूल, पहिलेको तुलनामा थोरै सवारी साधनसहितको खुल्ला सडक, लोड सेडिङसहितको कार्यालय कामकाजमा आराम (साथै आगलागीको घटना) आदि इत्यादि । यस्ता महत्वपूर्ण अवस्थाका कैयौँ चरण पार गर्नुपर्ने आवश्यकता भयानक हो कि साधारण् ? चक्काजाम र बन्द हड्ताल तथा धर्नाजुलुस नभए त पशि्चमबाट घाम उदाउछ कि । धन्न‌‌ हड्‍डी खियाउँदै झिँझ्याट्‍ लाग्दो चिच्याहटभित्रै दिल खोल्दै रमाउने क्षमता छ हामीमा । धन्य भगवान ।

आफ्नै सिङ्गो दिमाग र कामले भ्याउने भएदेखि संसारै भ्याइदिने मन छ तर अफसोस जाबो एउटा लछरपाटो लाउन त्यत्रो कन्तबिजोग अनि अरु के कुरा गर्नु र ? खुइया... अब परिस्थितिबस रम्ने, खेल्ने बानीसँगै औँसी पुर्णे वा झरीबादलमा पनि हसिलो, उन्मत्त र फुरुङ्ग बन्नुपर्छ । यहि हो जीवनको जीउने सार, समस्या र मुद्दाको मूल भण्डार, नेपाल र नेपालीका लीला अपरम्पार ।
समय समाप्त ।