Tuesday, September 23, 2008

दशैँ आयो खाउँला पिउँला

'हलो, ए कैलाश म बोल्दैछु, म। चिनिस्? तँ सन्चै छस् नि हैन?'
शनिबारको दिन। खानपिन सकेर सरसफाई गर्दैथिए। कानै खाने गरी हजुरमाको आवाज सुनियो। धेरैपछि कुराकानी हुँदै थियो हाम्रो। औद्यी खुशी लाग्यो मलाई। आफ्नो भन्दानि हजुरमाको कुरा सुन्नु छ मलाई। त्यसैले हजुरमालाई नै बोल्न दिन्छु।
'म'नि अहिलेसम्मन् त ठिकै छु। अब दशैँको सूरसार हुँदैछ। यो पाली त आउँछस् होला नि?' खुशी हुँदै हजुरमा पनि चर्को चर्को आवाजमा बोल्दैहुनुहुन्थ्यो- 'दशैमा जसरी नि आइज भन्नु पनि खै कसरी भन्नु। गाडी बाटो छैन रे भन्छन्। सक्छस् भने आइज है। म बूढी, अर्को पालीको दशैँ भेट्छु कि भेट्दिन कुन्नी' ४ साल भइसक्यो दशैँमा घर नगाको। त्यसैले हजुरमा आफू पाको भाको हुँदै गाको कुरालाई जाहेर गर्नुहुन्छ।
'अर्को पालीको दशैँको किन चिन्ता लिएको नि अहिलदेखि। बेकारमा' रिसाउँदै भनिदिन्छु म।
'काम गर्ने बेलामा नआए'नि खाने बेलामा त भेला होओ न नानी हो' छोरा-बुहारी, छोरी-ज्वाइँ, नातीनातीनीहरु सबै लाखापाखा। चाडबाडमा मात्रै भएनि भेला हुन पाएमा हजुरमाको मुहारमा बेग्लै चमक हुन्थ्यो। वर्षभरी एक्लै घरव्यवहार धानेको पीडा बिर्सनुहुन्थ्यो सायद।

'ए एता सुन त- यो पालीको बंगुर निकै सप्रेको छ। खाने मान्छे छैनन्। आइज है बरु टीका लगाएर भोलिपल्ट फर्की हाल्नु नि है' फकाउँदै बोलीरहनुहुन्छ हजुरमा। त्यत्तिकैमा क-याककुरुक क-याककुरुक आवाजले हजुरमाको आवाज अस्पष्ट हुन थाल्छ। कहिले झिरिरि झिरिरि आवाजमा हजुरमाको स्वरलाई यो मोबाइलले कन्भर्ट गरेर सुनाउँछ। केही पनि नबुझेपछि राम्रो आवाज सुनिने आशमा कोठाको चारैपाटा घुम्छु। कोठा बाहिर निस्किन्छु।
'हेलो, हेलो, हेलो मैले केही'नि बुझिन हजुरमा' मेरो आवाज पनि हजुरआमाले बुझ्नुभो कि भएन कुन्नी। त्यहीबेला ट्वाक्कै लाइन काटिन्छ झ्यार-झ्यारे आवाजसँगै। त्यसपछि फेरी घण्टी बज्यो। फेरी काटियो। फेरी घण्टी बज्यो। फेरी उस्तैगरी काटियो। तीनपल्ट यही क्रम चलिरह्यो। एकछिनपछि न फोन आयो। न त मैले गर्दा नै फोन लाग्यो। निल्नु न ओकल्नुको घाँडो मोबाइल सर्भिससँग रिस उठ्यो। न मोबाइल रिसिभ गर्दा धर पाइने, न त डायल गर्दाखेरी नै।

'अपर्झट काम पर्दा त झनै यसले त ठ्याम्मै पो काम दिँदैन त। त्यसबेला जङ त चल्छ नि। भए'नि के पो गर्नु र?' एक्लै कोठामा फत्फतिदै मोबाइल सेटलाई ओल्टाइपल्टाइकन हेर्छु। किट्‌किटिदै थुचुक्क भुइमा बस्छु। पलङमा आड लगाएर केही छिनको फरकमा नम्बर डायल गर्छु। लाग्दै लाग्दैन। न त उताबाट नै फोन आउँछ। दिक्क मान्दै मोबाइललाई पलङमाथि फ्याकिदिन्छु। २ घण्टाको बाटो धाएर फोनमा बोल्नलाई आउनुपर्छ। अनि पालो पर्खनुपर्छ। ६० नाघ्न थालेको हजुरमालाई कत्ति सास्ती छ। कामकाज माया मारेरै आउनुपर्ने बाध्यता पनि छँदैछ।

हजुरमा फरासिली र रमाइलो हुनुहुन्छ। हरेक साल दशैँ आउने बेला जसरीनि फोन गर्नुहुन्छ। घर बोलाउनुहुन्छ। आफूलाई'नि जाउँ जाउँ लाग्छ। तर कहिले के कहिले के हुन्छ। हेर्दाहेर्दै दिन खर्लप्पै खाईदैछ। यही सोच्दै पलङमाथि चढेर ढल्किन्छु।
'ए कैलाश कहाँ छस्? त्यहाँ हल्ला गर्न छाडेर यहाँ आइज त, मलाई सघा सघा' घर वरपर र आँगन छेउछाउ उम्रेको मसिनो झार उखाल्दै हुनुहुन्छ हजुरमा। म त्यतै दौडिन्छु। बोजुले उखालेको झारलाई मेरो सानो डोकोमा बोकेर मलखाडीमा खन्याउँछु। वर्षभरीको झरी र घामले खुईलिएको घरभित्र र बाहिर चुन, कमेरो माटो र रातोमाटोले लिप्ने काम चल्दैछ। घरका सबैजना सरसफाईमा व्यस्त छन्।
'लु लु यो नासपाती'नि लगेर बंगुरलाई हालिदे हालिदे' आँगनै मुन्तिरको करेसाबारीमा नासपातीका दानाहरु भुईमा झरेको छ। त्यसलाई बटुल्दै हजुरमा मलाई अराउँनुहुन्छ। त्यसलाई पनि डोकोमा बोकेर बंगुर खोरमा हाल्न सघाउँछु। खोरमा ३ वटा बंगुर छन्। एउटा मारको दिनमा काट्ने। दुईटा पाल्ने। मारको दिनमा काट्ने सुँगुरमा मेरो विशेष रुचि छ। किनकी त्यसलाई चाँडै मारिदैछ। त्यसलै नासपाती खाएको एकछिन हेरिरहन्छु।
'हजुरमा मार आउन कत्ति दिन बाँकी छ अब?' मारका दिन एकाविहानै उठेर बंगुर केलाएको हेर्ने इच्छाले सोध्छु म।
'१० दिन जति छ अब'।
'अझ्झै १० दिन?' धेरै दिन रहेछ भन्ने लाग्छ, 'अनि कि, टीका लगाउँने चाही कहिले हो?'
'मारको भोलिपल्ट'।
'माथिल्लो घरको कान्छीले भनेको, उस्को हजुरमाले त धेरै पैसा दिन्छ रे उसलाई। मलाई त्यो भन्दा धेरै दिनु है हजुरमा'।
'के गर्न चाहियो तँलाई धेरै पैसा?'।
'किन चाहिनु नि अब, के के हो के के किन्न नि। अनि माथिल्लो घरको कान्छी, अनि त्यो पल्लोघरको माइलीसँग बसेर खाने हामी' फूर्ती लाउँदै आफ्नो योजना सुनाउँछु।
'ल ल दिउँला नि' फुरुङ्ग हुँदै म साथीहरुसँग खेल्न जान्छु।

'ए कैलाश दशैँमा लाउने लुगा कस्तो छ तेरो?', 'चेप्ली (चप्पल)किनेको छ?' साथीहरु सोध्छन् मलाई।
'राम्रो जामा छ नि ओई, हजुरमाले दशमी बजारबाट ल्याइदिनुभाको। अनि तेरो जामा सिलाउने दर्जी छ नि, हो उसैले सिलाको' तिमेरुभन्दा के कम भन्दै नाक फुल्याउँछु म। कस्तो रङको, क-कस्को के के छ दशैँमा लगाउँने? जामा हो कि सट-फरक (फ्रक) हो? दशैमा कस्ले पहिला के के गर्ने भन्ने होडबाजी गर्छौ हामी। नयाँ लुगा लगाएर को पहिला बरडाँडामा बरको रुखमा सालैपिच्छे लगाइने पीङ खेल्न पुग्ने, टीका लगाउन को पहिला मामाघर जाने, दशैमा टीका लाको पैसाले के के गर्ने भन्ने कुरामा पनि जोशिदै तँछाडमछाड कुरा गर्छौ।
'दशैँको पैसाले म धेरै मिठ्ठाई किन्छु, ओइ कैलाश म तँलाई'नि दिन्छु है'।
'म'नि धेरै बलगम किन्छु अनि हामी सँगै खाने है कैलाश' अर्को साथीले पनि थप्छ।
'ल। अनि कि, म चाहिँ धेरै नरिवल किन्छु। अनि हामी भेला भएर खाउँ है'।
'दशैँ आयो खाउँला पिउँला' दशैँमा के के गर्ने भन्ने योजना बनाएर हामी सबै खुशी हुदै, कराउँदै उफ्रिन्छौँ।

एकाविहानै आँखा उघ्रिन्छ। झसङ्ग हुन्छु। आज त मारको दिन। ढिला भो कि कतै? पीर पर्छ। बाहिर निस्केर हेर्छु। माथिल्लो घरको काका, पल्लो घरको दाजु र बाबाले बंगुरलाई आँगनमा राखेर केलाउँन थालीसक्नु भएछ। घरको डिलमा बसेर हेर्छु। चित्त बुझ्दैन अनि छेवैमा जान्छु।
'हन के गर्दैछस् त यहाँ, पर्तिर जा खुकुरीले लाग्ला। बरु एउटा डालो ले, जा' बाबाले अह्राउँनासाथ म खुर्रर कुदेर भित्र जान्छु। हजुरमासँग डालो मागेर तुरुन्तै ल्याउँछु। हेर्दाहेर्दै बंगुरलाई चिरफार गरेर काटकुट पारेर सक्छन्। माथिल्लो घरको काकाले 'मेरोमा मार हान्न जाउँ' भनेपछि तीनैजना आँगनदेखि उकालो ढुंगाको खुड्किला चढ्न थाल्नुहुन्छ।
'ए जेठा, मार हानी सकेर यतै आओ है खानालाई। अरुतिर भरे भोली खाओ पालो गर्दै। वर्षभरीको कामको थकाई मेट्नुपनि पर्छ नि' हजुरमा आँगनमा छरिएका मालमत्ताहरु थन्कोमन्को गर्दै खान आउने उर्दी गर्नुहुन्छ।
केही बेरमा मासुको बिभिन्न परिकार पाक्छ, बडेबडेमानको कराईमा। जाड, रक्सीको छेलोखेलो छ। सबैजना भएर भेला हुन्छन्। अगेना छेवैमा कासको डबकाभरी भरी मासु पस्किदै जानुहुन्छ हजुरमा। त्यसलाई खाने मान्छेहरुलाई दिने मेरो काम हो। त्यो गर्दा खुब मजा आउँछ।
'त्यो भित्तामा भाको पाती टिपेर ले त' टीकाको दिन हजुरमा र बाबा पूजा गर्ने सूरसारमा हुनुहुन्छ। म चाही पाती टिपेर ल्याएर दिन्छु बाबालाई।
'कतिबेला टीका लाउँने?' टीका लाउने हतार गर्दै हजुरमालाई सोध्छु म।
'अब एकछिनपछि। जा, नुहाउँदै पानी लिएर आइज। अनि म टीका लाइदिन्छु' ।
डोको टिपेर सँधै पानी ओसार्ने गरेको २ वटा चिण्डो र चिण्डोकै उघाउने भाँडो अनि एउटा साबुन बोकेर म धारातिर जान्छु। ज्यानमा पानी मात्रै खन्याएर हतार हतार फर्किन्छु। डोको बिसाएर सिँधै नयाँ जामा लगाउँन जान्छु। अनि मुन्टो बङ्ग्याई बङ्ग्याईकन आफैले आफैलाई हेर्छु। असाध्यै मन पर्छ त्यो जामा। अनि ज्यादै खुशी हुन्छु आफैसँग।

'ए कैलाश, लु लु छिटो बढारेर राडी ओछ्या' नयाँ जामा लगाएर टीका लाउँने कत्रो हुट्हुटी छ आफूलाई'नि। त्यसैले टीका लगाउँने ठाउँ छिटो छिटो बढारेर हजुरमाले बुनेको गुन्द्री अनि गुन्द्रीमाथि राडी बिछ्याउँछु। छेउमा खोसेल्टाको पीरा राखिदिन्छु हजुरमाको लागि। टीका लगाउँनलाई हामी सबै लस्करै बस्छौ- बुबा, काका, काकी, दाजु, म अनि भाई। हजुरमाले मेलैमारी टीका लगाइदिँदै खै के के हो फलाक्दै जानुहुन्छ। सानो-सानो चिटिक्कको दुनामा सप्रेको जमरालाई अछेताले पर्छिदै पैसा हाल्दै सबैलाई दिँदै जानुहुन्छ। अनि ढोगभेट चल्छ एकचोटी सबैसँग। टीकाटालोको काम सकिएपछि सबैजना मजाले बसेर खान थाल्छौ। निकै रमाइलो हुन्छ। टीका लगाइसकेपछि हामी दौतरीहरु भेला भएर आ-आफ्ना पैसा देखाउँदै, आ-आफूले लगाएको नयाँ नयाँ लुगाहरुसँग रमाइरहेका छौ। सन्तुष्ट भएर उफ्रिरहेका छौ कराउँदै- 'दशैँ आयो खाउँला पिउँला'।

हाम्रो खुशी र हाम्रो रमाइलो हेरीरहनुभएको छ हजुरमा जुठेल्नामा भाँडा मोल्दै। एकैछिनमा हामी सबैलाई बोलाउनुहुन्छ अनि सोध्नुहुन्छ- 'कस्ले सिकायो तिमेरुलाई यस्तो भन्न?'। हामी अलमल पर्यौँ।
'ल म पनि तिमेरुसँग खेल्छु है' हजुरमा हामीलाई सिकाउँन थाल्नु भो हत्केलाको पाँच औँला देखाउँदै, पालैशान्ती भाँच्दै-
यो कान्छो औँलाले भन्छ 'दशैँ आयो', काइँलो औँलाले भन्छ 'खाउँला पिउँला', साइलो औँलाले भन्छ 'कहाँबाट ल्याउँला', अनि माइलो औँलाले भन्छ 'चोरी ल्याउँला', चोर्नु त नराम्रो कुरा हो अनि जेठो चाही 'धत् हुन्न' भन्दै छुट्टिन्छ। हामी निकै चाख मान्दै कुरा सुन्छौ, हजुरआमाको फिँजिएको हत्केला र औँलालाई हेर्छौ।
'ल तिमेरले'नि गर त मैले जस्तै' सबैजना औँला भाच्दै त्यसै गर्न थाल्छौ- 'दशैँ आयो, खाउँला पिउला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला, धत् हुन्न'।
टाङ्टाङ्टुङ्टुङ्, टाङ्टाङ्टुङ्टुङ्, टाङ्टाङ्टुङ्टुङ् मोबाइलको घण्टी बज्छ।

(त्यस्तैउस्तै कामले एक साताभन्दा धेरै हराएर हाजिर भए म आज। हिजै दिपकजीले ठेल्नुभएको अनुरोध आज पढे 'हामीलाई माया मारेपनि यसो कुटीमा पसेर दीपक बाल्दै त गर्नुस्'। माया त कहाँ मार्न सक्छु र हौ म। अनि अनुरोध स्वीकार्दै धन्यवाद छ दीपकजी तपाईलाई।)

5 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

kailash g le ta malai pani balya kal ra dashain ma gaaugharko yad dilai dinu bho , oho bungur ko kura ma pani tysbela garma ramrari nai herthe tar malai bungur mare ra hami khusi bhayeko man pardain thiyo , jehos tapaile aaphno balya kalko aaphno ramailo katha jasto kathaa sharing gar nu bhako ma dherai dherai dhanyabad.....

दीपक जडित said...

'ए ! दशैँ आईसकेछ ? ' तपाईंसंग कुरा गर्दागर्दै तपाईंको कुटीमा छिर्दा मलाई यस्तै भन्न आयो ।
पढ्दै लाँदा बाल्यकालको दशैंको सम्झना बल्झियो । बेदनाथजी पनि बल्झिनुभएछ बाल्यकालको दशैंको सम्झनामा ।

पुछारमा सोधिखोजी गर्दाको कुरापनि उल्लेख भएको देख्दा विश्वास भयो मायाँ मार्नुभएको हैन रहेछ ।

अनि कैलाश जी , दशैंको शुभकामना है तपाईँलाई र तपाईंको कुटीमा मित्रताको टिको थाप्न आउनुहुने सबै साथीभाईलाई । ( अनि यत्रो दशैंको कथामा पनि शुभकामना भन्न तपाईंले बिर्षनु भएको हो कि ? बाँकी हो कि ? कि अब नभन्दा नि हुने चलन आईसकेको हो गाँठे ! )

कैलाश said...

धन्यवाद शुभकामनाको लागि। दशैँ बोलाएको मात्रै हो दीपकजी अहिले त । शुभकामनाको आदानप्रदान गर्नलाई काफी समय बाँकी नै छ भन्ने लागेर नि हतार लागेन । जे होस् बेदनाथजी र दीपकजीलाई दशैँको शुभकामना छ है। पछि फेरी शुभकामनाको टाँसो लगाउँ कि भन्ने सोच चाहि छ। हेरौ न।

Nepali Blog Awards said...

Namaste,

You have a nice blog here. We would like you to join our network of Nepali blogs, and competitions. http://nepaliblogawards.blogspot.com

Thanks

आकार said...

happy dashain...