Thursday, September 29, 2011

दशैँ, आमा र म

हरेक साल दशैँ आउँछ। जान्छ। आजकाल त्यत्ति उत्साह जाग्दैन। तैपनि थाहै नपाइ केही हदसम्म 'फेष्टिभ मूड' भने वरिपरिकै माहौलले बनाइकनै छाड्छ। विविध सञ्चारका माध्यम-अनलाइन-मोबाइलदखि सामान्य गफगाफ सबैमा दशैँकै कुराकानी र शुभकामना आदानप्रदान। अनि त सबैतिर दशैँले प्रवेश गरेरै छाड्छ। म बस्ने घर हिजैदेखि सुनसानझैँ भयो। काम गर्ने थलोमा आएँ, यहाँपनि सुनसान। अधिकांश साथीहरु घरतिर लागिसके। बाँकी केही साथीहरुको जाने क्रम चल्दैछ। सडक पनि खुकुलो छ- कलंकीदेखि उताबाहेक। अनि कामको लाइन लागेको अनुपातमा काम गर्ने 'मूड' पनि खुकुलै। आफैलाई के ढाँट्नु, नगरी नहुने कामबाहेक अरु काम पेन्डिङमा बस्न बाध्य छन्। दशैँले छोपेपछि निरन्तरको धपेडीलाई बिसाउँदै काठमाडौँले सन्चको सास लिन्छ सायद। निस्सासिनबाट मुक्त भएको काठमाडौ मलाई मनपर्छ। सायद अत्याधिक समय उकुसमुकुस र भीडभाडमय हुने भएकोले होला केही दिनको होलो-खुकुलोपन प्रिय लागेको।

फेष्टिभ मुड भएनि बालखैछँदाको दशैँ, खुशी, उमंग र उत्साह भने कहिल्यै फर्केर आएन। र, आउँदैन पनि। केही योजना र कही कतैको गन्तव्य नभएको बेला यति लामो छुट्टी कसरी काट्ने भनेझैँ लाग्छ शुरुमा। तर दिन बितेको पत्तै नभइ यत्तिकैमा छुट्टी सकिन्छ। अनि ब्याक टु मंगलमान।

म अहिले कुटीमा बसेर उतिबेलाका दशैँ सम्झिँदै छु। र, ती दिनका स्वच्छ उमंग र जाँगरको मूल्य सालैपिच्छे झन् झन् बढेको महशुश गर्छु। बालख मान्छेको बालखै दशैँ। वर्षदिनमै भएनि एकचोटि नयाँ लुगा लाउन पाइने। पेट मात्रै हैन मन भरुन्जेल मिठो खान पाइने। सबै परिवार-आफन्तहरु एकैठाउँ हुने। साथीहरुसँग रमाइलोसँग पिङमा मच्चिन पाइने। कोशेली बाकेर टिका लाउन मामाघर जाने। निधारमा टिका र कानमा जमरा सिउरिएर ठूलाबडाहरुको हातबाट पाएको दक्षिणानको गन्ती गर्नु। आहाऽऽऽ क्या दिन थिए ती। ती दिनको तुलनै छैन।

दशैँको आगमनमा घरहरु चिटिक्क परेका हुन्थे, लिपपोतले सिँगारिएर। घर वरपर सफा सुग्घर हुन्थ्यो। बाटोघाटोहरु पनि बनाइन्थ्यो। घर-घरमा जाड रक्सी पार्ने काम घटस्थापनादेखि शुरु हुन्थ्यो। दशैँको मुख्य खान्की 'मासु'को लागि अगाडिदेखि नै सुँगुर, राँगा, खसी-बोका, कुखुरा आदि जनावर तथा पशुपंक्षीहरुको विषेश पालनपोषण हुन्थ्यो। कस्को घरको कति ठूलो वा कत्ति मोटो भन्ने चर्चा चल्थ्यो। फुलपातीको दिनदेखि मजैले दशैँ लाग्थ्यो। त्यही दिनदेखि गाउँको विभिन्न ठाउँमा लिङ्गे पिङ हालिन्थ्यो र तिहार नसकिन्जेलसम्म राखिन्थ्यो।

दशैँका बेलाका केही कुरा र काम भने मलाई मनै पर्दैनथ्यो। मार हान्ने दिनमा म आधा रातमै जाग्थे। खोरमा गएर घरीघरी सुँगुरलाई हेर्थे। मन बेसुख हुन्थ्यो। खसी-बोकालाई च्वाट्टै छिनाल्ने क्षण आउँदा वा बेचेर अरुले लैजाँदा मन नमिठो हुन्थ्यो। र जाड रक्सीको अत्याधिक प्रयोगको नतिजा अपचै हुन्थ्यो। जुठो भाँडो यत्ति धेरै हुन्थ्यो, त्यही पनि एकदमै चिल्लो अझ बोसो जमेर कक्रक्कै परेको, त्यो सफा गर्दागर्दा आमा र मेरो हातै कठ्याङग्रिन्थ्यो।

अर्को एउटा छुट्नै नहुने प्रसंग, घर-गाउँमा चाडबाडको उमंग चुलिदै जान्थ्यो। आमा र म चाहि तल बेसी- अरुणको किनार-मा रहेको गोठमा गोठाला दाजुलाई पालो दिन झर्नुपर्थ्यो दशैँको टिका थापेपछि। ४० देखि ४५ वटासम्म गाईगोरु, अलि बढी संख्यामा बाख्रा-बोकाहरु हुन्थे त्यहाँ। दशैँको चहलपहल र रमाइलो छाडेर एकदमै एकान्त, चराचुरुंगी र किराहरु कराउने बनमा बस्नु जाँदा रुन मन लाग्थ्यो। मुख अँध्यारो पार्दै आमाको पछि लाग्थे। त्यहाँ पुग्दा अरुण पनि एक्लिएर सुसाएझैँ लाग्थ्यो। आमाले पनि अरुणको सुसाइसँगै बात मार्नुहुन्थ्यो। गोठको सामुन्ने अरुण खोलाको पारिपट्टि धनकुटा जिल्लामा पर्ने जंगलमा ठुलो पहिरो थियो। त्यो सालैपिच्छे बढ्दै जान्थ्यो। त्यसलाई नहेरु भन्दा पनि आँखै सामु पर्थ्यो। अरुबेला त सामान्य लाग्थ्यो, दशैँको बेला भने त्यसले झनै मन कुँडाउथ्यो।

गाईबाख्रा चराउँदै, तिनको बाछाबाछी र पाठापाठीहरुसँग खेल्दै, वनजंगलसँग लुकामारी खेल्दै, चराचुरुंगीहरुसँग घुलमेल हुँदै, अरुणको पानी पिउँदै, उसको सुसाइ र छालसँग भलाकुसारी खेल्दै आमा र मेरो बाँकी रहेको दशैँ तिहार बित्थ्यो। घरबाट ओरालो झर्दा र झरेको एकाध दिन न्यास्रो लागेपनि पछि मलाई त्यही माहौल प्रिय हुन्थ्यो। किनकी त्यही ठाउँ र समय थियो, जतिबेला म आमासँग निर्धक्कसँग बस्न पाउँथे। मैले आमाको साथ र माया स्वतन्त्रतापूर्वक महशुश गरेको र मेरो बालापनसँग उनले बिताएको पल पनि तिनै हुन्। मेरो मनपरीतन्त्र चल्ने र मनलागी गर्न छुट पाएको क्षण पनि त्यही थियो। र आमाले पनि आफ्नो काम आफ्नै अनुरुप गर्न पाउने त्यही बेला थियो। त्यसैले हामी दुबैलाई काइदै थियो। दशैँ तिहारबाहेक गोठाला दाजुको सट्टामा कोही जानुपर्यो भने पनि हामी दुई नै चुनिन्थ्यौ घरबाट। घरको निर्णय आदेश हुन्थ्यो हाम्रोलागि। त्यहीमाथि सिजनअनुसारको फलफूल र दुध, दही मनग्गे खान पनि पाइन्थ्यो।

त्यहाँ जम्मा दुइटा गोठ थिए, ती पनि एकापसमा टाढा टाढा। सजिलोको लागि प्रायजसो दिउँसो एकैतिर गाईबाख्रा चराउन लग्ने गर्थ्यौ। अर्को गोठमा आटेबा (ठुल्बा) बस्नुहुन्थ्यो। उहाँले मलाई सरिफा खोजेर ल्याइदिनुहुन्थ्यो। त्यसको बदलामा मैले उहाँको फुलेको कपाल उखालेर सक्ने सम्झौता गर्थ्यौँ। आमा चाहि बाछाबाछीलाई घाँस काट्नुहुन्थ्यो त्यत्तिबेला। सरिफा त टन्नै खान्थे। तर फुलेको कपाल भने कहिल्यै उखेलेर सकिन। बुढ्यौलीले फुल्दै गएको कपाल पनि कही उखेलेर सक्नु र? कहिलेकाही गीत गाउँन लगाउने, सुसेली हाल्न सिकाउने, सिठ्ठी बजाउन सिकाउने गर्नुहुन्थ्यो आटेबाले। जे होस् मजैले बित्थ्यो गोठालाका दिनचर्या। पछि एक्लै गोठाला गर्नुपरेको बेलामा त्यत्तिबेला सिकेको सीपले खूब काम दिन्थ्यो।

आमाले बादर रुग्ने छेम्बा (यसको नेपाली नाम मलाई थाहा छैन)मा दाम्लोकै पिङ हालिदिनुभाथ्यो। गोठालाबाट फर्केपछि एक साँझ पिङ खेल्दै थिए। एउटा बादर आयो। मैले ढुंगाले हिर्काएर भगाउँन खोजेको त मलाई नपत्याएर झम्टिनै खोज्यो। त्यसलाई हिर्काउन के खोजेको थे। त्यो एउटा चिच्यायो र हूलै बाँधेर बादरहरु भेला भए। चिच्याउँदै, कोपर्न खोज्दै मलाई खुबै अत्याए। हतारहतार फुत्किएर स्वाँस्वाँ गर्दै गोठमा कुदेर आए। खोसेल्टाले पुरिएर मुटु धक्क फुल्याएर थरथर काम्दै आमालाई कुरेर बसीरहे। गाउँका मान्छेहरुले मलाई 'यति सानो छस् बादरले टिपेर लैजाला, होस् गर्' भनेर जिस्काउँथे। त्यत्तिबेला त साँच्चै हो कि क्याहो भन्ने पर्यो। आमा अरुणमा पानी लिन गएकोले गुहार्ने कुरा पनि भएन। पछि आमाले मलाई बोलाउदा घाँसको चाङबाट म एक्कासी फुत्त बाहिर आएँ। आमा त तर्सिएर कस्तरी कराएको। अनि त गोठै थर्किने गरी हाँस्यौँ दुबैजना। अघिल्लो दिन कोही नभएको बेलामा बादरले उपद्रो गरेको मलाई मन परेको थिएन। गोठालाबाट आउँदा त चामल छरिएको, दुध पोखिएको, भाँडाकुँडा भुइभरी छरिएको थियो। 'तैलै रिस उठाइस अनि उनीहरुपनि तसँग रिसाएको' भन्दै बाँदरसँग कसरी व्यवहार गर्ने भन्ने आमाले सिकाउनुभयो। आमा त पशुपंक्षी, किराफट्याङग्रा सबैसँग कुरा गर्नुहुन्थ्यो, लाग्थ्यो उहाँ तिनीहरुसँग दोहोरो संवादमा भावना साटासाट गरिरहनुभएको छ।

एउटा दशैँमा एकचोटि राति यत्ति ठूलो गर्जनले बाघ गर्जियो कि हामी सबै डरायौँ- आमा, म, गाईगोरु, बाख्रा। गाईगोरु कराउदै दाम्दो चुँडालेर भाग्न खोज्दै थिए। मलाई जुही- सबैभन्दा पाको गाई-को आडैमा राखेर, 'तिमेरु एकअर्काको साथी हौ, केही हुँदैन नडराओ' भनेर छाड्नुभो। पालैपालो गाईगोरुहरुलाई सुम्सुमाउँदै खै के के भन्दै सबैलाई साम्य पार्नुभो। त्यो रात एक छेउमा ठूल्ठूला अग्राख सल्काएर हामी दुबै जुहीको आडमा गाईगोरुको माझमा सुत्यौँ।

अन्तमा सबै-सबैलाई दशैँको हार्दिक मंगलमय शुभकामना छ।

7 comments:

दीपक जडित said...

दसैंले सानोका थुप्रै सम्झना ओ इराएछ कैलाशजीलाई । तपाईंको सम्झनाका लहरहरुले मलाई पनि संगै गोठ लिएर गएझैं ब्नायो । त्यो पारी धनकुटापट्टिको पहिरो आँखै अगाडी देखेर मन विरक्त भएझैं भयो पढ्दैजाँदा । रमाईला प्रसंग पनि उत्तिकै । लेखिरहनु पर्छ है कैलाशजी तपाईंको कलमले ।

दसैंको मंगल कामना !!

कैलाश said...

लेखिरहू नै भन्छ मनले त दीपक जी, कहिलेकाही एक्कैचोटि थुप्रै कुराको मसि पो सकिन्छ र लेख्न रोकिन्छ। जे होस् नलेखी बस्न त कठिन नै होला।

Basanta said...

मन छुने प्रसंगहरु राख्नुभयो कैलाशजी! भाव विह्वल बनायो यो लेखले। तपाईँको बाल्यकालका यस्तै संस्मरणहरु पढीरहन पाउने आशा गर्दछु।

तपाईँ र यो ब्लगका सम्पूर्ण पाठकहरुमा दशैंको हार्दिक मंगलमय शुभकामना!

Chaitanya said...

मर्मस्पर्शी लेख !
बिजया दशमीको हार्दिक शुभकामना !

sirjana said...

very nice memoir

Jame Obama said...

Nice article
visit
free money
to learn and earn more money.

Adams Kevin said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK