Tuesday, September 09, 2008

कर्नाली दख्खिन बग्दो छ

साढे १ घण्टाको अवधिमा शिलशिलाबद्ध ढ‌ंगले कर्णालीको सुन्दरताभित्र रहेको यथार्थ अनुहार चित्रण गरिएको छ 'कर्नाली दख्खिन बग्दो छ' नामक नाटकमा। गुरुकूल (तपाई हाम्रो माझ यो नाम नौलो हैन भन्ने मेरो अनुमानसँगै अघि बढ्दैछु)को सहयोगमा कर्णालीबासीहरुकै संलग्नतामा मञ्चन गरिएको सो नाटकमा कर्णालीले वर्षौदेखि भोग्दै आएको अनेकौ कष्ट र पीडालाई उनिएको छ। भौगोलिकरुपमा पछाडि पर्नु मात्रै हैन नीति निर्माताद्वारा बेवास्ता गरिनु र काठमाडौ केन्द्रित राज्य व्यवस्थाले जन्माएको विविध समस्याहरुसँगै खेप्दै आएको हण्डरले कर्णालीवासीहरुमा ल्याएको आक्रोसको झिल्का देखिएको छ। गत शुक्रबार ११ जना साथीहरुको समूह पुगेका थियौ सो नाटक हेर्न गुरुकूलको प्राङगणमा। रिमाल थिएटरको क्षमताभन्दा बढी दर्शकको भीडभाड लाग्दा टिकट पाउँन अलिक मेहेनत नै गर्नुपर्यो।

कर्णालीको मौलिक सांस्कृतिक परम्पराको रन्कोसँगै शुरु हुन्छ नाटक- बाजागाजासहित नाचगान, गीत, रोपाईजस्ता दृश्य एकातिर छ भने अर्कोतिर कर्णालीको छङछङ बग्ने नदीलाई पृष्ठभूमिको स्क्रीनमा देखाइँदा साँच्चिकै सुन्दर लाग्छ कर्णाली। रमाइलो प्रस्तुतीभित्रै बिस्तारै बिस्तारै कर्णालीको पीडालाई छिराउँदै छिराउँदै सुन्दरताभित्र जकडीएर रहेको स्थानीय बासिन्दाहरुको गम्भीर दिनचर्या र समस्यातिर दर्शकलाई डोर्याउँछ नाटकले। दर्शकहरु हाँस्दाहाँस्दै टक्क अडिन पुग्छन् कतिपय अवस्थामा। क्रमिक ढंगमा नाटकको विषयवस्तु बग्दै गएको छ। विद्यालयमा मास्टरले र विद्यार्थीवीच भाषाको समस्या त छँदैछ। त्योभन्दा पनि विद्यालय पढ्नकै लागि तुइनबाट कर्णाली नदी तर्नुपर्ने, वर्षामासको बेला नदीतर्दा नदीमा खसेर ज्यान गुमाउनुपर्ने विद्यार्थीको नियतीलाई मार्मिक ढंगले देखाइएको छ। ९ र १२ वर्षका केटाकेटीको विवाह गराउँदाको व्यङ्ग्यात्मक तर रमाइलो प्रस्तुती, र गम्भीर विषयमा पनि ठट्यौलो पारामा बोलिएको संवाद र अभिनयले धेरै दर्शक हाँसे। तर त्यसको आशय र सन्देश निकै नै सोचनिय र गहिरो छ।

२ दिन हिडेर नागरिकता बनाउँन गमगढी पुग्दा झेल्नु परेको प्रशासनिक झमेला र सरकारी कर्मचारीको लापरवाहीपना, हरदम खाद्यान्न अभाव भइरहने ठाउँमा बल्ल बल्ल खाद्यान्न पुग्दा हाकिम भनाउँदाहरुको चाकडी र मूडमा भर पर्नुपर्ने, हाकिमले मन लागेजति मन लागेको व्यक्तिलाई खाद्यान्न लिन लाइन लागेका कर्णालीवासीहरुकै आँखा अगाडी दुरुपयोग गरिरहेको छ। भोकै मर्न लागेकाहरुकै बीचमा भट्टीमा चामलको रक्सी खाने हाकिमलाई दाउरा बोक्ने गाउँलेको सटिक विद्रोह र व्यङग्य निकै चोटिलो लाग्यो। दाउरा बेच्ने क्रममा भट्टीवाल्नी साहुनीले दाउरा किन्छन्। खाद्यन्नको हाकिमले लोकल रक्सी खाइरहेको देखेपछि उसलाई पारो चढ्छ। अनि रक्सी मगाउँछ। लोकल रक्सी ल्याएपनि उसले क्वाटर नै खाने ढिपी गर्छ। हाकिमतिर कड्के नजर लगाउँदै हाम्लाई भोकै पारेर तिमी नै चामलको रक्सी खाउँ म त क्वार्टर नै खान्छु भन्दै एक भारी दाउँरा बेचेको पैसाभन्दा धेरै मूल्यको रक्सी खाएर हाकिमप्रति रीस पोख्छ। मनको भडास् पोखेपछि फेरीपनि उही हाकिमकै तजबिजमा बस्नुपर्ने बास्तविकतालाई स्वीकार्दै उ बाटो लाग्छ।

केही गरे'नि हात मुख जोड्नै नसकिने भएछि कमाउँने जोहोमा गाउँ शुन्य पारेर सबै जवान जति परदेशिन्छन्- लस्करै लागेर। गाउँमा बुढाबुढी, आइमाई र केटाकेटी दुःखजिलो बस्छन्। भौगोलिक विकटता आफ्नै ठाउँमा छँदैछ। काम गर्दागर्दै एकजना बृद्ध लडेर नराम्ररी घाइते हुन्छन्। गाउँको स्वास्थ्य चौकीमा रुघाखोकीबाहेक अन्यको औषधी नहुँदा जसोतसो गरेर सदरमुकाम पुग्छन्। यातायातको असुविधाकै कारण विरामी बाटैमा मर्छ। लाशलाई काँध दिने लोग्नेमान्छे नहुँदा आइमाइहरुले काँध दिएर सत्‌गत् गर्छन्। नीति निर्माता, योजनाकार, राज्यसत्ता सञ्चालन गरेर बसेकाहरु सबैलाई निकै गम्भीर प्रश्नहरु तेर्स्याउँदै बिट मारिन्छ नाटकको।

राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको 'राराको सुन्दरता' कर्णालीवासीकै लागि गौण किन? उनीहरुले राज्यबाट नागरिकता भन्दा बढी के पाएका छन् त? आखिर किन त? के साँच्चै नै तपाई हामी सबैसँग कर्णालीको सही नक्सा छ? यस्तै यस्तै अनगिन्ती प्रश्नहरु उप्काएको छ नाटकले। भाषाको सन्दर्भमा कर्णालीकै जनजिब्रोमा रहेको ठेट खस भाषाको प्रयोग गरिएको छ। त्यसले केही ठाउँमा भाषा-संवादको अस्पष्टता हुन्छ सामान्य दर्शकलाई । तैपनि पात्रहरुको हाउभाउ सशक्त र स्पष्ट भएकोले भन्न खोजेको आशय र भाव बुझिन्छ।

मुगुमा गुरुकूल नाटकघर बनाउँने कर्णालीवासीहरुको सपनालाई साकार पार्ने प्रयत्नमा यो नाटक देखाइएको छ। नाटक शुरु हुनु अगावै गुरुकूलकी निशा शर्माले बताए- यो नाटकमा खेल्ने प्रायजसो सबै कर्णालीकै भाइबहिनीहरु छन् र नयाँ अनुहारहरु छन्। नाटक हेर्दाखेरी नयाँ अनुहार देखिए अनि अभिनय-कलामा सबै एक से एक उत्रिए। नाटक शुरु भएको केही छिनपछि काठमाडौको परिवेशभन्दा बेग्लै परिवेशबाट आएको कर्णालीको प्रतिनिधि (नाटको मूल पात्र)बिजुलीबत्तीको झिलीमिली, अनेकथरीका मान्छे, बेग्लै भाषा र रहनसहन, अनि हूलमूल देखेपछि स्टेजबाट डराएर बाहिरिन्छ। दर्शकहरुकै भीडमा बसेकी निशा शर्मा गुरुकूलको नेतृ‍त्व गर्दै स्टेजमा हत्त न पत्त उभिन्छिन्- 'मैले अघि नै भनिहाले नि उनीहरु नयाँ छन् भनेर, धेरै मान्छे देखेर उनीहरु डराए, एकैछिन है म सम्झाएर ल्याउँछु' भन्दै पर्दा पछाडि गएर डोर्याएर ल्याउँछिन्। सम्झाईबुझाई गर्ने क्रममा नाटक गर्नेपर्ने र मुगुमा नाटकघर बनाउँने काममा (केही गिनेचुनेको नाम चलेका व्यक्तिहरुलाई देखाउँदै)यहाँ आएका सबैले सघाउँछन् भन्ने संवाद र दृश्यले दुईटा सन्देश बोकेको छ- कर्णाली आफैले आवाज उठाउनुपर्ने र त्यसलाई हामी सम्पूर्ण नेपालीले बुझ्नुपर्ने र साथ दिनैपर्ने भन्ने बुझाउँन खोजिएको छ। एकैछिन दर्शकहरु अलमलमा पर्छन्। लौ ! मूल पात्र नै डराएर स्टेज बाहिर गयो अब के हुन्छ? भन्ने खासखुस कुरा चल्छ। तर यो पनि नाटककै अंश रहेछ भन्ने थाहा पाएपछि फेरी खासखुस हुन्छ अनि कर्णालीसँगै बग्न थाल्छन् दर्शकहरु।

यो नाटकमा कर्णाली र कर्णालीबासीहरु बोलेका छन् राष्ट्रको सामु, तपाई हाम्रो सामु, यो सम्पूर्ण राज्यव्यवस्था सामु। नाटकमार्फत भएपनि धेरै कुरामा उनीहरुको आक्रोश र विद्रोह देखिएको छ। तैपनि आखिरमा निरन्तर कर्णाली बगेझै कर्णालीवासीहरुको पीडा र दुःखको दिन निरन्तर चलीरहेको छ। त्यसैले कर्णालीको क्रोध-निरासा-पीडाको मिश्रित अनुभूतियुक्त गम्भीर प्रश्न तेर्स्याउँदै नाटक सकिन्छ। अघिसम्म हाँस्दै गरेका दर्शकहरु हल बाहिर निस्कदा गम्भीर रुपमा मनमा कुरा गुन्दै-उन्दै निस्किएको देखिन्थ्यो। पात्रहरुको जीवन्त अभिनय देखिन्थ्यो। उनीहरुको भेषभूषा, फरक फरक घटनाहरुमा प्रयोग गरिएका सामाग्रीहरुले थप जीवन दिएको छ नाटकलाई।

गुरुकूलको नाटक हेर्ने सन्दर्भमा एउटा Slogan नै छ भन्दा'नि हुन्छ 'राम्रो लागे साथीलाई भन्ने, नराम्रो लागेमा हामीलाई आएर भन्ने'। मलाई नाटक राम्रो लाग्यो त्यसैले साथीहरुलाई भन्दैछु।

मैले कैद गरेको केही दृश्यहरुः

रमाइलोसँग रोपाहार र बाउसेहरु रोपाइ गर्दै।


कक्षाकोठामा विद्यार्थीहरु हल्लाखल्ला गर्दै गर्दा मास्टरको प्रवशेपछि गाली गर्दै।


एकातिर खाद्यन्न लिने लस्करमा कर्णालीवासी, उनीहरुकै अगाडीबाट खाद्यान्नको हाकिमसँगको मिलेमतोमा खाद्यान्न बोकाएर लगिँदै।


खाद्यान्नको लाइनमा तँछाड र मछाँड गर्दै।


बाबुआमाहरु आ-आफ्ना छोराछोरीको विहे (बालविवाह)गराउँदै।


भीरबाट लडेको बिरामी बाटोमै मरेपछि दहसंस्कारको लागि लगिदै।

5 comments:

उजेली said...

मलाई पनि साह्रै हेर्न मन लाग्यो यो नाटक । पहिला पनि गुरुकुलको नाटक हेरिसकेपछि मलाई बेग्लै अनुभुति हुन्थ्यो । शायद यो नाटक स्थानीय कलाकारले खेलेको हुनाले झन् सशक्त छ होला जस्तो लाग्यो ।

आकार said...

नाटक त्यसमाथि गुरुकुल ले गरेको, त्यसै राम्रो हुन्छ भन्ने बुझाइ छ ।
१०-१५ दिन देखि नै यसको बारेमा सुनेको भएपनि, अनि हेर्न इच्छा लागेको भएपनि, काठमाडौँ बाहिर बसिने हुनाले समय मिलेको छैन हेर्ने ।

यहाँ देखिएको फोटो अनि लेखिएको कुराले पनि नाटक कत्ति को सशक्त होला भन्ने कुरो सहजै अनुमान गर्नसक्छु किनकी आधा दर्जन नाटकहरु मैले गुरुकुल मा हेरिसकेँ । पछिल्लो पटक हेरेको घनचक्कर मा पनि स्टेज मै धरहरा अनि पोखरी र डुंगा देखिएको थियो, त्यसको अलावा मैले अभिनय को कुरा गर्नु निरर्थक नै हुन्छ ।

कर्नाली दख्खिन बग्दो छ: यो नै वास्तविकता हो भन्ने अनुमान कथा पढेर र अरुको विश्लेषण हेरेर गरेको छु है ।

दीपक जडित said...

आफ्नो त भाग्गेमै छैन हौ कैलाशजी यस्तो नाटक हेर्ने , तपाईंले बरु झण्डै झण्डै नाटक हेरे जस्तै बनाईदिनुभयो । कर्णालीबाट आएका कलाकारहरु देश विदेशमा रहने सम्पुर्ण नेपालीहरुको छातीमा कर्णाली दुखाउन सफल हुन सकुन मेरो शुभकामना ।

Basanta Gautam said...

सजीव वर्णनका लागि कैलाशजीलाई धन्यबाद! धेरै कुरा थाहा पाईयो। नेपाली रंगकर्मलाई विकास गर्न र यसका माध्यमबाट समाजमा चेतना फैलाउन गुरुकूलले गरेको तपस्याको जति प्रशंशा गरे पनि कम हुन्छ।

कर्णाली हेपिएको धेरै भयो र यो हेपिएको छ भनेर आवाज उठ्न थालेको पनि धेरै भईसक्यो। तर आजसम्म किन स्थितिमा परीवर्तन आउन सकेको छैन? कमजोरी कहाँ रह्यो? यति धेरै आवाज उठ्दा पनि राज्यले किन सुनेन? यस्ता प्रश्नहरुको जवाफ कर्नालीवसीले कहिले पाउलान्?

आफैंले यस्ता गतिला नाटकहरु हेर्ने भाग्य अब एक-दुई वर्षमै जुर्ला भन्ने आशा छ।

कैलाश said...

नाटकबारे पत्रपत्रिकामा धेरै आइरहेकोले कुटीमा नहालूकि भन्ने सोच थियो। अनि नाटक हेर्न गएको हाम्रो टिममध्ये कसैले लेखेमा म चुपचाप बस्ने पक्षमा थिए। आफूलाई सक्‌सक् भएर अरु साथीहरुलाई सोध्दा त कसैले लेख्ने फुर्सद नपाएको कसैलाई लेख्न मन नलागेको सुन्दा मैले नै मोटामोटी कुरालाई टिपेर राखिदिए।

विभिन्न कुरा तथा बाध्यतावस नाटक हेर्न नपाएको तर हेर्न मन हुँदा, यहाँ राखेको पोष्टको केही त काम लागेछ। धन्यवाद साथीहरुलाई।