Friday, November 14, 2008

माइतीघर

"बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर माइतीघर माइतीघर"

यो गीतको रिमिक्स भर्सन हाल अञ्जु पन्तको स्वरमा सञ्चारका विभिन्न माध्यमबाट बजीरहेको छ। सो गीत नेपाली चलचित्र बन्न शुरु भएको केही समय बित्दा नबित्दैखेरी बी एस राणाको निर्देशनमा बनेको 'माइतीघर' नामक फिल्मको हो। जुन फिल्म निजी क्षेत्रद्वारा वि‌.सं‌.२०२३ मा निर्मित पहिला नेपाली चलचित्र हो। त्यसअघि सरकार वा सरकारी निकायकै इच्छाअनुरुप चलचित्र बन्दै आएको र माइतीघर बनेपछिको लगभग २ दशकसम्म पनि निजी क्षेत्रबाट अन्य चलचित्र बनाउने अनुमति दिइएको थिएन। हुन त माइतीघर पनि सरकारकै इच्छाअनुरुप बनेको चलचित्र थियो। तैपनि निजी क्षेत्रलाई चलचित्र निर्माण कार्यमा संलग्न गराउने पहिलो कदम थियो त्यो। हाल बज्ने गरेको माइतीघरको शिर्ष (रिमिक्स)गीतको भिजुअलमा मोडलको साथै माइतीघरका प्रमुख पात्र माला सिन्हालाई पनि देख्न सकिन्छ। आज यहाँ सोही चलचित्र माइतीघरबारे लेख्न औँलालाई किबोर्डमा डुलाउँदैछु। धेरै पहिलादेखि नै 'माइतीघर' हेर्ने रहर थियो। यसपालीको तिहारमा बल्ल धोको पुरा गरे। हुन त मैले थप अरु दुईटा फिल्म पनि हेरेको थिए त्यही बखत- Rock On (हिन्दी)र Lure of the Wolf (कोरियन)। सबै आ-आफ्नै स्वाद र महत्वका छन्। कोरियन फिल्मले मन छोएको थियो मेरो। तैपनि पुराना तर राम्रा मानिएको फिल्मकै बारेमा थोरबहुत उधिन्ने रहर भो अहिले।

१२ बर्षदेखि चुपचाप र गुमनाम भईकन जेलको कोठरीमा बस्दै आएको र जेल बाहिर जान नचाहने मु्ख्य पात्र 'नायिका' को जीवनको तीतामिठा घटना र भोगाईहरुलाई उघार्दै फिल्म अघि बढ्छ। जीवनगाथा सुनाउँदा सुनाउँदै तीब्र भावनात्मक आवेगले नायिकाको हृदयको गति बन्द हुन्छ। फिल्म सकिन्छ। नारीप्रधान यो फिल्ममा प्राकृतिक सुन्दरताको खानी पोखराको एक शिक्षित, फरासिली, निडर र साहसी युवतीको जीवनमार्गको उतारचढाव, प्रेम, त्याग र अठोटलाई उनेको छ। माला सिन्हालाई साथ दिने अन्य कलाकारहरुमा सि.पी. लोहनी (नायक)लगायत अन्य थुप्रै भारतीय तथा थोरै नेपाली कलाकारहरु देख्न सकिन्छ। फिल्मको निर्देशक बि एस थापा पनि भारतीय नागरिक हुन्। त्यसताका चलचित्रसम्बन्धी प्राय सबैजसो कामकाज भारतमै सम्पन्न हुने मात्र हैन जनशक्ति पनि भारतीय उत्पादन नै हुने हुँदा त्यतैको प्रभाव नदेखिने त कुरै भएन। उदाहरणमा माला सिन्हाकी छोरी पढ्ने त्रिचन्द्र कलेजको सांस्कृतिक कार्यक्रममा सुनिल दत्तले प्रमुख अतिथिको रुपमा टाइ सुट र नेपाली ढाका टोपीमा सजिएर हिन्दी भाषामा मन्तव्य दिन्छन्।

फिल्मको शिर्षक र कथावस्तुबीच खासै सम्बन्ध देखिन्न। नायिकाले सामाजिक प्रतिष्ठायुक्त हाँसीखुसी जीवनदेखि बिधुवा-बधिनी र हत्यारासम्मको जीवन भोग्नु नै यस फिल्मको मुख्य कथासार हो। यद्यपि संयोगान्त र सुखद ढंगले नै फिल्मको अन्त्य हुन्छ। जयदेवको संगीतले फिल्मलाई मनोरञ्जनात्मक चटनी दिएको छ। शीर्ष गीतबाहेक 'काला कुर्तैले ६ महिना जागिरै खाया', 'म प्यार बेचीदिन्छु' लगायतका गीतहरु निकै चर्चित थिए र यद्यपि छ।

प्रमुख पात्र माया (माला सिन्हा)ले शिकार खेल्न रुचाउँने पढे लेखेको घरानीय केटो मोहनसँग प्रेम बिहे गर्छे- पोखराकै अर्को टोलमा। बिहेपश्चात केटो २ वर्षको लागि विदेश पढ्न गएर आउँछ। आएपछि जन्मदिनको अवसरमा पोखरादेखि काठमाडौँसम्मका ठूलाबडा निम्तालुहरुको आगमन र नाचगान चल्छ। तर दुर्घटनामा परेर शिकार खेल्न गएको मोहनको मृत्यु हुन्छ। त्यसपश्चात शुरु हुन्छ मायाको दुखद दिन। घरपरिवार तथा समाजले पोई टोकुवा राँडीको नाम भिराउँदै पलपल मानसिक यातना दिने, हरेक सामाजिक तथा धार्मिक कार्यबाट बहिष्कार गरेपछि मायाले आफ्नो स्वर्गको खोजी गर्ने कदम चाल्छे। २ वर्षको छोरासमेत माया मारेर र गर्भमा रहेको बच्चालाई प्रेमको चिनो सम्झेर अनभिज्ञ यात्रामा निस्कन्छे माया। बाटोमा कुनियतका मान्छेसँग बच्ने क्रममा नेपालगञ्जस्थित बधिनी टोलमा पुग्छे। त्यही टोलमा नाचगान गर्दै जीवनको १६ वर्ष बिताउँछे- निरमायाको पहिचान बोकेर। आफ्नो र आफ्नो सन्तानसँगको नाता र आफ्नो बास्तविकतालाई लुकाएरै छोरा र छोरीलाई काठमाडौँको कलेजमा उच्च शिक्षा दिलाउँछे। यस काममा गोफ्ले भन्ने पात्रले दाजुको हैसियतले मद्दत गर्छ। धनाढ्य साहू जगतमान सुब्बाको गिद्दे नजर निरमायाप्रति टिकीरहदा पनि केही नलागेपछि निरमायाको जीवनको लुकेको पाटो पत्ता लगाएरै छाड्छ। र, निरमायाको सट्टा उसकी छोरी रेखालाई पाउने योजना बुन्छ। आफ्नो बर्षौको तपस्या पूरा हुँदाहुँदै तुहेको देख्नुभन्दा जगतमानलाई विष दिएर मारिदिन्छे निरमायाले। आफ्नो प्रतिपक्षमा आफ्नै छोरा अदालतमा उभिएको पाउँछे निरमाया। तैपनि उसलाई कुनै ग्लानी हुन्न। उल्टै उसको छोराको मेहेनत र सफलताप्रति गर्भ महशुश गर्छे। जब आफ्नै छोराले एक बेश्या जो पैसाको लागि जुनसुकै अपराध गर्न पनि पछि नपर्ने कलंकित आइमाइको उपमा दिँदै अदालतलाई सफाई दिन्छ तब उसको धैर्यताको बाँध फुट्छ र आफ्नो वास्तविक जीवनको घटनासँगै छोरासामु उभिन्छे। अनि परिबन्धमा परेर छिन्नभिन्न भएको परिवार फेरी परिबन्धमै परेर एक हुन्छ। त्यसपश्चात आफ्नो छोरीको सुखद दाम्पत्य जीवन हेर्ने धोको समेत पूरा गरेर १५ वर्षको कारावासको जीवनतर्फ लम्किन्छे निरमाया।

फिल्ममा एउटी शिक्षित नारीलाई प्रमुख पात्र बनाइएको छ र विषयवस्तु पनि नारी केन्द्रित नै छ। त्यत्ति हुँदाहुँदै पनि घुमाउरो पाराले नै सही त्यसबेलाको पञ्चायती व्यवस्थाको गुणलाई देखाइएको प्रष्ट हुन्छ। एउटी बधिनी, जसलाई अदालतले एउटा धनाढ्य साहूको हत्यारा घोषित गर्यो, उसलाई बिना कुनै यातना, बिना कुनै हेय भावना एउटा सम्मानीय व्यक्तिको पद यात्राझै जेलमा लगिनु र स-सम्मान राखिनुले त्यही कुरातर्फ संकेत गर्छ। जबकी लोग्ने मर्नासाथ ३२ लच्छिनले युक्त त्यही नारी हरेकको दृष्टिमा एउटा कुकुरभन्दा तल्लो जातको, सास फेर्ने र आफ्नो काम आफै गर्ने प्राणीमा मात्र सिमित रहन्छ। कि एउटा हत्या गर्नुभन्दा बिधुवा हुनु अपराध मानिन्थ्यो त्यो समयमा? भन्ने प्रश्न मेरो मनमा उब्जियो। जुन यो फिल्मको उद्देश्य पक्कै पनि हैन।

यसको राम्रो पक्ष, आफ्ना छोराछोरीलाई जसरी पनि शिक्षित बनाउनु पर्छ, नारी भनेको विचराको पात्र हैन उ सक्षम र आत्मनिर्भर हुन सक्छे र आँटेमा आफ्नो जीवनलाई आफैले सार्थक बनाउँन सक्छे। तर त्यसको लागि स्वयं नारी नै शिक्षित र साहसी हुनु जरुरी छ भन्ने सन्देश बोकेको छ। यद्यपि त्यसबेलाका अशिक्षित, गरिब रैती वर्गका लागि त्यो चलचित्र बनाइएको थिएन। न त चलचित्र हेर्ने र त्यसबारे सोच्ने या त्यसबाट शिक्षा लिने कुरामा उनीहरुको मनग्गे पहुँच नै हुन सक्थ्यो। त्यसबाहेक कलाकारहरुको अभिनय निकै सशक्त रहेको छ । समग्रमा चलचित्र हेर्दा समय खेर गएझै अनुभव हुँदैन । र तत्कालीन समय र परिबेशमा त्यो तहको चलचित्र बन्नु चलचित्र जगतकै लागि सकरात्मक सुरुआत हो भन्न सकिन्छ । उहिलेको सफा, हराभरा पोखराका प्राकृतिक छटा, हिमाल, पाखा पखेरा, गाउँले परिवेशको साथै खुला र स्वच्छ काठमाडौको रमणीय दृश्यहरु त देख्न पाइन्छ नै फिल्ममा। त्यसैले एकपल्ट सबैले यो फिल्म हेर्दा कुनै हानि हुन्न। बरु त्यसबेला र अहिलेको ब्याबसयिक चलचित्रहरुबिचमा तुलना गर्दा उत्तिबेलाकै चलचित्रहरु धेरै हिसबले उत्तम ठहरिन सक्लान् (अहिलेका केहिलाइ छाडेर)।

अन्तिममा फिल्मसँगै जोडिएको एउटा कुरो। हाल काठमाडौँको 'माइतीघर' नामले परिचित ठाउँ यही माइतीघर फिल्मबाट बन्न पुगेको भन्ने सोही चलचित्रसँग जोडिएको चलचित्रकर्मीकै मुखबाट कुनै रेडियो कर्यक्रममा आन्तर्बार्ता दिने क्रममा फुत्किएको कुरो हो (सायद कुनै पुस्तकमा पनि लेखिएको हुनुपर्छ)। हाल सेन्ट जेभियर्स कलेज रहेको डाँडामा माइतीघर निर्माण समूहको कार्यलय रहेको र त्यही कार्यलयसँगै 'माइतीघर'को होर्डिङ बोर्ड टाँगिएको थियो। त्यही होर्डिङ बोर्डबाटै सो ठाउँको नाम माइतीघर रहन पुग्यो।

10 comments:

आकार said...

माइतिघर यसपाली हेरियो, दशैँ पहिले, विश्वविद्यालयमा भएको फिल्म फेस्टिभल मा !

अचम्म लागेको कुरा के भने, उ जमाना मा यति राम्रो चलचित्र बनेको छ तर अहिले बन्ने गरेका चलचित्र को स्तर भने, किन गएगुज्रेको छ ?

उजेली said...

मलाई चैँ के लाग्छ भने माइतीघर फिल्म आजको जमानामा बनेको भए फ्लप हुन्थ्यो । हामीले माइतीघर फिल्म हेर्न बस्दा हाम्रो चिन्तन पनि त्यहि समयमा ढालेका हुन्छौँ र हामीलाई राम्रो लाग्छ । त्यस समयका लागि त यो धेरै राम्रो चलचित्र थियो । तर आज आएर त्यो चलचित्रसँग अहिले बनेका चलचित्रलाई दाँज्न अलि मिल्दैन जस्तो लाग्छ । अहिलेका चलचित्र माइतीघरभन्दा धेरै राम्रा पनि छन् । तर हाम्रो चिन्तनको विकास जुन अनुपातमा भयो त्यो अनुपातमा फिल्म बनाउनेको चिन्तनको विकास हुन सकेन । माइतीघर त्यो बेलाको धेरै राम्रो चलचित्र हो तर त्यससँग दाँजेर अहिलेको चलचित्रलाई नराम्रो भन्दा चैँ अलि चित्त नबुझेजस्तो हुन्छ ।

आकार said...

माइतिघरमा देखाइएको परिवेश र अहिले को परिवेश मलाई उस्तै लाग्छ ।
"वादी" को प्रचलन जिवित नै छ ।

मलाई लाग्छ, माइतिघर सँग चलचित्र दाँज्दा केही आपत्ति हुँदैन । अहिले का चलचित्रले त्यस चलचित्र को प्रस्तुति अनि शैली को त अनुसरण गर्न सकेका छैनन् भने अहिले का चलचित्रलाई माइतिघर भन्दा तलको कोटि मा राख्दा पनि केही आपत्ति हुँदैन ।

Basanta Gautam said...

मैले 'माईतीघर' हेरेको दुई दशकै भईसक्यो होला! कैलाशजीको यो टाँसोले त्यसको कथालाई फेरि ताजा बनाईदियो।
हिन्दी शैलीको मसालेदार चलचित्र भएपनि अहिलेका कथित मूलधारका नेपाली चलचित्रहरुभन्दा कता हो कता राम्रो छ त्यो।
त्यसका गीतहरु पनि खुब राम्रा लाग्छन् मलाई। सबैभन्दा बढीचाहिँ 'काला कूर्तैले---' भन्ने।

manu said...

लौ दिदि माइति घर पहिला देखि नै नाम् सुनेको भए पनि हेर्ने मौका पाइ रहेको थियन अब भने हेर्नु पर्ला पुरानो पनि र नया भर्सन् पनि। तर जे सुकै भय पनि पुरानो भनेको पुरानै हो जति सुकै मसलेदार नै बनाए पनि नेपाली फिल्म् को खस्किदो बजारले अलि मानिस लै झुलाएको चै पक्कै हो अब हेर्नु नि त्यो तेति राम्रो फिल्मको गित् लाइ रिमिक्स गरेर खोइ के खोइ के बनाइ दिन्छ। हुनत रिमेक होस् या रिमिक्स दुइटै ले पुरनो चिजलाइ ताजा त गराइ दिन्छ तर एस्को नेगेटिव पक्ष चै के भने खालि राम्रो गितहरुलाइ ताजा गराउनेको होडले झन स्तर नै खस्काइ दिन्छ। सुनमा सुगन्ध हामि किन खोज्ने आखिरि त्यो चिज हरु त सदबहार नै हुन् नि तर ऐले का नया गायक गायिकाहरुले आफ्नो नाम मात्र बेच्ने गरेको देखेर अलि दुख लागेको हो। मैले फिल्म नहेरे पनि गितहरु चै सबै मन् पर्ने छन् तेस्मा अझ मन् छुने चाहि एहि दिदिको माथिका हरफहरु हुन so thankyou didi एक पटक माइति घर हेर्न लाइ उक्साइ दिनु भाको मा

कैलाश said...

उजेलीजीको कमेन्ट पढ्दा मलाई मनमा लागेको कुरा कुरा आकारजीमार्फत आइसकेछ। अनि कि मनु नानी फिल्म पक्कै हेर्नुस् तर एउटा कुरोमा अलिकति कन्फ्यूजन भएझैँ लाग्यो मलाई। त्यही कुरा प्रष्ट पार्न चाहन्छु है। माइतीघरको शीर्ष गीत मात्रै रिमिक्स भएर आएको हो। पुरै फिल्म चाहि अहिलेसम्म रिमेक भएको छैन। भयो भने चाही हामीसँगै जानुपर्ला नि चाँजोपाँजो मिलाउन सकिएमा। कि कसो त मनु?

दीपक जडित said...

नहेरेको पनि हैन माईतिघर पहिले नै , कहिले हो भनेर चैं हेक्का छैन तर हेरेको चैं पक्कै हो , उ बेला फिल्मको समिक्षा गर्न लायक थिईनँ क्यार आज तपाईंको कुटीमा माईतिघरको चर्चा हुँदा पनि केहि बोल्ने भन्ने कुरा नै आएन र चुपचाप बसेको थिएँ । हिँजो तपाईंसँग कुराहुँदा कुटीमा पस्कनलाई नयाँ खुराक छ भने जस्तो लागेको थियो र आज नयाँ के रहेछ त भनेर पसेको खै माइतिघरकै कुरा पो रहेछ । यो विचमा यु ट्युबमा गएर माइतिघरका केहि गीतहरु भने हेरेँ । खास गरेर काला कुर्तैले भन्ने गीत सुन्दा अहिले पनि पहिले झैं कता छेउ कता टुप्पो हो ? जस्तै लाग्यो तर सुन्दा भने राम्रो लाग्छ । अनि अहिले रिमिक्स गरिएको गीत मा जस्तै बाँसुरी बजाउन जान्ने भएको थिएँ पहिले म ।

Luna said...

मैले त अहिले सम्म हेर्न पाएकी छैन माइती घर फिल्म । कैलाश जि को लेख पढ्दा झन्डै झन्डै हे रे झै भो ।

rajankathet said...

sathi yo film ko Director ko naam B.S. Thapa ho Rana hoina... BS Rana pani film chhetra kai manchhe ho...

rajankathet said...

ma sathi Ujeli sanga asahamat... purna asahamat.... last year ko Nepali Blockbuster kathit tyo chatpati Rekha Thapa ko "Kismat" hernu hos ani thaha paaunu hunchha mainstream level ma bani rahekaa Nepali movie haru ko taal!!!