Wednesday, July 29, 2009

कठै ती महाअभागी इडिपस!

साधा कपडा र रातो प्रकाशको सहयोगमा भोकमरी र महामारीले छट्‍पटाइरहेका मानिसहरुको करुण चित्रणले भरिभराउँ मञ्च। अभिमानले छाती फुल्याउँदै राजा इडिपस मञ्चको बीचमा उभिन्छन्। स्वर्गीय राजा लायसको हत्यारा पत्ता लगाउने, सिफ जनताको भलो चिताउने 'मसिहा'को रुपमा आफूलाई घोषणा गर्छन्। कथा अघि बढ्‍दै जान्छ। रहस्यको चिरफारमा रहस्यकै उदय हुन्छ। केन्द्रविन्दु स्वयं इडिपस भएको कुरा उनलाई थाहा छैन। उनी रहस्यको अन्त्यसम्म पुग्न आतुर छन्। जति जति रहस्यको पर्दाफास हुँदै जान्छ त्यति त्यति इडिपसको स्वाभिमान भत्किदै जान्छ। उनको दुर्भाग्यको सीमा फैलिदै जान्छ। अन्त्यमा उनी आफ्नै बाबुको हत्यारा र आमाको लोग्ने ठहरिन्छन्। आफ्नै आमाबाट सन्तान जन्माउने, नियतिको प्रहारमा परेका राजा, लोग्ने, पिता र हत्यारा सावित हुन्छन्। कठै इडिपस!

एथेन्सका महान नाटककार सोफोक्लिजको एक श्रेष्ठ र संसारकै सबैभन्दा वियोगान्त, शास्त्रीय ग्रीक नाटक 'इडिपस रेक्स'को कथा हो यो। नेपाली भाषा र कलाकारहरुको अभिनयमा यो नाटक काठमाडौंको नाट्यघर गुरुकूलमा मञ्चन भइरहेको छ यसबेला। प्राचीन युनान (ग्रीस)मा थिव नाउँको देश थियो। देशका राजा लायस र रानी योकाष्ठा थिए। तीर्थयात्रा गएको लायस डाँकाहरुद्वारा मारिएको खबर आउँछ। त्यहीबेला थिवमा सिंहको शरीर र मान्छेको टाउको भएकी राक्षसनीको आतंक मच्चिन्छ। हरेक व्यक्तिलाई प्रश्न सोध्थी। उत्तर दिन नसक्नेलाई मारिदिन्थी। राक्षसनीको प्रश्न थियो 'त्यो कुन प्राणी हो, जो विहान चार खुट्टा, दिउँसो दुई खुट्टा र साँझ तीन खुट्टाले हिँड्‍छ?'। त्यो प्राणी मानिस हो । जो विहान- वाल्यकालमा चार खुट्टा, दिउँसो- युवावस्थामा दुई खुट्टा र साँझ- बृद्धावस्थामा तीन खुट्टाले हिड्‍छ भन्ने सही उत्तर इडिपसले दिए।

घुम्दै थिव आइपुगेका इडिपसको उत्तरले राक्षसनीको अन्त्य हुन्छ। आतंक मुक्त बनाएवापत इडिपसलाई थिवका राजा बनाईयो । रानी योकाष्ठासँग विवाह गराइयो। उनीहरुका दुई छोरा/छोरी भए। केही वर्ष बित्दा नबित्दै देशमा अकाल, महामारीले हाहाकार मच्चियो। ठ्‍याक्कै यही अवस्थामा नेपाली भाषी इडिपस (सौगात मल्ल) मञ्चमा गौरवका साथ उभिन्छन्। रहस्यभित्र लुकेको आफ्नो दुर्भाग्यको पर्दाफास गर्दै नाटकलाई डोर्‍याउछन्। इडिपसको भूमिकामा सौगात मल्लको अभिनय बेजोड छ। रानीको आत्महत्या र राजाले आँखा फोडेको दृश्य सुसारेको हाउभाउमा देखाइएको छ। दर्दनाक हाउभाउद्वारा सरिता गिरी दर्शकको मन जित्न सफल छिन्। रानी योकाष्ठाको भूमिकामा अरुणा कार्की, राजाको सहयोगी क्रियोनमा प्रविण खतिवडा, अन्धो ज्योतिषी टायरेसियसमा राजकुमार पुडासैनीको अभिनय रहेको छ। अन्य कोरस भूमिकामा रामहरि ढकाल, कमलमणि नेपाल, विष्णुभक्त फुयाल, पशुपति राई, रविन्द्रसिंह बानियाँ, सरस्वती चौधरी, विपिन कार्की र सजन थापामगरको अभिनय रहेको छ।

भाग्यवादमा आधारित वियोगान्त यो नाटकको पृष्ठभूमि पृथक छ। केही समय पहिल्यै जेठो छोरोद्वारा राजा लायसको हत्या हुने र आफ्नै आमा (रानी योकाष्ठा)सँग उसको विहे हुने भविष्यवाणी हुन्छ। श्राप लागेको छोरा जन्मिनासाथ हत्कडी लगाएर गोठालोलार्इ बच्चा मार्ने आदेश दिइन्छ। गोठालोको ममताले बच्चा बाँच्छ। र, छिमेकी देशको निसन्तान राजारानीका सन्तानको रुपमा राजकुमार बन्छ। भविष्यवाणी टार्न इडिपस देश छाडेर भाग्दै हिड्‍छ। त्यहीबेला अचानक जंगलको बाटोमा 'बाटो छोड्‍' भन्दै हप्काउँने तीर्थयात्रीको रुपमा उसले आफ्नै जन्म दिने बाबु मार्छ। दुर्भाग्यको ढोका खुल्छ यहिबाट। श्राप छल्ने भरमग्दुर प्रयासमा डटेका इडिपस पाइलैपिच्छे त्यही भुमरीमा फस्फै फस्दै जान्छन्। नियतिको त्रासदीपूर्ण खेल, अन्त्यमा सबै रहस्य खुल्छ। पीडा र आत्माग्लानीले छट्‍पटिदै 'लोग्नेबाट लोग्ने जन्माउँने र छोराबाट छोरा जन्माउँने' रानी योकाष्ठा झुण्डिएर मर्छिन्। निर्मम तरिकाले योकाष्ठाकै सुनको काँटाले आफ्नो आँखा रोपेर अन्धो बन्छन् इडिपस। र, स्वनिर्वासित हुन्छन्। तर शरिर र आत्माभित्रै रहेको पापबोध, पीडाबोधको जालोबाट मुक्त हुनै सक्तैनन्।

13 comments:

B.J. Dummali said...

लहै बहिनी बहुत गजबको टाँसो प्रस्तुत गर्नु भयो, तर यस्तो बियोगान्त नाटक सम्म पनि हेर्न नजुरोसमलाई भने नजुरोस म त यही प्रार्थना गर्दछु।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

निकै सुन्दर टासो-

सोफोक्लिजको कल्पनामै सहि,
उफ! नखेलोस कसैको नियतिले अब यस्तो त्रासदीपूर्ण खेल
र नजन्माओस यस्ता कहालीलाग्दा वियोगका असाध्य क्षणहरु !!
कैलाशजीकै शव्दमा "कठै इडिपस" भन्न मन लाग्यो ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

निकै सुन्दर टासो-

सोफोक्लिजको कल्पनामै सहि,
उफ! नखेलोस कसैको नियतिले अब यस्तो त्रासदीपूर्ण खेल
र नजन्माओस यस्ता कहालीलाग्दा वियोगका असाध्य क्षणहरु !!
कैलाशजीकै शव्दमा "कठै इडिपस" भन्न मन लाग्यो ।

Milan said...

कता कता सुनेको थिएँ ति आभागीको बारेमा... यो पढे पछी मलाई पनि कठै भन्न मनलाग्यो.. |

मन छुने पोष्टको लागि धन्यबाद है...

pralad said...

ओहो निकै रुन पो मन लाग्यो मलाई त बिचरी !

दीपक जडित said...

मन छुने कथा रहेछ । तपाईंको प्रस्तुती त झन मन छुने छँदैछ । यो नाटक हेर्न पाएको भए झन कस्तो हुन्थ्यो जस्तो लाग्यो ।

खुल्लामन्च said...

तपाईंको लेखकियताको प्रशंसक हुँ म । राम्रो टासो । धन्यवाद ।

एकल यात्री said...

हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।

कैलाश said...

सबैलाई धन्यवाद। गाईजात्रा भन्नासाथ गम्भीर कुरामा नि हाँस्नैपर्ने हो र एकल यात्री जी? अब त स्वतस्फूर्त हाँसो कुन चरोको नाम हो भन्ने हुन थाल्यो। त्यसैले सायद तपाईले भनेकै कुरामा दुख्दादुख्दै, आँसु चुहाउँदै नै हाँस्नुपर्ने बेला छ।

Eternal said...

Maile ni yo natak here...sarai nai maan pareko...kahani pahila taha thiyo...( course ) ani natak ko prastuti sarai ramro lagyo...

Kailash Ji..tapai ko kuti ni sarai maan paryo....ani lekhai pani..

दूर्जेय चेतना said...

म धैरै पटक तपाईको यो झ्यालमा आए, पढे र नजानिदो पाराले फर्किए। मैले हेर्न पाईन तर कता कता नजानिदो पाराले मलाई निम्ताउने गर्छ तपाईको यो टासोले। धेरै पटक पढे, दोर्‍याई, तेर्‍याई। धेरै धेरै राम्रो तवर ले छोटकरीमै भए पनि जान्न पाए। धेरै धेरै धन्यबादहै।

बिमल गिरी said...

Kailas jee,
tapaiko yo taso padhe,kata kata bhitra bhitrai suksukaye.chwassa man chhoyo.Dhanyabada chha hai.

बेदनाथ पुलामी ( उमेश ) said...

हैन कैलाश जी कति सहज र मिठास पूर्ण तरिकाले आफ्नो कुरा हरु प्रस्तुत गर्नु हुन्छ - धित कहिले नमर्ने |

आफ्नो छोटो लेखाइ मा नाटक को पुरै सार दिन सक्नु भएको छ - धन्यबाद त्यसको लागि |