Wednesday, December 10, 2008

Threshold

११ डिसेम्बर ०८ (२६ मंसीर ०६५) यानी कि भोलीदेखि 'अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २००८' काठमाडौमा शुरु हुँदैछ। सो महोत्सवको उदघाटनको अवसरमा प्रदर्शन हुने तथा महोत्सवमा अन्तर्राष्ट्रिय समूहमा प्रतिस्पर्धा गर्दैछ 'थ्रेसहोल्ड'। तथ्याङ्क संकलन गर्ने क्रममा पुगेकी आधुनिक संस्कारसँगै चल्दै गरेकी महिला र स्थानीय संस्कारमा जीवनयापन गरिरहेकी महिलाबीचको संवादबाट वृत्तचित्र अघि बढ्छ। कुराकानीको क्रममा पारिवारिक तथा व्यक्तिगत स्थिति र मनस्थितिको खुलासा हुँदै गएपछि यी दुबै पात्रबीचको पारस्परिक सम्बन्धको अदृश्य जालो बन्छ। एकजना परम्परागत सामाजिक सांस्कृतिक बन्धनबाट पीडित महिला र अर्को त्यसभन्दा माथि उठेको तैपनि व्यक्तिगत स्वतन्त्रता र स्वाभिमानको खातिर आधुनिक परिवेशमा लडीरहेको महिलाबीचको पीडाको मात्रा फरक छ । तर पहिलो भेटमै पीडा र बाध्यताले जन्माएको एकैप्रकारको अनुभूतिको सम्बन्ध स्थापित हुन्छ। त्यही सम्बन्धकै आधारमा भित्री अचेतन मनमा दबेर रहेको विद्रोहले बाहिर चियाउँछ। अन्तिममा गएर विद्रोहको प्रष्फूटन हुन्छ र वृत्तचित्र सकिन्छ।

सर्जकद्वय दीपक रौनियार र आशा मगरातीले यस बृत्तचित्रमार्फत नेपाली महिलाको पीडालाई तीखो यथार्थको रुपमा उनेका छन्। एउटा संघार नाघेपनि फेरीपनि अर्को संघारभित्रै थुनिन बाध्य नेपाली महिलाहरुको अघिल्तिर त्यस्ता अनगिन्ती संघारहरु पाइलैपिच्छे रहेको यथार्थलाई हामी नकार्न सक्दैनौ। हाम्रो समाजमा जुनसुकै भेगका महिला कुनै न कुनै पक्षबाट थिचिएकै हुन्छन् भन्ने कुरा थ्रेसहोल्डले देखाएको छ। थिचोमिचोको किसिम र माध्यम फरक हुनसक्छ, परिवेश र प्रकृति फरक हुनसक्छ तर लैङ्गिक रुपमा हेर्दा एउटी महिला नै थिचिएकी हुन्छे। फरक फरक परिवेश र रहनसहनको दुई महिला पात्रको पीडाको जड एउटै छ। यस बृत्तचित्रको दुई नारी पात्रहरुको कथाव्यथा र परिवेशले यही कुरा देखाएको छ।

मुख्य पात्र मधेस/तराईमूलकी परम्परागत संस्कारमा बाँधिएकी एक महिला जो आफ्नो नामले हैन आफ्नो जन्मगाउँको नामले परिचित छे। त्यसबाहेक उ आफ्नो लोग्नेकै लागि अस्तित्वमा आएकी छे र उसैको पहिचानमा उभिएकी छे। जसको आफ्नो बेग्लै पहिचान र अस्तित्वको नामनिशान छैन। उ यस्तो एउटी नारी हो, जसले कसैको श्रीमति र कसैको आमा हुनुमै आफ्नो अस्तित्वलाई सीमित राखेकी छे। कुनै पनि खालको निर्णय र स्वतन्त्र रुपमा कामकाज गर्ने अधिकारबाट बञ्चित छे। लोग्नेकै खातिर आफूभित्र रहेको क्षमता, कला, आकांक्षाको घाँटी निमोट्न बाध्य छे। पढ्ने रहर हुँदाहुँदै पनि विहे गरेपछि पढाई छाडेकी छे। घरको दैलो नाघेर पसल सम्म जाने निर्णय समेत श्रीमान्‌को स्वीकृतिबिना गर्न सक्दिन। अर्को पात्र, शिक्षित र स्वयं निर्णय गर्न सक्ने पहाडी मूलकी सक्षम महिला छे। जो आफ्नो स्वतन्त्रता र आत्मसम्मानको लागि नचाहदा नचाहदै पनि लोग्नेसँग पारपाचुके गरेर अघि बढिरहेकी छे। जसको आधुनिक र स्वतन्त्र जीवनशैली, आत्मविश्वासपूर्ण व्यवहारले अनभिज्ञ रुपमा मुख्य पात्रलाई प्रभाव परिरहेको हुन्छ। त्यही प्रभावस्वरुप श्रीमान‌्‌को इच्छा आफूमा लाद्‌ने प्रवृत्ति विरुद्ध विद्रोह गर्ने पहिलो कदम चाल्छे। र एउटा संघार नाघेर अर्को चरणको संघारको घेराभित्रै थुनिन पुग्छे। यसरी यी दुई भिन्नभिन्न पीडित पात्रबीचको संवाद र पीडाकै सेरोफेरोलाई बृत्तचित्रले सटिक रुपमा उठाएको छ।

यो बृत्तचित्रको कथाबस्तु निकै नै गहकिलो र चोटिलो छ। प्रस्तुतीको हिसाबले पनि निकै नै राम्रो लाग्छ। यद्यपि कता कता दृश्य नमिलेझै लाग्ने र कतै कतै निकै वेगमा कथा दौडिएको अनुभव हुन्छ। साथै कथावस्तु अनुरुपको संवाद नभएको हो कि भन्ने पनि भान हुन्छ। तराई/मधेस भेगका महिलाहरुले लोग्नेको नाम मुखबाट उच्चारण नगर्ने परम्पराबारे ज्ञान हुँदाहुँदै बारम्बार त्यही कुरा सोधीरहनु, बारम्बार सोध्दाखेरी पनि नबोल्दा सोधाईबाट दिक्क भएको पात्र भन्दा सोध्ने पात्रको अनुहारमा आक्रोस देखिनु केही नमिलेझैँ लाग्छ। उता सोधाईबाट दिक्क भएर श्रीमान्‌को नाम लेख्दा अगेनामा बसालेको चामल डढ्न पुग्छ र हतासमा हात समेत पोल्छ। सोधाईको झर्को र हात पोल्दाको पीडाको आक्रोश नदेखिनु अनौठो लाग्छ। पोलेको हातको पीडा कम पारिदिइसकेपछि बल्ल 'श्रीमान्‌को नाम लिनुहुन्न भन्ने तपाईलाई थाहा छैन' भन्ने शान्त स्वभावको संवादले बाहिरी पात्रको महत्वलाई बढी नै जोड दिइएको हो कि भन्ने देखाउँछ। बाहिरबाट गएको पात्रसँगको छोटो कुराकानीमै मुख्य पात्र अधिक रुपमा प्रभावित हुनु र आफैभित्र विद्रोह उत्पन्न हुन पुग्दा वेगमा कथा दौडिएझैँ लाग्छ। यद्यपि सामाजिक रुपमा असल र मायालु पात्रकै रुपमा श्रीमान्‌को चित्रण गरिएको छ।

कथाको अन्त्यमा महिलाले आफ्नो थुप्रै बाध्यता र पीडालाई पोख्दै श्रीमान्‌को कुरा नटेरी ओछ्यान छाडेर 'सुत्न हिडे' भन्दै कोठाबाट बाहिरिन्छे। यसअघि चरणबद्ध रुपमा विद्रोह गरेपनि अन्तिममा देखाइएको विद्रोहले दोहोरो अर्थ बोकेको छ। शुरुदेखिको कथाबस्तुको उनाईको आधारमा त्यो बिद्रोह आफ्नो इच्छा विपरितको काम गर्नलाई नकार्नु र आफू हुनुको बोध स्वयंले अनुभूत गर्नु हो भन्ने बुझिन्छ। अर्को अर्थमा, एउटी महिलाले श्रीमान्‌ले चाहेको खण्डमा जुनसुकै अवस्थामा पनि यौनइच्छा तृप्त गर्नुपर्ने बाध्यतालाई नकारेको देखिन्छ। नेपाली समाजको श्रीमान्‌श्रीमतिको सम्बन्धको मुख्य कडी मानिने यौनको विषयवस्तुलाई पनि जोड्दा महिलालाई थप विद्रोही देखाउन सघाएको छ। साथै सामाजिक मान्यताको आडमा श्रीमान्‌श्रीमतिको सम्बन्धमा लुकेर रहेको यौनसम्बन्धी पीडा र बाध्यतालाई पनि उदाङ्गो पारेको छ। यद्यपि यहि अन्तिमको दृश्यलाई मात्रै जोड दिएर एकांकी रुपमा बुझिएको खण्डमा सम्पूर्ण वृत्तचित्रको कथासारभन्दा फरक अर्थ निकाल्न सकिने दिशा पनि प्रदान गरेको छ।

नेपाली चलचित्रमा महिलाको वास्तविक अवस्थाको चित्रण गरी थ्रेसहोल्डमार्फत देखा परेका छन्- युवा चलचित्रकर्मी दीपक रौनियार। वृत्तचित्रमा पात्रहरुको अभिनय शसक्त देखिन्छ। खासगरी आशा मगराती (जो आगन्तुक महिलाको भूमिकामा देखिएकी छिन्)र स्थानीय कलाकार रञ्जु झाको अभिनय प्रसंशायोग्य देखिन्छ। सगोलमा भन्नुपर्दा दर्शकको मन छुने र वृत्तचित्र हेरिसकेपछि एकपल्ट सबैले सोच्नैपर्ने अवस्था सृजना गर्न सक्षम, नेपालीपन र नेपाली कथावस्तु उधिनेर अगाडी देखा परेको दाबी गर्न सकिने ठाउँ दिन सफल छ यो बृत्तचित्र।

7 comments:

sangamkirati said...

लौ,कैलाश जि हाम्रो समाजमा अझ पनि ति सडेगलेका रुडिबादि सश्कारहरु एथावत नै छ।जुन श्रीमानको नाम मुखले भन्न् नहुनेअनि जेठाजु ससुराको अगाडि घुम्टोले टाउको छोप्नु पर्ने अनि हास्दा खेरी दात देखिएमा अलछिन हुने यि कस्तो र कस्ले चलाईल्याएको चलन होला?अनि कहिले सम्म एस्ता कुरितिहरुले जरा गाडिरहने होला हाम्रो समाजमा!

दीपक जडित said...

राम्रै छ होला जस्तो छ ।

बेदनाथ पुलामी ( उमेश ) said...

यथार्थ लेखन । Threshold ले दर्शाउन खोजेको भाब पनी त्यस्तै लाग्यो -तपाईको लेखाई अनुसार ।

अर्को कुरा भनौहोला तपाइले पिक्चर सेलेक्ट गर्दा एक दम सही गर्नु भएको छ - तपाईको टासो को आशय सबै बताउन सक्छ , तपाइले जे बताउन खोज्नु भा'छ त्यो सबै ।
...मलाइ लाग्छ -तपाईको ब्लग मार्फत तपाइले वृतचित्र लाइ न्याय दीन सक्नु भा'छ ।

Luna said...

कती प्रस्ट सँग बिस्लेशण गर्नु भो कैलाश जि । मलाई त च् ल चित्र हे रे झै लाग्यो ।
धन्यवाद है ।

कैलाश said...

सबै साथीहरुलाई धन्यवाद है। यो फिल्म नरेहीकनै मेरो लेखाईकै आधारमा पनि मन पराइदिनुभो। दीपकजी यो फिल्म राम्रो छ। वास्तवमा मलाई चाहि मन परेको मध्येकै हो। त्यसैले हिजोसमेत गरेर ३ पल्ट हेरे-पहिलोपल्ट सानो तर फिडब्याक लेनदेन गर्ने जमातमा, दोस्रोपल्ट KIMFFको उद्‌घाटनमा र तेस्रोपल्ट टिकट काटेरै राष्ट्रिय सभागृहमा गएरै। जे होस् राम्रो छ। दोहोर्याएर हेर्दा त अरु अरु थप कुरा पनि दिमागमा आयो। खैर अब त्यो कुरा अहिलेलाई थाँती राख्छु

बिमल गिरी said...

Sarairamro film rahechha.Kailas je malai pani herau herau lagyo.Tara ma aaj dhila pasechhu tapaiko komal kutima.Namaskar.

कैलाश said...

यो फिल्मले KIMFF मा तेस्रो पुरस्कार पाएको छ। त्यसवापत थ्रेसहोल्टको सम्पूर्ण टोलीलाई बधाई, कुटीको तर्फबाट।