Sunday, July 05, 2009

कुटीको कैलाश अर्कै कुटीमा छिर्दा...

हामी कुटीको छेउछाउ सम्म पुग्यौँ। असजिलो लाग्दालाग्दै पनि यसो चियाएर हेर्यौँ। चियाउँदाखेरी एकजना आधावैसे देखिने कपाल पालेको लोग्नेमान्छे कालो कपडाको धोती मात्रै बेरेर ब्वाङ ब्वाङ धुवाँ उडाउर हुक्का तान्दै गरेको देखियो। साथीले भन्योः यो ठाउँ त डेन्जर जस्तो छ है, अब फर्किउँ। साँचै नै हुस्सु लागेको याम थियो। कुटीको शिरबाट धुवाँ निस्केको देखिन्थ्यो। बेलाबेलामा मान्छेको खल्याङबल्याङ आवाज झिनो आवाजमा सुनिन्थ्यो। त्यत्तिकैमा हामी जुन बाटो झरेका थियौ त्यही बाटो उकालो चढ्यौँ। केही महिनाअघि म त्यही गुफा छेउछाउ गए। बाग्मति नदीको किनारलाई माथि उठाएर गुफामा आउने-जाने बाटो बनाउने कार्य भइरहेको थियो त्यसबेला। मोबाइलबाट मैले फोटो खिचे। तर त्यसबेला पनि गुफाभित्र गइएन। अचानक हिजो दुईजना साथीहरुलाई मैले त्यहाँ पुर्याए- मर्निङ वाक र पशुपति दर्शनको बहानामा।

म कुरा गर्दैछु पशुपतिनाथ मन्दिर र कैलाश डाँडाको आडैमा रहेको सातगुफा नामले पुकारिने स-साना गुफाको बारेमा। जुन कैलाश डाँडाबाट मृगस्थली जंगलतर्फ हेर्दा तल बाग्मतितिर जाने खुड्किला बाटो हुँदै झर्नुपर्छ। र अहिले पशुपतिको कलीको मूर्ति भएको बाटोबाट सोझै जान मिल्ने सजिलो बाटो पनि बनाइसकिएको रहेछ (दिशाङ्कन गर्ने खुबी नभएकोले यसरी व्यक्त गर्दैछु। नबुझिएको खण्डमा माफ पाउँ है)। त्यहाँ रहेको सातवटा गुफाहरुमध्ये एकाधमा प्रवेश निषेध रहेछ। जहाँ जहाँ पस्न पाइन्छ ती गुफाहरुमा पसेर, गुफाका बासिन्दासँग गफ गरेर फर्कियौ हामी। हामी बाँचेकै संसारको एउटा अंश थियो त्यहाँ।

गुफाको मुखैमा गएर सूर्यको प्रतिबिम्ब अंकित सानो द्वारलाई समाएर 'भित्र पस्न मिल्छ?' भन्दै म सोध्छु। साथीहरु अप्ठ्यारो मान्दै अलिक पर उभिएका थिएँ। तैपनि म उनीहरुकै उपस्थितिलाई आड मानेर गुफाभित्र छिर्ने साहस गर्दैछु। बाहिरबाट हेर्दा भित्र अँध्यारोमा एउटा दियो पिलपिल बलेकोबाहेक केही देखिन्नथ्यो। तर मेरो मोबाइलबाट खिचेको यो तस्बीरमा त्यो दियो देखिएन। मान्छे खोकेको आवाज सुनेर मैले अनुमति मागेको थिएँ। 'किन नमिल्नु' बृद्ध आवाजले अनुमति दिएपछि म छाम्‌छाम्‌ छुम्‌छुम् गर्दै भित्र छिरे। गुफाभित्र आगन्तुक बस्ने ठाउँ पनि रहेछ। ती बृद्धको संसार त्यही गुफा रहेछ। गुफाभित्र लक्ष्मीको मूर्ति बीचमा छेउछेउमा हनुमान र गणेशको मूर्ति उभिएका थिएँ। त्यही लक्ष्मीको अघि राखिएको पालाको दियो पिलपिलाएको रहेछ। भित्र बस्दै जाँदा सबै कुरा स्पष्ट देखिन थाल्यो। वरपर नियालेर हेर्यौ। साढे पाँच फिटजति अग्लो उक्त गुफाभित्र चकले मन्त्रहरु कोरिएको थियो। कहिलेकाहीँ विदेशीहरुले पनि ध्यान गर्न आउने गरेको जानकारी उक्त गुफामा बस्ने बृद्धले दिए। कोही कोही त सिर्फ गाँजा खानकै लागि भएपनि गुफामा बस्ने गरेको पनि सोही बृद्धबाट थाहा पाइयो। त्यहाँ बस्दाबस्दै तीनजना पुरुष स्वर सुनियो। पहिलो 'यहाँभित्र त मान्छे बोलेको झैँ सुनिन्छ नि', दोस्रो 'चप्पल बाहिरै छ नि त। हामी नि एकपल्ट हेर्ने कि?', तेस्रो, 'भो भो फर्किउँ'। सायद संकोच र असजिलोपन लिएर उनीहरु फर्किए। हामी चाहि गफ गर्दै निकैबेर बस्यौँ।

त्यसपछि अन्य गुफातिर लाग्यौँ। त्यहाँ हरेक गुफाको आ-आफ्नै संरक्षक र हेरचाह गर्ने मान्छे रहेछन्। साथै हरेक गुफामा कुनै न कुनै भगवान्‌को मूर्ति पनि। कुनै गुफा सोझै छिर्नपर्ने। कोही चाही ओरालो झरेर छिर्नपर्ने। केही गुफाभित्र ध्यान गर्नको लागि राम्रो व्यवस्था गरिएको थियो। काठ, पराल या खोसेल्टाको पीरा अनि चकटीहरु बस्न मिल्ने दुरीमा राखिएको। हरेक गुफाभित्र बिना आकारका ढुंगाहरुलाई देवता मानेर पूजिएको देखिन्थ्यो।

टाइगर बाबाको अनुमति लिएर गुफाको संरक्षक बन्न पाइने रहेछ। टाइगर बाबा जो एकपल्ट निकै चर्चामा पनि आएका थिएँ। उनी मांसाहारी रहेछन्। छ महिना सिर्फ हावा मात्रै खाएर बाँच्छन् रे अनि छ महिना मासु। त्यसैले पनि उनी टाइगर बाबाको उपनामले चिनिएका होलान्। हाल चाहि टाइगर बाबाको अनुयायीको रुपमा रहेका 'महाराज' सम्बोधनले पुकारिने एकजना आधाबैसे व्यक्ति रहेछन्। लामा कपाल, कालो कपडाको धोती बेरेका, निधारमा कालो टीका लगाएका। उनी मात्रै बस्ने गरेको भन्ने थाहा हुने एउटा बस्ने आसन। आसनसँगैको भित्तामा मान्छेको खोपडी अनि निकै पुराना देखिने त्रिशुल, रुद्राक्षको मालालगायतका चीजहरु थिएँ। आसन अगाडि धप्‌धपी आगोको राप भएको चुल्हो, जहाँ बडेमानको अगुल्टो झोँसिएको थियो। यो तस्बीरमा देखिएको गुफाभन्दा केही माथि उक्लेपछि महाराज बस्ने आसन र मैले माथि उल्लेख गरेको सबैचीज देख्न पाइन्छ। साथै ध्यान गर्ने अर्को गुफा पनि। बिहानीपखको समय। हामी पुग्दा ती महाराज पलेटी कसेर केही मन्त्र मनमनै फलाक्दै थिएँ। केहीबेरमै उनले आँखा खोले। अनि पलेटी कसेरै गाँजा तान्न थाले। उनलाई गाँजा तान्न तयार पारीदिने अर्का दुईजना सहयोगी थिए।

महाराजलाई म बेलाबेलामा प्रश्न सोध्थे। महाराज चुपचाप छन्। ती दुईजनामध्ये घरी एकले घरी अर्कोले उत्तर दिन्थे। कुरा लम्ब्याउने मन नभएर होला 'महाराजलाई यस्तो कुरामा चासो नै छैन' भन्थे। घरी उत्तरै दिँदैनथे। तर बीचबीचमा महाराज अनि गाँजाको प्रशंसा गर्न चुक्दैनथे। ती सहयोगीहरुले हामीलाई चिया खाएरै जाने अनुरोध गरे। शुरुमा पसेको गुफाभित्र बृद्धसँग गफिदा जुन खालको निर्धक्कपना या विश्वास थियो त्यो अहिले हराएको थियो हामी तीनैजनामा। तैपनि उनीहरुको अनुरोधलाई स्वीकार्दै हामीले चिया खायौँ अनि त्यहाँबाट बाटो लाग्यौ। फर्किदै गर्दा बाटोमा एउटा साथी आफ्नो संकोच र त्रास व्यक्त गर्दैथियो 'चियामा त्यस्तो केही त हालेर दिएन होला नि? मलाई त कस्तो झुम्म भएर आयो'। अर्का पुरुष साथीले भने 'पहिले कहिले गाँजा चाखेको या त्यसको गन्ध सुँघेको थियो?', 'छैन', 'गाँजाको गन्धले त्यसो भाको हो। चिया त हाम्रै आँखा अगाडी बनाएर देको हैन र?' हामीलाई आश्वास्त पार्दै उनले भने।

५ वर्ष जति अगाडि होला घुम्दै गर्दा पहिलोपल्ट म त्यस गुफाको आसपास पुगेको। त्यहाँ गुफा या भिरको भित्तमा अडिएको मान्छे बस्ने कुटी होलान् भन्ने कल्पना नै थिएन। त्यसैले म आश्चर्यमा परे त्यसबेला। त्यसबेला त्यहाँ देखिएका कुटीहरुभित्र छिर्ने आँट थिएन ममा। न त मसँगै हिडेको साथीको नै थियो। भित्तामा टाँसिएका स-सानो प्वालझैँ देखिने द्वारबाट फुत्त फुत्त मान्छे बाहिर भित्र गरेको देखिन्थ्यो। यहाँ नि हामीजस्तै मान्छे बस्दा रहेछन् भन्ने लाग्यो त्यसबेला। साधारण कल्पना या सोचाईमा त्यहाँ भयंकर लट्टाधारी साधुबाबा- जो रहनसहन या लवाईखवाईमा हामी भन्दा पृथक हुन्छन्,हरु बस्दाहुन् भन्ने थियो। जो नितान्तै शान्त र एक्लो जीवन यापन गर्न अभ्यस्त भएका हुन्छन्। जो त्यतिबेला अनेकओली अनुमान गर्दै एकआपसमा कुराकानी गर्दै टाढैबाट हेरेर फर्कियौँ। तर त्यसपछिको दिनमा पनि कुटीभित्र के रहेछ भन्ने कौतुहलता मनमा छँदैथियो। र बेलाबेलामा ती पहरामा टाँसिएका गुफाहरुको आसपास गएर जिज्ञासु भएर हेर्थे। पहिलोपल्ट गुफाभित्र छिरियो र केही हदसम्म जिज्ञासा मेटियो।

12 comments:

आकार said...

ओहो, मलाई यो कुरा को ज्ञान अहिलेसम्म थिएन । तपाई अर्कै कुटी मा छिरेपछि भने मेरो नि होश खुलेको जस्तो भयो । त्यहाँ गुफा छन् भन्ने कुरा पनि मेरो जानकारीमा थिएन । हुन त गुफा भनेपछि अलि पस्न त संकोच नै लाग्छ हैन र ?

जेहोस्, हिम्मत गरेर, भित्र को वस्तुस्थिति हामीलाई सुनाउनु भएको मा धेरै धन्यवाद ! यो पढिसकेपछि जाने ईच्छा त मलाई नि लाग्यो तर म नि एकदम निडर साथीको खोजीमा लागेँ है ! के गर्नु, गुफा भित्र त्यसमाथि नि विभिन्न थरिका बाबा छन् । धन्न चिया मा केही रहेनछ ! हाहाहा

फेरी पनि एकपटक धन्यवाद है, कैलाश जी ले कैलाश को सयर रोचक किसिमले गराउनुभएकोमा ।

Basanta said...

साह्रै मन प-यो यो संस्मरण! पढ्ने मौका दिनुभएकोमा धन्यबाद! कुने दिन आफूपनि त्यहाँ जाने र गुम्ने रहर पलायो

Sujan Sharma said...

यस बारेमा भने मलाई पनि थाहा रहेनछ । तपाँईको ब्लग पढेर मात्र पो थाहा भयो,त्यस ठाँउमा गुफाहरु पनि रहेछन् भनेर । राम्रो प्रस्तुती अनी जानकारीको लागि धेरै धेरै धन्यवाद ।

wordflows said...

मलाई पनि थाहा थिएन त्यहा गुफा छ भनेर।

Dilip Acharya said...

काठमाण्डौमै जन्मेर र घरै त्यही भएर पनि धरोधर्म त्यहा कुटी छ भनेर आजै थाहा पाएँ ल ।

अब घर आएको बेलामा मौका मिले जानुपर्ला ।

ashish said...

धेरै राम्रो मलाई खूब मन परयो मलाई अरुले लेखेको साहित्य धेरै मन पर्छा किनकी मलाई लेख्नु साह्रै अल्छी लाग्छ हा हा हा ...
जे भये पनी यो लेख लेखेको मा अन्तर आत्मा देखिनै धन्यवाद किनकी तिमी मार्फ़त अरु ले पनी कुटी को दर्सन गर्न त पाए

बेदनाथ पुलामी ( उमेश ) said...

कुटी भित्रको कुटी हेर्न पाइयो - त्यसको लागी धन्यबाद - कैलाश जी लाइ |
धन्न चियामा केही मिसावट रहेनछ नत्र यो टासो को दर्शन .... खै के खै ???? haha haha ..

दीपक जडित said...

यि गुफाहरुको बारेमा सुनेको सम्म थिएँ मैले । खतरा ( कस्तो खतरा हो त्यो चैं अड्कल गर्नै सकेको थिईनँ ) बाबाहरु हुन्छन् भन्ने पनि सुनेको थिएँ । तपाईंले भित्रैसम्म पुगेर जानकारी गराउनुभएकोमा धेरै धन्यवाद !

हावा The Wind said...

मलाई पनि जान डर लगेको थियो किनभने त्यस्तो मा ट्यापेहरु हुन्छन अनी बाबा भनेका पनि अरु जस्तै हून उनिहरुका दिन्चर्या मात्रा फरक हुने हो धेरै जसो ढोङी हुन्छन अरु सामान्य मान्छे जस्तै

http://www.degreeauthority.com said...

We have read this it carefully and we appreciate your posting these information are really good.
We are also providing information about Online Degree

trekking said...

कैलाश कुती ,
जे होस् धेरै राम्रो idea लगाउनु भएको छ तपाईंको

Anonymous said...

I have seen this place but not detailly . Babaji looks like more matawali , isn't it ?