Wednesday, September 03, 2008

निराहार ब्रतको कमाल

हिजो तीजको दिन। दिनभरी लाखौँ विवाहित/अविवाहित नेपालका महिलाहरुले आफ्ना पतिको दीर्घायुको लागि तथा राम्रो पति पाउने मनोकामनासाथ निराहार ब्रत बसेर पूजाआजा गरे (त्यसमध्ये केहीले पानी र फलफूल- चोखो र शुद्ध मानिने खानेकुरा खाए होलान्)। विवाहित महिलाहरु आफ्नो पतिको आयू लामो हुने र अविवाहित नारीहरुको सन्दर्भमा कुशल/राम्रो लोग्ने पाउने कुराप्रति विश्वास लिएर ब्रत बसेको मानिन्छ। खैर तीजको विभिन्न पक्षहरुबारेमा सालैपिच्छे थुप्रै विचारहरु लेख रचनाहरुमार्फत देख्न पाइन्छ। यसपटक पनि पढ्न पाइएकै हो। त्यसैले पनि मैले यो बारेमा लेख्न जाँगर लगाइन। तर परिवर्तनका संवाहक मानिने नयाँ पुस्ताहरुले समेत आँखा चिम्लेर त्यसैको पालना गरेको देख्दा अनौठो लाग्यो।

पहिले पहिलेको युगमा आफ्नो पतिको लागि पत्नीले ब्रत बसेर विभिन्न संकटमा जोगाएको मात्र हैन यमराजको मुठ्ठीमा परेको पतिलाई समेत फिर्ता ल्याएको, कडा ब्रतकै भरमा ईच्छाइएको पति पाएको पौराणिक कथाहरु छन्। तीज पर्व हिन्दु नारीहरुको लागि ठूलै महत्व बोकेको र सोही अनुरुप राज्यले पनि स्वीकार्दै आएको कुरामा दुईमत छैन। न त यसको ऐतिहासिक पाटोलाई नै नकार्न मिल्छ। आजको सन्दर्भमा आइपुग्दा आधुनिकताको लेस बसीसकेकै किन नहोस् तर तिनै पुराना युगका पत्नीहरुको आदर्श र संस्कारलाई आजका नयाँ पुस्ताले समेत पनि केही नसोचीकन पछ्याइरहनु कत्तिको उचित होला? मेरो दिमागमा यो प्रश्नले हिर्काइरह्यो हिजो साँझदेखि आज विहानैसम्म। त्यसो हुनुको घटना यहाँ जोडौः

एकजना मेरी संगी, (उमेरले म भन्दा कान्छी- भर्खरै Teen age को संघार छाड्दै गरेकी) जो अविवाहित छिन्-ले हिजो दिनभरी मुखमा एकथोपा पानी पनि नखाईकन ब्रत बसिन् (हुन त सालैपिच्छे बस्ने गरेकी रहेछिन्)। एकाविहानै ४ बजेदेखि पशुपतिको दर्शनको लागि लाइनमा बसिन्। बल्लबल्ल १२ बजे दर्शन गर्ने पालो आएछ। दर्शन गरेर घर फर्केपछि छरछिमेकीसँग रमाइलो र नाचगान गर्दागर्दै मुर्छा परिछन्। संयोगबस मैले फोन गरे, भर्खरै ब्युतिएकी रहेछिन्। मलिनो आवाज सुन्नासाथ मैले सोधे अनि सबैकुरा थाहा भो। ऊ अझै भन्दैथिई- अब केहीबेरपछि पूजा गर्ने अनि मात्रै पानी खाने। मैले गज्जबसँग स्यावासी दिए। उनको साथी (भनौ न ब्वाइफ्रेण्ड)पनि आफ्नो लागि ब्रत बसेकी प्रेमिकाको सो ब्रतप्रति खुशी थिए। उसलाई त झन् मज्जाको बधाई नै टक्राईदिए। प्रेमिकाले आफुलाई माया गरेको टोकन भेटेकोमा खुशी थिए सायद ती पुरुष मित्र। अनि मेरो संगी चाहि आफ्नो कर्तव्य र संस्कार हुबहू निभाएको र सोवापत खुशी भएको प्रेमीको खुशीले आफ्नो पीडालाई ढाक्दैथिई र त्यसैमा खुशी हुँदैथिई। सो ब्रतको कमाल त्यत्तिमै कहाँ सकिन्छ र। आज थाहा भो, उ त काम गर्न सक्ने स्थितिमै आईपुग्न सकेकै रहेनछ। भोली फेरी पञ्चमी पर्यो। अरुको लागि खै कुन्नी त्यसको लागि चाहि तङ्‌रिन्छे ऊ।

थप अर्को घटनाः नाताले दिदी पर्ने, आफ्नो पतिको लागि निराहार ब्रत बसिन्‌। अघिल्लो दिन (हो कि रात हो) बेस्सरी दर खाएको, भोलिपल्ट सुख्खा ब्रत बसेको, पशुपतिबाहिर टन्टलापुर घाममा लाइन लागेर, नाचगन गरेर घर फर्किए। अनि साँझ परेपछि 'पोइल जान पाम्' भन्दै सँगीहरुसँग भेला भएर तालमा ताल मिलाउँदै रमाउँन थाले। केहीबेरमा गीतसंगीत बन्द भयो र हल्ला खल्ला शुरु भयो। दिदीको पेटमा हावा भरिएछ क्यारा। ग्याष्ट्रिकलाई गतिलै मलजल भो सायद। उँधोउभो लाग्यो भन्थे हाम्रा गाउँघरमा त्यस्तै भो उनलाई। आवाज सुनिन्थ्योः अब त पानी खाँदा नि हुन्छ, अर्को आवाज आउँछः यत्तिका दिनभरी त सहेको अब एक्कैछिन हो, मुख कुल्ला गरेपनि ननिल्नु नि।

मैले प्रश्न गरेथेः ब्रत बस्दा यसो फलफूल अनि शुद्ध मानिने कुरा खाँदा त हुँदो हो नि हैन र?
पानी निल्दा त लोग्नेको रगत खाए सरहको पाप लाग्छ अनि कताको फलफूल खानु नि? मुखमा आको थुकसमेत निल्नु हुन्न भन्ने उत्तर पाएर म चकित भए। विश्वास या अन्धानुकरण? यि दुवैजना उमेर र लवाईखवाईको हिसाबले अहिलेकै पुस्ताका प्रतिनिधि हुन्। र धेरै कुरासँग परिचित पनि छन्। तैपनि यो कदमलाई के भन्ने?

ब्रतको तत्काल फल त उनीहरुको शारिरीक अवस्थाले बताइहाल्यो। यस्तै चाल बर्षेनी रह्यो भने दीर्घायू फल पनि अवश्य मिल्छ। ब्रतकै आडमा उहिलेको पत्नीहरुले पतिको आयु बढाए। अब अहिलेका यस्ता पत्नीहरुले पनि पतिको आयू लम्बाउन जसरी पनि भूमिका खेल्दैछन्। आफ्नो आयू घटाउँदै लगेपछि पतिको आयू केही न केही नबढ्ने कुरै भएन। जे भएनि पतिभन्दा पहिले मर्न पाउँ भन्ने मनोकामना पूरा होला कि? बराबरको २ वटा लौरोमध्ये एउटालाई लामो पार्ने चक्करमा अर्कोलाई अलिकति काटेर फ्याँकेजस्तै पो लाग्छ मलाई त।

हुन त बारम्बारको अनुरोध र सम्झाईबुझाईवापत पनि मैले ब्रत नबसेकोले उनीहरुको नजरमा म नास्तिक परे। म बबुरो के गर्छु र? सालैपिच्छे भन्छुः इच्छा लागेका र विश्वास भएकाहरु बस्दा कसलाई के को खस्‌खस्, अनि नलागेकाहरु बस्नुको केही तुक छ र? जबरजस्ती ज्यानमा थप रोगलाई किन निम्त्याउनु? बस्नैपरे पनि भोकै/प्यासै बस्नुभन्दा केही खाएर बस्दा सबैलाई राम्रै हुन्छ। बाँकी आ-आफ्नो इच्छाको कुरा हो। धर्म, संस्कार, परम्परा, आस्थाको कुरासँग सोझै सम्बन्ध राख्ने यो तीजको ब्रतको सन्दर्भमा मैले भनेझैँ सजिलो हुने भए ?!?!?!?!

खैर,
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ...

8 comments:

दिलीप आचार्य said...

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ...
भदा पनि यो 'फूल' र 'काँडा' को बिचमा अरु कुनै चिज खोज्नु पर्छ जस्तो लाग्छ मलाई पनि । मतलब तपाईले भने जस्तै शरिरलाई पिडा दिएर हैन बरु बुद्धको भाषा प्रयोग गर्ने हो भने 'सम्यक भोजन' ठीक हुन्छ जस्तो लाग्छ मलाई ।

त्यसो त हिन्दू धर्ममा पनि शरिरलाई पिडा दिनु हुन्न भन्ने आख्यान छ तर तिजको दिनमा भने सबेले त्यो बिर्सन्छन जस्तो छ ।

मैले बुझेको त मान्छेको शरिर भित्र 'राम' बसेका हुन्नछ भने 'सीता' पेटमा हाले पछि राम खुशि नै हुनुपर्ने हो ।

Admin Dummali said...

राम्रो विशलेषण छ।

आकार said...

तीज को महत्व जुनरुपमा छ, त्यसलाई नराम्रो हैन भन्न मिल्दैन । अब जहाँसम्म कुरो रह्यो व्रत्त बस्ने भन्ने, अहिले मुख्यरुपमा भन्दा यहाँ निराहार बस्ने कुरोलाई त्यती उठाइएको पाइँदैन, उठाइएको छ त केबल, आपसी कलह निम्त्याउने अनि वैमनश्यता बढाउने कुराहरु । जहाँ पनि भन्ने गरेका छन्, श्रीमती ले चाँहि निराहार बस्ने अनि श्रीमानलाई चाँहि आफ्नो जीवनसंगिनीको कुनै वास्तै नै छैन । यो असमानता हो, महिला को शोषण हो, यस्तै-यस्तै कुरा सुन्न पाइन्छ ।

खैर, यहाँ तपाईले उल्लेख गरेका घटनाहरुलाई राम्रो नै या नराम्रो नै भन्न मिल्दैन । जसको जुन इच्छा छ, अनि जे मा विश्वास राख्छ, त्यसले आफ्नो रुचि अनि आस्था अनि विश्वास अनुसार नै काम गर्न स्वतन्त्र छन् । तर कुरो त्यही नै हो कि, सकिँदैन भने चाँहि खालीपेट नबसौँ, खालिपेट बस्दैमा धर्म हुँदैन । सुखीलाई स्वर्ग यहीँ छ, अनि दु:खीलाई नरक यहिँ छ । अरुको सेवा नै धर्म हो ।

अनि अर्को कुरा, चाडबाड र धर्मलाई जोडेर अनेक लाच्छना लगाउने, नचाहिने कुरा को प्रचार यहाँ हिजोआज धेरै नै हुने गरेको छ । तर म यतिसम्म ग्यारेन्टि गर्छु कि, पुर्वजहरुले चलाएका चाडपर्व तथा अन्य नियमहरुको हामीले केही छेउ-टुप्पोसम्म पनि पत्ता पाएका छैनौँ । र मलाई लाग्छ, कुनै पनि कुरा को हामी गहिराईमा पुगेकै छैनौँ । कुनै समयमा कुनै कुरो पत्ता लगाउन सकेछु भने, परम्परा देखि चलिआएको कुराको गहिराइमा पुग्न सकेछु भने जरुर म ब्लगमा लेख्नेछु ।

"विगतमा कुनै पनि कुरा, नराम्रो थिएन तर पछि, यसलाई भजाएर खानेहरुका कारण नै यहाँ अर्थको अनर्थ लाग्न पुगेको हो" , त्यस्तै यो पनि भनिहालौँ कि, संसारको सबैभन्दा पुरानो भाषा मानिएको संस्कृत पनि यस्तै केही कमाइखानेले गर्दा हामीबाट उपेक्षा गरिएको छ । हामी ती कुरा बुझ्न सक्दैनौँ, त्यही सतही कुरा हेर्छौँ अनि आफूखुशी विश्लेषण गर्छौँ । जेहोस्, यहाँ पनि म तिज को बारेमा नकारात्मक कुरा खासै देख्दिन तर पनि यहाँ विकृति पक्कै भित्रिएको छ, अनि अरुको नक्कल, देखासिकी ले गर्दा हाम्रो समाज बिग्रेको छ ।

जस्तो:
"शिब" भनेको हामी पशुपति,महादेव या भनौँ ईश्वर को रुपमा लिन्छौँ, अनि हामी त्यही मान्छेका कल्पनाले गर्दा बनाएका फोटो र मुर्तीहरु पुजा गर्छौँ । तर शिब को बारेमा हामी कहिले पनि बुझ्ने कोशिस गर्दैनौँ । "जसले अरुको कल्याण गर्छ, उ नै शिब हो भन्ने कुरा हामीलाई थाहा छैन ।" साथै, हामीलाई यो पनि थाहा छैन कि, अहिले वैज्ञानिकहरु पनि पहिले का शास्त्रहरुमा लेखिएका कुराहरुलाई अत्यन्तै नजिकबाट अध्ययन गरिरहेका छन् ।

mother भनेको आमा हो भनेर पढेका हामी कहिले पनि, मातृ, माँ, अम्बे, जननी आदिको बारेमा जान्ने चेष्टा गर्दैनौँ । हेर्नुस् त मातृ र मदर शब्द कति मिल्दोजुल्दो छ । हामी पत्याउँदैनौ तर मदर भन्ने अंग्रेजी शब्द मातृ भन्ने शब्द को अपभ्रंश भएर बनेको हो । हामी हाम्रा पुर्वजले गरेका कामलाई नराम्रो भन्नुभन्दा पनि पहिले, चलिआएको अन्धविश्वास मा नलागि यसको रहस्य के छ, भन्ने तिर लागौँ त , हामी एक-एक कुरा केलाऔँ त । सायद हामीले बुझेको "तीज", अर्थ्याइएको भन्दा निकै फरक छ, र अहिले हामीले मानेका र गरेका कुराहरु पुरै अन्धविश्वास हुन् । हामी यसको गहिराइमा पुगौँ न, तीज को अर्थ पत्ता लगाऔँ न, अनि यसले के भनेको रहेछ, अनि हामी कस्तो अन्धविश्वास पच्छ्याइरहेका रहेछौँ भन्ने कुरा प्रष्ट हुन्छ । के यसो गर्न हामी तयार छौँ ???

कैलाश said...

यहाँ तीजको महत्वलाई नबुझेरै घटनालाई पक्डेर विश्लेषण गरेहुँला। त्यो पाटो आफ्नै ठाउँमा छ। घटना आफै सही र गलत पक्कै हुँदैन। दृष्टीकोणले निर्धारण गर्छ धेरै कुरा।

म शास्त्र र धर्महरुमा लेखिएको लेखौटबारे पर्याप्त जानकार छुईन। तर बुझे पनि नबुझेपनि तीजको महत्वलाई पन्छाउँन सक्दिन। किनकी म हिन्दु धर्मवलम्बी भएनि नभएनि हिन्दु धर्मको प्रभाव म मा पनि छ। तीजमा निराहार ब्रत बस्दाको सानो प्रभाव मेरै आँखाले देखेको र मैले महशुश गरेको आधारमा सानो कुरालाई विश्लेषण गर्नु मेरो आफ्नो व्यक्तिगत कुरा हो। यहाँ भोकै बस्ने प्रवृत्तिले नजानिदो गरी प्रभाव पार्दै लगेको सानो कुरालाई मात्रै मैले छोएकी हुँ। तीजको सन्दर्भमा यो सानो कुरा हो। तर मलाई यसले छोयो। भनौ न थुप्रै देखाइएको कुरामध्ये मलाई यही कुरामा मन पुग्यो अनि व्यक्त गरे।

आकारजीको भनाई सही हो। हामीले धेरै कुरालाई फेदैदेखि केलाउँनै पर्ने छ। र केलाउनु पनि पर्छ। हामी पुन फर्केर जरैसम्म पुग्नुपर्छ। टुप्पामा झाँगिएर मात्रै कहाँ हुन्छ र। लैङ्गिकताको हिसाबमा यहाँले थोरै कुरा उठाउँनुभयो। मैले गलत बुझीन भने आजकाल महिला र पुरुषको सन्दर्भमा उठ्ने गरेको कुरा गलत हुन् भन्ने धारणा बुझे। खैर त्यसलाई पनि सन्दर्भ र विशेष परिस्थिति अनुसार सही तरिकाले बुझ्नु पर्ने हुन्छ। तब त्यो सन्दर्भअनुसार ठीक या बेठीक भन्ने हुनसक्ला।

अहिलेकै सन्दर्भमा मैले देखेको सुनेको र पढेकै आधारमा भन्नुपर्दा 'श्रीमान्ले वास्ता नगरेकैले श्रीमतिले भोकै बस्नु किन' भन्ने कुरा जन्जागोलमाझबाट एउटा सानो छेस्का उठाएर आँखा नजिकै ल्याएर ठूलो देखिएको जस्तै हो। यो हाम्रो समाजको त्यस्तो एउटा कुराको सानी डोरो हो जसले अन्य थुप्रै कुराहरुसँग सिधै सरोकार राख्छ। यसको एउटा डोरो अलिकति तन्काउँ है। अहिले मलाई एउटा मात्रै कुरा जान्नु छः कुनै पूरुषले कुनै नारीको लागि वा कुनै पतिले आफ्नो पत्नीकै लागि ब्रत बस्नुपर्ने या कुनै तपस्या गर्नुपर्ने कुरा त्यही ग्रन्थमा उल्लेख गरिएको छ< जुन ग्रन्थमा एउटा नारीले तथा पत्नीले पतिको लागि पालना गर्नुपर्ने नियमहरुको लामै सूचि स्पष्टसँग लेखिएको हुन्छ। जसमा त्यसो नगरेवापत प्राप्त हुने दण्ड सजाय वा क्षतिपूर्तिवापत खेप्नुपर्ने कष्टबारे पनि स्पष्ट किटान गरिएको हुन्छ। या भनौ न तीजको अवसरमा समझदारीकासाथ मनाउँने दम्पतिहरुकै आडमा सबैलाई आँकलन गर्न मिल्ला कि नमिल्ला? भन्ने पनि सोचनिय कुरा छ।

यो सानो कुराबाट आकारजीले अरु कुरातर्फ पनि ध्यान मोडीदिनुभो। धन्यवाद। वास्तवमा यो उपयोगी नै हुनेछ धेरै हदसम्म। वास्तवमा हामीमाझ धेरै कुरा छन् छलफल र कुराकानीको लागि। अनि विचार व्यक्त गर्ने बाटो पहिल्याउन एउटा झिल्का नै काफी छ। यस्ता कुरामा सबैले आ आफ्ना विचार व्यक्त गर्दै एकआपसमा साटासाट गरिएमा त गज्जबै हुन्थ्यो नि।

अरु साथिहरुलाई पनि धन्यवाद।

आकार said...
This comment has been removed by the author.
उजेली said...

मलाई एउटा मनमा लागेको कुरा के हो भने आजका हामी युवापिँढिहरू धेरै नै मुर्ख छौँ । आधुनिकताका नाममा नचाहिँदा, वाहियात कुराका नक्कल गर्छौँ र संस्कृतिका नाममा रूढिवादी र झम्पट संस्कृतिलाई शिरोपरि गर्दै अघि बढ्छौँ । के हामीमा सोच्ने क्षमता छैन ? हिजो चलिआएको नराम्रा चलनलाई तार्किक आधुनिकतामा ढाल्दै अघि बढ्ने हुति छैन हामीमा ? उत्तेजक कथित आधुनिकतावादलाई परिस्कृत गर्दै लैजाने सामर्थ्य छैन हामीमा ? मलाई व्यङ्ग्य कवि चट्याङ् मास्टरको एउटा लाइन याद आयो यहि सन्दर्भमा । 'नारी पुरूष समान् हौँ भन्छन् तर नारी पुरूषजस्तै टिल्ल भएर नालामा सुतेका छन् ?' हुन त यो कुरा नकरात्मक हो तर व्यङ्ग्यको शैलीमा भन्दा साह्रै मजा आउँछ । आजको युगमा नारीले हामीलाई पुरूषसरह अधिकार चाहियो भन्दै हिँड्नु भनेको हामी कमजोर छौँ, हामीलाई दया गरिदोओ भन्नुजस्तै हो जस्तो लाग्छ मलाई । त्यसैले नारी-पुरूषबिचको आसमानताको बहस चलाउनु नै बेकार हो । क्षमता हुनेले जहाँ पनि ठाउँ पाउँछन् । जसमा क्षमता छैन तिनीहरू भुक्छन्, बस्छन् । तीजको विषयमा चैँ माथि लामै बहस भइसकेको छ माथि त्यहि भएर मलाई केहि भन्न मन लागेन । तर नारी-पुरूषबीचको असमानताको यो बेफ्वाँकको शीतयुद्ध चैँ असक्षमहरूले अस्थिरता उत्पन्न गराउन मात्रै गरेका हुन् ।

कैलाश said...

कुरोकानी त अझ रोचक पो भयो त हौ आकार जी र उजेली जी। हैन, धेरै महिला अधिकारवादीहरुको माझमा या आसपासमा हुनुहुँदो हो कि क्या हो आकारजी। अनि त कन्सिरी तात्तिने गरी कुरा सुन्नुपर्छ होला त। तर यस्तो मामिलामा धेरैका कन्सिरी तात्तिने गरेको देखेको छु मेरो नाङ्गो आँखाले। अनि हामी मत्ते अछुतो कसरी रहनु र। अनि सुन्दरी प्रतियोगिता र जागिरको प्रसङ्गमा तपाईले उठाएको कुरामा त मेरो ठम्याई ठ्याक्कै त्यही नै हो, जे तपाईको छ।

अरु कुरातर्फ थोरै फाल हानौ। केही वर्ष अघिसम्म पनि तीजमा गीत गाउँदा सासू, नन्द, आमाजुहरुको अन्याय अत्याचारका शब्दहरु उनिएका हुन्थे। के तिनीहरुले महिला महिलाबीचको विभेदको कुरालाई ल्याएका थिएनन् र। त्यो सन्दर्भमा फेरी सुनिन्थ्यो आइमाइका कामै छैन खाली एकआपसमा बाझ्यो बस्यो। यस्ता अन्य उदाहरणहरु तपाई हाम्रै बीचमा पाइन्छ जहाँ महिलाले महिलाको विरुद्धमा कुरा उठाएका छन्। कुरो के मात्रै हो भने जहाँ जति दुख्छ त्यहाँ त्यत्ति नै ठूलो आवाज आउँछ। त्यसको मतलब सासू बुहारीलगायका किस्सा सकियो भनेको हैन। कुनै न कुनै रुपमा जीउँदै छन् तर त्यसको विकल्पहरु निस्किन थाले। जस्तै संयुक्त परिवार एकल परिवारमा जाने क्रम निकै बढ्दो छ। अनि लोग्नेको पर्याप्त साथ सहयोगसँगै महिलाहरु निर्भर हुँदै जानुजस्ता कुराले उनीहरुबीचको सम्बन्धमा नयाँ मोड लिन सघायो। अनि त्यस्ता खालका गीत पनि घट्दै जान थाल्यो। यो चाहि एउटा उदाहरण मात्रै हो। महिला पुरुषवीचको असमानतालाई बढी नै उछालेको चाहिँ पक्कै होला तर औचित्यहीन नै भइसकेको छैन।

उजेलीको आफ्नो विचार हो त्यसमा अलिकति थपु थपु लाग्यो। हो नि जसको शक्ति उसैको भक्ति मै चलेको संसार हो यो। हाम्रो गाउँठाउँको सन्दर्भमा हेर्ने हो भने शक्तिशाली पूरुष नै छन्। यस्तोमा अगाडी पछाडी दाया बाया कतै केही नहेरीकन महिलाहरु आफै पछाडी परेका हुन् त्यसैले नारीपुरुषको बीचको अधिकार बाहियात कुरा हो। अनि "मरिच चाउरिन्छ आफ्नै पीरले" भनेझै महिलाहरु चाउरिएकै हुन्। तर असमानता छ र त्यसलाई सुधार्नुपर्छ भन्ने स्वीकार्दै आफूलाई समझदार र सही र गलतको पहिचान गर्न सक्षम छौ भने त्यो असमानताको नाममा दयाको भीख मागेको पक्कै पनि हैन। "अघिपछि छौ त्यसैले सँगै जानु छ" भन्ने अर्थमा बुझेमा हाम्रो आफ्नै टाउको दुख्दैन। कुरा पनि सरल हुने अनि ती कुराहरु बेकार पनि ठहरिदैनन्। अनि चट्याङ मास्टरको लाइनको बारेमा अर्कै माहौलमा कुरा गर्दा बेस लाग्यो मलाई। गर्नेले कुरा अनेक गर्लान्। देखाउँनेले नानाथरी देखाउँलान्। भएभरको सबै कुरा दिमागमा खाँदेर, मनमा कोचेर किन टेन्सन लिनु परो र तपाईहाम्ले।

बाँकी कुरा त सबैको आ आफ्नै मर्जी त हो नि आकार जी। अरे यार कुरा त यही एउटै प्वईन्टबाट शुरु भएर यही प्वईन्टमा आएर टुङ्गिने त हो आखिर। बीचमा यताउता फुक्नु वा फुलिनु त मानव जातीको लागि स्वभाविक हो नि। हैन र आकार जी?

कैलाश said...

अनि कि तीजमा इच्छाले ब्रत बस्ने सन्दर्भमा भन्नै बिर्सेछु। जुन संस्कारमा हुर्कियो त्यही संस्कारसँगै बाँचिन्छ नि त मान्छे। त्यसैको नतिजा हुन् अधिकांश हिन्दु भर्म मान्ने महिलाहरु, जो इच्छाले पतिको लागि ब्रत बस्छन्। तर त्यो उनीहरुको आफ्नै अधिकारको कुरा हो। मेरो सोझो कुरो के मात्रै हो भने निः सीमित वर्ग तथा समुदायबाहेक अधिकांश नेपालीहरुको ब्यालेन्स डाइट कहाँ छ र। "हुँदा हिमचुली नहुँदा मैदान" भनेझै हुँदा र जुट्दा मजैले बजाउँने नहुँदा र नजुट्दा भोकभोकै बाँचेका हामीहरुले त्यसरी भोकै बस्दा थप अप्ठ्यारा परिस्थिति आइपर्छन्, जसलाई हामी रोक्ने प्रयत्न गर्न त सक्छो भनेको मात्रै हुँ।