Friday, December 25, 2009

Kid आजकाल

एकाबिहानै निद्रामै मैले भने 'हेलो'।
'गुड मर्निङ फूफू। तपाई मेरो बर्थ डेमा आउनु है जसरी पनि' एकदमै टठिलो र तिखो स्वर कानमा पर्यो।
'कहिले?'
'पुसको इलाभेन गते हो नि मेरो बर्थ डे। तपाईले बिर्सिनु भयो कि क्या हो? त्यो दिन भोली हो, स्याटर्डे। पक्का आउनु है। तपाईलाई बाई अरुलाई पनि बोलाउँछु म।'

भदाको फोनले मलाई ब्युझाएन मात्रै। सोचमग्न पार्यो। घडी हेर्दा साढे पाँच बजेको थियो। आजकाल त त्यत्तिबेला सम्म राती नै हुन्छ। त्यहीमाथि जाडोको याम छ। काम नभएसम्म न्यायो सिरक छाडेर उठ्ने जाँगरै चल्दैन। यो केटाले चाहिँ सबैलाई जगाउँन अनि निम्तो दिन भ्याइसकेछ। अचम्म!

ऊ भोलीदेखि ४ वर्ष नाघेर पाँच वर्षमा लाग्दैछ। उसको नाम सक्षम हो। उसैले मोबाइल फोनबाट दिएको निम्तोको कुरा गर्दैछु म। साँच्चै मैले त भदाको जन्मदिन बिर्सिएको रहेछु। यद्यपि हरेक साल उसको जन्मदिनमा हामी सामान्य रुपमा भेला भएर मनाउँदै आएका थियौँ। र ऊ जन्मेको पनि हिजै हो जस्तो लाग्छ सम्झँदाखेरी। तरपनि उ त हेर्दाहेर्दै ठूलो भइसकेछ। आजकालको माहौललाई बुझ्ने भइसकेछ। ए बा !

मेरो बाल्यकाल सम्झँदा मैले ४ या ५ सालको हुँदाखेरी के के गर्थे। कसरी सोच्थे। मलाई एकरत्ति याद छैन। त्यसभन्दा धेरै पछिसम्म पनि मलाई धेरैजसो कुराबारेमा ज्ञान थिएन। साह्रै लद्‌दु भएर होला। अहिलेका बच्चाहरुमा देखिने Understanding, smartness, cleaverness देख्दा म दंग पर्छु। अनि जमानाअनुसारको हुनैपर्यो नि भन्ने लाग्छ। किनकी उनीहरुको जमाना बढी प्रतिस्पर्धात्मक, रफ्तारको र सृजनात्मक हुन्छ अवश्य पनि हाम्रो भन्दा। त्यसबेला झनै Survival of the Fitest को माहौलमा टिक्नु जो पर्नेछ।

खासगरी यो कुरा यहाँ ठेल्नयोग्य लाग्नुमा एउटा कारण छ। पोहोर साल नै दाजुले भन्नुभएको थियो कि 'अब हाम्रो तर्फबाट यहि सालसम्म मात्रै हो। सक्षम आफैले पहल गर्न सक्ने भएपछि जे सुकै गरोस्'। दाईको आसयमा हामी सबैले सहमति जनाएका थियौँ। र सबैजनाले यो वर्ष वर्थ डे भनेर मनाइने छैन भन्ने बुझाई राखेका थियौँ। त्यसै पनि यो वर्थ डे, एनिभर्सरीलगायतका कुराहरु मान्नेप्रति मेरो जोड रहँदैन। र मानाउँनैपर्ने संस्कृति पनि हो जस्तो लागेको छैन यतिञ्जेलसम्म। तर पुस्तान्तरको क्रममा आफ्ना यथावत् रहेका सोच र व्यवहारमा पनि अन्तर ल्याउँनुपर्ने र अपडेट गर्नैपर्ने अवस्था आइपर्ने रहेछ।

दाईको आसय जे थियो त्यसलाई सक्षमले बुझेरै यो पल्ट आफ्नो बर्थ डे मनाउँन ऊ आफै पहल गर्न थालेछ। सक्षमलाई दाईको आसयको बारेमा थाहा छ/छैन। तर ऊ आफैले पहल गरेर यो पालीको उसको वर्थ डे मनाउनै पर्ने भएको छ। भाउजुसँग कुरा गर्दा अझ बढी कुरा थाहा भयो। आमा बाबा भन्दा अगाडि उठेर आफ्नो स्मरणलाई ताजा पार्नलाई अघिल्लो अघिल्लो वर्षहरुमा मनाएको वर्थ डेको फोटो हेरेछ सक्षमले। त्यसपछि यो पालीको तयारीमा जुटेछ केटो। उसले दुईटा शर्त राखेछः पहिलो आफूले जो जो नाम दिन्छ सबैलाई बोलाउँने। दोस्रो उनीहरुको नम्बर र मोबाइल उपलब्ध गराउने। अनि त भट्टाभट फोन गर्दै वर्थ डे मनाउँने तरखरमा लागेछ सक्षम।

अब सक्षमले कुरा मिलाएरै छाड्यो। अझ भनौ न आफ्नै पहलमा आफ्नो बूताले भ्याएसम्म पहल गरेर आमा बाबालाई आफ्नो वर्थ डे मनाउँनु पर्ने कुरामा सहर्ष खुशी पारे। उनको साथीभाई सबै सक्षमको वर्थ डेमा जाने भनेर फुरुङ्ग। सक्षम आफै असाध्यै खुशी भएर फुर्तिलो बनेको छ। अर्कोतिर पोहोर साल सक्षमको बाबाले निर्क्यौल गरेको धारणा पनि एक हदसम्म पूरा भएकै छ। 'That's the spirit' भनु जस्तो सक्षमको कुरा सुन्दा म केही हर्षित भए। केही सतर्क पनि। यति सानै उमेरमा आफुले भनेको र चिताएको कुरा पुर्याउँनलाई देखाएको जागरुकता र ढिपीलाई लिएर सायद खुशी नै हुनुपर्छ होला अभिभावक वर्गले। त्यसैले मलाई यो प्रसंगमा भन्न मन लाग्यो 'वाह्‌! Kid आजकाल'।

अन्तमा सक्षमलाई जन्मदिनको धेरै धेरै शुभकामना। उनको चाहना, इच्छा पूरा होऊन्। भविष्य राम्रो होस्।
(माथिको तस्बीरमा अघिल्लो जन्मदिनको अवसरमा केक खाँदै उनै भोलीको Birthday Boy सक्षम)

Thursday, December 17, 2009

१ मिनेटको बहानामा उत्सब

'पुरै १ मिनेट किन बढाएको? १ मिनेटमा यहाँ एउटा फिल्म बन्छ।' वाफरे १ मिनेटको पनि यत्रो महत्व?

राष्ट्रिय सभा गृह हलभित्र १३ डिसेम्बर साँझ 'The Devotion of Matthieu Ricard' (67 min, Netherlands, 2008)फिल्म हेर्न छिर्यौँ हामी। ६७ मिनेटको फिल्मलाई साथी (सागर)ले ६८ मिनेट भनेर पढेपछि छेवैको अर्को साथीले यस्तो प्रतिक्रिया दियो । भर्खरै 7th Kathmandu International Film Festival (KIMFF) 2009 सकियो। त्यही फेस्टिभलको फिल्म हेर्दाहेर्दैको प्रसंग थियो यो। समयको हिसाब गर्दा ४ मिनेट २० सेकेण्ड देखि १०८ मिनेटसम्मको फिल्म थिए त्यहाँ । खैर, यो टाँसोमा उक्त फेष्टिभलको हैन, 1 Minute Documentary Film Fest को कुरा राख्छु। Documentary for Social Transformation (DOST)ले उक्त फेष्टिभलको आयोजना गर्यो। समूहमा सचिन, सागर, रुख, श्रीधर, जानुका, रुपलगायतका साथीहरु सक्रिय रहे।


साथीहरुलाई १ मिनेटवाला फेष्टिभलको रन्को चढेको थियो सभा गृहमा फिल्म हेरिरहँदा। केही नयाँ, केही चुनौतिपूर्ण रमाइलोपनाको खोजीमा रमाउने र आ-आफ्नै क्षेत्रमा सक्रिय रहेका युवा साथीहरुले यो फेष्टिभल गर्ने विचार फुर्‍याउँदा म आफैसँग घोत्लिएको थिए। कस्तो चाहिँ होला है? परिक्षण र सिकाइको रुपमा लिएर जाने निधो गरे साथीहरुले। भन्दैथिए साथीहरु, यो फेष्टिभलमा रुचि भएकाहरु जो पनि बोर्ड मेम्बर, जो पनि फिल्म मेकर र जो पनि दर्शक तथा विश्लेषक बन्ने हो, तर फिल्मको कन्टेन्ट १ मिनेटभन्दा धेरै हुनुहुन्न। त्यो भन्दा कम भए नि हुन्छ। यसमा सबैको सहमति भयो र फेस्टिभल गर्ने दिन जुर्यो- १७ डिसेम्बर। फिल्म फेष्टिभलको लागि मार्टिन चौतारीले जम्मा हुने थलो र फिल्म स्क्रिनिङको निशुल्क जोहो गरिदियो । फेस्टिभलको लागि जुटेका साथीहरु यो experimental work हो let's see भन्ने जोशमा थिए। अन्य धेरैलाई अनौठो लाग्यो। केहीलाई भने पत्यारै लागेन।

मात्रै १ मिनेटको डकुमेन्टी? लौ कसरी? जानकारी पाएपछि धेरैले यसबारेमा सोधखोज गरे। उपत्यकाभित्र र बाहिरबाट मात्र हैन देश बाहिरबाट पनि इमेलमार्फत साधेनी भएको थियो। फिल्म या डकुमेन्टी बन्नलाई कुन कुन कुरा जरुरी छ, कुन कुन पक्षको संयोजन हुनुपर्छ भन्ने कुरातर्फ ध्यान नदिइकन, कुनैपनि खालको औपचारिक प्रक्रियामा नछिरिकन, आफूसँग भएको प्रविधिसँग खेल्दै खुबी प्रदर्शन गर्ने र रुचिकर सिकारु तथा पोख्त भइसकेकाहरुलाई समेत मात्रै १ मिनेटको फिल्म मेकिङद्वारा सानो जमघट हुने मौका मिल्यो। जम्मा २४ वटा डकुमेन्टी फिल्म प्रदर्शन भए। दर्शकहरु पनि जिज्ञासु भावमा थुप्रै संख्यामा उपस्थित भए।

अब लागौ २४ वटा फिल्मतिर। रुप कुमार विकेको 'Das Deusi'ले जर्मनी भाषामा देउसी खेलेर जर्मनीतिरै जाने युवाहरु इच्छा व्यक्त गरेको थियो। विकेकानुसार Das भनेको जर्मनीमा the हो। तर एकजना दर्शकले फिल्म हेरेपछि भने 'देउसी पनि दास बनेछ'। सचिन घिमिरेको छुवाछुतसम्बन्धी 'लाज नभएको मान्छे' र जर्मनमा रामकृष्ण भजन गाएर हिडेको रमाइलो 'Ramkrishne in Germany'को दृश्यकथा हो। खेलकुद र खानाको प्रभाव पढाईमा पनि पर्छ भन्ने
सन्देश लिएर 'बालबालिकाहरुमा खेलकुद र खानाले पार्ने प्रभाव' मार्फत् १३ वर्षे अभिनाश अर्याल आए। परम्परागत नेपाली समाजमा एउटा घर, परिवार, अन्नबाली, पशुपंक्षी, बाटोघाटो भए जीवन सम्पन्न हुन्छ भन्दै 'The Rich' लिएर विश्व दर्शन नेपाल देखा परे। त्रिविको केन्द्रिय पुस्तकालय छेउ भाँडा माझेर गुजारा गर्ने बालकको कथा 'To Whom it May Concern'मा समेटेर प्रकाश लुईटेलले सटिक व्यङ्ग गरे। समीर कुमार जोशीले लागू पदार्थ प्रयोगकर्ताको नियतिलाई 'मन्द विषको गुलाम'मा कैद गरेका छन्।

उज्जवल ढुंगानाको 'हामी: Barbarism'ले निर्ममतापूर्वक पशु काट्ने/मार्ने र खाने हामी मानवको स्वभाव र परम्परालाई उनेको छ। यो फिल्ममा देखाइएको दृश्यले दर्शक, फिल्म मेकर र आयोजकबीच Film Making ethics बारे बहस समेत चलायो। सवारी दुर्घटनासम्बन्धी प्रतिकार कार्की र कला पौडेलको 'जोशमा गुमाएको होस्‌', १० वर्षिया ऋद्धिका थापाले आफ्नो वरपरका दृश्यलाई 'My Eye' शीर्षकको Photometry मा सजाए। त्यस्तैगरी श्रीधर न्यौपानेको 'त्रास' र 'Torture' गणेश थापा- जर्ज दाईको 'जब' र '?', रघुबर नेपालको 'Towards' र 'भोटे दाईको डोको', अभिनाश विक्रम शाहको
'Memories of a Sparrow', दिपेश घिमिरेको 'निरन्तर', प्रताप अधिकारीको 'क्लाइमेट चेन्ज इन नेपाल', शिवशरण कोइरालाको 'मेरो कथा', विकास प्रधानको 'One heart One people', राजेन्द्र महर्जनको 'स्कूलपेटी छेउ' नामक नेपाली डकुमेन्ट्री फिल्महरु प्रदर्शन भए। भारतका २ वटा 'Dhannobiti' (Ayesha Maria Mualla, India) र 'General Compartment' (Shilpi Gulati and Sharanya Gautam, India)नामक डकुमेन्ट्री पनि प्रदर्शन भए।

फिल्म प्रदर्शन र छलफलपश्चात मार्टिन चौतारीमा फिल्मसम्बन्धी अनुसन्धानरत अनुभव अजीतले आफ्नो छोटो विश्लेषणात्मक विचार राखे। युवाहरुको जमातले यही फेष्टिभलमा अर्को एउटा प्रदर्शन पनि गरे- कला प्रदर्शन। मार्टिन चौतारीको बगैचाभरि ठेचोका ५ जना युवा कलाकारहरुको विविध चित्रहरु राखिएको थियो। ती चित्रहरु मनमोहक र सुन्दर थिए। साँच्चै एउटा रचनात्मक उत्सब नै भयो।

अब फेरी फिल्मकै कुरातर्फ लागौ। मार्टिन चौतारीको हल दर्शकले खचाखच भरिएको थियो। प्रत्येक फिल्म हेर्दा एक खालको विषयवस्तु र मनोरञ्जन त छँदैथियो। फिल्म हेरिसकेपछिको अन्तरक्रियामा दर्शक र फिल्म मेकर दुबैको दृष्टिकोण पनि उजागर भयो। केही डकुमेन्ट्रीले १ मिनेटको समयावधिमा देखाउँन खोजेको कुरा स्पष्टसँग देखाएको थियो भने केहीले विषयको थालनी मात्रै गरेझैँ लाग्थ्यो। तैपनि १ मिनेटको डकुमेन्ट्री कस्तो हुँदो हो? भन्ने जिज्ञासालाई यो फेष्टिभलले परिपूर्ति गर्यो। प्रत्येक फिल्म सकेपछि बीचबीचमा भएको मत मतान्तर र भिन्न भिन्न दृष्टिकोणले उपस्थित दर्शक र फिल्म मेकर अनि DOST समूहलाई समेत एउटा पाठ भयो।

फिल्म मेकर १० वर्षे ऋद्धिका थापा, १३ वर्षे अभिनाश अर्याल, संसारकै छोटो फिल्म 'त्रास', नेपालमा बनेको जर्मनी फिल्म 'Das Deusi' र नेपालीले बनाएको जर्मनी फिल्म 'Ramkrishne in Germani'लगायतका कुरालाई लिएर DOST समूह फुरुङ्ग थियो। साथै फेष्टिभल सम्पन्न भएपछि १ मिनेटको फिल्म फेष्टिभलको मर्म मर्न नदिने हौसला प्रदान भएको अनुभव गर्दै उत्साहित पनि देखिए। केही नयाँपन, केही फरक स्वादको खोजीमा रहेका युवाहरुको स्वतस्फुर्त एउटा प्रयास हो यो फेष्टिभल। जुन खर्चको हिसाबले किफायती र पूर्ण रुपमा व्यक्तिको रुचि र तत्परतामा भर पर्ने सामूहिक कार्यको नमूना मान्न सकिन्छ।

यो फेष्टिभलको निरन्तरता हुने नहुने, यसले कुन रुपधारण गर्ने या नगर्ने भन्ने जस्ता आगामी कुनै योजना छैन। तर फेष्टिभल सम्पन्न भइसकेपछि DOST का साथीहरु थप उत्साहित भएको पाए। नाम कहलिएका, सबैले मानेका र धेरै खर्चमा सम्पन्न हुने त्यस्ता फेस्टिभलका सामुन्ने यो फेस्टिभलको ठाउँ कही नहरला। तर १ मिनेटको डकुमेन्ट्री बनाउँनु आफैमा निकै नै अप्ठ्यारो र साँघुरो काम हो। सबै अवस्थामा लागू नभएपनि आफूले भन्न या लेख्न खोजेको कुरा ६० शब्दमा प्रष्ट भन्नु र १ मिनेटमा एउटा कथावस्तु समेट्नु खँदिलो सृजना गर्नु हो। कतिपय अवस्थामा दबाबपूर्ण कार्य पनि हुन जान्छ सायद। यस्ता सृजना सबैले सँधै गर्न सक्ने कमै हुन्छ। र सबैमा लागू हुन्छ भन्ने पनि हुन्न।

'लामा लामा डकुमेन्ट्री हेरेर अघाएकाहरुलाई भोक जगाउने काम पनि हो' हलभित्र फिल्म हेर्दाहेर्दै एकजना दर्शकले आफ्नो विचार यसरी राखेका थिए। समयको महत्वलाई बुझ्दै, आफ्नो सृजनशीलतालाई एकआपसमा बाँड्ने, प्रतिक्रिया-सुझाब लेनदेन गर्ने र सृजनालाई निखार्ने र चलिआएको चलनभित्रै नयाँपन खोज्दै आफ्नो कार्यक्षमता देखाउने एउटा अभ्यासको रुपमा मैले यो फेष्टिभललाई लिए। यसको निरन्तरताको लागि थुप्रै कुराहरु हुनुपर्ने र तिनले थुप्रै पाटाहरु समेट्नुपर्ने, सिक्नुपर्ने बाध्यता र खाँचो पनि छ। त्यसको बाबजुद निरन्तरताको अपेक्षा गर्ने लोभ भने जगाएको छ। हरेक experimental workको अविध छोटो भएकै जाती। र त्यस्ता केही रुचिकर र राम्रा परिक्षण कार्य पाकोपनतिर लम्केकै राम्रो।

Wednesday, December 02, 2009

किराती र साकेलाः केही चर्चा

किरातीहरूले बर्षेनि दुइपल्ट उभौली–उधौली (वैशाख पूर्णे र मंसिर पूर्णे) साकेला धुमधामसँग मान्ने गर्छन्। अहिले यो टाँसो लेखिँदाखेरी उधौली साकेलाको बेला छ। प्रकृतिका पुजारी मानिने राई, लिम्बू, सुनवार, याक्खालगायतका किरातीहरू साकेला पर्वमा पूजाआजा, नाचगान,खानपिन तथा भेटघाट गर्ने गर्छन्। प्राकृतिक प्रकोप नहोस्, सहकाल रहोस्, अन्नबाली सप्रियोस, कुलपित्री खुसी होऊन‍्, सबैको सुब्बेफाब्बे होस् भन्ने प्रार्थना गर्दै साकेला चाड मनाउने गरिन्छ। त्यसैले साकेला किरातीहरूले सगोलमा मान्दै आइरहेको परम्परागत–मौलिक चाड हो। यो फोटो खुलामञ्चमा गत वैशाख पूर्णेको उभौली साकेला मनाउँदै गरेको बेला खिचेको हुँ। यहाँ पंक्तिबद्ध नाचीरहेकाहरु किराँत लिम्बु हुन्।

आजकल मौलिक–सांस्कृतिक पक्ष अनि आधुनिकीकरण र रमझमको मिश्रणसँगै साकेला परम्परा धानिन थालेको देखिन्छ। त्यसको अलावा सामूहिक रूपमा साकेलामान्ने किरातीहरू भित्रै विविधता छ। 'दस राई एक भान्सा' भनी चिनिने किरातराईहरूभित्रै फरक–फरक भाषा बोलिनु,र अहिले आएर 'पदवी' र 'थर' बीचको फरकपनाको बुझाइ र खोजाइले त्यस्ता विविधता बाहिर देखिन थप बल पुगको छ। त्यसो त 'राई' शब्दावली बाउबाजेकोपालादेखि भिर्दै आएको नासो हो। त्यही शब्दावली प्रत्येक आधिकारिक प्रमाणपत्रमा अंकित भएर बसेको छ। यद्यपि यसबारेमासत्य तथ्य इतिहास कोटयाउने, अध्ययनअनुसन्धान गर्ने र आफ्‍नो सही पहिचान खोतल्ने काममा केही व्यक्तित्व सक्रिय छन्।

आजकाल राई भन्नासाथ कुन राई? भनेर प्रश्न वा जिज्ञासा नराख्ने किरातीहरू विरलै भेटिन्छन्। यो प्रश्न जातीय नश्ल पहिचान तथा स्वपहिचानको खोजीको क्रममा सिर्जना हुँदै आएको चेतनाले ल्याएको हो भन्दा अत्युक्ति नहोला। 'राई' शब्दावलीको सट्‍टा कुलङ, थुलङ, बाहिङ, चाम्लिङ, लोहोरुङ, याम्फू, पुमा, दुमी, लगायतका आ–आफ्‍ना थर लेख्ने अभ्यास दिनानुदिन बढ्‍दो छ। त्यही अनुरुप प्रमाणीकरणको चरणमा आफ्‍नो स्वपहिचान कायम हुनुपनेतर्फ पनि धेरैको जोड रहेको छ। 'आदिवासी जनजातिसूचि परिमार्जन उच्चस्तरीय कार्यदल' समक्षपरेका पहिचान आवेदनले त्यसलाई पुष्टि गर्छ।

किरातीहरूको सन्दर्भमा 'एक जाति किराती, बहुभाषा बहुसस्कृति' भन्ने प्रसिद्ध वाक्यले किरातीहरूको वास्तविक चिनारी बोकको छ। किनकी बहुभाषा बोल्ने र जातीयता तथा भौगोलिकताको आधारमा भिन्न संस्कृति बोकका किरात राई, सुनवार,याक्खा, लिम्बुलगायतकाहरू भए पनि किराती जातिकै पहिचानभित्र समेटिदै आएका छन्। यी किरातीहरूबीचको विविधताभित्रकै एकतामध्ये एउटा संस्कृतिले राष्ट्रिय पहिचान कायम गरिसकेको छ। जसलाई साकेला नामले पुकारिन्छ। यो साकेला शब्द सबै किराती भाषाहरूमा फरक फरक रूपमा अभिव्यक्त गर्ने गरेको पाइन्छ। माझ किराँत क्षेत्रमा 'साकेला', 'साक्खेवा' वा 'साकेन्वा',पल्लो किरात क्षेत्रमा 'साखेवा' र ओल्लो किरातमा 'स्याँदर सील' नामले पुकारिन्छ। जे नामले पुकारे पनि साकेलाको अर्थ, यसको ऐतिहासिकता र मिथकमा लगभग समानता पाइन्छ। यस साकेवा संस्कृति वा चाडको उपलक्ष्यमा नेपाल सरकारले समेत राष्ट्रिय बिदा दिइसकेको छ। यसले साकेला संस्कृतिको प्रवर्द्धन तथा संरक्षणको बाटो फराकिलो बनाएको छ। यहाँनेर यो मौकालाई किरातीहरूले कुन रूपमा उपयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ।

साकेला परम्पराले किरातहरूको पहिचानलाई वृहत रूपमा फैलाउन सघाएको मात्र छैन, उनीहरूको मौलिक र सांस्कृतिक पक्ष उजागर समेत गरेको छ। तसर्थ साकेला किरातहरूको एउटा मौलिक–सामूहिक परम्परा हो, जसले समाजमा उनीहरूको अस्तित्व जोगाउन र फैलाउन सघाएको छ। यसरी साकेला परम्पराले केही हदसम्म किरातीहरूको एकतालाई धान्दै आएको मान्न सकिन्छ। एकातिर उनीहरूको मौलिक–संस्कृतिको निरन्तरता र जगेना भइरहेकोछ। अर्कोतिर आपसी सद्‍भावसहित नयाँपुस्तामा संस्कृति तथा परम्परागत ज्ञान,शैली, कला हस्तान्तरण समेत भइरहेको छ।

सबै किरातीहरू साकेला मान्न एकैथलोमा भेला हुन्छन्। त्यही भेलालाई नियाल्दाखेरी पनि किरातीहरूभित्र रहेको बहुसस्कृतिको अस्तित्व भेटिन्छ। बेग्लाबेग्लै समूह–समूह अनुसारकै साकेला सिली टिप्ने (चराचुरुङ्गीको हाउभाउ, खेतीपाती गर्नेशैली, शृगारका शैलीको नक्कल गर्ने) कला, पहिरन, भेषभूषा तथा सांस्कृतिक पक्षहरू देख्न सकिन्छ। यसरी साकेला चाडले यस्ता विविध खाले कला–संस्कृति,परम्पराको माध्यमबाट सहअस्तित्व र सहपहिचानको समन्वय र जगेना गर्दै आइरहेको देखिन्छ। अहिले समग्र नेपालको पुनसंरचनाको चटारोको बखतमा किराती जातिभित्रको बहुभाषा र बहुसांस्कृतियुक्त सामूहिक पहिचान पनि संक्रमणकालिन अवस्थामा रहेको छ। तैपनि साकेला संस्कृतिको महत्व र आकर्षणमा भने कमी आएको छैन।

अध्येता डा. लाल–श्याँकारेलु रापचा भन्छन्, 'किराती जातिको सांस्कृतिक धरोहर साकेला सिली नै हो।' साकेला सिलीको विविधताकै अध्ययन अनुसन्धानमार्फत प्रकृति–भौगोलिक–वातावरणीय विशेष जीवजन्तु तथा पुर्खासम्म पुग्न सकिने उनको तर्क छ। केही अनुसन्धाताहरूको प्रयास र अभ्यासले उनको तर्कलाई बल पनि मिलेको छ। यसरी किरातीहरूको ऐतिहासिकता र सांस्कृतिक पक्षलाई साकेला संस्कृतिले समेटदै आइरहेको बुझिन्छ।

एउटा पश्चिमा मिथक छ, प्राचीनग्रीकमा सबै मानिसहरू एकै भाषा बोल्थे। भगवान् नै उनीहरूको लागि सम्पूर्ण कुरा थियो । उनीहरूले भगवान‌्‍सम्म पुग्न सक्ने टावर बनाउन थाले- 'बाबेलको टावर'। उनीहरूबीचमा भाषिक एकता थियो। समन्वय थियो। समझदारिता थियो। दिनानुदिन टावरको उचाइ आकाशिदै गयो। सामान्य मानिसहरू पनि भगवा‌न‌्‍को स्थानसम्म पुग्न सक्ने र त्यसको प्रभावबाट बच्न भगवान‌्‍ले जुक्ति रचे। ती मानिसहरूबीचको एकता तोडीदिए। मानिसहरूबीच फरक-फरक भाषा उत्पन्न गराइदिए। त्यसपछि कसैले कसैको कुरा बुझेनन्। मानिसहरूबीच असमझदारिता, अन्यौलता र एकलकाँटेपना शुरु भयो। र भगवान‌्‍सम्म पुग्ने माध्यम बाबेलको टावर अलपत्र पर्‍यो।

मिथकमा भाषिक विविधताले उनीहरूबीचको समन्वय, समझदारितामा खलल पुग्यो। र सामूहिक उद्देश्य प्राप्तिकोमार्ग र अभ्यास बीचैमा तुहियो ।किरातीहरूको सन्दर्भमा भाषामा अवश्य पनिविविधता छ। तर, भाषिक विविधताको बाबजुद अहिलेसम्म समग्र किरातकै पहिचान बोक्दै आइरहेका छन्। भाषाको कुरा गर्दा, लिम्बु बाहेक 'राई-किराती' भन्ने साझा नामभित्र सबै किरातीहरूको भाषालाई समावेश गरिएको छ। यद्यपि राई-किराती भाषाभित्र समेटिएका भाषाहरू परस्परमा नबुझिने खालका छन्। पछिल्लो जनगणनाले २५ ओटा राई भाषाहरू देखाएको छ। तर जर्मन सरकारले सन् १९८१-८४ ‍मा गरेको सर्वेक्षणमा ३४ ओटा राई-किराती भाषाहरू किटान गरेको छ। सर्वेक्षण तथा जनगणनाले जे-जति संख्या तोकको भएपनि किरात राईहरू भित्रको भाषिक विविधताको प्रमाण मिलेको छ।

भाषिक तथा अन्य विविधता कै कारणले बाबेलको टावर अलपत्र परेझेँ किरातीहरूको सामूहिक उद्देश्य र पहिचान अलपत्र पर्नबाट जोगाउँनेतर्फ सोच्नुपर्ने बेला पनि आइसकेको छ। स्वपहिचानको खोजीमा किरातीहरू एकापसमा पूर्ण रूपमा विभक्त हुन सक्दैनन्। तर समन्वय र एकताको खाँचो रही नै रहन्छ। समन्वय तथा एकताको एउटा माध्यम हो- साकेला संस्कृति। त्यसैले किरातीहरूको लागि सांस्कृतिक पाटोबाटमात्र नभई थुर्पै पाटोबाट साकेला एउटा मियो बन्न सक्छ। त्यसका लागि साकेला संस्कृतिलाई शुद्ध मनोरञ्जन, रमझम, खानपान, जमघटको मात्रै बहाना बन्ने सम्भावनाबाट मुक्त गर्नुपर्छ।

Friday, November 27, 2009

ककस समूह र आदिवासी जनजाति महिला

अन्तरिम व्यवस्थापिकामा नियमानुसार महिला सभासद्‍ समिति (ककस) स्थापित भयो। औपचारिक समिति भएकोले त्यो शक्तिशाली पनि थियो। संविधान सभा गठन भएपछि महिला समिति बनाउने भनेर त्यसलाई भंग गरियो। तर महिला समिति बन्न सकेन। न त महिला ककसबारे नियमावलीमा उल्लेख नै गरियो। संविधानसभामा संलग्न सबै सरोकारवाला समूहहरु (महिला, दलित, जनजाति, मधेसीलगायतका)लाई औपचारिकता दिन नसकिने व्यवस्थापकीय र व्यवहारिक कारण देखाइ ककसलाई औपचारिकता दिइएन।

संविधान सभा भन्दा पहिले संख्यात्मक हिसाबले महिलाहरु कम रहेकोले सामूहिक आवाज बनाउन एउटा 'प्लेटफर्म'को खाँचो थियो। अहिले त्यो संख्यामा गुणोत्तर वृद्धि भएको र अन्य सरोकारवाला समूहहरुलाई समेत ध्यान दिँदा आर्थिक भार बढ्‍ने, संयोजनलगायतका पक्षमा व्यवहारिक कठिनाइ थपियो। त्यसो हुँदा संविधानसभामा ककसले औपचारिकता पाउनुपर्ने अडान त्याग्नु परेको महिला ककसकी संयोजक दामाकुमारी शर्मा बताउँछिन्। उनी भन्छिन्– 'व्यवहारिक र प्राविधिक पक्षलाई बुझेर हामी सहमत नहुँदा नहुँदै पनि सहमत हुन बाध्य भयौँ।'

संविधान निर्माणको क्रममा महिला सरोकारका विषय उठान गर्नु र त्यसको कार्यान्वयनको लागि दबाब दिनु अझ महत्वपूर्ण कुरा हो। त्यसैले साझा सवालमा सभासद्‍हरु एउटै मियोमा बाँधिनको लागि अनौपचारिक समूह बनाउन सकिने सहमति भयो। त्यही अनुरुप नयाँ संविधान लैंगिक मैत्री बनाउन, समग्र महिलाहरुको हक अधिकारका लागि एकजुट हुन, दलगत प्रतिनिधित्वको अलावा महिलाका पक्षमा सामूहिक आवाज मुखरित गर्न १ सय ९७ जना महिलाहरुको अनौपचारिक समूह बन्यो। त्यस्तै गरी दलित सभासद्‍हरूले 'दलित सभासद्‍ मञ्च' र आदिवासी जनजाति सभासद्‍हरुले 'आदिवासी जनजाति सभासद्‍ सभा' गठन गरे।

अहिले सडक, सदन हुँदै संविधानसभामाफत जनजाति महिलाहरुको वास्तविक सवाल र प्रतिनिधित्व गराउने एक माध्यम हुन्- सभासद्‍ समूह (ककस)। जनजाति महिलाहरुको सन्दर्भमा जनजाति ककस र महिला ककसले उत्तिकै प्रभावकारी भूमिका खेल्न सक्छन्। २०६५ माघमा अनौपचारिक रुपमा जनजाति सभासद्‍ सभा गठन भएपनि २०६६ साउनमा आएर मात्र औपचारिक रुपमा घोषणा भयो। उक्त घोषणामा २१८ जनजाति सभासद्‍मध्ये १२५ जना सभासद्‍हरुले साझा अवधारणापत्रमा हस्ताक्षर गरे। त्यसमध्ये विभिन्न दल (एनेकपा माओवादी, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माले, राष्ट्रिय जनशक्ति पार्टी)का प्रतिनिधि गरी ३८ जना महिलाहरु संलग्न छन्। साझा अवधारणापत्रमा "आदिवासी जनजाति महिलाको पहिचानलाई स्थापित गर्न र आदिवासी जनजाति महिला विरुद्ध हुने सबै प्रकारको जातीय र लैंगिक विभेद अन्त्य गर्नको लागि संवैधानिक, कानूनी र प्रशासनिक व्यवस्थाको सुनिश्चितता" भनी उल्लेख गरिएको छ। यो वाक्यांशलाई कुनै हिसाबले सही ढंगमा अब बन्ने संविधानमा समेट्‍न सकिएमा मात्रै पनि जनजाति महिलाका पहिचान र अधिकार सुनिश्चित हुन्छ। आदिवासी जनजाति महिला, आदिवासी जनजाति र सम्पूर्ण महिलाहरुबीच तालमेल र सही बुझाइ भएमा त्यो काम सम्भव हुन्छ।

अन्य ककसको दाँजोमा महिला ककसको सक्रियता निकै छ। संविधान सभा निर्माणमा पुगेका महिलाहरुले १९ वटा राजनैतिक दलको साथै विभिन्न वर्ग, धर्म–संस्कृति, समूह–समुदाय र आदिवासी–जाति–जनजातिको प्रतिनिधित्व गरेका छन्। दलगत प्रतिनिधित्वसँगसँगै विविध प्रतिनिधित्व र सहभागिताप्रति महिला ककसको चासो के–कस्तो छ? भन्ने चाहिँ अति महत्वपूर्ण विषय हो।

नेपाली महिलाका अधिकारलाई सकेसम्म संविधान सभामाफत सुनिश्चित गर्ने उद्देश्यले महिला सभासद्‍हरु 'संसदीय महिला आन्दोलन'मा उत्रेका छन्। उनीहरूले प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष ज्ञापनपत्र पेश गर्दै अन्तरिम संविधानले व्यवस्था गरेअनुरुप मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागी नभए व्यवस्थापिका संसद अबरुद्ध गर्ने समेत चेतावनी दिएका थिए। महिला ककसभित्रै पनि २३ सदस्यीय समिति छ। त्यसमा एनेकपा माओवादीका ३ जना, नेकपा एमाले र नेपाली काँग्रेसका २/२ जना र अन्य १६ वटा दलबाट १/१ जनाको प्रतिनिधित्व छ। प्रारम्भिक अवधारणापत्र तयार पार्ने काममा ५ जनाको उपसमिति बन्यो। उक्त उपसमितिमा माओवादीका दामा कुमारी शर्मा र रुपा विक, काँग्रेसका इश्वरी न्यौपाने र मोहमदी सिद्धिकी र नेकपा एमालेका उषाकला राई संलग्न थिए। पछिल्लो समयमा महिला ककसले तीनवटा विषयगत उपसमितिहरु गठन गरी संविधान निर्माण, व्यवस्थापिका र महिला माथि हुने हिंसासम्बन्धी सवालहरुमा आफ्नो क्रियाकलाप केन्द्रित गरेको छ । यसको संयोजक क्रमश: उषाकला राई (नेकपा एमाले), इश्वरी न्यौपाने (नेपाली काँग्रेस) र कल्पना राणा (नेकपा संयुक्त) रहेका छन्।

विशेषगरी विभिन्न दलका प्रतिनिधिहरुलाई समग्र महिलाको साझा सवालमा एकीक ृत गराउने, बाहिरका महिलाका सवाललार्इ सदनमा उठाउने, आ–आफ्नो पार्टी तथा संविधान सभा समितिहरुमा महिलाका मुद्दाहरु राख्ने काममा महिला ककस सक्रिय छ। विभिन्न विषयगत दशवटा समिति र संवैधानिक समितिसमेतलाई महिला ककसले आफ्नो अवधारणापत्र बुझायो। अवधारणापत्रमार्फत मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वमा कुनैपनि प्रकारले लैंगिक विभेद हुनु हुँदैन भन्नेतर्फ नै महिला ककसले दबाब दिइरहेको छ। लैंगिक विभेदको अन्त्य र महिलामाथि हुने हिंसा निर्मूलबारे प्रस्तावनामा उल्लेख गरिनुपर्ने र 'महिलाका अधिकार' भनेर संविधानमा छुट्टै धारा राख्नुपर्ने वा विशेषाधिकारको व्यवस्था हुनुपर्ने, एकल महिला, बादी महिला, जेष्ठ नागरिकहरुको हकमा उनीहरुले प्रस्तावना पेश गरेका छन्। यसरी हेर्दा महिलाभित्रको विविधता केही हदसम्म झल्किन्छ।

लामो समयदेखि चलेको नेपाली महिला आन्दोलनले उठाउँदै आएको लैंगिक मुद्दा सम्पूर्ण महिलाको सरोकारको विषय हो। तर त्यो आन्दोलनले सम्पूर्ण नेपाली महिलाहरुको हकमा प्रभावकारी भएन। आदिवासी जनजाति महिला, दलित महिला, मधेसी महिला, मुस्लिम महिलाहरुको फरक फरक आन्दोलन र आवाज उठ्‍नु यसैको नतिजा हो। लैंगिक मुद्दाले मात्रै सबै महिलाहरुको समस्यालाई सम्बोधन गर्दैन भन्ने स्पष्ट छ। संविधान निर्माणको प्रक्रियामा महिला अधिकारको पक्षमा निरन्तर खबरदारी गर्न विविध पृष्ठभूमि बोकेका सबै महिलाहरु एकै थलोमा आउनैपर्ने आवश्यकता छ। साथै महिलाका फरक फरक पृष्ठभूमि र सरोकारका विषयहरुको आधारमा सामूहिक दबाब दिने काम पनि सँगै हुनुपर्छ। किनकि जातीय, भाषिक, वर्गीय, सामाजिक–सांस्कृतिक मुद्दाहरु पनि विविध नेपाली महिलाहरुको लागि उत्तिकै महत्वपूर्ण छन्।

विविध जाति, वर्ग, सिमान्तीकृत, अल्पसंख्यक महिलाका प्रतिनिधित्व सुनिश्चित हुने अचुक सूत्र समावेशीता र समानुपातिकता नै हो भन्ने धेरैको तर्क छ। यो सूत्र महिला तथा जनजातिको सन्दर्भमा पनि लागू हुन्छ। त्यत्ति हुँदाहुँदै पनि आदिवासी जनजाति महिला सभासद्‍हरुले लैंगिक र जातीय मुद्दालाई गाँसेर लैजानुपर्ने आवश्यकता छ। जनजाति ककस र महिला ककसबीच जातीय तथा लैंगिक सवालमा सामूहिक रुपमा औपचारिक/अनौपचारिक छलफल भएको छैन। महिला ककसमा संलग्न जनजाति महिलाहरुले लैंगिक मुद्दा उठानमा सघाइरहेका छन्। त्यस्तैगरी जनजाति ककसमा संलग्न जनजाति महिलाहरुको ध्यान जातीय मुद्दामै बढीजसो केन्दि्रत भएको छ। जातीय र लैंगिक मुद्दा जनजाति महिलाको प्रत्यक्ष सरोकारको विषय हो। त्यसैले आदिवासी जनजाति महिला सभासद्‍हरु आफै पनि जातीय र लैंगिक मुद्दाको संयोजनमा लाग्नुपर्ने देखिन्छ। यसमा विभिन्न ढाँचामा जनजाति महिलाबारे बाहिरबाट आवाज उठाउने सबैको साथ र दबाबको उत्तिकै खाँचो छ।
(फोटोः देवान राई र रिता राज)।

Saturday, October 17, 2009

Happy Tihar 2066!



May the lamps of joy, spark of colorful flowers illuminate days with the sparkles of happiness, peace & joy. May this festival bring new happiness, new prosperity and new horizons in everybody's life. "HAPPY JOYFUL DIWALI 2066" to everyone. Have a Happy Time!!!

Happy Diwali 2066.

Tuesday, October 06, 2009

दशैमा फुरेको मनको लड्डु...

यहाँहरुको दशै कस्तो बित्यो? मेरो त बडो बिऽऽन्दाऽऽस बित्यो। फूलपातीदेखि पूर्णिमासम्मलाई दिनगन्ती हिसाबले हेर्नेगरी फिल्म बटुले। तर कुरा के पर्यो भने नि! १० वटा फिल्म त ३ दिनमै सकाइयो पो। क्या ताल! ३टा Horror, ३टा War अनि बाँकी चाहि Reality Based story थिए। जे होस् रमाइलो भो फिल्मी दशै मनाउँदा। त्यसबाहेकका दिनमा पकाइतुल्याइ, खानपान र भेटघाटमा बित्यो। यी सबै गर्दागर्दै मेरो मनमा मीठा मीठा लड्डु फुरे। कसरी र के कस्ता भन्ने बारेमै म आज बखान्छु यहाँ।

खास कुरा चाहि के भने नि, योपालीको दशै धेरै समयपछि निकै सुनसान भयो। उपत्यकाबाट अत्याधिक जनमानस आ-आफ्नै पूर्ख्यौली गाउँठाउँ गए दशै मनाउँन। आफू चाहि दशकजति भयो यही खाल्डोमा थरी थरीको, तालतालको दशै मान्दै आइएको छ। तर यो पाली चाहि सडक-पसल-घर धेरै नै सुनसान भएझैँ लाग्यो। खै मलाई मात्रै लाग्या हो कि अरुलाई नि लाग्या हो कुन्नी? फूलपातीको दिन च्याटमा भेटिएका मुलुकबाहिरका धेरैजसो साथीहरुले काठमाडौँ त दशैको अवसरमा विरक्तियो होला भने। काठमाडौँ के के भयो भएन कुन्नी म चाहिँ यथावतै रहे। प्रत्येक साल दशै आएर गएझैँ मैले नि हरेक सालको लामो छुट्टीको उपयोग गरे आफ्नै पाराले। तर यो साल मैले मेरै मनमोजी पारामा दशै मान्ने मौका पाए। नत्र त खै के खै के भन्ने जस्तो खालकै पो हुन्थ्यो। त्यो भनेको चाहि मन नलागी नलागी बाध्यात्मक कामकाज नी गर्नुपर्दाको धङधङी पोखेको नि।

अँ त म भन्दैछु। बाहिर यसो चहार्न निस्कँदा त पूरै सुनसान छ। यसो सागपात अनि खित्त्रिङमित्त्रिङ किन्न निस्कदा नि पसल ठप्पै। दुध खानलाई पसलमा जाँदा नि बन्द। बाटोघाटो नि कसैको प्रतिक्षामा सिर्सिरे हावा खाँदै गरेको पाए। केही छरछिमेकीलाई असाध्यै न्यास्रो र एक्लो लाग्यो। मलाई त किन किन खूब रोमाञ्चक लाग्यो। लाखौँको भीडमा एक्लो हुनु र न्यास्रिनुको पीडाभन्दा त एक्लो भएर पनि भीडको अभाव नहुनु निकै जाती लाग्यो यो ज्यानलाई। खै यो मन न हो कहिले के रुचाउँछ। कहिले के। यो पालीको दशैमा त्यही रुची भयो।

शुन्य सडकको सिर्सिरे हावा रोमाञ्चक लाग्यो। दुबै हात फैलाएर केही बेर बीच सडकमा मस्त उभिए। कुटीमा एक्लो भएर मनमोजी पारामा रमाए। अरु बेलाको तुलनामा एकदमै सुनसान भएको वातावरणसँग साउती मार्दै फुस्‌फुसाए। अरुबेला भीडसँग जुध्थे। लड्थे। झट्कारिन्थे। फट्कारिन्थे। यो दशैमा सुनसान र शान्त वातावरणसँग खूबै बात मारे। ती बातहरु मिठा लागे। रसिला लागे। भरिला लागे। एकान्तमा पहिलोपल्ट कुनै नव दम्पतिको प्रेमले पूरापूर उघ्रिने मौका पाएसरह। भन्छन् नि क्या त, त्यो 'वातावरण मैत्री' हो कि त्यस्तै त्यस्तै केही भनेर। हो त्यस्तै त्यस्तै पो भएझैँ अनुभूत गरे मैले त। यसरी एउटा लड्डु फुराए। त्यसै त्यसै आफै मख्ख परे। यस्तो लाग्यो कि त्यो शुन्यता र शान्तपनको भोगी सिर्फ म एक्लो भए। अरु जो थिए तीमध्ये अधिक त्यही भीडभाड, कोलाहाल, हल्लाखल्ला र जमघटको भोकमा पिल्सिए होलान्।

हामी बस्ने गरेको घरमा बस्ने जम्मा दुईजना थियौँ। म सबैभन्दा माथिको छटमा। अर्को साथी सबैभन्दा तलको तलामा। एकदिन मेरो कुटीमा बसेर थुप्रै प्रसंगमा गफियौँ। कुरैकुरामा मैले मनमा फुरेको लड्डुलाई यसो बाहिर छर्दै भने-
"आहा! अहिलेकै जति मान्छे, गाडी, शान्तपन सँधै रहने हो भने यो काठमाडौ पनि क्या हुने थियो हगि?"।
साथीले तुरुन्तै भन्यो- "यहाँका घरबेटी अनि पसलेहरु सुकीहाल्छन् नि अनि"।
"सुक्ने फुक्ने त हुन्छ नै। तर सोच्नुस् एकपल्ट तपाईहामी जस्तो बहालवालाहरुको क्या भाउ होला"।
"कसरी?"
अब म निकै लामै बोल्छु लगातार........।
"ल सोच्नुस् यस्तै भयो स्थिति। यतिका विधि घर बनिसकेका छन्। पसल खुलीसकेका छन्। जो फर्कन्छन् ती फर्कन्छन्। बाँकी फर्कन अनुकूल नपरेकाहरुको लागि मोज हुन्छ। घरबेटी आफ्नो घरको बहालमा राख्ने मान्छेको खोजीमा हुन्छ। घरबेटीहरुबीचमा बहालवालाहरुलाई दिने सुविधाको होड चल्छ। दिनहुँ प्रयोग हुने सरसामानहरु लाग्दोपुग्दो हुन्छन्। कृत्रिम मूल्यबृद्धि/अभाव पैदा हुदैन। साँघुरो सडकमा हिड्दा नि होलोखोकुलो लाग्छ। सडकमा जाम कम हुन्छ। सवारी साधन सीमित तर यात्रुको लागि पुग्दो हुन्छ। इन्धनको अभाव नि हुन्न। पानी नि भनेजति भनेको बेलामा खान/पिउन, चलाउन पाइन्छ। फोहोर नि टुङ्गो लगाउन सजिलो। प्रदुषण हट्छ। जाडोमा घाम खान पाइने। गर्मीमा हावा खान पाइने। भनेको बेला भनेको ठाउँमा पुग्न पाइने। शहर सफा। हावापानी चङ्गा। अनि यहाँका मान्छे दङ्ग। आहाऽऽऽऽ नि!"

मेलै फलाक्न नसक्दै साथीले "के हो आहा नि! उता हेर्नुस् त" भन्यो। कान्तिपुर टेलिभिजनले दशै नसक्दै हूलका हूल मानिस उपत्यका छिर्दै भन्दै बसको छतमाथि समेत ठेलमठेल मान्छे कोचिएर पोको पन्तुरो भिरेर बसेको श्रब्यदृश्यसहितको समाचार प्रसारण गर्न थाल्यो। स्वादले र्याल झार्न नि नपाउँदै मनमा फुरेको लड्डु निमेषमै बिलायो। भर्खरै साङ्गोपाङ्गो थियो भर्खरै नाम निशानै छैन जसरी। अनि त २०६१ मा प्रकाशित तीर्थराज वन्तको हाइकु सङ्ग्रहको एउटा हाइकुको लाइन हुबहू ओठले फुक्यो-
"काठमाडौँको
मान्छे असाध्य सस्तो
माया महङ्गो"

बाँकी अन्य ब्लगर मित्रहरुबाट है...

Thursday, September 24, 2009

२०६६ सालको दशैँको मंगलमय शुभकामना



२०६६ सालको विजयादशमीको उपलक्ष्यमा कुटीका सम्पूर्ण सारथी, आगन्तुक तथा ब्लगर मित्रहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आफू र आफ्नो वरपरका अनेकौ दुःख-कष्ट, रोगव्याधी, लन्ठाहरुसँग लड्न सक्ने क्षमता दुर्गामाताले प्रदान गरुन् भन्ने प्रार्थना छ। महंगी, प्रदुषण, तनाव, बेरोजगार, रोग-शोक-भोकले किचिएर लघु मानव भइसकेका हामीमा यी सब कुरासँग जुध्ने सक्षमता अझ पलाओस्।

जय होस् सबैको! मंगल होस् सबैको!
शुभ दिन, शुभ रात, शुभ समय!

Friday, August 28, 2009

मस्तीको माइला.com

एउटा स्टेज। नाटकमा निर्देशकले एउटा ल्यापटपको संज्ञा दिएका छन् स्टेजलाई। ल्यापटप 'ओपन' हुन्छ। माइला र साहुनीको निजी अनुभूति र मनोभाव देखिन्छ- माइला डट कमद्वारा। ती अनुभूति र मनोभावलाई दर्शकले आफ्नै निजी बुझाई राख्न सक्छन्। माइला र साहुनी कफी सपमा आ-आफ्‍नै काममा व्यस्त हुन्छन्। दिनहुँ उही काम।

एकाविहानै सटर खुल्छ। साहुनी धुपधुवाँर गर्छिन्। पुछ्‍पाछ्‍ गर्छिन्। सरसामान मिलाउँछिन्। ग्राहकसँग डिल गर्छिन्। हरहिसाब गर्छिन्। माइला रौसिदै आफ्‍नो काममा खटिरहन्छ। शहरको कफी सपमा तीन दिन लगातार उस्तै क्रियाकलापहरु भइरहन्छन्। तर साहुनी र माइलाबीचको घटना र व्यवहार भने क्रमश: बदलिदै जान्छ। १२/१३ वर्षे किशोर माइला र २०/२२ वर्षे युवती साहुनीका आ-आफ्‍नै फरक फरक बुदझाई र मनोभाव तीन दिनमा व्यक्त हुन्छ। शुरुको दिन साहुनी र माइलाबीचको दुरी प्रष्ट देखिन्छ। दोस्रो दिन उनीहरुको क्रियाकलाप र हाउभाउले दुरी घट्‍न थालेको संकेत गर्छ । तेस्रो दिन, असामान्य रुपमा नजिक हुन पुग्छन्। र, माइला कफि सपबाट लखेटिन्छ। सामान्य मानिसको जीवनचर्यामा उनिएको कथावस्तुमा आधारित नाटक माइला डट कमको कथासार यति हो।

सरुभक्तको लेखन र अनुप बरालको निर्देशनमा 'सिरुमा रानी' नाटकमा अभिनय गरेर रंगमञ्चमा प्रवेश गरेका दयाहाङ राई यसका निर्देशक हुन्। उनले 'बुद्ध हराएको सूचना', 'मुर्दाहरुको महाभोज', 'बाँकी उज्यालो', 'टलकजंग भर्सेज टुल्के', 'चेरीको बगैचा', 'कोरा' जस्ता नाटकमा अभिनय गर्नुका साथै बेपत्ता नागरिकसम्बन्धी 'दुवाली' नाटक निर्देशन समेत गरिसकेका छन्।

सर्वसाधारण मानिसको दिनहुँ क्रियाकलापको अर्थ खोज्दै माइला डट कम देखा परेको छ। नाटकमा दुईजना पात्र, एकदमै कम संवाद, कम ध्वनी, चाहिँदो साजसज्जा तथा प्रकाश र अत्याधिक हाउभाउँ छ। माइलाको हाउभाउँ र क्रियाकलापले दर्शकलाई तानिरहन्छ। कुनै ठूलो घटना र विशेष क्रियाकलाप बिना दिनहुँ सामान्य ढंगले नित्य कर्म गर्दागर्दै नजानिदो तवरले माइलाको यौन मनोविज्ञान झल्किन्छ। साहुनीको मिठो बोली र मुस्कानले माइलाभित्र मिठो तरंग पैदा गर्छ। अन्जानमै साहुनीसँग छोइन/ठोक्किन पुगेमा साहुनीले आफूप्रति राखेको प्रेम/यौनका रुपमा बुझ्छ। काम गर्दागर्दै साहुनीको ध्यान आफूमा खिच्ने र घरीघरी साहुनीतिर नजर डुलाउनेजस्ता क्रियाकलाप माइलाको यौन मनोविज्ञानको संकेत हो। माइलामा राजन खतिवडा र साहुनीमा सृजना सुब्बाले भूमिका निभाएका छन्। माइलाको 'इन्जोइङ्‍ क्यारेक्टर' सबैभन्दा रोचक लाग्छ नाटकमा।

नाटक सकिएर मञ्चबाहिर कुराकानी गर्दा आधा दर्जन नाटक निर्देशन र दुई दर्जन नाटक अभिनय गरेका राजन खतिवडाले मन खोले, 'अलग क्यारेक्टर गरेको हुनाले दर्शकसँग कनेक्टेड हुन्छ कि हुन्न भन्ने ठूलो डर थियो मनमा। कता कता राजनको उमेरले ढाक्न खोज्दो रहेछ'। मुसुक्क हाँस्दै साहुनी बनेकी सृजना सुब्बाले ठट्‍टा गर्दै भनिन्, 'छिप्पिएको माइला पर्‍यो नि त'।

नाटकमा घच्चीको 'conflict' हुनुपर्छ। शुरुवात, मध्य र अन्त्यको संरचनामा सन्तुलन हुनुपर्छ भन्ने मान्यतालाई पछ्‍याउँदैन माइला डट कमले। तैपनि नाटकमा साना साना 'conflict'हरु नभएका भने हैनन्। माइला र साहुनीको बुझाई र हेराईले मेल नखानु एकप्रकारको 'conflict' हो। चेतन/अचेतन मनबाट साहुनीको यौवनअनुरुप सोच बोक्नु माइलाको निजी मनोभाव हो। मानवीयताको उदारभाव बोकेर माइलाप्रति माया दर्शाउनु, चोटमा मल्हम लगाइदिनु, नयाँ ह्याट र जुत्ता आफ्‍नै हातले लगाइदिनु साहुनीको निजी सोचअनुरुपको व्यवहार हो। एकले अर्कालाई जे देख्छन् र सोच्छन् त्यो मेल खादैन। फलत: तेस्रो दिन सटर बन्द गर्ने क्रममा आमनेसामने हुँदा माइलाले एक्कासी साहुनीको गालामा चुम्बन गर्छ। यो घटनासँगै माइला पसलबाट निकालिन्छ र नाटक सकिन्छ। निर्देशक दयाहाङ राई भन्छन्, 'यो एउटा लुज कनेक्टेड नाटक हो। यसमा ठूलो 'conflict' पनि छैन। यसमा धेरै रिपिटेसनहरु छन्, जसरी हाम्रो जीवनमा रिपिट भइरहन्छन्। तिनको केही अर्थ नहुन पनि सक्छ। तपाईहरुको जीवनको 'ननसेन्स' कार्यहरुले अर्थ पाए भने माइला डट कमको कार्यले पूर्णता पाउँनेछ'।

डेढ वर्ष पहिले एकपल्ट मञ्चन भएको यो नाटकमा त्यत्तिबेलाका माइला रवीन पाण्डे थिए। लक्ष्मीपुजाको दिन दुर्घटनामा परेर उनको मृत्यु भयो। त्यसपश्चात दोस्रो पटक मञ्चन भइरहेको नाटकमा माइला बनेका हुन् राजन। यो नाटक काठमाडौंको त्रिपुरेस्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा भदौ महिनाभरी हप्ताको तीन दिन मञ्चन भइरहेछ। भारतको उडिसामा हुने अन्तर्राष्ट्रिय नाट्‍य महोत्सवमा समेत यो नाटक छानिएको छ।

कुनै न कुनै रुपमा गाउँबाट शहर छिरेका कैयौँ होटल मजदुर किशोरहरुको प्रतिनिधित्व गरेको छ माइला पात्रले। नाटकको कथावस्तुअनुरुप एक, विपरित लिंगप्रतिको आकर्षण नियतबस मात्र हैन प्राकृतिक रुपमै उत्पन्न हुन्छ। र दोस्रो, व्यक्तिको वैचारिक हैसियतले धेरै कुरा निर्धारण गर्छ। र त्यसले नयाँ क्रियाकलाप र घटनाको जन्म दिन्छ। पात्रहरुको फुर्तिलो र हसिलो हाउभाउँ, कफीसपका मानक ग्राहकहरुसँगको रसिलो व्यवहार, मानक सरसरदाम पकाइतुल्याईको क्रियाकलापको स्वाद र माइलाको 'मस्ती'को 'body language' हेर्न लायक छ यो अनुभूतिजन्य नाटकमा। शुरुमा सडक पेटीबाट पसल भित्र छिर्न समेत धक मान्ने माइलाले साहुनीको आफूप्रतिको राम्रो व्यवहारको प्रतिउत्तरमा अचानक चुम्बन गर्छ। यो घटनाले 'माइला पात्रहरुलाई (बढी ?)माया गरेमा मात्तिन्छन्‌‍' भन्ने भाव पनि बोकेको छ। 'मस्तीको माइला'ले अन्त्यमा सास्ती खेप्नुपर्छ।

Friday, August 21, 2009

सरकारको विवाह पुरस्कार नीति

आर्थिक वर्ष 0६६/०६७ को बजेटमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले 'दलित' र 'विधवा' विवाह गर्नेलाई क्रमश: एक लाख र पचास हजारको पुरस्कार घोषणा गरे। अन्तरजातीय र विधवा विवाहसम्बन्धमा पैदा हुने र भइरहेका विभिन्न खालका समस्याहरूको निदान खोज्ने, त्यस्ता विवाह गर्न प्रोत्साहन गर्ने र त्यसप्रति आकर्षण पैदा गराउने सरकारको नियत हुन सक्छ। यद्यपि यसलाई जतिसुकै सकारात्मक दृष्टिकोणले नियाले पनि यसको सकारात्मक पक्ष खुट्ट्याउनै गाह्रो छ। सरकारले अगाडि सारेको अन्तरजातीय विवाह र विधवा विवाहको नीति सम्बन्धित समुदायको समस्या कम गर्नेभन्दा बढाउने र समुदायगत तथा लैङ्गिक सद्भाव बढाउने भन्दा घटाउने कडीको रूपमा आएको छ। बजेट घोषणा सकिन नपाउँदै 'एक लाख चाहिए दलितसँग र पचास हजार चाहिए विधवासँग बिहे गर्दा भो अब' भन्ने खालको सनसनी फैलिएको सुनिन्थ्यो सर्वसाधारणमाझ। र यो नीतिले बढी प्रभावित हुने पनि सर्वसाधारण नै हुन्।

अन्तरजातीय विवाह छुवाछुत तथा जातीय विभेद अन्त्य गर्ने एक उपाय हुन सक्छ। तर अन्तरजातीय विवाह र विधवा विवाहको नाममा तोकिएको निश्चित मूल्यले हाम्रो समाजको सामाजिक मान्यता, सामाजिक सुरक्षा र सामाजिक सरोकारका विषयलाई थप फितलो र जटिल बनाइदिएको छ। मानवीय मर्यादामा गहिरो ठेस पुर्याएको छ। विभिन्न पक्ष तथा दृष्टिकोणबाट अनुत्तरित प्रश्नहरू उब्जाएको छ। अन्तरजातीय विवाह र विधवा महिलाहरूको पुनर्विवाहलार्इ मान्यता दिनु, मान मर्यादा गर्न, प्रोत्साहन गर्नु र स्थापित गर्नु पक्कै पनि राम्रो कुरा हो। छुवाछुत मुक्त, जातीय विभेदमुक्त, विधवामाथि हुने/गरिने विभेदमुक्त समाज निर्माण गर्ने सरकारको उद्देश्यलाई सह्राना गर्नैपर्छ। तर उद्देश्य प्राप्तिको प्रत्रिmया वा सरकारले अपनाएको विवाह अनुदानको मार्ग भने समस्यामुक्त छैन। यसले सुरक्षित र सहज अन्तरजातीय वैवाहिक सम्बन्ध या सुरक्षित पुनर्विवाहको सम्बन्धलाई निर्माण गर्ने भन्दा स्वार्थपूर्ण, खतरायुक्त र 'जाली' सम्बन्धमा जोड दिएको छ।

सरकारले अन्तरजातीय विवाहको पक्षपोषणमा प्रत्येक दलितसँग बिहे गर्ने जोसुकै गैर दलितलाई एक लाख पोल्टामा हालिदिने वचन गरेको छ। र, अन्तरजातीय विवाहको विस्तृत स्वरूपलाई दलित र गैर दलितबीचको विवाहभित्रको साँघुरो घेरामा सीमित पारिदियो। 'विधवा'सँग बिहे गर्ने व्यक्तिलाई पचास हजार पुरस्कारको हकदार बनाइदियो। यस हिसाबले दलितसँग बिहे गर्ने कुनै गैर दलित र विधवासँग बिहे गर्नासाथ कुनै पुरूष स्वत: सरकारी अनुदानमा एक लाख वा पचास हजारको मालिक बन्यो। नि:स्वार्थ या स्वत: स्फूर्त अन्तरजातीय या पुनर्विवाह गर्नेहरूमा समेत यसले लालच पैदा गर्न सक्छ। यो अनुदान नीति दलित समुदाय र विधवाहरूको लागि भन्दा पनि दोस्रो पक्ष (जो उनीहरूसँग बिहे गर्छन्)का लागि अपनाइएको हो। यसरी दलित र विधवालाई फेरि पनि 'परित्यक्त' मान्दै उनीहरूसँग विवाह गरेमा उद्धारकर्ताको रूपमा सम्मान स्वरूप पुरस्कारको घोषणा गरियो। यहाँनेर दलित र विधवाहरुका लागि उत्तm बजेट छुट्टाइएको हो भन्ने कुनै आधार देखिँदैन। बरू उनीहरूलाई बिक्री गरिने 'सस्तो वस्तु' मानिएको छ।

मानौँ यस्तो अनुदान रकमले अन्तरजातीय तथा पुनर्विवाह दर बढ्यो। त्यसपछि छुवाछुत, जातीय भेदभाव, विधवामाथि गरिने भेदभावमा कमी आउँछ भनेर तर्क गर्न सकिने ठाउँ कहाँ छ? सम्बन्धित समूह/समुदाय ढुक्क हुने कुन त्यस्तो संयन्त्रको निर्माण हुन्छ? उक्त विवाह सम्बन्धद्वारा सृजना हुने विभिन्न खालको समस्याहरूको उक्त अनुदान रकमले समाधान गर्न सम्भव छ? सामाजिक तथा लैङ्गिक सद्भाव, वैवाहिक तथा पारिवारिक सम्बन्धको निरन्तरता, सम्बन्धित व्यक्तिको व्यक्तिगत सुरक्षा, अधिकारजस्ता कुराहरू स्थापित होलान्? यी र यस्ता कुराहरू स्थापित हुन नसकेको खण्डमा जिम्मेवार को हुने? र त्यसवापत के कस्तो नीति अवलम्बन गर्ने? त्यस्ता अनेकौँ बोझ सरकारलाई भन्दा सोझै सम्बन्धित व्यक्ति/समुदायमाथि थुप्रिन्छ। त्यसबखत सरकारको कदम के हुने? जनआन्दोलनका घाइतेको नाममा छुट्टाइएको भत्तासमेत नक्कली कागजपत्र र प्रमाण पेश गर्दै कुम्लो पार्ने प्रवृत्ति यस नीतिमा लागू हुँदैन भन्न सकिने ठाउँ छैन।

व्यावसायिक प्रतिस्पर्धाको दौडधुपमा व्यवसायीले कुनै विशेष उपलक्ष्यमा विशेष उपहार योजनाद्वारा ग्राहक लोभ्याएझैँ गरी यो सरकारी नीतिले लोभ्याएको छ । यसले सरकारको दयनीय बुझाइलाई प्रस्ट्याउँछ। यो नीतिले सीमित व्यक्तिलाई सही तवरले लोभ्याउला, थोरै व्यक्तिहरूमा सकारात्मक प्रभाव पर्ला। तर हामीकहाँ दिनहुँ छुवाछुत र जातीय विभेदका घटनाहरू भइरहेका छन्। दाइजोको कारण महिलाहरू कुटिने, पिटिने, जलाइनेजस्ता हिंसात्मक क्रियाकलाप पनि भएकै छन्। यसअघिको सरकारले दाइजो प्रथा उन्मूलन गर्ने घोषणा गरेको थियो। तर वर्तमान सरकार आफैले दाइजो प्रथालाई विशेष रूपमा प्रश्रय दिदैँ दाइजो दान गर्ने नीति लियो । सामान्यतया बोलचाल र बुझाइकै कुरा गर्दाखेरि पारपाचुके भएका/गरेका तथा विधवा महिलाहरूका लागि 'सेकेण्ड ह्याण्ड' जस्ता अमानवीय शब्दको प्रयोग भइरहेको र त्यही अनुरूपको दृष्टिकोण रहेको छ। दिनानुदिन देशमा सामाजिक सुरक्षा कमजोर बन्दै गएका प्रमाणहरू यत्रतत्र छन्। यस्तो अवस्थामा नागरिकको सामाजिक सुरक्षा सुदृढ पार्ने नीति ल्याउनुको सट्टा सुरक्षा विथोल्ने खालको नीति अवलम्बन गर्नेतफ सरकारको यो कदम अग्रसर देखिन्छ।

दलित समुदाय र विधवा महिला, यी दुबैको आ-आफ्नै, विशिष्ट खालको समस्या र पीडाहरू छन्। सरकारले यी दुबैको लागि एकै उपाय अघि सार्यो- विवाह । सामाजिक मूल्य मान्यताद्वारा संरक्षित विवाह संस्कारलाई 'अतिरिक्त संरक्षण'को व्यवस्था गर्नमा सरकार लागि परेको छ। विभेद र हेलाहोचोको अन्त्य गरी नागरिक अधिकार दिलाउन सरकारी बजेटले गर्न सक्ने अन्य उपयुक्त र प्रभावकारी उपायहरू प्रशस्तै छन्। तर सरकारले अन्य उपयुक्त मार्गहरूको सट्टा अन्तरजातीय विवाह र विधवाहरूको पुनर्विवाहलाई 'प्रायोजित विवाह' को रूपधारण गराइदियो। प्रायोजित विवाहले दलित तथा विधवाहरूको जीवनसँग खेलवाड गर्न सकिने थप एउटा आधार निर्माण गरिदियो। दलित र विधवासँग विवाह गर्नेहरूको सन्दर्भमा सरकारले देखाएको उदार(?) नीति दलित समुदाय र विधवा महिलालाई 'निश्चित धनराशी' मा किनबेच हुने 'वस्तु' मा रूपान्तरण नहोस्। के सदिऔँदेखि भोग्दै आएको जातीय विभेद, छुवाछुतको अन्त्यको लागि दलित समुदायको आन्दोलन र राज्य तथा सरकारसँग दाबी गर्दै आएको क्षतिपूर्तिको स्वरूप र प्रक्रिया यही हो त? दलित समुदायद्वारा अन्तरघुलनको बहस उठाइरहेको बखतमा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नु राम्रो हो। तर प्रायोजित विवाहको अर्थ के र कति छ? कुनै दलितको घरमा या दलितको हातबाट कुनै प्रतिष्ठित गैर दलितले एक गाँस खाएर सामाजिक सद्भाव बाँड्ने 'एजेण्ट' को रूपमा उभ्याइने प्रचलन र दलित र गैर दलितबीच विवाह सम्बन्ध गाँसिनुमा कुनै अन्तर छैन र? यदि त्यसो हैन भने दलित समुदाय र दलित आन्दोलनले यी र यस्ता प्रश्नहरू उठाउनुपर्छ। के लैङ्गिक विभेदको चर्को मारमा परेका, सामाजिक-सांस्कृतिक रूपमा अन्याय सहदै आएका विधवा महिलाहरूको समस्या पुनर्विवाह नहुनु मात्रै हो त? केही निश्चित रकमले समाज या व्यक्तिको मानसिकता र दृष्टिकोण परिवर्तनमा सही प्रभाव पार्ला? विधवाहरूको सशक्तीकरण र सवलीकरणमा पुनर्विवाह सहायक पक्ष हुनसक्छ। तर 'कुनै पनि विधवा महिलालाई पचास हजार लिएर विवाह गर' भन्ने सरकारको आग्रह छ। यसले उनीहरूलाई समाजमा कुनै विवाहित या अविवाहित महिला सरहको समान हैसियत र अधिकारका साथ बाँच्न पाउने अवस्था स्थापित गर्नमा मद्दत पुग्दैन। उनीहरूको स्वास्थ्य, रोजगारी, जीविकोपार्जन आदिमा समेत खासै टेवा पुग्दैन। सरकारको यस्तो गोलमटोल नीतिले प्रत्येक दलित समुदाय र विधवा महिलाहरूको व्यक्तिगत मूल्य निर्धारण गरेर दरिद्रता देखाएको छ । एकातिर विवाह जस्तो सामाजिक सम्बन्धलाई मोलमोलाईको जलप लगाइदिएको छ भने अर्कोतिर त्यही माध्यमद्वारा दलित तथा विधवा महिलाहरूलाई बिकाउ वस्तुको रूपमा निश्चित रकमको तराजुमा राखिदिएको छ। यो नीतिले जातीय छुवाछुत र आत्मसम्मानको निम्ति लामो समयदेखि संघर्षरत दलित समुदायकै आत्मसम्मानमाथि गहिरो प्रहार गरेको छ। विधवा महिलाहरूको आत्मसम्मानमाथि सोझो प्रहार गरेको छ। विवाह अनुदानको चौतर्फी कमजोरी र अव्यवहारिकताले सरकार र नीति नर्माताहरूको कमजोर, रूढीबादी सोच प्रस्ट्याएको छ। विभेदकारी, तिरस्कारपूर्ण र अपरिपक्व नीतिविरुद्ध एकल महिलाहरू विरोधमा उत्रिन थालिसकेका छन्। तर दलित समुदाय, संघसंस्था, अधिकारकर्मीहरू के गर्दैछन्? के सोच्दैछन्? के दलित, के विधवा, हरेक नागरिकले आफ्नो आत्मसम्मान बचाउनको लागि पनि यो नीति लागू हुनबाट रोक्नुपर्छ ।

थपः केही दिनअघि मात्रै पर्वत जिल्लामा दुई दम्पत्तिले अन्तरजातीय विवाह गरेर अनुदान रकम दाबी गर्न जिल्ला प्रशासन कार्यलय आएको समाचार एउटा न्युजपेपरको पहिलो पृष्ठमै आयो। सरकारले यो नीति लागू भइनसकेको र प्रक्रियागत रुपमा अनुदान दिन सकिने बेला नभएको प्रशासनको जवाफ उनीहरुले पाए। यसबारेमा थप समाचार पढ्न या सुन्न पाए हुन्थ्यो भन्ने लागेको छ अहिले मलाई।

(यो लेख एउटा साप्ताहिक पत्रिकाको लागि महिनादिन अघि लेखेको हुँ। धेरैदिनको झोँक्राईपछि आज म एउटा लेख लिएर आएँ। दश दिनअघि एउटा कार्यक्रममा एकजना दलित साथी भेटिए। 'के छ साथी हालखबर?' मैले सोधे। 'राम्रै छ। आफूलाई अमूल्य ठान्थे पहिले। अहिले एक लाखको नोट या चेक भइएको छ। सरकारलाई सलाम!' सटिक जवाफको गहनता र अर्थले म ठाउँको ठाउँ घोरिन पुगे। त्यसपछि यसबारेमा थप कुराकानी भयो केहीबेर। यो वाक्य आजपनि मेरो कानमा गुञ्जिरहन्छ। त्यसैले यो लेख मैले कुटीमा समेत राखे।)

Wednesday, July 29, 2009

कठै ती महाअभागी इडिपस!

साधा कपडा र रातो प्रकाशको सहयोगमा भोकमरी र महामारीले छट्‍पटाइरहेका मानिसहरुको करुण चित्रणले भरिभराउँ मञ्च। अभिमानले छाती फुल्याउँदै राजा इडिपस मञ्चको बीचमा उभिन्छन्। स्वर्गीय राजा लायसको हत्यारा पत्ता लगाउने, सिफ जनताको भलो चिताउने 'मसिहा'को रुपमा आफूलाई घोषणा गर्छन्। कथा अघि बढ्‍दै जान्छ। रहस्यको चिरफारमा रहस्यकै उदय हुन्छ। केन्द्रविन्दु स्वयं इडिपस भएको कुरा उनलाई थाहा छैन। उनी रहस्यको अन्त्यसम्म पुग्न आतुर छन्। जति जति रहस्यको पर्दाफास हुँदै जान्छ त्यति त्यति इडिपसको स्वाभिमान भत्किदै जान्छ। उनको दुर्भाग्यको सीमा फैलिदै जान्छ। अन्त्यमा उनी आफ्नै बाबुको हत्यारा र आमाको लोग्ने ठहरिन्छन्। आफ्नै आमाबाट सन्तान जन्माउने, नियतिको प्रहारमा परेका राजा, लोग्ने, पिता र हत्यारा सावित हुन्छन्। कठै इडिपस!

एथेन्सका महान नाटककार सोफोक्लिजको एक श्रेष्ठ र संसारकै सबैभन्दा वियोगान्त, शास्त्रीय ग्रीक नाटक 'इडिपस रेक्स'को कथा हो यो। नेपाली भाषा र कलाकारहरुको अभिनयमा यो नाटक काठमाडौंको नाट्यघर गुरुकूलमा मञ्चन भइरहेको छ यसबेला। प्राचीन युनान (ग्रीस)मा थिव नाउँको देश थियो। देशका राजा लायस र रानी योकाष्ठा थिए। तीर्थयात्रा गएको लायस डाँकाहरुद्वारा मारिएको खबर आउँछ। त्यहीबेला थिवमा सिंहको शरीर र मान्छेको टाउको भएकी राक्षसनीको आतंक मच्चिन्छ। हरेक व्यक्तिलाई प्रश्न सोध्थी। उत्तर दिन नसक्नेलाई मारिदिन्थी। राक्षसनीको प्रश्न थियो 'त्यो कुन प्राणी हो, जो विहान चार खुट्टा, दिउँसो दुई खुट्टा र साँझ तीन खुट्टाले हिँड्‍छ?'। त्यो प्राणी मानिस हो । जो विहान- वाल्यकालमा चार खुट्टा, दिउँसो- युवावस्थामा दुई खुट्टा र साँझ- बृद्धावस्थामा तीन खुट्टाले हिड्‍छ भन्ने सही उत्तर इडिपसले दिए।

घुम्दै थिव आइपुगेका इडिपसको उत्तरले राक्षसनीको अन्त्य हुन्छ। आतंक मुक्त बनाएवापत इडिपसलाई थिवका राजा बनाईयो । रानी योकाष्ठासँग विवाह गराइयो। उनीहरुका दुई छोरा/छोरी भए। केही वर्ष बित्दा नबित्दै देशमा अकाल, महामारीले हाहाकार मच्चियो। ठ्‍याक्कै यही अवस्थामा नेपाली भाषी इडिपस (सौगात मल्ल) मञ्चमा गौरवका साथ उभिन्छन्। रहस्यभित्र लुकेको आफ्नो दुर्भाग्यको पर्दाफास गर्दै नाटकलाई डोर्‍याउछन्। इडिपसको भूमिकामा सौगात मल्लको अभिनय बेजोड छ। रानीको आत्महत्या र राजाले आँखा फोडेको दृश्य सुसारेको हाउभाउमा देखाइएको छ। दर्दनाक हाउभाउद्वारा सरिता गिरी दर्शकको मन जित्न सफल छिन्। रानी योकाष्ठाको भूमिकामा अरुणा कार्की, राजाको सहयोगी क्रियोनमा प्रविण खतिवडा, अन्धो ज्योतिषी टायरेसियसमा राजकुमार पुडासैनीको अभिनय रहेको छ। अन्य कोरस भूमिकामा रामहरि ढकाल, कमलमणि नेपाल, विष्णुभक्त फुयाल, पशुपति राई, रविन्द्रसिंह बानियाँ, सरस्वती चौधरी, विपिन कार्की र सजन थापामगरको अभिनय रहेको छ।

भाग्यवादमा आधारित वियोगान्त यो नाटकको पृष्ठभूमि पृथक छ। केही समय पहिल्यै जेठो छोरोद्वारा राजा लायसको हत्या हुने र आफ्नै आमा (रानी योकाष्ठा)सँग उसको विहे हुने भविष्यवाणी हुन्छ। श्राप लागेको छोरा जन्मिनासाथ हत्कडी लगाएर गोठालोलार्इ बच्चा मार्ने आदेश दिइन्छ। गोठालोको ममताले बच्चा बाँच्छ। र, छिमेकी देशको निसन्तान राजारानीका सन्तानको रुपमा राजकुमार बन्छ। भविष्यवाणी टार्न इडिपस देश छाडेर भाग्दै हिड्‍छ। त्यहीबेला अचानक जंगलको बाटोमा 'बाटो छोड्‍' भन्दै हप्काउँने तीर्थयात्रीको रुपमा उसले आफ्नै जन्म दिने बाबु मार्छ। दुर्भाग्यको ढोका खुल्छ यहिबाट। श्राप छल्ने भरमग्दुर प्रयासमा डटेका इडिपस पाइलैपिच्छे त्यही भुमरीमा फस्फै फस्दै जान्छन्। नियतिको त्रासदीपूर्ण खेल, अन्त्यमा सबै रहस्य खुल्छ। पीडा र आत्माग्लानीले छट्‍पटिदै 'लोग्नेबाट लोग्ने जन्माउँने र छोराबाट छोरा जन्माउँने' रानी योकाष्ठा झुण्डिएर मर्छिन्। निर्मम तरिकाले योकाष्ठाकै सुनको काँटाले आफ्नो आँखा रोपेर अन्धो बन्छन् इडिपस। र, स्वनिर्वासित हुन्छन्। तर शरिर र आत्माभित्रै रहेको पापबोध, पीडाबोधको जालोबाट मुक्त हुनै सक्तैनन्।

Wednesday, July 15, 2009

संस्कृति कला प्रदर्शनीका कलाहरु

आज म साथीहरुलाई चित्रकला प्रदर्शनीतर्फ भ्रमणमा लैजादैछु। बबरमहलस्थित कला परिषदका हलका भित्ताभरि किराँत संस्कृतिमा आधारित चित्रहरु झुण्डिएका। जहाँ किराँती सृष्टिकर्ता तथा किराँतीहरुको इष्ट देवता सुम्निमा पारुहाङका अनेक रुप, किराँती रहनसहन, परम्परा, जीवनशैलीलाई चित्रमा उतारिएको देख्न सकिन्थ्यो। असार २५ (जुलाई ९) देखि ३० सम्म उक्त चित्रकला प्रदर्शनी चलेको थियो। २४ जना किराती कलाकारहरुको सक्रियतामा विभिन्न शिर्षकका लगभग ४८ ओटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो। "किरात ललितकला समाज"ले आयोजना गरेको संस्कृति कला प्रदर्शनीमा राखिएका चित्रहरुले किराँतीहरुको संस्कार/चाड, जनजीवन तथा पृष्ठभूमिलाई जीवित राखेको अनुभूति दिन्थ्यो। किराँतीहरुको नियतिलाई समेत चित्रमा उनिएको देखिन्थ्यो। किराँतीको नियति बनेको लाहुरे संस्कृतिलाई कलात्मक ढाँचामा उतारिएको एउटा कला थियो। त्यसतर्फ इशारा गर्दै कलाकार रतनकुमार राईले आगन्तुक (मलगायत अरु)को राय जान्न खोज्नुभोः 'यो कलाको के माने होला तपाईको नजरमा? किन हुपसियो लगाइयो होला? अथवा यो कलालाई हेर्दा के गर्या होला यस्तो भन्ने होला?' साँच्चै नै प्रदर्शनीमा राखिएका चित्रकलामा धेरै कुराहरु समेटिएको थियो। क्यामेरामा कैद गरेरको चित्रहरुमध्येका केही चित्रहरु हेरौ अहिलेलाई।

ऊन कात्दै गरेको किराती महिला। अहिले राडी पाखी बुन्ने, तान बुन्नेलगायतका किरातीहरुका मौलिक सीपहरु लोप हुँदै गइरहेको अवस्था छ।

कलाकारको सृजनशीलताः रुखको टोड्कामा बसको सुम्निमा।

कलाकार रतन कुमार राई आफ्नो चित्रमा उठेको जिज्ञासाप्रति जानकारी दिँदै।

कलाकारको कलाकारिताः किराती ईष्टदेवता सुम्निमा र पारुहाङ।

यो चित्रमा के देखिन्छ? राम्ररी हेर्नुस् है। घ्याम्पोभित्रको किराती संसार बाहिरी संसारबाट बिल्कुलै बेखबर! बिन्दास घ्याम्पो संस्कृति!

जन्मदेखि मरणसम्मको किराती संस्कारमा नभई नहुने जाँड छान्दै किराती महिला। यो भन्दा माथिको चित्रले किराती संस्कारभित्र झाँगिएको राजनीतिक तथा कुटनीतिक तिक्ततालाई मार्मिक रुपमा उधिनेको छ। तर यो चित्रले किराती मौलिक संस्कारको सुन्दर रुप बोकेको छ।

यो चित्रमा खुट्टा तान्ने प्रवृत्तिलाई कलात्मक ढंगमा देखाइएको छ। र यो प्रवृत्ति हरेक ठाउँ, वर्ग, जाती, समुदायमा पाइन्छ।

नोटः कलाकार स्वयंले माथिका चित्रहरुमा शिर्षक राखेको भएपनि मैले मेरै अनुरुप यहाँ क्याप्सन राखिदिएको छु। उक्त चित्रकला प्रदर्शनीका कलाकारहरुः अर्जुन खालिङ, किरणकुमार सिगु, धनबहादुर याक्खा, रतनकुमार राई, शान्तकुमार राई, प्रतिमा राई, टेकबीर मुखिया,टीकाबीर राई, टारजंग साङपाङ, पूर्णकुमार राई, सञ्जय बान्तवा, नबेन्द्र लिम्बु, दीपेन्द्र राई, रामकुमार चाम्लिङ, विवेक मुकारुङ, टीकामाया राई, मेखबहादुर लिम्बु, रन्जली राई, नारदमणि हार्तम्छाली, नीरबहादुर याक्खा, सिक्तन राई, बिनिता इजम, लेखबिक्रम राई र हेमसेन जबेगू रहेका छन्।

Sunday, July 05, 2009

कुटीको कैलाश अर्कै कुटीमा छिर्दा...

हामी कुटीको छेउछाउ सम्म पुग्यौँ। असजिलो लाग्दालाग्दै पनि यसो चियाएर हेर्यौँ। चियाउँदाखेरी एकजना आधावैसे देखिने कपाल पालेको लोग्नेमान्छे कालो कपडाको धोती मात्रै बेरेर ब्वाङ ब्वाङ धुवाँ उडाउर हुक्का तान्दै गरेको देखियो। साथीले भन्योः यो ठाउँ त डेन्जर जस्तो छ है, अब फर्किउँ। साँचै नै हुस्सु लागेको याम थियो। कुटीको शिरबाट धुवाँ निस्केको देखिन्थ्यो। बेलाबेलामा मान्छेको खल्याङबल्याङ आवाज झिनो आवाजमा सुनिन्थ्यो। त्यत्तिकैमा हामी जुन बाटो झरेका थियौ त्यही बाटो उकालो चढ्यौँ। केही महिनाअघि म त्यही गुफा छेउछाउ गए। बाग्मति नदीको किनारलाई माथि उठाएर गुफामा आउने-जाने बाटो बनाउने कार्य भइरहेको थियो त्यसबेला। मोबाइलबाट मैले फोटो खिचे। तर त्यसबेला पनि गुफाभित्र गइएन। अचानक हिजो दुईजना साथीहरुलाई मैले त्यहाँ पुर्याए- मर्निङ वाक र पशुपति दर्शनको बहानामा।

म कुरा गर्दैछु पशुपतिनाथ मन्दिर र कैलाश डाँडाको आडैमा रहेको सातगुफा नामले पुकारिने स-साना गुफाको बारेमा। जुन कैलाश डाँडाबाट मृगस्थली जंगलतर्फ हेर्दा तल बाग्मतितिर जाने खुड्किला बाटो हुँदै झर्नुपर्छ। र अहिले पशुपतिको कलीको मूर्ति भएको बाटोबाट सोझै जान मिल्ने सजिलो बाटो पनि बनाइसकिएको रहेछ (दिशाङ्कन गर्ने खुबी नभएकोले यसरी व्यक्त गर्दैछु। नबुझिएको खण्डमा माफ पाउँ है)। त्यहाँ रहेको सातवटा गुफाहरुमध्ये एकाधमा प्रवेश निषेध रहेछ। जहाँ जहाँ पस्न पाइन्छ ती गुफाहरुमा पसेर, गुफाका बासिन्दासँग गफ गरेर फर्कियौ हामी। हामी बाँचेकै संसारको एउटा अंश थियो त्यहाँ।

गुफाको मुखैमा गएर सूर्यको प्रतिबिम्ब अंकित सानो द्वारलाई समाएर 'भित्र पस्न मिल्छ?' भन्दै म सोध्छु। साथीहरु अप्ठ्यारो मान्दै अलिक पर उभिएका थिएँ। तैपनि म उनीहरुकै उपस्थितिलाई आड मानेर गुफाभित्र छिर्ने साहस गर्दैछु। बाहिरबाट हेर्दा भित्र अँध्यारोमा एउटा दियो पिलपिल बलेकोबाहेक केही देखिन्नथ्यो। तर मेरो मोबाइलबाट खिचेको यो तस्बीरमा त्यो दियो देखिएन। मान्छे खोकेको आवाज सुनेर मैले अनुमति मागेको थिएँ। 'किन नमिल्नु' बृद्ध आवाजले अनुमति दिएपछि म छाम्‌छाम्‌ छुम्‌छुम् गर्दै भित्र छिरे। गुफाभित्र आगन्तुक बस्ने ठाउँ पनि रहेछ। ती बृद्धको संसार त्यही गुफा रहेछ। गुफाभित्र लक्ष्मीको मूर्ति बीचमा छेउछेउमा हनुमान र गणेशको मूर्ति उभिएका थिएँ। त्यही लक्ष्मीको अघि राखिएको पालाको दियो पिलपिलाएको रहेछ। भित्र बस्दै जाँदा सबै कुरा स्पष्ट देखिन थाल्यो। वरपर नियालेर हेर्यौ। साढे पाँच फिटजति अग्लो उक्त गुफाभित्र चकले मन्त्रहरु कोरिएको थियो। कहिलेकाहीँ विदेशीहरुले पनि ध्यान गर्न आउने गरेको जानकारी उक्त गुफामा बस्ने बृद्धले दिए। कोही कोही त सिर्फ गाँजा खानकै लागि भएपनि गुफामा बस्ने गरेको पनि सोही बृद्धबाट थाहा पाइयो। त्यहाँ बस्दाबस्दै तीनजना पुरुष स्वर सुनियो। पहिलो 'यहाँभित्र त मान्छे बोलेको झैँ सुनिन्छ नि', दोस्रो 'चप्पल बाहिरै छ नि त। हामी नि एकपल्ट हेर्ने कि?', तेस्रो, 'भो भो फर्किउँ'। सायद संकोच र असजिलोपन लिएर उनीहरु फर्किए। हामी चाहि गफ गर्दै निकैबेर बस्यौँ।

त्यसपछि अन्य गुफातिर लाग्यौँ। त्यहाँ हरेक गुफाको आ-आफ्नै संरक्षक र हेरचाह गर्ने मान्छे रहेछन्। साथै हरेक गुफामा कुनै न कुनै भगवान्‌को मूर्ति पनि। कुनै गुफा सोझै छिर्नपर्ने। कोही चाही ओरालो झरेर छिर्नपर्ने। केही गुफाभित्र ध्यान गर्नको लागि राम्रो व्यवस्था गरिएको थियो। काठ, पराल या खोसेल्टाको पीरा अनि चकटीहरु बस्न मिल्ने दुरीमा राखिएको। हरेक गुफाभित्र बिना आकारका ढुंगाहरुलाई देवता मानेर पूजिएको देखिन्थ्यो।

टाइगर बाबाको अनुमति लिएर गुफाको संरक्षक बन्न पाइने रहेछ। टाइगर बाबा जो एकपल्ट निकै चर्चामा पनि आएका थिएँ। उनी मांसाहारी रहेछन्। छ महिना सिर्फ हावा मात्रै खाएर बाँच्छन् रे अनि छ महिना मासु। त्यसैले पनि उनी टाइगर बाबाको उपनामले चिनिएका होलान्। हाल चाहि टाइगर बाबाको अनुयायीको रुपमा रहेका 'महाराज' सम्बोधनले पुकारिने एकजना आधाबैसे व्यक्ति रहेछन्। लामा कपाल, कालो कपडाको धोती बेरेका, निधारमा कालो टीका लगाएका। उनी मात्रै बस्ने गरेको भन्ने थाहा हुने एउटा बस्ने आसन। आसनसँगैको भित्तामा मान्छेको खोपडी अनि निकै पुराना देखिने त्रिशुल, रुद्राक्षको मालालगायतका चीजहरु थिएँ। आसन अगाडि धप्‌धपी आगोको राप भएको चुल्हो, जहाँ बडेमानको अगुल्टो झोँसिएको थियो। यो तस्बीरमा देखिएको गुफाभन्दा केही माथि उक्लेपछि महाराज बस्ने आसन र मैले माथि उल्लेख गरेको सबैचीज देख्न पाइन्छ। साथै ध्यान गर्ने अर्को गुफा पनि। बिहानीपखको समय। हामी पुग्दा ती महाराज पलेटी कसेर केही मन्त्र मनमनै फलाक्दै थिएँ। केहीबेरमै उनले आँखा खोले। अनि पलेटी कसेरै गाँजा तान्न थाले। उनलाई गाँजा तान्न तयार पारीदिने अर्का दुईजना सहयोगी थिए।

महाराजलाई म बेलाबेलामा प्रश्न सोध्थे। महाराज चुपचाप छन्। ती दुईजनामध्ये घरी एकले घरी अर्कोले उत्तर दिन्थे। कुरा लम्ब्याउने मन नभएर होला 'महाराजलाई यस्तो कुरामा चासो नै छैन' भन्थे। घरी उत्तरै दिँदैनथे। तर बीचबीचमा महाराज अनि गाँजाको प्रशंसा गर्न चुक्दैनथे। ती सहयोगीहरुले हामीलाई चिया खाएरै जाने अनुरोध गरे। शुरुमा पसेको गुफाभित्र बृद्धसँग गफिदा जुन खालको निर्धक्कपना या विश्वास थियो त्यो अहिले हराएको थियो हामी तीनैजनामा। तैपनि उनीहरुको अनुरोधलाई स्वीकार्दै हामीले चिया खायौँ अनि त्यहाँबाट बाटो लाग्यौ। फर्किदै गर्दा बाटोमा एउटा साथी आफ्नो संकोच र त्रास व्यक्त गर्दैथियो 'चियामा त्यस्तो केही त हालेर दिएन होला नि? मलाई त कस्तो झुम्म भएर आयो'। अर्का पुरुष साथीले भने 'पहिले कहिले गाँजा चाखेको या त्यसको गन्ध सुँघेको थियो?', 'छैन', 'गाँजाको गन्धले त्यसो भाको हो। चिया त हाम्रै आँखा अगाडी बनाएर देको हैन र?' हामीलाई आश्वास्त पार्दै उनले भने।

५ वर्ष जति अगाडि होला घुम्दै गर्दा पहिलोपल्ट म त्यस गुफाको आसपास पुगेको। त्यहाँ गुफा या भिरको भित्तमा अडिएको मान्छे बस्ने कुटी होलान् भन्ने कल्पना नै थिएन। त्यसैले म आश्चर्यमा परे त्यसबेला। त्यसबेला त्यहाँ देखिएका कुटीहरुभित्र छिर्ने आँट थिएन ममा। न त मसँगै हिडेको साथीको नै थियो। भित्तामा टाँसिएका स-सानो प्वालझैँ देखिने द्वारबाट फुत्त फुत्त मान्छे बाहिर भित्र गरेको देखिन्थ्यो। यहाँ नि हामीजस्तै मान्छे बस्दा रहेछन् भन्ने लाग्यो त्यसबेला। साधारण कल्पना या सोचाईमा त्यहाँ भयंकर लट्टाधारी साधुबाबा- जो रहनसहन या लवाईखवाईमा हामी भन्दा पृथक हुन्छन्,हरु बस्दाहुन् भन्ने थियो। जो नितान्तै शान्त र एक्लो जीवन यापन गर्न अभ्यस्त भएका हुन्छन्। जो त्यतिबेला अनेकओली अनुमान गर्दै एकआपसमा कुराकानी गर्दै टाढैबाट हेरेर फर्कियौँ। तर त्यसपछिको दिनमा पनि कुटीभित्र के रहेछ भन्ने कौतुहलता मनमा छँदैथियो। र बेलाबेलामा ती पहरामा टाँसिएका गुफाहरुको आसपास गएर जिज्ञासु भएर हेर्थे। पहिलोपल्ट गुफाभित्र छिरियो र केही हदसम्म जिज्ञासा मेटियो।

Tuesday, June 23, 2009

i do very small thing

'तपाई पत्रकार हो?'
'हैन।'
'अनि यत्तिका फोटो केका लागि खिच्नुभएको?'
'मन परेर।'

झोलाभित्रबाट क्यामेरा निकालेर आफूलाई मन परेको ठाउँ, दृश्य या कार्यक्रममा फोटो कैद गर्दाखेरी छेउछाउका अपरिचित या सामान्य हाइ हेलो चल्ने मान्छेहरुले सोध्ने र मैले दिने उत्तर यही हुन्छ प्राय। यसो सोचेर ल्याउँदा म आफैले आफैलाई सोध्ने गरेकै रहेनछु कि वास्तवमा म केको लागि फोटो खिच्छु? र ती फोटोहरुलाई के गर्छु? कुनै योजना बिना नै म फोटो खिच्छु। हुन त मसँग त्यत्तिका विधि राम्रा र लायकका फोटा पनि हुन्नन्। कामचलाउँकै हालीमुहाली हुन्छ।

फोटो खिचेको त देखिन्छ। यिनीहरुलाई के गर्नुहुन्छ तपाई? सहकर्मीहरुले पनि यदाकदा सोध्ने गर्छन् मलाई।
भेरी सिम्पल। फोटो खिचेपछि सेभ वा डिलिट/कट गर्छु। मेरो सोझो जवाफ यस्तो हुन्छ।
हुन पनि हो नि। खिचेकामध्येमा केही मन परेकाहरुलाई सँगालेर राख्छु। भन्नाको मतलब सेभ गरेर राख्छु। बाँकीलाई पनि केही त अवश्य गर्छु- डिलिट या कट। त्यसबाहेक त के गर्छु भन्नेबारेमा म आफैलाई शुरुमै कहाँ थाहा हुनु र?
ब्लग छ, फेसबुक छ, अनि के को पीर नि जाबो फोटो तह लगाउनलाई कि कसो? मेरो समर्थन खोज्दै अर्का सहकर्मीले कुरा लम्ब्याउँने चेष्टा गर्छन्। भन्नैपर्ने केही छ भन्ने लाग्दैन। प्रतिउत्तरमा मुस्काउँछु मात्रै।
यो ब्लग, फेसबुक भन्ने कुराहरुले मजाले मानिसको 'टाइम किल' गरीरा'छ नि, थाहा छ के? इट्स नट अ प्रोडक्टिभ काइन्ड अफ वर्क। अर्को साथीले आफ्नो विचार यसरी पोख्छ।
वास्तवमा मनन गरेर हेर्दा यो कुरा साँचो हो यार! अर्कोले सहमति जनाउँछ।

देशमा कत्रो कत्रो उथलपुथल भइरा'छ। कस्ता कस्ता घटनाहरु भइरा'छन्। राजनीतिक माहौल क्या तात्तिएको तात्तिएकै छ। सेलाउँनै नपाएर रन्केको रन्केकै छ। दुनियाँदारीहरुले ठूल्ठूला गफ हाँकेर, छाँटेर देश खाईसकेको बेला छ। त्यसबारेमा चाहिँ कुटीमा केही हुन्न। देश खान नसकेपनि आफ्नो दुनो सोझ्याउनमा तम्सेका छन्। तात्तातो बहसका कुरालाई समातेर आफुपनि तातिएका छन्। आन्दोलित भएका छन्। तर म के गर्दैछु? म चाहिँ ब्लगमा अन्ठासन्ठा लेख्दै अल्मलिएर बसेको छु। झिनामसिना, रौँसरी कुराहरुमा दिमाग खेलाएर बसेको छु। यस्तै यस्तै सेन्स बोकेका कुराहरु सुन्न पाउँनु मेरो अहोभाग्य हो। किनकी यी सबै ब्लगिङको कमाल हो नि त। ब्लगिङको अर्को कमाल पनि छ। कहिलेकाही साथीहरु कुरैकुरामा मलाई गिज्याएर यस्सै जिस्काउँने गर्छन् (खै! प्रोत्साहन दिएका हुन् कि के गरेका हुन् त्यो चाहि खुट्याउनै बाँकी छ)- जे पायो त्यही बोल्ने अनि गर्ने हैन। खासगरी कैलाश पनि भएको बेला। के था कुनबेला कैलाशको कुटीमा छिरिएला कुनै शिर्षकमा खुराकको शोभा बढाउँदै! (हाँसो गुञ्जिन्छ एकपल्ट)।

राजनीतिमा मात्रै चासो राख्नेहरुको लागि मेरो कुटीको खुराक काम लाग्दैन। उनीहरुको नजरमा 'टाइम खेर जाने'कै कोटीमा पर्न सक्छ। राजनीति फोहोरी खेल हो भन्ने कुरा सुन्दा सुन्दा कान बुढो हुन लाग्यो। फोहोरी पनि कस्ले बनाएको रहेछ र? हामी या नि कि यही देशका नागरिक/नेताहरुले त रहेछ भन्ने कुरा बुझ्दैछु अहिले। तात्तातो बहस बनेका घटनाहरु प्रायजसो सबै राजनीतिक दाउँपेचकै देन न हुन्। हुन त त्यसप्रति आँखा चिम्लेर कसरी बस्न सक्नु र खै! बाबुराम भट्टराई अर्थमन्त्री हुँदाताका उनी प्रमुख अतिथि बनेको स्ववियू निर्वाचनसम्बन्धी एउटा कार्यक्रममा ब्लगर मित्र बसन्त बलामीजीसँग अचानक भेट भयो। उनले भनेका थिए- तपाईलाई यस्तो कार्यक्रममा पनि चाख होला भन्ने लाग्दैन। तपाई यहाँ भेटिनु मेरो लागि अचम्म झैँ लाग्यो। तपाईको ब्लग हेर्दा राजनीतिक कुरा कहीँ हुन्न। साविकझैँ मुस्काएर मैले भने- अब चाहिँ के लाग्यो त? उनले पनि मुस्काउँदै भने- यतिमै त के थाहा हुनु र? आगामी दिनमा कसो थाहा नहोला। हो, मेरो ब्लगमा राजनीतिक कुराहरुको थातथलो एकदमै कमजोर भएकोले पनि मलाई स-सानो कुरामा अल्झिएर बसेको भन्ने केही साथीहरुको म‍ूल्याङ्कन हो। अनि अर्को चाहि ब्लगिङ गरेर बेकारमा समय खेर फालेको भन्ने बुझाई पनि हो। यस्तै एउटा प्रसंगः

'ब्लगिङ कस्तो चल्दैछ?'
'नट् ब्याड।'
'ब्लगिङबाट केही उपति पनि छ कि?'
'तपाईले भन्या जस्तो उपति त केही छैन र हुन्न पनि।' घुमाउरो प्रश्न भएनि सोझै उत्तर दिन्छु म।
'त्यसो भा किन गर्ने त? त्यत्ति समय खर्चेर अन्यत्रै वैकल्पिक बाटाहरु समाए भो नि हैन?'
'हो नि, जत्ति पनि हुन्छ किन नहुनु र?'

(केही महिनापछि पुनः भेट हुन्छ कुनै एउटा कार्यक्रममा)
आजकाल के गर्दै नि? उपति हुने कामतिर पनि छिरियो कि यथावतै हो नि?
मुसुमुसु मुस्काएर मुस्कानमात्रै दिइरहन्छु। जवाफस्वरुप। कुरा बुझीहाल्छन् उनले। अनि सोच्दोहुन् मनमनै 'फोकटीया कामकाजमा के मन अडिएको होला? कामका मान्छे रैनछन्'।
ब्लगमा लेख्दालेख्दै फेसबुकमा एक मित्रले सोधेका छन्- 'हाई! के गर्दै नि? '
'यही सोच्दैछु कि खासमा म के गर्दैछु?' ब्लगमा लेख्दै गरेको कुराको धङ्धङी पोख्छु म।
'हाहाहाहा...' कुराको मतलब बुझेरै ति मित्रको हाँसो छुटेको त पक्कै पनि हैन भन्ने लाग्छ मलाई।
'हैन, खुस्कियो कि क्याहो!' मेरो ठम्याई साँचो रहेछ।
'मिलेर कसौला नि...'
'ए! हैन रहेछ।'
'हाहाहाहा...' हास्ने पालो मेरो।

पहिलो कुरा त उपति गर्नलाई ब्लगिङ गरेकै हैन मैले। न त उपति गरुँला भनेरै फोटो खिच्ने गर्छु म। मन लाग्छ अनि यसै गरिदिन्छु। कतिपय कुराहरुको प्रत्यक्ष लाभ देखिन्नन्। तर त्यसको महत्व बुझ्ने हो भने कतै न कतै, कुनै न कुनै किसिमको लाभ अवश्य हुन्छ। ब्लगरहरुले ब्लगिङ गरेर ढ्याक्कै मापन गर्ने गरी उपति नगर्लान् भनेर भन्न सकिन्न। तर म जस्ताहरुको हकमा यो धेरै हदसम्म लागू हुन सक्दैन। जहाँ, जे गरेपनि त्यसको ठुलै प्रतिफल र आकार प्रकार अनि आयस्रोत हुनैपर्ने नत्र गरेको कामको महत्व नहुने या महत्व नदिइनु आजकालको बजारीकरण र परिवर्तिन रहनसहनको प्रभाव पनि हो। बिकाउँ चिजको आफ्नै महत्व छ। तर त्यो बाध्यताभित्रै पनि हामी मनुवाको मन, रुचि, चाहना-भावना र संवेदनाहरु पनि त जिवितै छन् नि। ती जिवित पक्षहरु विभिन्न तरिकाले अभिव्यक्त गरिएलान्/होलान्। मेरो हकमा भन्नुपर्दाखेरी त्यही अभिव्यक्तिकै एउटा स्वरुप हो मेरो ब्लगिङ या फोटोग्राफी। मेरो रुचि र दिनचर्याका कुरा, मन मस्तिष्क र अवलोकनका कुरा अभिव्यक्त गर्ने एउटा सजिलो र सरल शैली अनि माध्यम हो ब्लगिङ।

खासमा म झिनामसिना कुराहरु नै गर्ने गर्छु। त्यस्तै स-साना कुराहरु नै लेख्ने गर्छु। देशमा बढिया-बढिया उथुलपुथुल भइराखेकै छ, एकपछि अर्को गर्दै। कहिलेकाहीँ त तँछाडमछाड नै पर्छ। सामान्य नागरिकको दिनचर्यामा, जीवनमा त्यसको प्रभाव पर्दैन भनेर कसरी भन्नु! तिनको सामुन्ने तिलझैँ लाग्ने कुराहरुप्रति म चासो राख्छु। किनकी म एक आम अनि साधारण मान्छे हुँ। अनि ति कुराहरु मेरो जीवन, भोगाईहरुसँग साह्रै नै घुलमेल भएर बसेका छन्। राजनीतिक उथुलपुथुलको भयंकर सञ्जाल हेर्ने मेरो दृष्टि अलिक कमजोर छ। सबै कुरा सबैको रुचिको विषय पक्कै हुँदैनन्।

यहाँ माथिकै प्रसंगलाई गाँस्छु पुनः
केही महिनापछि फेरी कुनै चोकमा झम्का भेट हुन्छ- 'आजकाल के गर्दै?' उनको आशय अरु नै हुन पनि सक्थ्यो। तर मैले त्यसलाई अघिल्लो भेटको कुराकानीसँग जोड्न चाहे।
'खासमा i do very small thing'। 'यसलाई अलिक कडा शब्दमा भन्नुपर्दाखेरी 'im doing nothing' भन्न नि सकिने हुन आउँछ- अवस्थाअनुसार।'
'मतलब उही ब्लगिङ?' फिस्स हाँसो छाड्दै।
'हो, ब्लगिङ।'

Happy Blogging!

Friday, June 19, 2009

पलपलको हिसाब

हाम्रो नेपालको संविधान निर्माण कार्य कहिले रफ्तारमा हिडेझैँ हुने, कहिले टक्क अडिएर झोक्राएझैँ हुने, कहिले कुन दलको स्वार्थ र योजनाको मारमा पर्ने, कहिले कुन दलको अडान र उडानको चेपुवामा चेपिने क्रम निकै नै चल्यो। अझै पनि त्यस्तो क्रम नचल्ला भन्न मुस्किलै हुन्छ। देशकै मूल कानून/संविधान बनाउने काम हो सजिलो त कहाँ होला र? त्यही माथि हाम्रोजस्तो हरेक कुरामा विविधताले गाँजिएको मुलुकमा। संविधान निर्माणको लागि तोकिएको समयावधिभित्र संविधान निर्माण होला या नहोला भन्ने आशंका धेरैजसोको मनमा खेलेको छ अहिले। संविधानसभाको संवैधानिक समिति (१), बिषयगत समिति (१०) र प्रक्रियागत समिति(३)गरी १४ वटा समितिहरुलगायतका थुप्रै अन्य कार्यक्षेत्रहरुमा (धेरथोर) काम चलिरहेकै छ। संविधान निर्माणमा जुटेका विविधतायुक्त पृष्ठभूमिका सभासद्हरुलाई संविधान बनाउने समय पलपल घटीरहेको कुरातर्फ दबाब दिने थुप्रै संयन्त्रहरु पनि उत्तिकै सक्रिय देखिन्छन्। अहिलेको प्रमुख काममध्ये समितिहरुले आ-आफ्नो मस्यौदा/अवधारणापत्र संविधानसभामा पेश गर्नु रहेको छ।

संविधानसभाको १० वटा विषयगत समितिमध्ये दुईओटा समितिले प्रारम्भिक मस्यौदाको प्रतिवेदन बुझाइसकेको छ। ती दुई समितिमा राष्ट्रिय हितको संरक्षण समिति अल्पसंख्यक तथा सीमान्तीकृत समुदायको हक, अधिकार संरक्षण समिति रहेका छन्। संविधान सभासद् र सचिवालयअन्तर्गतका व्यक्तिहरु त छँदैछन्। त्यसको अलावा विभिन्न विषयगत विज्ञ, आमजनताको सुझाव/प्रश्नावली, सामाजिक-राजनैतिक-धार्मिक-समुदायगत संघसंस्था/समूहहरुको राय-सल्लाह-सुझाब र सहभागिताको आधार टेक्दै यी दुबै समितिको मस्यौदा/अवधारणापत्र तयार भएको छ। यो कुरा मस्यौदापत्रमा नै उल्लेख भएको छ। राष्ट्रिय हितको संरक्षण समितिमा समितिका सभापति अमिक शेरचन तथा अल्पसंख्यक तथा सीमान्तीकृत समितिमा समितिका सभापति लालबाबु पण्डितलगायत ४३/४३ जनाको सदस्य समूह रहेका छन्।

चर्चाको विषय
१६ फागुन २०६५ बाट शुरु भएको १ महिने जनमत संकलनको कामको लागि ५७५ सभासद्हरुलाई ४० वटा टोलीमा विभाजन गरी प्रश्नावलीमार्फत जिल्ला-जिल्ला/गाउँ-गाउँमा गएर जनताको राय/सुझाब संकलनको कुरा निकै चर्चाको विषय बनेको थियो। प्रश्नावलीको सन्दर्भमा आम जनताको त के कुरा स्वयं विज्ञहरुलाई नै पनि प्रश्नावली भर्नलाई निकै घोरिनु/घोत्लिनुपर्ने र धेरै समय लाग्नेबारे चर्चापरिचर्चा नचलेको हैन। जसोतसो प्रश्नावली संकलन भइसकेपछि प्रश्नावलीको व्यवस्थापन र विश्लेषणको बारेमा पुनः चर्चा चल्यो। तथ्याङ्क विभागसँग तालमेल हुन नसक्दा सभासद्हरु स्वयंले प्रश्नावलीलाई जाँच गर्नुपर्ने भयो। तथ्याङ्क विभागको अनुसार ३७ करोडको लागतमा करिब ९ महिनाको अवधि लाग्ने अनुमान भएपछि उक्त कुरामा सहमति हुन सकेन। त्यसको विकल्पमा सचिवालयको सहयोगमा सभासद्हरुले नै प्रश्नावलीको जाँच गरेका थिए। यद्यपि कतिपय प्रश्नावलीहरु सभासद्का फुर्सदिला नातेदारहरुले समेत जाँच गरेको कुरा पनि चर्चामा नआएको भने हैन। थोरै आश्चर्यको कुरा गरौँ। तथ्याङ्क विभागले तोकेको समयावधिको तुलनामा सभासद्हरु आफैले प्रश्नावलीको अध्ययन तथा विश्लेषण गरेको समयमा आकाश पातालको फरक देखिन्छ। यसको उदाहरणमा मस्यौदापत्र पेश गर्ने माथिको दुई समितिहरुको बारेमा केही कुरा गरौँ। कसरी र कति समयसम्म काम गरेर मस्यौदापत्र तयार भयो भन्ने बारेमा मस्यौदापत्रमा प्रष्टसँग उल्लेख भएको छ। त्यसैतिर लागौँ अब।

पलपलको हिसाब
४० वटा स्थलगत भ्रमण टोलीमार्फत ४८,९८५ जना जनताबाट प्राप्त १६,८१,८५८ वटा सुझावहरु राष्ट्रिय हितको संरक्षण समितिको भागमा परेको थियो। जसलाई समितिले गहिरो अध्यन र छानबिन गरी बिबरण समेत प्रतिवेदनमा समावेश गरेको छ। त्यसको साथै यस समितिले १७ दिनमा १७८ घण्टा खटेर ५६,४८५ प्रश्नावलीको अध्ययन तथा विश्लेषण गरेको उल्लेख छ- प्रतिवेदनमा। यस समितिले २०६५ पुस १ देखि काम शुरु गरेर २०६६ जेठ ८ गतेका दिन प्रारम्भिक मस्यौदा पेश गरेको हो। यस हिसाबले ५ महिना ७ दिनभित्र यो समितिले आफ्नो प्रारम्भिक चरणको काम सकेको छ।

अल्पसंख्यक तथा सीमान्तीकृत समितिले पनि आफ्नो कार्यसम्पन्न गरेको पलपलको हिसाब निकालेको छ। प्रारम्भिक मस्यौदा निर्माणको लागि समिति तथा उपसमितिहरुबीच ३२ पटकमा १९२ घण्टा बैठक बसेको र जनताबाट प्राप्त राय/सुझाबको अध्ययन एवं विश्लेषणको लागि १६ पटकमा १६० घण्टा बैठक बसेको थियो। यसरी हेर्दा तथ्याङ्क विभागको अनुमानलाई सभासद्हरुले गतिलैगरी चुनौति दिएका छन्। लगभग तीन हप्ता नपुग्दैखेरी प्रश्नावलीको अध्ययन/विश्लेषण गरीसकेर मस्यौदा समेत पेश गरे यी दुई समितिले। अर अन्य समितिहरुको भने मस्यौदा पेश हुन बाँकी छ। जसको कारणले प्राम्भिक चरणको मस्यौदा पेश गर्न संविधानसभाले तोकेको म्याद लम्बिएको लम्बिएकै छ। मस्यौदा तयार पार्ने काम एकातिर, सरकार गठन, भागबण्डा र जम्बो मन्त्रीमण्डल गठन गर्ने, संसदीय चुनावलगायतका कामकाज एकातिर। समय बितेको कहाँ पत्तो र हाम्रा सभासद्हरुलाई। यस्तै यस्तै कामको चटारो। पलपलको हिसाब त कस्लाई नहोला र?

Wednesday, June 03, 2009

लिङ्कुपिटाङ‌‌... इकु इकु...

केही समय अघि ब्लगर मित्र दीपकजीले "कैलाश जी यो लिङ्कुपिटाङ भनेको के हो?" भनेर सोध्नुभएको थियो। उहाँले सोधेको बखतमा मलाई एउटा अपरिचित ब्लगर मित्रको लिङ्कुपिटाङ नामक ब्लगको याद आएको थियो। उहाँले कहाँ सुन्नुभयो कुन्नी? "मैले सुनेअनुसार त्यो भनेको भोक लाग्यो भनेको रे हो?" भनेर मलाई सुनाउनुभयो। तर मलाई त त्यो शब्दको अर्थ त्यही हो भन्नेमा एकरत्ति पनि हेक्का नै थिएन। न त त्यो शब्द मैले त्यसअघि कतै सुनेको थिएँ।

गत शनिबार साथीहरुको विशेष इच्छाको कारण 'इकु the jungle man' हेर्न सिनेमा हलतिर लाग्यौँ। त्यहाँ पुग्दा ठेलामठेल भीड थियो टिकट काट्ने काउन्टरदेखि बाहिरैसम्म। इकुको टिकट माग्दा 'छैन' भन्ने जवाफ पाएपछि धेरैले अरु नै फिल्मको टिकट लिने या फर्किने बाहेक उपाय थिएन। एउटै भवनमा थुप्रै फिल्म एकैपल्ट चलाएको हुनाले पनि चाहनेहरुले अर्को फिल्म हेर्ने विकल्प तै तै थियो। अरु पनि नेपाली फिल्म त्यही हलमा चलिरहेको थियो। इकु हेर्न नपाएकोमा अर्को नेपाली फिल्मलाई नै विकल्पमा रोज्यौ हामीले। तर आश्चर्य! नेपाली फिल्मको स्तर तथा बजार खस्केको कुरा यत्रतत्र चलेको बेलामा "नेपाली कुनैपनि छैन" भन्ने जवाफ पाउँदा त्यस दिन ठिक उल्टो भयो। कुनैपनि नेपाली फिल्मको टिकट र सीट छैन! आब्बुई!! "हिन्दी त आज नहेरौ क्यारा" भन्ने मेरो अनुरोधमा सबै साथीहरुले सहमति जनाए। त्यसपछि फिल्म हेर्ने बजेटले एउटा रेष्टुरेष्टमा गएर टन्न मःमः खाएर अघाएर आ-आफ्नो कुटीतिर लाग्यौँ।

हल पुगेर त्यसै फर्किनु पर्दा एक हिसाबले झ्याउँ लाग्दैथियो सबैलाई। तैपनि नेपाली फिल्म हेर्न पनि यत्तिका दर्शक हलमा आउँदा रहेछन् भन्ने लागेर हामी दंग थियौँ। नौलो स्वाद र प्रस्तुती लिएर आएको हुनाले नै इकु हेर्न धेरै दर्शकहरु हलसम्म पुगेका छन् सायद। हुन त शनिबार त्यसमाथि पनि बिहानीको शो भएकोले हुनसक्ला त्यत्तिका बिधि भीडभाड।
इकुको पोष्टर हेर्दै विद्यार्थीहरु

नेपाली फिल्म हेर्नेहरुको भीडमा, इकुको टिकट नपाएकाहरुको भीडमा उभिएर गफिरहँदा एउटा स्कूलको नेमप्लेट बोकेको ३ वटा गाडीबाट हुलका हूल विद्यार्थीहरु स्कूल पोशाकमै उत्रिएर हलतिरै आए। तब टिकट नपाउनुको कारण थाहा भयो। नत्र त टिकट काउन्टरमा बस्नेलाई बोल्ने फुर्सद कहाँ र! अनि लाइन लागेरै त्यत्रो सोधीरहने जाँगर पनि हामीमा कहाँ र! अनुशासित भइ लाइनमा बसेरै ती विद्यार्थीहरु खुरुखुरु फिल्म हलभित्र छिर्न थाले। इकु हेर्न लाइनमा बसेर हलभित्र छिर्दै विद्यार्थीहरु।

जंगली मान्छे-इकु प्रमुख पात्र भएपनि बालक अपहरणको कथाबस्तुलाई समेटिएको र ह्युमरस प्रस्तुती भएको चर्चा बजारमा फैलिएकोले पनि होला बच्चाहरुलाई हलसम्म पुर्याउने संयोजन खुद स्कूलले नै गरेको। संयोगबस साँझ कन्तिपुर टेलिभिजनबाट प्रसारण हुने 'पवनकली' शो आउने समयमा टेलिभिजन खोल्न पुगेछु म। त्यस शोमा उही इकु-सुलेमान शंकर फिल्मी पात्रकै रुपमा पाहुना बनेर पवनकलीको कुटीमा झुल्किए- इकु इकु भन्दै । यताउती हेर्दै पवनकालीको घरको भित्तामा झुन्डिएको मकैको घोगातर्फ इशारा गर्दै भोक लगेको जनाउदै भन्छ- लिङ्कुपिटाङ लिङ्कुपिटाङ। तब मलाई दिपकजी र उहाको प्रश्नको याद आयो। त्यो त नेपाली टार्जन इकुको भाषा पो रहेछ। जो नेपाली टेलिचलचित्रमार्फत् ठुलो फिल्मको जगतमा प्रबेश गरेको छ अहिले।

Saturday, May 09, 2009

किराती पर्व 'साकेला'

"सिन्कौली सेउली सेलेले
नाचीमा जाउँ है पेलेले
सोइ सोइला हो हुर्रर्र हा हा
सोइ ढोले सोइ अर्को ढोले खोई..."
२०६६ सालको किरातीहरुको विशेष चाड 'उभौली साकेला' शुरु भएको छ। उक्त अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना। सहकाल रहोस्। शुभ समय रहोस्।

बुद्ध जयन्तीलाई साकेला उत्पत्ति भएको दिनको रुपमा लिइन्छ किराती संस्कृतिमा। 'साकेला' किरातीहरुको एउटा महत्वपूर्ण संस्कृति तथा चाड हो। साकेलामा भूमि पुजिन्छ। प्रकृति पुजिन्छ। आफ्नो पूर्खाहरुसँग बल मागिन्छ। 'माङ' (देउता पुज्नु)गरिन्छ। हरेक वर्षको दुईपल्ट मंसीर पूर्णे र वैशाख पुर्णेमा किरातीहरुको महान चाड 'साकेला' मनाइन्छ। बैशाख पुर्णेलाई उभौली साकेलाको रुपमा र मंसीर पूर्णेलाई उधौली साकेलाको रुपमा मान्ने गरिन्छ। यी दुबै याममा एउटा याम बालीनाली उमार्ने र अर्को याममा बालीनाली थन्क्याउँने गरिन्छ। अहिले बालीनाली लगाउने याम हुनाले अन्नबाली राम्रोसँग उब्जनी होस्। सहकाल होस्। प्राकृतिक तथा दैबी प्रकोप नहोस्। अनिकाल नहोस्। सबैको सुब्बेफाब्बे होस् भन्दै भूमि पुज्ने गरिन्छ उभौली साकेलामा।

अन्नबाली उब्जनी भयो, सहकाल रह्यो भनेर मंसीरे पूर्णेमा उधौली साकेला पूज्ने गरिन्छ। जसमा सुम्निमा र पारुहाङ (किराती सृस्टिकर्ता)सँग अनि आफ्नै पितापूर्खासँग बल मागिन्छ। उनीहरुप्रति आभार प्रकट गरिन्छ। यसरी पुज्नुलाई 'माङ' गर्नु भनिन्छ। माङ गर्ने विशेष व्यक्ति हुन्छ। जसलाई नाक्छोङ/धामी भनिन्छ। माङ गरिसकेपछि ढोल र झ्याम्टा बजाउँदै साकेला नाच शुरु गरिन्छ। गाउँघरमा हरेकको घरघरमा जम्मा भएर पालैपालो नाच्ने र 'सह' बोलाउने हुनाले साकेला नाच हप्तादिनदेखि महिना दिनसम्म पनि नाचिन्छ। रमाइलोसँगै खानपिन गरिन्छ। साकेलासम्बन्धमा थुप्रै ऐतिहासिक तथा पौराणिक किंवदन्ती/मिथकहरु रहेका छन्। ती मिथकहरुमा साकेला उत्पत्तिबारे, सिली उत्पत्तिबारे रोचक र महत्वपूर्ण कुराहरु रहेका छन्।

आजको दिनदेखि १५ या महिनादिनसम्म उभौली साकेला पूज्दै ढोल र झ्याम्टाको तालमा साकेला नाच्ने गर्छन् किराती राई, याक्खा, सुनुवार जातीहरु। उपत्यकामा किरात राईहरुको छाता संगठन 'किरात राई यायोक्खा'को अगुवाईमा ललितपुरको सानो हात्तिबनमा माङ गरिन्छ। त्यसपश्चात नाच्न शुरु गरिन्छ। आ-आफ्नै परम्परागत भेषभूषा, गरगहनामा सजिएर बालक-युवा-बृद्ध सबैजना एकैनासले गोलबद्ध भइकन साकेला नाच्ने गर्छन्। साकेलामा गाईने गीतहरुले पनि आफ्नै खालको विशेषता बोकेको हुन्छ। हुन त गीत हुनैपर्ने या गीत नभइकन साकेला ननाचिने भने हैन। ढोल झ्याम्टाको तालमा मजाले नाचिन्छ। आजकाल त पप, हिपहप शैलीसँगै पनि नाचिएको देख्न पाइन्छ। साथै गाउँ-शहरदेखि राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा साकेला पर्व मनाइन्छ। खासगरी जहाँ जहाँ किरातीहरु बनीबूतो/कामकाजको शिलशिलामा पुगेका छन्। अस्थायी रुपमा बसोबास गर्दै गुजारा गरिरहेका छन्। त्यही त्यही साकेला पर्व धुमधामसँग मनाउने गरिन्छ।

खासगरी नेपालको पूर्वी भेगमा बसोबास गर्ने किरातीहरुको बसाईसराई र कामकाजको शिलशिलामा आफ्नो पूर्ख्योली थलोबाट यताउता गर्ने क्रममा साकेला संस्कृतिलाई पनि सँगै लिएर हिडेको देखिन्छ। हाल म खाल्डोमा बस्ने हुनाले यहीको प्रसंग कोट्याउँछु। वि‌.सं. २०३८ सालदेखि काठमाडौमा साकेला संस्कृतिको थालनी भएको मानिन्छ। त्यसबेला सीमित व्यक्तिहरुको प्रयास र थालनीको नतिजास्वरुप आज उपत्यकाका विभिन्न स्थानहरुमा जोश जाँगरका साथ साकेला नाच्ने गरिन्छ। जस्तैः नख्खीपोट, जावलाखेल, रत्नपार्क/टुडीखेल, बानेश्वर, शंकपार्क (चक्रपथ), कीर्तिपुर। उपत्यकामा छरिएर रहेका किरातीहरु साकेला पर्वको अवसरमा अझ भनौ न साकेला नाच्नकै लागि एकै थलोमा भेला हुन्छन्। सद्भाव बाँड्छन्। नाचगान गर्छन्। साकेला शुरु हुने दिनमा ललितपुरको नख्खीपोटमा भेला भएर नाचिन्छ (आजको दिन त्यहि नचिन्छ)। त्यहाँ पुग्दा स्पष्टै देख्न सकिन्छ- साकेला नाच्ने जमातलाई त्यो स्थान साँघुरो छ।

साकेला नाचको अर्को मोहक पाटो भनेको विभिन्न हाउभाउमा 'सिली'लाई उतारिन्छ। हात-खुट्टाको माध्यमले विभिन्न हाउभाउहरु (बाली छर्ने, बाली काट्ने, धान रोप्ने, प्रकृति पुज्ने, चराचुरुङ्गी तथा पशुपंक्षीको नक्कल, सिंगारपटार जस्ता हाउभाउहरु)लाई नाचमा उतारिन्छ। जसलाई 'सिली टिप्ने' भनिन्छ। यस्ता सिलीहरु अनगिन्ती रहेका छन्। यी सिलीहरु जाती अनुरुप/भौगोलिकताअनुरुप फरक फरक पनि हुन्छन्। जस्तैः राईभित्रको चाम्लिङ, बान्तावा, खालिङ, थुलुङ, कुलुङलगायतकाहरुको सिलीमा विविधता र फरकपन हुन्छन्। त्यस्तैगरी सुनुवार, याक्खा, याक्थुङहरुको पनि आफ्नै खालको नाच हुन्छ। आ-आफ्नै खालको भाषा हुन्छ। यद्यपि ढोल झ्याम्टाको प्रयोग सबैले गर्ने गर्छन्। र यी सबै जातीहरु एकै थलोमा भेला भएर नाच्ने गर्छन्। साकेला संस्कृतिको प्रमुख आकर्षण नै साकेला नाच हो। साकेला नाचमा रहेको मौलिकता, विशेषता, आकर्षण, रौनक र स्वतन्त्रताकै कारण हुनसक्छ यसप्रति नयाँ पुस्ताहरुको मोह निकै देखिन्छ। पुस्ताक्रम अनुरुप संस्कृतिमा आधुनिकता भित्रिनु पनि स्वभाविक हो। जुन कुरा साकेला नाचमा पनि लागू हुन्छ।

साकेला शब्दको पर्यायवाची शब्दहरु पनि थुप्रै छन्। यो पनि जाती तथा भौगोलिकता अनुरुप फरक परेको देखिन्छ। जस्तैः चाम्लिङले 'साकेला' भन्ने गरेको पाइन्छ। बान्तावाले 'साकेवा' तथा 'साकेन्वा' भन्ने गरेको पाइन्छ। भोजपुरदुमीले 'साखेल' भन्ने गरेको पाइन्छ। त्यसैगरी अन्य किरातीहरुले फरक फरक नामले पुकार्ने गरेको पाइन्छ। सुनुवार/मुखियाहरुले 'श्याँदर' नामले पुकार्छन्। 'चण्डी नाच्ने' शब्द पनि अहिले निकै परिचित छ। किराती संस्कृतिमा हिन्दुवाद हावी हुँदै जाँदा यो शब्द प्रचलनमा आएको तर्क किराती समुदायको रहेको छ। तर यो शब्द कसरी र कहाँबाट पुकारिन शुरु भयो भन्ने कुरा खोजकै विषय हुनसक्छ। नामको विविधताको उल्झन खेप्ने समस्यालाई किरात राई यायोक्खाले केही हदसम्म सुल्झाएको छ। 'चण्डी' हैन चाम्लिङहरुले भन्ने गरेको 'साकेला'शब्दलाई यायोक्खा केन्द्रीय कार्यलयले प्रयोगमा ल्याइरहेको छ। तर विविध जाती किरातीहरुले आफ्नो भाषिक अनुकूलता, मिथक र इच्छाअनुरुप उच्चारण गर्ने या पुकार्ने स्वतन्त्रतालाई भने खुला राखिदिएको छ। भाषिक/जातीय/भौगोलिकताअनुसार फरक फरक नामले पुकारिएपनि साकेलाको अर्थ 'शिला' (ढुंगा) हो। र यही शिलाकै आराधना गर्दै, प्रकृति पुज्दै, भूमि पुज्दै साकेला पर्व मनाइन्छ।

एक वाक्यमा, साकेला पर्व किरातीहरुको लागि उनीहरुभित्र रहेको जातीय तथा भाषिक विविधतालाई एकै मियोमा उन्ने महत्वपूर्ण साँस्कृतिक पहिचान हो।

Monday, May 04, 2009

प्रम पुष्पकमल दहाल 'प्रचण्ड' को सम्बोधन

आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

आज हामी नेपाली इतिहासको असाध्यै गौरवशाली तर चुनौतीपूर्ण क्षणमा उभिएका छौं। यस्ता क्षणहरु कुनै देशका इतिहासमा कमै मात्र आउने गर्दछन्। एकातिर हामीले दशवर्षे महान् जनयुद्ध र त्यसैको पूरकका रुपमा रहेको संयुक्त जनआन्दोलन र मधेस आन्दोलन पश्चात् नेपाली इतिहासमा पहिलोचोटि संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छौं र सयौं वर्ष पुरानो सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरेका छौं। यो तपाई हामी सबैका निम्ति असाध्यै गर्व गर्न लायक कुरा हो। यसका निम्ति हामीले ती दशौं हजार महान् शहीदहरु, वेपत्ता पारिएकाहरु र घाइते योद्धाहरुको युगौंयुगसम्म उच्च सम्मान र सम्झना गरिराख्नुपर्दछ। परन्तु अर्कोतिर, हामीले प्राप्त गरेको यो शिशु गणतन्त्र, हाम्रो प्यारो राष्ट्रिय स्वाधीनता र आम जनताले चाहेको तीव्र आर्थिक-सामाजिक परिवर्तन र विकासका विरुद्ध विभिन्न देशी तथा विदेशी प्रतिगामी तथा यथास्थितिवादी तत्वहरुले गम्भीर षड्यन्त्र गरिराखेका छन्। यो हामी सबैको निम्ति ठूलो चुनौतिको विषय हो। यिनै सन्दर्भलाई लिएर गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका हैसियतले म यतिबेला तपाईहरुलाई सम्वोधन गर्दैछु।

संविधानसभा निर्वाचनमा आम नेपाली जनताको अपार माया र समर्थन पाएर हाम्रो पार्टी एकीकृत नेकपा(माओवादी)ले प्रत्यक्ष निर्वाचन प्रणालीमा स्पष्ट वहुमत र समानुपातिक निर्वाचन प्रणालीमा सबभन्दा ठूलो दलको हैसियत प्राप्त गर्यो। यो हामीले चुनावका दौरानमा अघि सारेको 'नयाँ नेपालका निम्ति नयाँ विचार र नयाँ नेतृत्व' भन्ने नाराको स्पष्ट जनअनुमोदन थियो। परन्तु निर्वाचन परिणाम निस्केको चार महिनासम्म विभिन्न वहानामा माओवादी नेतृत्वमा सरकार वनाउन दिइएन। अन्त्यमा लोकलाजले बाध्य भएर मात्र गत भदौको पहिलो हप्तामा मेरो नेतृत्वमा गणतन्त्र नेपालको पहिलो निर्वाचित सरकार गठन गर्न मार्ग प्रशस्त भयो। त्यसपछि सरकार संचालन गर्ने हाम्रो आफ्नै कतिपय अनुभवजन्य कमी कमजोरीका कारणले पनि हामीले तपाईहरुले चाहे जस्ता सवै कामहरु बेलैमा गर्न सकेनौं होला। हामी जानअन्जानमा भएका आफना कमीकमजोरीहरुलाई कुनै पनि वहानामा ढाकछोप गर्ने पक्षमा छैनौं । जनताबाट सिक्ने र जनताका स्वस्थ आलोचनाहरुलाई गम्भीरतापूर्वक लिने हाम्रो घोषित वैचारिक प्रतिवद्धता नै हो। परन्तु हामीले सरकारमा रहेर देश र जनताका पक्षमा गर्न खोजेका थुप्रै राम्रा कामहरुलाई हुन नदिन कतिपयले सरकार वाहिरबट र कतिपयले सरकारभित्रैबाट निरन्तर वाधा उत्पन्न गरिरहे। उदाहरणको निम्ति हामीले सरकार गठन भए लगत्तै प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वार्षिक बजेटका जनमुखी कार्यक्रमहरुलाई अनेक वहाना वनाएर कार्यान्वयन हुन दिइएन। स्थानीय निकायहरुको गठन हुन नदिएर गाउँ गाउँमा पठाइएको अरबौको बजेट खर्च हुन सकेन। सानातिना निहुँमा हप्तौंसम्म बन्द हड्ताल र सदन अवरुद्ध गर्ने काम भइरह्यो। फलस्वरुप कतिपय अत्यन्त जरुरी र सार्वजनिक तथा राष्ट्रिय महत्वका विधेयकहरु पारित हुन सकेनन् भने अरवौंको विकास वजेट खर्च हुन सकेन र जनताले तत्काल पाउनु पर्ने राहत समेत प्राप्त गर्न सकेनन्। फेरि पनि संक्रमणकालको विशिष्ठ अवस्था र संयुक्त सरकार संचालनको वाध्यता भनेर हामीले धैर्य गर्दै गर्यौं। तर यो जनअनुमोदन प्राप्त सरकारलाई विभिन्न ढंगले घेरावन्दी गर्ने, अग्रगमनकारी एजेण्डा लागू हुन नदिने र असफल पार्ने प्रयत्न विभिन्न प्रतिगामी र यथास्थितिवादी कोणबाट भैरहयो।

यो सरकारले चालू शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, समयमै जनसंविधान निर्माण गर्ने, जनतालाई आर्थिक-सामाजिक परिवर्तनको प्रत्याभूति गराउने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरालाई हमेशा उच्च प्राथमिकता दिंदै आएको छ। त्यसरी नै वहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र, संघीय शासन प्रणाली, विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता आदि मूल्यमान्यताहरुलाई दह्रोसँग आत्मसात गर्दै आइरहेको छ र तीप्रतिको प्रतिवद्धता हमेशा कायम राख्नेछ। देशको विशिष्ठ ऐतिहासिक संक्रमणकाल, वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म र भावना अनुरुप हामीले राष्ट्रिय सहमतिको राजनीतिलाई विशेष जोड दिंदै आएका छौं। सरकारभित्र र बाहिरका राजनीतिक दलहरुसँग सहमति कायम गर्ने प्रयत्न गर्दागर्दै कतिपय अवस्थामा हामीलाई सामान्य निर्णय गर्न पनि महिनौं लाग्ने गरेको छ। त्यसैले एउटै कुरामा कसैले हामीलाई अधिनायकवादी र कसैले निर्णयविहीन भनेर लगाउने गरेको आरोपलाई पनि हामीले चूपचाप सहँदै आएका छौं। फेरि पनि शान्तिप्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता तथा स्वाधीनताप्रतिको हाम्रो विश्वास र प्रतिवद्धतामा कत्तिपनि कमी आएको छैन र जुनसुकै उत्तेजनाले पनि हामीलाई त्यसबाट विचलित गराउन नसक्ने अठोट म पुन: एकपटक दोहोर्याउन चाहन्छु।

गणतन्त्रको स्थापनापछि नेपाली सेनामाथि नागरिक सर्वोच्चताको प्रश्न एउटा अत्यन्तै गम्भीर र संवेदनशील प्रश्न वन्दै आइरहेको छ। सेनामाथि नागरिक सर्वोच्चताको सामान्य अर्थ भनेको सेना जननिर्वाचित सरकारको नि:शर्त नियन्त्रणमा रहने भन्ने नै हो। भर्खरै लोकतन्त्रको संस्थागत विकास हुन लागेका थुप्रै देशहरुमा सेना र जननिर्वाचित सरकारवीच लामो समयसम्म अन्तरविरोध र द्वन्द कायम रहने गरेका छन्। हाम्रै देशमा पनि २०१७ साल पुस १ गते र २०६१ माघ १९ गतेका घटनाहरु त्यसका साक्षी छन्। यिनै तथ्यलाई मध्यनजर गर्दै यो जननिर्वाचित सरकारले वारम्वार सरकारको नीति तथा आदेशको उल्लंघन गर्ने नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटवाललाई सफाइको उचित मौका दिएर संविधान र कानून वमोजिम विधिवत् ढंगले सेवावाट अवकाश दिने निर्णय गर्यो। यसबारे सरकारभित्र र बाहिरका राजनीतिक दल र शक्तिहरुसँग सहमति जुटाउन यथेष्ठ प्रयत्न पनि गरियो। तर जननिर्वाचित सरकारले गरेको विधिसम्मत निर्णयलाई उल्टाउन र कार्यान्वयन हुन नदिन विभिन्न शक्ति केन्द्रहरु र राजनीतिक दलहरुको उक्साहट र दवावमा सम्माननीय राष्ट्रपतिवाट जुन सरासर असंवैधानिक र अलोकतान्त्रिक कदम चालियो त्यसवाट देशमा अहिले गम्भीर राजनीतिक संकटको सिर्जना गरेको छ। अन्तरिम संविधानले राष्ट्रपतिलाई मन्त्रीमण्डलको सिफारिस वेगर सेना वा अन्य कुनै विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार कहीं कतै दिएकै छैन। लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिलाई यसरी समानान्तर शक्ति केन्द्रको रुपमा क्रियाशील वन्ने अधिकार कहीं पनि हुँदैन। तर गणन्त्र नेपालका प्रथम राष्ट्रपतिलाई यसरी जननिर्वाचित सरकारका विरुद्ध क्रियाशील बनाउने र झन् सेनामाथि नागरिक सर्वोच्चता कायम गर्ने अत्यन्त संवेदनशील विषयमा यस्तो असंवैधानिक हर्कत गर्न लगाउने कार्य जो जसबाट भएको छ त्यसले देशमा स्थापित शिशु लोकतान्त्रिक गणतन्त्रमाथि घातक प्रहार गरेको छ। यसका विरुद्ध आवाज उठाउनु र राष्ट्रपतिको असंवैधानिक कदम सच्चाउन र सेनामाथि नागरिक सर्वोच्चता कायम गर्न आवश्यक पहल गर्नु आज सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिहरुको गम्भीर दायित्व बनेको छ।

प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिलाई अघि सारेर लोकतन्त्र, संविधान र शान्ति प्रक्रियामाथि गम्भीर प्रहार गर्न कतिपय राजनीतिक दल र शक्तिहरु अग्रसर बनेको प्रसंग हाम्रो शिशु गणतन्त्र र शान्ति प्रक्रिया निम्ति झन् गम्भीर चिन्ताको विषय बनेको छ। केही समयदेखि माओवादी पार्टीले कथित सत्ताकव्जा गर्न लागेको मनगढन्ते दुष्प्रचार गरेर अहिलेको राष्ट्रपतिको असंवैधानिक कदमनिम्ति आधारभूमि तयार पारिएको प्रसंगलाई सबै लोकतन्त्रवादी राजनीतिक दलहरुले विशेष गम्भीरतापूर्वक लिन जरुरी छ। यस प्रकरणमा राजनीतिक दलहरुसँग सहमति कायम गर्ने हाम्रो भगीरथ प्रयासका वावजुद केही निहित स्वार्थी कोण र वृत्तहरुबाट भ्रम र आशंका पिंmजाएर राजनीतिक दलहरु बीचमा नै फाटो पार्न सफल हुनु झन् ठूलो चिन्ताको विषय भएको छ। कतिपय दल र तिनका नेताहरु शुरुमा सहमत भएर पनि पछि अज्ञात कारणवश पछि हट्नु र यति संवेदनशील विषयमाथि खेलवाड गर्नु लोकतान्त्रिक मूल्यमान्यता र संस्कृतिको विकासको निम्ति गम्भीर खतराको सूचक वनेको छ। यो स्थितिमा सबै लोकतान्त्रिक र देशभक्त राजनीतिक शक्तिहरुसँग 'वुढी मरी भन्दा पनि काल पल्क्यो भनेर डराउनु' भन्ने उक्तिलाई स्मरण गर्दै सेनामाथि नागरिक सर्वोच्चता कायम गर्ने पश्नलाई गम्भीरतापूर्वक लिन म हार्दिक आग्रह गर्दछु।

यो प्रकरणमा कतिपय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दृश्य र अदृश्य चलखेलप्रति पनि म सम्पूर्ण देशभक्त नेपाली दिदीवहिनी तथा दाज्यूभाइहरुको ध्यानाकर्षण गराउन चाहन्छु। हामी हाम्रा सवै छिमेकी र मित्र देशहरुसँग सुमधुर कुटनीतिक सम्वन्ध कायम गर्न प्रतिवद्ध छौं। परन्तु हाम्रो आन्तरिक मामिलामा कसैको पनि हस्तक्षेप हामीलाई किमार्थ स्वीकार्य छैन। नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डता विरुद्ध कसैसँग कुनै प्रकारको सम्झौता हुन सक्दैन। दशौं हजार देशभक्तहरुले वगाएको रगतमाथि टेकेर हामी कुनै पनि विदेशी प्रभुहरु सामुन्ने शीर निहुराउन तयार छैनौं। कुर्सीको निम्ति विदेशीको मुख ताक्ने युगको अन्त्य अब नेपालमा भैसकेको छ भन्ने स्पष्ट सन्देश पनि हामी सबैलाई दिन चाहन्छौं। साथै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताकालागि जुनसुकै वलिदान गर्नु परे पनि तयार रहन हामी सवै देशभक्त शक्तिहरुसँग आग्रह गर्न चाहन्छौं।

यो समग्र स्थितिमा शान्ति प्रक्रिया, लोकतन्त्र, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताका लागि संघर्ष गर्न सरकारको कुर्सी छोड्नु परे पनि त्यसबाट पछि नहट्ने निष्कर्षमा म पुगेको छु। देशमा हाल असंवैधानिक ढंगले सिर्जना गरिएको द्वैध सत्ताको स्थिति हरहालतमा अन्त्य हुन जरुरी छ। त्यस्का विरुद्ध सिंगो देश एकताबद्ध हुन आजको आवश्यकता हो। त्यसैले यो असहज स्थितिको निराकरण गर्न र खतरामा परेको लोकतन्त्र, राष्ट्रियता र शान्तिप्रक्रियालाई बचाउने दिशामा सकारात्मक वातावरण निर्माण गर्न मैले यसै सम्वोधनमार्फत् आफुले नेतृत्व गरेको मन्त्रीमण्डलबाट राजिनामा दिएको घोषणा गर्दछु।

अन्त्यमा, म जारी शान्ति प्रक्रिया, लोकतन्त्र र राष्ट्रियताको संरक्षण निम्ति पुन: एकपटक दृढ प्रतिवद्धता व्यक्त गर्दै नयाँ लोकतान्त्रिक समुन्नत नेपालको निर्माण र नागरिक सर्वोच्चताको वर्तमान संघर्षमा अझ दृढतापूर्वक लागिरहन सम्पूर्ण जनसमुदाय, नागरिक समाज र राजनीतिक शक्तिहरुसँग हार्दिक आग्रह गर्दछु। धन्यवाद।

२०६६ बैशाख २१
पुष्पकमल दाहाल 'प्रचण्ड'
प्रधानमन्त्री, नेपाल सरकार

(२०६६ बैशाख २१ गते सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिनुभएको सम्बोधन तथा प्रम पदबाट राजीनामा दिएको कुरालाई यहाँ हुबहू राखि दिएको छु। यसबारेमा प्रचण्डद्वारा प्रधानमन्त्रीबाट राजीनामाः राष्ट्रपतिको कदम 'असंवैधानिक हर्कत' भन्दै ब्लगर मित्र प्रवेश पौडेल 'उजेली'ले लेख्नुभएको लेख पढ्न यहाँ जानुहोस्)

Sunday, April 26, 2009

लेख्ने सोच गुल्टिएको कुरा

वर्षदिनको यात्रा तय गरेपछि अर्को वर्ष लाग्नासाथ मेरो ब्लगिङको हाजिरी तुलनात्मक रुपमा कम भयो। यति छोटै समयमा म ओइलाएछु कि क्या हो हँ? कुटीभित्र छिरेपछि र ब्लगिङको बारेमा सोच्दैखेरी पनि आफैसँग यदाकदा प्रश्न गर्ने गर्छु। लेख्ने कुरा यति धेरै छन् जस्तो लाग्छ सम्झेर ल्याउँदा। फेरी लेख्ने बेलामा खै के खै के हुन्छ। यो लेख्छु, त्यो लेख्छु भन्दाभन्दै योजनाको पोको खुस्काइरहन्छु म। छरपष्ट पारिरहन्छु भनेको नि। कहिले जानी जानी। कहिले बाध्यताबस। कहिले अल्छीले। गत सातादेखि ब्लगमा नयाँ टाँसो ठेल्ने सोच दिमागमा बोकेर बस्दाबस्दै आजको सातामा आइपुगे। खुस्किएको योजनाको पोकोलाई बाँध्नुको सट्टा छरिएकै योजनाको पोकोलाई टपक टपक टिपेर राख्दै हाजिर हुँदैछु कुटीमा आज।

अँ! म कुरा गर्दैथिए नि गत सातादेखि कुटीमा ठेल्ने योजनाबारे। नयाँ वर्षको प्रसंगलाई रमाइलोसँग मनाएको कुराकन्थोलाई कुटीमा छिराउँने योजना राखे मैले. नयाँ वर्ष मनाइयो आफ्नै अन्सारले। तर लेख्ने बेलामा योजना अनुरुप लेख्ने मुड नै चलेन मलाई त। अनि बिना इच्छा के लेख्नु भनेर टारे। त्यसपछि अर्को विषयमा लेख्ने सोचको जन्म भयो यो खोपडीमाः मिस मंगोल २००९ को बारेमा। गएको शनिबार (१८ अप्रिल)राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा 'मिस मंगोल २००९' सम्पन्न भयो। कार्यक्रम हेर्न पनि गइयो। रमाइलो पनि भयो। मिस तामाङ, मिस नेवालगायतका नेपालका आदिवासी जनजातिहरुको विशेष जात जातीको अलग अलग प्रतियोगिता हुने गरेकोमा समग्र मंगोल मूलकाहरुका लागि आयोजना भएको उक्त कार्यक्रम पहिलो थियो।

माम खानालाई काम गर्नैपर्ने बाध्यता र नयाँ डेराको घरेलु टिपनटापनले त्यो कुरा लेख्न भ्याइन। त्यसपछि त्यो बारेमा लेख्ने सोचलाई त्यसको दुईदिनपछि अर्को लेख्ने सोचले थिच्यो। त्यो सोच थियोः केही वर्ष अघि भक्तपुर क्यान्सर अस्पतालमा बिताएको महत्वपूर्ण क्षणको संस्मरण लेखेर ठेल्ने। लेख्न शुरु पनि गरे। तर...।

तरले फेरी कुरो पर सर्यो। त्यो लेख्न शुरु गरे। लोडसेडिङको हिसाबकिताबमा दुईफेर गरेर सक्ने योजना बनाए। त्यो लेख्दालेख्दै घाँटी दुख्न थाल्यो ज्यानको। अनि सँगै रुघाखोकी र ज्वरोले च्याप्पै पार्यो। त्यसपछि लेखन कार्य थाँती राखे। गर्मीमा तातोपानी र औषधीको पछि लागे। त्यो संस्मरण अझै पनि आधाकल्चो छ। कुनैदिन पूरा गर्छु अनि ठेल्छु भनेर राखेको छु। अँ अनि नि, मदौरु भएर पुरै ३ दिन थन्किए कोठामा। तेस्रो र चौथो दिनको दिनमा पुराना दुईटा नेपाली फिल्म हेरे इन्सटलमेन्टमा– 'लोभीपापी' र 'अन्याय'। ति दुई पुराना फिल्ममा एकप्रकारको माधुर्यता, सेन्टीमेन्ट भ्यालु भएको महशुश भयो। फिल्म हेरीसकेपछि फिल्मकै बारेमा लेख्छु भन्ने पनि सोच आयो। र म आज त्यही फिल्मको बारेमा लेख्न बसे। तर...। फेरी यो 'तर' बीचमा घुस्रियो। त्यसो हुनासाथ कुरा अर्कै भयो। योजनाको पोका फुट्यो। कस्तो भयो भनेर भन्दा, ई यस्तै भयो, टिप्स मात्रै आयो।

Sunday, April 12, 2009

नयाँ सालको शुभकामना नयाँ डेराबाट!

नयाँ वर्षको
उपलक्ष्यमा मेरो
शुभकामना!

कामना यही
मन सँधै रमोस्
उमंग होस‍्!

२०६५ को बिदाई र नयाँ साल २०६६ को समयचक्रलाई अब थाप्लोमा थुपार्दैछौ हामीहरु। सम्पूर्ण साथीहरुलाई नयाँ वर्षको हार्दिक शुभकामना। कुटीमा धुपध्वाँर गर्न डेरा पाइएको कुरालाई नै लिएर म आए। डेरा बसाई र सराईको कुरा सम्झेर ल्याउँदा, औँला भाँचेर ल्याउँदा २०६१ यता छैठौपल्ट नयाँ डेरामा प्रवेश गरिएछ। संयोग नै होला धेरैचोटि नयाँ वर्षकै आसपासमा हुने गरेको पनि रहेछ। नयाँ डेराबाट नयाँ सालको शुभकामना सबैलाई। डेरा खोजी गर्ने काम सकिएकोमा यी हाइकुरुपी टुक्रा छाड्दैछु।

यसपाली नि
म नयाँ डेरावाल
थुप्रै सवाल!

कुम्लो कसियो
मालमत्ता सारियो
डेरा फेरियो!

यो नयाँ साल
अनि नयाँ नेपाल
नयाँ बहाल!

Monday, March 30, 2009

खोजी डेराको

बेथुको साग टक्टकाउँदै
फुको भात निल्छु
टुहुरो भान्सा,
टुहुरो भान्साकै तागत लिएर
भर्ल्याङ्गे झोला भिरेर
डेराबाहिर निस्किन्छु
डेरा खोज्न

अग्ला अग्ला घरका फेदैफेद चाहार्छु
गल्ली गल्ली फन्फनी घुम्छु
गम्छु,
देखेजति सबै घरमा सोध्छु
भेटेजति सबैसँग सोध्छु
'कोठा खाली छ?'

बा आमाले आर्जेका घर
म जन्मेको त्यो घर
बतास नाच्दो हो चारै कुनामा
म हुर्केको त्यही घर
सुसार खोज्दो हो बेलाबेलामा
खै! के फाइदा र?
त्यहाँ गएर मैले गर्नु के छ र?
न बनाउँनु छ नयाँ घर त्यहाँ,
न त यहाँ

निभेको अगुल्टो कहाँ सल्काउँनु छ र?
रन्के नि रन्कोस्
पोले नि पोलोस्
डढे नि डढोस्
बरु दन्केकै राँको बोक्नु छ मलाई
भएभरका सबै जात्रा देख्नु छ मलाई
यहाँको जीवन भोग्नु छ मलाई
यही जीवन थेग्नु छ मलाई
वर्षौँदेखि यही खाल्डोमै अडिएको 'नेपाल'
हो,
हो त्यही नेपाल चिन्नु छ मलाई

त्यसैले,
घरीघरी सल्बलाउँछु
यहाँका जोल्ठिएका घर-घरमा
साँगुरा, चेपिएका
यी सेपिला गल्लीगल्लीमा
मुखबाट फुत्काउँछु
'सन्नुस् न, कोठा खाली छ?'
सोधनी हुन्छ थातथलोको
सोधनी हुन्छ कूलघरानको
सोधनी हुन्छ कामकाजको
सोधनी हुन्छ घरबारको
अनि,
सोधनी हुन्छ आयआर्जनको
कुरा गर्यो कुरैको दुःख
अचम्म !
बग्रेल्ती घरैघर छन् यहाँ
र पनि,
चाहिएको बेला अहँ मैले सकिन...

म सोच्छु,
अनुभव गर्छु,
दिमाग पलाएको छ
अनि छरिएको पनि छ
दिमाग निखारिएको छ
अनि भाँचिएको पनि छ, यही सहरमा
तैपनि म खुट्याउन असमर्थ छु
म छु यहाँ, रहरमा कि करमा?
आखिरमा,
डेरा चाहिएकै छ मलाई,
यही सहरमा
हो, यही सहरमा।

१० चैत २०६५, सोमबार, काठमाडौँ।

(गत २ महिनादेखि लगातार डेराको खोजी गर्दागर्दै पनि पायक पर्ने र भनेको जस्तो कोठा भेटिएन। त्यसको सट्टा आत्मलाप गर्दै यो कविता कोरे। त्यसैलाई कुटीमा छिराएको छु।)

Friday, March 20, 2009

"Perfume" र पानी

पानी नै पानी भएको देशमा पानी नै कम भएर लोडसेडिङ भएको रे! तै तै काकाकुल बनेको काठमाडौँमा आज त पानी दर्किने ठूलै सम्भावना देखिँदैछ। रुन्चे मौसम धीत मरुन्जेल रोए त कति जाती हुन्थ्यो भनेर सबैको मनमा पक्कै छ। तर बाछिटामै सीमित भइरहेको छ। गड्याङगुडुङको धमाका पनि भइराछ। कतै बाछिटा बाक्लिदै गएर रमाइलो भइहाल्छ कि भन्ने आशमा छु म। साथै दुईजना साथीहरुको याद पनि आयो। किनकी उनीहरुले केही दिन अघि मेरो हातमा थमाएका थिए- परफ्यूम। 'पानीको खूब सर्टेज रैछ। पानी त ल्याउँन सकिन्न। तिमीलाई ई यो चिनो। मूड चल्यो भने ज्यानमा छ्यास्‌छुस्‌ पनि पार!' पानीको दुःखप्रति औँल्याउँदै र मैले कहिल्यै परफ्यूम प्रयोग नगरेकोप्रति सचेत हुँदै भएपनि चिनो दिएका थिए एउटा साथीले (पानी नहुँदा नुहाउँन नपाएपछि यसो ज्यानमा छर्केर हिड्दा बासनै आउँला कि त!)। अर्को साथीले चाहिँ 'लोडसेडिङ्ले भनेजस्तो फिल्म हेर्न नपाएपनि चाहेको खण्डमा रातभर बसेरै पनि हेरिहाल्छौ नि हगि?' भन्दै फिल्म दिए- 'Perfume: The Story of a Murderer'।

दुबै परफ्यूम थाँती रहेका थिए। छ्यास्‌छुस पार्ने परफ्यूमको म प्रेमी परिन। तैपनि साथीले दिएको उपहारको महत्व अलग्गै हुन्छ। खासगरी हेर्ने परफ्यूमको लागि ताक पार्नै सकिराखेको थिइन। मौका जुराए मैले हिजै रातीको १२ बजे, बत्ती आएपछि। रोचक लाग्यो। एकपल्ट हेरीसकेपछि फेरी दोहोर्याएर हेर्न मन लाग्यो। अनि यसबारेमा ब्लगमा ठेल्दिने सोच पनि। म अहिले मनमनै सोच्दैछु। बाहिर खूब पानी दर्कीरहोस् (खूब त हैन भुईको धूलो मेटिनेसम्मको परिराखेको छ। बेलाबेलामा बिजुली पनि चम्किरहेको छ)। म यहाँ बसेर ब्लगमा लेखिरहुँ। लेख्दालेख्दै अड्किए भने बाहिर परिरहेको पानीको बाक्लो मुस्लो हात्केलामा थापु। हत्केलामा थाप्दाथाप्दै ब्लगमा अब फेरी यसरी लेख्छु भन्दै सोचीरहेको हुनेछु। हत्केलाबाट पानीको थोपा उछिट्टिएको देख्दा थाहै नपाई मैले भोगीरहेको समय उछिट्टिरहेको महशुश गरुँ। अनि हत्तपत्त ब्लग लेख्न बसुँ। तर, कसैगरी बिजुली चाहि नमरोस्! कसैगरी पनि। नत्र फेरी बिजुली ब्युझिँदाखेरी यही कुरा, यही रुपमा लेखिन र ब्लगमा पब्लिस नै नहुन सक्छ। लौ बर्बाद! अलिअलि छिटाएको पानी पनि हरायो। नमिठो या तीतो हुनेगरी कुनै चीजको स्वाद लिएपछिको अनुहारको भावझैँ देखिएको मौसमले थप पानी पार्ला कि नपार्ला कुन्नी? म चाहिँ परफ्युमको बारेमा लेख्न थाले।

सन् २००६ मा Tom Tykwer को निर्देशनमा बनेको १४७ मिनेटको "Perfume" १८औँ शतान्दीको फ्रान्सको एउटा आश्चर्यजनक कथा हो। जसलाई crime, Romance, Drama, Thriller फिल्मको रुपमा लिइएको छ। जहाँ अद्भूत सुघ्ने शक्ति लिएर आएको एक अनौठो व्यक्ति Jean-Baptiste Grenouille (जसको खास नाम Ben Whishaw हो)(सु)गन्धकै भरमा बाँच्छ र त्यसैको लागि जेसुकै पनि गर्छ। उसले मानव शरीरको आकर्षित सुगन्ध पत्ता लगाउँछ र त्यसलाई सँधैको लागि कैद गर्न २५ जना केटीहरुको हत्या गर्छ र त्यसबाट चाहेजस्तै परफ्यूम बनाउँछ। अन्तत त्यो सुगन्धित परफ्युमकै सुगन्धद्वारा फाँसी हुनुको सट्टा देवदूतको दर्जा पाउँछ। उक्त सुगन्धले हरेक व्यक्तिमा माया-प्रेम पैदा गराउँछ। रोमाञ्चित मात्रै हैन सबैलाई लठ्ठ नै पार्छ। त्यही परफ्यूमले संसारलाई आफ्नो हातमा राख्न सक्ने क्षमता बोक्छ। तरपनि Jean-Baptiste Grenouille विरक्त नै हुन्छन्। किनकी उनले न त ले भित्रैदेखि चाहेको सुगन्ध पाउँछ, न त माया नै। हरेक बासना या सुगन्धलाई सँधैको लागि कैद गर्ने उसको एउटै उद्देश्य पूरा भएपछि उनीसँग अर्को कुनै चाह रहँदैन। रहन्छ त सिर्फ उसले गुमाएको माया र सुगन्ध। जो एउटा केटीको शरीरमा भेटेको हुन्छ। आफ्नै अज्ञानताको कारणले उक्त केटीलाई मारिदिन्छ। तर उसको अद्भूत सुघ्ने शक्तिले पहिल्याएको अति मोहक र दुर्लभ सुगन्धप्रतिको लगाव र मोह ऊबाट कहिल्यै टाढा जाँदैन। बरु त्यही मोह र अतृप्तपना पुरा गर्न नसक्दा गुमनाम भईदिन्छ।

Jean-Baptiste Grenouille (नायक) सन् १७३८ जुलाई १७मा पेरिसको एकछेउमा रहेको माछा बजारको दुर्गन्धित ठाउँमा जन्मिन्छ। जुन पेरिस शहरभरिको सबैभन्दा बढी गन्ध आउँने ठाउँ हुन्छ। आमाले अघिल्ला ४ सन्तानलाई फोहोरको डंगुरमा फ्यालेझैँ Jean-Baptiste लाई पनि फ्याकिदिन्छ। अति नै दुर्गन्धित ठाउँमा पनि Jean-Baptiste को अकल्पनीय सुघ्ने शक्तिले बचाउँछ। फ्रेन्चमा Grenouille को अर्थ भ्यागुता हुँदोरहेछ। पात्रको विशेषता र यो शब्दको अर्थबीच पनि तालमेल रहेछ। जन्मनासाथ हरेक चीजको कोष-कोषको अलग अलग गन्ध पहिचान गर्छ। हरेक चीजमा निहित बासना/गन्धको आधारमै उसले त्यो चीजलाई चिन्न थाल्छ। हरेक सजीव/निर्जीव जतिपनि चीजबीजहरु छन् ती सबैको पहिचान गर्न उसको सुघ्ने शक्ति नै काफी हुन्छ। ऊ अनाथालयमा हुर्किन्छ। एकदम कम बोल्छ। १३ वर्षको उमेरमा अनाथालयबाट बेचिन्छ र Giuseppe Baldiniले नकिनेसम्म रातदिन त्यही फ्याक्ट्रीमा १५/१६ घण्टा काममा घोटिन्छ। सामान पुर्याउन शहर जाँदा आश्चर्य हुने गरी एउटा साधारण तर सुन्दर केटीको शरीरको (सु)गन्धमा लठ्ठिन्छ। उसको अन्जानपनले केटी मार्छ। केटीको शरीरमा भएको गन्धलाई पागलसरी सकेसम्म आफूले सुँघेरै लिन खोज्छ। र, उसको जीवनको उद्देश्य बन्छ- उत्कृष्ट सुगन्धलाई सँधैको लागि सुरक्षित गर्ने।

Grenouille मा निहित अनौठो शक्तिले जन्माएको त्यो कदमलाई त्यही शक्तिले अगाडि बढाउँछ। सही प्रक्रियागत/संरचनागत ज्ञान र प्रयोगको कमी पूरा गर्ने खोजीमा नामुद परफ्यमुर Giuseppe Baldini कहाँ पुग्छ। Baldini ३० वर्षअघि फ्रान्सबाट पेरिस छिरेका हुन्छन्। नयाँ र माग अनुरुपको परफ्युम बनाउँन नसकेर बेकम्मा सरह भइसकेको अवस्थामा Grenouille को सहयोगमा उनको ब्यापार फेरी चुलिन्छ। Baldini मख्ख छन्। तर Grenouilleको सुगन्धको चाह अतृप्त नै रहन्छ। त्यसैले परफ्युम बनाउँने प्रक्रियागत विधि पूर्ण रुपमा सिकेर फेरी ऊ नयाँ (सु)गन्धको खोजीमा निस्किन्छ। हजारौ गन्धले भरिपूर्ण सुरुङभित्र केही वर्ष निष्फिक्री बिताउँछ। एउटा गन्ध, जुन उसको जीवनको पहिलो र प्रमुख चीज हो, को कमी महशुश गर्छ र बाहिरिन्छ। बाहिरिएपछि Laure Richis (प्रमुख महिला पात्र)को शरीरको गन्धप्रति केन्द्रित हुन्छ। त्यही गन्ध कैद गर्ने भित्री हेतुले परफ्युम फ्याक्ट्रीमा कामदार बन्छ। फ्याक्ट्रीमा काम गर्नुको अलावा लगातार केटीहरुको हत्या गर्दै उनीहरुको सुगन्ध कैद गर्नतिर ज्यानप्राण दिएर लाग्छ। युवती हत्या गर्दै परफ्यूम बनाउँने क्रममा कतिपय दृश्यहरु निकै नै क्रूर लाग्छन्। मानौ उसको लागि मानव र अन्य चीजबीजबीच कुनै फरक नै छैन। सुन्दर र आकर्षक युवती हत्या आतंकको हाहाकार मच्चिन्छ शहरभरि। कर्फ्यू जारी हुन्छ। पूरै पेरिस काँप्छ। थर्कमान हुन्छ। त्यो माहौलसँग Grenouilleलाई कुनै चासो हुन्न। न त ऊप्रति कसैलाई शंका नै।

अन्ततः Laure Richisको सुगन्ध कैद गर्न सफल हुन्छ ऊ। १२ वटा उत्कृष्ट परफ्युम बनाउँछ। तीमध्येबाट पनि अझ अति उत्कृष्ट परफ्यूम बनाउँछ। त्यसलगत्तै ऊ पक्राउ पर्छ। कडा भन्दा कडा कानुनी सजाय दिने, यातना दिनेदेखि फाँसी दिने घोषणा हुन्छ। पेरिसवासीहरु त्यसको लागि सहमत हुँदै जम्मा हुन्छन्। परफ्यूमको एक थोपा बोतलबाहिर निकाल्दा सबै उसैको खुट्टामा निहुरिन्छन्। सबैले उसलाई निर्दोष, मायालु र अति सुन्दर देख्छन्। अर्को थोपा बाहिर आउँदा उसलाई सबैले जिससको दूत मान्न थाल्छन्। भीडमा उक्त परफ्यूमको गन्ध फैलाउँनासाथ भीड एकअर्कासग मायाप्रेम गर्नमा हराउँछन्। जब भीड ब्युझन्छन् लाज र आत्मसम्मानका कारणले कोही पनि बोल्न सक्दैनन्। ऊ देवदूतको रुपमा आएर बिलाएको मानिन्छन्। उसको सट्टा परफ्यूम फ्याक्ट्री परिसरमा भेटिएको विभिन्न प्रमाणका आधारमा परफ्यूम व्यापारी महिला (फ्याक्ट्री मालिक)को प्रेमीलाई फाँसी दिइन्छ। ऊ आफू जन्मेको ठाउँमा पुगेर भएभरको परफ्युम आफूमाथि खन्याएर संसारबाटै नाटकीय तरिकाले विलाउँछ, रातको ११ बजे सन् १७६६ जुन २५का दिन।

बाहिर चियाउँदा पानी नपर्लाझैँ छाँटकाट देख्छु म। अँध्यारो वातावरण उज्यालो हुँदै गइरहेको छ। बाहिर निस्केर यसो नियाले। माटोको बेग्लै गन्ध छ। सिमेन्टेड ठाउँमा थोरै तातो बाफ आइरहेको भान हुन्छ। म फर्केर फेरी लेख्न थाल्छु।

Grenouille पात्रमा मानवी र दानवी दुबै गुण छ। रुप, सौन्दर्य, यौवन, प्रेम, यौनजस्ता कुराप्रति आशक्ति नराखीकनै पनि युवतीहरुको शरीरमा रहेको सुगन्धकै आधारमा छानी छानी २५ जना जवान, सुन्दर र आकर्षक युवतीहरुको हत्या गर्छ। मानवीय भावना तथा पाप धर्मको मापदण्डअनुरुप यो उसको दानवीपना नै हो। युवतीहरुको कपाल काटेर मुडुलै पार्ने र उनीहरुको पुरै शरीरमा जेलजस्तै पदार्थ (मलाई भन्न आएन खासमा त्यो के चीज हो कुन्नी? लिटो जस्तै देखिन्थ्यो) दलेर त्यसलाई खुर्पाले बिस्तारै जम्मा पार्ने अनि उक्त पदार्थमा कपाल राख्ने। अनि कपालबाट फेरी उक्त पदार्थ निकालेर परफ्यूम बनाउने प्रकृयामा हाल्ने। युवतीहरुलाई सर्वाङ्गै पारेर जहाँ भेटेको हो त्यही फालीदिने गर्छ। शुरुमा एउटा युवतीलाई नै मारेर जारमा हालेर तताएर सुगन्ध कैद गर्ने कामको परिक्षण गर्छ। त्यसपछि सुगन्ध कैद गर्ने उचित बस्तुकै रुपमा मात्र युवतीहरुको शरीरलाई लिन्छ। र आफ्नो काममा सफल हुन्छ। उसको पृष्ठभूमि, हुर्काइबढाइ, भोगाई, अज्ञानता, लक्ष्यप्राप्तिको एकोहोरोपनाजस्ता पक्षले उसको क्रूरतालाई पृष्ठपोषण गरेको छ।

यो फिल्म जर्मन लेखक Patrick Suskind ले सन् १९८५ मा जर्मनी भाषामा लेखेको उपन्यासमा आधारित छ। Penguin Booksले प्रकाशन गरेको उक्त उपन्यासको नाम Das Parfum हो। उपन्यासमा Grenouilleको गेटअपको सन्दर्भमा लेखिएको रहेछ- 'hissed out in a reptile fashion'। Ben Whishaw को अभिनय कमालको छ। Grenouille स्वयं अपराधी मानसिकताको हैन। उत्कृष्ट नतिजा पाउँनलाई अपनाएको गलत तरिका भने अपराध नै हो। तैपनि अपराध गरेको कुनै खालको पश्चाताप हुँदैन। न त ग्लानी नै। हामीकहाँ भनिन्छ नि 'चिलाइ न कनाई' भनेझैँ। उसलाई पाप-धर्मजस्ता कुरासँग कुनै सरोकार छैन। भगवान तथा शैतानी गुण/अवगुणहरुसँग कुनै खालको आसक्ति छैन। त्यसैले होला उपन्यासमा 'एन्टी क्राइस्ट' पात्रको चित्रण गरिएको रहेछ। न त दुनियाँदारीसँग नै उसलाई कुनै खालको चासो छ। सुगन्धबाहेक हरु चीज उसकोलागि अस्तित्वहीन लाग्छ। सुगन्ध पनि त्यस्तो जुन युवतीकै शरीरमा मात्रै हुन्छ। संसारै लठ्ठ पार्ने, आफ्नो बसमा पार्ने सुगन्धित शक्ति बनाएर पनि लाचार देखिन्छ। आफूलाई कमजोर र अतृप्त नै पाउँछ। यो उसमा रहेको मानवीय पक्ष हो सायद। Grenouille सुगन्ध प्राप्तिको खातिर शैतानको रुपमा चित्रित भएको छ। तर त्यही सुगन्धको आडमा भगवानको दर्जा पनि लिएको छ। त्यस अर्थमा परफ्युम या सुगन्धले मानिसको दिमागलाई पूरै डोर्याएको छ। आत्मसन्तुष्टि, सन्तोष र अन्तरमनको शान्ति प्राप्त गर्न नसक्दा सारा संसारलाई डोर्याउने सामर्थ्य पैदा गर्ने मान्छे आफू भने गन्तव्यहीन हुन्छ। त्यो सुगन्धित सृजना सम्पूर्ण पेरिसवासीहरुको लागि चमत्कारी, अति मनमोहक भएपनि आफ्नो लागि महत्वहीन र बेकामे हुनु, आफ्नो अस्तित्व आफैले महशुश गर्न नसक्नु नै Grenouilleले जानी नजानी गरेको जति पनि नराम्रा कामको सजाय हो।

कथावस्तुअनुरुप संसारमा जेजति गन्ध या सुगन्ध छन् सबैको आ-आफ्नै सुगन्ध हुन्छन्। ती सबैमध्यै उत्कृष्ट र स्वर्गीय आनन्द दिने सुगन्ध मानवमै हुन्छ। मानव शरीरको मोहक सुगन्ध आकर्षक र भर्खरका युवतीहरुकै मात्र हुँदो हो? ज्यानलाई यसबारेमा ज्ञान भएन। या त सायद यो फिल्मको Grenouille पात्र युवती भइदिएको भए बेजोड युवाहरुकै शरीरको मोहक सुगन्ध प्राप्तिको कथा हुँदो हो कि? जे भएनि फिल्म चाहिँ क्रिएटिभ, रोमान्चित र बेग्लै स्वादको लाग्यो। फिल्म हेर्दाहेर्दै र हेरीसकेपछि झन् मलाई एउटा कुरा जान्ने उत्सुकता लागेको छ। यो फिल्म हेरेपछि Feminist तथा सुन्दरी प्रतियोगितालाई युवतीहरुको शारिरिक सुन्दरताको बिक्री गरेको ठान्नेहरुको कस्तो प्रतिक्रिया हुँदो हो? यो फिल्मको कुन चाहिँ पाटोलाई बढी केलाउँदा हुन्? खैर, यो पनि आकाशको दर्कने पानी हत्केलामा थापेर मजा लिउँला भने सरहझैँ नै हो क्यार।

लु खा! मैले लेख्ने कुरा यति हो। अहिलेलाई ब्लग लेख्ने धन्दा सकाए। यसो बाहिर हेर्छु। बादल फाटेर उज्यालो देखिएको छ। खाने (पिउने)पानीको अभाव छँदैछ। अब त झन् सुख्खा मौसम छिप्पिदैछ। खडेरी लम्बेको लम्बेकै हुने हो भने त छ्यास्‌छुस् पार्ने परफ्यूम पनि काम लगाउनैपर्ला नि? 'प'बाट पानी नभएको खण्डमा 'प'बाट परफ्यूमको विकल्प पनि खुलै राखौ न!