Sunday, September 07, 2008

The Post, for the Confession

यो मेरो कुटीमा मैले कतिपय कुरामा मन खोलेरै बह पोख्दै आएको छु। त्यसमा साथ दिने र सुझाब दिने थुप्रै साथीहरु पनि भेटे, जुन मेरो लागि ठूलो कुरा हो (म यहाँ कसैको नाम तोक्न चाहन्न। त्यो काम पछिल्ला पोष्टलाई साँच्दैछु।)। शुरु शुरुको केही महिनासम्म आफ्नै धुनमा लेख्दै कुटीभित्र आफै बसे। भनौ न आफैसँग वार्तालाप गरिरहे। सानैदेखि म एक्लै भएकोले हुनसक्छ, गाउँमा हुँदादेखि नै म नितान्तै व्यक्तिगत डायरी लेख्ने गर्थे। जसलाई म आफैले आफ्नो विगतलाई फर्केर हेर्ने काममा लगाउँछु, फुर्सदको समयमा। बिस्तारै समय बित्दै जाँदा धेरै कुरासँग परिचित हुँदै गए। जिवनमा धेरै कुराहरु देख्दै भोग्दै जाँदा साथीहरु भेटिए। अनि मनको बह पोख्न विभिन्न माध्यमहरु पनि फेला पार्दै लगे। त्यसले गर्दा डायरी लेखनमा अलिकति सुस्ताउन थाले म।

व्यक्तिगत कुराले भर्दै आएको त्यो डायरीमा अन्य कुराहरु पनि मिसिन थालेको थियो। जुन मलाई भित्रैदेखि मन परिरहेको थिएन। त्यसले गर्दा मेरो डायरीको पाना त बेला बेलामा भरिन्थ्यो। तर त्यसको सबैभन्दा माथि तोकिने मितिबीच धेरै लामो दूरी तय हुन थाल्यो। त्यसै क्रममा ब्लगिङलाई नै डायरीको अर्को स्वरुपमा किन नढाल्ने त भन्ने सोच आयो (ज्ञानेन्द्रको 'शाही कू'सँगै शुरु भएका केही नेपाली ब्लगको पाठक रहँदा निकै नै नौलो लागेको थियो मलाई)। भएनि ब्लगिङ शुरु गर्न सकिरहेको थिइन। २००८ लागेदेखि ब्लगिङ शुरु गरे। संयोग, ठ्याक्कै त्यही ताका हाम्रो ब्लगको केपी ढुंगानाले मार्टिन चौतारीमा ब्लगिङसम्बन्धी आफ्ना अनुभव र विचार राखेका थिए। त्यसले पनि मलाई अझ रुचि बढायो ब्लगिङतर्फ। अनि मेरो मनमा लागेका, मैले देखे भोगेका कुराहरुबारेमा आफ्नै पारामा लेख्दै जान थाले। त्यसपछि त धेरै साथीहरुलाई थाहै भाको कुरा के लेखीरहनु र? तर पनि फेरी म यहाँ अलिकति सुसेल्दैछु, थोरै केही ओकल्दैछु आफ्नै बारेमा, तपाई र मेरो (हाम्रो)सम्बन्धको बारेमा।

अब कुराको चुरोमा जाऊ। म पहिलेदेखि कविता लेख्न मन पराउँदिनथे। न त अहिले नै मन पराउँछु। लाइन टु लाइन लेख्दै जान जत्ति सजिलो छ। उत्तिनै अप्ठ्यारो लाग्छ मलाई कविता लेख्न। हुन त म राम्रो लेख्न सक्ने मान्छे पनि हैन। तर म साधारण लेखाईमा नै आफूलाई एकदमै सजिलो र सहज भएको महशुश गर्छु। त्यति हुँदाहुँदै पनि यो भन्दा अघिल्लो पोष्टमा मैले मनको बह पोख्ने शैली रोजे- आफूलाई अप्ठ्यारै लाग्ने खालको (उजेलीजीले कविता भन्नुभएको छ। शरीर हेर्दा त कविताको छ तर त्यो न कविता हुन सकेको छ न त अरु कुनै। यता न उताको पारेर मैले राखिदिए)। मन नमान्दा नमान्दै मैले त्यसलाई ठेलीदिए। त्यसपछि हटाइदिउँ कि भन्ने मन भयो। तर फेरी अठोट गरे- अन्तिम पटक हुनेछ यो शैलीको मेरो लेखनी। कुटी मेरो व्यक्तिगत डायरी भनेनि साथीहरुमाझ बाँड्न थालेपछि केही न केही साथीहरुको पनि हो भन्ने ठान्छु म। त्यसैले साथीहरुको प्रतिक्रियाको पनि अपेक्षा थियो। जुन पुरा भएको छ। (सम्भवत मेरो ब्लगका नियमित पाठक साथीहरु धेरैजसोले मनमा लागेका कुराहरुमा कुटीभित्रै टिप्पणी दिइरहनुभएको छ। बाँकी केहीले कुटीबाहिर टिप्पणी दिने गर्नुहुन्छ। राम्रो लागेको कुरामा धेरैले मलाई हौसाउनुभएकै छ)।

साथीहरुको टिप्पणीमा मेरो सानो बुझाई यहाँ राख्छु। मेरा ब्लगर मित्रहरु जो मेरो कुटीमा चियाउँनुहुन्छ। मैले पोष्ट गरेको कुराप्रति तपाईहरुको विचार र दृष्टिकोणले पनि धेरै कुराको निर्धारण गर्छ (नियमित चियाउँने साथिहरुको सन्दर्भमा अझ बढी यो कुरा लागू हुन्छ मेरो लागि)। अघिल्लो यता न उताको लेखनी, जुन जानी जानी गरेको बिठ्ठ्याई,मा गजबको सल्लाह दिनु भो गफगाफको उजेली जीले। वास्तवमा म कविता लेख्न नजान्ने मान्छे नै हुँ। र मैले लेखेको यो टुक्राले कविताको शरिर बोकेको भएनि कविता चाहि पक्कै हैन। त्यसो भन्दा मलाई कुनै ग्लानी हुँदैन। न त तपाईको सुझाबले नै नरमाइलो लाग्छ। आफूमा जे छ त्यही कुरा स्वीकार्नुमा के को ग्लानी? बरु मैले मेरो मनको बहलाई कविताको स्वरुप धारण गराएकोमा आफ्नै शैलीलाई गएको २ दिनसम्म श्रद्धाञ्जली चढाइरहेँ (यहाँ गलत अर्थ नलागोस्)। त्यसैले आज आएर त्यो श्रद्धाञ्जली फुकाउँदैछु, तपाईहरु सामू मनको अर्को बह पोखेर।

नाच्न नजान्नेलाई आँगन टेढो हुन्छ? कुरा के मात्रै हो भने नाच्न नजानेकै हो कि साँच्चिकै आँगन टेढो हो भन्ने कुरा आफैले खुट्ट्याउनु जरुरी छ। यहाँ मेरो सन्दर्भमा उजेलीजीबाहेक धेरै साथीहरुले मौन रुपमा, बिना कुनै अक्षर, बिना कुनै शब्द प्रतिक्रिया दिनुभएको मैले ठानेकी छु। सोझै भन्दा रिसाउने हो कि भन्ने पनि थुप्रै साथीहरुले ख्याल गर्नु भएछ। उजेली जीले नै भन्नुभएको छ शुरुमै- नरिसाउनु होला है। ब्लगिङको क्रममा थुप्रै साथीहरुले राम्रो कुरालाई खुलेर राम्रो भन्नुको साथै नराम्रो कुरालाई सुधार्ने कुरामा बाटो पहिल्याउन मद्दत पुर्याउँनु भएको छ। राम्रोमा ताली र नराम्रोमा गाली गर्ने थुप्रै साथीहरुको प्रतिक्रिया पाउँदा एउटा परिवार पाएझैँ लाग्छ मलाई। यो एकआपसको परिवार अझ मजबुत भइ अगाडि बढीरहने छ भन्ने अपेक्षा गर्छु।

4 comments:

आकार said...

म त छक्क परेँ नि हौ, कैलाश जी ।
उजेलीको एउटै कमेन्ट ले यत्तिसारो रन्थनिनु'भो ।

सबै को आ-आफ्नो, धारणा हो अनि विचार हो । तपाई को विचार ठिकै थियो, के त्यसलाई कविता नै भन्न नमिल्ने त पक्कै होइन । उजेलीले होइन भन्ने बित्तकै हैन भन्नु भो, यति सम्म कि अब त कविता लेख्दिन नै जस्तो गर्नु' भो ।

खैर, म आफूलाई लागेको अनि बोल्नुपर्ने केही छ भने मात्र कमेन्ट लेख्नेगर्छु, अनि मलाई सरोकार नलाग्ने पोष्टहरुमा म पढ्छु मात्रै ।

जेहोस्, यस्ता तिता मिठा अनुभवहरु त भै'हाल्छन् , आफ्नो कुरामा अडिग भएरै अघि बढ्दा राम्रो होला जस्तो लाग्छ । हामी पार्टि का नेता जस्तो त होइनौँ नि, केही सिद्धान्त नै नभएको । के कसैले भन्दैमा हाम्रो मनस्थिति परिवर्तन हुन्छ त ???

दीपक जडित said...

कैलाशजी तपाईंलाई यौटा प्रमिस गराउन मन लागेको छ है मलाई । गर्नै पर्ने भन्ने छैन तर गर्नुहुन्छ यदि भने तपाईंको कुटीमा हरेक पाँच छ वटा पोष्ट मध्ये यौटा पोष्ट कविताको स्वरुपमा राख्नुहोला । कविता बिधाभित्र समेटिने कुनैपनि रचनाहरु मुक्तक , गीत जे भएपनि । तपाईंको पछिल्लो कविता ( तपाईं नभन्नुस् , अरुले नभनुन् म चैं कविता नै भन्छु ) मन खुम्च्याउनु पर्ने खालकै छैन है । उजेलीजीको प्रतिक्रियालाई मैले बुझ्दा लेख लेख्नुभयो भने कविताको दाँजोमा सलल हुन्छ भन्ने हो त्यसलाई कविता भनेर लेख्नै हुन्न भन्ने ( भनिएकै भएपनि ) बुझ्नु आवश्यक छैन ।

कैलाश said...

हाहाहाहा । रन्थनिएको ??? त्यत्ति सारो भित्तैमा पुग्नेगरी त नपेलौ न है साथी। म झनै चेपिउँला फेरी। उजेलीजी त एउटा निहुँ मात्रै पो हुनुभो त। मलाई लागेका धेरै कुरा सोझै र फेदैदेखि ओंकल्ने मेरो (राम्रो या नराम्रो जे भनेनि)बानी छ, चाहे त्यो कमजोरी होस् या गल्तीको सन्दर्भमा। लेखनमा पनि त्यही आउँछ नै। कविता लेखेपछि म पढ्छु तर Uncomfortable लाग्छ म आफैलाई पहिलेदेखि नै। म आफैलाई थाहा हुन्न त्यो कविता हो कि हैन भन्ने कुरो। केही साथीहरुको चाहना छ मेरो कविता पढ्ने। म त्यो पूरा गर्न सक्दिन भन्ने कुराको संकेत गर्न खोजेको मात्रै हो।

हिजो दिपकजीले मेरो पोष्ट ठेल्नासाथ मलाई आफ्ना मनमा उब्जेको भावना सुनाउनुभयो। त्यसको साथै यहाँ मलाई अझै उत्साहित गर्नु भएकोमा धेरै धन्यवाद। अनि आकारजीले आफ्नोपन र आफ्नो धारणामा अडिग रहने कुरालाई औँल्याउनुभएकोमा पनि धन्यवाद। यो सही कुरा हो।

यो पोष्टले मलाई यस्तो प्रतिक्रिया पनि आउला कि भन्ने आशा थियो- "हैन कैलाशजी तपाईको हरेक पोष्ट पढेपछि कमेन्ट गर्नैपर्ने? नगर्दाखेरी तपाईलाई गाली गरेकै ठहरिने? What nonsense?...." (खैर आउन बाँकी पनि पो हो कि?)। तर मेरो भनाईको अर्थ त्यो पक्कै पनि हैन। पढिएको मध्धे आफूलाई भन्न मन परेमा मात्रै त कमेन्ट लेख्ने गरिन्छन्त। जे भएनि कोरम पुर्याएर साथीहरुसँग कुरा गर्दा या साथीहरुबाट खरो प्रतिक्रिया पाउँदाको मजै बेग्लै छ यार। I just love it.

आगामी दिनमा यो कविता भन्ने कुरो मसँग बस्ला नबस्ला म आफै पनि जान्दिन दिपकजी। अहिले तपाईलाई प्रमिस गर्ने मेरो हैसियत बनाएकै कहाँ छु र? त्यसैले अहिलेलाई माफी चाहन्छु म तपाईसँग। अरु कुरा गर्दै र हेर्दै जाउँ नि।

दिलीप आचार्य said...

मैले देखेको यौटा कुरा हामिहरु कोहि पनि "पर्फेक्ट" छैनौं ।

अघिल्लो चोटिको तपाइको कविता मलाई पनि अलिकता कता के नमिले के नमिले जस्तो लागेको हो तर त्यसलाई कमेण्ट गरेर 'यस्तै हुनुपर्थ्यो' भन्ने बुता पनि आफुमा नभएकोले पढें र चुप लागें (मतलब कमेण्ट लेखींन)

अहिलेको तपाईको Confession पढेपछि भने केहि लेख्नै पर्‍यो भनेर लेख्दैछु ।

कुरा नलम्ब्याउ! ल, भोलि हामी मध्य कसैले वा अरु कोहि पाठकले "तपाईको ब्लग 'बल्ग' जस्तै छैन वा "मलाई तपाईको ब्लग लेखन चीत्त बुझेन" भन्ने कमेण्ट गर्‍यो भने के तपाई बल्ग लेख्नै छाडनु हुन्छ??

परिमार्जन गर्ने तर्फ जोड गरौं 'बन्द' गर्ने तर्फ हैन।

खै उजेली जि तपाई पनि केहि भन्नुस न !