केही महिना अघिसम्म पसलमा किनमेलमा जाँदा होस् या फुर्सदमा दिदीबहिनीहरुसँग गफगाफ गर्दाखेरी होस् भारतीय टेलि सिरियलको कुरा ननिक्लेको सायदै हु्न्थ्यो। पसलहरुमा पनि त्यही सिरियलहरु हेरिरहेका हुन्थे पसल कुर्ने पसले दिदीबहिनीहरु। सिर्फ दिदीबहिनीहरुमा मात्रै हैन सम्पूर्ण परिवारमा नै त्यसको प्रभाव परेको भान हुन्थ्यो। आजकाल त्यही गल्ली, चोक र पसलहरुमा सिरियलको सट्टा ग्याँस र सजिलै उपलब्ध हुन छाडेको अन्य दैनिक उपभोग्य बस्तुको बारेमा चर्चा र गफगाफ चलिरहेको हुन्छ। गृहिणी दिदीबहिनीहरु छरछिमेकसँग एकअर्कासँग सामान्य बोलचालमा 'खाना पाक्यो?' भन्नुभन्दा पनि 'ग्याँस छ?' भन्ने गरेको सुनिन्छ। अनि 'फलाना सिरियल हेर्यौ?' भन्नुको सट्टा 'आज कतै ग्याँस आयो?' भन्ने गरेको सुनिन्छ (हुन त नेपालको स्पेस च्यानल र भारतीय च्यानल- सोनी र स्टार प्लसबीच समझदारी कायम हुन समय लाग्दा केही समय ती च्यानल थिएनन्। हाल पुनः प्रसारण भइसकेको छ)।
कतिपय (सबैको नहोला) गृहिणी दिदीबहिनीहरुको मनोरञ्जनको साधन भनेपनि या उनीहरुको कामकाजबाट बचेको फुर्सदको समय बिताउँने साधन जे भनेपनि, टेलिभिजन र त्यसमा प्रसारण हुने विभिन्न कार्यक्रमहरु मुख्य मुख्य चासोको विषय हुन्। त्यसमा पनि भारतीय च्यानल सोनी र स्टार प्लसबाट प्रसारण हुने हिन्दी टेलिसिरियल र तिनका पात्रहरु नै भएको कुरा हामीले विभिन्न माध्यमबाट सुन्न र पढ्न पाइरहेका हुन्छौ। नेपाल टेलिभिजनबाट प्रसारण हुने केही हाँस्य टेलिश्रृंखलाहरुले पनि यो विषयलाई उठाएका थिए। अस्मिता नामक एक संस्थाले सर्भे गरेर नेपाली महिलाहरुमा टेलिभिजनको प्रभाव नामक एउटा किताब २००३ मा प्रकाशित गरेको थियो। जसअनुसार धेरै उत्तरदाताले नेपाल टेलिभिजन हेर्ने र त्यसमा पनि समाचारलाई नै बढी प्राथमिकता दिएको उल्लेख गरिएको छ। त्यसको साथसाथै भारतीय च्यानलबाट प्रसारित हुने सिरियलहरुले नै टेलिभिजन हेर्ने बानीको ठूलो समय लिएको र एकआपसमा छलफल, चर्चा-परिचर्चा र टीकाटिप्पणी गर्ने गरेको विषय पनि तिनै भएको देखायो। सो पुस्तकमा टेलिभिजन कार्यक्रम र टेलिभिजन हेर्ने महिलकाबारेमा अन्य थुप्रै कुराहरु छन्। अहिलेको अवस्थामा त्यो कत्तिको मिल्दोजुल्दो हुनसक्ला/नसक्ला। त्यो आफ्नै ठाउँमा छ।
म कामबाट घरको कम्पाउण्ड छिर्दाछिर्दै जहिले नि कसै न कसैले ग्याँसको बारेमा सोध्न या कुरा सुनाउँन भ्याएकै हुन्छ आजकाल। मैले भर्खरै भर्खेरै एउटी छिमेकी दिदीलाई सोधे- 'दिदी आजकाल कसौटीमा के हुँदैछ?', 'कसौटी न कसौडी, ह्याँ आफ्नो भड्डुमा भात नपाक्लाझैँ भा'छ। यो पनि बेला हो र त्यस्तो कुरा गर्ने'। आब्बुई म पो चकित परे। नत्र तिनै दिदीबहिनीहरु सिरियलको गरगहना र ड्रेसअप, मेकअप अनि पात्रहरुको हाउभाउको बारेमा चर्चा परिचर्चा गर्नमा बढो चासो राख्थे। कम्तीमा हप्तामा दुई-तीनपटकसम्म यो कानमा त्यस्ता कुरा ठोक्किन आउँथ्यो। तर अहिले कसैले ग्याँस ल्याएमा निकै खुशी र हल्लाखल्लाको समाचार बन्छ।
एकजना दिदीले १५५० मा ग्याँस ल्याएछिन् ४ दिन अघि मात्रै। निकै खुशी थिइन् उनी। हिटरमा र मट्टीतेलको भरमा खाना पकाउँदै थिइन्। भन्दैथिइन्- 'ए बैनी मैले आज ग्याँस ल्याए। अब दशैँमा ढुक्क भो। पुरै कोठा अनि ज्यानै मट्टितेल गन्हाउँन थालेको थियो', अझै उनी ग्याँस पाउँनुको रहस्य खोल्दैथिइन्- 'थाहा छ पसलेहरु चलाख छन् नि। यसो मौका हेरेर पसलमा गएर फुत्काउँनु सक्नुपर्छ नि'। दिदीबहिनीहरु आजकाल पनि समय मिलाएर सिरियल हेर्ने गर्छन्। तर उनीहरुको मुखमा ग्याँस सकिएको, ग्याँस नपाएको कुरा नै झुण्डिएको हुन्छ। दशैँको मुखमा पकाउँन गाह्रो हुने, फेरी बिजुलीको पनि टुंगो नहुनु, मट्टितेलको पनि अभाव हुनु, महंगी बढ्नुजस्ता कुरामा बढी चिन्तित देखिन्छन्। त्यसैको बारेमा एकआपसमा कुराकानी गरेको सुन्न पाइन्छ। न की कसौटीको प्रेरणा-अनुराग-बजाज अनि क्यू किको तुलसी-मिहिर-मन्दिराले अब के गर्लान् भन्ने बारेमा।
कुन सिरियलमा क-कस्ले के भन्यो र के गर्यो भन्ने भन्दापनि आजकाल कुन पसलमा कहिले ग्याँस आयो र क-कसले ग्याँस लगे भन्ने कुरा प्रमुख हुन थालेको छ। अनि कुन कुन पसलेले कसरी ग्याँस बितरण गर्दैछन्? भन्ने बारेमा चासो बढेको देखिन्छ। साना-साना नानीहरु र बृद्धबृद्धा सासूससूराहरुको खानपान, मझौला नानीहरुको स्कूल/कलेज र श्रीमान्को अफिसको लागि समयमा खाना बनाउँनुपर्ने हुनाले उनीहरुमा यो चासो पलाउनु स्वभाविक हो। एउटा ग्याँस पाउनको लागि एउटा ग्राहकले ३ महिनासम्म कुर्नुपर्ने। अनि पसलेहरुको पनि आ-आफ्नै बाध्यता र गुनासाहरु पनि छन्। त्यस्तो बेला ग्राहकले किचकिच गर्नु एकातिर छ अनि पसलेले ग्राहकलाई राम्रोसँग ब्यवहार नगर्नु अर्कोतिर छ।
२ महिना अगाडीदेखि मेरो ग्याँस लाइनमा थियो। बेला बेलामा सोध्नलाई पसल जाने गर्थे जाँदाखेरी केही भन्नु अघि नै पसले आफ्नै लम्बातान कुरा सुनाउँथ्यो- 'अब म यो ग्याँसको पसल नै छाडीदिन्छु। नाफा न साफा दिनदिनै किचकिच सुन्नुपर्छ, फोकटमा पसल कुर्नुपर्ने।' चलाउँदै गरेको ग्याँसले सकिने संकेत दिन थालेपछि म फेरी गएँ। तर त्यहाँ साहुजी नै थिएनन्। छेउछाउँका पसलेहरुसँग सोध्दा नि पत्तो लागेन। मसँग भएको नम्बरमा डायल गरे पसको एक छेउमा भएको टेलिफोन बज्यो। आडैमा एउटा सूचना टाँसिएको थियो त्यहाँ। त्यसलाई खर्रर पढे अनि लेखिएको सूचना मोबाइलमा कैद गरे।

जहिले हेर्यो ग्याँस पसलमा पसले साहुजीसँग कसै न कसैको गलफत्ते चल्दै गरेको हुन्थ्यो। सायद त्यसैले पसले साहुजी धेरै दिक्क भएछन् क्यारे। अनि सूचना टाँसेर, त्यही सूचनालाई पसल कुर्ने र ग्राहकहरुसँग 'डिल' गर्ने जिम्मा दिएर हिडे एताउति, कतै।
अब मेरो ग्याँस सकियो। पर्यो फसाद। अनि सकिएको अर्को ग्याँस सिलिण्डरसँगै म र छिमेकी दिदी सोझै ग्याँस पसल पुग्यौँ। त्यत्ति खेर पनि साहुजी थिएनन्। अब ग्याँसको खाली सिलिण्डर बोकेर फर्किने कुरा पनि भएन। सबै पसलेहरुसँग सोध्दा कोठा गाको छ भन्थे। केहीबेरमा एउटा १२/१३ वर्ष जतिको सानो भाई देखा परे पसलमा।
'भाई तिमी हो यहाँ बस्ने?',
'हैन। अंकल हो म त के हुँदैछ यहाँ भनेर हेर्न मात्र आको'।
'अंकललाई यहाँ जानु रे भनिदेउ न है'।
'हुन्छ'।
पसले दाई खुरुखुरु आए। त्यत्तिन्जेलमा अरु ३ जना मान्छे जम्मा भइसकेका थिए। नाम लेखाउँनु थियो भन्दाखेरी 'उ त्यहाँ पढ्नुस्' भन्दै सूचनातिर औँल्याइदिएर साहुजी आफ्नो सूर गर्न थाले। पहिलेको सूचनाको ठाउँमा नयाँ सूचना टाँसीसकेछन्। त्यहाँ लेखिएको थियो-

'तपाईहरुकै लागि हो यो सबै। यहाँ खाली सिलिण्डर राख्ने ठाउँ नै छैन। नाम लेखेर मात्रै के गर्नु। तपाईहरुलाई बिनासित्तिमा आश लाग्छ। मलाई चाहि किचकिच सुन्दा र दिमाग दुखाउँदाको हैरान' पसले साहुजी यस्तरी बोले की मानौ उसलाई सासै फेर्न पनि मन लागेको छैन। सकभर आफ्नो कुरा बुझाउँने प्रयत्नमा थिए उनी।
सानो परिवार अनि सबैजना बयस्क भएको परिवारमा केही दिन या केही समय मिलाउँन सकिएला। तर जसको घरमा बृद्धबृद्धा, बिरामी, बच्चाबच्ची अनि स्कुले नानीहरु छन्। त्यस्तो परिवारमा खाना बनाउनको लागि ग्याँसको अभाव हुनुले सबैलाई पिरोल्नु त छँदैछ। खाना बनाउँने व्यक्तिलाई अझ कत्रो हण्डर हुन्छ। त्यसैले पनि आजकाल गृहिणीहरु सिरियल हैन ग्याँसको कुराकानी गर्छन् र ग्याँस चलाइराखेकाहरु 'सकिने पो हो कि?' भन्दै सतर्क भइराखेका छन्। अनि ग्याँस सकिएकाहरु दिनदिनै पसलमा सोध्न जानु र साथीभाइसँग 'ग्याँस पायो भने खबर गर्नु है' भन्ने गर्छन्।
4 comments:
दैनिक जीबनको पिडालाई साह्रै सटीक लेखाइद्वारा पेश गर्नुभएको छ। यो समस्याको कहिले अन्त्य होला?!
बाफ रे बाफ ... यस्ता यस्ता सक्षमहरुले शासन चलाएर हिन्दिमा सपथ खावदा पनि किन यस्तो समस्या होला?
दशैंमा घर जाँउला भनेको त तपाईको टाँसो पढे पछि डर पो लाग्दै छ।
जय होस!
लौ दिलीप जी नडराउनु है। यहाँ बसेर त्यही समस्यासँग जुध्नेहरु ढुक्कै दशैँको तयारीमा लागीसकेका छन् नि। जसरी नि समाधान त भइहाल्छ नि त्यसो त। के गर्नु नयाँ नेपालको नयाँ नयाँ उपाय र नयै चाला।
खै के भन्ने ? दशैं आ'को बेला भात पकाउने ग्याँस पनि नहुँदा बोरै हुँदो हो नि अन्त के को कसौटीको कुरा हुन्थ्यो त ।
Post a Comment