Tuesday, June 23, 2009

i do very small thing

'तपाई पत्रकार हो?'
'हैन।'
'अनि यत्तिका फोटो केका लागि खिच्नुभएको?'
'मन परेर।'

झोलाभित्रबाट क्यामेरा निकालेर आफूलाई मन परेको ठाउँ, दृश्य या कार्यक्रममा फोटो कैद गर्दाखेरी छेउछाउका अपरिचित या सामान्य हाइ हेलो चल्ने मान्छेहरुले सोध्ने र मैले दिने उत्तर यही हुन्छ प्राय। यसो सोचेर ल्याउँदा म आफैले आफैलाई सोध्ने गरेकै रहेनछु कि वास्तवमा म केको लागि फोटो खिच्छु? र ती फोटोहरुलाई के गर्छु? कुनै योजना बिना नै म फोटो खिच्छु। हुन त मसँग त्यत्तिका विधि राम्रा र लायकका फोटा पनि हुन्नन्। कामचलाउँकै हालीमुहाली हुन्छ।

फोटो खिचेको त देखिन्छ। यिनीहरुलाई के गर्नुहुन्छ तपाई? सहकर्मीहरुले पनि यदाकदा सोध्ने गर्छन् मलाई।
भेरी सिम्पल। फोटो खिचेपछि सेभ वा डिलिट/कट गर्छु। मेरो सोझो जवाफ यस्तो हुन्छ।
हुन पनि हो नि। खिचेकामध्येमा केही मन परेकाहरुलाई सँगालेर राख्छु। भन्नाको मतलब सेभ गरेर राख्छु। बाँकीलाई पनि केही त अवश्य गर्छु- डिलिट या कट। त्यसबाहेक त के गर्छु भन्नेबारेमा म आफैलाई शुरुमै कहाँ थाहा हुनु र?
ब्लग छ, फेसबुक छ, अनि के को पीर नि जाबो फोटो तह लगाउनलाई कि कसो? मेरो समर्थन खोज्दै अर्का सहकर्मीले कुरा लम्ब्याउँने चेष्टा गर्छन्। भन्नैपर्ने केही छ भन्ने लाग्दैन। प्रतिउत्तरमा मुस्काउँछु मात्रै।
यो ब्लग, फेसबुक भन्ने कुराहरुले मजाले मानिसको 'टाइम किल' गरीरा'छ नि, थाहा छ के? इट्स नट अ प्रोडक्टिभ काइन्ड अफ वर्क। अर्को साथीले आफ्नो विचार यसरी पोख्छ।
वास्तवमा मनन गरेर हेर्दा यो कुरा साँचो हो यार! अर्कोले सहमति जनाउँछ।

देशमा कत्रो कत्रो उथलपुथल भइरा'छ। कस्ता कस्ता घटनाहरु भइरा'छन्। राजनीतिक माहौल क्या तात्तिएको तात्तिएकै छ। सेलाउँनै नपाएर रन्केको रन्केकै छ। दुनियाँदारीहरुले ठूल्ठूला गफ हाँकेर, छाँटेर देश खाईसकेको बेला छ। त्यसबारेमा चाहिँ कुटीमा केही हुन्न। देश खान नसकेपनि आफ्नो दुनो सोझ्याउनमा तम्सेका छन्। तात्तातो बहसका कुरालाई समातेर आफुपनि तातिएका छन्। आन्दोलित भएका छन्। तर म के गर्दैछु? म चाहिँ ब्लगमा अन्ठासन्ठा लेख्दै अल्मलिएर बसेको छु। झिनामसिना, रौँसरी कुराहरुमा दिमाग खेलाएर बसेको छु। यस्तै यस्तै सेन्स बोकेका कुराहरु सुन्न पाउँनु मेरो अहोभाग्य हो। किनकी यी सबै ब्लगिङको कमाल हो नि त। ब्लगिङको अर्को कमाल पनि छ। कहिलेकाही साथीहरु कुरैकुरामा मलाई गिज्याएर यस्सै जिस्काउँने गर्छन् (खै! प्रोत्साहन दिएका हुन् कि के गरेका हुन् त्यो चाहि खुट्याउनै बाँकी छ)- जे पायो त्यही बोल्ने अनि गर्ने हैन। खासगरी कैलाश पनि भएको बेला। के था कुनबेला कैलाशको कुटीमा छिरिएला कुनै शिर्षकमा खुराकको शोभा बढाउँदै! (हाँसो गुञ्जिन्छ एकपल्ट)।

राजनीतिमा मात्रै चासो राख्नेहरुको लागि मेरो कुटीको खुराक काम लाग्दैन। उनीहरुको नजरमा 'टाइम खेर जाने'कै कोटीमा पर्न सक्छ। राजनीति फोहोरी खेल हो भन्ने कुरा सुन्दा सुन्दा कान बुढो हुन लाग्यो। फोहोरी पनि कस्ले बनाएको रहेछ र? हामी या नि कि यही देशका नागरिक/नेताहरुले त रहेछ भन्ने कुरा बुझ्दैछु अहिले। तात्तातो बहस बनेका घटनाहरु प्रायजसो सबै राजनीतिक दाउँपेचकै देन न हुन्। हुन त त्यसप्रति आँखा चिम्लेर कसरी बस्न सक्नु र खै! बाबुराम भट्टराई अर्थमन्त्री हुँदाताका उनी प्रमुख अतिथि बनेको स्ववियू निर्वाचनसम्बन्धी एउटा कार्यक्रममा ब्लगर मित्र बसन्त बलामीजीसँग अचानक भेट भयो। उनले भनेका थिए- तपाईलाई यस्तो कार्यक्रममा पनि चाख होला भन्ने लाग्दैन। तपाई यहाँ भेटिनु मेरो लागि अचम्म झैँ लाग्यो। तपाईको ब्लग हेर्दा राजनीतिक कुरा कहीँ हुन्न। साविकझैँ मुस्काएर मैले भने- अब चाहिँ के लाग्यो त? उनले पनि मुस्काउँदै भने- यतिमै त के थाहा हुनु र? आगामी दिनमा कसो थाहा नहोला। हो, मेरो ब्लगमा राजनीतिक कुराहरुको थातथलो एकदमै कमजोर भएकोले पनि मलाई स-सानो कुरामा अल्झिएर बसेको भन्ने केही साथीहरुको म‍ूल्याङ्कन हो। अनि अर्को चाहि ब्लगिङ गरेर बेकारमा समय खेर फालेको भन्ने बुझाई पनि हो। यस्तै एउटा प्रसंगः

'ब्लगिङ कस्तो चल्दैछ?'
'नट् ब्याड।'
'ब्लगिङबाट केही उपति पनि छ कि?'
'तपाईले भन्या जस्तो उपति त केही छैन र हुन्न पनि।' घुमाउरो प्रश्न भएनि सोझै उत्तर दिन्छु म।
'त्यसो भा किन गर्ने त? त्यत्ति समय खर्चेर अन्यत्रै वैकल्पिक बाटाहरु समाए भो नि हैन?'
'हो नि, जत्ति पनि हुन्छ किन नहुनु र?'

(केही महिनापछि पुनः भेट हुन्छ कुनै एउटा कार्यक्रममा)
आजकाल के गर्दै नि? उपति हुने कामतिर पनि छिरियो कि यथावतै हो नि?
मुसुमुसु मुस्काएर मुस्कानमात्रै दिइरहन्छु। जवाफस्वरुप। कुरा बुझीहाल्छन् उनले। अनि सोच्दोहुन् मनमनै 'फोकटीया कामकाजमा के मन अडिएको होला? कामका मान्छे रैनछन्'।
ब्लगमा लेख्दालेख्दै फेसबुकमा एक मित्रले सोधेका छन्- 'हाई! के गर्दै नि? '
'यही सोच्दैछु कि खासमा म के गर्दैछु?' ब्लगमा लेख्दै गरेको कुराको धङ्धङी पोख्छु म।
'हाहाहाहा...' कुराको मतलब बुझेरै ति मित्रको हाँसो छुटेको त पक्कै पनि हैन भन्ने लाग्छ मलाई।
'हैन, खुस्कियो कि क्याहो!' मेरो ठम्याई साँचो रहेछ।
'मिलेर कसौला नि...'
'ए! हैन रहेछ।'
'हाहाहाहा...' हास्ने पालो मेरो।

पहिलो कुरा त उपति गर्नलाई ब्लगिङ गरेकै हैन मैले। न त उपति गरुँला भनेरै फोटो खिच्ने गर्छु म। मन लाग्छ अनि यसै गरिदिन्छु। कतिपय कुराहरुको प्रत्यक्ष लाभ देखिन्नन्। तर त्यसको महत्व बुझ्ने हो भने कतै न कतै, कुनै न कुनै किसिमको लाभ अवश्य हुन्छ। ब्लगरहरुले ब्लगिङ गरेर ढ्याक्कै मापन गर्ने गरी उपति नगर्लान् भनेर भन्न सकिन्न। तर म जस्ताहरुको हकमा यो धेरै हदसम्म लागू हुन सक्दैन। जहाँ, जे गरेपनि त्यसको ठुलै प्रतिफल र आकार प्रकार अनि आयस्रोत हुनैपर्ने नत्र गरेको कामको महत्व नहुने या महत्व नदिइनु आजकालको बजारीकरण र परिवर्तिन रहनसहनको प्रभाव पनि हो। बिकाउँ चिजको आफ्नै महत्व छ। तर त्यो बाध्यताभित्रै पनि हामी मनुवाको मन, रुचि, चाहना-भावना र संवेदनाहरु पनि त जिवितै छन् नि। ती जिवित पक्षहरु विभिन्न तरिकाले अभिव्यक्त गरिएलान्/होलान्। मेरो हकमा भन्नुपर्दाखेरी त्यही अभिव्यक्तिकै एउटा स्वरुप हो मेरो ब्लगिङ या फोटोग्राफी। मेरो रुचि र दिनचर्याका कुरा, मन मस्तिष्क र अवलोकनका कुरा अभिव्यक्त गर्ने एउटा सजिलो र सरल शैली अनि माध्यम हो ब्लगिङ।

खासमा म झिनामसिना कुराहरु नै गर्ने गर्छु। त्यस्तै स-साना कुराहरु नै लेख्ने गर्छु। देशमा बढिया-बढिया उथुलपुथुल भइराखेकै छ, एकपछि अर्को गर्दै। कहिलेकाहीँ त तँछाडमछाड नै पर्छ। सामान्य नागरिकको दिनचर्यामा, जीवनमा त्यसको प्रभाव पर्दैन भनेर कसरी भन्नु! तिनको सामुन्ने तिलझैँ लाग्ने कुराहरुप्रति म चासो राख्छु। किनकी म एक आम अनि साधारण मान्छे हुँ। अनि ति कुराहरु मेरो जीवन, भोगाईहरुसँग साह्रै नै घुलमेल भएर बसेका छन्। राजनीतिक उथुलपुथुलको भयंकर सञ्जाल हेर्ने मेरो दृष्टि अलिक कमजोर छ। सबै कुरा सबैको रुचिको विषय पक्कै हुँदैनन्।

यहाँ माथिकै प्रसंगलाई गाँस्छु पुनः
केही महिनापछि फेरी कुनै चोकमा झम्का भेट हुन्छ- 'आजकाल के गर्दै?' उनको आशय अरु नै हुन पनि सक्थ्यो। तर मैले त्यसलाई अघिल्लो भेटको कुराकानीसँग जोड्न चाहे।
'खासमा i do very small thing'। 'यसलाई अलिक कडा शब्दमा भन्नुपर्दाखेरी 'im doing nothing' भन्न नि सकिने हुन आउँछ- अवस्थाअनुसार।'
'मतलब उही ब्लगिङ?' फिस्स हाँसो छाड्दै।
'हो, ब्लगिङ।'

Happy Blogging!

14 comments:

कृष्णपक्ष उज्यालोको खोजिमा said...

कैलाशजी ठुलो र सानोको कुनै सिमाना छैन, तील जस्ता कुराहरु पनि ब्लगका सौन्दर्य हुन्छन, अझ तस्विर भएपछि त झन सुनमा सुगन्ध !

बेदनाथ पुलामी ( उमेश ) said...

भनाई नै छ नि 'काम कुनै सानो हुदैन' भनेर | त्यसको महत्व समय र परिस्थिति अनुसार त्यसलाई हेर्ने र बुझने को मस्तिसको धारणा हो - सानो र ठुलो भन्ने कुरा त !
अनि त्यसमा तपाईको धारणा प्रति म पनी सहमत छू - वास्तब मा आफ्नो बुझाई , भोगाइ र देखाईका आफ्नो अनुभूतिहरू शेयर गर्ने सजिलो माध्याम नै - ब्लगिङ हो |

Sujan Sharma said...

तपाँईले रमाईलो कुराकानी राख्नुभयो! यस्तै हो सबैको।
जहाँ सम्म ब्लगको कुरा हो,ब्लगिङ किन गरिन्छ भनेर सोध्यो भने कुनै निश्चित जवाफ हुँदैन, तर पनि एक अर्काको विचार आदानप्रदान गर्ने एकदम गतिलो माध्यम बनेको छ ।मनमा जे छ सबै कुरा लेख्न सकिन्छ ।चाहे लेख होस वा मन परेर खिचीएका तस्बिर।जति नयाँ बिषय , नयाँ शैलीमा भयो त्यति पढौ पढौ लाग्ने।
Happy Blogging !!!

casa da poesia said...

"sangham saranam gacchami"

दीपक जडित said...

तपाईंको सरल पोष्टमा निक्कै गहिरो कुरा पाएँ मैले त । तपाईंसंग ब्लगिङ्गको उपति खोज्नेहरु सायद ' गहिराईमा डुब्दै नडुब डुबिसकेको छौ भने मोती नटिपी नफर्क... ' भन्ने गीतको संस्कारबाट प्रेरित छन् क्यार तर आजभोली गहिराईमा डुबेर मोती हेरेर मात्रै फर्कनेहरु पनि हुन्छन् अर्थात टिपेर आउन सक्दा पनि नटिपी आउनेहरु हुन्छन् भन्ने पनि बुझ्नु पर्ने हो ।

Basanta said...

कैलाशजीको यो टाँसो साह्रै मन प-यो। 'उपति' शब्दको प्रयोग पनि साह्रै सटीक लागेको छ। ब्लगिङ्गमात्र होईन, हाम्रो समाजमा कुनैपनि रचनात्मक कामलाई गतिलो काम मानिन्न किनभने तिनमा 'उपति' हुन्न, यदाकदा भए पनि एकदमै थोरै हुन्छ। हाम्रो समाजमा अरुलाई ठगेर वा देशलाई ठगेर, जसरी हुन्छ 'उपति' गर्न सक्नुलाई बहादुरी ठानिन्छ। विकसित र सभ्य समाजमा सबै काम सम्मानित हुन्छन्, 'उपति' भएपनि, नभएपनि।
'उपति' हुने-नहुने कुरामा ब्लगको प्रकृतिको पनि असर हुन्छ तर विदेशमा ब्लगिङ्गबाटै जीवन चलाउने कुरा नयाँ होईन अब। हामीले, त्यो पनि नेपालीमा लेखेर, 'उपति' गर्ने सम्भावना अझै सुदूरमै छ। यति भन्दा-भन्दै पनि, मलाई के लाग्छ भने नेपालीमा लेख्ने हामी ब्लगरहरुले पनि 'उपति' हुनसक्ने बाटो भने खोज्नै पर्छ अब बिस्तारै। ब्लगमा प्रशस्त समय र सृजनात्मक उर्जा लागेको हुन्छ। त्यसबाट प्राप्त हुने आत्मसन्तुष्टि आफ्नो ठाऊँमा छँदैछ, अलि-अलि 'उपति' पनि गर्न सके झन् राम्रो। अहिल्यै सम्भव नहोला तर विचार भने गर्दै गरौं।

wordflows said...

थोपा थोपा मिलेर सागर बन्छ, ससाना ढुङ्गाहरु ले नै ठुल्ठुला महल बन्छ, हरे ससाना कुराले नै ठुलो कुरा सम्भब हुन्छ।

Dilip Acharya said...

कसले भनेको हो त बिर्सें, तर मलाई तपाईको टाँसो पढेपछि एउटा कोटेशन याद आयो:

"Great things are not done by impulse, but by a series of small things brought together."

So, please keep on doing small things, because

Small Things Matter

अर्जुन दुङमेन् said...

सानो कुरो बिना ठूलो बन्दैन । तर यि माथिका तपाईका कुराहरु त साना होइनन नि ! "आई एम डुईङ्ग नोथिङ्ग" हैन । यू ह्यभ डोन मेनी मोर थिङ्ग इन ब्लगीङ्ग ! हा हा हा... नेभर माईण्ड ।

सिकारु said...

छोटा र मसिना अनि पृथक बिषयहरु नै चाखलाग्दो हुँदोरहेछ ब्लगमा । तर खै त खिचेका फोटोहरु त देखाउनु भएन नि कैलाश जी?

बिमल गिरी said...

रमाइलो टासोको लागि धन्यवादछ है
कैलाश जी। यस्तै जानकारीमुलक
लेखहरु पढ्न पाइरहु।

DEEPENDRA said...

hmm...I really liked the way you have penned your feelings. All I would like to request you is:
please keep doing the small things! because small things matter.

Milan said...

रमाईलो पोष्टको लागि धन्यबाद छ है ..!

http://www.degreeauthority.com said...

We have read this it carefully and we appreciate your posting these information are really good.
We are also providing information about Online Degree