नाचीमा जाउँ है पेलेले
सोइ सोइला हो हुर्रर्र हा हा
सोइ ढोले सोइ अर्को ढोले खोई..."
२०६६ सालको किरातीहरुको विशेष चाड 'उभौली साकेला' शुरु भएको छ। उक्त अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना। सहकाल रहोस्। शुभ समय रहोस्।
बुद्ध जयन्तीलाई साकेला उत्पत्ति भएको दिनको रुपमा लिइन्छ किराती संस्कृतिमा। 'साकेला' किरातीहरुको एउटा महत्वपूर्ण संस्कृति तथा चाड हो। साकेलामा भूमि पुजिन्छ। प्रकृति पुजिन्छ। आफ्नो पूर्खाहरुसँग बल मागिन्छ। 'माङ' (देउता पुज्नु)गरिन्छ। हरेक वर्षको दुईपल्ट मंसीर पूर्णे र वैशाख पुर्णेमा किरातीहरुको महान चाड 'साकेला' मनाइन्छ। बैशाख पुर्णेलाई उभौली साकेलाको रुपमा र मंसीर पूर्णेलाई उधौली साकेलाको रुपमा मान्ने गरिन्छ। यी दुबै याममा एउटा याम बालीनाली उमार्ने र अर्को याममा बालीनाली थन्क्याउँने गरिन्छ। अहिले बालीनाली लगाउने याम हुनाले अन्नबाली राम्रोसँग उब्जनी होस्। सहकाल होस्। प्राकृतिक तथा दैबी प्रकोप नहोस्। अनिकाल नहोस्। सबैको सुब्बेफाब्बे होस् भन्दै भूमि पुज्ने गरिन्छ उभौली साकेलामा।
अन्नबाली उब्जनी भयो, सहकाल रह्यो भनेर मंसीरे पूर्णेमा उधौली साकेला पूज्ने गरिन्छ। जसमा सुम्निमा र पारुहाङ (किराती सृस्टिकर्ता)सँग अनि आफ्नै पितापूर्खासँग बल मागिन्छ। उनीहरुप्रति आभार प्रकट गरिन्छ। यसरी पुज्नुलाई 'माङ' गर्नु भनिन्छ। माङ गर्ने विशेष व्यक्ति हुन्छ। जसलाई नाक्छोङ/धामी भनिन्छ। माङ गरिसकेपछि ढोल र झ्याम्टा बजाउँदै साकेला नाच शुरु गरिन्छ। गाउँघरमा हरेकको घरघरमा जम्मा भएर पालैपालो नाच्ने र 'सह' बोलाउने हुनाले साकेला नाच हप्तादिनदेखि महिना दिनसम्म पनि नाचिन्छ। रमाइलोसँगै खानपिन गरिन्छ। साकेलासम्बन्धमा थुप्रै ऐतिहासिक तथा पौराणिक किंवदन्ती/मिथकहरु रहेका छन्। ती मिथकहरुमा साकेला उत्पत्तिबारे, सिली उत्पत्तिबारे रोचक र महत्वपूर्ण कुराहरु रहेका छन्। आजको दिनदेखि १५ या महिनादिनसम्म उभौली साकेला पूज्दै ढोल र झ्याम्टाको तालमा साकेला नाच्ने गर्छन् किराती राई, याक्खा, सुनुवार जातीहरु। उपत्यकामा किरात राईहरुको छाता संगठन 'किरात राई यायोक्खा'को अगुवाईमा ललितपुरको सानो हात्तिबनमा माङ गरिन्छ। त्यसपश्चात नाच्न शुरु गरिन्छ। आ-आफ्नै परम्परागत भेषभूषा, गरगहनामा सजिएर बालक-युवा-बृद्ध सबैजना एकैनासले गोलबद्ध भइकन साकेला नाच्ने गर्छन्। साकेलामा गाईने गीतहरुले पनि आफ्नै खालको विशेषता बोकेको हुन्छ। हुन त गीत हुनैपर्ने या गीत नभइकन साकेला ननाचिने भने हैन। ढोल झ्याम्टाको तालमा मजाले नाचिन्छ। आजकाल त पप, हिपहप शैलीसँगै पनि नाचिएको देख्न पाइन्छ। साथै गाउँ-शहरदेखि राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा साकेला पर्व मनाइन्छ। खासगरी जहाँ जहाँ किरातीहरु बनीबूतो/कामकाजको शिलशिलामा पुगेका छन्। अस्थायी रुपमा बसोबास गर्दै गुजारा गरिरहेका छन्। त्यही त्यही साकेला पर्व धुमधामसँग मनाउने गरिन्छ।
खासगरी नेपालको पूर्वी भेगमा बसोबास गर्ने किरातीहरुको बसाईसराई र कामकाजको शिलशिलामा आफ्नो पूर्ख्योली थलोबाट यताउता गर्ने क्रममा साकेला संस्कृतिलाई पनि सँगै लिएर हिडेको देखिन्छ। हाल म खाल्डोमा बस्ने हुनाले यहीको प्रसंग कोट्याउँछु। वि.सं. २०३८ सालदेखि काठमाडौमा साकेला संस्कृतिको थालनी भएको मानिन्छ। त्यसबेला सीमित व्यक्तिहरुको प्रयास र थालनीको नतिजास्वरुप आज उपत्यकाका विभिन्न स्थानहरुमा जोश जाँगरका साथ साकेला नाच्ने गरिन्छ। जस्तैः नख्खीपोट, जावलाखेल, रत्नपार्क/टुडीखेल, बानेश्वर, शंकपार्क (चक्रपथ), कीर्तिपुर। उपत्यकामा छरिएर रहेका किरातीहरु साकेला पर्वको अवसरमा अझ भनौ न साकेला नाच्नकै लागि एकै थलोमा भेला हुन्छन्। सद्भाव बाँड्छन्। नाचगान गर्छन्। साकेला शुरु हुने दिनमा ललितपुरको नख्खीपोटमा भेला भएर नाचिन्छ (आजको दिन त्यहि नचिन्छ)। त्यहाँ पुग्दा स्पष्टै देख्न सकिन्छ- साकेला नाच्ने जमातलाई त्यो स्थान साँघुरो छ। एक वाक्यमा, साकेला पर्व किरातीहरुको लागि उनीहरुभित्र रहेको जातीय तथा भाषिक विविधतालाई एकै मियोमा उन्ने महत्वपूर्ण साँस्कृतिक पहिचान हो।



