Monday, January 20, 2014

मेरी युच्छुबुङ


मिरिन यतिखेर पातलो जंगलको बीचमा दिदीको चिहान नेर घुँडा टेकेर बसेकी छे । शिर झुकाएर मौन मुद्रामा बसेकी हुँदा झलक्क हेर्दा शान्त देखिन्छे । 

मिरिन !

अनकण्टार चिहानघारीमा आफूलाई बोलाउने को होला ? मिरिनले आँखा उघारेर हेर्छे । परिचित लाग्ने अनुहार टकटकी बाँधेर हेरिरहन्छे । उसको मनमा केही दिनअघि अस्पतालका दृश्यहरू काँचको पर्दामा जस्तै सल्बलाउँछन् । अस्पतालको शैयामा परिचित कोही नहुने । बिरामी कुरुवाबीचको अनौठो सम्बन्ध । उकुसमुकुस र मर्मभित्र लुकेको तरङ्गको बेग्लै लहर । दुःख र पीडाको समानुभूतिमा बनेको भित्री मनको नाता । उमेरले आमा सरहकी । ती महिला यहाँ कसरी आइपुगिन् होला, मिरिनलाई अन्दाज गर्न बेर लाग्दैन । शायद उनकी छोरी...। अस्पतालमा वल्लोपल्लो शैयामा रहेका दुवै मदौरु असमयमै चोला त्यागे, यहाँ चिहानघारीमा पनि आमनेसामने छिमेकीे ! मिरिन बोलिन । यथार्थ अनुभूतिमा उत्रेपछि बोल्नलाई केही बाँकी रहँदैन, सायद । 

मिरिनको मुहारमा अनौठो उदासी पोतिएको हुन्थ्यो । हर्दम । यद्यपि मैले मिरिनको मनमा कुनै कुराको चिन्ता वा फ्रिक्रीको गन्ध पाइनँ । त्यो अप्रतीम उदासी के कुराको छाप होला, मेरो कौतुहल कायमै थियो । एक दिन अरुण नदीको उत्तरपश्चिम डाँडैडाँडा हुँदै हामी भोजपुरको च्यानडाँडा पुगेका थियौँ । 

जङ्गलमा पंक्षी, वन्यजन्तु र कीटपतङ्गको आवाज मिसिँदा गजबको रिमिक्स बजिरहेको जस्तो सुनिन्थ्यो । सङ्गीत सर्वोत्तम खुराक । नोइज भने मलाई ग्रेटेस्ट पोलुसन भन्ने लाग्छ, सहनै नसक्ने । उसलाई भने सबैथोक सहज । कुनै कुरामा सिकायत छैन । नियतिलाई आत्मसात गर्ने बानी नै परिसकेको थियो उसलाई ।

सानैदेखि चोट खेप्दै आइरहेकी मिरिन, उसको चिचिला मस्तिष्कले थुप्रै घटनादुर्घटना व्यहोरिसकेको, पन्छाइसकेको छ । सानै छँदा आमा बितिन् । सौतेनी आमा आइन् । तुच्छ व्यवहार खेप्नुप¥यो । केही वर्षपछि बाबु पनि बिते । एउटा दिदी रहिन् सम्पूर्ण परिवार । एक दिन अचानक, अस्पतालको शैयामा हेर्दाहेर्दै दिदीले आँखा चिम्लेपछि उसको लागि संसारमा आफ्नो भन्नु कोही रहेन । बिल्कुलै एक्ली । साढे छ अरब मानिसको दुनियामा एक्लै ! त्यतिखेर भने मिरिन अत्तालिई । आफ्नै अस्तित्वको यथार्थबोधले उसलाई पीडा हुन थाल्यो । अभर र सारोगाह्रोमा टेकोको खोजीमा मन यताउति पुग्थ्यो । तैपनि मन थाम्ने टेको कतै भेट्दैनथी । सौतेनी आमाबाट छुट्कारा पाउन घर छोडी । ६० रुपैयाँ नहुँदा झण्डै स्कूल छुटेको । कहिले खेतालो गई, कहिले कारखानामा काम गरी । कालक्रममा पीडाको मात्रा त्यो चरम विन्दुसम्म पुगेछ, ऊ एकाएक मस्तिष्कको कठघराबाट उन्मुक्त भई । आशा र निराशामा भासिँदैनिस्कँदै गर्दा आफैँमा सम्हालिने बानी बस्यो । संसार दुखैदुख छ भन्ने गहन स्मरणले बोधिचित्त उत्पन्न भएको जस्तो । 

ऊ बोलेर नथाक्ने । म सेलेक्टिभ लिसनर । उसलाई प्वाक्क रोक्छु र सोध्छु, तिमी दिदीबहिनी मिल्थ्यौ हामी दिदीबहिनीको स्वभाव विपरीत थियो । दिदी अन्तरमुखी स्वभावकी थिइन्, म बहिरमुखी । तथापि सम्बन्ध आदिम कालका किराती दिदीबहिनी तयामाखियामाको जस्तो थियो ।

लौ, मिथ त मलाई औधी मन पर्छ, सुनाऊ ।’ 

प्राचीन कालमा तयामा र खियामा तिनका आमा बाबुको मृत्युपछि छुट्टिएर बस्न बाध्य भए । छुट्टिने बेलामा दुवैजनाले एकएक वटा फूल रोपे । आफूले रोपेको फूल बेला बेलामा हेरचाह गर्न आउने र त्यही फूलको अवस्थाबाट एकअर्काको सन्चो बिसन्चो थाहा पाउने सल्लाह गरे । छुट्टिनैपर्ने बाध्यतामा दिदीबहिनीका आँसु झरे । तयामाको आँसुबाट रावाखोला र खियामाको आँसुबाट ताप्खोला बन्यो । त्यसपश्चात दुवैले आआफ्नै दुनियामा, आफ्नै ढंगले जीवन बिताइरहे । अकस्मात खियामाको मृत्यु भयो । तयामा फूल रोपेको ठाउँमा पुग्दा खियामाले रोपेको फूल ओइलाएको देखेपछि विचलित हुँदै खियामाको खोजी गरिन् । खियामाका हड्डीकुड्डी भेला पारेर जडिबुटीको झोलमा डुबाइराखिन् र मुन्धुम गाउँदै तान बुन्न थालिन् । तानमा बहिनी खियामाको अनुहारको आकृति बनाउँदै गइन् । सग्लो आकृति तयार हुनासाथ खियामा पुनर्जीवित भइन् । यसरी उनीहरूको पुनर्मिलन भयो ।  

दोहोर्याएर अपनत्वको न्यानो अनुभूति गरेपछि दुवै फेरि आआफ्नै दुनियाँमा फर्कनुुपर्नेहुन्छ । तयामा चरी बनेर हिमालमा पुगी युच्छुबुङ फूल भई फुलिन् । खियामा पनि चरी भइ मधेसतिर उडिन्, र गोबाबुङ भई फुलिन् । यद्यपि वर्षेनि दिदीबहिनीको पुनर्मिलन हुन्थ्यो । असोजको झरीसँगै युच्छुबुङ् फूलका पराग कणहरू बग्दै मधेसमा भएकी आफ्नी बहिनी गोबाबुङलाई भेट्न जान्छन् । दिदीबहिनीको मिलन हुँदा पुनः एक पटक उनीहरू एकअर्कासँग आत्मीयता र सुखदुःख साटासाट गर्दै आँसु बगाउँछन् । तिनीहरूको रोदनबाट झरी पर्छ । रावाखोला र ताप्खोलामा ठूलो भल बग्दा तिनै दिदीबहिनीको मिलन र बिछोडको सम्झना गरिन्छ ।’ 

मिथ सुनाइसकेर मिरिनले थपी, ‘हामी दिदीबहिनीको भावनात्मका सम्बन्ध त्यस्तै थियो, फरक यत्ति हो, मैले दिदीलाई ब्युँताउन सक्दिन ।

हाम्रोे जीवनमा पनि सँगै बस्ने मौका जुरेन । न त एकअर्काको मनभित्रको कुरा साट्ने बहाना नै खोज्यौँ हामीहरूले । दुवैलाई गहिरो अनुभूति थियो, आधुनिक जीवन र दिनचर्याको धङ्धङीमा संयोगको साइत क्षणिक र वियोग नै जीवनमा शाश्वत रहन्छ । तथापि आपसमा अटुट भरोसा थियो । अनभिज्ञ नै सही, आपसमा विश्वस्त थियौँ हामी दुवै । ढुङ्गाको भर माटोलाई, माटोको भर ढुङ्गालाई भनेजस्तो । यद्यपि आसक्ति थिएन । भिन्नाभिन्नै स्थानमा फुलेका फूलजस्तै निर्लिप्त र अनासक्त थियौँ हामी दुवै ।

उसका कुराले मलाई शिरीषको फूल सम्झना आयो । मनमनै सोचेँ, मिरिनका दिदीबहिनीमा किलर इन्सटिङ्क्ट वा डेथ इन्सटिङ्क्ट कुन चाहिँ होला ! फूल कस्तो राम्रो भने, जहाँ पनि ढकमक्क फुलिरहने । सौन्दर्य तारीफ गर्ने कवि हृदय नजिकमा भए पनि गमक्क नहुने, नभए पनि सुर्ता नगर्ने । शिरमा सिउरिइँदा या ओइलाएर माटोमा बिलीन हुँदा, कुनै आसक्ति वा बेचैनी अनुभूति नगर्ने । सदा निर्लिप्त, सुन्दर र शान्त । समय आउँदा निर्धक्क फक्रने । आफ्नो सौन्दर्य र मादकतामा सारा जगत् नै आसक्त होस्, तर स्वयं हरदम निस्पृह रहने । सायद मिरिनका दिदीबहिनी प्रकृतिको उत्कृष्ट सृजना त्यही फूलका दुई थुङ्गासदृश थिए, जसले अन्य सबैको तनमनमा आसक्ति जगाइदिन्छन् । तर आफूमा त्यो कहिल्यै लागू गर्दैनन् । फूलमा निस्छलता हुन्छ वा इन्सटिङ्क, म जान्दिन । सायद मिरिन जान्दछे कि । 

म आफैँभित्र हराइरहँदा ऊ पनि कतै छेलिइसकेकी रहिछ । टोलाइरहेका उसका आँखामा सायद दिदीकै यादहरू तरङ्गित भइरहेका थिए । मैले उसका आँखाअगाडि हातको पर्दा हाल्दैखसाल्दै गरेपछि ऊ मनको लोकबाट इहलोकमा आई । र भन्न थालीः
दिदीलाई पाँच वर्षअघि स्तन क्यान्सर भएको थियोे । मेरो सपना बिग्रिएपछि दिदीको हालखबरबारे खोजतलाश गरेँ । क्यान्सरले खाइमार्नै आटेको दिदीको शरिर आधुनिक औषधिउपचारको आडमा जोगियो । शरीरमा क्यान्सर फैलिन नदिन एकपट्टिको स्तन काटेर फालेको रे, ह्वाँ कुवेतमै । नेपालमै भए मेरी दिदी त्यत्ति नै खेर मर्थिन् रे । उपचार गरेर पूरै निको भयो भनेर दिदी र म दुवै ढुक्क थियौँ । केही समयपछि दिदी फेरि लेबनान गईन् । क्यान्सर फेरि बल्झेर उपचार नहुने भएपछि लेबनानले दिदीलाई नेपाल फर्काइदियो । शरीरमा बलबूता छँदासम्म श्रमको शोषण गरियो र रोगले जीर्ण भएपछि औषधीमूलो गर्नुको साटो पोकापन्तुरा बोकाएर फर्काइयो ।’ 

मेरी दिदीको मात्र के कुरा । अस्पतालमा छोरी गुमाएकी ती महिलाको यता छोरी मरिन् । उता कमाउन मलेसिया गाको ज्वाइँको पनि लास आइपुगेछ, बाकसमा । न छोरी मर्दा ज्वाइँले थाहा पाए, न त ज्वाइँ मर्दा छोरीले नै । दुवैको सदगत गरिछन् । बूढी भन्दै थिइन्, ‘जे हुनु भइगो, बिचल्ली देख्दा मनै थामिँदैन । टुहुरा भए नातिनीहरू ।’ 

हठात्, मेरो मस्तिष्कमा त्यो कहिल्यै नदेखेको ज्वाइँको तस्वीर आउँछ, । सोच्छु, सबै मान्छेका जस्तै लाउँलाखाउँला भन्ने कति रहर थिए होलान् ती ज्वाइँका मनमा । कमाउनकै लागि नौँ सय डाँडा काटेर, एउटा छोरी तोते बोली बोल्न थाल्दा र अर्की आमाकै गर्भमा छाडेर मलेसिया पुगेका उनी धनदौलत बोकेर फर्कनुको सट्टा विदेशी भूमिलाई ज्यानको आहुति दिन पुगे । आजभोलि, बाहिर मर्नेहरूको लाश लिन फारम भर्ने आफन्तहरूको लर्को दिनहुँ लाग्ने गर्छ, परराष्ट्रमा । म सम्झन्छु, अघिल्लो वर्ष अरबमा मात्रै छ सयभन्दा बढी नेपाली कामदार अकालमै मरेका थिए । 

मिरिनले चिहानमाथि झरेको सुकेको पात टिप्दै भनी, ‘कस्तो निष्ठुर नियति मानिसको । परिवेश र परिस्थितिको दास । दुई मुठी सास फ्वास्स जाँदा जिन्दगी चिलिम् । बाँचुन्जेल केके कुराको मात्र सुर्ता र फिक्री गरिरहनु ।दुखान्त परिघटनाहरूले मिरिनको मन नियतिको निर्दयी प्रहारप्रति कठोर बनेको हुनुपर्छ । लामो सास फेर्छे मिरिन । लाग्छ, मुटु कस्तै घटनाले पनि नहल्लाउने बनाउन सकेकोमा सन्तोषको सास लिएकी हो, सायद । उसको मुहारमा अनौठौ चमक देखापर्छ । 

एक छिन चिहानघारीमा मौनता छाउँछ । जीवनका कठोर यथार्थहरूलाई जति स्मरण गर्यो, उति कहालिलाग्दा । हामी दुवैलाई एकसाथ लाग्छ, जीवनका अँध्यारा पक्षहरूतर्फ त हेर्दै नहेर्नु नै बेस । 

ढिलो चाँडो एक दिन मर्नु छँदैछ सबैलाई ।मनमा केही सम्झेझैँ गरी मिरिन बोल्न थाल्छेः त्यति चाँडै छाडेर जाली भन्ने दश मनमा एक मन पनि थिएन । दिदी मेहनती र आँटी थिई । तर उसको भित्री पीडा र शारीरिक अस्वस्थता देख्न सकिन मैले । उसको अवस्थालाई नियालेर, खोतलेर हेर्ने कोशिससम्म गरिनँ मैले । उसले पनि शरीर र स्वास्थ्यप्रति ज्यादै भरोसा गरी । हँसिलो मुहारभित्र लुकेको पीडा बुझ्नु पनि कसरी ? हामी एकआपसमा न टाढा थियौँ न त नजिक नै ? तर एक्लोपना अनुभूति हुँदैनथ्यो । हामी एकअर्काप्रति भरोसा राख्थ्यौँ, बस् । भरअभरमा दुवैले आफ्नै ढंगले व्यवहार उतार्थ्यौ ।

मर्नेबेला दिदीले बोलेको मिरिन राम्ररी बस हैअहिल्यै हो कि जस्तो लाग्छ ।बोल्दाबोल्दै आँखामा रसाएका दुई थोपा आँसु मुन्टो घोप्टो पारेर गालामा नछुवाईकन तरक्क भुईमा झार्छे । मनमनै सोच्छे, केही दिनको यात्रामा गएझैँ दिदी मरेर गई । अरू बेला त केही भनिनन् नै । जिन्दगीको अन्तिम क्षणमा पनि भन्नु केही थिएन । आसक्ति छँदैथिएन । 

बाँचुन्जेल खाईनखाई, मन बाँधेर, सकीनसकी दुःख गरेको के काम लाग्यो ? एकपल्ट पनि दिल खोलेर नरमाइकन जीवन सकिन्छ भने किन दुःखी हुने ?’ झलक्क स्मृतिमा चेखबको कुनै कथाका हरफहरू आउँछन्ः मानव मस्तिष्कको चेतना वा प्रतिभा नै किन चाहियो र यदि यी सब कुराहरू अन्त्यमा गएर माटोमा मिसिन्छन् भने ? किन चाहियो ?, करोडौँ बर्षसम्म पृथ्वीसँगै सूर्यको वरिपरि फन्फनी घुमिरहनको लागि ? यस्तो झण्डै दैवी मस्तिष्क किन पाउनु, यदि पछि गएर कुनै निष्ठूर उपहास जस्तो माटोमा मिल्न जानु छ भने ? यदि मृत्यु प्रत्येक व्यक्तिको लागि स्वाभाविक र न्यायोचित अन्त्य हो भने केलाई मान्छेहरूलाई मृत्युबाट बचाइरहनुप¥यो र ? यदि कुनै व्यापारी, कर्मचारी पाँचदश वर्ष बढी बाँच्छ भने फरक नै के पर्न जान्छ र ?’ उता मिरिन आफ्नै सूरमा जीवनको महत्ता केलाउँछेः निस्सार छ जीवन, हामी सबै एक दिन मर्छौं । त्यसपछि, शून्य छ, महाशून्य । 

मिरिनले निस्सारताको फिलोसफी बखान्न थालेपछि म झन् भावविभोर हुन्छु । आमाबाबुको आनन्दबाट जन्म्यौँ, कीराहरूको आनन्दमा हामी मर्छौं, तब जीवनमा गम्भीर हुनु, के को लागि ? पढेर पनि परेर पनि आफूमा एक अनमोल निर्लिप्तता विकसित गरिसकेकी मिरिन जीवनमा कुनै अप्राप्य वस्तुको आशामा झुण्डिइन, जीवनले दिनेभन्दा ज्यादा लुछ्ने धृष्टता पनि गरिन र कहिल्यै कुनै भवितव्यप्रति सिकायत सम्म गरिन । भन्छे, ‘आखिर दिदीले के कमाई त जीवनमा ? न दिल खोलेर कहिले हाँसेकी थिई, न मनले मागेजति रमाइलो नै गरेकी थिई । थुप्रै अभिभावक भनाउँदाहरूको घेराबाट निस्केर आफ्नै छुट्टै स्वतन्त्र जिन्दगी जिउने आकाङ्क्षा र आर्थिक आत्मनिर्भरताको लागि लड्दालड्दै जीवन समाप्त भयो ।’ 

निहुरँदा तल झरेको कपालको लट माथि सम्याउँदै मिरिन मतिर फर्कन्छे र भन्छे, ‘परिवार भन्नु म एक्लो छु अब ।’ 

उठेर टोलाउन थाल्छे मिरिन । पतझड रुख नियाल्छे र भन्छे ः छिटै यी उजाडिएका रुखहरू हराभरा हुनेछन्, अनि फेरि नयाँ पालुवा पलाउनेछन् । दिदीको चिहानमा आफ्ना निर्लिप्त आँखा अड्याएर विस्तारै भन्छे, ‘मलाई रत्तिभर थाहा छैन म बाँचेको दुनियाँबाहेक अरु दुनियाँ छ कि छैन । विश्वासले जन्माएको अज्ञात दुनियाँ त होला नि हगि ? तिमी तिम्रै दुनियाको भोगचलनमा रमाउँदैछौ सायद, मेरी युच्छुबुङ । म पनि मेरै दुनियाँमा ...