
"सिन्कौली सेउली सेलेले
नाचीमा जाउँ है पेलेले
सोइ सोइला हो हुर्रर्र हा हा
सोइ ढोले सोइ अर्को ढोले खोई..."
२०६६ सालको किरातीहरुको विशेष चाड 'उभौली साकेला' शुरु भएको छ। उक्त अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना। सहकाल रहोस्। शुभ समय रहोस्।
बुद्ध जयन्तीलाई साकेला उत्पत्ति भएको दिनको रुपमा लिइन्छ किराती संस्कृतिमा। 'साकेला' किरातीहरुको एउटा महत्वपूर्ण संस्कृति तथा चाड हो। साकेलामा भूमि पुजिन्छ। प्रकृति पुजिन्छ। आफ्नो पूर्खाहरुसँग बल मागिन्छ। 'माङ' (देउता पुज्नु)गरिन्छ। हरेक वर्षको दुईपल्ट मंसीर पूर्णे र वैशाख पुर्णेमा किरातीहरुको महान चाड 'साकेला' मनाइन्छ। बैशाख पुर्णेलाई उभौली साकेलाको रुपमा र मंसीर पूर्णेलाई उधौली साकेलाको रुपमा मान्ने गरिन्छ। यी दुबै याममा एउटा याम बालीनाली उमार्ने र अर्को याममा बालीनाली थन्क्याउँने गरिन्छ। अहिले बालीनाली लगाउने याम हुनाले अन्नबाली राम्रोसँग उब्जनी होस्। सहकाल होस्। प्राकृतिक तथा दैबी प्रकोप नहोस्। अनिकाल नहोस्। सबैको सुब्बेफाब्बे होस् भन्दै भूमि पुज्ने गरिन्छ उभौली साकेलामा।

अन्नबाली उब्जनी भयो, सहकाल रह्यो भनेर मंसीरे पूर्णेमा उधौली साकेला पूज्ने गरिन्छ। जसमा सुम्निमा र पारुहाङ (किराती सृस्टिकर्ता)सँग अनि आफ्नै पितापूर्खासँग बल मागिन्छ। उनीहरुप्रति आभार प्रकट गरिन्छ। यसरी पुज्नुलाई 'माङ' गर्नु भनिन्छ। माङ गर्ने विशेष व्यक्ति हुन्छ। जसलाई नाक्छोङ/धामी भनिन्छ। माङ गरिसकेपछि ढोल र झ्याम्टा बजाउँदै साकेला नाच शुरु गरिन्छ। गाउँघरमा हरेकको घरघरमा जम्मा भएर पालैपालो नाच्ने र 'सह' बोलाउने हुनाले साकेला नाच हप्तादिनदेखि महिना दिनसम्म पनि नाचिन्छ। रमाइलोसँगै खानपिन गरिन्छ। साकेलासम्बन्धमा थुप्रै ऐतिहासिक तथा पौराणिक किंवदन्ती/मिथकहरु रहेका छन्। ती मिथकहरुमा साकेला उत्पत्तिबारे, सिली उत्पत्तिबारे रोचक र महत्वपूर्ण कुराहरु रहेका छन्।
आजको दिनदेखि १५ या महिनादिनसम्म उभौली साकेला पूज्दै ढोल र झ्याम्टाको तालमा साकेला नाच्ने गर्छन् किराती राई, याक्खा, सुनुवार जातीहरु। उपत्यकामा किरात राईहरुको छाता संगठन 'किरात राई यायोक्खा'को अगुवाईमा ललितपुरको सानो हात्तिबनमा माङ गरिन्छ। त्यसपश्चात नाच्न शुरु गरिन्छ। आ-आफ्नै परम्परागत भेषभूषा, गरगहनामा सजिएर बालक-युवा-बृद्ध सबैजना एकैनासले गोलबद्ध भइकन साकेला नाच्ने गर्छन्। साकेलामा गाईने गीतहरुले पनि आफ्नै खालको विशेषता बोकेको हुन्छ। हुन त गीत हुनैपर्ने या गीत नभइकन साकेला ननाचिने भने हैन। ढोल झ्याम्टाको तालमा मजाले नाचिन्छ। आजकाल त पप, हिपहप शैलीसँगै पनि नाचिएको देख्न पाइन्छ। साथै गाउँ-शहरदेखि राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा साकेला पर्व मनाइन्छ। खासगरी जहाँ जहाँ किरातीहरु बनीबूतो/कामकाजको शिलशिलामा पुगेका छन्। अस्थायी रुपमा बसोबास गर्दै गुजारा गरिरहेका छन्। त्यही त्यही साकेला पर्व धुमधामसँग मनाउने गरिन्छ।

खासगरी नेपालको पूर्वी भेगमा बसोबास गर्ने किरातीहरुको बसाईसराई र कामकाजको शिलशिलामा आफ्नो पूर्ख्योली थलोबाट यताउता गर्ने क्रममा साकेला संस्कृतिलाई पनि सँगै लिएर हिडेको देखिन्छ। हाल म खाल्डोमा बस्ने हुनाले यहीको प्रसंग कोट्याउँछु। वि.सं. २०३८ सालदेखि काठमाडौमा साकेला संस्कृतिको थालनी भएको मानिन्छ। त्यसबेला सीमित व्यक्तिहरुको प्रयास र थालनीको नतिजास्वरुप आज उपत्यकाका विभिन्न स्थानहरुमा जोश जाँगरका साथ साकेला नाच्ने गरिन्छ। जस्तैः नख्खीपोट, जावलाखेल, रत्नपार्क/टुडीखेल, बानेश्वर, शंकपार्क (चक्रपथ), कीर्तिपुर। उपत्यकामा छरिएर रहेका किरातीहरु साकेला पर्वको अवसरमा अझ भनौ न साकेला नाच्नकै लागि एकै थलोमा भेला हुन्छन्। सद्भाव बाँड्छन्। नाचगान गर्छन्। साकेला शुरु हुने दिनमा ललितपुरको नख्खीपोटमा भेला भएर नाचिन्छ (आजको दिन त्यहि नचिन्छ)। त्यहाँ पुग्दा स्पष्टै देख्न सकिन्छ- साकेला नाच्ने जमातलाई त्यो स्थान साँघुरो छ।

साकेला नाचको अर्को मोहक पाटो भनेको विभिन्न हाउभाउमा 'सिली'लाई उतारिन्छ। हात-खुट्टाको माध्यमले विभिन्न हाउभाउहरु (बाली छर्ने, बाली काट्ने, धान रोप्ने, प्रकृति पुज्ने, चराचुरुङ्गी तथा पशुपंक्षीको नक्कल, सिंगारपटार जस्ता हाउभाउहरु)लाई नाचमा उतारिन्छ। जसलाई 'सिली टिप्ने' भनिन्छ। यस्ता सिलीहरु अनगिन्ती रहेका छन्। यी सिलीहरु जाती अनुरुप/भौगोलिकताअनुरुप फरक फरक पनि हुन्छन्। जस्तैः राईभित्रको चाम्लिङ, बान्तावा, खालिङ, थुलुङ, कुलुङलगायतकाहरुको सिलीमा विविधता र फरकपन हुन्छन्। त्यस्तैगरी सुनुवार, याक्खा, याक्थुङहरुको पनि आफ्नै खालको नाच हुन्छ। आ-आफ्नै खालको भाषा हुन्छ। यद्यपि ढोल झ्याम्टाको प्रयोग सबैले गर्ने गर्छन्। र यी सबै जातीहरु एकै थलोमा भेला भएर नाच्ने गर्छन्। साकेला संस्कृतिको प्रमुख आकर्षण नै साकेला नाच हो। साकेला नाचमा रहेको मौलिकता, विशेषता, आकर्षण, रौनक र स्वतन्त्रताकै कारण हुनसक्छ यसप्रति नयाँ पुस्ताहरुको मोह निकै देखिन्छ। पुस्ताक्रम अनुरुप संस्कृतिमा आधुनिकता भित्रिनु पनि स्वभाविक हो। जुन कुरा साकेला नाचमा पनि लागू हुन्छ।

साकेला शब्दको पर्यायवाची शब्दहरु पनि थुप्रै छन्। यो पनि जाती तथा भौगोलिकता अनुरुप फरक परेको देखिन्छ। जस्तैः चाम्लिङले 'साकेला' भन्ने गरेको पाइन्छ। बान्तावाले 'साकेवा' तथा 'साकेन्वा' भन्ने गरेको पाइन्छ। भोजपुरदुमीले 'साखेल' भन्ने गरेको पाइन्छ। त्यसैगरी अन्य किरातीहरुले फरक फरक नामले पुकार्ने गरेको पाइन्छ। सुनुवार/मुखियाहरुले 'श्याँदर' नामले पुकार्छन्। 'चण्डी नाच्ने' शब्द पनि अहिले निकै परिचित छ। किराती संस्कृतिमा हिन्दुवाद हावी हुँदै जाँदा यो शब्द प्रचलनमा आएको तर्क किराती समुदायको रहेको छ। तर यो शब्द कसरी र कहाँबाट पुकारिन शुरु भयो भन्ने कुरा खोजकै विषय हुनसक्छ। नामको विविधताको उल्झन खेप्ने समस्यालाई किरात राई यायोक्खाले केही हदसम्म सुल्झाएको छ। 'चण्डी' हैन चाम्लिङहरुले भन्ने गरेको 'साकेला'शब्दलाई यायोक्खा केन्द्रीय कार्यलयले प्रयोगमा ल्याइरहेको छ। तर विविध जाती किरातीहरुले आफ्नो भाषिक अनुकूलता, मिथक र इच्छाअनुरुप उच्चारण गर्ने या पुकार्ने स्वतन्त्रतालाई भने खुला राखिदिएको छ। भाषिक/जातीय/भौगोलिकताअनुसार फरक फरक नामले पुकारिएपनि साकेलाको अर्थ 'शिला' (ढुंगा) हो। र यही शिलाकै आराधना गर्दै, प्रकृति पुज्दै, भूमि पुज्दै साकेला पर्व मनाइन्छ।
एक वाक्यमा, साकेला पर्व किरातीहरुको लागि उनीहरुभित्र रहेको जातीय तथा भाषिक विविधतालाई एकै मियोमा उन्ने महत्वपूर्ण साँस्कृतिक पहिचान हो।
15 comments:
किराँति पर्वहरुको बारेमा ज्यादै ईन्फर्मेटिभ तथ्यहरु पाए, खुशी लाग्यो । आगामी दिनमा पनि यस्तै कन्टेन्टहरुको आशा गर्दछु ।
उभौली साकेलाको बारेमा जानकारी दिनु भएकोमा र साकेला नाचको सुन्दर तस्वीरहरुको लागि धन्यबाद! साथै "उभौली साकेलाको शुभकामना" ।
अरुणै नदी तरिन्छ एकदिन त पक्कै मरिन्छ,
सेल्मे र टेम्के हाराहार लाई राखौं माया बराबर,
सोई सोईला हौ कुर्रा हा हा, जदौ, तपाईंहरु सबैमा
साकेला उभौली सेवाको शुभकामना।।
उभौली साकेलाको धेरै धेरै शुभकामना कैलाशजी !!
यो उभौली साकेलाको नाम धेरै सुने पनि साँच्चै के हो त भन्ने जानकारी भने थिएन ( के गर्ने आफ्नै देशको बारेमा पनि धेरै कुराबाट अनभीज्ञ छौं हामी।)
यो सांस्कृतिक पर्वको वारेमा बुझ्न तपाईको यो टाँसोले धेरै मद्दत गर्यो । धन्यवाद र शुभकामना पनि ।
साकेलाको जानकारि बाडनु भएकोमा धन्यबाद कैलास जी ।साकेलाको हार्दिक मंगलमय शुभकामना सम्पुर्णमा ।
कैलाश जी,
किराती पर्ब "साकेला"को बारेमा
जानकारी गराउनुभएकोमा शुभ कामना
तपाईंलाई। मेरो पनि जन्म् थलो भोजपुर।
खेले त्यही,हुर्किए त्यही। मेरा मिल्ने राइ साथीहरुको
याद आउछ यो पर्ब आउँदा। जे होस् "सिन्कौली सेउली सेलेले"
को शुभ कामना सबैलाई।
बिगतका सालहरुमा बडो खुशी, उमंग र उत्साहका साथ रमाउदै हाम्रो किरातीहरुको महत्वपूर्ण चाड साकेला मनाएको याद त आई नै रहेको थियो । यतिबेला त्यो समय नमिलेतापनी यो तपाईंको साकेला बिशेष लेख भित्र छिरेर छलङ मार्न पुगे, अनी सोचे नकी म त्यही साकेला/साकेन्वाको रमझममा छु । कैलाश जि लाई यसको लागि धेरै-धेरै धन्यवाद अनी समग्र सबैमा शुभकामना !
Its great Kailash ji, thanks for creation and collection about Sakelaa Silli.
Thank you so much.
आफ्नै देशको पर्ब साकेलाको नाम पहिलो पटक सुन्दैछू... महत्वपूर्ण नेपाली-किरांती संस्कृतिको जानकारीको लागी हार्दिक धन्यबाद |
यो केबल किराती जातीको मात्र संस्कृति होइन... सम्पूर्ण नेपालको महत्वपूर्ण संस्कृति र सम्पति हो...जति बिबीधता भएनी हामी समग्रमा चार जात छत्तीस बर्णका सबै एक नेपाली हौं ...
नेपाली-किरांती संस्कृतिको जानकारीको लागी हार्दिक धन्यबाद. मलाई त्यती धरी ज्ञान थिएन यसको बारेमा। जानकारी दिनु भयो धन्यबाद तपाईंलाई
किराँत संस्कृतिको महत्वपूर्ण चाडको बारेमा धेरै जानकारी बाँड्नुभएकोमा हार्दिक धन्यबाद!
यो अवसरमा म सबै नेपालीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु।
कैलाश जी म त धेरै दिलो झुल्किए नि - लौ ढिलै भए पनी साकेला पर्वको अबसरमा तपाईलाई - शुभकामना छ |
निकै मिहनत गरेर आफ्नो सस्कृति र परमपराको जानकारी गराउनु भएकोमा मुरी मुरी धन्यबाद !
We have read this it carefully and we appreciate your posting these information are really good.
We are also providing information about Online Degree
लेख राम्रो छ। तर पर्वको सट्टमा चाड लेखेको भए सुनमा सुगनन्ध हुन्थ्यो कि । किन कि समाचशास्त्रिहरुका अनुसार चाड र पर्वको वीच निक्कै अन्तर छ रे
Post a Comment