Friday, August 28, 2009

मस्तीको माइला.com

एउटा स्टेज। नाटकमा निर्देशकले एउटा ल्यापटपको संज्ञा दिएका छन् स्टेजलाई। ल्यापटप 'ओपन' हुन्छ। माइला र साहुनीको निजी अनुभूति र मनोभाव देखिन्छ- माइला डट कमद्वारा। ती अनुभूति र मनोभावलाई दर्शकले आफ्नै निजी बुझाई राख्न सक्छन्। माइला र साहुनी कफी सपमा आ-आफ्‍नै काममा व्यस्त हुन्छन्। दिनहुँ उही काम।

एकाविहानै सटर खुल्छ। साहुनी धुपधुवाँर गर्छिन्। पुछ्‍पाछ्‍ गर्छिन्। सरसामान मिलाउँछिन्। ग्राहकसँग डिल गर्छिन्। हरहिसाब गर्छिन्। माइला रौसिदै आफ्‍नो काममा खटिरहन्छ। शहरको कफी सपमा तीन दिन लगातार उस्तै क्रियाकलापहरु भइरहन्छन्। तर साहुनी र माइलाबीचको घटना र व्यवहार भने क्रमश: बदलिदै जान्छ। १२/१३ वर्षे किशोर माइला र २०/२२ वर्षे युवती साहुनीका आ-आफ्‍नै फरक फरक बुदझाई र मनोभाव तीन दिनमा व्यक्त हुन्छ। शुरुको दिन साहुनी र माइलाबीचको दुरी प्रष्ट देखिन्छ। दोस्रो दिन उनीहरुको क्रियाकलाप र हाउभाउले दुरी घट्‍न थालेको संकेत गर्छ । तेस्रो दिन, असामान्य रुपमा नजिक हुन पुग्छन्। र, माइला कफि सपबाट लखेटिन्छ। सामान्य मानिसको जीवनचर्यामा उनिएको कथावस्तुमा आधारित नाटक माइला डट कमको कथासार यति हो।

सरुभक्तको लेखन र अनुप बरालको निर्देशनमा 'सिरुमा रानी' नाटकमा अभिनय गरेर रंगमञ्चमा प्रवेश गरेका दयाहाङ राई यसका निर्देशक हुन्। उनले 'बुद्ध हराएको सूचना', 'मुर्दाहरुको महाभोज', 'बाँकी उज्यालो', 'टलकजंग भर्सेज टुल्के', 'चेरीको बगैचा', 'कोरा' जस्ता नाटकमा अभिनय गर्नुका साथै बेपत्ता नागरिकसम्बन्धी 'दुवाली' नाटक निर्देशन समेत गरिसकेका छन्।

सर्वसाधारण मानिसको दिनहुँ क्रियाकलापको अर्थ खोज्दै माइला डट कम देखा परेको छ। नाटकमा दुईजना पात्र, एकदमै कम संवाद, कम ध्वनी, चाहिँदो साजसज्जा तथा प्रकाश र अत्याधिक हाउभाउँ छ। माइलाको हाउभाउँ र क्रियाकलापले दर्शकलाई तानिरहन्छ। कुनै ठूलो घटना र विशेष क्रियाकलाप बिना दिनहुँ सामान्य ढंगले नित्य कर्म गर्दागर्दै नजानिदो तवरले माइलाको यौन मनोविज्ञान झल्किन्छ। साहुनीको मिठो बोली र मुस्कानले माइलाभित्र मिठो तरंग पैदा गर्छ। अन्जानमै साहुनीसँग छोइन/ठोक्किन पुगेमा साहुनीले आफूप्रति राखेको प्रेम/यौनका रुपमा बुझ्छ। काम गर्दागर्दै साहुनीको ध्यान आफूमा खिच्ने र घरीघरी साहुनीतिर नजर डुलाउनेजस्ता क्रियाकलाप माइलाको यौन मनोविज्ञानको संकेत हो। माइलामा राजन खतिवडा र साहुनीमा सृजना सुब्बाले भूमिका निभाएका छन्। माइलाको 'इन्जोइङ्‍ क्यारेक्टर' सबैभन्दा रोचक लाग्छ नाटकमा।

नाटक सकिएर मञ्चबाहिर कुराकानी गर्दा आधा दर्जन नाटक निर्देशन र दुई दर्जन नाटक अभिनय गरेका राजन खतिवडाले मन खोले, 'अलग क्यारेक्टर गरेको हुनाले दर्शकसँग कनेक्टेड हुन्छ कि हुन्न भन्ने ठूलो डर थियो मनमा। कता कता राजनको उमेरले ढाक्न खोज्दो रहेछ'। मुसुक्क हाँस्दै साहुनी बनेकी सृजना सुब्बाले ठट्‍टा गर्दै भनिन्, 'छिप्पिएको माइला पर्‍यो नि त'।

नाटकमा घच्चीको 'conflict' हुनुपर्छ। शुरुवात, मध्य र अन्त्यको संरचनामा सन्तुलन हुनुपर्छ भन्ने मान्यतालाई पछ्‍याउँदैन माइला डट कमले। तैपनि नाटकमा साना साना 'conflict'हरु नभएका भने हैनन्। माइला र साहुनीको बुझाई र हेराईले मेल नखानु एकप्रकारको 'conflict' हो। चेतन/अचेतन मनबाट साहुनीको यौवनअनुरुप सोच बोक्नु माइलाको निजी मनोभाव हो। मानवीयताको उदारभाव बोकेर माइलाप्रति माया दर्शाउनु, चोटमा मल्हम लगाइदिनु, नयाँ ह्याट र जुत्ता आफ्‍नै हातले लगाइदिनु साहुनीको निजी सोचअनुरुपको व्यवहार हो। एकले अर्कालाई जे देख्छन् र सोच्छन् त्यो मेल खादैन। फलत: तेस्रो दिन सटर बन्द गर्ने क्रममा आमनेसामने हुँदा माइलाले एक्कासी साहुनीको गालामा चुम्बन गर्छ। यो घटनासँगै माइला पसलबाट निकालिन्छ र नाटक सकिन्छ। निर्देशक दयाहाङ राई भन्छन्, 'यो एउटा लुज कनेक्टेड नाटक हो। यसमा ठूलो 'conflict' पनि छैन। यसमा धेरै रिपिटेसनहरु छन्, जसरी हाम्रो जीवनमा रिपिट भइरहन्छन्। तिनको केही अर्थ नहुन पनि सक्छ। तपाईहरुको जीवनको 'ननसेन्स' कार्यहरुले अर्थ पाए भने माइला डट कमको कार्यले पूर्णता पाउँनेछ'।

डेढ वर्ष पहिले एकपल्ट मञ्चन भएको यो नाटकमा त्यत्तिबेलाका माइला रवीन पाण्डे थिए। लक्ष्मीपुजाको दिन दुर्घटनामा परेर उनको मृत्यु भयो। त्यसपश्चात दोस्रो पटक मञ्चन भइरहेको नाटकमा माइला बनेका हुन् राजन। यो नाटक काठमाडौंको त्रिपुरेस्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा भदौ महिनाभरी हप्ताको तीन दिन मञ्चन भइरहेछ। भारतको उडिसामा हुने अन्तर्राष्ट्रिय नाट्‍य महोत्सवमा समेत यो नाटक छानिएको छ।

कुनै न कुनै रुपमा गाउँबाट शहर छिरेका कैयौँ होटल मजदुर किशोरहरुको प्रतिनिधित्व गरेको छ माइला पात्रले। नाटकको कथावस्तुअनुरुप एक, विपरित लिंगप्रतिको आकर्षण नियतबस मात्र हैन प्राकृतिक रुपमै उत्पन्न हुन्छ। र दोस्रो, व्यक्तिको वैचारिक हैसियतले धेरै कुरा निर्धारण गर्छ। र त्यसले नयाँ क्रियाकलाप र घटनाको जन्म दिन्छ। पात्रहरुको फुर्तिलो र हसिलो हाउभाउँ, कफीसपका मानक ग्राहकहरुसँगको रसिलो व्यवहार, मानक सरसरदाम पकाइतुल्याईको क्रियाकलापको स्वाद र माइलाको 'मस्ती'को 'body language' हेर्न लायक छ यो अनुभूतिजन्य नाटकमा। शुरुमा सडक पेटीबाट पसल भित्र छिर्न समेत धक मान्ने माइलाले साहुनीको आफूप्रतिको राम्रो व्यवहारको प्रतिउत्तरमा अचानक चुम्बन गर्छ। यो घटनाले 'माइला पात्रहरुलाई (बढी ?)माया गरेमा मात्तिन्छन्‌‍' भन्ने भाव पनि बोकेको छ। 'मस्तीको माइला'ले अन्त्यमा सास्ती खेप्नुपर्छ।

9 comments:

दूर्जेय चेतना said...

नाटक राम्रो रहेछ सायद र तपाईको लेख्ने तरिकाबाट आफू अगाडिनै मन्चन भएजस्तो लाग्यो। साह्रै यथार्थता बोकेको रहेछ यो नाटकले। दिनहुँ दिखिने घटना र भईरहेने कथा हुनाले नाटक नहेरे पनि यो तपाईको यो लेख पढ्दानै वास्तबमा नाटकनै हेरे जस्तो लाग्यो। धेरै धेरै धन्यवाद यसको लागि कैलाशजीलाई

कृष्णपक्ष उज्यालोको खोजिमा said...

माइलाको नियति, कैलाशजीको यो लेखले पनि दोहोर्यायो किनकि "मस्ती माइला डट कम" शिर्षक हेर्दा जति उत्ताउलो र ठट्टउलो लाग्छ, टासो पढ्दै जादा त्यो विपरित यसका शब्दहरुको गाम्भीर्यता र प्रस्तुतिको शैली अत्यन्त पृथक छ र त्यो विश्लेषण निकै सुन्दर छ । मलाइ पनि आफ्नै आँखा अगाडी नाटक हेरे जस्तै लाग्यो ।

आशा said...

नाटक वास्तबमै हाम्रो समाज तथा जनजीवन हरुमा घटिरहने यथार्थ परक घटनाहरुलाई उतार्न सफल भएको छ, एकातिर यौन मनोबिज्ञान लाई दर्शाएको छ भने अर्कातिर माइलाको जस्तै आफ्नै पिडा र बिवसताहरुलाई समेतिएको छ र कैलाशजी को लेख्ने शैली पनि उस्तै आकर्षक ...

राजेश......रुपान्तरणको खोजीमा said...

नाटक हेर्न पाइएन ।
टाँसोबाट नालीबेली बताउनुभएकोमा धन्यवाद है ।

Eternal said...

Indeed Nice Review Kailash Ji...
Your write up is so much lively...
I would prefer going there and watch it... :)

बिमल गिरी said...

Taso atinai ramro lagyo.Yo natak le manaichhoyo.Thank you Kailash jee.

आकार said...

साह्रो घच्चि कै रहेछ नाटक चाँहि ! मात्र २ जना पात्र तर पनि आँखा ले हेर्न नभ्याउने ! हिजो मात्र समय मिलाएर हेरेर फर्किँए । अनि लाग्यो, लेखेको भन्दा त हेर्दा झन् कैयौँ गुना रमाइलो र राम्रो लाग्यो ।

२ जना कलाकार, संवाद कम तर शारिरीक हाउभाउ को कारण कतै हलचल गर्न दिएन । तर पनि नाटक हेर्दा कुन पात्र लाई हेर्ने भन्ने कन्फ्युजन चाँहि पर्‍यो, अब नायिका लाई हेर्दा नायक को हाउभाउ हेर्न नपाइने अनि नायक लाई हेर्दा नायिका लाई हेर्न नपाउने ! साह्रो सास्ती आँखालाई चाँहि, यता र उता आँखा डुलाउँदा हैरान ! हाहाहा, फेरी पनि हेरिन्छ होला ।

यति राम्रो प्रिभ्यु लेखेर नाटक हेर्न जान हौसाउनु भएको मा धेरै धेरै धन्यवाद छ है, कैलाश जी !

sujan said...

OK OK good post thanks for sharing with us

अशोक पार्थिव तामाङ said...

कैलाश जी !
यहाँको ब्लगभित्र पसेर यो नाटकको बारेमा जान्ने अवसर मिल्यो । नाटकको बिषयबस्तु राम्रो रहेछ।अनि यस नाटकको निर्देशक दयाहाङ राइ जी ! भन्नुभयो,एकजना मेरो पुरानो चिनजानको साथी दयाहाङ भन्ने नै हुनुँहुन्थ्यो तर वहाँ रंगमञ्च तिर काम गर्ने कुरा मलाइ थाहा थिएन। यदि मैले उदघोषण क्षेत्रमा चिनेको दयाहाङ राइ जसले गीतहरू लेख्नुँहुन्छ सम्ममा सिमित मेरा चिनारीहरू नै यहाँले प्रस्तुत गर्नुभएको नाटकका निर्देशक हो भने उहाँलाइ मेरो शुभकामना भनिदिनुस्। धेरै समय भइसक्यो भेटघाट नभएको पनि । शायद् कुनै दिन फेरी जम्का भेट अवश्य हुनेछ उहाँसँग।मिठो प्रस्तुतिको लागी कैलाश जी ! यहाँलाइ धेरै धन्यवाद् छ ।