Wednesday, December 02, 2009

किराती र साकेलाः केही चर्चा

किरातीहरूले बर्षेनि दुइपल्ट उभौली–उधौली (वैशाख पूर्णे र मंसिर पूर्णे) साकेला धुमधामसँग मान्ने गर्छन्। अहिले यो टाँसो लेखिँदाखेरी उधौली साकेलाको बेला छ। प्रकृतिका पुजारी मानिने राई, लिम्बू, सुनवार, याक्खालगायतका किरातीहरू साकेला पर्वमा पूजाआजा, नाचगान,खानपिन तथा भेटघाट गर्ने गर्छन्। प्राकृतिक प्रकोप नहोस्, सहकाल रहोस्, अन्नबाली सप्रियोस, कुलपित्री खुसी होऊन‍्, सबैको सुब्बेफाब्बे होस् भन्ने प्रार्थना गर्दै साकेला चाड मनाउने गरिन्छ। त्यसैले साकेला किरातीहरूले सगोलमा मान्दै आइरहेको परम्परागत–मौलिक चाड हो। यो फोटो खुलामञ्चमा गत वैशाख पूर्णेको उभौली साकेला मनाउँदै गरेको बेला खिचेको हुँ। यहाँ पंक्तिबद्ध नाचीरहेकाहरु किराँत लिम्बु हुन्।

आजकल मौलिक–सांस्कृतिक पक्ष अनि आधुनिकीकरण र रमझमको मिश्रणसँगै साकेला परम्परा धानिन थालेको देखिन्छ। त्यसको अलावा सामूहिक रूपमा साकेलामान्ने किरातीहरू भित्रै विविधता छ। 'दस राई एक भान्सा' भनी चिनिने किरातराईहरूभित्रै फरक–फरक भाषा बोलिनु,र अहिले आएर 'पदवी' र 'थर' बीचको फरकपनाको बुझाइ र खोजाइले त्यस्ता विविधता बाहिर देखिन थप बल पुगको छ। त्यसो त 'राई' शब्दावली बाउबाजेकोपालादेखि भिर्दै आएको नासो हो। त्यही शब्दावली प्रत्येक आधिकारिक प्रमाणपत्रमा अंकित भएर बसेको छ। यद्यपि यसबारेमासत्य तथ्य इतिहास कोटयाउने, अध्ययनअनुसन्धान गर्ने र आफ्‍नो सही पहिचान खोतल्ने काममा केही व्यक्तित्व सक्रिय छन्।

आजकाल राई भन्नासाथ कुन राई? भनेर प्रश्न वा जिज्ञासा नराख्ने किरातीहरू विरलै भेटिन्छन्। यो प्रश्न जातीय नश्ल पहिचान तथा स्वपहिचानको खोजीको क्रममा सिर्जना हुँदै आएको चेतनाले ल्याएको हो भन्दा अत्युक्ति नहोला। 'राई' शब्दावलीको सट्‍टा कुलङ, थुलङ, बाहिङ, चाम्लिङ, लोहोरुङ, याम्फू, पुमा, दुमी, लगायतका आ–आफ्‍ना थर लेख्ने अभ्यास दिनानुदिन बढ्‍दो छ। त्यही अनुरुप प्रमाणीकरणको चरणमा आफ्‍नो स्वपहिचान कायम हुनुपनेतर्फ पनि धेरैको जोड रहेको छ। 'आदिवासी जनजातिसूचि परिमार्जन उच्चस्तरीय कार्यदल' समक्षपरेका पहिचान आवेदनले त्यसलाई पुष्टि गर्छ।

किरातीहरूको सन्दर्भमा 'एक जाति किराती, बहुभाषा बहुसस्कृति' भन्ने प्रसिद्ध वाक्यले किरातीहरूको वास्तविक चिनारी बोकको छ। किनकी बहुभाषा बोल्ने र जातीयता तथा भौगोलिकताको आधारमा भिन्न संस्कृति बोकका किरात राई, सुनवार,याक्खा, लिम्बुलगायतकाहरू भए पनि किराती जातिकै पहिचानभित्र समेटिदै आएका छन्। यी किरातीहरूबीचको विविधताभित्रकै एकतामध्ये एउटा संस्कृतिले राष्ट्रिय पहिचान कायम गरिसकेको छ। जसलाई साकेला नामले पुकारिन्छ। यो साकेला शब्द सबै किराती भाषाहरूमा फरक फरक रूपमा अभिव्यक्त गर्ने गरेको पाइन्छ। माझ किराँत क्षेत्रमा 'साकेला', 'साक्खेवा' वा 'साकेन्वा',पल्लो किरात क्षेत्रमा 'साखेवा' र ओल्लो किरातमा 'स्याँदर सील' नामले पुकारिन्छ। जे नामले पुकारे पनि साकेलाको अर्थ, यसको ऐतिहासिकता र मिथकमा लगभग समानता पाइन्छ। यस साकेवा संस्कृति वा चाडको उपलक्ष्यमा नेपाल सरकारले समेत राष्ट्रिय बिदा दिइसकेको छ। यसले साकेला संस्कृतिको प्रवर्द्धन तथा संरक्षणको बाटो फराकिलो बनाएको छ। यहाँनेर यो मौकालाई किरातीहरूले कुन रूपमा उपयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ।

साकेला परम्पराले किरातहरूको पहिचानलाई वृहत रूपमा फैलाउन सघाएको मात्र छैन, उनीहरूको मौलिक र सांस्कृतिक पक्ष उजागर समेत गरेको छ। तसर्थ साकेला किरातहरूको एउटा मौलिक–सामूहिक परम्परा हो, जसले समाजमा उनीहरूको अस्तित्व जोगाउन र फैलाउन सघाएको छ। यसरी साकेला परम्पराले केही हदसम्म किरातीहरूको एकतालाई धान्दै आएको मान्न सकिन्छ। एकातिर उनीहरूको मौलिक–संस्कृतिको निरन्तरता र जगेना भइरहेकोछ। अर्कोतिर आपसी सद्‍भावसहित नयाँपुस्तामा संस्कृति तथा परम्परागत ज्ञान,शैली, कला हस्तान्तरण समेत भइरहेको छ।

सबै किरातीहरू साकेला मान्न एकैथलोमा भेला हुन्छन्। त्यही भेलालाई नियाल्दाखेरी पनि किरातीहरूभित्र रहेको बहुसस्कृतिको अस्तित्व भेटिन्छ। बेग्लाबेग्लै समूह–समूह अनुसारकै साकेला सिली टिप्ने (चराचुरुङ्गीको हाउभाउ, खेतीपाती गर्नेशैली, शृगारका शैलीको नक्कल गर्ने) कला, पहिरन, भेषभूषा तथा सांस्कृतिक पक्षहरू देख्न सकिन्छ। यसरी साकेला चाडले यस्ता विविध खाले कला–संस्कृति,परम्पराको माध्यमबाट सहअस्तित्व र सहपहिचानको समन्वय र जगेना गर्दै आइरहेको देखिन्छ। अहिले समग्र नेपालको पुनसंरचनाको चटारोको बखतमा किराती जातिभित्रको बहुभाषा र बहुसांस्कृतियुक्त सामूहिक पहिचान पनि संक्रमणकालिन अवस्थामा रहेको छ। तैपनि साकेला संस्कृतिको महत्व र आकर्षणमा भने कमी आएको छैन।

अध्येता डा. लाल–श्याँकारेलु रापचा भन्छन्, 'किराती जातिको सांस्कृतिक धरोहर साकेला सिली नै हो।' साकेला सिलीको विविधताकै अध्ययन अनुसन्धानमार्फत प्रकृति–भौगोलिक–वातावरणीय विशेष जीवजन्तु तथा पुर्खासम्म पुग्न सकिने उनको तर्क छ। केही अनुसन्धाताहरूको प्रयास र अभ्यासले उनको तर्कलाई बल पनि मिलेको छ। यसरी किरातीहरूको ऐतिहासिकता र सांस्कृतिक पक्षलाई साकेला संस्कृतिले समेटदै आइरहेको बुझिन्छ।

एउटा पश्चिमा मिथक छ, प्राचीनग्रीकमा सबै मानिसहरू एकै भाषा बोल्थे। भगवान् नै उनीहरूको लागि सम्पूर्ण कुरा थियो । उनीहरूले भगवान‌्‍सम्म पुग्न सक्ने टावर बनाउन थाले- 'बाबेलको टावर'। उनीहरूबीचमा भाषिक एकता थियो। समन्वय थियो। समझदारिता थियो। दिनानुदिन टावरको उचाइ आकाशिदै गयो। सामान्य मानिसहरू पनि भगवा‌न‌्‍को स्थानसम्म पुग्न सक्ने र त्यसको प्रभावबाट बच्न भगवान‌्‍ले जुक्ति रचे। ती मानिसहरूबीचको एकता तोडीदिए। मानिसहरूबीच फरक-फरक भाषा उत्पन्न गराइदिए। त्यसपछि कसैले कसैको कुरा बुझेनन्। मानिसहरूबीच असमझदारिता, अन्यौलता र एकलकाँटेपना शुरु भयो। र भगवान‌्‍सम्म पुग्ने माध्यम बाबेलको टावर अलपत्र पर्‍यो।

मिथकमा भाषिक विविधताले उनीहरूबीचको समन्वय, समझदारितामा खलल पुग्यो। र सामूहिक उद्देश्य प्राप्तिकोमार्ग र अभ्यास बीचैमा तुहियो ।किरातीहरूको सन्दर्भमा भाषामा अवश्य पनिविविधता छ। तर, भाषिक विविधताको बाबजुद अहिलेसम्म समग्र किरातकै पहिचान बोक्दै आइरहेका छन्। भाषाको कुरा गर्दा, लिम्बु बाहेक 'राई-किराती' भन्ने साझा नामभित्र सबै किरातीहरूको भाषालाई समावेश गरिएको छ। यद्यपि राई-किराती भाषाभित्र समेटिएका भाषाहरू परस्परमा नबुझिने खालका छन्। पछिल्लो जनगणनाले २५ ओटा राई भाषाहरू देखाएको छ। तर जर्मन सरकारले सन् १९८१-८४ ‍मा गरेको सर्वेक्षणमा ३४ ओटा राई-किराती भाषाहरू किटान गरेको छ। सर्वेक्षण तथा जनगणनाले जे-जति संख्या तोकको भएपनि किरात राईहरू भित्रको भाषिक विविधताको प्रमाण मिलेको छ।

भाषिक तथा अन्य विविधता कै कारणले बाबेलको टावर अलपत्र परेझेँ किरातीहरूको सामूहिक उद्देश्य र पहिचान अलपत्र पर्नबाट जोगाउँनेतर्फ सोच्नुपर्ने बेला पनि आइसकेको छ। स्वपहिचानको खोजीमा किरातीहरू एकापसमा पूर्ण रूपमा विभक्त हुन सक्दैनन्। तर समन्वय र एकताको खाँचो रही नै रहन्छ। समन्वय तथा एकताको एउटा माध्यम हो- साकेला संस्कृति। त्यसैले किरातीहरूको लागि सांस्कृतिक पाटोबाटमात्र नभई थुर्पै पाटोबाट साकेला एउटा मियो बन्न सक्छ। त्यसका लागि साकेला संस्कृतिलाई शुद्ध मनोरञ्जन, रमझम, खानपान, जमघटको मात्रै बहाना बन्ने सम्भावनाबाट मुक्त गर्नुपर्छ।

8 comments:

HAWA said...

हाम्रा मूल्य मान्यता ले नै हाम्रो जीवन लाइ अर्थपूर्ण बनाउछ तेसैले आफ्नो पहिचान खोज्नु र त्येसमा गर्ब गर्नु राम्रो हो हामि सबैले हेक्का येही राखौ कि आफ्नो पहिचान खोज्दा अरुको पहिचान नकुलचिनुपरोस !

साकेला को सुभकामना !

Dilip Acharya said...

निकै रमाईलो लाग्यो यो जानकारीमूलक पोष्ट । प्राचिन ग्रिक मिथकलाई र साकेला पर्वसंग गजब मजाले जोडनु भएको रहेछ ।

साकेलाको शुभकामना !

आशा said...

पहिले सुनेकी र देखेकी मात्रै थिएँ तपाईंको लेख मार्फत थुप्रै नयाँ कुरा जान्ने मौका पाएँ , त्यसको लागि तपाईं प्रति आभारी छु र सँगसगैँ साकेलाको शुभकामना पनि ...

chaitanya said...

साकेला पर्बको बारेमा यति धेरै जानकारी पढने मौका यसअघि कहिल्यै मिलेको थिएन |'सोई ढोले सोई'भन्ने लय निकै catchy लागेर टेलिभिजन वा रेडियोमा सुन्दा रमाइलो भने लाग्थ्यो |यो महत्वपूर्ण किरांती पर्बको बारेमा जान्ने अबसर प्रदान गर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद | साकेलाको शुभकामना !

Ashesh said...

अघिल्लो वर्ष हामीलाई sociology पढाउने एकजना सर संयोगले राईनै हुनुहुन्थ्यो । नाम चैँ ठ्याक्कै आएन अहिले । त्यसवेला नै मैले उभौली-उधौली साकेलाको वारेमा धेर थोर जानकारी पाएको थिएँ । तपाईको टाँसोद्वारा मेरो जानकारीमाथि अझ धेरै मद्दत पुग्यो । धन्यवाद यसका लागि ।

राजेश बुढाथोकी 'नताम्स' said...

कैलाश जी चित्त बुझायो तपाईको यो पोष्टले । साकेँला राईहरुको महत्वपूर्ण चाड नभएर अरु जातिहरुको पनि विशेष चाड हुन थालेको छ । बिभिन्न कार्यक्रमहरुमा अन्य जातिहरु पनि सहभागी हुने गरेका छन् । यो निश्चय पनि सकारात्मक कुरा हो । यसबाट साकेँलाको प्रचारप्रसारमा बल पुगेको कुरामा दुईमत छैन ।

टाँसोमा ‘बाबेलको टावर’ प्रसंग सार्है रोचक लाग्यो । मलाई यस्तै दुलर्भ भै सकेका ऐतिहासिक कुराहरु निकै मन पर्ने गर्दछ । अबका टाँसोहरुमा खोजी–खोजी टाँस्नुहोला मेरै लागि भए पनि ।

यसअघि मैले राईहरुको बारेमा परिचयात्मक टाँसो लेखेको थिए । यो टाँसोबाट मैले धेरै कुरा जान्न पाएँ राईहरुका बारेमा ।

कैलाश said...

यो टाँसो पढेर कमेन्ट गर्नुहुने सबै मित्रहरुलाई धन्यवाद । अनि राजेशजीको उक्त टाँसो मैले पढेको छु। अनि दुर्लभ ऐतिहासिक मिथकहरु पढ्न मलाई नि मन पर्छ। सकेसम्म समेट्ने प्रयत्न गर्छु।

Suman said...

nice