Monday, March 30, 2009

खोजी डेराको

बेथुको साग टक्टकाउँदै
फुको भात निल्छु
टुहुरो भान्सा,
टुहुरो भान्साकै तागत लिएर
भर्ल्याङ्गे झोला भिरेर
डेराबाहिर निस्किन्छु
डेरा खोज्न

अग्ला अग्ला घरका फेदैफेद चाहार्छु
गल्ली गल्ली फन्फनी घुम्छु
गम्छु,
देखेजति सबै घरमा सोध्छु
भेटेजति सबैसँग सोध्छु
'कोठा खाली छ?'

बा आमाले आर्जेका घर
म जन्मेको त्यो घर
बतास नाच्दो हो चारै कुनामा
म हुर्केको त्यही घर
सुसार खोज्दो हो बेलाबेलामा
खै! के फाइदा र?
त्यहाँ गएर मैले गर्नु के छ र?
न बनाउँनु छ नयाँ घर त्यहाँ,
न त यहाँ

निभेको अगुल्टो कहाँ सल्काउँनु छ र?
रन्के नि रन्कोस्
पोले नि पोलोस्
डढे नि डढोस्
बरु दन्केकै राँको बोक्नु छ मलाई
भएभरका सबै जात्रा देख्नु छ मलाई
यहाँको जीवन भोग्नु छ मलाई
यही जीवन थेग्नु छ मलाई
वर्षौँदेखि यही खाल्डोमै अडिएको 'नेपाल'
हो,
हो त्यही नेपाल चिन्नु छ मलाई

त्यसैले,
घरीघरी सल्बलाउँछु
यहाँका जोल्ठिएका घर-घरमा
साँगुरा, चेपिएका
यी सेपिला गल्लीगल्लीमा
मुखबाट फुत्काउँछु
'सन्नुस् न, कोठा खाली छ?'
सोधनी हुन्छ थातथलोको
सोधनी हुन्छ कूलघरानको
सोधनी हुन्छ कामकाजको
सोधनी हुन्छ घरबारको
अनि,
सोधनी हुन्छ आयआर्जनको
कुरा गर्यो कुरैको दुःख
अचम्म !
बग्रेल्ती घरैघर छन् यहाँ
र पनि,
चाहिएको बेला अहँ मैले सकिन...

म सोच्छु,
अनुभव गर्छु,
दिमाग पलाएको छ
अनि छरिएको पनि छ
दिमाग निखारिएको छ
अनि भाँचिएको पनि छ, यही सहरमा
तैपनि म खुट्याउन असमर्थ छु
म छु यहाँ, रहरमा कि करमा?
आखिरमा,
डेरा चाहिएकै छ मलाई,
यही सहरमा
हो, यही सहरमा।

१० चैत २०६५, सोमबार, काठमाडौँ।

(गत २ महिनादेखि लगातार डेराको खोजी गर्दागर्दै पनि पायक पर्ने र भनेको जस्तो कोठा भेटिएन। त्यसको सट्टा आत्मलाप गर्दै यो कविता कोरे। त्यसैलाई कुटीमा छिराएको छु।)

17 comments:

Basanta Gautam said...

निकै मर्मस्पर्शी कविता राख्नुभयो कैलाशजी! लाखौंको पिडालाई शब्द दिएको छ कविताले।

Prabesh Poudel "उजेली" said...

कस्तो राम्रो कविता !!! मलाई त एकदम मनपर्‍यो । डेराको कुरा लिएर गाउँघर-घरबार सबैतिर छुनुभएछ । कस्तो मिलाको सबैथोक !!

बेदनाथ पुलामी ( उमेश ) said...

यो त मेरो अतीत हो नि म सँग पनी ५/६ बर्ष को अनुभव रहेको छ नि (नेपाल मा हुदा)! अझ हामी लाइ त बुङ्गा केटाहरु भनेर डेरा पाउन नै गाह्रो भएथ्यो । के के सोध्ने सोध्ने ....
- अनि तपाई ले आफ्नो ब्यथा लाइ मज्जाले बुनेर उन्नू भएको रहेछ - सलल राम्ररी बहेको छ भाब ।
अनि यो समस्या बाट छिटै छुटकारा पाउनु होला ... है कैलाश जी ।

प्रदिप said...

नजिकै थियो मेरो डेरा देखिनौ किन ?
तिम्रै दिलभित्र को बास भेटिनौ किन ?

बजाउ भनेकै थिय , कती लाग्छ मन तिमीलाई
दु:ख गरी दिएको सारंगि पनि रेटिनौ किन ?

बगिरहेछ जिन्दगी अबिरल आशुहरुसङै
पिएर तिमीले प्यास मेटिनौ किन ......?

जस्ट तपाईंलाई जिस्काएको मात्रा अन्यथा नसोच्नु होला हौ कैलाश जि ....

Milan said...

कबिताले आफु काठमाडौं बस्दाको सम्झना गरायो ... कति घुमियो घुमियो यसरी डेरा छ भन्दै...

तर यत्रो कुटी नै हुंदा त आफु डेरा खोज्दै हिंडीदैन थ्यो होला ...

Dilip Acharya said...

खै, के भन्ने?
पढनलाई रमाईलो तर भोग्नलाई मार्मिक कुरा रे'छ तपाईको कवितामा।

छिट्टै भनेजस्तो कुटी मिलोस भन्ने शुभकामना सहित

दिलीप आचार्य

वसन्त बलामी said...

शहरी वास्तविकतालाइ सुन्दर कवितामा उतार्नु भएकोमा धन्यवाद छ । सुन्दर कविता तर कुरूप शहर अनि अमिलो सत्य । साँच्चै उत्कृष्ट छ तपाइँको कविता ।

>Jotare Dhaiba< said...

बा-आमाले आर्जेको घर
म जन्मेको त्यो घर
बतास नाच्दो हो चारै कुनामा....

राजधानी लगायतमा चापयुक्त सहरमा डेरा नपाउनु जति ठक्करलाग्दो यथार्त छ, गाउँमा रित्तिँदै गएका बतास नाच्ने रित्ता 'कुना' हरूको को खबर पनि कम पीडादायी छैन है । तर जीविका र अवसरको खलो बटुल्ने धुनमा सहर छिर्नैपर्ने केन्द्रकृत राज्यको विवशता छ त के नै गर्नु ? कति सजिलै बहावमा लेख्‍नुभएको कैलाशजी । तर भोग्न कति गाह्रो भयो, यो घटनाको वास्तविकतासँग म आफैँ पनि साक्षी छु । अझ डेरा पाइसकेपछि पनि सामान मिलाउँदाको सास्ती सम्झियो भने त ज्यान लल्याकलुलुकै हुन्छ । केही गर्दा पनि मान्छेलाई सन्चो छैन भनेको यही होला ।
तपाईँ त पोहोर-परारै पनि भन्दै हुनुहुन्थ्यो- डेरा चाहियो भनेर । यत्रो सहरमा आफूले भने जस्तो डेरा र डेरावालले भने जस्तो आफू पाइन पनि चर्कै छ ।

कविता पनि जाँदै गरोस् है

दीपक जडित said...

साँच्चै गजब कविता कैलाशजी , त्यो काठ्माण्डैमा भने भन्दा गजबका भनेभन्दा धेरै घरहरु छन् तर भनेजस्तो चैं नपाईने हगी ?

loafer said...

कैलाशजी डेरा पाउन गाह्रो पाएछी सर्न झन गाह्रो । तर बेथुको साग्ले फाइदा पो गर्छ साथी ।

कैलाश said...

खै के भन्नु र? डेरा खोज्ने अनि सर्ने लन्ठा। यो लन्ठा असाध्यै पिरलोको कुरा। सबै साथीहरुलाई धन्यवाद प्रतिक्रियाको लागि।

B.J. Dummali said...

Jhkkasa chha, kabitaa lekhana bahineele bhaawanaa pokhepani yahaa saachchikai paribesha yasto chha, ke garne.......

Parshu said...

kailash room napauni ko timro pida ahile timro kabita padda malai jhan derai pida mahasusa vayo.k garne dearest hami dubai vaye sanggai room khoji ma huntheu ni.tar room napaunu ko pidale timilai kabiyatri chahi banayekai ho.tar kehi chaina aba gharai banaula ni hunar dearest?
your husb.....

कैलाश said...

तपाईसँगको मेरो दुखेसो पोखाईले भन्दा नि कविताले पो छोयो कि क्याहो डियर तपाईलाई। अहिलेलाई त कोठाको चक्करले कविता फुर्यो। यो चक्कर अलिक बढि लम्बियो भने चाहि काव्य फुर्ला कि? हा हा हा। ठिकै हो काव्य किन बनाउँनु र! घरै बनाउँदा उत्तम हो। घर बनाउँने चक्करमा पनि फेरी अर्को झक्कासको कविता लेखौला नि। म मनचिन्तेलाई बहाना गतिलै चाहिन्छ कविता फुर्न र कोर्नलाई। अनि त्यसपछि घरबेटीको तर्फबाट पनि एउटा बिन्दास कविता लेखौला। लौन डियर यो अवसर चाँडै जुराइदिनु परो है।
Have a nice time dear!

एकल यात्री said...

भनेजस्तो सोचेजस्तो
डेरा कहाँ पाउनु ?
बरू आफ्नै कुटीमा
नयाँ छानो छाउनु ।

बिमल गिरी said...

Yekal ji ko camment padhda jo kohilai hasna badya banauchha.chhano naya chhayepani bhayo ni ta Kailas ji.Happy New Year 2066.

Anonymous said...

I like use viagra, but this no good in my life, so viagra no good.