Wednesday, December 31, 2008

नयाँ वर्षमा नाम्चि महोत्सव घुमौ है

दक्षिण सिक्किमस्थित नाम्चिमा १६-१८ डिसेम्बरमा भएको सांस्कृतिक तथा पर्यटकीय महोत्सबका केही दृश्यहरुद्वारा नयाँ वर्ष मनाउँने चाँजोपाँजो मिलाइदिनु भएको छ- दाजु रमेश राईले। नयाँ वर्ष २००९ को उपहार भनौ या शुभकामनास्वरुप उहाँले जानकारीसहित तस्बीरहरु कुटी र कुटीका आगन्तुकलाई दिनुभएको छ। हामी पनि उतै लागौँ भन्ने मेरो आग्रह छ। र, कुटीमा पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई नयाँ वर्ष २००९ को उपलक्ष्यमा मनभरिको शुभकामना।

सामान्य जानकारी
खासगरी सिक्किममा ३ किसिमका जातीय समुदायहरु बसोबास गर्छन्- नेपाली, भुटिया र लेप्चा। भुटिया र लेप्चाबाहेक अन्य नेपाली मूलका जातजातीहरु (राई, गुरुङ, मगर, बाहुन, क्षेत्रीलगायत)'नेपाली' समूहमा पर्दछन्। त्यहाँको जनसंख्यालाई मोटामोटी ४ वटा समूहमा बाँडिएको छ।
a. अनुसूचित आदिवासी (Schedule Tribe)
b. अनुसूचित जाती (Schedule Caste)
c. अति पिछडिएका वर्ग (Most Backward Class- MBC)
d. अन्य पिछडिएका वर्ग (Other Backward Class- OBC)

माथिको अनुसूचित आदिवासी समूहमा 'भुटिया' र 'लेप्चा' पर्छन् भने अन्य ३ समूहमा 'नेपाली' पर्दछन्। भर्खरै लिम्बु र तामाङ जातीलाई भारतीय संविधानले 'अनुसूचित आदिवासी' (ST)मा समावेश गरेको छ।

अब भ्रमणमा लागौः

सामुहिक पहिचानको प्रतिरक्षा कि प्रभुत्वको खोजी?

नयाँ वर्षमा नेवारी भोजमा सामेल हुने हो कि?


लिम्बु समुदायको रीतिथितिको एक दृश्य।

लेप्चा जातीको सुन्दर घरमा relax गर्ने कि?

राई जातीको घर। राई जातीसँग जोडिएको खानाको परिकार 'वाचिप्पा/वासिम'(जसलाई 'तीते' पनि भनिन्छ)निकै नै प्रख्यात मानिन्छ। यो जाडोमा गज्जबको खान्की पो त हौ।

नेपालमा ल्होसारको रमझम अनि नाम्चि महोत्सबमा पनि चिटिक्कको गुरुङ जातीको घर।

लौ त, सन् २००८ लाई बिदाई अनि नयाँ सालको सम्पूर्ण कुरा थाप्लोमा राख्न तम्तयार पर्दै फेरीपनि सबैलाई शुभकामना। सबैको हरेक पल शुभ रहोस्। सबैको जय होस्।

Monday, December 29, 2008

विहानीपखको मेरो सपना

मेरो ठम्याइमा कहीँ कतै मोबाइलको घण्टी बजेको बज्यै छ। मोबाइल बोकेपछि त उठाउनु नि, के हेरेर बस्या होला भन्ने सोचेर म दिक्क छु। विस्तारै बिस्तारै मोबाइलको आवाज चर्को हुदै जान्छ। हुँदाहुँदा मेरै छेउमा कराउन थालेको भान हुन्छ। म निद्राबाट ब्युझिन्छु। ओछ्यान छेवैको टेबुलमा आफ्नै मोबाइल पो बजीरहेको पाउँछु। 'यो मध्य निद्रामा डिस्टर्ब गर्ने को?' अनि 'बल्ल बल्ल मजाले निदाकै बेलामा कराउँने यो ठाँडो' मनमनै मुर्मुरिदै बजीरहेको मोबाइललाई सिरानमुनी कोचिदिन्छु। अलिकति भएपनि त्यसको आवाज कम हुन्छ। आँखा खोल्नासाथ देखिनेगरी राखिएको भित्ते घडीतिर एकापट्टिको आँखा थोरै उघारेर चियाउँछु। (ब्युझिनासाथ कति बजेछ भनेर सामुन्नेको घडीमा आँखा लगाउनु नै मेरो पहिलो काम हो। त्यसैको लागि मैले नै त्यो घडीलाई त्यहाँ झुण्डाएको हुँ।) सात नाघीसकेको देख्छु। 'आऽऽऽ उठेर के नै लछरपाटो लगाउनु छ र यो जाडोमा' भन्ने सोच्दै झ्यालपट्टी फर्किन्छु। सिरकभित्र गुजुमुज्ज पर्दै झ्यालमा हेर्छु। बाहिरबाट उज्यालो भित्र छिरेकै छैन। त्यसले मेरो सुतुवापनलाई अझ ढाडस दियो। यसो ओल्लो कोठा पल्लो कोठाको चाल ठम्याउन खोज्छु। खासै चालचूल सुन्दिन। अहो! क्या मोज। जे होस् लोडसेडिङको कमाल। नत्र त एउटा कोठाबाट भजन, अर्को कोठाबाट हिन्दी गीत, अनि अर्कोबाट समाचार भनेको सुन्दै सुत्नुपर्ने हुन्थ्यो। रिल्याक्स पारामा तन्किए सिरकभित्रै। अनि मजा मान्दै पल्टिरहे ओछ्यानमै।

एक्कासी म सिरकबाट बाहिर निस्के। विद्युत प्राधिकरणको तालिकाअनुसार बिजुली बत्ती ज्यूँदै हुनुपर्छ भन्ने मनले म उठे। कामको तालमेल मिलाउँदै प्रत्येक सेकेण्डको हरहिसाब दिमागमा सेट गर्दैछु। बेलुकीको लोडसेडिङले खाना नखाइकन सुतेकोले होला निकै भोक पनि लागेको छ। हस्याङ र फस्याङ गर्दै सोझै राइस कुकरमा चामल खन्याउँछु- नधोईकनै। अनि अन गरिदिन्छु। ज्यादै जाडो छ। पानी हालेर इलेक्ट्रिक केट्ली पनि जोड्छु। केहीबेरमा पानी उम्लिन्छ। कफी बनाउँछु। किचन र्याक हेर्छु। खानेकुरा केही देख्दिन। लाइन भाको बेला पसल गएर केही किनमेल गर्नु त मुर्खता नै हो भन्दै कफीको सुरुपसँगै कम्प्यूटर खोल्छु।

तेस्रो पल्ट पनि डेटलाइन नाघ्न सफल एउटा रिसर्च आर्टिकलतिर ध्यान दिन्छु। लेख्नु भनेर दिमागले जोर दिइरहेको छ। तर पटक्कै मुड बन्दैन। घडी हेर्छु। ला! लाइन जान १ घण्टा २० मिनेट बाँकी छ। मन हतारिन्छ। मनमा ढ्याङ्ग्रो बज्छ। दिमागमा तनाव हुन थाल्छ। जसरी नि मैले आज यो आर्टिकल सक्नु छ भन्दै दिमागलाई तन्काउँछु। दिमागको जबर्जस्तीपनालाई बढावा दिँदै कनीकुथी एक प्यारा टाइप गर्छु। रुचि बिना जबरजस्ती मुखमा गाँस कोचेजस्तै। सरसर्ती पढ्छु। 'छ्या यस्तो पनि हुन्छ। फोकटीया तुकबिनाको, कही नभाको' पिटिक्कै चित्त बुझ्दैन। अनि डिलिट गर्छु। टाइप गर्न तम्तयार चिसिएका हातका औँला हेर्छु। बिनासित्तिमा यो जाडोमा के दुःख पाइरहेको हगि? यस्तै सोचेर टिठाउँछु। फेरी एकछिन कन्छु। दिमागलाई रगड्छु। अनि थोरै टाइप गर्छु। टाइप गरेको कुरा पढ्छु। एउटा वाक्यको सम्बन्ध अर्को वाक्यसँग के छ भन्ने नै बुझ्दिन म। यी बिना सम्बन्धको कुरा कसरी मेरो दिमागले सम्प्रेषण गर्दैछ भन्ने सोचेर म हैरान छु। फेरी सम्पादक तथा टिप्पणीकारलाई यस्ता वाक्यको अर्थ र अन्तरसम्बन्ध प्रष्ट्याउँनु कत्ति गाह्रो भनेदेखि। हत्तेरी। 'लोडसेडिङ हुँदा बिजुली बत्ती ज्यूदै अनि लोडसेडिङ नहुँदा चाहिँ बिजुली बत्ती मृत भनेझैँ' दिमागले बुझ्ने भए क्या मोज भन्दै सबैलाई डिलिट गर्छु। यही क्रम केहीबेर चल्छ। म आफैले आफैलाई 'कन्सन्ट्रेट, कन्सन्ट्रेट योर माइन्ड'भन्दै खबरदारी गर्दैछु। दिमागमा भने बिजुली बत्तीको मृत हुने बेला नजिकिएको कुराको गणित घुमेको छ। अनि समयमा काम नसक्नुको पीडा र अत्यासपना चाहि मनको कुनामा चेप्टिएको छ। बिजुली बत्ती मृत अवस्थामा पुगेपछि समयमा काम नसक्नुको पीडा बोकेर मौन धारण गर्छु सायद।

लेख्ने मुड बनाउँनलाई किताबको चाङबाट भर्खरै प्रकाशित भएको रिसर्च बेस्ड किताब निकालेर पल्टाउँछु। केहीबेर जथाभावी पल्टाउँदै पढ्छु। अनि मेरो लेखलाई मिल्ने विचार मनमा ल्याउन थाल्छु। दिमागमा कन्सेप्ट तयार पार्छु। अनि किबोर्डमा औँला राखेर टाइप गर्न थाल्छु। लेख्नलाई सजिलो महशुस हुन थाल्यो। बल्ल चित्त बुझ्ने गरी एक पेज टाइप गरीसके। चित्त बुझेपछि थप अरु पनि फुर्न थाल्यो। परीक्षा हलमा बसेको परिक्षार्थीझैँ खुरुखुरु लेख्दैछु भनौ न टाइप गर्दैछु। त्यत्तिकैमा यो दिमागको कुनचाहिँ तार हो कुन्नी तन्काएझैँ हुन्छ- सिरिङ्ग। किनकी झ्याप्पै बिजुली गयो। हरे!

यो बिजुलीबत्तीमा पूर्ण रुपमा निर्भर भएको दिनचर्या भोग्दै गरेको दिमागको तार नराम्ररी झट्कारियो। नाक-मुख-आँखा-निधार सबै एकैठाउँ कच्याककुचुक हुनेगरी नमिठोगरी अनुहार खुम्चाउँछु। एकैछिनपछि हतार हतार मनमा फुरेको कुरा कापीमै लेख्छु भनेर कापी र कलम खोज्छु। खोजेर लेख्न थाल्छु। एक प्याराग्राफ लेखीसक्दा आधाजसो शब्दहरु केरमेट गर्दै लेख्दै गरेको त्यो लेखाई पातबिनाको रुखमा रुपीले लाएको गुँड टाढैबाट प्रष्ट देखिएझैँ लाग्यो मलाई। 'आबुईऽऽऽ मेरो लेखाई' म आफै छक्क परे। कम्प्यूटरमा टाइप, डिलिट, अनडु, रिडु, कपी, पेस्ट गर्ने जति सबै भागमा रुपीको गुँड बनेछ गाँठे। कलम र कापी थन्काए। थाहा भएपनि मनको शान्तिको लागि अब कतिबेला बिजुली ब्युझिन्छ भनेर तालिका हेरे- साढे चार बजे। बरु गाउँमै आनन्दले मास्टरनी भएर बसेको भए के को बिजुलीबत्ती, के को यो गति भन्दै भुन्भुनिनु बाहेक के गर्छु र म?

तैपनि यो मनले कहाँ धर दिन्छ र! जे सुकै होस् कपीमा लेख्नै पर्यो भनेर शुरु गरे। जे जे मन लाग्छ सबै धस्काइदिए कापीभरि- डाक्टरी अक्षर पारेर। त्यसलाई चाहि पुनः पढ्ने काम गरिन्। किनकी त्यो डाक्टरी अक्षर म आफैले कनीकुथी गरेर बुझ्नुपर्ने स्थितिबारे म जानकार छु। अनि कम्प्यूटरमा जस्तो डिलिट गरेर पुनर्लेखन गर्ने न जाँगर छ म मा, न त त्यस्तो सुविधा नै। त्यो कापी बोकेर बिजुली बत्ती भएको ठाउँको खोजीमा साथीहरुलाई फोन गरे। त्यसैको चक्करमा मोबाइलमा भएको ब्यालेन्स सकाए मैले। तर बिजुली बत्तीसहितको काम गर्ने थलो फेला पारिन मैले। झ्याउ लाग्यो। दिमागमा पनि झ्याउ पलायो अनि त्यही झ्याउँसँगै केहीबेर म धुम्धुम्ती बसे- एक्लै।

यसरी दिनदिनै बेलाबेला जाने आउने भन्दा ३ दिन पुरै मृत अनि अरु दिन जिउँदै हुने बनाएमा बरु बेस् हुनेथियो भन्दै म झ्याउँ टक्टकाउँन कोठा बाहिर निस्के। सबै जना 'क्या बोर' भन्दै कोठाबाहिर निस्केर गफिने मेलो गर्दैरहेछन्। म पनि सामेल भए- रिफ्रेसमेन्टको खातिर।
'अब कतिबेला लाइन आउँछ?' एउटाले सोध्यो बिना सम्बोधन।
'साढे चारमा' मलाई नै सोधिएको नभएपनि मैले प्वाक्कै भनिहाले।
मेरीबास्सै यो सोध्ने र उत्तर दिने क्रम त तीब्र रुपमा जारी पो रह्यो त। बिजुली बत्ती गयो कि छिमेकीहरु म कहाँ आउँछन् र सोध्छन्- 'कैलाश बैनी, दिदी, आन्टी आज कतिबेला लाइन आउँछ?', 'आज आइतबार दिउँसो ४-८ बजेसम्म'। यसैगरी म प्रायलाई बारपिच्छेको तालिका बताइदिइरहन्छु र कोठाबाट भगाइरहन्छु। तैपनि सोध्ने बहानामा कोठामा आएर गफ गर्नेहरुको कमी हुँदैन। सबैलाई तालिका उपलब्ध गराउँने सोच बनाउँछु। सोच्दासोच्दै फेरी उही प्रश्न आउँछ मलाई। 'अब त आफै थाहा पाउनुस्। ई यो तालिका तपाईको आँखै अगाडी टाँस्नुस् अनि लाईनको सेक्रेटरी तपाई आफै बन्नुस्' भन्दै आफूसँग भएको तालिका दिएर पन्छाउँछु। केही महिनापछि त यो प्रश्नको नामनिसानै हरायो। किनकी सँधैलाई लोडसेडिङ। नो बिजुली नो किचकिच। अब त अगेनाको अगुल्ठोमा आगो छ छैन भन्ने पो सोध्न आउँन थाले।

एक्कैछिनमा फेरी ढोका ढक् ढक् गरेको आवाज आउँछ। मैले ढोका खोलिसक्दा पनि त्यो आवाज रोकिदैन। किनकी यो पल्ट साँच्चिकै ढोका ढक्ढकाइएको रहेछ।
'कैलाश, अझैसम्म उठ्या छैनस्? उठ्, आम्मामा। त सुतुवा काम लाग्दैनस्' दिदीले मलाई यस्तै के के भन्दै उठाउएर अफिस हिड्नुभो। म उठेर मुखै नधोईकन कफी बनाएर खान थाले। 'कैलाश बैनी, खाना पाक्यो? हेर्नु न लाइन गएर कस्तो दिक्क हगि? आज कतिखेर लाइन आउँछ' भन्दै छिमेकी कोठाको दिदी भित्र छिर्नुभो। सपनाको कुरा साकार हुँदै गएझैँ लाग्छ। फेरी एकाविहानै देखिएको सपना त पुग्छ भन्थे बूढापाकाहरुले। ठिकै हो कि क्याहो? हो क्यारा।

सिरानमा कोचेको मोबाइल निकालेर हेरे। ५ मिस कल र एउटा एसएमएस भेटे। हेर्दाहेर्दै मोबाइलको ब्याट्री सकेको सूचना दियो। आच्या! यो त सपनामा देखेकै थिइन त भन्दै हाँसे। मन बुझाउने मेलो गर्दै सोचे- आ, हाइ सन्चै भो। के था' यो बिद्युतीय संक्रमणकालको अवतरण कुन रुपमा र कुन मोडमा हुने हो?

Thursday, December 18, 2008

मनकामना दर्शनको झझल्को

मनकामनाबाट हिमाल हेर्दाको दृश्य।

मनकामना माईसँग जोकिङ
केवुलकारबाट ओर्लेर मन्दिर पुग्ने उकालो चढियो । बाटैभरि फूलपाती लैजान अनुरोध गर्नेको ओइरो । एक व्यापारी एक विदेशी नागरिकलाई जबजस्ती फूलपाती थम्याइरहेको देखे । वास्तै नगरीकन अगाडि बढ्‍दै थिए उनीचाहिँ । मन्दिरमा उक्लिएपछि छेवैको पसलेसँग 'इट इस बेटर देन द राइस, कोकोनट एण्ड अल दिस थिङ्‍स्‍' भन्दै आफ्नै झोलाको साइट खल्तीबाट फुल निकालेर हातमा लिएर हामीभन्दा केही दुरी पछाडि लाइनमा उभिए । लाइनको के कुरा गर्नु र, अस्पताल र मन्दिरको लाइन कहिले पो सुकेको हुन्छ र? लामो लाइन र साह्रै चिसोको कारणले केहीबेरको लागि जुत्ता-चप्पलसँगै लाइन लागेका थियौँ सबैजना । जुत्ता-चप्पल निषेध गरिने ठाउँनेर पुग्न लागेपछि टुक्रुक्क बसेर तिनले जुत्ता खोले, मोजा पनि खोले, प्यान्ट पट्टाएर माथितिर फर्काए । पछाडि भिरेको झोलाबाट झिल्के पोलिथिन निकालेर जुत्ता चप्पल पोका पारे । पोका पारेको जुत्ता र मोजालाई पछाडि भिरेको झोलाभित्र राखे उनले सुरक्षितसँग । झोला एक छेउमा राखेर मन्दिरको कलाकृतितिर उनको आँखा तानियो । त्यत्तिकैमा हामी मन्दिर भित्र छिर्‍यौँ । केहीबेरमा मन्दिरको मूल ढोकाबाट बाहिरिदा त्यही ठूलो झोला उनकै ढाडमा थियो । भाईले कानैनेर मुख ल्याउँदै भन्यो- 'क्या जोकिङ्‍ भो दिदी',
'कस्तो जोकिङ?'
'जुत्ता लगाएर भित्र जानु पो नहुनु त । झोलाभित्र राखेर निस्किनु त हुन्छ नि हैन?'
मन्दिर भित्र छिर्दा पालन गर्नुपर्ने बुँदागत नियमहरु लेखिएको चारपाटे टिनको प्लेट हाम्रो सामुन्ने टाँगिएको थियो । त्यसमा लेखिएको पहिलो बुँदा थियो- 'मन्दिर भित्र जुत्ता चप्पल लगाएर जान मनाही छ।'

विज्ञापनको बेजोड शैली
'ए हजुर यतातिर आउनुस्, माइतीमा जस्तै पकाएको लोकल कुखुराको मासु, शुद्ध घ्यू, बासमती चामल, बोटैको ताजा सुन्तला खुवाउछौँ'। थेप्चो नाक, खाइलाग्दो जीउडाल, बाटुलो मुहारधारी एकजना युवक । रेष्टुरेन्टको अघिल्लो भागमा बसेर श्लोक पढेझैँ एउटै गतिमा दर्शनार्थी तथा आगन्तुकहरुको ध्यान खिच्ने प्रयत्नमा मग्न थिए ।
'लौ हजुर यतातिर पाल्नुस्‍, ससुरालीमा जस्तै मिठो खाना, लोकल कुखुराको मासु, ....... खुवाउछौँ' आगन्तुकहरुको भीडमा देखिने महिला या पुरुषको बाहूल्यताको आधारमा माइती र ससुराली शब्द फेरबदल गर्दै एकोहोरो सम्बोधन गर्दै थिए उनी । बजार घुम्ने क्रममा थुप्रै पल्ट उही बाटोबाट ओहोरदोहोर गरियो । ती युवक उस्तै भाकामा, उही आसनमा बसेर, उही कुरा, उही रफ्तारमा बारम्बार दोहोर्‍याइरहेका थिए । मानौ, कुर्सीमा मान्छे हैन एउटा क्यासेट प्लेयर राखिएको छ । र क्यासेटलाई रिवाइन गर्दै प्ले गरिदैछ । खै, रेष्टुरेन्टतिर चियाउँदा मान्छेको चहलपहल चाहि खासै देखिएन । अनि त्यहाँभित्र मान्छे छिरेको पनि देखिएन । सायद आजकाल मान्छेहरुले ससुराली र माइतीको खाना भन्दा अरुतिरकै खाना मन पराउन थालेछन् क्यारे । तैपनि उही कुरा कति मजाले, पटकैपिच्छे स्वाद मानी मानी दोहोर्‍याउनमै मस्त थिए उनी । जे भए नि विज्ञापन गर्ने उनको त्यो शैली, हाउभाउ, लय पृथक लाग्यो मलाई ।

थोरै भूमिका लेख्छु
गत सोमबारको दिन आफन्तहरुसँग मनकामना दर्शन गर्न गइयो । त्यहाँ जानुको मेरो उद्देश्य मनकामना माईको मन्दिरभन्दा माथि लगभग १ घण्टाको पैदल दुरीमा रहेको लखन थापा गुफा र बक्रेश्वरी मन्दिर पुग्नु पनि रहेको थियो । मेरो त्यो उद्देश्य यो पल्ट पुरा हुन सकेन । त्यसैले तत्काल ब्लगमा हालुँ हालुँ लाग्ने कुरा भेटिन जस्तो लाग्यो । त्यहाँबाट फर्किएपछि कोठामा कुरा चल्यो । त्यही बेला माथि उल्लेख गरेको कुरालाई स-दृश्य स्मरण गरे । तब म मनमनै हाँस्न थाले । र छोटो नोट लेखेर राखे । त्यही साँझ दीलिपजीले मनकामनाको यात्राबारेमा ब्लगद्वारा थाहा पाउने कामना गर्नुभएको थियो । तैपनि मलाई यो टाँसो हालुँ भन्ने लागेन । हिजै बेलुकी लोड सेडिङको फाइदा छोप्दै एकजना साथीसँग मैतीदेवी मन्दिरतिर डुल्दै पुग्यौँ । त्यहाँको दृश्य देख्दा पुन: मलाई मनकामनाको त्यही दृश्यको झझल्को आयो । साथीलाई बेलीबिस्तार लगाए । ऊ मरि मरि हाँस्यो । अनि मनमनै सोचे यही कुरा ब्लगमा ठेल्दिन्छु ।

Wednesday, December 10, 2008

Threshold

११ डिसेम्बर ०८ (२६ मंसीर ०६५) यानी कि भोलीदेखि 'अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २००८' काठमाडौमा शुरु हुँदैछ। सो महोत्सवको उदघाटनको अवसरमा प्रदर्शन हुने तथा महोत्सवमा अन्तर्राष्ट्रिय समूहमा प्रतिस्पर्धा गर्दैछ 'थ्रेसहोल्ड'। तथ्याङ्क संकलन गर्ने क्रममा पुगेकी आधुनिक संस्कारसँगै चल्दै गरेकी महिला र स्थानीय संस्कारमा जीवनयापन गरिरहेकी महिलाबीचको संवादबाट वृत्तचित्र अघि बढ्छ। कुराकानीको क्रममा पारिवारिक तथा व्यक्तिगत स्थिति र मनस्थितिको खुलासा हुँदै गएपछि यी दुबै पात्रबीचको पारस्परिक सम्बन्धको अदृश्य जालो बन्छ। एकजना परम्परागत सामाजिक सांस्कृतिक बन्धनबाट पीडित महिला र अर्को त्यसभन्दा माथि उठेको तैपनि व्यक्तिगत स्वतन्त्रता र स्वाभिमानको खातिर आधुनिक परिवेशमा लडीरहेको महिलाबीचको पीडाको मात्रा फरक छ । तर पहिलो भेटमै पीडा र बाध्यताले जन्माएको एकैप्रकारको अनुभूतिको सम्बन्ध स्थापित हुन्छ। त्यही सम्बन्धकै आधारमा भित्री अचेतन मनमा दबेर रहेको विद्रोहले बाहिर चियाउँछ। अन्तिममा गएर विद्रोहको प्रष्फूटन हुन्छ र वृत्तचित्र सकिन्छ।

सर्जकद्वय दीपक रौनियार र आशा मगरातीले यस बृत्तचित्रमार्फत नेपाली महिलाको पीडालाई तीखो यथार्थको रुपमा उनेका छन्। एउटा संघार नाघेपनि फेरीपनि अर्को संघारभित्रै थुनिन बाध्य नेपाली महिलाहरुको अघिल्तिर त्यस्ता अनगिन्ती संघारहरु पाइलैपिच्छे रहेको यथार्थलाई हामी नकार्न सक्दैनौ। हाम्रो समाजमा जुनसुकै भेगका महिला कुनै न कुनै पक्षबाट थिचिएकै हुन्छन् भन्ने कुरा थ्रेसहोल्डले देखाएको छ। थिचोमिचोको किसिम र माध्यम फरक हुनसक्छ, परिवेश र प्रकृति फरक हुनसक्छ तर लैङ्गिक रुपमा हेर्दा एउटी महिला नै थिचिएकी हुन्छे। फरक फरक परिवेश र रहनसहनको दुई महिला पात्रको पीडाको जड एउटै छ। यस बृत्तचित्रको दुई नारी पात्रहरुको कथाव्यथा र परिवेशले यही कुरा देखाएको छ।

मुख्य पात्र मधेस/तराईमूलकी परम्परागत संस्कारमा बाँधिएकी एक महिला जो आफ्नो नामले हैन आफ्नो जन्मगाउँको नामले परिचित छे। त्यसबाहेक उ आफ्नो लोग्नेकै लागि अस्तित्वमा आएकी छे र उसैको पहिचानमा उभिएकी छे। जसको आफ्नो बेग्लै पहिचान र अस्तित्वको नामनिशान छैन। उ यस्तो एउटी नारी हो, जसले कसैको श्रीमति र कसैको आमा हुनुमै आफ्नो अस्तित्वलाई सीमित राखेकी छे। कुनै पनि खालको निर्णय र स्वतन्त्र रुपमा कामकाज गर्ने अधिकारबाट बञ्चित छे। लोग्नेकै खातिर आफूभित्र रहेको क्षमता, कला, आकांक्षाको घाँटी निमोट्न बाध्य छे। पढ्ने रहर हुँदाहुँदै पनि विहे गरेपछि पढाई छाडेकी छे। घरको दैलो नाघेर पसल सम्म जाने निर्णय समेत श्रीमान्‌को स्वीकृतिबिना गर्न सक्दिन। अर्को पात्र, शिक्षित र स्वयं निर्णय गर्न सक्ने पहाडी मूलकी सक्षम महिला छे। जो आफ्नो स्वतन्त्रता र आत्मसम्मानको लागि नचाहदा नचाहदै पनि लोग्नेसँग पारपाचुके गरेर अघि बढिरहेकी छे। जसको आधुनिक र स्वतन्त्र जीवनशैली, आत्मविश्वासपूर्ण व्यवहारले अनभिज्ञ रुपमा मुख्य पात्रलाई प्रभाव परिरहेको हुन्छ। त्यही प्रभावस्वरुप श्रीमान‌्‌को इच्छा आफूमा लाद्‌ने प्रवृत्ति विरुद्ध विद्रोह गर्ने पहिलो कदम चाल्छे। र एउटा संघार नाघेर अर्को चरणको संघारको घेराभित्रै थुनिन पुग्छे। यसरी यी दुई भिन्नभिन्न पीडित पात्रबीचको संवाद र पीडाकै सेरोफेरोलाई बृत्तचित्रले सटिक रुपमा उठाएको छ।

यो बृत्तचित्रको कथाबस्तु निकै नै गहकिलो र चोटिलो छ। प्रस्तुतीको हिसाबले पनि निकै नै राम्रो लाग्छ। यद्यपि कता कता दृश्य नमिलेझै लाग्ने र कतै कतै निकै वेगमा कथा दौडिएको अनुभव हुन्छ। साथै कथावस्तु अनुरुपको संवाद नभएको हो कि भन्ने पनि भान हुन्छ। तराई/मधेस भेगका महिलाहरुले लोग्नेको नाम मुखबाट उच्चारण नगर्ने परम्पराबारे ज्ञान हुँदाहुँदै बारम्बार त्यही कुरा सोधीरहनु, बारम्बार सोध्दाखेरी पनि नबोल्दा सोधाईबाट दिक्क भएको पात्र भन्दा सोध्ने पात्रको अनुहारमा आक्रोस देखिनु केही नमिलेझैँ लाग्छ। उता सोधाईबाट दिक्क भएर श्रीमान्‌को नाम लेख्दा अगेनामा बसालेको चामल डढ्न पुग्छ र हतासमा हात समेत पोल्छ। सोधाईको झर्को र हात पोल्दाको पीडाको आक्रोश नदेखिनु अनौठो लाग्छ। पोलेको हातको पीडा कम पारिदिइसकेपछि बल्ल 'श्रीमान्‌को नाम लिनुहुन्न भन्ने तपाईलाई थाहा छैन' भन्ने शान्त स्वभावको संवादले बाहिरी पात्रको महत्वलाई बढी नै जोड दिइएको हो कि भन्ने देखाउँछ। बाहिरबाट गएको पात्रसँगको छोटो कुराकानीमै मुख्य पात्र अधिक रुपमा प्रभावित हुनु र आफैभित्र विद्रोह उत्पन्न हुन पुग्दा वेगमा कथा दौडिएझैँ लाग्छ। यद्यपि सामाजिक रुपमा असल र मायालु पात्रकै रुपमा श्रीमान्‌को चित्रण गरिएको छ।

कथाको अन्त्यमा महिलाले आफ्नो थुप्रै बाध्यता र पीडालाई पोख्दै श्रीमान्‌को कुरा नटेरी ओछ्यान छाडेर 'सुत्न हिडे' भन्दै कोठाबाट बाहिरिन्छे। यसअघि चरणबद्ध रुपमा विद्रोह गरेपनि अन्तिममा देखाइएको विद्रोहले दोहोरो अर्थ बोकेको छ। शुरुदेखिको कथाबस्तुको उनाईको आधारमा त्यो बिद्रोह आफ्नो इच्छा विपरितको काम गर्नलाई नकार्नु र आफू हुनुको बोध स्वयंले अनुभूत गर्नु हो भन्ने बुझिन्छ। अर्को अर्थमा, एउटी महिलाले श्रीमान्‌ले चाहेको खण्डमा जुनसुकै अवस्थामा पनि यौनइच्छा तृप्त गर्नुपर्ने बाध्यतालाई नकारेको देखिन्छ। नेपाली समाजको श्रीमान्‌श्रीमतिको सम्बन्धको मुख्य कडी मानिने यौनको विषयवस्तुलाई पनि जोड्दा महिलालाई थप विद्रोही देखाउन सघाएको छ। साथै सामाजिक मान्यताको आडमा श्रीमान्‌श्रीमतिको सम्बन्धमा लुकेर रहेको यौनसम्बन्धी पीडा र बाध्यतालाई पनि उदाङ्गो पारेको छ। यद्यपि यहि अन्तिमको दृश्यलाई मात्रै जोड दिएर एकांकी रुपमा बुझिएको खण्डमा सम्पूर्ण वृत्तचित्रको कथासारभन्दा फरक अर्थ निकाल्न सकिने दिशा पनि प्रदान गरेको छ।

नेपाली चलचित्रमा महिलाको वास्तविक अवस्थाको चित्रण गरी थ्रेसहोल्डमार्फत देखा परेका छन्- युवा चलचित्रकर्मी दीपक रौनियार। वृत्तचित्रमा पात्रहरुको अभिनय शसक्त देखिन्छ। खासगरी आशा मगराती (जो आगन्तुक महिलाको भूमिकामा देखिएकी छिन्)र स्थानीय कलाकार रञ्जु झाको अभिनय प्रसंशायोग्य देखिन्छ। सगोलमा भन्नुपर्दा दर्शकको मन छुने र वृत्तचित्र हेरिसकेपछि एकपल्ट सबैले सोच्नैपर्ने अवस्था सृजना गर्न सक्षम, नेपालीपन र नेपाली कथावस्तु उधिनेर अगाडी देखा परेको दाबी गर्न सकिने ठाउँ दिन सफल छ यो बृत्तचित्र।

Friday, December 05, 2008

हाम्रो प्रेमको भाषा शब्दमा लेखे

ए सिम्मा...
तिमीलाई सम्बोधन गर्दा 'ए' नजोडीकन चित्तै बुझ्दैन । अनि तिमीबाटै मेरो हरेक कामको शुरुआत र अन्त्य पनि नभई हुँदै हुन्न। खै, मनमा हुडालिएको असीमित भावनालाई कुन शब्दले व्यक्त गरुँ यहाँ? म सँग त्यो शब्द नै छैन। म परदेश फर्केपछि त्यस्तो शब्दको खोजी गरी नै रहेको छु। जसले मेरो मनमा चाङ लागेको अथाह प्रेम र मायालाई हुबहू व्यक्त गरोस्। तर त्यस्तो गर्नै सकिरहेको छुइन सिम्मा। के गर्नु, यो मन न हो कहाँ मान्छ र। थोरै भएपनि मन बुझाउन, तिम्रै खातिर, तिम्रै सहारामा टुसाएर झाँगिएका यी भावनाको एक छेउ मात्रै पनि छुवाउने कोशीसमा यो डायरी लेख्दैछु। तिमीसँग भेटेपछिका हरेकपल उब्जिने भावनाको मूल तिमी नै हौ नि सिम्मा । मूल भएपछि भावनाको बाढी कहाँ रोकिन्छ र?

हेर न सिम्मा, तिमी कहाँ थियौँ, म कहाँ थिएँ। तिमी को थियौँ, म को थिएँ। संयोजले हाम्रो भेट भयो। यहि नै मेरो जीवनको पहिलो पल हो। जसले जीवनमा खुशीयाली लिएर आयो। तिमी, अनि म, हामी भयौँ। यो सबै सम्झँदा बेग्लै खालको मिठो अनुभूति हुन्छ मलाई। लाग्छ स्वर्ग नै पाएँ। सृष्टिमा यो पनि एउटा अद्‍भूत काम त हो नि। हैन र सिम्मा? तिमीलाई त्यस्तो लाग्दैन? पक्कै पनि लाग्छ नि हगि? म एउटा संघर्षरत परदेशी। एक्कासी मेरो जीवनमा तिमी पनि संघर्ष गर्न सामेल भयौँ। अनि एकाध महिनाको समयमा मैले पुरै संसार भोगे। तिमी भेट्‍नासाथ मेरो जीवनमा बसन्त छायो। बसन्तको रमझममा सर्वाङ्ग रुपमा मनको ढोका खोलेर तिमीलाई भित्र आउने निम्तो दिए। निम्तो स्विकार्दै मेरो मनको गहिरार्इभित्र तिमीले चियाई हेर्यौ। तिमीसँग आँखा जुध्नासाथ तिम्रो हरेक सास फेराईमै म जीवित भएको महशुश गरे। तिमीलाई भेटेर म यति अधैर्य भए सिम्मा। तिमी नदेख्दा अरु हेर्ने चाहै रहेन। तिम्रो बारेमा नसोच्नुभन्दा होसमै रहन मन लागेन। तिमीलाई साथ दिने हतारमा तिम्रो स्विकृतिको खाँचै महशुश गरिन।

तिमीलाई सोच्ने समय दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि म स्वार्थी बने। थाहै नपाई तिम्रो प्रेमको कसिलो बन्धनमा यसरी बाँधिन पुगेछु, त्यो बन्धनमा तिम्रो स्विकृति नलिइकनै अनगिन्ती सपनाका बीउहरु यत्रतत्र छरे। तिमी बिनाको मेरो अस्तित्व नै विलाइसकेको थियो। दुई दिन, सिफ दुई दिन तिमीले सोच्ने समय माग्यौँ। यही नै थियो तिमीले मसँग बोलेको पहिलो बोली। त्यही बेला तिमी बाहेक अरुले मलाई बुझ्नै सक्दैन भन्ने विश्वास भयो मलाई। तैपनि दुई दिनको तिम्रो मौनताले मैले फेर्ने हरेक सास समेत मेरो लागि धारिलो हतियार सावित भएको थियो। आफ्नै सास फेराईले मन्द गतिमा तड्‍पाइ तड्‍पाइकन चिरा चिरा पार्दै छताछुल्ला पारिरहेको थियो। दुईदिनपछि तिमीले मलाई सुम्सुम्याइकनै समेट्‍नेछ्‍यौ भन्ने विश्वासले म निर्धक्क भएर अझै छताछुल्ल हुन तयार थिए। बस्, तिम्रो एक मायालु शब्दसहितको स्विकारोक्तिको लागि आफ्नै मनस्थितिभित्रको अनगिन्ती नर्कसँग जुध्दै थिए म।

तिम्रो सहमतिको पर्खाइमा मेरो शरिर अनेकौ सोचाईहरु जेलिदै गएर आँख्ला आँख्लाबाट बग्रेल्ती चिचिला पलाउदै गरेको बलियो थाक्रो बनेको थियो। तर मन मस्तिष्कले भावना र सोचाईको प्वाख लगाएर सारा ब्राम्हाण्डलाई अनगिन्ती चक्कर काटेको काटेकै थियो। तिमीले त्यो उडानलाई अझ गति दियौ। तिम्रो स्विकृतिमा मुन्टो हल्लिनासाथ कान्तिमय बगैचाको निर्माण भयो । हुन पनि केही नबोलीकनै, केही नगरीकनै तिमीले मेरो कण कणलाई यत्ति मिठोगरी पगाल्यौ। आफूभित्रै समाहित गर्‍यौ। म र मेरो हरेक पक्षलाई यस्तरी आत्मियतामा कस्यौँ कि म तिमीभित्रै बिलाए। तिमीलाई याद छ सिम्मा? किन नुहुन होला र? नहुने कारणै छैन। 'कहिल्यै बिर्सेको भए पो याद गर्नलाई' अहिले पनि तिमी यसै भन्दैछौ मेरो कानैमा खसुक्क।

पहिलोपल्ट तिमी र म परिवारकै मञ्जुरीमा भेटेका थियौँ तिम्रै घरमा। केहीबेरको थोरै तर साह्रै मिठासपूर्ण संवादपछि म तिम्रो आडैमा बस्ने अनुमति माग्दैथिए- मौन रुपमै। तिमीले पनि समर्थन दियौँ मौनतामै। मौनताकै संवादमा हामी निकै गहिरिएर एक अर्काको भावना बुझ्न अभ्यस्त थियौँ। कहिले तिमी मलाई पुलुक्क हेर्थ्यो कहिले अन्तै हेरेझैँ गर्थ्यौ। कहिले नहेरीकनै मनमनै मुस्कुराउथ्यौँ। तैपनि तिम्रो मुस्कुराहट म प्रष्टै देख्थे। कहिले केही धकाएझैँ देखिन्थ्यौ। कहिले मनमा भएको कुरा भन्न खोजेझैँ देखिन्थ्यौँ। तिमीभित्रको कुरा शब्दमा सुन्नुभन्दा अनुहार र आँखाको भाकामै छल्किएको अति प्रिय र अदभूत थियो। 'तपाई'को सम्बोधनले तिम्रो मौनतालाई भंग गरेको थियो। तिमीलाई 'तिमी' भनेकै खूब मन पर्ने हगि? तर मलाई चाहि 'तपाई' नै भन्नुपर्ने तिम्रो जिद्दी पनि अचम्मको थियो। तर साह्रै मायालु थियो- भुतुक्कै पार्ने खालको।

मैले यो कुरा तिमीलाई मौन रुपमै भनीसके धेरैपल्ट। तिमीले पनि भनेकै हौ। फेरीपनि म भन्दैछु- तिमीलाई हृदयदेखिको आभार सुम्पन्छु सिम्मा। किनकी तिमीले मौनताभित्रैको आवाजलाई सही ढंगले बुझ्ने सामर्थ्य प्रदान गर्यौ। माया प्रेमको गहिराईसँग चिनायौँ र तैरिदै मजा लिन पनि सक्षम बनायौ। 'म' हुनुको बोध गरायौँ। 'तिमी' हुनुको महत्व सम्झायौँ। 'हामी' हुनुको सन्तुष्टी दिलायौँ। शब्दको मिठास एक छेउमा थन्क्याएरै आफ्नो ढुकढुकीको प्रत्येक भाका बुझ्ने मौका दियौँ। सबैभन्दा ठूलो कुरा जीवनको गन्तव्य र सार्थकतालाई औँल्याइदियौँ। यी सबै हाम्रो पहिलो भेटको मौन संवादले दिएको उपहार हुन् सिम्मा।

हाम्रो दोस्रो भेट मेरो (मेरो भन्नु पटक्कै मन छैन अहिले। तैपनि त्यसबेला 'हाम्रो' भन्ने पूर्ण स्विकृति दिएको थिएनौँ तिमीले) घरमा भयो। त्यस दिन पनि हामी धेरै बेरसम्म एकअर्कासँग मौनताकै संवादमा भिज्यौँ। त्यस संवादमा मैले भन्दा तिमीले नै बढी माया गर्छौ मलाई भन्ने विश्वास जाग्यो। थोरै संवादमा तिम्रो विचार र मेरो विचार कत्ति मेल खादो रहेछ भन्ने भेद खुले। हुन त तिमी सधै भन्ने गर्छौ नि सिम्मा 'तपाईले नै बढी माया गर्नुहुन्छ मलाई'। यसरी नै त हाम्रो मायाको पोयो दोहोरो रुपमा बाट्‍दै जाँदा मजबुत भयो (यो पनि तिम्रै शब्द हो सिम्मा। हेर न तिमीबिना म एक पाइला पनि मजाले सार्न सक्दिन हगि?)। अनि 'हामी एकअर्काकै लागि बनेका हौ' भन्ने कुराप्रति शतप्रतिशत विश्वास जाग्यो हामी दुबैलाई।

त्यसबेलाका हरेक पल कहिल्यै मर्दैनन् सिम्मा। म आनन्दले मात्तिदै तिम्रै काखमा टाउको राखेर तिमी मुस्काएको हेरीरहन्थे। तिमी'नि शान्तसँग आनन्द लिदै मलाई मात्तिमा थप मद्दत गर्थ्यौ। तिम्रो भित्री सुन्दरता र सौहार्दता तिम्रो आँखामा छर्लङ्ग देख्थे म। आँखाको भावबाटै एकअर्काको भावना पढ्‍दै थियौँ। तैपनि तिमीले नै पहिले सोध्यौँ मलाई 'तपाई खुशी हुनुहुन्छ नि हैन?'। 'म जत्तिको खुशी अरु कोही देख्यौँ र सिम्मा?' भन्ने मेरो वाक्यले तिम्रो मुहारमा छरिएको ज्योति मेरो आँखैमा बसेको छ। त्यसबखत शान्त तलाउबीच फक्रेको कमलको सेतो र सफा फुलझैँ देखियौँ। फूलमाथि परेको विहानीको शीतको थोपालाई घामको पहिलो किरणले स्पर्श गरेझैँ तिम्रो सुकोमल ओठमा थप मादकता छायो- औद्यी सुन्दर। तत्कालै तिमीलाई मायालु चुम्बनको उपहार टक्र्याउने हुट्‍हुटी जाग्यो। तैपनि मलाई विश्वास थियो तिम्रो बुझाइप्रति।

तिमी मेरो आँखाको भाव पढ्न खप्पिस भइसकेको थियौँ। 'ए सिम्मा, तिमी नि खुशी छ्‍यौ?' भनेर मैले सोधे। ठूल्ठूला आँखाको इशारासँगै चिटिक्क परेको नाक थोरै खुम्च्याएझैँ गर्दै 'धेऽऽऽऽरै खुशी छु' भनेर हाम्रा जोडिएका औँलाहरु मुक्त गर्‍यौँ। मैले तिम्रो आँखामा हेर्दै प्रश्न गरे। प्रतिउत्तर स्वरुप तिमीले दुबै हातले गाला सुम्सुमाउदै निधारमा चुम्यौँ। त्यो क्षण अर्कै संसारमा पुग्यौँ हामी। बेलाबेलामा हुने सटिक र मिठासपूर्ण बोलीपश्चात पुनः हामी मौन संवादमै फर्कन्थ्यौँ। 'हामी' सँगै हुनुको असिम आनन्द, तिमीले चुमेको त्यो क्षण, तिम्रो स्पर्शको मिठो अनुभूति म बयान गर्नै सक्दिन सिम्मा। सिर्फ मौनताकै भाषामा व्यक्त गर्न सक्छु। उस्तै गरी, जसरी हामीले मौन रुपमै संवाद गर्ने गरेका थियौँ। अहिले सक्छ्‍यौ भने तिमीले नै शब्दमा बयान गर न। त्यसो गर्यौ भने हामी असिम आनन्दको अर्को उचाईमा उक्लिन्छौँ। अहिले पनि एकअर्काको मौनताको भाव भालीभाँती बुझ्छौ। तर पनि बोल्न र लेख्न बाध्य छौँ हामी दुवै। त्यसैले पनि म यो डायरी लेख्नको लागि शब्द खोज्दै उन्न लालायित छु सिम्मा। यसमा कतिपय तिम्रो शब्द सुटुक्क चोरेर लेखे। कतिपय तिम्रो प्रतिबिम्बको सट्टा लेखे। कुनै तिम्रो अभावले शब्द बने। कुनै तिम्रो अथाह मायाले सृजना भए। कुनै शब्द तिमीप्रतिको मेरो मायाले जन्मायो। मैले लखे। तर हरेक शब्दमा तिम्रो अधिकार छ भन्नेमा कुनै सन्देह छैन। केही उपाय नलागेर हाम्रो प्रेमको मौन संवादलाई शब्द खोजीखोजी यतिसम्म लेखे।

ए सिऽऽऽम्मा... सिऽऽऽम्मा, यी सबै हाम्रो जीवनको स्वर्णिम आनन्दको चरमउत्कर्षको उत्तम पल हुन्। हाम्री जीवनको सबैभन्दा स्वर्णिम पल।

आजलाई म परदेशीको डायरी यत्तिमै थन्क्याउँदैछु।
५ डिसेम्बर, २००८ (२०६५ मंसीर २०)

Sunday, November 30, 2008

थारु सांस्कृतिक संग्रहालय

केही दिन अघि मात्रै वि.सं. २०५८ मा स्थापना भएको चितवनको बछौलीस्थित 'थारु सांस्कृतिक संग्रहालय'को दृश्यावलोकन गर्ने रहर पूरा गरे मैले। थारु समुदायको आफ्नै पहलमा खुलेको यो संग्रहालयमा थारु जातीको रीतिरिजाव, परम्परा, संस्कार, सांस्कृतिक रहनसहन झल्काउने तथा जीविकोपार्जनसम्बन्धी विभिन्न सामाग्री तथा तस्बीरहरु राखिएका छन्। पर्यटकीय दृष्टिकोणले सौराहा निकै प्रख्यात मानिन्छ र धेरैजसो पर्यटकहरुको गन्तव्य पनि रहने गर्छ। सौराहाको आडैमा या नि कि नजिकै रहेको छ, संग्रहालय। सौराहा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि थारु जातिबारे बुझ्न सो संग्रहालयतिर पनि एकनजर पुर्याउँदा 'पशुपतिको जात्रा सिद्राको व्यापार' भनेझैँ हुन्छ। मैले गर्या नि त्यही हो क्यारे। संग्रहालय चहार्दाखेरी कैद गरेको केही दृश्य म यहाँ राख्न चाहन्छु।सामुन्नेबाट हेर्दा- 'थारु सांस्कृतिक संग्रहालय'।

थारु महिला।

थारु पुरुष।

दैनिक कामकाजमा चलाउने सरसामाग्रीहरु।

जुनसुकै कार्यमा प्रयोग गरिने 'रक्सी' पार्ने भाँडो। (मैले जानेअनुसार त माथीको ढकनी नहुनुपर्ने हो।)

पछाडिपट्टि माछा मारीरहेको मजाको पोष्टर र त्यसैको सामुन्ने माछा मार्न प्रयोग गरिने सामाग्रीहरु।

आजकाल यसको प्रयोग कति हुन्छ कुन्नी? सायद संग्रहालय-तस्बीरलगायतमै सीमित छ कि?

टाँगा।

....................। यसको क्याप्सन हाल्ने जिम्मा साथीहरुमा, है त!


आच्या! लन्ठ्याङलुन्ठुङ हल्लिदैमा १० दिन बितिसकेछ। कुटीमा छिरेपछि छिमेकी साथी दीपकजीको खोजखबर पढ्दा साह्रै खुशी लाग्यो। र, तुरुन्तै केही न केही ठेल्दिउ भन्ने मन भयो। केही दिन अघि मात्रै पुगेर फर्केको चितवनको यही तस्बीरलाई कुटीमा छिराएर म सन्चै छु अहिलेलाई भन्दैछु दीपकजी। तपाईको आत्मीयता र प्रार्थनाप्रति म आभारी हुँदै यस्तो भावना र कामना आयुदारी होस् भन्न चाहन्छु।

Thursday, November 20, 2008

गायक तथा संगीतकार राम थापामा श्रद्धाञ्जली

आज काठमाडौ उपत्यका बन्द छ। माओवादीको भातृ संगठन वाइसिएलले काठमाडौका पुष्कर डंगोल र निर्मल पन्तको अपहरणपछि हत्या गरेकोमा बन्दको आव्हान गरिएको हो। हिजो ढिला सुतिएकोले आज ढिलै ब्युझिएछु। नित्य कर्म र खाना बनाइवरी खाइसक्दा घडीले १० नाघीसकेछ। एकजना साथीको विहेको लागि सघाउनु जानुपर्ने मेरो वचन थियो। त्यसैले हतार हतार तयार भएर कोठाबाट बाहिरिए। सडकमा आइपुग्दा त ठप्पै बन्द रहेछ। साइकल एकादुई चलेको बाहेक अन्य सवारी साधनहरु देखिएन। म अलमलमा परे। उपत्यकाभित्रै भएनि अलि टाढै पुग्नुपर्ने हुनाले हिडेर जाने आँट गरिन र सडकमा बन्दको चहलपहल हेर्दै काम गर्ने थलोतिरै हानिए।

सडकको बीच भाग छाडेर पैदल यात्रीहरु हिडिरहेका थिए। जाडो महिना लागेपनि सडकमा हिड्दा घामले गर्मी भएको महशुश हुन्थ्यो। त्यत्तिकैमा एकहूल मोटरसाइकल सडकमा देखियो। अलि परैबाट देख्दा मोटरसाइकलको अगाडिपट्टि सेतो कागज टल्किदैथियो। त्यो देखेर म छक्क परे। आखिर के चाहि रहेछ भन्ने कौतुहलता जाग्यो र ठिङ्ग उभिएर मोटरसाइकल आउँदैगरेकोमै आँखा अड्याए। सबै मोटरसाइकलमा A4 साइजको सेतो पानामा स्पष्टसँग लेखिएर टाँसिएको थियो "मलामी"। हूलै देखेपछि मलाई लाग्यो- कुनै विशेष व्यक्तिकै मलामी हुनुपर्छ सायद। तर मलाई पत्तै थिएन राम थापाको निधन भयो भन्ने। नर्भिक अस्पतालमा उपचारार्थ छन् भन्ने नै सोच बोकेर हिडिरहेको म। एक्कासी मोटरसाइकलको पछाडि बस्ने मान्छेको मोबाइल बज्यो र मोटरसाइकलको गति कम भयो। त्यही मौकामा 'कस्को मलामी हो दाई' भनेर सोधीहाले। 'राम थापा दाईको' भन्ने उत्तर पाएर म एकछिन ठाउँको ठाउँ उभिए। त्यसबखत उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि गायिका तारा थापासँग रेकर्ड गराएको चर्चित गीत दिमागमा आयो- हाई हाई बनकाली माई। जुन गीतको रिमिक्स भर्सन आजकाल सञ्चारमाध्यमहरुमा देख्न र सुन्न पाइन्छ।

नेपाली सांगीतिक फाँटका एक सितारा, उनै लोकगायक तथा संगीतकार राम थापा बारेमा कुटीमा केही लेख्न मन लाग्यो। ५० वर्षको उमेरमै सांसारिक मोहबाट मुक्त भएका राम थापा काठमाडौकै बासिन्दा थिए र उनले ५ कक्षा पढ्दादेखि नै गाउन थालेका थिए। रेडियो नेपालबाट वि‌.सं. २०३१ सालमा स्वार परीक्षा पास गरेका थिए। वि‌.सं.२०३३ सालमा एउटा गीतमा गिटार बजाए वापत ५ पाउने गरी रेडियो नेपालमै जागिरे हुन पुगे। संगीत सिक्ने शिलशिलामा वि.सं.२०५० मा भारतबाट शास्त्रीय संगीतको स्वरतर्फ प्रथम श्रेणीमा विशारद गरे। साथै उनले लोक गीत सिक्नको लागि कुमार बस्नेतलाई गुरु माने। उनी रेडियो नेपालमा लोकगीत तर्फका प्रतिष्टित श्रेणीका गायक र आधुनिक संगीततपर्फ प्रतिष्ठित श्रेणीको संगीतकारको रुपमा कार्यरत रहँदा रहँदै हामीबाट टाढिएका छन्। उनले गीत गाउनु र संगीत दिनुको अलावा 'सुस्केरा' नामक लोकगीति रेडियो कार्यक्रम पनि उद्‌घोषण गरेका थिए।

उनको पहिलो रेकर्डेड गीतले नै राम थापा भनी स्थापित गराउन ठूलो भूमिका खेल्यो र उनको सांगीतिक यात्राको मूल ढोका खुल्यो। त्यसपछि थुप्रै चर्चित र जनमानसको मुखैमा झुण्डिने खालका गीतहरु दर्शकहरुमाझ पस्केर उनी छाइरहे। "कटर कटरमा तिम्रो सुहाउँदो ज्वाई आयो मोटरमा", "लेकाली हो हो चोयाको डोको", "कति बस्छ्यौ माईतीकै कौशीमा", "रेलै घुमेर गयो बैनीको आधा उमेर" जस्ता कैयौ कालजयी ठेट लोक भाकाहरुमा स्वर दिएका राम थापाले करिब ३०० गीतहरुमा आफ्नो स्वर दिएका छन्।

चर्चित गायक स्वर्गीय अरुण थापाको स्वरमा रहेको 'ऋतुहरुमा तिमी हरियाली बसन्त हौ' बोलको गीतको स‍ंगीतकार उनै राम थापा हुन्। सो गीत सन् २००२ मा बि.बि.सी.लण्डनले गरेको सर्वेक्षणअनुसार संसारकै १० उत्कृष्ट गीतहरुमध्येमा चयन भएको थियो। वि.सं. २०३५ सालमा उनको संगीतमा पहिलो गीत रेकर्ड भएको थियो। त्यसबाहेक उनको संगीतमा "तिमी यसै लजायौ", "थामेर किन छाड्यौ हातहरु", "जुनी जुनीलाई मेरी उनीलाई" लगायत लगभग २०० भन्दा बढी गीतहरु रहेका छन्। राम थापाको १६ ओटा लोकगीत, ५ ओटा आधुनिक गीत र १० ओटा जति हास्यव्यङ्ग एल्बमहरु निस्किएका छन्। उनले ठूला पर्दाका सिनेमा पनि आफ्नो स‍गीत दिएका छन्।

उनले स्कूले जीवनमै टोलका आफूभन्दा ठूला दाईहरुसँग गिटार सिकेका थिए। उनको रुचि र लगाव अनि साधनाकै नतिजा मान्नुपर्छ १२ ओटा गिटार गाईड सम्बन्धी पुस्तक। जुन उनले निकालेका छन्। त्यसैले उनलाई सांगीतिक कर्ड पुस्तक (Musical cord book) निकाल्ने पहिलो संगीतकारको रुपमा पनि लिइन्छ। नेपाली सांगीतिक क्षेत्रलाई योगदान पुर्याएवापत विभिन्न पुरस्कार तथा सम्मानद्वारा सम्मानित भएका राम थापाले वि.सं. २०३६ सालमा आयोजित अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा दोस्रो पुरस्कार, वि.सं. २०४० सालमा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम पुरस्कार, वि.सं. २०५० सालमा नारायण गोपाल युवा पुरस्कार र वि.सं. २०५९ सालमा छिन्नलता संगीत पुरस्कार पाएका हुन्।

राम थापाको कला, गला र सृजनाले नेपाली सांगीतिक क्षेत्रमा उचित स्थान पाइरहोस्। उनको सृजना नयाँ पुस्ताको लागि प्रेरक बन्न सकोस्। सम्पुर्ण नेपालीमाझ आफ्नो कला र सृजनामार्फत बस्न सफल गायक तथा संगीतकार राम थापाप्रति हृदयदेखि श्रद्धाञ्जली अर्पण गर्दछु।

(स्रोतः विभिन्न साइटहरु। जसप्रति म आभार व्यक्त गर्दछु।)

Friday, November 14, 2008

माइतीघर

"बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर माइतीघर माइतीघर"

यो गीतको रिमिक्स भर्सन हाल अञ्जु पन्तको स्वरमा सञ्चारका विभिन्न माध्यमबाट बजीरहेको छ। सो गीत नेपाली चलचित्र बन्न शुरु भएको केही समय बित्दा नबित्दैखेरी बी एस राणाको निर्देशनमा बनेको 'माइतीघर' नामक फिल्मको हो। जुन फिल्म निजी क्षेत्रद्वारा वि‌.सं‌.२०२३ मा निर्मित पहिला नेपाली चलचित्र हो। त्यसअघि सरकार वा सरकारी निकायकै इच्छाअनुरुप चलचित्र बन्दै आएको र माइतीघर बनेपछिको लगभग २ दशकसम्म पनि निजी क्षेत्रबाट अन्य चलचित्र बनाउने अनुमति दिइएको थिएन। हुन त माइतीघर पनि सरकारकै इच्छाअनुरुप बनेको चलचित्र थियो। तैपनि निजी क्षेत्रलाई चलचित्र निर्माण कार्यमा संलग्न गराउने पहिलो कदम थियो त्यो। हाल बज्ने गरेको माइतीघरको शिर्ष (रिमिक्स)गीतको भिजुअलमा मोडलको साथै माइतीघरका प्रमुख पात्र माला सिन्हालाई पनि देख्न सकिन्छ। आज यहाँ सोही चलचित्र माइतीघरबारे लेख्न औँलालाई किबोर्डमा डुलाउँदैछु। धेरै पहिलादेखि नै 'माइतीघर' हेर्ने रहर थियो। यसपालीको तिहारमा बल्ल धोको पुरा गरे। हुन त मैले थप अरु दुईटा फिल्म पनि हेरेको थिए त्यही बखत- Rock On (हिन्दी)र Lure of the Wolf (कोरियन)। सबै आ-आफ्नै स्वाद र महत्वका छन्। कोरियन फिल्मले मन छोएको थियो मेरो। तैपनि पुराना तर राम्रा मानिएको फिल्मकै बारेमा थोरबहुत उधिन्ने रहर भो अहिले।

१२ बर्षदेखि चुपचाप र गुमनाम भईकन जेलको कोठरीमा बस्दै आएको र जेल बाहिर जान नचाहने मु्ख्य पात्र 'नायिका' को जीवनको तीतामिठा घटना र भोगाईहरुलाई उघार्दै फिल्म अघि बढ्छ। जीवनगाथा सुनाउँदा सुनाउँदै तीब्र भावनात्मक आवेगले नायिकाको हृदयको गति बन्द हुन्छ। फिल्म सकिन्छ। नारीप्रधान यो फिल्ममा प्राकृतिक सुन्दरताको खानी पोखराको एक शिक्षित, फरासिली, निडर र साहसी युवतीको जीवनमार्गको उतारचढाव, प्रेम, त्याग र अठोटलाई उनेको छ। माला सिन्हालाई साथ दिने अन्य कलाकारहरुमा सि.पी. लोहनी (नायक)लगायत अन्य थुप्रै भारतीय तथा थोरै नेपाली कलाकारहरु देख्न सकिन्छ। फिल्मको निर्देशक बि एस थापा पनि भारतीय नागरिक हुन्। त्यसताका चलचित्रसम्बन्धी प्राय सबैजसो कामकाज भारतमै सम्पन्न हुने मात्र हैन जनशक्ति पनि भारतीय उत्पादन नै हुने हुँदा त्यतैको प्रभाव नदेखिने त कुरै भएन। उदाहरणमा माला सिन्हाकी छोरी पढ्ने त्रिचन्द्र कलेजको सांस्कृतिक कार्यक्रममा सुनिल दत्तले प्रमुख अतिथिको रुपमा टाइ सुट र नेपाली ढाका टोपीमा सजिएर हिन्दी भाषामा मन्तव्य दिन्छन्।

फिल्मको शिर्षक र कथावस्तुबीच खासै सम्बन्ध देखिन्न। नायिकाले सामाजिक प्रतिष्ठायुक्त हाँसीखुसी जीवनदेखि बिधुवा-बधिनी र हत्यारासम्मको जीवन भोग्नु नै यस फिल्मको मुख्य कथासार हो। यद्यपि संयोगान्त र सुखद ढंगले नै फिल्मको अन्त्य हुन्छ। जयदेवको संगीतले फिल्मलाई मनोरञ्जनात्मक चटनी दिएको छ। शीर्ष गीतबाहेक 'काला कुर्तैले ६ महिना जागिरै खाया', 'म प्यार बेचीदिन्छु' लगायतका गीतहरु निकै चर्चित थिए र यद्यपि छ।

प्रमुख पात्र माया (माला सिन्हा)ले शिकार खेल्न रुचाउँने पढे लेखेको घरानीय केटो मोहनसँग प्रेम बिहे गर्छे- पोखराकै अर्को टोलमा। बिहेपश्चात केटो २ वर्षको लागि विदेश पढ्न गएर आउँछ। आएपछि जन्मदिनको अवसरमा पोखरादेखि काठमाडौँसम्मका ठूलाबडा निम्तालुहरुको आगमन र नाचगान चल्छ। तर दुर्घटनामा परेर शिकार खेल्न गएको मोहनको मृत्यु हुन्छ। त्यसपश्चात शुरु हुन्छ मायाको दुखद दिन। घरपरिवार तथा समाजले पोई टोकुवा राँडीको नाम भिराउँदै पलपल मानसिक यातना दिने, हरेक सामाजिक तथा धार्मिक कार्यबाट बहिष्कार गरेपछि मायाले आफ्नो स्वर्गको खोजी गर्ने कदम चाल्छे। २ वर्षको छोरासमेत माया मारेर र गर्भमा रहेको बच्चालाई प्रेमको चिनो सम्झेर अनभिज्ञ यात्रामा निस्कन्छे माया। बाटोमा कुनियतका मान्छेसँग बच्ने क्रममा नेपालगञ्जस्थित बधिनी टोलमा पुग्छे। त्यही टोलमा नाचगान गर्दै जीवनको १६ वर्ष बिताउँछे- निरमायाको पहिचान बोकेर। आफ्नो र आफ्नो सन्तानसँगको नाता र आफ्नो बास्तविकतालाई लुकाएरै छोरा र छोरीलाई काठमाडौँको कलेजमा उच्च शिक्षा दिलाउँछे। यस काममा गोफ्ले भन्ने पात्रले दाजुको हैसियतले मद्दत गर्छ। धनाढ्य साहू जगतमान सुब्बाको गिद्दे नजर निरमायाप्रति टिकीरहदा पनि केही नलागेपछि निरमायाको जीवनको लुकेको पाटो पत्ता लगाएरै छाड्छ। र, निरमायाको सट्टा उसकी छोरी रेखालाई पाउने योजना बुन्छ। आफ्नो बर्षौको तपस्या पूरा हुँदाहुँदै तुहेको देख्नुभन्दा जगतमानलाई विष दिएर मारिदिन्छे निरमायाले। आफ्नो प्रतिपक्षमा आफ्नै छोरा अदालतमा उभिएको पाउँछे निरमाया। तैपनि उसलाई कुनै ग्लानी हुन्न। उल्टै उसको छोराको मेहेनत र सफलताप्रति गर्भ महशुश गर्छे। जब आफ्नै छोराले एक बेश्या जो पैसाको लागि जुनसुकै अपराध गर्न पनि पछि नपर्ने कलंकित आइमाइको उपमा दिँदै अदालतलाई सफाई दिन्छ तब उसको धैर्यताको बाँध फुट्छ र आफ्नो वास्तविक जीवनको घटनासँगै छोरासामु उभिन्छे। अनि परिबन्धमा परेर छिन्नभिन्न भएको परिवार फेरी परिबन्धमै परेर एक हुन्छ। त्यसपश्चात आफ्नो छोरीको सुखद दाम्पत्य जीवन हेर्ने धोको समेत पूरा गरेर १५ वर्षको कारावासको जीवनतर्फ लम्किन्छे निरमाया।

फिल्ममा एउटी शिक्षित नारीलाई प्रमुख पात्र बनाइएको छ र विषयवस्तु पनि नारी केन्द्रित नै छ। त्यत्ति हुँदाहुँदै पनि घुमाउरो पाराले नै सही त्यसबेलाको पञ्चायती व्यवस्थाको गुणलाई देखाइएको प्रष्ट हुन्छ। एउटी बधिनी, जसलाई अदालतले एउटा धनाढ्य साहूको हत्यारा घोषित गर्यो, उसलाई बिना कुनै यातना, बिना कुनै हेय भावना एउटा सम्मानीय व्यक्तिको पद यात्राझै जेलमा लगिनु र स-सम्मान राखिनुले त्यही कुरातर्फ संकेत गर्छ। जबकी लोग्ने मर्नासाथ ३२ लच्छिनले युक्त त्यही नारी हरेकको दृष्टिमा एउटा कुकुरभन्दा तल्लो जातको, सास फेर्ने र आफ्नो काम आफै गर्ने प्राणीमा मात्र सिमित रहन्छ। कि एउटा हत्या गर्नुभन्दा बिधुवा हुनु अपराध मानिन्थ्यो त्यो समयमा? भन्ने प्रश्न मेरो मनमा उब्जियो। जुन यो फिल्मको उद्देश्य पक्कै पनि हैन।

यसको राम्रो पक्ष, आफ्ना छोराछोरीलाई जसरी पनि शिक्षित बनाउनु पर्छ, नारी भनेको विचराको पात्र हैन उ सक्षम र आत्मनिर्भर हुन सक्छे र आँटेमा आफ्नो जीवनलाई आफैले सार्थक बनाउँन सक्छे। तर त्यसको लागि स्वयं नारी नै शिक्षित र साहसी हुनु जरुरी छ भन्ने सन्देश बोकेको छ। यद्यपि त्यसबेलाका अशिक्षित, गरिब रैती वर्गका लागि त्यो चलचित्र बनाइएको थिएन। न त चलचित्र हेर्ने र त्यसबारे सोच्ने या त्यसबाट शिक्षा लिने कुरामा उनीहरुको मनग्गे पहुँच नै हुन सक्थ्यो। त्यसबाहेक कलाकारहरुको अभिनय निकै सशक्त रहेको छ । समग्रमा चलचित्र हेर्दा समय खेर गएझै अनुभव हुँदैन । र तत्कालीन समय र परिबेशमा त्यो तहको चलचित्र बन्नु चलचित्र जगतकै लागि सकरात्मक सुरुआत हो भन्न सकिन्छ । उहिलेको सफा, हराभरा पोखराका प्राकृतिक छटा, हिमाल, पाखा पखेरा, गाउँले परिवेशको साथै खुला र स्वच्छ काठमाडौको रमणीय दृश्यहरु त देख्न पाइन्छ नै फिल्ममा। त्यसैले एकपल्ट सबैले यो फिल्म हेर्दा कुनै हानि हुन्न। बरु त्यसबेला र अहिलेको ब्याबसयिक चलचित्रहरुबिचमा तुलना गर्दा उत्तिबेलाकै चलचित्रहरु धेरै हिसबले उत्तम ठहरिन सक्लान् (अहिलेका केहिलाइ छाडेर)।

अन्तिममा फिल्मसँगै जोडिएको एउटा कुरो। हाल काठमाडौँको 'माइतीघर' नामले परिचित ठाउँ यही माइतीघर फिल्मबाट बन्न पुगेको भन्ने सोही चलचित्रसँग जोडिएको चलचित्रकर्मीकै मुखबाट कुनै रेडियो कर्यक्रममा आन्तर्बार्ता दिने क्रममा फुत्किएको कुरो हो (सायद कुनै पुस्तकमा पनि लेखिएको हुनुपर्छ)। हाल सेन्ट जेभियर्स कलेज रहेको डाँडामा माइतीघर निर्माण समूहको कार्यलय रहेको र त्यही कार्यलयसँगै 'माइतीघर'को होर्डिङ बोर्ड टाँगिएको थियो। त्यही होर्डिङ बोर्डबाटै सो ठाउँको नाम माइतीघर रहन पुग्यो।

Tuesday, November 11, 2008

सित्तन ! कफी गफको

यसो नियालेर ल्याउँदा कुटीभित्र पकाईतुल्याई नगरेको पनि धेरै दिन भएछ। खाली गफैगफ मात्रै गरिएछ। आज केही त बनाउँनै पर्यो। एकदम सजिलो अनि च्वाट्ट स्वादको अचार बनाउने मन थियो पहिलेदेखि। आज अल्छी पनि अलिअलि लागेको छ। यस्तो बेलामा छिटो छरिटो तर जिब्रोमा झुण्डिने स्वाद तयार पार्नुपर्यो। Hmm.. त्यसको लागि के को अचार बनाउँ त? अँ, आज रुख टमाटरको अचार बनाउनुपर्यो। जुन मलाई असाध्यै मन पर्छ। र म प्राय बनाउने पनि गर्छु। फेरी पनि यहाँ बनाउँदैछु।

* त्यसको लागि एउटा रुख टमाटर लिने।
* त्यसलाई पोल्नुस् या बफाउने (ताकि त्यसको बोक्रा मजाले उछिल्न सकियोस्)। अनि टमाटरको बोक्रा उछिल्ने।
* तीन बीरा लसुन या तीन-चार ओटा टिम्बुर लिने।
* स्वाद अनुसारको नून र खूर्सानी लिने।

नून, खुर्सानी, लसुन या टिम्बुरलाई पहिला सिलौटामा पिस्ने। त्यसपछि उछिलेको टमाटरलाई राखेर पिस्ने। बस अचार तयार भो। अब यसलाई के सँग खाने? अचार मत्तै खाएर त के मजा आउनु र ! अब के सँग खानु त भन्ने पनि सोच्नु पर्यो। हुन त खानासँग खाँदा नि च्वाँक हुन्छ। तर आज त्यसो नगरु क्यार।

त्यो फ्रेन्च फ्राइ भन्छन् नि धेरैले क्या- आलुलाई चारपाटे आकारमा लामो लामो औँलाझैँ काटेर तेलमा तारेको। त्यसैसँग खाँदा त बढिया हुन्छ नि। त्यसैले अब त्यो बनाउने पनि थोरै जाँगर निकाल्नु पर्यो। त्यसको लागि पहिला आलुको बोक्रा तास्ने। अनि त्यसलाई चारपाटे लामो आकारमा काट्ने। काटेको आलुलाई नुन र पानीमा राखेर उमाल्ने। एकैछिन उमालेपछि त्यसलाई सुख्खा पार्ने। सुख्खा भएपछि तेलमा तार्दै निकाल्ने। बस्, पाकिगो यो फ्रेन्स फ्राइ भन्ने चीज पनि। (हुन त नउमालीकन सिधै तेलमा फ्राइ गर्दानि हुन्छ। तर त्यसो गर्दा धेरै चिल्लो हुन्छ। तारेर सुख्खा पारेर फ्राइ गरेमा चिल्लो कम हुन्छ र आलु तारेको तेल पनि सफा रहन्छ। जसलाई पुन प्रयोग गर्न सकिन्छ।)

अब फ्रेन्च फ्राइ र अचार अगाडी राख्ने, अचारमा फ्रेन्च फ्राइ चोप्दै मजा लिई लिईकन खाने। अलिअलि जाडो पलाएको छ त्यसैले एक-एक कप कफी पनि हात हातैमा लिउँ। अनि साथीहरुसँग गफ (जस्तै ब्लगर मित्र उजेलीजीको गफगाफ नै Add गरी दिउँ न, कि कसो हो?) गर्दै केहीबेर बिताइदिउँ। लौन साथीहरुलाई सोध्न त झण्डै बिर्सेछु पो मैले। छुट्टिनु अघि सोध्नै पर्यो- कस्तो लाग्यो त सित्तनसहितको कफी गफ? हुन त, 'गफै त भएन अनि कस्तो भयो भन्नु खै' भन्नुहोला। अब गफ पैदा गर्ने काम चाहीँ आफैले म्यानेज गर्ने है त।

Sunday, November 02, 2008

बित्यो ३ दिने तिहार... 'यसरी'

हाम्रो चाडबाड र परम्परा मान्ने र धान्ने सन्दर्भमा जहाँसुकै रहेपनि सबैले आ-आफ्नै ढंगले मनाइन्छ नै भन्ने मेरो विश्वास हो। फेरीपनि परिवार र आफन्तजनहरुसहित र रहित चाडबाड धान्नु र मान्नुको बेग्लाबेग्लै स्वाद र परिवेश अवश्य हुन्छ। देश बाहिर रहनुभएका धेरैजसो साथीहरुले हाम्रो सट्टा पनि तिहार मनाउनुस् है भन्दै शुभकामना दिनुभएको थियो। देशभित्रै रहनुभएकाहरुको तर्फबाट चाहि यस्तो होस्, उस्तो होस् भन्ने शुभकामना नै चलनचल्तीमा छ। जे भएनि, जहाँसुकै रहेनि दशै तिहारको माहौलले सारा नेपालीलाई नछोएको कहाँ छ र? केही समय अघिसम्म गाउँघरमा स-परिवारसहितको बेग्लै परिवेशमा खेलेको देउसी-भैलो, शुद्ध तिहारको रमाइलो स्वाद मेट्ने तृष्णालाई यो काठमाडौँको परिवेशमा मनाएको छुट्टै देउसी-भैलोको स्वादले तृप्त गर्न नसकेझैँ विदेशमा बस्ने नेपाली दाजुभाईहरुको त्यो बेहोराको शुभकामनामा पनि एकप्रकारको अतृप्तपना र प्यास टाँसिएको हुनसक्ला। हुन त कतिपय अवस्थामा 'नजिकको देउता हेला' भनेझैँ र आफूसँग जे छैन त्यसैलाई बढी महत्व दिने पनि गरिन्छ। जसले गर्दा मनमा एकप्रकारको तिर्खा र प्यास ज्यूँदै रहीरहन्छ। सो प्यासको सही सदुपयोग गरिएमा नयाँ या परिमार्जित संस्कार र परिवेशको सृजना पनि हुन सक्छ।

अब म कुरा गर्छु मैले मनाएको (लक्ष्मीपूजादेखि भाईटिकासम्मको) ३ दिने तिहारको। केही साथी तथा आफन्तजनहरुको अनुरोधलाई म कसरी लत्याउन सक्छु र? हुन त त्यस्तै उस्तै परेर म पनि यो तिहारको बेलामा एक्लै परे कोठामा। भएनि मैले खूबसँग मनाए तिहार। यो काठमाडौमा जसोतसो दशै तिहार मनाएको यो पहिलोपल्ट पक्कै हैन मेरोलागि। त्यसैले पनि सजिलो भयो मलाई। गाउँघरमा त काग तिहारदेखि नै तिहार लाग्थ्यो तर काठमाडौमा त लक्ष्मीपूजाको दिनदेखि खाँट्टी तिहार शुरु भयो। जहाँसुकै जाऔँ भीडभाड, रंगीचंङी, फूल र बत्तीको झिलीमिली। विहानको खानपिन सकेर एउटा संगठनको देउसे टोलीमा देउसी खेल्न गए म पनि। एउटा गाडी नै रिजर्भ गरिएको हुनाले सजिलो थियो डुल्नलाई। त्यसदिन ठूल्ठूला पब्लिकेशन हाउस धाउने पालो परेअनुरुप फ्यूजन देउसी खेल्दै डुलियो। हुन त भैलोको दिन थियो, भएनि सबैले देउसी नै गन्यौ। गाउँले पारा र शहरी पारालाई मिसाइएको हुनाले फ्यूजन भन्दै छु म। साँझपख कोठामा आएर लक्ष्मीपूजा गरे। दियो बाले। घरबेटी र छिमेकीहरुसँग मिलेर केहीबेर हल्लाखल्ला गर्यौँ। कान्तिपुर पब्लिकेशन हाउसको प्राङ्गणमा 'तिहारै आयो लौ झिलीमिली' भन्दै नाच्दै गरेका देउसे-भैलेहरु।

साँझपख लक्ष्मी पूजा अनि पेट पूजा गरेर 'देउसीरे' भट्टाउदै, मादल र गिटारसँगै गीत र नाचको आडमा गाउँले टोलीहरुसँग चिनेजानेकाहरुको घरघर डुल्यौ। राती भनौ कि विहानको ३ बजेसम्म देउसी खेलिएछ। दिदीबहिनी-दाजुभाई सबै मिलेर हिडेको हुनाले धेरै रमाइलो भयो। थाकिएछ पनि। रातको १ बजे बानेश्वरस्थित आफन्तको घरमा दिइएको दान।

यो पल्टको देउसीमा मैले एउटा कुरा सिके। दान दिएपछि आशिष दिँदाखेरी प्राय सचेत किरातहरुले किराती गाथाद्वारै आशिष लिन र दिन मन पराउन थालेको पाए। त्यसको लागि गीतकार भूपाल राईको शब्द र संगीतकार जितेन राईको संगीतमा प्रायजसो किरातीहरुको कार्यक्रममा घन्किने गरेको गीतले स्थान ओगटेको रहेछ। जुन गीतको बोल यस्तो छः

मट्टीको कसम शिरोपर तीनचुला तीर्थधाम
हरबखत दाहिनो भइरहून सुम्निमा पारुहाङ

सुम्निमा शिरमा राखेर मूलभूमि ढोगेको
आकाश जस्तै अनन्त पारुहाङ पुजेको
बाँचुन्जेल हामी मूलबासी तिनैका दर सन्तान
हरबखत दाहिनो भइरहून सुम्निमा पारुहाङ

मुन्धुममा हेर हर मन्त्र सृष्टिको गाथा छ
तान बुन्ने चेली तयामा माइतीको कथा छ
पहिलो खाँबो गाडेको यही थलो पित्री माङ
हर बखत दाहिनो भइरहून सुम्निमा पारुहाङ

यसरी किरातीहरुको पूर्खाको गाथा गाउँदै दानको वरपर गोलो भई आशिष थापिएको कपडामाथि फूल र चामलले छर्किदै आशिर्वाद दिएपछि पुनः देउसीरेकै भाकामा आशिष भट्टाएपछि अर्को घरमा सरुवा। दुईजना दिदीहरुले निकै लयबद्ध र रोचक तरिकाले देउसिरे र आशिष भट्टाएका थिए। एकजना हास्यकलाकार भोजपुरे दाजुले बेलाबेलामा हामी सबैमा जोश भर्ने काम गरिरहन्थे। एउटी बहिनी ८ वर्ष जतिकी सारै मजाले नाचेकी थिइन्, अनि पुरै समय हामीसँगै घुमेकी थिइन्। गिटार बजाउने भाई नन् स्टप गिटार बजाउने अनि मादल बजाउने दाजु पनि लगातार बजाइरहने, गाउनेहरु पनि भयंकर नै। बडो फूर्तिलो समूह थियो हाम्रो १४/१५ जनाको। ठ्याक्कै गाउँकै जस्तो नलागेपनि चिनेजानेकैहरुसँग, चिनेजानेकैहरुको घरआँगन- कतिको त सिटिङ रुममा नै खेलीभ्यायौँ। त्यसैले मनमा कता कता खुशी लाग्यो। रमाइलो लाग्यो। माथि तस्बीरमा देखिएको दानको वरीपरी घुम्दै 'मट्टीको कसम शिरोपर' भन्दै आशिष दिँदै देउसेहरु (मतलब हाम्रो समूह)।

गोबर्द्धन पूजाको दिन मेरो कुटीमा दाजुभाईहरुसँग (कारणबस ज-जसको टीका लगाउन नहुने भएको थियो) जमघट राखेको थिए। त्यसैले लगभग ३ घण्टाजति सुतेर आँखाको विष मारेपछि चुल्होचौका र पकाइतुल्याईमा लागे म। त्यसदिन दिनभरी खानपिन, गफगाफ, नाचगान भयो कुटीभित्रै। साँझपख फेरी सबै दाजुभाई देउसी खेल्न र भाउजुहरु आ-आफ्नै धन्दामा लागे। म पनि लागे धन्दामाः वरपर दियो बालेर सेल रोटी बनाइसकेर सुते।

भाइटीकाको दिनमा एकाविहानैदेखि पकाइतुल्याइ गरीकन भाइटीका लगाउन तम्तयार भएर बसे। हुन त आफ्नै कोखको दाजूभाई कोही छैनन् मेरो। त्यसैले पनि होकी सायद मेरो हातबाट भाईटीका थाप्ने दाजूभाईहरु थुप्रै छन्- तीमध्ये केही भावनात्मक साइनोका उपजहरु र केही भने काका-बडाबा-मामा-फूफूहरुतिरका। घडीले साढे ११ बजाएपछि आउन थाले दाजुभाईहरु। आउछु भनेका जति सबै आए। तर १ जना दाजु आइपुगेनन्। फोनमा सम्पर्क गर्दा ४-५ बजे आइपुग्छु भनेका थिए। तर रातीसम्म पनि आइपुगेनन्। मलाई पनि के पारो चढ्यो कुन्नी फोन गरेर सोध्नै मन भएन। आउनुपर्ने दाजुको पर्खाईमा हामी दाजुबहिनी मिलेर तास खेल्न बस्यौँ। पोहोर मात्रै मैले तास खेल्न सिकेको थिए, त्यो पनि श्रीमान्‌ले सिकाउनु भएको। त्यसैको चान्स मारीहालेको नि। तर के गर्नु र भुसुक्कै हारेर पो बर्वाद। पहिलोपल्ट त्यसरी तास खेल्न बसेको जित्ने नाम निशानै कही कतै देखिन। मैले टिरिक नै नजानेको त होला नी अब। हुन त तासले पनि फेभर नै गरेन। र पनि 'तास खेलेर जितेर मैले पैसा कमाउनु न-केही लछरपाटो लाउनु' भन्दै खेले। अलिक धेरै हारेपछि त दाजुभाईहरुले नै मिनाहा गरिदिए मलाई। दाजुभाईसँग खेल्नुको फाइदा त्यस्तो पो हुँदोरहेछ यार। जे होस् यो तिहारमा म एक्लै पर्दापर्दै दाजु-भाउजु, दिदीबहिनी, साथीसंगी अनि भाईहरुको साथ र जमघटले दोक्लो-तेक्लो मात्रै हैन चाक्लो नै भयो। अनि रमाइलो पनि। अब तपाईहरु नै विचार गर्नुस् ल- यो पालीको तिहार तपाईहरुको सट्टा पनि मैले तिहार मनाउन भ्याए कि भ्याइनछु भन्नेतर्फ चाहिँ।

Tuesday, October 28, 2008

शुभ दिपावली


सम्पूर्ण मित्रहरुलाई २०६५ को शुभ दीपावलीको उपलक्ष्यमा कुटीको तर्फबाट हार्दिक मंगलमय शुभकामना। हरेकको हरपलमा खुशीयाली र सन्तुष्टीको हावा चलीहोस्, हरेकको घरघरमा लक्ष्मीको बास भइरहोस् साथै हरेकको मन मस्तिष्कमा सुख र शान्ति छाइरहोस्।

(तिहारपछि ब्लगर मित्रहरुसँग भेट्ने वाचा गर्दै अहिलेलाई जाँदैछु। त्यत्तिन्जेलसम्मको लागि कुटीलाई पनि यसो कुरीदिँदै गर्नुस् है छिमेकी मित्रहरु।)

Friday, October 24, 2008

कन्फ्यूजनः 'कैलाश'को

आज 'कैलाश' को बारेमा या नि सोझै भनौ न मेरो नामको बारेमा केही गन्थन गर्न मन लाग्यो। हुन त यो शब्द आफैमा चमत्कारी त पक्कै हैन नै। तर यो 'कैलाश' नाम र 'नामधारी' मनुवाको समीकरणले एउटा पुरुष/केटाको विम्बलाई स्वत दिमागमा ल्याइदिने भएकैले आज यहाँ कुरा कोट्याउने बहाना पाए मैले। सामान्य समीकरणको नजिता उल्टो निस्कँदा कहिलेकाही सम्झना आइरहने कुराहरु भएका छन्। अरु मानिसहरुलाई कन्फ्यूजन पनि पैदा गर्न सघाउँछ। आज म त्यही कुरा साथीहरुसँग बाँड्छु। एक न एक दिन यो कुराले मेरो कुटीमा स्थान पाउँछ भन्ने थियो मनमा। आज स्थान ग्रहण गराइदिदैछु।

कामको शिलशिलामा मेरो काम गर्ने ठाउँमा अपरिचित व्यक्तिहरुको फोन आउँदा धेरैले भन्ने गर्छन् 'कैलाश दाई या सर'लाई पाउँ न। फोन उठाउने बहिनी पहिला पहिला खुब हाँस्ने गर्थ्यो। आजकाल चाहिँ बानी परेरै होला अलि कम हाँस्छ। मोबाइल उठाउँदा समेत 'मैले कैलाश राईलाई खोजेको' भन्ने वाक्य सुन्छु, 'भन्नुस् म बोल्दैछु' भन्छु। तैपनि 'हैन मलाई कैलाश राईसँगै कुरा गर्नुछ' भन्ने वाक्य सुन्न पाइरहन्छु। कैलाश भन्ने केटा मान्छेको विम्बलाई बोकेरै मसँग कुराकानी गर्ने सूरमा आएकाहरु मसँग भेटेपछि पनि 'कैलाश' कै खोजीमा हुन्छन्। केही व्यक्तिहरु भने शुरुमा अप्ठ्यारो मानेझैँ देखिन्छन् तर केही समयपछि आफूलाई लागेको कुरा भनीकनै छाड्छन्। अनि एकचोटि फेरी हाँस्ने खुराक जन्मिन्छ। ब्लगर मित्र दीपकजीले पनि हाँस्ने खुराक जन्माउनु भएको कुरा उहाँकै ब्लगमा पढ्न पाएँ मैले। धेरैले किन 'यस्तो कन्फ्यूजिङ' नाम राखेको भन्छन्। कसैले 'आधुनिक भाको हो' भनेर ब्यङ्ग्य पनि गर्छन्। कसैले नाम फेर्ने या उपनाम प्रयोग गर्ने सल्लाह दिन्छन्। केही केहीले मेरो नामलाई स्त्री लिंगी पारेर पनि बोलाउने गर्छन्। जे भएनि यो नामले कही न कही, कुनै न कुनै समय कन्फ्यूजन पैदा गरीरहेकै हुँदोरहेछ। थुप्रै चोटी यस्ता घटनाहरु भएका छन्। हुन त मलाई यी सबै साधारण लाग्छन्। सानैदेखि त्यही नामले अस्तित्वमा आएकोले होला- मेरो नाम केटा मान्छेको हो भन्ने मलाई लाग्दै लाग्दैन। कही कतै अलि बढी नै सनसनी पैदा गरेको बेलाबखतमा म अलिक सचेत भएझैँ हुन्छु। नत्र अरु बेला खासै यादै हुन्न। घरपरिवारमा त प्राय सबैलाई थाहा हुने हुनाले खासै कन्फ्यूजन पैदा भएन। घरबाहिर निस्कन थालेपछि चाही यो नामले मलाई घरीघरी पुरुष बनाइरहेकै हुन्छ। केही अग्रज दाईहरु हुनुहुन्छ जो मलाई आज पनि 'कैलाश भाई' नै भन्छन्।

शुरुमा म काम गर्न थालेको केहि दिन भएको बेला 'कैलाशलाई पाउँ न' भन्ने आवाज आयो फोनमा। फोन रिसिभ गर्नुहुने अग्रज दाई भन्दै हुनुहुन्थ्यो 'यो नामको मान्छे को छ र यहाँ? सायद तपाईले अन्तै गर्नुभयो कि?'। 'मेरो हो कि' उहाँको कुरा सुनेपछि मैले भने। 'तपाई?!' वहाँ एकछिन अलमलिनु भो। तर मैले फोनमा कुरा गरिसकेपछि उहाँले तुरुन्तै भन्नुभयो 'सरी है मैले त तपाई पनि हुनसक्नु हुन्छ भन्ने सोच्नै भ्याइन'। अर्को एउटा कुरा, ३ वर्ष अघि एउटा चिठ्ठी आएको थियो 'Mr. Kailash' भनि सम्बोधन गरेर। मेरा एक पुरुष सहकर्मी छन्- कोमल। त्यही ठाउँबाट 'Ms. Komal' भनी उसलाई पनि चिठ्ठी आएछ। हामीले सानो काम गरेवापतको कम्प्लिमेन्ट्री लेटर थियो त्यो। हाम्रो नामले पैदा भएको सो कन्फ्यूजनले हामीबीचमा खुब हाँसो छाएको थियो उसबेला।

६ वर्ष अघिको कुरो, नम्रता भन्ने कलेजको साथीले मलाई फोन गरेर जसरी नि घर आउनैपर्ने ढिपी गर्यो। मलाई सम्झना छ, महिना दिने जाडो बिदा भएकोले हाम्रो भेटघाट भएको थिएन। भेट भएपछि हामी एकअर्कासँग चाँडै नजिकिएका थियौँ। तर घर चिनेको थिएन, अलि अप्ठ्यारो पनि लाग्यो र म अक्मकाए। तर उ मानेन। 'आऽऽमा नि ! तैले गर्दा ह्याँ के के भो। अब भोलि आइज यहाँ अनि सबै कुरा थाहा पाउलास् नि' लौ के बिगार पो गरे की बा, भन्ने सोचेर म झसंग भए उसको कुराले।
भोलिपल्ट घर पुगे। म पुग्नासाथ सबैजना झुम्मिए मेरै वरिपरि। साथीको ३ जना बहिनीहरु र आमा मलाई हेर्दे मुसुमुसु हासीरा'थे। म त छक्क परे। आमाले चाहि भन्नुभो 'ए तिमी नै हौ कैलाश भन्ने नानी?'। म चाहि अलमलमा परेर आखिर कुरा के रहेछ भन्दै दिमाग दुखाउदै थिए।

एकछिनपछि खाजा खाँदै गर्दा पो कुराको पोको फुक्यो। "Hey Sweety, Im fit & fine, but Im missing u a lot. Love u so much dear. Yr love, Kailash". यही बेहोराको एउटा इमेल ठेलेथे साथीलाई। त्यही इमेल उसको बाबाले पढ्न पुगेछ। संयोग फेरी कस्तो भने, साथीको बिहेको लागि इङगेजमेन्टको मिति तय गरिएको दिन परेछ। त्यो इमेलको व्यहोरा र नामको समीकरणले साथीको ब्वाइफ्रेण्ड हुन पुगेछु म। केही बेर हंगामा मच्चिएछ। सबै छोरीहरुसँग सोधीखोजी भएछ। बाबा भनेपछि डराउँने त्यो साथी आफ्नो सफाईमा खरो नउत्रिएपछि म स-शरिर उपस्थिति हुनुपर्ने शर्त तय भएछ। त्यही अनुरुप म हाजिर हुन पुगेछु। केही समयसम्म उसको घर मेरो ससुराली झैँ भएथ्यो।

यसैगरी म अन्य केही साथीहरुको सेरोफेरोमा पनि मैले 'ब्याइफ्रेण्ड'को दर्जा पाएको छु। मेनका भन्ने मेरो मिल्ने साथी छ- यहीको बासिन्दा। म भन्दा उमेरले केही जेठो भए'नि कलेजको दिनहरुमा ऊ हरेक कुरा मेरो सहमति र निर्णयमा नै गर्ने गर्थ्यो। खै किन हो कुन्नी मलाई साथीको साथै अभिभावकझैँ ठान्थ्यो ऊ। पकेट खर्च सकिएमा, कलेजमा जाँच दिने फारम भर्नु परेमा पनि घरमा हैन मसँग कुरा गर्थ्यो। जुनसुकै कुरा पनि मसँग नसोधी गर्दैनथ्यो। संयोग के थियो भने फेरि, त्यत्तिबेला मेरो गेट अप पनि केटाकै जस्तो थियो। बोइज कट हेयर स्टाइल, सर्ट अनि जिन्स र एउटा इस्टकोट। साथमा एक काँधे झोला। उसको घरमा जाँदाखेरी मलाई ज्वाई पो आएछ भनेर जिस्काउँथे आमा र दाईले । गफ गफैमा साथीले भनेको थियो 'म कैलाशको पार्वती हुँ नि त' । त्यहाँदेखि मेरो र मेनकाको कुरा चल्यो कि पार्वती नै भन्छन् घरमा उसलाई। म घरी घरी फोन गर्छु 'ए पार्वती कैलाशको फोन आको छ' भन्दै मेनकालाई बोलाउँछन्। हाम्रो सम्बन्ध आज पनि उस्तै छ- उत्तिकै रोचक अनि रमाइलो। फोनमा कुराकानी गर्दा मेनका मलाई भन्ने गर्छ 'ससुराली नआको धेरै भो, आउने हैन?' । हामीबीचको सम्बन्ध सँधै राम्रै रहीरहन्छ नै। तर मेरो नामको बहानामा हामीबीचको सम्बन्धमा थप एउटा रोचकता या रमाइलोपन थपियो। धेरै लामो के लेख्नु एकैचोटी। 'कैलाश' नाम र म बीचको संयोजनले कम्तीमा हप्ताको एउटा न एउटा गफ त जन्माइरहेकै हुन्छ साथीभाई माझ। यसबारेको अरु प्रसंगहरु थप्दै जानेछु- बिस्तारै बिस्तारै।

महिनादिन अघि जतिको कुरा "कैलाश ! अहो मैले दोस्रो 'पुरुष महिला' भेटे आज", एउटा छलफल कार्यक्रममा वक्ताको रुपमा आउनुभएको उत्तम नेपालीले मेरो नाम थाहा पाएपछि भन्नुभएको थियो। त्यसो त थुप्रै यस्ता नाम हुन्छन्। जो केटा या केटी दुबैकोमा प्रयोग हुन्छ र सामान्य पनि मानिन्छ। यो कैलाश भन्ने शब्द/नाम हाम्रो समाज र मानसिकताले जन्माएको कन्फ्यूजन हो या साँच्चिकै 'पुरुष नाम' नै हो?

Friday, October 17, 2008

राष्ट्रिय नाचघर उद्‌घाटन समारोहका केही दृश्य

दशैको एताउति लन्ठा, रमाइलो खै के के पो भन्नु हौ,को कारणले कुटीमा दीपक जलाउनै सकिन। असोज १८ गते राष्ट्रिय नाचघरको उद्‌घाटन समारोहको केही झलक लिएर म बाँचेकै छु भन्ने पार्नलाई कुटीलाई लटरपटर गरेर लिपपोत गर्दैछु अहिलेलाई।
राष्ट्रिय नाचघरको सामुन्ने टाँगिएको विज्ञापन।

कार्यक्रम शुरु गर्नु अघिको चहलपहल।

अध्यक्ष प्रचण्डद्वारा कार्यक्रममा स्वागत मन्तव्य दिँदै।

बरिष्ठ कलाकार हरिहर शर्माको योगदानको कदर गर्दै अध्यक्ष प्रचण्ड र झलनाथ खनाल।

कलाकारहरु गीत गाउँदै।



तस्बीरः कुटीको साथी 'चिरन मानन्धर'

Sunday, October 05, 2008

आँखै अगाडी विलाएको दशैँ...

'आमा, आज दशैँ है?' निर्दोष र मायालु भावमा बोल्छे झुमाकी ४ वर्षे छोरी।
'हो छोरी आज दशैँ हो' मनमा केही गुने झैँ गरी जवाफ दिन्छे झुमा।
'त्यसोभा आज हामी चिचि खाने हगि?'
'हो, आज हामी चिचि खाने । बाबाले ल्याउँदै हुनुहुन्छ। एक्कैछिनमा है'छोरीहरुलाई थम्थमाउँदैछे झुमा। तर उस्को मन पनि कम हतारिएको कहाँ छ र?

दशैँ भित्र्याउँने सूर कसेर झिसमिसेमा ओछ्यानबाट उठेर हिडेको लोग्नेको प्रतिक्षामा छे झुमा। अरु बेला पकाइतुल्याई गर्दा र अलि परको सार्वजनिक इनारबाट पानी ओसार्दैमा थाहै नपाई मध्यदिन हुन्थ्यो। तर आज त्यही विहान उदेक लाग्नेगरी लाम्बिएको लम्बिएकै छ।

बाग्मतिको किनारमा एउटा छाप्रो छ झूमाको। जहाँ ४ जनाको जहान बस्छन्। झुमा, उसकी दुईटी बालख छोरीहरु अनि उस्को लोग्ने बुँदे। पोहोरको दशैसम्म गाउँमा थिए उनीहरु। गाउँको पुछार ऐलानी जग्गामा एउटा घर थियो। त्यसबाहेक आफ्नो दुईटी छोरीहरु नै उनीहरुको जायजेथा हो। दाउँरा बोकेर बेच्थे, मेलापात र बनीबूतो गरेर जीविका धान्थे। २ दिन लगातार परेको वर्षे झरीले उनीहरुको बासलाई भीरतिर सोहोर्यो। झुमा र बुँदेको मुन्टो लुकाउने बास मात्रै लगेन त्यो झरीले । उनीहरुको साहस र पौरखलाई पनि गलायो, चकनाचुर पारीदियो। त्यसपछि राम्रो जीवन जिउँने आशमा गाउँबाट शहरतिर बाटो लागे। भौतारिदा भौतारिदा काठमाडौं छिरे। त्यसपछि शुरु भयो शहरसँगको भलाकुसारी। बुँदेले घरघरबाट फोहोर मैला बटुल्ने काम पायो।

सबैतिर दशैँको रमझम, खानपिन र हल्लाखल्ला भएको ५ दिन भयो। वरपर आकर्षक र तलैतलाको अग्ला अग्ला घरहरु, ती घरलाई सुरक्षा दिने पर्खाल तथा तारहरु छन्। ती पर्खाल र तारहरुले त्यहाँभित्रको रमझम र हल्लाखल्ला छेक्न नसकेकोमा झुमालाई औडाहा लाग्छ। आफ्नो गरिबी र लाचारपनासँग अत्ति नै रीस उठ्छ। दशैको नाममा एक छाक मिठो मसिनो पकाएर आफ्नो सन्तानलाई खुवाउन धौ धौ हुनुको पीडा आँखामा छल्काउँछे। पीडाले छल्किएको आँसु फरियाको फेरोले पुछ्दै छोरीतिर हेर्दै आफैसँग प्रश्न गर्छे झुमा- गाउँको दशैँ र शहरको दशैँ अलग्गै किन भाको होला? गाउँमा त सबैको दशैँ एकैचीटि आउँथ्यो, एकैचोटि जान्थ्यो। यहाँ ठूल्ठूला घर अनि थरीथरीका चीजबीजहरु छन्। तर आफ्नो घरमा केही छैन किन होला यस्तो? झुमाको मनमा यस्ता अनेक प्रश्नबाहेक अरु कुरा सल्बलाएकै छैन यसबेला।

'अब हामी चिचि खाने हि बुनु' दिदीबहिनी रमाउँदै खेल्दै गरेको दृश्यले झुमा झस्किन्छे। लोग्नेले मासु ल्याइपुर्याउँला र पकाएर छोरीहरुलाई दिइहालुँ भन्ने हतारमा स्टोभ तयार पार्छे। कराई ठिक पार्छे। पोकापाकी सबै फुकाउँदै मरमसला भेला पार्छे।

बुँदे हरेक दिनझैँ एकाविहानै उठेर घरघरबाट निस्किने फोहोर-मैला बटुल्ने काम सकेर मासु पसलमा जान्छ। १ किलो खसीको मासुको पैसा तिरेर हातमा झोला झुण्ड्याउँछ। खल्तीमा हेर्छ जम्मा दश रुपैयाँ बाँकी छ। भएनि मनमनै- 'आज त जहान परिवार मिलेर खाइने भो, आखिरी दशैँ पो त' भन्ने सोचले खुशी हुन्छ। छेवैको नाङ्लो पसलमा गएर चुरोट किन्छ र धुवाँ उडाउँदै वरपरको चलहपहल नियाल्दै घरतिर लाग्छ। हिड्दाहिड्दै हातमा बोकेको दशैको पोकोमा छोरीहरुको खुशी देख्छ बुँदे। आफ्नी प्यारी झुमाको फुर्तिलोपनसहितको हसिलो मुहार देख्छ ऊ। त्यो हातमा झुण्डिएको पोकोमा धेरै खुशी गुट्मुटिएर रहेको छ। झुमालाई पोको हात लाएपछि पोकोमा गुट्मुटिएको खुशी सबैको मुहारमा छल्किनेछ भन्ने मीठो कल्पनासँगै बुँदै लम्कीरहेको छ। मनमा अनेको तरंग र उमंग पैदा गर्दै खुशीलाई भित्र्याउँने हतारमा छिटो छिटो पाइला चाल्दै छ बुँदे।

एक्कासी कुकुरले झम्टिन्छ- न कुनै भुकाई न कुनै संकेत। हुन त पहिला पहिला पनि फोहोर मैला बटुल्ने क्रममा कुकुरहरुको आँखाको तारो बन्नु पर्थ्यो बुँदेले। अरुको घरघरमा जानुपर्ने हुनाले पनि त्यत्ति बेलाको अवस्थासँग बुँदे सधै सचेत हुन्थ्यो। तर बुँदेको लागि आज बेग्लै परिवेश र उमंगको बेला छ। दशैँको पोकापाकी बोकेका अन्य बटुवाहरुको माझमा बुँदे नै किन कुकुरको नजरमा पर्यो? आखिर किन?

अचानक भएको त्यो आक्रमणले बुँदे झँस्किएर अक्क न बक्क हुन्छ। सोच्दै नसोचेको कुरा हुँदा एकछिनलाई दिमाग खाली हुन्छ। शरीर चिसो हुन्छ। हातमा बोकेको झोला भुईमा झर्छ- फ्यात्त। उसको आँखा खुल्लै छन् अनि त्यो आँखाले हेरीरहेछ- त्यही कुकुरलाई, अनि उसको चर्तीकलालाई। तर खुला आँखाले हेरीरहेको कुरा दिमागले पढ्न भ्याएकै छैन। हातमा झुण्डिएको झोला खसेको आवाजले कुकुरको ध्यान खिच्छ। बुँदेलाई भुक्न र झम्टिन छाड्छ। भुईमा झरेको पोका खोतलखातल पारेर टपाटप खान थाल्छ। अरु कुकुरहरु पनि जम्मा हुँदै हारालुछ गर्दै मासुको चोक्टा खान थाल्छन्।

बटुवाहरु यसो हेर्छन् अनि बाटो लाग्छन्। कसैले ध्यान दिँदैनन्। हेर्दाहेर्दै प्लाष्टिकको झोलामा पोका परेको दशैँ सकिन्छ। झोला झ्यान्द्रो झ्यान्द्रो पारेर कुकुरहरु ङ्यार्रर ङुर्रर गर्न थाल्छन्। काक्राको थाक्रो झैँ बुँदे ठाउँको ठाउँ उभ्या उभ्यै छ अझैपनि। बिस्तारै कुकुरहरु त्यहाँबाट हराउँछन्।

सबै खुशी चकनाचूर भएर बिलायो पलभरमै। बुँदे बडो असमञ्जस्यमा पर्छ। के गरुँ कसो गरुँ? कसलाई गाली गरुँ? कसलाई गुहारु? पाइला चालु कि नचालुँ? नचाल्नुको उपाय नै के छ र? चालु भने कुन दिशामा? खल्तीमा ७ रुपैयाँ छ दाम। खाली हात घर जाउँ भने कुन मुखले जाउँ? हातभरी पारुँ भने के उपाय छ र यो विरानो शहरमा? बुँदेको वरपरको सबै चीजबीच घुम्छ। अनि आँखा चिम्लिन्छ। दुईटी छोरी र छोरीकी आमा आफ्नो बाटो हेरेर दशैँलाई स्वागत गर्न आतुर भएको देख्छ। त्यसबेला आफ्नो भन्दा ती कुकुरहरुकै जीवन जाती रहेछ भन्ने लाग्छ। आफैलाई धिक्कार्छ।

सडक छेउमा टुसुक्क बस्छ। जिन्दगीको सबैभन्दा नमिठो र संसारकै लाचारी र निम्छरो बाबु र लोग्ने भएको अनुभव गर्छ। सुनिदिने कोही नहुँदा आफ्नै मनसँग वार्तालाप गर्न थाल्छ- 'दशैँको दिनमा सागमा आफ्नै छाया देखिनेगरी झोल हालेर जहान परिवारलाई दिनु? अहोऽऽऽ कत्ति नमि...ठो। अनि जहान छोरीहरुले मानुन् पनि किन? के उनीहरुको देह हैन र? बाहिरी आँखाले देख्ने दशैँ मनले भोग्न नसक्ने भो। एक पाइलाको दुरीमा उभिएको दशैँ फुत्काउँने म हुतिहारा, कर्महारा। अझ म भन्दा अभागी ती मेरी सानी सानी छोरीहरु। जसको मुखमा एक छाक मिठो मसिनो खाना जुटाउँन नसक्ने म निम्छरो। के के न पाइन्छ भनेर शहर आइयो। ईऽऽऽ खाइस्! आँखा अगाडी खानेकुराको चाङ हेरेर भोकोपेट बस्नुपर्ने। थुइक्क जीवन। यस्तो हालतमा म रुन पनि सक्दिन'। लामो सास फेर्छ।

'साला काठमाडौँ, साला यहाँको दशैँ, साला म, साला कुकुरहरु, साला...' रीसले झोक्किँदै जुरुक्क उठ्छ। मुखभरी आको गाली फलाक्न सम्म फलाक्छ। तर उस्को यो अवस्थाप्रति न कसैको चासो छ। न कसैलाई चिन्ता।

Wednesday, October 01, 2008

शनिबारे बिश्राममा गन्धर्व लाइभ म्युजिक

"राम्रो फूल त फुल्नै नहुने
जति बैगुन भएनि मायाको
एउटै गुण छ भुल्नै नहुने"

"रेशम फिरिर रेशम फिरिर
उडेर जाउ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरि"

"उकालीमा पनि हजुर मोटर जाँदो रैछ
ड्राइभर दाईलाई स-सलाम माया सरर जाउँ हिड रेलैमा"
(लाइभ म्युजिकसँगै लाइभ डान्स- नाचिरहेका दर्शकहरु)

२७ सेप्टेम्बर शनिबारको दिन, सारंगी, मादल, बासुरीसँगै माथि लेखिएको गीतलगायत अन्य गीतहरु गाएपछि पलेटी कसेर बसीरहेका दर्शकहरु जुरुक्क उठेर कम्मर मर्काउँन थाले। साईँ-साईँ र सुईँ-सुईँको सिटीसँगै तालीको आवाजले त्यहाँको माहौल निकै रन्कियो। हौसिदै ठट्टा र हाँसी मजाकको शब्दहरु उन्दै दर्शकलाई झनै उचाल्न सघाउँदै थिए- समुन्द्र ब्याण्डका कलाकारहरु। दशैँ तिहारको शुभकामनासहित Live Music by The Gandharbas को बहानामा जमघटको आयोजना गरेको थियो- Leo Club of KTM Ringroad र Nepal Srilanka Youth Forum ले। (बायाबाट क्रमशः रामकृष्ण गन्धर्व, अनिल गन्धर्व, अर्जुन गन्धर्व र शम्शेर गन्धर्व)

म‌ंगल धूनसँगै शुरु भएको सो कार्यक्रममा रामायण गीत, गन्धर्वहरुको पहिचान बोकेको ठेट गीत, विभिन्न लोक तथा आधुनिक गीत तथा धूनहरुहरुमा दर्शकहरु रमाइरहेका थिए। शुरुमै मंगल धूनले दशैँ नजिएको आभाष हुन्थ्यो। रामायण गीतमा सीतालाई लंका पुर्याइएयो भने रानी मन्दोदरी गीतमा सीतालाई रावणको कैदबाट मुक्त गरियो। 'राधा पियारीको बाला दिनदिन जोवन त्यसै ढल्कीगयो' (गन्धर्व जातीहरुको विवाहमा गाइने विशेष गीत), 'रामायण गीत' र 'रानी मन्दोदरा सपनीको विपनी भयो' (गाउँघरमा घुम्दा-डुल्दा गाइने गीत),'काँचो स्याउ दान‌ा दिनपनि सानु रातपनि तिम्रै सम्झना' (गन्धर्वहरुको लोकगीत)लगायतका गीतहरुमा गन्धर्वहरुको पहिचान झल्किन्छ। गाउँघरमा गन्धर्वका गीत, कला र सृजना सुन्नेहरुका लागि पुराना दिनहरु ताजा भए। पुरानै गीत-संगीत र धून भएनि लगभग साढे २ घण्टाको समय अवधिभर सबैजना रमाइरहेका देखिन्थे। गन्धर्वका गीत-संगीत नसुनेकाहरुका लागि भने नयाँ स्वाद नै भयो सायद। (गन्धर्वका लाइभ म्युजिकमा मग्न दर्शकहरु)

तनहुँका ५ जना गन्धर्वहरुको समूहः अनिल गन्धर्व, रामकृष्ण गन्धर्व, अर्जुन गन्धर्व, शम्शेर गन्धर्व र बुद्ध गन्धर्व, जो आफ्नो पुर्ख्यौली पेशालाई कुनै न कुनै हिसाबले जोगाईराख्न संघर्षरत छन्। त्यसै क्रममा उनीहरुले 'समुन्द्र ब्याण्ड' निर्माण गरे। त्यही ब्याण्डमार्फत उनीहरुले आफ्नो कला, गला र पेशालाई जीवन प्रदान गर्दै आइरहेका छन्। समुन्द्र ब्याण्डकै नाममा एउटा म्युजिक एल्बम पनि निकालिसकेको यो समूहले यस्ता थुप्रै कार्यक्रम गरिसकेको छ।

लोप हुँदै गइरहेको गन्धर्वहरुको पहिचान बोकेको परम्परागत पेशालाई बचाउँदै आधुनिकतासँगै कसरी अगाडी लैजाने भन्ने ठूलो चुनौती बनेको छ आज। यसबारेमा स्वय‌ं गन्धर्वहरु पनि सचेत बन्नैपर्ने हुन्छ र केही हदसम्म सीमित समूह नै सही तर सचेत बन्दै गइरहेका पनि छन्। आफूलाई चिनाउँनु मात्रै हैन अरुलाई चिन्नु र अरुको कुरा बुझ्नु पनि उत्तिकै महत्वपूर्ण छ भन्नेतर्फ पनि कलाकारहरुको ध्यान खिचिएको थियो कार्यक्रममा। विविध खालका गीत-संगीतहरु प्रस्तुत गर्नुका साथै बेला बेलामा 'गीत कस्तो लाग्यो/धून कस्तो लाग्यो यहाँहरुलाई?' र गन्धर्वको पहिचान बोकेको गीत या धुन प्रस्तुत गर्दाखेरी आवश्यक जानकारी दिँदै दर्शकहरुसँग प्रतिक्रिया पनि लिँदै थिए उनीहरु। कार्यक्रम सकिएपछि समुन्द्र ब्याण्डका कलाकारहरुलाई भेटेर धन्यवाद र प्रशंसासहितको अभिव्यक्ति दिने दर्शकहरु थुप्रै देखिन्थे।

Tuesday, September 30, 2008

शुभकामना

खुला आकाशमा बेफिक्रीसँग उडेका यी बलुनझैँ हामी सबैको जीवन स्वस्थ र स्वतन्त्र अनि फुर्तिलो रहीरहोस्।

आज घटस्थापना, विधिपू्र्वक दशैँले गृह प्रवेश गरेको दिन। यहि अवसरमा कुटीको सम्पुर्ण सारथी-साथीहरु तथा सम्पूर्ण नेपाली दिदिबहिनी-दाजुभाई तथा अभिभावक वर्गहरुमा हार्दिक मंगलमय शुभकामना छ। स्वच्छ, स्वस्थ र स्वस्फुर्त रुपमा दशैँलाई मनाऔँ। सबैमा दुर्गा भवानीको कृपा दृष्टी र साथ रहीरहोस्।

Sunday, September 28, 2008

सिरियल हैन ग्याँस

केही समययता खाना बनाउने ग्याँसको अभावले सबैलाई निकै नै पिरोलेको छ। ग्याँसको कारणले सबैलाई आ-आफ्नै समस्या उत्पन्न भएको छ। सबैलाई समस्या भएपनि खाना पकाउँने मामिलामा गृहिणीहरुको लागि ग्याँस नहुनु निकै नै समस्याको कुरो हो।

केही महिना अघिसम्म पसलमा किनमेलमा जाँदा होस् या फुर्सदमा दिदीबहिनीहरुसँग गफगाफ गर्दाखेरी होस् भारतीय टेलि सिरियलको कुरा ननिक्लेको सायदै हु्न्थ्यो। पसलहरुमा पनि त्यही सिरियलहरु हेरिरहेका हुन्थे पसल कुर्ने पसले दिदीबहिनीहरु। सिर्फ दिदीबहिनीहरुमा मात्रै हैन सम्पूर्ण परिवारमा नै त्यसको प्रभाव परेको भान हुन्थ्यो। आजकाल त्यही गल्ली, चोक र पसलहरुमा सिरियलको सट्टा ग्याँस र सजिलै उपलब्ध हुन छाडेको अन्य दैनिक उपभोग्य बस्तुको बारेमा चर्चा र गफगाफ चलिरहेको हुन्छ। गृहिणी दिदीबहिनीहरु छरछिमेकसँग एकअर्कासँग सामान्य बोलचालमा 'खाना पाक्यो?' भन्नुभन्दा पनि 'ग्याँस छ?' भन्ने गरेको सुनिन्छ। अनि 'फलाना सिरियल हेर्यौ?' भन्नुको सट्टा 'आज कतै ग्याँस आयो?' भन्ने गरेको सुनिन्छ (हुन त नेपालको स्पेस च्यानल र भारतीय च्यानल- सोनी र स्टार प्लसबीच समझदारी कायम हुन समय लाग्दा केही समय ती च्यानल थिएनन्। हाल पुनः प्रसारण भइसकेको छ)।

कतिपय (सबैको नहोला) गृहिणी दिदीबहिनीहरुको मनोरञ्जनको साधन भनेपनि या उनीहरुको कामकाजबाट बचेको फुर्सदको समय बिताउँने साधन जे भनेपनि, टेलिभिजन र त्यसमा प्रसारण हुने विभिन्न कार्यक्रमहरु मुख्य मुख्य चासोको विषय हुन्। त्यसमा पनि भारतीय च्यानल सोनी र स्टार प्लसबाट प्रसारण हुने हिन्दी टेलिसिरियल र तिनका पात्रहरु नै भएको कुरा हामीले विभिन्न माध्यमबाट सुन्न र पढ्न पाइरहेका हुन्छौ। नेपाल टेलिभिजनबाट प्रसारण हुने केही हाँस्य टेलिश्रृंखलाहरुले पनि यो विषयलाई उठाएका थिए। अस्मिता नामक एक संस्थाले सर्भे गरेर नेपाली महिलाहरुमा टेलिभिजनको प्रभाव नामक एउटा किताब २००३ मा प्रकाशित गरेको थियो। जसअनुसार धेरै उत्तरदाताले नेपाल टेलिभिजन हेर्ने र त्यसमा पनि समाचारलाई नै बढी प्राथमिकता दिएको उल्लेख गरिएको छ। त्यसको साथसाथै भारतीय च्यानलबाट प्रसारित हुने सिरियलहरुले नै टेलिभिजन हेर्ने बानीको ठूलो समय लिएको र एकआपसमा छलफल, चर्चा-परिचर्चा र टीकाटिप्पणी गर्ने गरेको विषय पनि तिनै भएको देखायो। सो पुस्तकमा टेलिभिजन कार्यक्रम र टेलिभिजन हेर्ने महिलकाबारेमा अन्य थुप्रै कुराहरु छन्। अहिलेको अवस्थामा त्यो कत्तिको मिल्दोजुल्दो हुनसक्ला/नसक्ला। त्यो आफ्नै ठाउँमा छ।

म कामबाट घरको कम्पाउण्ड छिर्दाछिर्दै जहिले नि कसै न कसैले ग्याँसको बारेमा सोध्न या कुरा सुनाउँन भ्याएकै हुन्छ आजकाल। मैले भर्खरै भर्खेरै एउटी छिमेकी दिदीलाई सोधे- 'दिदी आजकाल कसौटीमा के हुँदैछ?', 'कसौटी न कसौडी, ह्याँ आफ्नो भड्डुमा भात नपाक्लाझैँ भा'छ। यो पनि बेला हो र त्यस्तो कुरा गर्ने'। आब्बुई म पो चकित परे। नत्र तिनै दिदीबहिनीहरु सिरियलको गरगहना र ड्रेसअप, मेकअप अनि पात्रहरुको हाउभाउको बारेमा चर्चा परिचर्चा गर्नमा बढो चासो राख्थे। कम्तीमा हप्तामा दुई-तीनपटकसम्म यो कानमा त्यस्ता कुरा ठोक्किन आउँथ्यो। तर अहिले कसैले ग्याँस ल्याएमा निकै खुशी र हल्लाखल्लाको समाचार बन्छ।

एकजना दिदीले १५५० मा ग्याँस ल्याएछिन् ४ दिन अघि मात्रै। निकै खुशी थिइन् उनी। हिटरमा र मट्टीतेलको भरमा खाना पकाउँदै थिइन्। भन्दैथिइन्- 'ए बैनी मैले आज ग्याँस ल्याए। अब दशैँमा ढुक्क भो। पुरै कोठा अनि ज्यानै मट्टितेल गन्हाउँन थालेको थियो', अझै उनी ग्याँस पाउँनुको रहस्य खोल्दैथिइन्- 'थाहा छ पसलेहरु चलाख छन् नि। यसो मौका हेरेर पसलमा गएर फुत्काउँनु सक्नुपर्छ नि'। दिदीबहिनीहरु आजकाल पनि समय मिलाएर सिरियल हेर्ने गर्छन्। तर उनीहरुको मुखमा ग्याँस सकिएको, ग्याँस नपाएको कुरा नै झुण्डिएको हुन्छ। दशैँको मुखमा पकाउँन गाह्रो हुने, फेरी बिजुलीको पनि टुंगो नहुनु, मट्टितेलको पनि अभाव हुनु, महंगी बढ्नुजस्ता कुरामा बढी चिन्तित देखिन्छन्। त्यसैको बारेमा एकआपसमा कुराकानी गरेको सुन्न पाइन्छ। न की कसौटीको प्रेरणा-अनुराग-बजाज अनि क्यू किको तुलसी-मिहिर-मन्दिराले अब के गर्लान् भन्ने बारेमा।

कुन सिरियलमा क-कस्ले के भन्यो र के गर्यो भन्ने भन्दापनि आजकाल कुन पसलमा कहिले ग्याँस आयो र क-कसले ग्याँस लगे भन्ने कुरा प्रमुख हुन थालेको छ। अनि कुन कुन पसलेले कसरी ग्याँस बितरण गर्दैछन्? भन्ने बारेमा चासो बढेको देखिन्छ। साना-साना नानीहरु र बृद्धबृद्धा सासूससूराहरुको खानपान, मझौला नानीहरुको स्कूल/कलेज र श्रीमान्‌को अफिसको लागि समयमा खाना बनाउँनुपर्ने हुनाले उनीहरुमा यो चासो पलाउनु स्वभाविक हो। एउटा ग्याँस पाउनको लागि एउटा ग्राहकले ३ महिनासम्म कुर्नुपर्ने। अनि पसलेहरुको पनि आ-आफ्नै बाध्यता र गुनासाहरु पनि छन्। त्यस्तो बेला ग्राहकले किचकिच गर्नु एकातिर छ अनि पसलेले ग्राहकलाई राम्रोसँग ब्यवहार नगर्नु अर्कोतिर छ।

२ महिना अगाडीदेखि मेरो ग्याँस लाइनमा थियो। बेला बेलामा सोध्नलाई पसल जाने गर्थे जाँदाखेरी केही भन्नु अघि नै पसले आफ्नै लम्बातान कुरा सुनाउँथ्यो- 'अब म यो ग्याँसको पसल नै छाडीदिन्छु। नाफा न साफा दिनदिनै किचकिच सुन्नुपर्छ, फोकटमा पसल कुर्नुपर्ने।' चलाउँदै गरेको ग्याँसले सकिने संकेत दिन थालेपछि म फेरी गएँ। तर त्यहाँ साहुजी नै थिएनन्। छेउछाउँका पसलेहरुसँग सोध्दा नि पत्तो लागेन। मसँग भएको नम्बरमा डायल गरे पसको एक छेउमा भएको टेलिफोन बज्यो। आडैमा एउटा सूचना टाँसिएको थियो त्यहाँ। त्यसलाई खर्रर पढे अनि लेखिएको सूचना मोबाइलमा कैद गरे।
जहिले हेर्यो ग्याँस पसलमा पसले साहुजीसँग कसै न कसैको गलफत्ते चल्दै गरेको हुन्थ्यो। सायद त्यसैले पसले साहुजी धेरै दिक्क भएछन् क्यारे। अनि सूचना टाँसेर, त्यही सूचनालाई पसल कुर्ने र ग्राहकहरुसँग 'डिल' गर्ने जिम्मा दिएर हिडे एताउति, कतै।

अब मेरो ग्याँस सकियो। पर्यो फसाद। अनि सकिएको अर्को ग्याँस सिलिण्डरसँगै म र छिमेकी दिदी सोझै ग्याँस पसल पुग्यौँ। त्यत्ति खेर पनि साहुजी थिएनन्। अब ग्याँसको खाली सिलिण्डर बोकेर फर्किने कुरा पनि भएन। सबै पसलेहरुसँग सोध्दा कोठा गाको छ भन्थे। केहीबेरमा एउटा १२/१३ वर्ष जतिको सानो भाई देखा परे पसलमा।
'भाई तिमी हो यहाँ बस्ने?',
'हैन। अंकल हो म त के हुँदैछ यहाँ भनेर हेर्न मात्र आको'।
'अंकललाई यहाँ जानु रे भनिदेउ न है'।
'हुन्छ'।
पसले दाई खुरुखुरु आए। त्यत्तिन्जेलमा अरु ३ जना मान्छे जम्मा भइसकेका थिए। नाम लेखाउँनु थियो भन्दाखेरी 'उ त्यहाँ पढ्नुस्' भन्दै सूचनातिर औँल्याइदिएर साहुजी आफ्नो सूर गर्न थाले। पहिलेको सूचनाको ठाउँमा नयाँ सूचना टाँसीसकेछन्। त्यहाँ लेखिएको थियो- लौ खा। पुरानो ग्याँस नि पाको छैन। त्यसमाथि नयाँ ग्याँसको लागि नामै लेख्न बन्द।
'तपाईहरुकै लागि हो यो सबै। यहाँ खाली सिलिण्डर राख्ने ठाउँ नै छैन। नाम लेखेर मात्रै के गर्नु। तपाईहरुलाई बिनासित्तिमा आश लाग्छ। मलाई चाहि किचकिच सुन्दा र दिमाग दुखाउँदाको हैरान' पसले साहुजी यस्तरी बोले की मानौ उसलाई सासै फेर्न पनि मन लागेको छैन। सकभर आफ्नो कुरा बुझाउँने प्रयत्नमा थिए उनी।

सानो परिवार अनि सबैजना बयस्क भएको परिवारमा केही दिन या केही समय मिलाउँन सकिएला। तर जसको घरमा बृद्धबृद्धा, बिरामी, बच्चाबच्ची अनि स्कुले नानीहरु छन्। त्यस्तो परिवारमा खाना बनाउनको लागि ग्याँसको अभाव हुनुले सबैलाई पिरोल्नु त छँदैछ। खाना बनाउँने व्यक्तिलाई अझ कत्रो हण्डर हुन्छ। त्यसैले पनि आजकाल गृहिणीहरु सिरियल हैन ग्याँसको कुराकानी गर्छन् र ग्याँस चलाइराखेकाहरु 'सकिने पो हो कि?' भन्दै सतर्क भइराखेका छन्। अनि ग्याँस सकिएकाहरु दिनदिनै पसलमा सोध्न जानु र साथीभाइसँग 'ग्याँस पायो भने खबर गर्नु है' भन्ने गर्छन्।

Tuesday, September 23, 2008

दशैँ आयो खाउँला पिउँला

'हलो, ए कैलाश म बोल्दैछु, म। चिनिस्? तँ सन्चै छस् नि हैन?'
शनिबारको दिन। खानपिन सकेर सरसफाई गर्दैथिए। कानै खाने गरी हजुरमाको आवाज सुनियो। धेरैपछि कुराकानी हुँदै थियो हाम्रो। औद्यी खुशी लाग्यो मलाई। आफ्नो भन्दानि हजुरमाको कुरा सुन्नु छ मलाई। त्यसैले हजुरमालाई नै बोल्न दिन्छु।
'म'नि अहिलेसम्मन् त ठिकै छु। अब दशैँको सूरसार हुँदैछ। यो पाली त आउँछस् होला नि?' खुशी हुँदै हजुरमा पनि चर्को चर्को आवाजमा बोल्दैहुनुहुन्थ्यो- 'दशैमा जसरी नि आइज भन्नु पनि खै कसरी भन्नु। गाडी बाटो छैन रे भन्छन्। सक्छस् भने आइज है। म बूढी, अर्को पालीको दशैँ भेट्छु कि भेट्दिन कुन्नी' ४ साल भइसक्यो दशैँमा घर नगाको। त्यसैले हजुरमा आफू पाको भाको हुँदै गाको कुरालाई जाहेर गर्नुहुन्छ।
'अर्को पालीको दशैँको किन चिन्ता लिएको नि अहिलदेखि। बेकारमा' रिसाउँदै भनिदिन्छु म।
'काम गर्ने बेलामा नआए'नि खाने बेलामा त भेला होओ न नानी हो' छोरा-बुहारी, छोरी-ज्वाइँ, नातीनातीनीहरु सबै लाखापाखा। चाडबाडमा मात्रै भएनि भेला हुन पाएमा हजुरमाको मुहारमा बेग्लै चमक हुन्थ्यो। वर्षभरी एक्लै घरव्यवहार धानेको पीडा बिर्सनुहुन्थ्यो सायद।

'ए एता सुन त- यो पालीको बंगुर निकै सप्रेको छ। खाने मान्छे छैनन्। आइज है बरु टीका लगाएर भोलिपल्ट फर्की हाल्नु नि है' फकाउँदै बोलीरहनुहुन्छ हजुरमा। त्यत्तिकैमा क-याककुरुक क-याककुरुक आवाजले हजुरमाको आवाज अस्पष्ट हुन थाल्छ। कहिले झिरिरि झिरिरि आवाजमा हजुरमाको स्वरलाई यो मोबाइलले कन्भर्ट गरेर सुनाउँछ। केही पनि नबुझेपछि राम्रो आवाज सुनिने आशमा कोठाको चारैपाटा घुम्छु। कोठा बाहिर निस्किन्छु।
'हेलो, हेलो, हेलो मैले केही'नि बुझिन हजुरमा' मेरो आवाज पनि हजुरआमाले बुझ्नुभो कि भएन कुन्नी। त्यहीबेला ट्वाक्कै लाइन काटिन्छ झ्यार-झ्यारे आवाजसँगै। त्यसपछि फेरी घण्टी बज्यो। फेरी काटियो। फेरी घण्टी बज्यो। फेरी उस्तैगरी काटियो। तीनपल्ट यही क्रम चलिरह्यो। एकछिनपछि न फोन आयो। न त मैले गर्दा नै फोन लाग्यो। निल्नु न ओकल्नुको घाँडो मोबाइल सर्भिससँग रिस उठ्यो। न मोबाइल रिसिभ गर्दा धर पाइने, न त डायल गर्दाखेरी नै।

'अपर्झट काम पर्दा त झनै यसले त ठ्याम्मै पो काम दिँदैन त। त्यसबेला जङ त चल्छ नि। भए'नि के पो गर्नु र?' एक्लै कोठामा फत्फतिदै मोबाइल सेटलाई ओल्टाइपल्टाइकन हेर्छु। किट्‌किटिदै थुचुक्क भुइमा बस्छु। पलङमा आड लगाएर केही छिनको फरकमा नम्बर डायल गर्छु। लाग्दै लाग्दैन। न त उताबाट नै फोन आउँछ। दिक्क मान्दै मोबाइललाई पलङमाथि फ्याकिदिन्छु। २ घण्टाको बाटो धाएर फोनमा बोल्नलाई आउनुपर्छ। अनि पालो पर्खनुपर्छ। ६० नाघ्न थालेको हजुरमालाई कत्ति सास्ती छ। कामकाज माया मारेरै आउनुपर्ने बाध्यता पनि छँदैछ।

हजुरमा फरासिली र रमाइलो हुनुहुन्छ। हरेक साल दशैँ आउने बेला जसरीनि फोन गर्नुहुन्छ। घर बोलाउनुहुन्छ। आफूलाई'नि जाउँ जाउँ लाग्छ। तर कहिले के कहिले के हुन्छ। हेर्दाहेर्दै दिन खर्लप्पै खाईदैछ। यही सोच्दै पलङमाथि चढेर ढल्किन्छु।
'ए कैलाश कहाँ छस्? त्यहाँ हल्ला गर्न छाडेर यहाँ आइज त, मलाई सघा सघा' घर वरपर र आँगन छेउछाउ उम्रेको मसिनो झार उखाल्दै हुनुहुन्छ हजुरमा। म त्यतै दौडिन्छु। बोजुले उखालेको झारलाई मेरो सानो डोकोमा बोकेर मलखाडीमा खन्याउँछु। वर्षभरीको झरी र घामले खुईलिएको घरभित्र र बाहिर चुन, कमेरो माटो र रातोमाटोले लिप्ने काम चल्दैछ। घरका सबैजना सरसफाईमा व्यस्त छन्।
'लु लु यो नासपाती'नि लगेर बंगुरलाई हालिदे हालिदे' आँगनै मुन्तिरको करेसाबारीमा नासपातीका दानाहरु भुईमा झरेको छ। त्यसलाई बटुल्दै हजुरमा मलाई अराउँनुहुन्छ। त्यसलाई पनि डोकोमा बोकेर बंगुर खोरमा हाल्न सघाउँछु। खोरमा ३ वटा बंगुर छन्। एउटा मारको दिनमा काट्ने। दुईटा पाल्ने। मारको दिनमा काट्ने सुँगुरमा मेरो विशेष रुचि छ। किनकी त्यसलाई चाँडै मारिदैछ। त्यसलै नासपाती खाएको एकछिन हेरिरहन्छु।
'हजुरमा मार आउन कत्ति दिन बाँकी छ अब?' मारका दिन एकाविहानै उठेर बंगुर केलाएको हेर्ने इच्छाले सोध्छु म।
'१० दिन जति छ अब'।
'अझ्झै १० दिन?' धेरै दिन रहेछ भन्ने लाग्छ, 'अनि कि, टीका लगाउँने चाही कहिले हो?'
'मारको भोलिपल्ट'।
'माथिल्लो घरको कान्छीले भनेको, उस्को हजुरमाले त धेरै पैसा दिन्छ रे उसलाई। मलाई त्यो भन्दा धेरै दिनु है हजुरमा'।
'के गर्न चाहियो तँलाई धेरै पैसा?'।
'किन चाहिनु नि अब, के के हो के के किन्न नि। अनि माथिल्लो घरको कान्छी, अनि त्यो पल्लोघरको माइलीसँग बसेर खाने हामी' फूर्ती लाउँदै आफ्नो योजना सुनाउँछु।
'ल ल दिउँला नि' फुरुङ्ग हुँदै म साथीहरुसँग खेल्न जान्छु।

'ए कैलाश दशैँमा लाउने लुगा कस्तो छ तेरो?', 'चेप्ली (चप्पल)किनेको छ?' साथीहरु सोध्छन् मलाई।
'राम्रो जामा छ नि ओई, हजुरमाले दशमी बजारबाट ल्याइदिनुभाको। अनि तेरो जामा सिलाउने दर्जी छ नि, हो उसैले सिलाको' तिमेरुभन्दा के कम भन्दै नाक फुल्याउँछु म। कस्तो रङको, क-कस्को के के छ दशैँमा लगाउँने? जामा हो कि सट-फरक (फ्रक) हो? दशैमा कस्ले पहिला के के गर्ने भन्ने होडबाजी गर्छौ हामी। नयाँ लुगा लगाएर को पहिला बरडाँडामा बरको रुखमा सालैपिच्छे लगाइने पीङ खेल्न पुग्ने, टीका लगाउन को पहिला मामाघर जाने, दशैमा टीका लाको पैसाले के के गर्ने भन्ने कुरामा पनि जोशिदै तँछाडमछाड कुरा गर्छौ।
'दशैँको पैसाले म धेरै मिठ्ठाई किन्छु, ओइ कैलाश म तँलाई'नि दिन्छु है'।
'म'नि धेरै बलगम किन्छु अनि हामी सँगै खाने है कैलाश' अर्को साथीले पनि थप्छ।
'ल। अनि कि, म चाहिँ धेरै नरिवल किन्छु। अनि हामी भेला भएर खाउँ है'।
'दशैँ आयो खाउँला पिउँला' दशैँमा के के गर्ने भन्ने योजना बनाएर हामी सबै खुशी हुदै, कराउँदै उफ्रिन्छौँ।

एकाविहानै आँखा उघ्रिन्छ। झसङ्ग हुन्छु। आज त मारको दिन। ढिला भो कि कतै? पीर पर्छ। बाहिर निस्केर हेर्छु। माथिल्लो घरको काका, पल्लो घरको दाजु र बाबाले बंगुरलाई आँगनमा राखेर केलाउँन थालीसक्नु भएछ। घरको डिलमा बसेर हेर्छु। चित्त बुझ्दैन अनि छेवैमा जान्छु।
'हन के गर्दैछस् त यहाँ, पर्तिर जा खुकुरीले लाग्ला। बरु एउटा डालो ले, जा' बाबाले अह्राउँनासाथ म खुर्रर कुदेर भित्र जान्छु। हजुरमासँग डालो मागेर तुरुन्तै ल्याउँछु। हेर्दाहेर्दै बंगुरलाई चिरफार गरेर काटकुट पारेर सक्छन्। माथिल्लो घरको काकाले 'मेरोमा मार हान्न जाउँ' भनेपछि तीनैजना आँगनदेखि उकालो ढुंगाको खुड्किला चढ्न थाल्नुहुन्छ।
'ए जेठा, मार हानी सकेर यतै आओ है खानालाई। अरुतिर भरे भोली खाओ पालो गर्दै। वर्षभरीको कामको थकाई मेट्नुपनि पर्छ नि' हजुरमा आँगनमा छरिएका मालमत्ताहरु थन्कोमन्को गर्दै खान आउने उर्दी गर्नुहुन्छ।
केही बेरमा मासुको बिभिन्न परिकार पाक्छ, बडेबडेमानको कराईमा। जाड, रक्सीको छेलोखेलो छ। सबैजना भएर भेला हुन्छन्। अगेना छेवैमा कासको डबकाभरी भरी मासु पस्किदै जानुहुन्छ हजुरमा। त्यसलाई खाने मान्छेहरुलाई दिने मेरो काम हो। त्यो गर्दा खुब मजा आउँछ।
'त्यो भित्तामा भाको पाती टिपेर ले त' टीकाको दिन हजुरमा र बाबा पूजा गर्ने सूरसारमा हुनुहुन्छ। म चाही पाती टिपेर ल्याएर दिन्छु बाबालाई।
'कतिबेला टीका लाउँने?' टीका लाउने हतार गर्दै हजुरमालाई सोध्छु म।
'अब एकछिनपछि। जा, नुहाउँदै पानी लिएर आइज। अनि म टीका लाइदिन्छु' ।
डोको टिपेर सँधै पानी ओसार्ने गरेको २ वटा चिण्डो र चिण्डोकै उघाउने भाँडो अनि एउटा साबुन बोकेर म धारातिर जान्छु। ज्यानमा पानी मात्रै खन्याएर हतार हतार फर्किन्छु। डोको बिसाएर सिँधै नयाँ जामा लगाउँन जान्छु। अनि मुन्टो बङ्ग्याई बङ्ग्याईकन आफैले आफैलाई हेर्छु। असाध्यै मन पर्छ त्यो जामा। अनि ज्यादै खुशी हुन्छु आफैसँग।

'ए कैलाश, लु लु छिटो बढारेर राडी ओछ्या' नयाँ जामा लगाएर टीका लाउँने कत्रो हुट्हुटी छ आफूलाई'नि। त्यसैले टीका लगाउँने ठाउँ छिटो छिटो बढारेर हजुरमाले बुनेको गुन्द्री अनि गुन्द्रीमाथि राडी बिछ्याउँछु। छेउमा खोसेल्टाको पीरा राखिदिन्छु हजुरमाको लागि। टीका लगाउँनलाई हामी सबै लस्करै बस्छौ- बुबा, काका, काकी, दाजु, म अनि भाई। हजुरमाले मेलैमारी टीका लगाइदिँदै खै के के हो फलाक्दै जानुहुन्छ। सानो-सानो चिटिक्कको दुनामा सप्रेको जमरालाई अछेताले पर्छिदै पैसा हाल्दै सबैलाई दिँदै जानुहुन्छ। अनि ढोगभेट चल्छ एकचोटी सबैसँग। टीकाटालोको काम सकिएपछि सबैजना मजाले बसेर खान थाल्छौ। निकै रमाइलो हुन्छ। टीका लगाइसकेपछि हामी दौतरीहरु भेला भएर आ-आफ्ना पैसा देखाउँदै, आ-आफूले लगाएको नयाँ नयाँ लुगाहरुसँग रमाइरहेका छौ। सन्तुष्ट भएर उफ्रिरहेका छौ कराउँदै- 'दशैँ आयो खाउँला पिउँला'।

हाम्रो खुशी र हाम्रो रमाइलो हेरीरहनुभएको छ हजुरमा जुठेल्नामा भाँडा मोल्दै। एकैछिनमा हामी सबैलाई बोलाउनुहुन्छ अनि सोध्नुहुन्छ- 'कस्ले सिकायो तिमेरुलाई यस्तो भन्न?'। हामी अलमल पर्यौँ।
'ल म पनि तिमेरुसँग खेल्छु है' हजुरमा हामीलाई सिकाउँन थाल्नु भो हत्केलाको पाँच औँला देखाउँदै, पालैशान्ती भाँच्दै-
यो कान्छो औँलाले भन्छ 'दशैँ आयो', काइँलो औँलाले भन्छ 'खाउँला पिउँला', साइलो औँलाले भन्छ 'कहाँबाट ल्याउँला', अनि माइलो औँलाले भन्छ 'चोरी ल्याउँला', चोर्नु त नराम्रो कुरा हो अनि जेठो चाही 'धत् हुन्न' भन्दै छुट्टिन्छ। हामी निकै चाख मान्दै कुरा सुन्छौ, हजुरआमाको फिँजिएको हत्केला र औँलालाई हेर्छौ।
'ल तिमेरले'नि गर त मैले जस्तै' सबैजना औँला भाच्दै त्यसै गर्न थाल्छौ- 'दशैँ आयो, खाउँला पिउला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला, धत् हुन्न'।
टाङ्टाङ्टुङ्टुङ्, टाङ्टाङ्टुङ्टुङ्, टाङ्टाङ्टुङ्टुङ् मोबाइलको घण्टी बज्छ।

(त्यस्तैउस्तै कामले एक साताभन्दा धेरै हराएर हाजिर भए म आज। हिजै दिपकजीले ठेल्नुभएको अनुरोध आज पढे 'हामीलाई माया मारेपनि यसो कुटीमा पसेर दीपक बाल्दै त गर्नुस्'। माया त कहाँ मार्न सक्छु र हौ म। अनि अनुरोध स्वीकार्दै धन्यवाद छ दीपकजी तपाईलाई।)

Saturday, September 13, 2008

सिस्नु खाने गरेको छ?

सिस्नु पनि खान मिल्छ र? यस्तो जिज्ञासा थुप्रै सुनेको छु मैले। हुन पनि हाम्रै वरपर भएका स्वास्थ्यको लागि राम्रो मानिने र खान मिल्ने सागपातबारेमा सबैलाई थाहा हुन्छ नै भन्ने हुँदैन। ठाउँअनुसार केही खानपिनहरु पनि फरक-फरक हुन्छन्। प्राय धेरैजसो पहाडी भेगमा सिस्नु खाने गरिन्छ। सिस्नु खाने मध्य सिजन पनि भदौ महिनालाई मानिन्छ (हुन त अरु बेला खान नमिल्ने भन्ने हैन। सिस्नु पाइने मौसममा जुनसुकै बेला पनि खान मिल्छ)। साउन जाँदोदेखि भदौ जाँदो छेकसम्म सिस्नु गर्भिनी हुने (फूल्न थालेको बेला), र पानी पनि कम पर्ने मौसम हुँदा रसिलो, चिप्लो र स्वादिलो हुन्छ। त्यसैले सिस्नु खाने हो भने यसो अलिकति लन्ठा त बेसाउँनै पर्छ। किनकी अरु परिकारझैँ सिस्नु पकाएर बेच्ने गरेकै मैले थाहा पाएको छुइन। कहीँ कतै पाइन्छ होला तर मलाई थाहा भएन।

अब पकाउँने सिस्नु नै कहाँ पाइन्छ? गाउँघरमा त बारी-कान्ला-कुना काप्चातिर छ्याप्छ्याप्ती पाइन्छ। काठमाडौंमा चाहि तरकारी बजारहरुमा पाइन्छ। तर अरु सागपातझै जहीतहीँ पाउँन मुश्किल छ। एकादुई तरकारी पसलहरुमा मात्रै पाइन्छ। र थोरै भएपनि आफ्नै ग्राहकहरु हुँदा रहेछन् सिस्नु व्यापारीको। आज म यहाँ त्यही सिस्नु पकाउँने तरिका सेयर गर्न चाहन्छु।

सामान के के चाहिन्छ त?
+ खाने संख्याअनुसार सिस्नुको मुन्टा
+ थोरै मकै या गहुँको पीठो
+ नून स्वादअनुसार, लसुन ४ बिरा या स्वादअनुसार, टिम्बुर ५ गेडा या स्वादअनुसार लिने (इच्छाअनुसार कागती या अमिलो चुकपनि प्रयोग गर्न सकिन्छ)
+ किनामा (भटमासबाट बनाइएको एक खालको तरकारी, यसबारेमा पछि कुनै बेला लेखौला) १ या २ चम्चा वा रामतोरी (Ladies Finger)२ वा ३ वटा लिने र सानो सानो टुक्रा पार्ने।(गाउँघरको बिना कुनै रासायनिक मलको सिस्नु भएमा यीमध्ये कुनैपनि चाहिँदैन। सिस्नुमा चिप्लोपना ल्याउनको लागि मात्रै यसको प्रयोग गर्ने गरिन्छ। आजकाल अर्गानिक सागसब्जी कम पाइने हुनाले मिठासको लागि अनेक उपाय पनि निस्किहाल्छ।)पकाउँनलाई केलाएर ठिक्क पारेको भदौरे (फूल फुल्न थालेको डुकु) सिस्नु।

अब पकाउँने तरखरमा लागौ है तः
+ पहिला सिस्नु केलाउँने (कलिलो-पिटिक्क पिटिक् भाँचिने टुप्पा र पात छान्ने)।
+ केलाइएको सिस्नु पखाल्नुको सट्टा सबैतिर लाग्नेगरी थोरै पीठो (मकै या गहूँको पीठो) छर्किएर एकछिन राख्ने (किरा लागेको सिस्नुको लागि त्यसो गर्ने गरिन्छ, सिस्नु पखालिएमा मिठो हुँदैन त्यसैले सिस्नु सफा हुनुपर्छ)। केहीछिनपछि सिस्नु टक्टकाएर पीठो झार्ने।
+ गहिरो भाँडा (प्रेसर कुकर या अरु कुनै गहिरो भाँडा)मा पानी (अड्कलेर) उमाल्ने।
+ पानी उम्लिएपछि तयार पारिएको किनामा वा राम तोरी हाल्ने।
+ केहीछिनमा सिस्नु हाल्ने। त्यसलाई केहीबेर उम्लिन दिने।
+ उम्लिराखेको सिस्नु घोट्दै चलाउँने। फिर्के हाल्ने पनि भनिन्छ त्यसलाई। (सिस्नु उम्लीएर बाहिर गएमा मिठो हुँदैन। त्यसैले पानी अड्कलेर हाल्ने। पानी अपुग भएमा बरु उम्लेको तातो पानी थप्न सकिन्छ)।
+ स्वादअनुसार नून हाल्ने। मकै या गहूँको पीठो २ चम्चा हाल्ने र फेरी चलाउँने (यसले थप ग्रेबीपना ल्याउँछ)।
+ अब लसुन र टिम्बुर किच्चाए हाल्ने (धेरै मसिनो हुनेगरी नपिस्ने)।
+ त्यसपछि एकैछिन उमाल्ने।

अब तात्तातो सिस्नु खान मिल्ने भयो (स्वाद मिल्नेहरुले पाकेको सिस्नुमा कागतीको रस या अमिलो चुक हालेर पनि खाने गर्छन्)। प्रायजसोले सिस्नुसँग ढिँडो खाने गर्छन्। त्यसो नभए साविकको खाना र तरकारीसँग पनि खान मिल्छ। तर सिस्नु पकाउँनु अगावै अरु कुरा पकाईसक्नु पर्छ। नत्र सिस्नु सेलाउँछ। सेलाएपछि स्वाद कम हुनसक्छ। मैले माथि उल्लेख गरेको सामग्रीबाट पकाइएको सिस्नुले ४ जनालाई पुग्छ। जय भुँडी।

Thursday, September 11, 2008

मेरो तर्फबाट थप केही कुरा

मेरो मनको बहको लेखन शैली र त्यसपश्चातको कुराले उजेलीजीलाई यत्तिका स्पष्टिकरण दिने अवस्थामा पुर्याउँला भन्ने मैले अनुमानै गरेको थिइन। त्यसमा क्षमा चाहन्छु। त्यही कुरालाई लम्बाउने मन छँदै थिएन। न त मैले उजेलीजीको प्रतिक्रियलाई नै भयंकर ठानेको थिए। उजेलीजीको स्पष्टीकरणमा आएको केही कुराले फेरी मलाई स्पष्टीकरण दिन मन लाग्यो। मलाई मन लागेको कुरा नै मेरो ब्लगमा लेख्दै आएकोमा फेरी पनि उही दोहोर्याउँदैछु। उजेलीजीको कुरामा आएका धेरै कुरा सान्दर्भिक छन्। साहित्य मात्रै हैन जुनसुकै क्षेत्रमा पनि जानीबुझी, त्यस क्षेत्रको मर्म, महत्व, उपयोगिताबारे बुझेर हात हाल्नु जरुरी छ। साहित्य लेखनमा अनेकौ खालका विसंगति र विकृति भित्रिरहेको, गहन र मिहिन ढंगले साहित्य क्षेत्रलाई लिन नसकिरहेको अवस्थामा पक्कै पनि उजेलीजीले उप्काउनु भएको कुरा मननयोग्य छ। जसको पहुँचमा जे छ त्यसबारेमा धेरै जानकार हुनु आश्चर्यजनक कुरा हैन। त्यसको उपयोग कसरी गरिन्छ भन्ने कुरा प्रमुख हो। सम्मानित हुनुपर्ने थुप्रै साहित्यकारहरु बेवास्तामा परेका र जो लायक छैनन् उनीहरु नै माथि देखिएको कुरा सही हो (हुन त साहित्य क्षेत्रमा मात्रै हैन, यो प्रवृत्ति कुन क्षेत्रमा पो छैन र?)। जसमा मेरो दह्रो सहमति छ। त्यत्ति हुँदाहुँदै पनि केही मेरो सन्दर्भबाटै उल्लेख भएका कुराप्रति आफ्नो विचार राख्छु यहाँ (हुन त मैले यसपल्टको पोष्टमा पकाउँने मेलोमेसोलाई तयार पारीसकेको थिए। उजेलीजीको स्पष्टीकरण पढेपश्चात मैले त्यस पोष्टलाई भोलीको लागि re-schedule गरिदिए)।

मैले उजेलीजीको मेरो सप्रष्टीकरण शिर्षकमा लेखिएको स्पष्टीकरण आज मात्रै पढ्न पुगे। पढ्न ढिलो गरेछु। त्यो पढेपछि मेरो मनमा पनि केही कुरा आयो। उजेलीजीको स्पष्टीकरण पढ्न यहाँ जानुहोस्। मुख्य कुरा मैले जे जति जानेको थिए, जति मेरो बूताले भ्यायो त्यत्ति नै लेख्ने काम गरे। नत्र कसलाई रहर हुन्न होला कि राम्रो गरु भन्ने। तैपनि मेरो कविता लेखनको अक्षमताले साहित्य क्षेत्रमा भइरहेको र देखिइरहेको समस्याप्रति उजेलीजीको विचार बाहिर आयो। त्यसमा मेरो अमेल (उजेलीजीकै भाषामा माथिल्लो र तल्लो हरफ मिलाएको) कविता निहुँ भयो। त्यो त राम्रै भयो। कमसेकम त्यसले साहित्यसम्बन्धी थुप्रै अरु कुरा हामीसामु ल्याउने भूमिका निभायो।

त्योसँगै के पनि भन्न चाहन्छु भने मसँग जे जति ज्ञान छ त्यो सबैसँग हुनैपर्छ भन्ने जरुरी छैन। उजेलीजी राम्रो कवि हुनुहुँदो रहेछ (त्यो कुरा उहाँ आफैले क्लेम गर्नुभएकै छ, साथमा भर्खरै पोष्ट गर्नुभएको कविताले पनि थप पुष्टी हुन्छ)। जुन कुरा साहित्य क्षेत्रमा मात्रै नभएर अन्य युवा जमातको लागि, हामी ब्लगरहरुको लागि या कुनै निश्चित क्षेत्र नछुटाइकनै भन्दा नेपालीहरुकै लागि राम्रो कुरा हो। तर यहाँ एउटा मननयोग्य लाग्यो मलाई, कसैको आँगनैमा पँधेर छ र तर अरु कसैको लागि त्यही पँधेराको पानी १ किमी टाढा गाग्रोमा बोकेर लग्नु छ भने दुवैले उत्तिकै परिमाणमा पानी चलाउँन सक्छन् र? के दुबैजनाले आ-आफूसँग भएको पानीले उत्तिकै रुपमा नुहाइधुवाई र सरसफाई गर्न सक्लान र? भन्नुको मतलब उजेलीजी आफ्नो रुचि र क्षमताले कविता लेख्नुहुन्छ। घरैमा पँधेरा भएको भाग्यमानी पर्नुभएछ र सारो गाह्रो परेको बेलामा सफा र योग्य बन्नमा त्यसले अवश्य पनि धेरै नै सघाएको छ। त्यसैले पनि हुनसक्छ उजेलीजीले आत्मविश्वासका साथ भन्नुभएको छ- "म साहित्य क्षेत्रलाई धेरै नजिकबाट चिन्ने र जान्ने मान्छे हुँ । यद्यपि म उमेरमा कलिलै छु तर यो कुरा चाहिँ दावीका साथ भन्न सक्छु कि मेरो उमेरमा मभन्दा बढी साहित्यको अध्ययन गर्ने मान्छे कमै होलान् अहिलेको समयमा"। तर फेरी उजेलीजीको आत्मविश्वास देखिनुमा यही मात्रै कारण हो पनि भन्ने खोजेको हैन मैले।

आफ्नो लागि लेख्ने भए किन पर्सनल डायरीमै नलेख्ने भन्ने कुरामा, आफ्नो लागि र अर्काको लागि भन्ने कुरा के ले निर्धारण गर्छ? त्यसको निर्धारण गर्ने को? हो, हामी एकआपसमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अन्तरसम्बन्धमा गाँसिएका छौ। समाजमा बसेपछि सामाजिक हुनैपर्छ। त्यही कुराको ख्याल गर्नु जरुरी छ। बाँकी सब त आफ्नै विचार, कुरा र इच्छाले निर्धारण गर्छ। म ब्लगिङ गर्दैछु। जानीनजानी सिक्दै आइरहेको छु। र मैले बुझेको कुरा पनि के हो भने, ब्लग एउटा खुल्ला डायरी हो जहाँ आफ्नो कुरा मजाले राख्न सक्छु। र त्यसमा जोसुकैले पनि आफ्नो कुरा मन खोलेर राख्न सक्नु हुनेछ। तर मेरो ब्लगमा मैले के लेख्ने के नलेख्ने भन्ने कुरा म आफ्नै विवेकले निर्णय गर्छु। सबै ब्लगरको हकमा यही लागू हुन्छ होला सायद। यदी कुनै बौद्धिक लेख या डकुमेन्ट या कुनै अनुसन्धानमूलक लेख रचना लेखनझैँ आफ्नै मापदण्ड हुने र चरणबद्ध ढंगले सम्पादकहरुले सम्पादन गरेपश्चात मात्रै सार्वजनिक हुने भए यो ब्लग यत्तिका विधि चलनचल्तीमा आउँथ्यो र? अनि सबैको पहुँचमा हुन्थ्यो होला र? मेरो सन्दर्भमा भन्नुपर्दा मैले गरेको ब्लगिङ अरुको लागि पक्कै पनि हैन। जुनसुकै कुरा लेखुँ तर म आफ्नै लागि व्लगिङ गर्छु। र त्यसमा लेखिएको कुरा जुनसुकै विषयमा होस् त्यो मेरो नितान्त व्यक्तिगत विचार नै हुनेछ। त्यसमा प्रतिक्रिया राख्न, सहमति या विमति जनाउँने हक सबैलाई छ। तब न ब्लगिङको उपयोगिताको केही अर्थ रह्यो।

उजेलीजीको सुझाबलाई सकारात्मक सुझाबको रुपमा लिएर आफूमा भएको कमजोरीलाई भित्रैदेखि ओकलीदिए मैले। उजेलीजीले दिनुभएको प्रतिक्रियाको तेन्द्रो समाएर मैले आफूलाई कविता लेख्न नआउने भनी आत्मालोचना गरे। म आफूले नजानेको कुरामा पूर्ण रुपमा स्विकार्दैमा धम्कीपूर्ण शैलीको लेख बन्छ भने त मेरो भन्नु के छ र। उजेलीजीले त्यसरी बुझ्नु उहाँको अधिकार र आफ्नो विश्लेषण हो। त्यो गर्न उहाँलाई छुट छ। तर त्यसमा मेरो आपत्ति छ। मैले आफुमा भएको कमजोरीलाई पुर्ण रुपमा स्वकार्नलाई उजेलीजीको सुझाबलाई एउटा नमूना बनाए। त्यसले धम्कीको रुप लेला भन्ने सोच नै आएन। यद्यपि अहिले पनि म त्यो ठान्दिन। म कसैलाई धम्की दिने को हुँ? र किन धम्की दिनु मैले? यसको कुनै सान्दर्भिकता छ र? मैले धम्की दिनुको औँचित्य के छ? म त छक्क परे। खैर मैले हैन भन्दा भन्दै पनि मेरो लेखनमा धम्कीको गन्ध टाँसिएकै भएमा कृपया मेरो अनुरोध छ- कसैले पनि त्यसलाई धम्कीको रुपमा नलिइदिनुहोला। मैले त धम्कीको 'ध' लाई पनि कहीँ कतै सोचेको, लेखेको र देखेकै छुइन। अरु त आ-आफ्नै विचार हो।

जहाँसम्म मैले कविता लेख्न असमर्थ भएको कुरामा उजेलीजीको प्रतिक्रियाकै हात छ भन्ने ठान्नु सही हैन। मैले सही रुपमा बुझाउँन सकिनछु। अनि त्यसै सन्दर्भमा उजेलीजीले सकारात्मक र नकारात्मक भन्ने जुन खालको जोड घटाउको विश्लेषण राखिदिनुभो। त्यो पनि व्यक्तिकै दृष्टिकोण, क्षमता र रुचिमा भर पर्छ। मानिलिउँ मैले धुरन्धर कविता लेख्ने भए। त्यो नै सकारात्मक ठहरिएला अहिलेलाई। अनि उजेलीजीको लागि मैले परिमार्जनकै बाटो समाए। अब कविता लेख्नलाई मैले शून्यदेखि नै सिक्नुछ र त्यसमा लाग्ने मिहिनेत र समयमा अरु कुनै काम या लेखन शैली, जुन मैले कविता लेखन भन्दा सहज ढंगमा मेसो पाउन सक्छु भन्ने लाग्यो र त्यतैतिर मेरो रुचि छ र त्यही मेरो प्राथमिकतामा पर्यो। सबैको आ-आफ्नै विशेषता र क्षमता हुन्छ र कमजोरी पनि हुन्छ। मेरो थुप्रै कमजोरीमध्ये कविता लेख्न नजान्नु पनि हो र त्यतातिर लाग्नुभन्दा अरुतिरै लाग्दा उपयोगी हुन्छ भन्ने निर्णयमा पुगे। के अब पनि उजेलीजीकै प्रतिक्रियाको डोरो समाइराख्नु जरुरी छ र। अनि मैले आफ्नै रुचि विरुद्ध गएर कविता लेखनलाई नै निरन्तरता दिई नै राख्नु पर्छ? मेरो लागि सकारात्मक कुरा कुन भयो त? मैले भन्न खोजेको कुरा यति मात्रै हो कि, जोसुकैको पनि जुनसुकै कुरामा आ-आफ्नो विचार हुनसक्छ। तर यहाँ जुन प्रतिक्रियालाई समाएर मच्चियौ, त्यसले मेरो लेखनलाई नकारात्मक हैन सकारात्मक नै बाटो दिएको मेरो ठम्याई छ। त्यसैले यसबारेमा आ-आफ्ना विचार र प्रतिक्रिया दिने जतिपनि साथीहरु हुनुहुन्छ। सबैलाई धन्यवाद दिँदै आभार प्रकट गर्छु म।