Monday, December 29, 2008

विहानीपखको मेरो सपना

मेरो ठम्याइमा कहीँ कतै मोबाइलको घण्टी बजेको बज्यै छ। मोबाइल बोकेपछि त उठाउनु नि, के हेरेर बस्या होला भन्ने सोचेर म दिक्क छु। विस्तारै बिस्तारै मोबाइलको आवाज चर्को हुदै जान्छ। हुँदाहुँदा मेरै छेउमा कराउन थालेको भान हुन्छ। म निद्राबाट ब्युझिन्छु। ओछ्यान छेवैको टेबुलमा आफ्नै मोबाइल पो बजीरहेको पाउँछु। 'यो मध्य निद्रामा डिस्टर्ब गर्ने को?' अनि 'बल्ल बल्ल मजाले निदाकै बेलामा कराउँने यो ठाँडो' मनमनै मुर्मुरिदै बजीरहेको मोबाइललाई सिरानमुनी कोचिदिन्छु। अलिकति भएपनि त्यसको आवाज कम हुन्छ। आँखा खोल्नासाथ देखिनेगरी राखिएको भित्ते घडीतिर एकापट्टिको आँखा थोरै उघारेर चियाउँछु। (ब्युझिनासाथ कति बजेछ भनेर सामुन्नेको घडीमा आँखा लगाउनु नै मेरो पहिलो काम हो। त्यसैको लागि मैले नै त्यो घडीलाई त्यहाँ झुण्डाएको हुँ।) सात नाघीसकेको देख्छु। 'आऽऽऽ उठेर के नै लछरपाटो लगाउनु छ र यो जाडोमा' भन्ने सोच्दै झ्यालपट्टी फर्किन्छु। सिरकभित्र गुजुमुज्ज पर्दै झ्यालमा हेर्छु। बाहिरबाट उज्यालो भित्र छिरेकै छैन। त्यसले मेरो सुतुवापनलाई अझ ढाडस दियो। यसो ओल्लो कोठा पल्लो कोठाको चाल ठम्याउन खोज्छु। खासै चालचूल सुन्दिन। अहो! क्या मोज। जे होस् लोडसेडिङको कमाल। नत्र त एउटा कोठाबाट भजन, अर्को कोठाबाट हिन्दी गीत, अनि अर्कोबाट समाचार भनेको सुन्दै सुत्नुपर्ने हुन्थ्यो। रिल्याक्स पारामा तन्किए सिरकभित्रै। अनि मजा मान्दै पल्टिरहे ओछ्यानमै।

एक्कासी म सिरकबाट बाहिर निस्के। विद्युत प्राधिकरणको तालिकाअनुसार बिजुली बत्ती ज्यूँदै हुनुपर्छ भन्ने मनले म उठे। कामको तालमेल मिलाउँदै प्रत्येक सेकेण्डको हरहिसाब दिमागमा सेट गर्दैछु। बेलुकीको लोडसेडिङले खाना नखाइकन सुतेकोले होला निकै भोक पनि लागेको छ। हस्याङ र फस्याङ गर्दै सोझै राइस कुकरमा चामल खन्याउँछु- नधोईकनै। अनि अन गरिदिन्छु। ज्यादै जाडो छ। पानी हालेर इलेक्ट्रिक केट्ली पनि जोड्छु। केहीबेरमा पानी उम्लिन्छ। कफी बनाउँछु। किचन र्याक हेर्छु। खानेकुरा केही देख्दिन। लाइन भाको बेला पसल गएर केही किनमेल गर्नु त मुर्खता नै हो भन्दै कफीको सुरुपसँगै कम्प्यूटर खोल्छु।

तेस्रो पल्ट पनि डेटलाइन नाघ्न सफल एउटा रिसर्च आर्टिकलतिर ध्यान दिन्छु। लेख्नु भनेर दिमागले जोर दिइरहेको छ। तर पटक्कै मुड बन्दैन। घडी हेर्छु। ला! लाइन जान १ घण्टा २० मिनेट बाँकी छ। मन हतारिन्छ। मनमा ढ्याङ्ग्रो बज्छ। दिमागमा तनाव हुन थाल्छ। जसरी नि मैले आज यो आर्टिकल सक्नु छ भन्दै दिमागलाई तन्काउँछु। दिमागको जबर्जस्तीपनालाई बढावा दिँदै कनीकुथी एक प्यारा टाइप गर्छु। रुचि बिना जबरजस्ती मुखमा गाँस कोचेजस्तै। सरसर्ती पढ्छु। 'छ्या यस्तो पनि हुन्छ। फोकटीया तुकबिनाको, कही नभाको' पिटिक्कै चित्त बुझ्दैन। अनि डिलिट गर्छु। टाइप गर्न तम्तयार चिसिएका हातका औँला हेर्छु। बिनासित्तिमा यो जाडोमा के दुःख पाइरहेको हगि? यस्तै सोचेर टिठाउँछु। फेरी एकछिन कन्छु। दिमागलाई रगड्छु। अनि थोरै टाइप गर्छु। टाइप गरेको कुरा पढ्छु। एउटा वाक्यको सम्बन्ध अर्को वाक्यसँग के छ भन्ने नै बुझ्दिन म। यी बिना सम्बन्धको कुरा कसरी मेरो दिमागले सम्प्रेषण गर्दैछ भन्ने सोचेर म हैरान छु। फेरी सम्पादक तथा टिप्पणीकारलाई यस्ता वाक्यको अर्थ र अन्तरसम्बन्ध प्रष्ट्याउँनु कत्ति गाह्रो भनेदेखि। हत्तेरी। 'लोडसेडिङ हुँदा बिजुली बत्ती ज्यूदै अनि लोडसेडिङ नहुँदा चाहिँ बिजुली बत्ती मृत भनेझैँ' दिमागले बुझ्ने भए क्या मोज भन्दै सबैलाई डिलिट गर्छु। यही क्रम केहीबेर चल्छ। म आफैले आफैलाई 'कन्सन्ट्रेट, कन्सन्ट्रेट योर माइन्ड'भन्दै खबरदारी गर्दैछु। दिमागमा भने बिजुली बत्तीको मृत हुने बेला नजिकिएको कुराको गणित घुमेको छ। अनि समयमा काम नसक्नुको पीडा र अत्यासपना चाहि मनको कुनामा चेप्टिएको छ। बिजुली बत्ती मृत अवस्थामा पुगेपछि समयमा काम नसक्नुको पीडा बोकेर मौन धारण गर्छु सायद।

लेख्ने मुड बनाउँनलाई किताबको चाङबाट भर्खरै प्रकाशित भएको रिसर्च बेस्ड किताब निकालेर पल्टाउँछु। केहीबेर जथाभावी पल्टाउँदै पढ्छु। अनि मेरो लेखलाई मिल्ने विचार मनमा ल्याउन थाल्छु। दिमागमा कन्सेप्ट तयार पार्छु। अनि किबोर्डमा औँला राखेर टाइप गर्न थाल्छु। लेख्नलाई सजिलो महशुस हुन थाल्यो। बल्ल चित्त बुझ्ने गरी एक पेज टाइप गरीसके। चित्त बुझेपछि थप अरु पनि फुर्न थाल्यो। परीक्षा हलमा बसेको परिक्षार्थीझैँ खुरुखुरु लेख्दैछु भनौ न टाइप गर्दैछु। त्यत्तिकैमा यो दिमागको कुनचाहिँ तार हो कुन्नी तन्काएझैँ हुन्छ- सिरिङ्ग। किनकी झ्याप्पै बिजुली गयो। हरे!

यो बिजुलीबत्तीमा पूर्ण रुपमा निर्भर भएको दिनचर्या भोग्दै गरेको दिमागको तार नराम्ररी झट्कारियो। नाक-मुख-आँखा-निधार सबै एकैठाउँ कच्याककुचुक हुनेगरी नमिठोगरी अनुहार खुम्चाउँछु। एकैछिनपछि हतार हतार मनमा फुरेको कुरा कापीमै लेख्छु भनेर कापी र कलम खोज्छु। खोजेर लेख्न थाल्छु। एक प्याराग्राफ लेखीसक्दा आधाजसो शब्दहरु केरमेट गर्दै लेख्दै गरेको त्यो लेखाई पातबिनाको रुखमा रुपीले लाएको गुँड टाढैबाट प्रष्ट देखिएझैँ लाग्यो मलाई। 'आबुईऽऽऽ मेरो लेखाई' म आफै छक्क परे। कम्प्यूटरमा टाइप, डिलिट, अनडु, रिडु, कपी, पेस्ट गर्ने जति सबै भागमा रुपीको गुँड बनेछ गाँठे। कलम र कापी थन्काए। थाहा भएपनि मनको शान्तिको लागि अब कतिबेला बिजुली ब्युझिन्छ भनेर तालिका हेरे- साढे चार बजे। बरु गाउँमै आनन्दले मास्टरनी भएर बसेको भए के को बिजुलीबत्ती, के को यो गति भन्दै भुन्भुनिनु बाहेक के गर्छु र म?

तैपनि यो मनले कहाँ धर दिन्छ र! जे सुकै होस् कपीमा लेख्नै पर्यो भनेर शुरु गरे। जे जे मन लाग्छ सबै धस्काइदिए कापीभरि- डाक्टरी अक्षर पारेर। त्यसलाई चाहि पुनः पढ्ने काम गरिन्। किनकी त्यो डाक्टरी अक्षर म आफैले कनीकुथी गरेर बुझ्नुपर्ने स्थितिबारे म जानकार छु। अनि कम्प्यूटरमा जस्तो डिलिट गरेर पुनर्लेखन गर्ने न जाँगर छ म मा, न त त्यस्तो सुविधा नै। त्यो कापी बोकेर बिजुली बत्ती भएको ठाउँको खोजीमा साथीहरुलाई फोन गरे। त्यसैको चक्करमा मोबाइलमा भएको ब्यालेन्स सकाए मैले। तर बिजुली बत्तीसहितको काम गर्ने थलो फेला पारिन मैले। झ्याउ लाग्यो। दिमागमा पनि झ्याउ पलायो अनि त्यही झ्याउँसँगै केहीबेर म धुम्धुम्ती बसे- एक्लै।

यसरी दिनदिनै बेलाबेला जाने आउने भन्दा ३ दिन पुरै मृत अनि अरु दिन जिउँदै हुने बनाएमा बरु बेस् हुनेथियो भन्दै म झ्याउँ टक्टकाउँन कोठा बाहिर निस्के। सबै जना 'क्या बोर' भन्दै कोठाबाहिर निस्केर गफिने मेलो गर्दैरहेछन्। म पनि सामेल भए- रिफ्रेसमेन्टको खातिर।
'अब कतिबेला लाइन आउँछ?' एउटाले सोध्यो बिना सम्बोधन।
'साढे चारमा' मलाई नै सोधिएको नभएपनि मैले प्वाक्कै भनिहाले।
मेरीबास्सै यो सोध्ने र उत्तर दिने क्रम त तीब्र रुपमा जारी पो रह्यो त। बिजुली बत्ती गयो कि छिमेकीहरु म कहाँ आउँछन् र सोध्छन्- 'कैलाश बैनी, दिदी, आन्टी आज कतिबेला लाइन आउँछ?', 'आज आइतबार दिउँसो ४-८ बजेसम्म'। यसैगरी म प्रायलाई बारपिच्छेको तालिका बताइदिइरहन्छु र कोठाबाट भगाइरहन्छु। तैपनि सोध्ने बहानामा कोठामा आएर गफ गर्नेहरुको कमी हुँदैन। सबैलाई तालिका उपलब्ध गराउँने सोच बनाउँछु। सोच्दासोच्दै फेरी उही प्रश्न आउँछ मलाई। 'अब त आफै थाहा पाउनुस्। ई यो तालिका तपाईको आँखै अगाडी टाँस्नुस् अनि लाईनको सेक्रेटरी तपाई आफै बन्नुस्' भन्दै आफूसँग भएको तालिका दिएर पन्छाउँछु। केही महिनापछि त यो प्रश्नको नामनिसानै हरायो। किनकी सँधैलाई लोडसेडिङ। नो बिजुली नो किचकिच। अब त अगेनाको अगुल्ठोमा आगो छ छैन भन्ने पो सोध्न आउँन थाले।

एक्कैछिनमा फेरी ढोका ढक् ढक् गरेको आवाज आउँछ। मैले ढोका खोलिसक्दा पनि त्यो आवाज रोकिदैन। किनकी यो पल्ट साँच्चिकै ढोका ढक्ढकाइएको रहेछ।
'कैलाश, अझैसम्म उठ्या छैनस्? उठ्, आम्मामा। त सुतुवा काम लाग्दैनस्' दिदीले मलाई यस्तै के के भन्दै उठाउएर अफिस हिड्नुभो। म उठेर मुखै नधोईकन कफी बनाएर खान थाले। 'कैलाश बैनी, खाना पाक्यो? हेर्नु न लाइन गएर कस्तो दिक्क हगि? आज कतिखेर लाइन आउँछ' भन्दै छिमेकी कोठाको दिदी भित्र छिर्नुभो। सपनाको कुरा साकार हुँदै गएझैँ लाग्छ। फेरी एकाविहानै देखिएको सपना त पुग्छ भन्थे बूढापाकाहरुले। ठिकै हो कि क्याहो? हो क्यारा।

सिरानमा कोचेको मोबाइल निकालेर हेरे। ५ मिस कल र एउटा एसएमएस भेटे। हेर्दाहेर्दै मोबाइलको ब्याट्री सकेको सूचना दियो। आच्या! यो त सपनामा देखेकै थिइन त भन्दै हाँसे। मन बुझाउने मेलो गर्दै सोचे- आ, हाइ सन्चै भो। के था' यो बिद्युतीय संक्रमणकालको अवतरण कुन रुपमा र कुन मोडमा हुने हो?

11 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

आच्या! एकोहोरो फतफताएर टन्नै गफ -मिठो तरिकाले सुनाउनु भयो नि कैलाश जी !
गफ सकिएकै थाहा भएन नि! यो पनी लोड सेडिङ हो की क्या हो ? haha....
अनि लेख्दा खेरीको आफ्नो अनुभब पनी राम्ररी नै सुनाउनु भो'नि - के गर्ने कहिले काही लेख्न बस्दा त्यस्तै हुन्छ दिमागबाट नै फुर्दैन - मलाई पनी त्यस्तै हुन्छ कहिले काही के लेख्ने के...के-मेट गर्दै छाडदै ।
तपाईको लेखाईको तरिका साह्रै सरल र रसीलो छ ।

अनि अर्को कुरा लोड सेडिङको .... सम्झदा नै दू:ख लागेर आउछ देशको विकाशको गति देखेर ?
जलश्रोत त्यत्रो हुदाहुदै पनी ...मति उस्तै छ - जुनै जोगी आए पनी कानै चिरिएको भने जस्तै भएको छ । आशा गरौ अब छिटै यो समस्या बाट हामी सबै नेपालीले मुक्ति पाऊ भन्दै नव बर्ष २००९ को शुभ कामना छ -कैलाश जी ।

Basanta Gautam said...

आफ्नो दैनिकिको सुरुचिपूर्ण प्रस्तुति पस्किनुभएकोमा धन्यबाद! कतै पढेको; "Life may not be pleasant but it is always interesting" भन्ने उक्तिको याद दिलायो तपाईँको सुन्दर प्रस्तुतिले।

यो विद्युत संकटलाई सबैले राजनीतिक दाउपेचको विषयबाट मथि उठाएर एउटा सर्वसम्मत (देशभक्त) राष्ट्रिय जलस्रोत नीति र कार्यक्रम नल्याऊञ्जेल नेपालीको कष्टकर दैनिकि सकिने छैन। आशा र कामना गरौं, यो विद्युतीय संक्रमणकालको अवतरण त्यसै रुपमा हुनेछ।

Dilip Acharya said...

यस्तो विकराल समस्यालाई पनि क्या मज्जाले रोचक ढंगमा प्रस्तुत गर्नु भएको तपाईले त!

दीपक जडित said...

लेखिएको मुख्य कुरा बिजुली बत्तिको असुबिधा नै हो त्यसबारेमा त के भन्नु , भनेर हुने केहि देख्नै छोडियो तर त्यो झर्को लाग्यो दैनिकी यस्तरी सुनाउनुभयो कि पढिरहँदा साँच्चै तपाईंकै आवाजमा सुनिरहे जस्तै लाग्यो । झर्कोको बयान पनि यति रोचक हुँदो रहेछ ।

कैलाश said...

बेदनाथजीले भनेझैँ एक्लै फत्फताएको कुरा पनि साथीहरुले मन पराइदिनुभो। स्वाद लाग्यो। बिजुली बत्ती आएजस्तै। हा हा हा । सबै साथीहरुलाई धन्यवाद मेरो दैनिकीमा स्वर खापीदिनुभएकोमा।

बसन्तजीले पढेको कुराको बारेमा त मलाई नि घत पर्यो है। अनि विकराल समस्या भएनि मज्जाले झेल्नैपरेर होला सायद यस्तो पारामा लेखेको भन्नुपर्ला नि दीलिपजी।

मलाई अचम्म लाग्यो नि दीपकजी, यो दैनिकीले मेरो स्वरको श्रवण गरेको अनुभव गर्नुभएको कुरा पढ्दा त। कस्तो सुनिदो हो गाँठे त्यो तपाईको कल्पनाभित्रको मेरो स्वर?

sangamkirati said...

ला! हौ!! कैलाश जि तपाईको दैनिकि पनि सारै रमाईलो गरी बित्दोरहेछ।हा,,,हा,,, कहिले कहि होश प्रसाद पनि र कहिलेको झर्कि र फर्कि पनि के गर्ने देशको स्थिति नै यस्तैछ।यस्मा चहि म पनि बेदनाथ जि संग सतप्रतिसत सहमत छु।

ThE KiRaT said...

धेरै राम्रो लेख र सपना चै पकै पनि भयनक नै हो , तर के गर्ने तपाईं को सपना बिपन नै भाई सक्यो।

बिमल गिरी said...

कैलाश जी,
हामी जतिनै दुखे पनि जती नै
मडारिए पनि हाम्रा देशका नेताहरु लाई
लाज घिन केहीछैन। यस्ता लबस्तराहरु लाई
जतिनै भने पनि हुनेवाला केही छैन। हामी
आँफैमा कुडिनु मात्र हो।
अन्त्यमा, यहाँको श्रीजनामा कमी नहोस्
भन्दै नयाँ बर्ष २००९ ले यहाँ को मनका
कामनाहरु पुरा गरुन। शुभकामना।

दीपक जडित said...

कैलाशजी , भन्नलाई तपाईंकै स्वरमा सुनेजस्तै लाग्यो भनेपनि सुनेजस्तो महसुस गरेको चैं वास्तवमा तपाईंको लेख्ने र लेखे अनुशार कतै सुनेको बोलिने शैली हो है । तपाईंको काल्पनिक स्वर नै चैं कता कता जुरेली चरोको जस्तो होला कि ? हे हे हे

कैलाश said...

लौ लौ, क्या गज्जब हगि दीपकजी। अब जुरेली चरासँगै एकपल्ट आफ्नो स्वरको श्रवण आफैले नि गर्नुपरो। हे हे हे

Anonymous said...

Welaimmelay [url=http://wiki.openqa.org/display/~buy-bactrim-without-no-prescription-online]Buy Bactrim without no prescription online[/url] [url=https://launchpad.net/~codeine-poro]Buy Codeine no prescription[/url]