Thursday, December 18, 2008

मनकामना दर्शनको झझल्को

मनकामनाबाट हिमाल हेर्दाको दृश्य।

मनकामना माईसँग जोकिङ
केवुलकारबाट ओर्लेर मन्दिर पुग्ने उकालो चढियो । बाटैभरि फूलपाती लैजान अनुरोध गर्नेको ओइरो । एक व्यापारी एक विदेशी नागरिकलाई जबजस्ती फूलपाती थम्याइरहेको देखे । वास्तै नगरीकन अगाडि बढ्‍दै थिए उनीचाहिँ । मन्दिरमा उक्लिएपछि छेवैको पसलेसँग 'इट इस बेटर देन द राइस, कोकोनट एण्ड अल दिस थिङ्‍स्‍' भन्दै आफ्नै झोलाको साइट खल्तीबाट फुल निकालेर हातमा लिएर हामीभन्दा केही दुरी पछाडि लाइनमा उभिए । लाइनको के कुरा गर्नु र, अस्पताल र मन्दिरको लाइन कहिले पो सुकेको हुन्छ र? लामो लाइन र साह्रै चिसोको कारणले केहीबेरको लागि जुत्ता-चप्पलसँगै लाइन लागेका थियौँ सबैजना । जुत्ता-चप्पल निषेध गरिने ठाउँनेर पुग्न लागेपछि टुक्रुक्क बसेर तिनले जुत्ता खोले, मोजा पनि खोले, प्यान्ट पट्टाएर माथितिर फर्काए । पछाडि भिरेको झोलाबाट झिल्के पोलिथिन निकालेर जुत्ता चप्पल पोका पारे । पोका पारेको जुत्ता र मोजालाई पछाडि भिरेको झोलाभित्र राखे उनले सुरक्षितसँग । झोला एक छेउमा राखेर मन्दिरको कलाकृतितिर उनको आँखा तानियो । त्यत्तिकैमा हामी मन्दिर भित्र छिर्‍यौँ । केहीबेरमा मन्दिरको मूल ढोकाबाट बाहिरिदा त्यही ठूलो झोला उनकै ढाडमा थियो । भाईले कानैनेर मुख ल्याउँदै भन्यो- 'क्या जोकिङ्‍ भो दिदी',
'कस्तो जोकिङ?'
'जुत्ता लगाएर भित्र जानु पो नहुनु त । झोलाभित्र राखेर निस्किनु त हुन्छ नि हैन?'
मन्दिर भित्र छिर्दा पालन गर्नुपर्ने बुँदागत नियमहरु लेखिएको चारपाटे टिनको प्लेट हाम्रो सामुन्ने टाँगिएको थियो । त्यसमा लेखिएको पहिलो बुँदा थियो- 'मन्दिर भित्र जुत्ता चप्पल लगाएर जान मनाही छ।'

विज्ञापनको बेजोड शैली
'ए हजुर यतातिर आउनुस्, माइतीमा जस्तै पकाएको लोकल कुखुराको मासु, शुद्ध घ्यू, बासमती चामल, बोटैको ताजा सुन्तला खुवाउछौँ'। थेप्चो नाक, खाइलाग्दो जीउडाल, बाटुलो मुहारधारी एकजना युवक । रेष्टुरेन्टको अघिल्लो भागमा बसेर श्लोक पढेझैँ एउटै गतिमा दर्शनार्थी तथा आगन्तुकहरुको ध्यान खिच्ने प्रयत्नमा मग्न थिए ।
'लौ हजुर यतातिर पाल्नुस्‍, ससुरालीमा जस्तै मिठो खाना, लोकल कुखुराको मासु, ....... खुवाउछौँ' आगन्तुकहरुको भीडमा देखिने महिला या पुरुषको बाहूल्यताको आधारमा माइती र ससुराली शब्द फेरबदल गर्दै एकोहोरो सम्बोधन गर्दै थिए उनी । बजार घुम्ने क्रममा थुप्रै पल्ट उही बाटोबाट ओहोरदोहोर गरियो । ती युवक उस्तै भाकामा, उही आसनमा बसेर, उही कुरा, उही रफ्तारमा बारम्बार दोहोर्‍याइरहेका थिए । मानौ, कुर्सीमा मान्छे हैन एउटा क्यासेट प्लेयर राखिएको छ । र क्यासेटलाई रिवाइन गर्दै प्ले गरिदैछ । खै, रेष्टुरेन्टतिर चियाउँदा मान्छेको चहलपहल चाहि खासै देखिएन । अनि त्यहाँभित्र मान्छे छिरेको पनि देखिएन । सायद आजकाल मान्छेहरुले ससुराली र माइतीको खाना भन्दा अरुतिरकै खाना मन पराउन थालेछन् क्यारे । तैपनि उही कुरा कति मजाले, पटकैपिच्छे स्वाद मानी मानी दोहोर्‍याउनमै मस्त थिए उनी । जे भए नि विज्ञापन गर्ने उनको त्यो शैली, हाउभाउ, लय पृथक लाग्यो मलाई ।

थोरै भूमिका लेख्छु
गत सोमबारको दिन आफन्तहरुसँग मनकामना दर्शन गर्न गइयो । त्यहाँ जानुको मेरो उद्देश्य मनकामना माईको मन्दिरभन्दा माथि लगभग १ घण्टाको पैदल दुरीमा रहेको लखन थापा गुफा र बक्रेश्वरी मन्दिर पुग्नु पनि रहेको थियो । मेरो त्यो उद्देश्य यो पल्ट पुरा हुन सकेन । त्यसैले तत्काल ब्लगमा हालुँ हालुँ लाग्ने कुरा भेटिन जस्तो लाग्यो । त्यहाँबाट फर्किएपछि कोठामा कुरा चल्यो । त्यही बेला माथि उल्लेख गरेको कुरालाई स-दृश्य स्मरण गरे । तब म मनमनै हाँस्न थाले । र छोटो नोट लेखेर राखे । त्यही साँझ दीलिपजीले मनकामनाको यात्राबारेमा ब्लगद्वारा थाहा पाउने कामना गर्नुभएको थियो । तैपनि मलाई यो टाँसो हालुँ भन्ने लागेन । हिजै बेलुकी लोड सेडिङको फाइदा छोप्दै एकजना साथीसँग मैतीदेवी मन्दिरतिर डुल्दै पुग्यौँ । त्यहाँको दृश्य देख्दा पुन: मलाई मनकामनाको त्यही दृश्यको झझल्को आयो । साथीलाई बेलीबिस्तार लगाए । ऊ मरि मरि हाँस्यो । अनि मनमनै सोचे यही कुरा ब्लगमा ठेल्दिन्छु ।

14 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

'मन्दिर भित्र जुत्ता चप्पल लगाएर जान मनाही छ।'
कुरो त ठीकै हो किन भने सूचना मै त्यस्तो लेखिएको रहेछ त ? झोला भित्र राखेर पनी जान नपाइने भनेर रोक त लगाइएको रहेन छ नि ! की कसो ?

कैलाश said...

त्यहि त मुख्य कुरो परो त पुलामी जी।

Basanta Gautam said...

रमाईलो लाग्यो यो यात्रा विवरण पढ्न। ती बिदेशीचाहिँ निकै बाठा रहेछन्!

Dilip Acharya said...

हा... हा ...हा आखीर आयो नि त तपाईको संस्मण!। मलाई लाग्दै थियो तपाईले पक्कै लेख्नुहुन्छ भनेर ।

जुत्ता लाएर जान नहुने बोकेर जान हुने चाहि अचम्मकै नियम हो, बुझ पचाएर नीयमलाई शब्दजाल बनाए पछि जे गरे पनि हुन्छ ।

यौटा किम्बदन्ती बाँढौं है सबैलाई ।

पहिला पहिला काठमाण्डौको कालभैरब अगाडी अपराधि लाई उभ्याएर अपराध गरे नगरेको बारेमा सोधिन्थ्यो रे । त्यहा गएर झूठ बोलेमा अपराधी तुरुन्तै रगत छादेर मर्थ्यो रे ।

एकजना त्यतिबेलाको चतुर अपराधिले भने त्यतिबेला देउतालाई पनि छक्काएछ रे ।

अपराध गरेर 'बकाउने' दिनमा त्यो अपराधिले घरबाट निस्कनु अघी आमाको दूध एकचोटी चुसेर हिडेंछ ।

पछि बकाउने समयमा उसले "आमाको दूध चुस्नु अगाडिको कुरा भने मलाई थाहा छैन, तर आमाको दूध चुस्न छाडे पछि भने मैले केहि अपराध वा खराब काम गरेको छैन" भनेछ ।

त्यसपछि अपराध गरेर झूठ बोलेकेले त्यो मान्छे मर्छ भनेर सबै डराएका थिए रे तर उ भने "सफाई" समेत पाएर घर फर्क्यो रे ।

दीपक जडित said...

रमाइलो विवरण राख्नु भएछ यात्राको । जुत्ता झोलामा बोकेर पस्ने ति बिदेशीले चैं जुत्ता बाहिर छोड्नसम्म असुरक्षित महसुस गरे होलान् क्यार । के जान्नु पहिले नै एकाध पटक जुत्ता हराएर गोता खाईसकेका थिए कि ?

MANU said...

हा हा हा कैलाश दिदि होइन हौ कुरो त के हो? नगाको भयेनि हुने जस्तो लग्यो भनेर मोड्नु भाको थियो त्येति रमाइलो कथा पनि सङालेर ल्यौनु भाको रैच नित।
तेस्तै हो तेस्तै नेपाल मा के चै पो नियाम् आनुसार् भैराको छ र?

कैलाश said...

हा हा हा। धन्यवाद है सबैलाई। यो संस्मरण यहाँ आइपुग्नुमा दीलीपजी तपाई पनि भागीदार हुनुहुन्छ नि। अनि यो शब्दजाल त यस्तै रहेछ साँच्चै नै। यसो अलि अलि पाल्टाङपुल्टुङ गर्दा के के हुन्छ के के। तपाईले बाँड्नुभएको कुराले नि त्यही पुष्टी गर्यो केरे। के जातीको हजार दाउ भन्थे। चितायो कि बितायो खालको क्या त।

अनि दीपकजीको कुराले पो मलाई अझ बढी हाँस उठायो त। गोता जाने कुराको प्रसंग खूब घत पर्यो मलाई त। आफू नि त्यसरी २ पल्ट गइयाथ्यो त्यसैले होला।

अनि मनुजी त्यहाँ जानुभन्दा खाल्डोमै मेरो रुचिको कार्यक्रमहरु ३/३ वटा थिए नि त। ती छुटेकोले नि अलिकति थक्‌थक लागेको। तैपनि त्यहाँ गएको कुरानि किन नबाँड्नु भनेर जमर्को गरीटोपल्या नि रमाइलोकै लागि।

सिकारु said...

ओहो कैलास जि मनकामनको दर्शन् त खुबै रमाइलो भएछ नि । कामको बेफुर्सद्ले गर्दा भगवान प्रतिको बेवास्तालाइ पनि स्मरणिय गराइदिनुभयो। धन्यबाद अनि आ-आफ्नो बिज्ञापन गर्ने शैलि चाहि सारै रमाइलो लाग्यो मलाई ।

बि. जे. बान्तवा / भोजपुर said...

मनकामना माता की जय!!
मनकामना माता की जय!!
मनकामना माता की जय!!

ल तपाईको यात्रा शुभ रहेको मा धेरै खुसी लाग्यो अनि नी जुन् पोका मनकामना बाट ल्याएर खोल्नु भयो बहुत रमाइलो लाग्यो, शायद मैले जुत्ताकै बिषय बनाएर एउटा चुटकिला भोजपुरे ब्लगमा समेटेको याद आयो, .....धेरै नै रमाईलो मोमेन्टलाई क्याच गर्नु भएकोमा नजिक भए स्याबास बहिनी भन्ने थिएँ, तर टाढा छु त्यसैले धन्यबाद। रमाईलो लाग्यो। आगमी दिनहरुमा पनि माता मनकामनाले यसरीनै यात्राको साईत जुराई दिउन यहि कामना गर्दछु।

बिमल गिरी said...

कैलाश जी नमस्कार,
तपाईं ले जुन मनकामना को बारेमा
मिठो खुराक पस्कनुभयो। मलाई पनि
त्यही पुगेको पो हुँ कि?भन्ने लाग्यो।
एक्लै मरी मरी हासे। यो मिठो
टासो को लागि धन्यवाद छ है।

कैलाश said...

सिकारुजी, बिजे दाजु अनि विमलजीले पनि यो यात्राको खुराक मन पराइदिनुभो। धन्यवाद। अनि बिजे दाजु नेपाल आको बेलामा यसो घुमघाम पनि गर्नु परो है अलिअलि त। एकबारको जुनी हो किन कोठामै थन्किएर समय बिताउँनु। हैन? अनि माताले भन्दा पनि आफैले पो साइत जुराउनुपरो त। माता त माध्यम मात्रै हुन् हाम्रा लागि। कर्ता त आफै पो हुनुपरो त। हे हे हे । फेरी धेरै खोक्यो भनेर नभन्नु है भन्न पनि नभाको। हेहेहे।

आकार said...

यस्तै त हो नि व्यापार गर्ने टेक्निक । बाटो ढुक्यो करायो, अझ झोला तानेर र हातै तानेर हैरान ।

म त केबुलकार बाट झर्नेबित्तिकै एउटा ले मेरो झोला बोकेर हिँडिदियो । अनि उसकैमा नबसेर भयो त ? रिस त नउठेको कहाँ हो र, त्यही पनि उसकै पछि लागेँ, लुरुलुरु ।

अर्को मलाई रिस उठ्ने अनि अचम्म लाग्ने कुरो के हो भने, जान चाँहि मनकामना जाने । अनि भन्नेबेलामा चाँहि यसो भन्छन् । "म काँ मन्दिरमा गा'को हो त, म त गुफा पो हेर्न गा'को", "हैन हौ, म त केबुलकार को प्रविधि पो हेर्न गा'को त","कोहि यसो भन्छन् त कोही उसो...." सिधै भने हुँदैन र ??? केबुलकार पनि चढौँ, मनकामना को पनि दर्शन गरौँ भनेर गएको ।

कैलाश जी ले पनि गफ ठूलै दिनुभयो । जानु को उदेश्य चाँहि गुफा हेर्नु थियो रे, तर जान चाँहि गइएन । यस्तो पनि हुन्छ कहिँ ???

बरु यसको सट्टमा त्यसको नजिकै गुफा पनि छ, तर जान सकिएन भनेको भए हुन्थ्यो नि !

कैलाश said...

हुन त जसो गरी भने नि हुन्छ आकार जी। तर मनकामना मन्दिर गाको भन्नुमा धक लाग्ने या मान्नुपर्ने कुरा के नै छ र यहाँ। अनि अर्को कुरा मन्दिर गएनि नगएनी, थाली लिएर पूँजा गरेनि नगरेनि नास्तिक हुँ भन्न सक्दिन म। आ-आफ्नो व्यक्तिगत विचार, नियत र आस्थाले भनाई, गराई अनि बुझाईमा फरक हुनु स्वभाविक हो। र कतिपय अवस्थामा योजना र उदेश्य भन्दा तत्कालिन घटनाअनुरुप जरुरत पैदा हुन आउँदोरहेछ। आकारजीले भनेझैँ गर्ने या भन्नेहरुको आसय के होला भन्ने म जान्दिन। तर यदि म पहिलोपल्ट त्यहाँ पुगेको भए तपाईले भनेझैँ पक्कै भन्थे। अझ भनौ न मनकामनाको महिमा गर्थे हुँला। केवलकार चढ्दाको अनुभव लेख्थे हुँला। गुफाको बारेमा त सोच्दिन थे पनि होला सायद।

मैले गफ हाँक्नुको भित्री कुरा अलिकति प्रष्ट पारौ हैँ त यहाँ। केवलकार चढेर मनकामना पुग्नैको खातिर मात्रै म पक्कै गएको हैन। गुफा हेर्ने मनसायले नै गएको हो। तर पुग्न सकिएन। "त्यस्तो पनि हुन्छ आकार जी। त्यस्तो पनि हुन्छ, अनि त्यही त्यस्तव भयो त।" दौतरीमात्रै मात्रै भएको सोझै त्यही गुफा हुन्थ्यो हाम्रो पहिलो गन्तव्य। त्यसपछिको मनकामना मन्दिर। कुरो मिल्ने दौतरी या साथीसँगको यात्रा र पूरै पारिवारिक यात्रामा धेरै भिन्नता हुदोरहेछ(यसबारेमा अरुको फरक अनुभव या मत हुन सक्छ)। तर म मेरो भोगाई लेख्दैछु।

मनकामना मन्दिरको दर्शन गरिसक्नासाथ अरुलाई त्यही छाडेर हामी (म, बहिनी र भाई) उकालो लाग्ने भन्ने हाम्रो शुरुदेखिको सल्लाह थियो। २ पारिवारका टोली थियौ हामी। हजुरबा, काकीआमालगायतका पाका सदस्यहरुसहित। प्राय लामो दुरीको यात्रा नगरेको कारण काकी आमाको स्थिति बिग्रिदै गयो। दर्शन सकेपछि उहाँको स्थिति थप बिग्रियो। हुनसक्छ दर्शनसम्म मुश्किलले उभिनुभएको थियो। बहिनी र मबाहेक सबैजना पहिलोपल्ट त्यहाँ पुग्नुभएको थियो। अनि सबैको खानपिन र औँषधिको खोजीमै उकालो चढ्ने समय बित्यो। फेरी त्यहाँ हामीलाई एउटा सिटामोल पाउन पनि पसलपसल सोध्दै चाहार्दै हिड्नुपर्यो हामीले। हामी आफैले त्यस्तो औषधी केही पनि बोकेका थिएनौ। खाना खाइसकेपछि बरु छिट्टै तल झर्ने र उहाँको स्थिति थप खराब हुन थालेमा केही व्यवस्था गर्नुपर्ने हुनाले सकभर चाँडो तल ओर्लिने सल्लाह गर्यौ। मनकामनातिर लाग्दाको माहौल र योजनामा गुफा पुग्ने हाम्रो उदेश्यलाई त्यहाँ पुगिसकेपछिको माहोल र जरुरतले छोप्यो अनि यस्तो भयो।

अब पूरा गर्न नसकिएको उदेश्यलाई गफै भन्ने हो भने त मेरो भन्नु केही छैन। आकारजीको "त्यस्तो पनि हुन्छ कही" भन्ने जिज्ञसाले यात्राको अर्को एउटा पाटो पनि राख्ने बाटो दियो। धन्यवाद आकारजी।

उजेली said...

म पनि २-३ वर्ष अगाडि मनकामना गएको थिएँ बुवाआमासित । तर जुत्ता खोल्नुपर्छ भनेर दाइ र म दर्शन नै नगरी फर्कियौँ । काँचो बुद्धि भनेको त्यस्तै हुँदोरहेछ । अब फेरि जानु छ दर्शन गर्न ।