Saturday, September 13, 2008

सिस्नु खाने गरेको छ?

सिस्नु पनि खान मिल्छ र? यस्तो जिज्ञासा थुप्रै सुनेको छु मैले। हुन पनि हाम्रै वरपर भएका स्वास्थ्यको लागि राम्रो मानिने र खान मिल्ने सागपातबारेमा सबैलाई थाहा हुन्छ नै भन्ने हुँदैन। ठाउँअनुसार केही खानपिनहरु पनि फरक-फरक हुन्छन्। प्राय धेरैजसो पहाडी भेगमा सिस्नु खाने गरिन्छ। सिस्नु खाने मध्य सिजन पनि भदौ महिनालाई मानिन्छ (हुन त अरु बेला खान नमिल्ने भन्ने हैन। सिस्नु पाइने मौसममा जुनसुकै बेला पनि खान मिल्छ)। साउन जाँदोदेखि भदौ जाँदो छेकसम्म सिस्नु गर्भिनी हुने (फूल्न थालेको बेला), र पानी पनि कम पर्ने मौसम हुँदा रसिलो, चिप्लो र स्वादिलो हुन्छ। त्यसैले सिस्नु खाने हो भने यसो अलिकति लन्ठा त बेसाउँनै पर्छ। किनकी अरु परिकारझैँ सिस्नु पकाएर बेच्ने गरेकै मैले थाहा पाएको छुइन। कहीँ कतै पाइन्छ होला तर मलाई थाहा भएन।

अब पकाउँने सिस्नु नै कहाँ पाइन्छ? गाउँघरमा त बारी-कान्ला-कुना काप्चातिर छ्याप्छ्याप्ती पाइन्छ। काठमाडौंमा चाहि तरकारी बजारहरुमा पाइन्छ। तर अरु सागपातझै जहीतहीँ पाउँन मुश्किल छ। एकादुई तरकारी पसलहरुमा मात्रै पाइन्छ। र थोरै भएपनि आफ्नै ग्राहकहरु हुँदा रहेछन् सिस्नु व्यापारीको। आज म यहाँ त्यही सिस्नु पकाउँने तरिका सेयर गर्न चाहन्छु।

सामान के के चाहिन्छ त?
+ खाने संख्याअनुसार सिस्नुको मुन्टा
+ थोरै मकै या गहुँको पीठो
+ नून स्वादअनुसार, लसुन ४ बिरा या स्वादअनुसार, टिम्बुर ५ गेडा या स्वादअनुसार लिने (इच्छाअनुसार कागती या अमिलो चुकपनि प्रयोग गर्न सकिन्छ)
+ किनामा (भटमासबाट बनाइएको एक खालको तरकारी, यसबारेमा पछि कुनै बेला लेखौला) १ या २ चम्चा वा रामतोरी (Ladies Finger)२ वा ३ वटा लिने र सानो सानो टुक्रा पार्ने।(गाउँघरको बिना कुनै रासायनिक मलको सिस्नु भएमा यीमध्ये कुनैपनि चाहिँदैन। सिस्नुमा चिप्लोपना ल्याउनको लागि मात्रै यसको प्रयोग गर्ने गरिन्छ। आजकाल अर्गानिक सागसब्जी कम पाइने हुनाले मिठासको लागि अनेक उपाय पनि निस्किहाल्छ।)पकाउँनलाई केलाएर ठिक्क पारेको भदौरे (फूल फुल्न थालेको डुकु) सिस्नु।

अब पकाउँने तरखरमा लागौ है तः
+ पहिला सिस्नु केलाउँने (कलिलो-पिटिक्क पिटिक् भाँचिने टुप्पा र पात छान्ने)।
+ केलाइएको सिस्नु पखाल्नुको सट्टा सबैतिर लाग्नेगरी थोरै पीठो (मकै या गहूँको पीठो) छर्किएर एकछिन राख्ने (किरा लागेको सिस्नुको लागि त्यसो गर्ने गरिन्छ, सिस्नु पखालिएमा मिठो हुँदैन त्यसैले सिस्नु सफा हुनुपर्छ)। केहीछिनपछि सिस्नु टक्टकाएर पीठो झार्ने।
+ गहिरो भाँडा (प्रेसर कुकर या अरु कुनै गहिरो भाँडा)मा पानी (अड्कलेर) उमाल्ने।
+ पानी उम्लिएपछि तयार पारिएको किनामा वा राम तोरी हाल्ने।
+ केहीछिनमा सिस्नु हाल्ने। त्यसलाई केहीबेर उम्लिन दिने।
+ उम्लिराखेको सिस्नु घोट्दै चलाउँने। फिर्के हाल्ने पनि भनिन्छ त्यसलाई। (सिस्नु उम्लीएर बाहिर गएमा मिठो हुँदैन। त्यसैले पानी अड्कलेर हाल्ने। पानी अपुग भएमा बरु उम्लेको तातो पानी थप्न सकिन्छ)।
+ स्वादअनुसार नून हाल्ने। मकै या गहूँको पीठो २ चम्चा हाल्ने र फेरी चलाउँने (यसले थप ग्रेबीपना ल्याउँछ)।
+ अब लसुन र टिम्बुर किच्चाए हाल्ने (धेरै मसिनो हुनेगरी नपिस्ने)।
+ त्यसपछि एकैछिन उमाल्ने।

अब तात्तातो सिस्नु खान मिल्ने भयो (स्वाद मिल्नेहरुले पाकेको सिस्नुमा कागतीको रस या अमिलो चुक हालेर पनि खाने गर्छन्)। प्रायजसोले सिस्नुसँग ढिँडो खाने गर्छन्। त्यसो नभए साविकको खाना र तरकारीसँग पनि खान मिल्छ। तर सिस्नु पकाउँनु अगावै अरु कुरा पकाईसक्नु पर्छ। नत्र सिस्नु सेलाउँछ। सेलाएपछि स्वाद कम हुनसक्छ। मैले माथि उल्लेख गरेको सामग्रीबाट पकाइएको सिस्नुले ४ जनालाई पुग्छ। जय भुँडी।

6 comments:

उजेली said...

अनि पोल्दैन सिस्नुले झन् पानीमा उमालेर ????
सिस्नुपानी भयो भने त झन् पोल्छ पो भन्थे त !!!
सिस्नु खाने, सिस्नु खाने भन्थे हाम्रा गाउँमा पनि । म त गफ हानेका होलान् भन्थेँ, साँच्चै पो खान मिल्दो रै'छ त !!
जानकारीका लागि धन्यवाद !!!!!!

दिलीप आचार्य said...

म पनि सोच्दै थीएँ, यो केलाउने चाहि कसरी भनेर...।

चिनमा अध्ययनरत रहँदा कमलको जरा, समुन्द्रको झ्याउ देखी लिएर नाम थाहा नभएका धेरै वनस्पति पनि खाईयो तर यो सिस्नो चाही अहिले सम्म खाएको चैँ छैन अब मिलेमा खानु पर्ला!

Admin Dummali said...

यो किनामा बारे धेरै साथीहरु अनभिज्ञ रहेको पाईन्छ । यो खासगरी पुर्बी नेपालको किराँती बस्ती,गाँउहरुमा मात्र बनाइदो रहेछ । किनामाको माग हङकङ र छिट फुट बेलायत तिर बाट माग हुदो रहेछ। किनामाको नाम धेरै साथीहरुले सुन्नु भएको छैनहोला।किन कि यो शब्द किराँत भाषा बाट बानेको छ , त्यस्कारण यो कमै साथीहरुले मात्र सुन्नु भएको छ ।

दीपक जडित said...

कैलाशजी तपाईंसंग पकाउने कला पनि गजबकै छ जस्तो छ है । 'सिस्नु' सम्झाईदिनु भयो त्यसमाथी किनामा यस्लाई चैं मैले किनिमा भनेको सुन्थें । सिस्नु र किनिमा/किनामा दुबै मैले दार्जिलिङ्ग र सिक्किमतिर खा'को थें , झल्झली याद आयो ।

कैलाश said...

सिस्नुको जातै पोल्ने। त्यत्ति हुँदाहुँदै पनि काइदा मिलाएर पकाउँदा गजबको खान्की बन्छ नि उजेलीजी। अनि दीलिपजी यसलाई केलाउँनको लागि रबरको पन्जा या बाक्लो कपडाले एक हातलाई सुरक्षित पार्ने अर्को हातमा चिम्टा लिने। पन्जा लगाएको हातले सिस्नु समात्ने अनि चिम्टाको सहायताले सिस्नुलाई केलाउने या भाँच्ने। बस।

अनि दुम्माली दाई र दीपकजी यो किनामाको बारेमा पनि म पछि पोष्टमा राख्ने नै छु। हो किनामालाई किनिमा पनि भनिन्छ।

sangamkirati said...

होइन होउ कैलास जि
काहा बाट सिक्नु भयो होउ एतिका परिकार हरु बनाउने लौ है त्यो किनिमा पनि चाडै बनाउनु होला,है