Tuesday, April 14, 2015

संकटमा सडक सारथी




२ चैत्र, २०७१

सरकारले सवारी चालकहरु १० कक्षा उत्तिर्ण हुनुपर्ने नियम ल्याएपछि १० कक्षा उत्तिर्ण नगरी टेम्पो समातेर दक्ष बनेका टेम्पो चालक महिला आत्तिएका छन्

झापाकी रीमा रोक्का विहानै साढे चारबजे उठ्छिन् । ग्यारेजबाट टेम्पो निकाल्छिन् । दिनभरि सडकमा खट्छिन । राती करिब सातबजे घर फर्किन्छिन् । विगत पाँच वर्षदेखि उनको नित्य कर्म यही हो । एकवर्ष अघि उनले आफ्नै टेम्पो किनिन् र स्वरोजगार बनिन् । यो पेशामा आउनुपूर्व वैदेशिक रोजगारमा ६ वर्ष बिताइन्, घरेलु कामदारको रुपमा । विदेशमा बस्दा मालिक मालिकनीकै खटनमा हरबखत काम गर्नुपर्ने, सानोतिनो गल्तीमा छुद्र वचन र व्यवहार सहनुपर्ने, उनीहरुकै अनुकूलमा तलब लिनुपर्ने हुन्थ्यो । अहिले आफ्नै देशमा कमाएर छोरीलाई प्लस टु पढाउन सक्षम छिन् उनी । साथीमार्फत् यो पेशामा प्रवेश गरेपछि उनलाई पुनः वैदेशिक रोजगारतर्फ जान मनै लागेन । यो पेशामा हताहाती पैसाको कारोबार हुने, स्वतन्त्र ढंगले काम गर्न पाइने र आफ्नै साधन भएपछि नाफा नोक्सान र समयलाई आफ्नै अनुकूल ढालेर काम गर्न पाइने उनको अनुभव छ । त्यही अनुभवले उनी यो पेशामा निरन्तर लाग्ने धुनमा छिन् ।

बाह्रवर्ष अघि धनगढीबाट काठमाडौँ आएकी सपना विक पनि पाँच वर्षदेखि यो पेशामा छिन् । सपनाको दिनचर्या रीमाको दिनचर्यासँग मेल खान्छ । त्यसअघि काठमाडौंस्थित स्थापित एक गैरसरकारी संस्थामा कार्यालय सहायकको रुपमा दुई वर्ष काम गरिन् । तुलनात्मक रुपमा यी दुबै कामबीच रहेको भिन्नतालाई उनले मजैले नियालीसकेकी छिन् । त्यो हो, स्वतन्त्रपूर्वक काम गर्न पाउने अवस्था । कार्यालयमा हाकिम(हरु)को मातहतमा उनीहरुकै अह्रनखटनमा पूर्व शर्त बमोजिम र त्यसभन्दा बढ्दा भैपरिआउने काम गर्नुपर्ने हुन्थ्यो । कामकाजको क्षेत्रको सीमा कमै हुने र पैसा पनि कमै हुने गथ्र्यो । टेम्पो चालक भएपछि उनको महिनावारी तलब चोखै बच्छ । यात्रुहरुको चाप भएको बेला साहुलाई बुझाउनुपर्ने निश्चित रकमको अलावा पनि दैनिक दुई चार सय कमाउन सक्छिन् । यो पेशामा पैसा कमाउनुको साथै आफूखुशी काम गर्न पाउनु उनलाई सबैभन्दा मन पर्ने कुरा हो । अझ घरबाहिर व्यस्त हुन थालेपछि घरेलु कामकाजमा समेत श्रीमान्ले मद्दत गर्न थाले । श्रीमान् जत्तिकै आफूपनि घरखर्च टार्न सक्षम भएकैले श्रीमान्ले पनि घरेलु काममा सघाउन थालेको उनको ठम्याई छ ।

रीमा र सपना,  यी दुवैजनालाई टेम्पोमै सीमित रहनु छैन ।  आफ्नो सीप बढाउनु छ । माइक्रो बस गुडाउनु छ । सकेसम्म सरकारी, गैर सरकारी एवं नीजि क्षेत्रका चारपांग्रे हाँक्नु छ । काठमाडौँको सडकमा हरबखत हुने ट्राफिक जाम कम गर्न साना सवारी साधनको सट्टा मझौला एवं ठूला भित्रयाउने हल्ला पनि बेलाबखतमा चल्दै आएको छ । त्यसरी सट्टाभर्ना गर्ने हो भने तीनपांग्रे टेम्पो नै सबैभन्दा पहिले विस्थापित हुनपुग्छ । यसबारेमा सचेत भएकैले पनि उनीहरु चारपांग्रेतिर चाँडो पोख्त हुन आतुर छन् ।

टेम्पो चालक एवं व्यवसायी बनेर कैयौँ महिलाहरुले स्वाभिमानका साथ आफ्नो जीवन र परिवार थेगेका छन्देशका विभिन्न भूभाग र फरक फरक पृष्ठभूमिका बहुसंख्यक महिलाहरुलाई यातायात व्यवसायसँग साक्षात्कार गराउने एक प्रभावकारी माध्यम बन्यो सफा टेम्पो । टेम्पो चालक एवं व्यवसायी बनेर कैयौँ महिलाहरुले स्वाभिमानका साथ आफ्नो जीवन र परिवार थेगेका छन् । रीमा र सपनाले तिनै बहुसंख्यक महिलाहरुको प्रतिनिधित्व गर्छन् । माथिको संक्षिप्त कथा तिनको संघर्ष, संकल्प र सपनाको सानो अंश हो । 

सडक, सवारी र दक्षताको बलबूतामा बाँचीरहेका महिलाहरुको भविष्य तथा सपना धरापमा परेको छ अहिले । गत मंसीर २५ मा मन्त्रीपरिषदले सवारी दुर्घटना बढ्नबाट रोकथाम गर्ने उपायको रुपमा सार्वजनिक सवारी चालकको हकमा नयाँ सवारीचालक अनुमतिपत्र नियमावली २०७१ पारित गर्यो । जसअनुसार व्यवसायिक चालकको न्यूनतम शैक्षिक योग्यता १० कक्षा उतीर्ण हुनुपर्ने, उमेर २३ देखि ५९ वर्ष हुनु अनिवार्य छ । यो नियम सबैको हकमा लागू हुने हो भने रीमा र सपना र उनीहरुजस्ता सैयौँ महिला एवं पुरुषहरु आफ्नो पेशा र (स्व)रोजगारबाट विस्थापित हुनेछन् । रोजगारी धान्नकै लागि महिलाहरुले पुनः पढ्नुपर्ने बाध्यता आइपर्छ । विभिन्न व्यवहारिक, आर्थिक एवं पारिवारिक कारण अधिकांश महिलाहरु उक्त बाध्यता धान्न सक्ने अवस्थामा पनि छैनन् ।

शैक्षिक योग्यताकै कारण दक्ष र अनुभवी हुँदाहुँदै पनि रोजगारबाट वञ्चित हुनेहरुको सूचि निकै लामो हुनेछ ।  कम उमेरकाहरु दोहोरो मापदण्डका कारण पाखा पारिइनेछन् । अब आउने पुस्ता, जो १० कक्षा उतीर्ण हुन्छन्, अन्यत्रै आकर्षित भइरहेका वा हुने थुप्रै पक्षहरु छन् । कतिपय चालकहरु आफै पनि आफ्ना सन्तानलाई आफूजस्तै चालकमा सीमित राख्न नपरोस् भन्नाकै खातिर पनि दिनरात खटिइरहेका छन् । यस्तो स्थितिमा दक्ष चालकहरुको भीडमा ‘व्यवसायिक चालक’ स्वतः दुर्लभ हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय समिति सदस्य तथा केन्द्रिय महिला विभागका पूर्वाध्यक्ष बिमला थापा मगरको ठम्याई छ ।

‘ड्राइभर ठिक हुन्नन्’ वा ‘गाडी लाइन राम्रो हुन्न’ भन्ने मानसिकतालाई महिलाहरुको व्यापक उपस्थिति, इमान्दारि र अनुशासित छविले बदल्न समेत सहयोग पुग्नेछचालकहरुको रोजीरोटीको माध्यम टुटेलगत्तै उनीहरुको घरपरिवार विचल्लीमा पर्नेछन् । त्यसले अनेक प्रतिक्रिया र तत्कालिन एवं दीर्घकालिन असरहरु जन्माउँनेछ । यसबारे राज्य एवं सरकारले नसोची, विकल्पहरुको खोजी बिना नै नियम लागू गराउनु र १० कक्षा पासको प्रमाणपत्र वा योग्यताले अनुशासित र दुर्घटना कम हुने तर्क हास्यास्पद लाग्छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, बाग्मति अञ्चल समिति अध्यक्ष नवराज घिमिरेका अनुसार तुलनात्मक रुपमा महिला टेम्पो चालकहरुले व्यवसायी र यात्रुको नजरमा ‘सुरक्षित चालक’को छवि निर्माण गरेका छन् ।‘ड्राइभर ठिक हुन्नन्’ वा ‘गाडी लाइन राम्रो हुन्न’ भन्ने मानसिकतालाई महिलाहरुको व्यापक उपस्थिति, इमान्दारि र अनुशासित छविले बदल्न समेत सहयोग पुग्नेछ । दुर्घटना कम गर्ने नाममा सीपयुक्त दक्ष जनशक्तिलाई बेरोजगार बनाउनुको सट्टा सुरक्षित र अनुशासित तवरले सवारी चलाउन अनिवार्य सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण एवं तालिम र मूल्यांकन एवं अनुगमन प्रभावकारी हुनसक्ला । 

यो पेशालाई रीमाले झैँ वैदेशिक रोजगारको विकल्प मान्ने, सपनाजस्ता अधिक समय र श्रमवापत न्यून तलबमा खुम्चिनुको विकल्प ठान्ने विविध पृष्ठभूमिका महिलाहरुको लागि राज्यको यो नियम बाधक बनेको छ । अवसर, पहुँच, योग्यता र वातावरणलगायतका अनेकौँ पक्षका कारण पेशागत रुपान्तरण वा परिवर्तनको हकमा पनि तुलनात्मक रुपमा महिलाहरु निश्चित घेराभित्र सीमित हुन पुग्छन् । किनकी यो पेशामा स्थापित भएका अधिक महिलाहरुको योग्यता नै अनुभव र दक्षता हो । स्टेरिंग चलाउने नै उनीहरुको सीप हो ।

(चालकहरुको नाम परिवर्तन गरिएको छ) 
(साभार: http://np.recordnepal.com/wire/104)

1 comment:

Kamal Budha इमान्दार said...

साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html