Tuesday, October 06, 2009

दशैमा फुरेको मनको लड्डु...

यहाँहरुको दशै कस्तो बित्यो? मेरो त बडो बिऽऽन्दाऽऽस बित्यो। फूलपातीदेखि पूर्णिमासम्मलाई दिनगन्ती हिसाबले हेर्नेगरी फिल्म बटुले। तर कुरा के पर्यो भने नि! १० वटा फिल्म त ३ दिनमै सकाइयो पो। क्या ताल! ३टा Horror, ३टा War अनि बाँकी चाहि Reality Based story थिए। जे होस् रमाइलो भो फिल्मी दशै मनाउँदा। त्यसबाहेकका दिनमा पकाइतुल्याइ, खानपान र भेटघाटमा बित्यो। यी सबै गर्दागर्दै मेरो मनमा मीठा मीठा लड्डु फुरे। कसरी र के कस्ता भन्ने बारेमै म आज बखान्छु यहाँ।

खास कुरा चाहि के भने नि, योपालीको दशै धेरै समयपछि निकै सुनसान भयो। उपत्यकाबाट अत्याधिक जनमानस आ-आफ्नै पूर्ख्यौली गाउँठाउँ गए दशै मनाउँन। आफू चाहि दशकजति भयो यही खाल्डोमा थरी थरीको, तालतालको दशै मान्दै आइएको छ। तर यो पाली चाहि सडक-पसल-घर धेरै नै सुनसान भएझैँ लाग्यो। खै मलाई मात्रै लाग्या हो कि अरुलाई नि लाग्या हो कुन्नी? फूलपातीको दिन च्याटमा भेटिएका मुलुकबाहिरका धेरैजसो साथीहरुले काठमाडौँ त दशैको अवसरमा विरक्तियो होला भने। काठमाडौँ के के भयो भएन कुन्नी म चाहिँ यथावतै रहे। प्रत्येक साल दशै आएर गएझैँ मैले नि हरेक सालको लामो छुट्टीको उपयोग गरे आफ्नै पाराले। तर यो साल मैले मेरै मनमोजी पारामा दशै मान्ने मौका पाए। नत्र त खै के खै के भन्ने जस्तो खालकै पो हुन्थ्यो। त्यो भनेको चाहि मन नलागी नलागी बाध्यात्मक कामकाज नी गर्नुपर्दाको धङधङी पोखेको नि।

अँ त म भन्दैछु। बाहिर यसो चहार्न निस्कँदा त पूरै सुनसान छ। यसो सागपात अनि खित्त्रिङमित्त्रिङ किन्न निस्कदा नि पसल ठप्पै। दुध खानलाई पसलमा जाँदा नि बन्द। बाटोघाटो नि कसैको प्रतिक्षामा सिर्सिरे हावा खाँदै गरेको पाए। केही छरछिमेकीलाई असाध्यै न्यास्रो र एक्लो लाग्यो। मलाई त किन किन खूब रोमाञ्चक लाग्यो। लाखौँको भीडमा एक्लो हुनु र न्यास्रिनुको पीडाभन्दा त एक्लो भएर पनि भीडको अभाव नहुनु निकै जाती लाग्यो यो ज्यानलाई। खै यो मन न हो कहिले के रुचाउँछ। कहिले के। यो पालीको दशैमा त्यही रुची भयो।

शुन्य सडकको सिर्सिरे हावा रोमाञ्चक लाग्यो। दुबै हात फैलाएर केही बेर बीच सडकमा मस्त उभिए। कुटीमा एक्लो भएर मनमोजी पारामा रमाए। अरु बेलाको तुलनामा एकदमै सुनसान भएको वातावरणसँग साउती मार्दै फुस्‌फुसाए। अरुबेला भीडसँग जुध्थे। लड्थे। झट्कारिन्थे। फट्कारिन्थे। यो दशैमा सुनसान र शान्त वातावरणसँग खूबै बात मारे। ती बातहरु मिठा लागे। रसिला लागे। भरिला लागे। एकान्तमा पहिलोपल्ट कुनै नव दम्पतिको प्रेमले पूरापूर उघ्रिने मौका पाएसरह। भन्छन् नि क्या त, त्यो 'वातावरण मैत्री' हो कि त्यस्तै त्यस्तै केही भनेर। हो त्यस्तै त्यस्तै पो भएझैँ अनुभूत गरे मैले त। यसरी एउटा लड्डु फुराए। त्यसै त्यसै आफै मख्ख परे। यस्तो लाग्यो कि त्यो शुन्यता र शान्तपनको भोगी सिर्फ म एक्लो भए। अरु जो थिए तीमध्ये अधिक त्यही भीडभाड, कोलाहाल, हल्लाखल्ला र जमघटको भोकमा पिल्सिए होलान्।

हामी बस्ने गरेको घरमा बस्ने जम्मा दुईजना थियौँ। म सबैभन्दा माथिको छटमा। अर्को साथी सबैभन्दा तलको तलामा। एकदिन मेरो कुटीमा बसेर थुप्रै प्रसंगमा गफियौँ। कुरैकुरामा मैले मनमा फुरेको लड्डुलाई यसो बाहिर छर्दै भने-
"आहा! अहिलेकै जति मान्छे, गाडी, शान्तपन सँधै रहने हो भने यो काठमाडौ पनि क्या हुने थियो हगि?"।
साथीले तुरुन्तै भन्यो- "यहाँका घरबेटी अनि पसलेहरु सुकीहाल्छन् नि अनि"।
"सुक्ने फुक्ने त हुन्छ नै। तर सोच्नुस् एकपल्ट तपाईहामी जस्तो बहालवालाहरुको क्या भाउ होला"।
"कसरी?"
अब म निकै लामै बोल्छु लगातार........।
"ल सोच्नुस् यस्तै भयो स्थिति। यतिका विधि घर बनिसकेका छन्। पसल खुलीसकेका छन्। जो फर्कन्छन् ती फर्कन्छन्। बाँकी फर्कन अनुकूल नपरेकाहरुको लागि मोज हुन्छ। घरबेटी आफ्नो घरको बहालमा राख्ने मान्छेको खोजीमा हुन्छ। घरबेटीहरुबीचमा बहालवालाहरुलाई दिने सुविधाको होड चल्छ। दिनहुँ प्रयोग हुने सरसामानहरु लाग्दोपुग्दो हुन्छन्। कृत्रिम मूल्यबृद्धि/अभाव पैदा हुदैन। साँघुरो सडकमा हिड्दा नि होलोखोकुलो लाग्छ। सडकमा जाम कम हुन्छ। सवारी साधन सीमित तर यात्रुको लागि पुग्दो हुन्छ। इन्धनको अभाव नि हुन्न। पानी नि भनेजति भनेको बेलामा खान/पिउन, चलाउन पाइन्छ। फोहोर नि टुङ्गो लगाउन सजिलो। प्रदुषण हट्छ। जाडोमा घाम खान पाइने। गर्मीमा हावा खान पाइने। भनेको बेला भनेको ठाउँमा पुग्न पाइने। शहर सफा। हावापानी चङ्गा। अनि यहाँका मान्छे दङ्ग। आहाऽऽऽऽ नि!"

मेलै फलाक्न नसक्दै साथीले "के हो आहा नि! उता हेर्नुस् त" भन्यो। कान्तिपुर टेलिभिजनले दशै नसक्दै हूलका हूल मानिस उपत्यका छिर्दै भन्दै बसको छतमाथि समेत ठेलमठेल मान्छे कोचिएर पोको पन्तुरो भिरेर बसेको श्रब्यदृश्यसहितको समाचार प्रसारण गर्न थाल्यो। स्वादले र्याल झार्न नि नपाउँदै मनमा फुरेको लड्डु निमेषमै बिलायो। भर्खरै साङ्गोपाङ्गो थियो भर्खरै नाम निशानै छैन जसरी। अनि त २०६१ मा प्रकाशित तीर्थराज वन्तको हाइकु सङ्ग्रहको एउटा हाइकुको लाइन हुबहू ओठले फुक्यो-
"काठमाडौँको
मान्छे असाध्य सस्तो
माया महङ्गो"

बाँकी अन्य ब्लगर मित्रहरुबाट है...

6 comments:

अशोक पार्थिव तामाङ said...

भावनात्मक संसारमा अति रमाइलो लड्डु पस्किनुँभयो कैलाश जी ! साहित्यका रंगहरू छिट्कार्दै तर हामीले यथार्थको संसारमा पाउँन सके सुनमा सुगन्ध हुनेथियोहोला ।खैर केहि छैनँ, हाम्रो देशमा पनि सुन्दर , सफा अनि ट्राफिक जाम रहित शहर कुनै दिन होला भन्ने सोच्दैगरूम्। अति मिठो लेख पस्किनुँभएकोमा यहाँलाइ धन्यवाद् !

gufgaf.com said...

म पनि त्यसरी नै खाँदिएर काठमाण्डौ पसेँ । जस्तो छ, जे छ, आफ्नो काठमाण्डौ प्यारो छ !!

asha said...

रमाइलो लाग्यो तपाईंको लेख पढेर कैलाश जी

Dilip Acharya said...

दसैंको बेलामा काठमाण्डौ साँच्चै करिब करिब सुनसान थियो । तर म पनि तपाई जस्तै सोच्दै थिएँ ...सधैं यत्ती नै मान्छे र यत्ती नै गाडीहरु भए यो ठाउँ पनि बस्न लाएक ठाउँ बन्छ होला भनेर ।


तर प्रवेशजीले भन्नु भएजस्तै जस्तो छ, जे छ, आफ्नो काठमाण्डौ प्यारो त छँदैंछ ।

दीपक जडित said...

भनेपछि तपाईं पनि उपत्यकाको रैथाने हुनुभएछ है कैलाशजी - लड्डु फुराईपनि रैथाने घिउमा जस्तै पो लाग्यो ।

कैलाश said...

हाहाहा दीपकजीको कुरा घत पर्यो। अब यहीकै रैथाने हुन हुन लागियो सायद । अनि दीलिपजी र प्रवेशजीले भनेझैँ जे जस्तो भए नि आखिर काठमाडौँ भन्ने ठाउँमै जे छ, छ नि। त्यसैले त यो लड्डु नि फुर्यो मनमा ।