Friday, December 05, 2008

हाम्रो प्रेमको भाषा शब्दमा लेखे

ए सिम्मा...
तिमीलाई सम्बोधन गर्दा 'ए' नजोडीकन चित्तै बुझ्दैन । अनि तिमीबाटै मेरो हरेक कामको शुरुआत र अन्त्य पनि नभई हुँदै हुन्न। खै, मनमा हुडालिएको असीमित भावनालाई कुन शब्दले व्यक्त गरुँ यहाँ? म सँग त्यो शब्द नै छैन। म परदेश फर्केपछि त्यस्तो शब्दको खोजी गरी नै रहेको छु। जसले मेरो मनमा चाङ लागेको अथाह प्रेम र मायालाई हुबहू व्यक्त गरोस्। तर त्यस्तो गर्नै सकिरहेको छुइन सिम्मा। के गर्नु, यो मन न हो कहाँ मान्छ र। थोरै भएपनि मन बुझाउन, तिम्रै खातिर, तिम्रै सहारामा टुसाएर झाँगिएका यी भावनाको एक छेउ मात्रै पनि छुवाउने कोशीसमा यो डायरी लेख्दैछु। तिमीसँग भेटेपछिका हरेकपल उब्जिने भावनाको मूल तिमी नै हौ नि सिम्मा । मूल भएपछि भावनाको बाढी कहाँ रोकिन्छ र?

हेर न सिम्मा, तिमी कहाँ थियौँ, म कहाँ थिएँ। तिमी को थियौँ, म को थिएँ। संयोजले हाम्रो भेट भयो। यहि नै मेरो जीवनको पहिलो पल हो। जसले जीवनमा खुशीयाली लिएर आयो। तिमी, अनि म, हामी भयौँ। यो सबै सम्झँदा बेग्लै खालको मिठो अनुभूति हुन्छ मलाई। लाग्छ स्वर्ग नै पाएँ। सृष्टिमा यो पनि एउटा अद्‍भूत काम त हो नि। हैन र सिम्मा? तिमीलाई त्यस्तो लाग्दैन? पक्कै पनि लाग्छ नि हगि? म एउटा संघर्षरत परदेशी। एक्कासी मेरो जीवनमा तिमी पनि संघर्ष गर्न सामेल भयौँ। अनि एकाध महिनाको समयमा मैले पुरै संसार भोगे। तिमी भेट्‍नासाथ मेरो जीवनमा बसन्त छायो। बसन्तको रमझममा सर्वाङ्ग रुपमा मनको ढोका खोलेर तिमीलाई भित्र आउने निम्तो दिए। निम्तो स्विकार्दै मेरो मनको गहिरार्इभित्र तिमीले चियाई हेर्यौ। तिमीसँग आँखा जुध्नासाथ तिम्रो हरेक सास फेराईमै म जीवित भएको महशुश गरे। तिमीलाई भेटेर म यति अधैर्य भए सिम्मा। तिमी नदेख्दा अरु हेर्ने चाहै रहेन। तिम्रो बारेमा नसोच्नुभन्दा होसमै रहन मन लागेन। तिमीलाई साथ दिने हतारमा तिम्रो स्विकृतिको खाँचै महशुश गरिन।

तिमीलाई सोच्ने समय दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि म स्वार्थी बने। थाहै नपाई तिम्रो प्रेमको कसिलो बन्धनमा यसरी बाँधिन पुगेछु, त्यो बन्धनमा तिम्रो स्विकृति नलिइकनै अनगिन्ती सपनाका बीउहरु यत्रतत्र छरे। तिमी बिनाको मेरो अस्तित्व नै विलाइसकेको थियो। दुई दिन, सिफ दुई दिन तिमीले सोच्ने समय माग्यौँ। यही नै थियो तिमीले मसँग बोलेको पहिलो बोली। त्यही बेला तिमी बाहेक अरुले मलाई बुझ्नै सक्दैन भन्ने विश्वास भयो मलाई। तैपनि दुई दिनको तिम्रो मौनताले मैले फेर्ने हरेक सास समेत मेरो लागि धारिलो हतियार सावित भएको थियो। आफ्नै सास फेराईले मन्द गतिमा तड्‍पाइ तड्‍पाइकन चिरा चिरा पार्दै छताछुल्ला पारिरहेको थियो। दुईदिनपछि तिमीले मलाई सुम्सुम्याइकनै समेट्‍नेछ्‍यौ भन्ने विश्वासले म निर्धक्क भएर अझै छताछुल्ल हुन तयार थिए। बस्, तिम्रो एक मायालु शब्दसहितको स्विकारोक्तिको लागि आफ्नै मनस्थितिभित्रको अनगिन्ती नर्कसँग जुध्दै थिए म।

तिम्रो सहमतिको पर्खाइमा मेरो शरिर अनेकौ सोचाईहरु जेलिदै गएर आँख्ला आँख्लाबाट बग्रेल्ती चिचिला पलाउदै गरेको बलियो थाक्रो बनेको थियो। तर मन मस्तिष्कले भावना र सोचाईको प्वाख लगाएर सारा ब्राम्हाण्डलाई अनगिन्ती चक्कर काटेको काटेकै थियो। तिमीले त्यो उडानलाई अझ गति दियौ। तिम्रो स्विकृतिमा मुन्टो हल्लिनासाथ कान्तिमय बगैचाको निर्माण भयो । हुन पनि केही नबोलीकनै, केही नगरीकनै तिमीले मेरो कण कणलाई यत्ति मिठोगरी पगाल्यौ। आफूभित्रै समाहित गर्‍यौ। म र मेरो हरेक पक्षलाई यस्तरी आत्मियतामा कस्यौँ कि म तिमीभित्रै बिलाए। तिमीलाई याद छ सिम्मा? किन नुहुन होला र? नहुने कारणै छैन। 'कहिल्यै बिर्सेको भए पो याद गर्नलाई' अहिले पनि तिमी यसै भन्दैछौ मेरो कानैमा खसुक्क।

पहिलोपल्ट तिमी र म परिवारकै मञ्जुरीमा भेटेका थियौँ तिम्रै घरमा। केहीबेरको थोरै तर साह्रै मिठासपूर्ण संवादपछि म तिम्रो आडैमा बस्ने अनुमति माग्दैथिए- मौन रुपमै। तिमीले पनि समर्थन दियौँ मौनतामै। मौनताकै संवादमा हामी निकै गहिरिएर एक अर्काको भावना बुझ्न अभ्यस्त थियौँ। कहिले तिमी मलाई पुलुक्क हेर्थ्यो कहिले अन्तै हेरेझैँ गर्थ्यौ। कहिले नहेरीकनै मनमनै मुस्कुराउथ्यौँ। तैपनि तिम्रो मुस्कुराहट म प्रष्टै देख्थे। कहिले केही धकाएझैँ देखिन्थ्यौ। कहिले मनमा भएको कुरा भन्न खोजेझैँ देखिन्थ्यौँ। तिमीभित्रको कुरा शब्दमा सुन्नुभन्दा अनुहार र आँखाको भाकामै छल्किएको अति प्रिय र अदभूत थियो। 'तपाई'को सम्बोधनले तिम्रो मौनतालाई भंग गरेको थियो। तिमीलाई 'तिमी' भनेकै खूब मन पर्ने हगि? तर मलाई चाहि 'तपाई' नै भन्नुपर्ने तिम्रो जिद्दी पनि अचम्मको थियो। तर साह्रै मायालु थियो- भुतुक्कै पार्ने खालको।

मैले यो कुरा तिमीलाई मौन रुपमै भनीसके धेरैपल्ट। तिमीले पनि भनेकै हौ। फेरीपनि म भन्दैछु- तिमीलाई हृदयदेखिको आभार सुम्पन्छु सिम्मा। किनकी तिमीले मौनताभित्रैको आवाजलाई सही ढंगले बुझ्ने सामर्थ्य प्रदान गर्यौ। माया प्रेमको गहिराईसँग चिनायौँ र तैरिदै मजा लिन पनि सक्षम बनायौ। 'म' हुनुको बोध गरायौँ। 'तिमी' हुनुको महत्व सम्झायौँ। 'हामी' हुनुको सन्तुष्टी दिलायौँ। शब्दको मिठास एक छेउमा थन्क्याएरै आफ्नो ढुकढुकीको प्रत्येक भाका बुझ्ने मौका दियौँ। सबैभन्दा ठूलो कुरा जीवनको गन्तव्य र सार्थकतालाई औँल्याइदियौँ। यी सबै हाम्रो पहिलो भेटको मौन संवादले दिएको उपहार हुन् सिम्मा।

हाम्रो दोस्रो भेट मेरो (मेरो भन्नु पटक्कै मन छैन अहिले। तैपनि त्यसबेला 'हाम्रो' भन्ने पूर्ण स्विकृति दिएको थिएनौँ तिमीले) घरमा भयो। त्यस दिन पनि हामी धेरै बेरसम्म एकअर्कासँग मौनताकै संवादमा भिज्यौँ। त्यस संवादमा मैले भन्दा तिमीले नै बढी माया गर्छौ मलाई भन्ने विश्वास जाग्यो। थोरै संवादमा तिम्रो विचार र मेरो विचार कत्ति मेल खादो रहेछ भन्ने भेद खुले। हुन त तिमी सधै भन्ने गर्छौ नि सिम्मा 'तपाईले नै बढी माया गर्नुहुन्छ मलाई'। यसरी नै त हाम्रो मायाको पोयो दोहोरो रुपमा बाट्‍दै जाँदा मजबुत भयो (यो पनि तिम्रै शब्द हो सिम्मा। हेर न तिमीबिना म एक पाइला पनि मजाले सार्न सक्दिन हगि?)। अनि 'हामी एकअर्काकै लागि बनेका हौ' भन्ने कुराप्रति शतप्रतिशत विश्वास जाग्यो हामी दुबैलाई।

त्यसबेलाका हरेक पल कहिल्यै मर्दैनन् सिम्मा। म आनन्दले मात्तिदै तिम्रै काखमा टाउको राखेर तिमी मुस्काएको हेरीरहन्थे। तिमी'नि शान्तसँग आनन्द लिदै मलाई मात्तिमा थप मद्दत गर्थ्यौ। तिम्रो भित्री सुन्दरता र सौहार्दता तिम्रो आँखामा छर्लङ्ग देख्थे म। आँखाको भावबाटै एकअर्काको भावना पढ्‍दै थियौँ। तैपनि तिमीले नै पहिले सोध्यौँ मलाई 'तपाई खुशी हुनुहुन्छ नि हैन?'। 'म जत्तिको खुशी अरु कोही देख्यौँ र सिम्मा?' भन्ने मेरो वाक्यले तिम्रो मुहारमा छरिएको ज्योति मेरो आँखैमा बसेको छ। त्यसबखत शान्त तलाउबीच फक्रेको कमलको सेतो र सफा फुलझैँ देखियौँ। फूलमाथि परेको विहानीको शीतको थोपालाई घामको पहिलो किरणले स्पर्श गरेझैँ तिम्रो सुकोमल ओठमा थप मादकता छायो- औद्यी सुन्दर। तत्कालै तिमीलाई मायालु चुम्बनको उपहार टक्र्याउने हुट्‍हुटी जाग्यो। तैपनि मलाई विश्वास थियो तिम्रो बुझाइप्रति।

तिमी मेरो आँखाको भाव पढ्न खप्पिस भइसकेको थियौँ। 'ए सिम्मा, तिमी नि खुशी छ्‍यौ?' भनेर मैले सोधे। ठूल्ठूला आँखाको इशारासँगै चिटिक्क परेको नाक थोरै खुम्च्याएझैँ गर्दै 'धेऽऽऽऽरै खुशी छु' भनेर हाम्रा जोडिएका औँलाहरु मुक्त गर्‍यौँ। मैले तिम्रो आँखामा हेर्दै प्रश्न गरे। प्रतिउत्तर स्वरुप तिमीले दुबै हातले गाला सुम्सुमाउदै निधारमा चुम्यौँ। त्यो क्षण अर्कै संसारमा पुग्यौँ हामी। बेलाबेलामा हुने सटिक र मिठासपूर्ण बोलीपश्चात पुनः हामी मौन संवादमै फर्कन्थ्यौँ। 'हामी' सँगै हुनुको असिम आनन्द, तिमीले चुमेको त्यो क्षण, तिम्रो स्पर्शको मिठो अनुभूति म बयान गर्नै सक्दिन सिम्मा। सिर्फ मौनताकै भाषामा व्यक्त गर्न सक्छु। उस्तै गरी, जसरी हामीले मौन रुपमै संवाद गर्ने गरेका थियौँ। अहिले सक्छ्‍यौ भने तिमीले नै शब्दमा बयान गर न। त्यसो गर्यौ भने हामी असिम आनन्दको अर्को उचाईमा उक्लिन्छौँ। अहिले पनि एकअर्काको मौनताको भाव भालीभाँती बुझ्छौ। तर पनि बोल्न र लेख्न बाध्य छौँ हामी दुवै। त्यसैले पनि म यो डायरी लेख्नको लागि शब्द खोज्दै उन्न लालायित छु सिम्मा। यसमा कतिपय तिम्रो शब्द सुटुक्क चोरेर लेखे। कतिपय तिम्रो प्रतिबिम्बको सट्टा लेखे। कुनै तिम्रो अभावले शब्द बने। कुनै तिम्रो अथाह मायाले सृजना भए। कुनै शब्द तिमीप्रतिको मेरो मायाले जन्मायो। मैले लखे। तर हरेक शब्दमा तिम्रो अधिकार छ भन्नेमा कुनै सन्देह छैन। केही उपाय नलागेर हाम्रो प्रेमको मौन संवादलाई शब्द खोजीखोजी यतिसम्म लेखे।

ए सिऽऽऽम्मा... सिऽऽऽम्मा, यी सबै हाम्रो जीवनको स्वर्णिम आनन्दको चरमउत्कर्षको उत्तम पल हुन्। हाम्री जीवनको सबैभन्दा स्वर्णिम पल।

आजलाई म परदेशीको डायरी यत्तिमै थन्क्याउँदैछु।
५ डिसेम्बर, २००८ (२०६५ मंसीर २०)

10 comments:

उजेली said...

साह्रै खतरा लेख्‍नुभएछ । ओहो !! साह्रै साह्रै मनपर्‍यो । कति छिट्टो सकिएको होला जस्तै लाग्यो मलाई त । यसको दोश्रो संस्करण पनि छिट्टै लेख्‍नु है !!

बेदनाथ पुलामी ( उमेश ) said...

आजै मात्र तपाईलाई मैले हिजो आज तपाई ब्लगमा त्यति समय -पहिलाको जस्तो दिनु हुन्न नि क्याहो भनेको थिए । आघिलो लेखको कमेन्टमा । तर आजनै बबाल लेख्नु भएछ नि !
....अति सुन्दर लागे भावनाहरू .. ..

.....स्कूले जीवन नै पो याद गराइदिनु भयो नि ? निकै भिजेर लेखेको पाए । राम्ररी विगतलाइ सम्झिएर लेखेको पाए ।
...कैलाश जी -टाइटल त ल ठीकै छ तर लेबल '' परदेशीको डायरी'' यो चाहि मैले भुझिन नि?
जेहोस ! गजब ! छ ।

दीपक जडित said...

यस्ता सम्झनाका कुराहरु क्या कैलाशजी , राम्रो भन्दा पनि मिठो हुन्छ जस्ले पढ्दा पनि ।

बिमल गिरी said...

कैलाश जी,
नमस्कार
साह्रै राम्रो लेख्नुभएछ अतिनै मन पर्‍यो।
हुन त पहिलो पटक कमेन्ट लेख्तैछु ।
प्राय जसो जुन तपाईंहरुको टीम हुनुहुन्छ
सबैको श्रीजना पढिरहन्छु। आँफैमा एक प्रकारको
आनन्द लाग्छ। यहाँको कलमको मसी कदापी
नसुकोस। सरस्वतीमाताले रक्षा गरुन।

कैलाश said...

उजेलीजी, बेदनाथ जी, दीपकजी अनि पहिलोपल्ट कमेन्ट ठेल्नुहुने विमल जीलाई धन्यवाद। उजेलीजीकै कुरादेखि म केही भन्छु। उजेलीजी यसको आगामी अंशहरु पनि लेख्ने हेतुले नै मैले शुरु गरेको छु। मन पराईदिनुभो। त्यसले मेरो अठोटलाई अझ बल दियो। अनि बेदनाथ जीले पनि भिजेरै पढ्नुभएछ। त्यसैले भिजेर लेखेको कुरा महशुश गर्नुभो भन्ने मेरो विश्वास हो। यसको शिर्षक चुस्त छैन। आफ्नो प्रियसँग बिताएका पल याद गर्ने एक परदेशीको भावनास्वरुप यो डायरीको सृजना भएको हो। त्यसैले लेवल त्यस्तो राखे। यदि तपाईलाई यो भन्दा अरु कुनै चित्त बुझ्दो लेवल लाग्छ भने सुझाव दिनुस् है।

अनि दीपकजीले ठीक भन्नुभो। यस्ता भावना मिठा लाग्छन्। किनकी यस्ता भावना हामी सबैमा निहित हुन्छ। अनि मिठो लागेपछि राम्रो भन्न मन लाग्दो हो हैन?

पहिलोपल्ट कमेन्ट लेख्नुहुने विमल जीलाई कुटीमा स्वागत छ। हाम्रो सर्कलको सृजना मन पराईदिनुभएकोमा धन्यवाद। अनि तपाईको सृजना पनि प्रायजसो पढ्न पाइरहन्छु म अनलाईन अनि अफलाइन पनि। मतलब छापा माध्यमहरुमा। तर आजै मात्रै तपाईको निजी ब्लगमा छिरेर नियाल्दैछु।

SG said...

Excellent piece, i just wondered how much could you write on such 'SILENT DIALOGUES'...however I found you emerged some "VOCAL" things abruptly in between your essay...it could have been better if you completed the whole essay in "silent" mood...anyway good write-up, keep it up...

SG

Luna said...

" रक क्रिस्टल " !
असाध्यै मन पर्‍यो । निरन्तरताको शुभ कामना ।

manu said...

हरे यो दुनिया मा म जहिले पनि ढिलो मात्र पस्छु तर जे होस् कैलश् दिदि चिठि चै साचै खतरा छ बा मैले तपाइ को लेखलाइ चाइ मानेको छु है? यो कहिलेको सम्झना लाइ पो उनेर राख्नु भो नि? ये सिम्मा यो लेवल किन पो पर्देसि को भोनि?

कैलाश said...

Pardesile lekheko vayera ni pardeshiko dairy vako ni Manu. Aba Simma le lekhyo vaye usaiko dairy hola ni. ki kaso. anyway, SG je,Luna je ra Manu jelai thank you.

Administrator,Bhojpure said...

भोजपुरै टिम्मा, ए नाना सिम्मा आज त पर्देशीले पनि साह्रै मायाको सागरमा डुबेर तपाई लाई छुने शब्द लेख्नु भएछ के रे जता बाट मोडे पनि शब्दको चयन चाँही साह्रै गजबले गरिएकोमा मलाई ३ पल्ट पढेर मात्र अलि अलि सन्तुष्ट भएँ फेरी अर्को कहिले होला?????? लहै म त अर्को पनि पढ्न छिर्छु नी नबिर्सी लेख्नु होला......