Monday, March 02, 2009

Old is Gold

आज काम बन्ला त? ब्युझिँनासाथ मथिंगलमा यही कुरा घुम्यो। कहिले नयाँ बानेश्वर, कहिले न्यूरोड, कहिले पुतलीसडक त कहिले अनामनगर। लुखुर लुखुर चाहारीरहेछु। पहिलो दिन सडकको छेउछाउमा सबैको आँखा पर्ने बडेमानको झिलीमिली बोर्ड र टक्टकाउँदो कलर ल्याबहरुभित्र छिरे। कहीँ पनि काम बनेन। न त उनीहरुले दिएको सूचनाले नै मद्दत दियो। दोस्रो दिन आफैले common sense भन्ने चीजको आधारमा कहलिएका फोटो खिच्ने ठाउँको सट्टामा चेपचाप या गल्ली छेउछाउका फोटो स्टुडियोहरुतिर धाए। एउटाले अर्कोमा, अर्कोले अर्कोमा जानुस् भन्दै उनीहरुले दिएको सूचनाले पनि मेरो खुट्टा र जुत्तालाई दिनसम्म सकस दियो। अनि तन र मनको के कुरा! साथीभाईहरुसँग पनि सोधखोज गरेँ। कसै कसैबाट त्यत्ति जाबो कुरा पनि पाउँदैन होला त अहिलेको यो बजारमा? भन्थे। कसैले अचम्म मान्थे 'हो र!' भनेर।

'आजपनि दिनभरी नै घुम्यौ हगि?' हामी दुबैजना लखतरान भएर घर फर्केपछि साँझ श्रीमान्‌ले जिस्क्याउँदै सोधे मलाई।
'बडो रमाइलोसँग' म पनि के कम? हाँस्दै भने।
'अनि तिम्रो नि रमाइलो मात्रै भयो कि?'
'काम पनि भयो। तर भोली पनि जानु छ' केहीबेर चुप लागेर फेरी बोले 'त्यसैले भोलिपनि तिमी एक्लै रमाइलो गर्ने योजनामा छ्यौ हगि?' छड्के पारामा फकाए उनले मलाई।
'छु। तर 50% त तिम्रो पनि हक छ नि!' मैले नि छड्के हिसाबकिताबलाई मिलाइदिए।
'Sweetheart, 100% तिम्रै पोल्टामा सुम्पे भोलिलाई'

तेस्रो दिन हिडे म न्यूरोड, असन, इन्द्रचोकतिरकै छिँडी चाहार्न। त्यता नूनदेखि सुनसम्मको जिनिस पाइन्छ रे! भन्ने सुनेको हुँ। भेँडाको घ्यू, सालको पात, बाबियोको डोरी, हथिबारको नाम्लो खै के के चीजबीज त मैले नि देखेकी हुँ। त्यस्तै चीजबीजको खोजीमा हिडेको होइन म। तर मैले खोजेको कुरा पनि त्यत्तिकै classic र विशेष अवसरमा मात्र प्रयोग हुने भइसकेछ। पाउँदै नपाउँने त कहाँ हुन सक्ला र! भन्ने सोच्दै पनि थिए म। तर यत्तिका सास्ती खेप्नुपर्छ भनेर चाहिँ सोचेकै थिइन। मलाई चाहिएको पनि के नै हो र! मात्र एउटा नेगेटिभ। जसबाट फोटो निकाल्न सकियोस्। जुन आजभन्दा केही वर्ष अघिसम्म यत्रतत्र पाइन्थ्यो।

मलाई मेरो पुरानो दिन याद आयो। त्यही याद गर्दै म बाटो नाप्न थाले। गाउँबाट क्याम्पस पढ्ने जोहोमा काठमाडौ छिरेपछि एउटा फोटो स्टुडियोमा ६ महिनाकै लागि भएपनि २२ सयको जागिरे भए। बडो खुशी लागेको थियो। त्यो पैसाले कलेज आउन-जान बस भाडा मनग्गे पुग्थ्यो। थोरै भएपनि जर्गो टर्यो। त्यस बेला रंगीन र सादा कोडाक, कोनिका रिलहरुकै हालीमुहाली थियो। त्यसबेला फोटो खिच्ने र खिचाउँने खूब रहर थियो। तर बूता थिएन। Black & White तस्बीर आजपनि मलाई निकै आकर्षक र राम्रा लाग्छन् मलाई। अनि पुराना पुराना काइदाको तस्बीरको त महत्व नै बेग्लै। हुन त त्यसबेला पासपोर्ट साइजको फोटोमा बाहेक Black & White को खासै माग थिएन। रंगीन फोटोकै चलनचल्ती थियो। केही समय नबित्दै डिजिटल क्यामराले धेरैको ध्यान तान्यो। मलाई पनि त्यो क्यामरा चलाउने र फोटो खिच्ने खूब रौस चढेको थियो त्यसैबेलादेखि। ८-१० वर्षको अन्तरालमै प्रविधिले क्या फड्को मारेको। बाफरे! अब अहिले धेरैजसोको हात हातैमा डिजिटल क्यामरा छ। अझ राम्रा राम्रा पिक्सेलको क्यामरा जडित मोबाइलले बजार पिटेको छ। भर्खरै मात्र एउटा डिजिटल क्यामेरा मेरो हातमा छ। आवश्यकता अनुरुप यसैले फोटो खिच्दैमा मख्ख थिए। अझै कतिञ्जेल हुन्छु पनि।

झोलामा सँधै रहने यो डिजिटलरुपधारी क्यामरा र मेरो फूर्ति तीनदिनदेखि हस्रक्क परेको छ। झोलाको क्यामरा निकालेर त्यसलाई हेर्दै हाँस्छु म मनमनै Old is Gold भनेको यही होला सायद भन्ने सोच्दै। त्यो क्यामराले पनि मलाई गिज्याउँदो हो मेरो दौडधुप देखेर। म हस्रक्क पर्नुको अर्को पनि कारण छ मसँग। सानसँग खल्तीमा क्यामरा, रेडियोलगायत अनेकवलीको सुविधायुक्त मोबाइल बोकेर हिडेको छु। बेलाबेलामा नम्बर डायल पनि गर्छु। आको फोन रिसिभ पनि गर्छु। तर Land Line प्रयोग नगरीकन बातचितको चुरो कुरो खुट्याउनै मुश्किल। अनि यहाँ पनि Old is Gold कै कुरा सम्झे। अनि न्यूरोडमा फोटो स्टुडियो चाहार्दा चाहार्दा दिक्क भएर पाइन्ट र टिसर्ट पनि किन्ने मन भयो। पसलमा छिरे। सबै विभिन्न नमूना र ढाँचाका, फरक फरक अनि नयाँ नयाँ डिजाइनका छन्। चुम्केको-फुकेको, तन्द्राङ-तुन्द्रुक, जाली-खाली, टाँसेको-गाँसेको, झुम्का-तुनायुक्त आइटम आइटमका टिसर्टहरु। पाइन्ट पनि थरीथरीका फेसनेवल एक से एक पाराका। सिम्पल डिजाइन खोज्दाखेरी पनि यी मध्ये कुनै न कुनै विशेषता नभएका डिजाइन कहाँ भेट्नु र? पहिले चलेका डिजाइनको संशोधित रुपको पनि निकै चलनचल्ती छ। त्यसहिसाबमा Old is Gold मात्रै हैन Old is Bold पनि बनाइएको छ सायद।

ए अँ त। हामीलाई क्यानडा पुग्नु छ केही महिनाभित्रै। त्यसैको दौडधुपमा यो रमाइलो भोग्दै थिए। अरु सबै requirement पूरा भयो। गरियो। बस् यही एउटा requirement ले च्याँखे थापेको देख्दा म त हैरान भए। न्यूरोड र असनको बीचमा पर्ने गल्छिडाभित्र एउटा स्टुडियो छ। जहाँ त्यस्तो काम हुन्छ भन्ने सम्मको जानकारी पाएँ एकजना साथीमार्फत। ३ पल्टसम्मको मोबाइलवार्ताबाट पनि कुरा प्रष्ट नभएर Land Line बाट Call Back गरेपछि पत्ता लागेको कुरा हो। अनि उनकै भनाईलाई पछ्याउँदै म त्यहाँ पुगे। सन्चको सास फेरेँ त्यहाँ पुगेर।

खूब ताल परेको। सोधखोजकै क्रममा फ्याट्टै लोडसेडिङ भयो। भोलिपल्ट पनि नगई काम नबन्ने भयो। तै तै भेटियो त सही भन्दै घर फर्के। चौथो दिन फोटो खिच्ने काम भयो। १२ सय रुपैया पैसा राख्दै काउन्टरमा बस्ने मान्छेले भने- 'भोली साँझतिर फोटो लिन आउनुस्'। 'फोटो मात्रै हैन नेगेटिभ पनि' दिमागमा चढेको नेगेटिभको रन्को मुखबाट फुत्कियो। काउन्टरको मान्छे मुसुमुसु हाँसेको हेर्दै श्रीमान् र म बाटो लाग्यौँ। कत्रो काम पूरा भयो भन्ने लाग्यो मलाई।

'ओहो नि! त्यत्रो त्यत्रो कलर ल्याबदेखि साधारण खालका स्टुडियोमा समेत आजकाल त खाली डिजिटल प्रविधिकै हालीमुहाली रहेछ। हुन पनि हो। बाध्यता नपरीकन कस्ले पो सोधखोज गर्ला, प्रयोग गर्ला र? माग र सप्लाईको तालमेल नभइकन कसरी चल्छ बजार? सबैतिर डिजिटलकै जमाना छ'। म एकोहोरो बोल्दै थिए 'तर यो पुरानो प्रविधिको महत्व र उपयोग बढ्ने दिन पनि नआउँला भन्न सकिन्न नि हगि?'
'हैन तिमीलाई यो रमाइलोको चक्करले छाड्ने कहिले?' मेरो अपेक्षाभन्दा फरक कुरा भने श्रीमान्‌ले।
'धुरन्धर चार-चार दिन खर्चेको समय र कुदीकुदाउको कमाई हो नि। सजिलै कहाँ छुट्ला र!'
'भोली स्टुडियो गएर एउटा कुरा भन्नुपर्यो?'
'कस्तो कुरा?'
'स्टुडियो बाहिरपट्टी एउटा बोर्डमा लेखेर राख्नुस्- "Here is a World - Old is Gold, Come to me & make it Bold"' हातले बोर्डको नाप देखाउँदै भने।
'Not a bad idea'
'हो नि!'
'Now, relax Dear' दुबैजना एकअर्कालाई हेराहेर गर्दै हास्यौ।

(धेरै दिनको विश्रामपछि कुटीमा धूनी बाल्दै गरेको यो 'कथाजस्तै कथा' वास्तविकताकै आडमा उभिएको छ। यद्यपि म आफै यसको पात्र भने हैन। एकजना साथी जो क्यानडा जान लागेको छ। उसैले भोगेको सास्तीलाई केही थपथाप शब्द र चटनीको लेपन लगाइदिएको मात्रै हुँ।)

6 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

तपाईको लेख त निकै जाती .... रहर लाग्दो ।

दीपक जडित said...

आज पुच्छ्रे टिप्पणी थपिएछ र नै नत्र ता त्यो हस्याङ्ग फस्याङ्ग सहितको दौडधूप तपाईंकै होला भन्ठानेथें । बाहिरतिर जे चाहिने हामीकहाँ त्यही नपाईने हैन यो समय कस्तो बेईमान बन्दै गैरहेको हँ ?

Basanta Gautam said...

अर्काको अनुभवलाई पनि यति जिबन्त ढंगले, आफ्नै हो कि भनेजस्तो हुनेगरी लेख्नुभएको छ, गज्जब लेख्नुभएको छ। त्यो पूच्छ्रे टिप्पणीमा आँखा नपुगुञ्जेल त कैलाशजी यसरी बेपत्ता हुनुको रहस्य यहि रहेछ भन्ने परेको मलाई पनि!

Dilip Acharya said...

हाम्रो देस पनि अचम्मको छ। एकातीर बत्ती नभएर 'old is gold' भनेर टुकी र लालटेन खोज्नु पर्छ भने अर्कोतीर रोलवाला क्यामेराले तस्विर खीच्न पनि खोजि खोजि हिड्नु पर्छ ।

धेरैदिन पछी आउनुभयो तर रमाईलो प्रसंगका साथ ।

Prabesh Poudel "उजेली" said...

मलाई त आफ्नै कथा जस्तै जस्तै लाग्यो । ढाँटेको हो कि क्या हो साथीको कथा भनेर !!! पढ्न चैँ एकदमै रमाइलो लाग्यो !!

Parshu said...

katha nikai gahkilo ani jeewant cha.