Sunday, October 16, 2011

'खसे पुक' अभ्यास

बाल्यकालको सम्झना दिलाउने किरात राई दुङमाली मातृभाषी हुनेसँग जोडिएका केही तीतामीठा प्रसङ्ग छन्। पहिलो प्रसङ्ग, मेरो मावली बोजु (हजुरआमा)को। पल्टनमा जमदार बाजेले त्यतिबेलाको नेपालको मगरनीलाई पँधेराबाटै तानेर भोजपुरको उदेकलाग्दो गाउँमा पुर्याउनुभएछ। रहँदाबस्दा बोजुले गाउँको भाषा, परिवेश र सँस्कृति यति आत्मसात् गर्नुभयो, कसैले बाहिरबाट आएको भेउ नै नपाउने भो! दुङमालीले बोजुको मातृभाषा समेत कप्लक्कै निलिदियो।

जीवनकालमा उहाँ एकपल्ट पनि माइत जानुभएन। माइतीको एउटा मात्र चिठी पनि निधनपछि आइपुग्यो। बोजुले सामना गरेको भाषिक कठिनाइ म भन्न सक्दिनँ, तर २०४९-५० ताका मैले केही कठिनाईसँग जुध्नुपरेको थियो। हैरानै भइयो। तर त्यसले बोजुको जस्तै सकारात्मक गति लिनु रहेछ, लियो।

खसे पुकको शक्ति

प्राथिमक शिक्षादेखि नै नेपाली पाठ्यक्रमअन्तर्गत नेपालीमै पढाइ हुने विद्यालयमा बाहिरबाट आएका नेपालीभाषी मास्टरहरु हामीलाई नेपालीमा अभ्यस्त पार्ने अनेक कोसिस गर्नुहुन्थ्यो, तर हाम्रो जिब्रोमा यो भाषा बस्दै मान्दैनथ्यो। फुल पार्ने दशथरी पंक्षीको नाम लेख भन्ने प्रश्नमा कसोकसो बुझेछौँ। सबै उत्तर लेख्यौ, तर आफ्नै मातृभाषामा (अझैपनि म कतिपय चराचुरुंगी र बोटविरुवालाई नेपाली नामले चिन्दिनँ)। कापी जाँच्दा सरले बुझ्नुभएनछ। धन्न, ती सरले स्कूल नजिकै बिहे गर्नुभएको थियो, त्यही अन्तरजातीय विवाहले हाम्रो उद्दार गरेछ।

पाँच कक्षाको अङ्ग्रेजीको जाँच घोकेरै दिइयो। नेपालीमा अङ्ग्रेजीको भन्दा कता हो कता धेरै लेखियो, तर के लेखेँ थाहा थिएन। तीनओटा प्रश्न बाँकी छँदा नेपाली पढाउने सरले आएर कालोपाटीमा धमाधम उत्तर लेखिदिनुभयो। हामी पास भयौँ। जिल्लास्तरीय जाँच थियो, अरु विषय बिगारे पनि नेपालीमा विद्यार्थी फेल भए सरहरुलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गरिएको पछि मात्र थाहा भयो। त्यसबेला अलिअलि हाम्रो मातृभाषा बुझ्ने र बोल्नेलाई मात्र हामी 'हाम्रो' सर ठान्थ्यौँ-भन्थ्यौँ, अरु सरहरु 'अरु' हुन्थे। गाउँभरि सबै जातकाले दुङमाली भाषा नै बोल्थे। हाम्रा लागि नेपाली भाषा 'खसे पुक' (खस कुरा) थियो।

मेरो लागि नेपाली, अङ्ग्रेजी, गणित सबै उस्तै थिए। त्यसमाथि एकताका हामीलाई संस्कृत पनि पढाइटोपलियो जस्तो लाग्छ। पाँच कक्षासम्म के के पढेँ भनेर अहिले सम्झँदा हात लाग्यो शुन्य हुन्छ। र पनि, नेपाली भाषाको चाम्रो चिउरा चपाउने असली कसरत गर्नै बाँकी रहेछ, जुन जसोतसो पाँच कक्षा छिचोलेर अर्कै माहोलमा पुगेपछि शुरु भयो। मजैले तर्सायो, नेपालीको भूतले। कक्षामा प्रायः सबै साथी नेपाली मातृभाषी थिए। तिनको चुरीफुरी नै अर्कै। आफू भने सधैँ अक्क न बक्क। तर जसरी पनि 'खसे पुक' जान्नैपर्ने बाध्यता आइलाग्यो। कनीकुथी बोल्नै पर्दा कसैले बेस्कन घाँटी अँठ्याए जस्तो हुन्थ्यो, आवाजविहिन जिब्रो खाली हल्लने मात्र। अनि साथीहरु खिसी गर्थे, मास्टरहरु हाँस्थे। हामी लाज र लघुताभाषले भुतुक्कै हुन्थ्यौ। जानेका कुरा पनि मुखैमा अड्किन्थे। कक्षामा सँधै चुपचाप बस्थ्यौ। मातृभाषामा उट्पट्याङ अर्थ लाग्ने नेपाली शब्दहरु आउँदा अचानक हाँसिन्थ्यो। अङ्ग्रेजी, विज्ञान र गणित पढाउने सरहरु तराईका साह र मण्डल थरका हुनुहुन्थ्यो। अरु साथीका लागि उहाँहरुको नेपाली पनि हाँसोको बिषय बन्थ्यो।

तैपनि अरु दुङमाली साथीहरुको भन्दा मेरो नेपाली राम्रो रहेछ। त्यसैले उनीहरु धेरैजसो मामलामा मलाई अगाडि सार्थे। धेरैको प्रेमपत्र पनि लेखिदिएँ। लेखेर स्वाद मानी-मानीकन वाचन गरिदिएपछि मात्र चिठी खामबन्दी हुन्थ्यो। नेपाली लवज राम्रो बनाउन रातभर पाठ्यक्रमका कविताहरु सस्वर वाचन गर्थे। एउटा वादविवाद प्रतियोगितामा पहिलो भएपछि भने मेरो आत्मविश्वास बढेर आयो। पुरस्कारमा गोटाको एक रुपैयाँ पर्ने तीनवटा कापी पाएपछि खसे पुकको शक्ति थाहा पाएँ।

यति हुँदासम्म पनि, साथीहरुसँग गफगाफ गर्दा बीचबीचमा दुङमाली पसिहाल्थ्यो। कतिपयले जिस्क्याउँथे, "हामीलाई'नि सिकाउ न तिर्मो भाषा, तिमीलाई'नि सजिलो, हामीलाई नि मजा।" तर म त बिस्तारै घरमा पनि खसे पुक नै बोल्न थालेको थिएँ। सायद म जीविकोपार्जनको लागि गाउँबाट बाहिरिने तयारीमा थिएँ, मेरो बोजुको मातृभाषालाई कुप्लुक्कै पार्ने दुङमालीको ठाउँमा म पर्वते नेपालीलाई ठेल्दै थिएँ। अब त गाउँमै पनि हामीमुनिका पुस्तालाई सानैदेखि नेपालीमा बानी पार्ने प्रयत्न शुरु भइसकेको थियो। मातृभाषाको सङ्कुचनसँगै क्रमशः सम्पर्क, सम्बन्ध र सम्भावनाहरुको दायरा फराकिलो हुँदै थियो।
कतिसम्म भएछ भने, धेरैपछि आएर गोरखापत्रको 'नयाँ नेपाल' पातोले मसँग मातृभाषाको परीक्षा लिँदा फेल भएछु। लेख्य परम्परा नभएको 'दुङमाली पुक' बोल्दा जति मीठो र सहज लाग्थ्यो, गोरखापत्रका लागि एउटा लेख सिध्याउन त्यति नै गाह्रो भयो। अन्तयमा, नेपालीमै सरसर्ती लेखेर दुङमालीमा उल्था गरेँ। लेख दुङमाली, भाव नेपाली रह्यो। स्कूले जीवनको त्यो अप्ठ्यारो ठ्याक्कै उल्टिन पुगेछ। यसमा अभ्यासको अभावले काम गरेको थियो। दुङमाली भाषाको वर्ण निर्धारणमा सहभागी भएपछि मातृभाषाको त्यो लेखमा भएको भाषिक र व्याकरणीय त्रृटि थाहा पाएँ।


अभिव्यक्तिमा मातृभाषा

२०६७ मङ्सीरमा जलेश्वरको एक कार्यक्रममा सीके लालले आफ्नो मातृभाषामा बोलेको क्षण मेरो स्मृतिमा सधैँ नाचिरहन्छ। नेपाली, अङ्ग्रेजी र हिन्दीमा राम्रो पकड भएका सीके दाईको मातृभाषा मैथिलीको अभिव्यक्तिमा बेग्लै तागत थियो। त्यसैगरी, सभासद्‌द्वय रामशिला ठाकुर र इन्द्रावति अधिकारी दनुवारले मसँग गरिरहेको 'कनीकुथी नेपाली'ले त्यतिखेर पल्टा खायो जब बीचैमा मोबाइलको घण्टी बज्यो। फोनमा बोल्दा उहाँहरु दुबैले 'मातृभाषाको वाक्‌पटुता' र 'कमाल' देखाउनुभएको थियो।
दोस्रो भाषा अर्थात् पछाडि करले सिकेको भाषामा आफूलाई भन्न मन लागेको र थाहा भएको कुरा पनि चाहेअनुरुप भन्न सकिँदैन। अर्कोतिर अर्थको अनर्थ नलागोस् भन्ने पिरलो उत्तिकै हुन्छ। राजनीतिक जीवनसँगै नेपाली भाषाको व्यवहारिक अभ्यास थालेका सभासद्‌द्वयले अझै सिक्दै गरेको बताउनुभयो। यो सिक्ने क्रममा हामी अङ्ग्रेजीतिर कसरी लहसिएका छौँ भन्ने वर्णन कसैले गरिरहनुपर्दैन। मेरो आफ्नो अवस्था चाहिँ कस्तो छ भने, अङ्ग्रेजीमा अभिव्यक्त गर्नुपर्ने बाध्यतामा फँस्दा पनि व्यवहारमा बिरानो भइसकेको उही मातृभाषाले साथ दिन खोजीरहन्छ। विदेशीहरु लट्टे पड्केझैँ अङ्ग्रेजी बोलेको सुन्दा मलाई दुङमालीमा धाराप्रवाह हुन मन लाग्छ। अनि फेरि घरको बोजुलाई सम्झिन्छु।

छोराले बोलाएपछि उहाँ मलाया घुम्न जानुभयो। एयरपोर्टमा ओर्लिएपछि एउटा भीमकाय गोराले के-के, के-के सोधेछ। बोजुले अन्दाजकै भरमा आफ्नो कुरा राख्दा पहिला जानी नजानी नेपालीमा बोल्नुभएछ। गोराले बुझेन। अनि दुङमाली भाषामा भन्नुभएछ। गोराले अझै बुझेन। तामाङ भाषा पनि प्रयोग गर्नुभएछ। अब त झ्वाँक चल्यो, बोजुलाई। उहाँ दुङमालीमा कड्किनुभएछ, "यत्रो मलेवा शहरमा बस्ने साहेपलाई म पाखादेखि झरेको बुढी मान्छेले यत्रो कुरा भन्दा पनि अझ सोधिरहने?" अनि चाहिँ गोराले हाँस्दै बाटो देखाइदिएछ। बोजु भन्नुहुन्थ्यो, "मलाई त दुङमाली नै सजिल।"


(नोटः यो संस्मरण भर्खरैको दशैँ अंकको 'हिमाल'मा छापिएको हो। यहाँ तीन ठाउँमा सम्पादन गर्दा त्रुटि भएको छ। पहिलो शुरुकै वाक्यमा 'दुङमाली राई भाषा' लेखिएको छ। दुङमाली कुनै जाति नभएकोले 'किरात राई दुङमाली भाषा' हो। दोस्रो, सीके लालको पछाडि 'सर' थपिइएको छ। सीके दाईले पढेपछि मलाई भन्नुभो "भन्दाखेरी दाई भन्ने लेख्दा चाहिँ सर, अलिक अफेन्सिप लाग्यो।" र, तेस्रो, अन्तिमतिरको प्रसंग मैले घरको बोजुको कुरा गरेको हुँ। जसलाई शुरुमा उल्लेख भएको मामली बोजुको प्रसंगसँग जोडिइएको छ। तर यो बाक्यमा मैले स्पष्टसँग 'घरको' भनेर नलेखेकैले त्यस्तो बुझाई भयो। मेरो मामली बोजु त अरुण तरेर कही कतै जानु नै भएन। हिमालमा पढिसक्नु भएकाहरुलाई कुटीको यो टाँसो र नोटले स्पष्ट पार्छ। कुटीमै पढ्नेलाई भने त्यो वास्ता गर्नुपर्ने कुरो भएन।)

5 comments:

Anonymous said...

अहिले त्यही नेपाली भाषामा काम गर्दा चै घाँटी समातेजस्तो लाग्छ कि नाँइ ?

Anonymous said...

Asia Explore Adventure & Travel is founded by the dedicated explorers and professional Team to operate the luxurious holiday tour and explore the incredible attractions to the various country of Nepal, Bhutan, Tibet and India.We are operating, classic tours, cultural &historical tours, leisure holiday tours,MICE,training& conference tours, Mercedes Benz terrain coach tours, outdoor adventure tours (trekking, hiking, outdoor camping, jungle safari, white water rafting, paragliding etc.), air/helicopter charters, special custom made itinerary tours for outbound travel agencies and provide “one time shop” services to our customers.
Trekking in Nepal
Annapurna Base Camp Trek
Everest Base Camp Trek
Langtang Valley Trek
Mount Kailash Tours
Kanchenjunga Trek

real estate nepal said...

nice

Jame Obama said...

Nice article
visit
free money
to learn and earn more money.

Adams Kevin said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK