Tuesday, October 28, 2008

शुभ दिपावली


सम्पूर्ण मित्रहरुलाई २०६५ को शुभ दीपावलीको उपलक्ष्यमा कुटीको तर्फबाट हार्दिक मंगलमय शुभकामना। हरेकको हरपलमा खुशीयाली र सन्तुष्टीको हावा चलीहोस्, हरेकको घरघरमा लक्ष्मीको बास भइरहोस् साथै हरेकको मन मस्तिष्कमा सुख र शान्ति छाइरहोस्।

(तिहारपछि ब्लगर मित्रहरुसँग भेट्ने वाचा गर्दै अहिलेलाई जाँदैछु। त्यत्तिन्जेलसम्मको लागि कुटीलाई पनि यसो कुरीदिँदै गर्नुस् है छिमेकी मित्रहरु।)

Friday, October 24, 2008

कन्फ्यूजनः 'कैलाश'को

आज 'कैलाश' को बारेमा या नि सोझै भनौ न मेरो नामको बारेमा केही गन्थन गर्न मन लाग्यो। हुन त यो शब्द आफैमा चमत्कारी त पक्कै हैन नै। तर यो 'कैलाश' नाम र 'नामधारी' मनुवाको समीकरणले एउटा पुरुष/केटाको विम्बलाई स्वत दिमागमा ल्याइदिने भएकैले आज यहाँ कुरा कोट्याउने बहाना पाए मैले। सामान्य समीकरणको नजिता उल्टो निस्कँदा कहिलेकाही सम्झना आइरहने कुराहरु भएका छन्। अरु मानिसहरुलाई कन्फ्यूजन पनि पैदा गर्न सघाउँछ। आज म त्यही कुरा साथीहरुसँग बाँड्छु। एक न एक दिन यो कुराले मेरो कुटीमा स्थान पाउँछ भन्ने थियो मनमा। आज स्थान ग्रहण गराइदिदैछु।

कामको शिलशिलामा मेरो काम गर्ने ठाउँमा अपरिचित व्यक्तिहरुको फोन आउँदा धेरैले भन्ने गर्छन् 'कैलाश दाई या सर'लाई पाउँ न। फोन उठाउने बहिनी पहिला पहिला खुब हाँस्ने गर्थ्यो। आजकाल चाहिँ बानी परेरै होला अलि कम हाँस्छ। मोबाइल उठाउँदा समेत 'मैले कैलाश राईलाई खोजेको' भन्ने वाक्य सुन्छु, 'भन्नुस् म बोल्दैछु' भन्छु। तैपनि 'हैन मलाई कैलाश राईसँगै कुरा गर्नुछ' भन्ने वाक्य सुन्न पाइरहन्छु। कैलाश भन्ने केटा मान्छेको विम्बलाई बोकेरै मसँग कुराकानी गर्ने सूरमा आएकाहरु मसँग भेटेपछि पनि 'कैलाश' कै खोजीमा हुन्छन्। केही व्यक्तिहरु भने शुरुमा अप्ठ्यारो मानेझैँ देखिन्छन् तर केही समयपछि आफूलाई लागेको कुरा भनीकनै छाड्छन्। अनि एकचोटि फेरी हाँस्ने खुराक जन्मिन्छ। ब्लगर मित्र दीपकजीले पनि हाँस्ने खुराक जन्माउनु भएको कुरा उहाँकै ब्लगमा पढ्न पाएँ मैले। धेरैले किन 'यस्तो कन्फ्यूजिङ' नाम राखेको भन्छन्। कसैले 'आधुनिक भाको हो' भनेर ब्यङ्ग्य पनि गर्छन्। कसैले नाम फेर्ने या उपनाम प्रयोग गर्ने सल्लाह दिन्छन्। केही केहीले मेरो नामलाई स्त्री लिंगी पारेर पनि बोलाउने गर्छन्। जे भएनि यो नामले कही न कही, कुनै न कुनै समय कन्फ्यूजन पैदा गरीरहेकै हुँदोरहेछ। थुप्रै चोटी यस्ता घटनाहरु भएका छन्। हुन त मलाई यी सबै साधारण लाग्छन्। सानैदेखि त्यही नामले अस्तित्वमा आएकोले होला- मेरो नाम केटा मान्छेको हो भन्ने मलाई लाग्दै लाग्दैन। कही कतै अलि बढी नै सनसनी पैदा गरेको बेलाबखतमा म अलिक सचेत भएझैँ हुन्छु। नत्र अरु बेला खासै यादै हुन्न। घरपरिवारमा त प्राय सबैलाई थाहा हुने हुनाले खासै कन्फ्यूजन पैदा भएन। घरबाहिर निस्कन थालेपछि चाही यो नामले मलाई घरीघरी पुरुष बनाइरहेकै हुन्छ। केही अग्रज दाईहरु हुनुहुन्छ जो मलाई आज पनि 'कैलाश भाई' नै भन्छन्।

शुरुमा म काम गर्न थालेको केहि दिन भएको बेला 'कैलाशलाई पाउँ न' भन्ने आवाज आयो फोनमा। फोन रिसिभ गर्नुहुने अग्रज दाई भन्दै हुनुहुन्थ्यो 'यो नामको मान्छे को छ र यहाँ? सायद तपाईले अन्तै गर्नुभयो कि?'। 'मेरो हो कि' उहाँको कुरा सुनेपछि मैले भने। 'तपाई?!' वहाँ एकछिन अलमलिनु भो। तर मैले फोनमा कुरा गरिसकेपछि उहाँले तुरुन्तै भन्नुभयो 'सरी है मैले त तपाई पनि हुनसक्नु हुन्छ भन्ने सोच्नै भ्याइन'। अर्को एउटा कुरा, ३ वर्ष अघि एउटा चिठ्ठी आएको थियो 'Mr. Kailash' भनि सम्बोधन गरेर। मेरा एक पुरुष सहकर्मी छन्- कोमल। त्यही ठाउँबाट 'Ms. Komal' भनी उसलाई पनि चिठ्ठी आएछ। हामीले सानो काम गरेवापतको कम्प्लिमेन्ट्री लेटर थियो त्यो। हाम्रो नामले पैदा भएको सो कन्फ्यूजनले हामीबीचमा खुब हाँसो छाएको थियो उसबेला।

६ वर्ष अघिको कुरो, नम्रता भन्ने कलेजको साथीले मलाई फोन गरेर जसरी नि घर आउनैपर्ने ढिपी गर्यो। मलाई सम्झना छ, महिना दिने जाडो बिदा भएकोले हाम्रो भेटघाट भएको थिएन। भेट भएपछि हामी एकअर्कासँग चाँडै नजिकिएका थियौँ। तर घर चिनेको थिएन, अलि अप्ठ्यारो पनि लाग्यो र म अक्मकाए। तर उ मानेन। 'आऽऽमा नि ! तैले गर्दा ह्याँ के के भो। अब भोलि आइज यहाँ अनि सबै कुरा थाहा पाउलास् नि' लौ के बिगार पो गरे की बा, भन्ने सोचेर म झसंग भए उसको कुराले।
भोलिपल्ट घर पुगे। म पुग्नासाथ सबैजना झुम्मिए मेरै वरिपरि। साथीको ३ जना बहिनीहरु र आमा मलाई हेर्दे मुसुमुसु हासीरा'थे। म त छक्क परे। आमाले चाहि भन्नुभो 'ए तिमी नै हौ कैलाश भन्ने नानी?'। म चाहि अलमलमा परेर आखिर कुरा के रहेछ भन्दै दिमाग दुखाउदै थिए।

एकछिनपछि खाजा खाँदै गर्दा पो कुराको पोको फुक्यो। "Hey Sweety, Im fit & fine, but Im missing u a lot. Love u so much dear. Yr love, Kailash". यही बेहोराको एउटा इमेल ठेलेथे साथीलाई। त्यही इमेल उसको बाबाले पढ्न पुगेछ। संयोग फेरी कस्तो भने, साथीको बिहेको लागि इङगेजमेन्टको मिति तय गरिएको दिन परेछ। त्यो इमेलको व्यहोरा र नामको समीकरणले साथीको ब्वाइफ्रेण्ड हुन पुगेछु म। केही बेर हंगामा मच्चिएछ। सबै छोरीहरुसँग सोधीखोजी भएछ। बाबा भनेपछि डराउँने त्यो साथी आफ्नो सफाईमा खरो नउत्रिएपछि म स-शरिर उपस्थिति हुनुपर्ने शर्त तय भएछ। त्यही अनुरुप म हाजिर हुन पुगेछु। केही समयसम्म उसको घर मेरो ससुराली झैँ भएथ्यो।

यसैगरी म अन्य केही साथीहरुको सेरोफेरोमा पनि मैले 'ब्याइफ्रेण्ड'को दर्जा पाएको छु। मेनका भन्ने मेरो मिल्ने साथी छ- यहीको बासिन्दा। म भन्दा उमेरले केही जेठो भए'नि कलेजको दिनहरुमा ऊ हरेक कुरा मेरो सहमति र निर्णयमा नै गर्ने गर्थ्यो। खै किन हो कुन्नी मलाई साथीको साथै अभिभावकझैँ ठान्थ्यो ऊ। पकेट खर्च सकिएमा, कलेजमा जाँच दिने फारम भर्नु परेमा पनि घरमा हैन मसँग कुरा गर्थ्यो। जुनसुकै कुरा पनि मसँग नसोधी गर्दैनथ्यो। संयोग के थियो भने फेरि, त्यत्तिबेला मेरो गेट अप पनि केटाकै जस्तो थियो। बोइज कट हेयर स्टाइल, सर्ट अनि जिन्स र एउटा इस्टकोट। साथमा एक काँधे झोला। उसको घरमा जाँदाखेरी मलाई ज्वाई पो आएछ भनेर जिस्काउँथे आमा र दाईले । गफ गफैमा साथीले भनेको थियो 'म कैलाशको पार्वती हुँ नि त' । त्यहाँदेखि मेरो र मेनकाको कुरा चल्यो कि पार्वती नै भन्छन् घरमा उसलाई। म घरी घरी फोन गर्छु 'ए पार्वती कैलाशको फोन आको छ' भन्दै मेनकालाई बोलाउँछन्। हाम्रो सम्बन्ध आज पनि उस्तै छ- उत्तिकै रोचक अनि रमाइलो। फोनमा कुराकानी गर्दा मेनका मलाई भन्ने गर्छ 'ससुराली नआको धेरै भो, आउने हैन?' । हामीबीचको सम्बन्ध सँधै राम्रै रहीरहन्छ नै। तर मेरो नामको बहानामा हामीबीचको सम्बन्धमा थप एउटा रोचकता या रमाइलोपन थपियो। धेरै लामो के लेख्नु एकैचोटी। 'कैलाश' नाम र म बीचको संयोजनले कम्तीमा हप्ताको एउटा न एउटा गफ त जन्माइरहेकै हुन्छ साथीभाई माझ। यसबारेको अरु प्रसंगहरु थप्दै जानेछु- बिस्तारै बिस्तारै।

महिनादिन अघि जतिको कुरा "कैलाश ! अहो मैले दोस्रो 'पुरुष महिला' भेटे आज", एउटा छलफल कार्यक्रममा वक्ताको रुपमा आउनुभएको उत्तम नेपालीले मेरो नाम थाहा पाएपछि भन्नुभएको थियो। त्यसो त थुप्रै यस्ता नाम हुन्छन्। जो केटा या केटी दुबैकोमा प्रयोग हुन्छ र सामान्य पनि मानिन्छ। यो कैलाश भन्ने शब्द/नाम हाम्रो समाज र मानसिकताले जन्माएको कन्फ्यूजन हो या साँच्चिकै 'पुरुष नाम' नै हो?

Friday, October 17, 2008

राष्ट्रिय नाचघर उद्‌घाटन समारोहका केही दृश्य

दशैको एताउति लन्ठा, रमाइलो खै के के पो भन्नु हौ,को कारणले कुटीमा दीपक जलाउनै सकिन। असोज १८ गते राष्ट्रिय नाचघरको उद्‌घाटन समारोहको केही झलक लिएर म बाँचेकै छु भन्ने पार्नलाई कुटीलाई लटरपटर गरेर लिपपोत गर्दैछु अहिलेलाई।
राष्ट्रिय नाचघरको सामुन्ने टाँगिएको विज्ञापन।

कार्यक्रम शुरु गर्नु अघिको चहलपहल।

अध्यक्ष प्रचण्डद्वारा कार्यक्रममा स्वागत मन्तव्य दिँदै।

बरिष्ठ कलाकार हरिहर शर्माको योगदानको कदर गर्दै अध्यक्ष प्रचण्ड र झलनाथ खनाल।

कलाकारहरु गीत गाउँदै।



तस्बीरः कुटीको साथी 'चिरन मानन्धर'

Sunday, October 05, 2008

आँखै अगाडी विलाएको दशैँ...

'आमा, आज दशैँ है?' निर्दोष र मायालु भावमा बोल्छे झुमाकी ४ वर्षे छोरी।
'हो छोरी आज दशैँ हो' मनमा केही गुने झैँ गरी जवाफ दिन्छे झुमा।
'त्यसोभा आज हामी चिचि खाने हगि?'
'हो, आज हामी चिचि खाने । बाबाले ल्याउँदै हुनुहुन्छ। एक्कैछिनमा है'छोरीहरुलाई थम्थमाउँदैछे झुमा। तर उस्को मन पनि कम हतारिएको कहाँ छ र?

दशैँ भित्र्याउँने सूर कसेर झिसमिसेमा ओछ्यानबाट उठेर हिडेको लोग्नेको प्रतिक्षामा छे झुमा। अरु बेला पकाइतुल्याई गर्दा र अलि परको सार्वजनिक इनारबाट पानी ओसार्दैमा थाहै नपाई मध्यदिन हुन्थ्यो। तर आज त्यही विहान उदेक लाग्नेगरी लाम्बिएको लम्बिएकै छ।

बाग्मतिको किनारमा एउटा छाप्रो छ झूमाको। जहाँ ४ जनाको जहान बस्छन्। झुमा, उसकी दुईटी बालख छोरीहरु अनि उस्को लोग्ने बुँदे। पोहोरको दशैसम्म गाउँमा थिए उनीहरु। गाउँको पुछार ऐलानी जग्गामा एउटा घर थियो। त्यसबाहेक आफ्नो दुईटी छोरीहरु नै उनीहरुको जायजेथा हो। दाउँरा बोकेर बेच्थे, मेलापात र बनीबूतो गरेर जीविका धान्थे। २ दिन लगातार परेको वर्षे झरीले उनीहरुको बासलाई भीरतिर सोहोर्यो। झुमा र बुँदेको मुन्टो लुकाउने बास मात्रै लगेन त्यो झरीले । उनीहरुको साहस र पौरखलाई पनि गलायो, चकनाचुर पारीदियो। त्यसपछि राम्रो जीवन जिउँने आशमा गाउँबाट शहरतिर बाटो लागे। भौतारिदा भौतारिदा काठमाडौं छिरे। त्यसपछि शुरु भयो शहरसँगको भलाकुसारी। बुँदेले घरघरबाट फोहोर मैला बटुल्ने काम पायो।

सबैतिर दशैँको रमझम, खानपिन र हल्लाखल्ला भएको ५ दिन भयो। वरपर आकर्षक र तलैतलाको अग्ला अग्ला घरहरु, ती घरलाई सुरक्षा दिने पर्खाल तथा तारहरु छन्। ती पर्खाल र तारहरुले त्यहाँभित्रको रमझम र हल्लाखल्ला छेक्न नसकेकोमा झुमालाई औडाहा लाग्छ। आफ्नो गरिबी र लाचारपनासँग अत्ति नै रीस उठ्छ। दशैको नाममा एक छाक मिठो मसिनो पकाएर आफ्नो सन्तानलाई खुवाउन धौ धौ हुनुको पीडा आँखामा छल्काउँछे। पीडाले छल्किएको आँसु फरियाको फेरोले पुछ्दै छोरीतिर हेर्दै आफैसँग प्रश्न गर्छे झुमा- गाउँको दशैँ र शहरको दशैँ अलग्गै किन भाको होला? गाउँमा त सबैको दशैँ एकैचीटि आउँथ्यो, एकैचोटि जान्थ्यो। यहाँ ठूल्ठूला घर अनि थरीथरीका चीजबीजहरु छन्। तर आफ्नो घरमा केही छैन किन होला यस्तो? झुमाको मनमा यस्ता अनेक प्रश्नबाहेक अरु कुरा सल्बलाएकै छैन यसबेला।

'अब हामी चिचि खाने हि बुनु' दिदीबहिनी रमाउँदै खेल्दै गरेको दृश्यले झुमा झस्किन्छे। लोग्नेले मासु ल्याइपुर्याउँला र पकाएर छोरीहरुलाई दिइहालुँ भन्ने हतारमा स्टोभ तयार पार्छे। कराई ठिक पार्छे। पोकापाकी सबै फुकाउँदै मरमसला भेला पार्छे।

बुँदे हरेक दिनझैँ एकाविहानै उठेर घरघरबाट निस्किने फोहोर-मैला बटुल्ने काम सकेर मासु पसलमा जान्छ। १ किलो खसीको मासुको पैसा तिरेर हातमा झोला झुण्ड्याउँछ। खल्तीमा हेर्छ जम्मा दश रुपैयाँ बाँकी छ। भएनि मनमनै- 'आज त जहान परिवार मिलेर खाइने भो, आखिरी दशैँ पो त' भन्ने सोचले खुशी हुन्छ। छेवैको नाङ्लो पसलमा गएर चुरोट किन्छ र धुवाँ उडाउँदै वरपरको चलहपहल नियाल्दै घरतिर लाग्छ। हिड्दाहिड्दै हातमा बोकेको दशैको पोकोमा छोरीहरुको खुशी देख्छ बुँदे। आफ्नी प्यारी झुमाको फुर्तिलोपनसहितको हसिलो मुहार देख्छ ऊ। त्यो हातमा झुण्डिएको पोकोमा धेरै खुशी गुट्मुटिएर रहेको छ। झुमालाई पोको हात लाएपछि पोकोमा गुट्मुटिएको खुशी सबैको मुहारमा छल्किनेछ भन्ने मीठो कल्पनासँगै बुँदै लम्कीरहेको छ। मनमा अनेको तरंग र उमंग पैदा गर्दै खुशीलाई भित्र्याउँने हतारमा छिटो छिटो पाइला चाल्दै छ बुँदे।

एक्कासी कुकुरले झम्टिन्छ- न कुनै भुकाई न कुनै संकेत। हुन त पहिला पहिला पनि फोहोर मैला बटुल्ने क्रममा कुकुरहरुको आँखाको तारो बन्नु पर्थ्यो बुँदेले। अरुको घरघरमा जानुपर्ने हुनाले पनि त्यत्ति बेलाको अवस्थासँग बुँदे सधै सचेत हुन्थ्यो। तर बुँदेको लागि आज बेग्लै परिवेश र उमंगको बेला छ। दशैँको पोकापाकी बोकेका अन्य बटुवाहरुको माझमा बुँदे नै किन कुकुरको नजरमा पर्यो? आखिर किन?

अचानक भएको त्यो आक्रमणले बुँदे झँस्किएर अक्क न बक्क हुन्छ। सोच्दै नसोचेको कुरा हुँदा एकछिनलाई दिमाग खाली हुन्छ। शरीर चिसो हुन्छ। हातमा बोकेको झोला भुईमा झर्छ- फ्यात्त। उसको आँखा खुल्लै छन् अनि त्यो आँखाले हेरीरहेछ- त्यही कुकुरलाई, अनि उसको चर्तीकलालाई। तर खुला आँखाले हेरीरहेको कुरा दिमागले पढ्न भ्याएकै छैन। हातमा झुण्डिएको झोला खसेको आवाजले कुकुरको ध्यान खिच्छ। बुँदेलाई भुक्न र झम्टिन छाड्छ। भुईमा झरेको पोका खोतलखातल पारेर टपाटप खान थाल्छ। अरु कुकुरहरु पनि जम्मा हुँदै हारालुछ गर्दै मासुको चोक्टा खान थाल्छन्।

बटुवाहरु यसो हेर्छन् अनि बाटो लाग्छन्। कसैले ध्यान दिँदैनन्। हेर्दाहेर्दै प्लाष्टिकको झोलामा पोका परेको दशैँ सकिन्छ। झोला झ्यान्द्रो झ्यान्द्रो पारेर कुकुरहरु ङ्यार्रर ङुर्रर गर्न थाल्छन्। काक्राको थाक्रो झैँ बुँदे ठाउँको ठाउँ उभ्या उभ्यै छ अझैपनि। बिस्तारै कुकुरहरु त्यहाँबाट हराउँछन्।

सबै खुशी चकनाचूर भएर बिलायो पलभरमै। बुँदे बडो असमञ्जस्यमा पर्छ। के गरुँ कसो गरुँ? कसलाई गाली गरुँ? कसलाई गुहारु? पाइला चालु कि नचालुँ? नचाल्नुको उपाय नै के छ र? चालु भने कुन दिशामा? खल्तीमा ७ रुपैयाँ छ दाम। खाली हात घर जाउँ भने कुन मुखले जाउँ? हातभरी पारुँ भने के उपाय छ र यो विरानो शहरमा? बुँदेको वरपरको सबै चीजबीच घुम्छ। अनि आँखा चिम्लिन्छ। दुईटी छोरी र छोरीकी आमा आफ्नो बाटो हेरेर दशैँलाई स्वागत गर्न आतुर भएको देख्छ। त्यसबेला आफ्नो भन्दा ती कुकुरहरुकै जीवन जाती रहेछ भन्ने लाग्छ। आफैलाई धिक्कार्छ।

सडक छेउमा टुसुक्क बस्छ। जिन्दगीको सबैभन्दा नमिठो र संसारकै लाचारी र निम्छरो बाबु र लोग्ने भएको अनुभव गर्छ। सुनिदिने कोही नहुँदा आफ्नै मनसँग वार्तालाप गर्न थाल्छ- 'दशैँको दिनमा सागमा आफ्नै छाया देखिनेगरी झोल हालेर जहान परिवारलाई दिनु? अहोऽऽऽ कत्ति नमि...ठो। अनि जहान छोरीहरुले मानुन् पनि किन? के उनीहरुको देह हैन र? बाहिरी आँखाले देख्ने दशैँ मनले भोग्न नसक्ने भो। एक पाइलाको दुरीमा उभिएको दशैँ फुत्काउँने म हुतिहारा, कर्महारा। अझ म भन्दा अभागी ती मेरी सानी सानी छोरीहरु। जसको मुखमा एक छाक मिठो मसिनो खाना जुटाउँन नसक्ने म निम्छरो। के के न पाइन्छ भनेर शहर आइयो। ईऽऽऽ खाइस्! आँखा अगाडी खानेकुराको चाङ हेरेर भोकोपेट बस्नुपर्ने। थुइक्क जीवन। यस्तो हालतमा म रुन पनि सक्दिन'। लामो सास फेर्छ।

'साला काठमाडौँ, साला यहाँको दशैँ, साला म, साला कुकुरहरु, साला...' रीसले झोक्किँदै जुरुक्क उठ्छ। मुखभरी आको गाली फलाक्न सम्म फलाक्छ। तर उस्को यो अवस्थाप्रति न कसैको चासो छ। न कसैलाई चिन्ता।

Wednesday, October 01, 2008

शनिबारे बिश्राममा गन्धर्व लाइभ म्युजिक

"राम्रो फूल त फुल्नै नहुने
जति बैगुन भएनि मायाको
एउटै गुण छ भुल्नै नहुने"

"रेशम फिरिर रेशम फिरिर
उडेर जाउ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरि"

"उकालीमा पनि हजुर मोटर जाँदो रैछ
ड्राइभर दाईलाई स-सलाम माया सरर जाउँ हिड रेलैमा"
(लाइभ म्युजिकसँगै लाइभ डान्स- नाचिरहेका दर्शकहरु)

२७ सेप्टेम्बर शनिबारको दिन, सारंगी, मादल, बासुरीसँगै माथि लेखिएको गीतलगायत अन्य गीतहरु गाएपछि पलेटी कसेर बसीरहेका दर्शकहरु जुरुक्क उठेर कम्मर मर्काउँन थाले। साईँ-साईँ र सुईँ-सुईँको सिटीसँगै तालीको आवाजले त्यहाँको माहौल निकै रन्कियो। हौसिदै ठट्टा र हाँसी मजाकको शब्दहरु उन्दै दर्शकलाई झनै उचाल्न सघाउँदै थिए- समुन्द्र ब्याण्डका कलाकारहरु। दशैँ तिहारको शुभकामनासहित Live Music by The Gandharbas को बहानामा जमघटको आयोजना गरेको थियो- Leo Club of KTM Ringroad र Nepal Srilanka Youth Forum ले। (बायाबाट क्रमशः रामकृष्ण गन्धर्व, अनिल गन्धर्व, अर्जुन गन्धर्व र शम्शेर गन्धर्व)

म‌ंगल धूनसँगै शुरु भएको सो कार्यक्रममा रामायण गीत, गन्धर्वहरुको पहिचान बोकेको ठेट गीत, विभिन्न लोक तथा आधुनिक गीत तथा धूनहरुहरुमा दर्शकहरु रमाइरहेका थिए। शुरुमै मंगल धूनले दशैँ नजिएको आभाष हुन्थ्यो। रामायण गीतमा सीतालाई लंका पुर्याइएयो भने रानी मन्दोदरी गीतमा सीतालाई रावणको कैदबाट मुक्त गरियो। 'राधा पियारीको बाला दिनदिन जोवन त्यसै ढल्कीगयो' (गन्धर्व जातीहरुको विवाहमा गाइने विशेष गीत), 'रामायण गीत' र 'रानी मन्दोदरा सपनीको विपनी भयो' (गाउँघरमा घुम्दा-डुल्दा गाइने गीत),'काँचो स्याउ दान‌ा दिनपनि सानु रातपनि तिम्रै सम्झना' (गन्धर्वहरुको लोकगीत)लगायतका गीतहरुमा गन्धर्वहरुको पहिचान झल्किन्छ। गाउँघरमा गन्धर्वका गीत, कला र सृजना सुन्नेहरुका लागि पुराना दिनहरु ताजा भए। पुरानै गीत-संगीत र धून भएनि लगभग साढे २ घण्टाको समय अवधिभर सबैजना रमाइरहेका देखिन्थे। गन्धर्वका गीत-संगीत नसुनेकाहरुका लागि भने नयाँ स्वाद नै भयो सायद। (गन्धर्वका लाइभ म्युजिकमा मग्न दर्शकहरु)

तनहुँका ५ जना गन्धर्वहरुको समूहः अनिल गन्धर्व, रामकृष्ण गन्धर्व, अर्जुन गन्धर्व, शम्शेर गन्धर्व र बुद्ध गन्धर्व, जो आफ्नो पुर्ख्यौली पेशालाई कुनै न कुनै हिसाबले जोगाईराख्न संघर्षरत छन्। त्यसै क्रममा उनीहरुले 'समुन्द्र ब्याण्ड' निर्माण गरे। त्यही ब्याण्डमार्फत उनीहरुले आफ्नो कला, गला र पेशालाई जीवन प्रदान गर्दै आइरहेका छन्। समुन्द्र ब्याण्डकै नाममा एउटा म्युजिक एल्बम पनि निकालिसकेको यो समूहले यस्ता थुप्रै कार्यक्रम गरिसकेको छ।

लोप हुँदै गइरहेको गन्धर्वहरुको पहिचान बोकेको परम्परागत पेशालाई बचाउँदै आधुनिकतासँगै कसरी अगाडी लैजाने भन्ने ठूलो चुनौती बनेको छ आज। यसबारेमा स्वय‌ं गन्धर्वहरु पनि सचेत बन्नैपर्ने हुन्छ र केही हदसम्म सीमित समूह नै सही तर सचेत बन्दै गइरहेका पनि छन्। आफूलाई चिनाउँनु मात्रै हैन अरुलाई चिन्नु र अरुको कुरा बुझ्नु पनि उत्तिकै महत्वपूर्ण छ भन्नेतर्फ पनि कलाकारहरुको ध्यान खिचिएको थियो कार्यक्रममा। विविध खालका गीत-संगीतहरु प्रस्तुत गर्नुका साथै बेला बेलामा 'गीत कस्तो लाग्यो/धून कस्तो लाग्यो यहाँहरुलाई?' र गन्धर्वको पहिचान बोकेको गीत या धुन प्रस्तुत गर्दाखेरी आवश्यक जानकारी दिँदै दर्शकहरुसँग प्रतिक्रिया पनि लिँदै थिए उनीहरु। कार्यक्रम सकिएपछि समुन्द्र ब्याण्डका कलाकारहरुलाई भेटेर धन्यवाद र प्रशंसासहितको अभिव्यक्ति दिने दर्शकहरु थुप्रै देखिन्थे।