Friday, January 29, 2010

Be Positive यार !

हाम्रो सोझो बुझाईमा बिजुलीले बिश्राम लिएको अवस्था लोडसेडिङ हो। आफूलाई पायक पर्नेगरी लोडसेडिङको तालिका खोजेर टाँसे दुईहप्ता अघि। त्यसको अर्को हप्ता लाग्दा नलाग्दै फेरी त्यसको सट्टामा नयाँ तालिका आयो। त्यसलाई टाँस्नै पर्यो। फेरी यो हप्ता नसकिदै त्यसको सट्टा नयाँ तालिका आयो। छलाङ मार्दै प्रगति पथमा लम्कीरहेछ लोडसेडिङ। उसको प्रगतिमा साथ दिनलाई पनि त सकभर नयाँ नयाँ तालिका टाँसेर गमक्क पर्नैपर्यो। अब झन् लोडसेडिङलाई टेवा दिनसक्ने सुक्खा मौसम पनि आउँदैछ। मैले काम गर्ने ठाउँमा हिजो (२-४) र आज (३-५) गरी जम्मा २-२ घण्टा बिजुली चल्छ। बाँकी समय बिजुलीले पूरै बिश्राम लिन्छ। निदाउँछ। उसो त हामी पनि २४ घण्टामा ८-९ घण्टा या केही घटबढ गरेर निदाउँछौ। आराम लिन्छौ। त्यसैले बिजुलीको पनि आराम लिने अधिकार छ। उसको यो अधिकारमा हामी मानिसले किन व्यर्थैमा टाउँको रिङगाउने। भलै २४ घण्टामा २४ घण्टा किन बिश्राम नलियोस्। टाउँको रिङ्गाएर हुनेवाला केही छैन।

अब मृल्यबृद्धि। १० वर्ष अघि म काठमाडौ छिरे। उसबेला ३ रुपैयाँमा सार्वजनिक गाडी चढेको याद छ मलाई। आजसम्म आइपुग्दा न्यूनतम मात्रै १२ रुपैयाँ त भएको छ नि। उसबेला ४५० मा ग्यास उपलब्ध थियो। आजको दिनमा १२५० मात्रै पुगेको छ। गएको २ वर्षभित्रै खाद्य पदार्थ वा तरकारीदेखि लिएर अन्य उपभोग्य बस्तु, डेरा भाडालगायत सबैमा ह्वात्तै मूल्यबृद्धि हुँदा किन जंगिनु ब्यर्थैमा। हाम्रो आयस्रोतमा बृद्धि नभएर के भो र उपभोग्य संस्कृतिमा त बृद्धि भएकै छ नि। त्यहीमाथि यो त ती तत्वहरुको प्रगति नै हो। हाम्रो पक्षमा तत्वहरुको प्रगति नभएर के भो त। बेलाबेलामा कृतिम या साँच्चैको अभाव भइदिएपनि जसोतसोगरी फेरी उपलब्ध भइहाल्छन् आखिरी।

बिजुलीले विश्राम लिएकै मौकामा हिजो (१४ माघ)को Republica Daily मा आँखा डुलाउँदै थिए। एउटा नमूना फेला पारे। महिनादिनमा कन्स्ट्रक्सनको सामग्री- सीमेन्टको भाउ १८-३२ प्रतिशत बढेको र रडको भाउ २२ प्रतिशत बढेको छ। डिसेम्बर २००९ र जनवरी २०१० को तुलनात्मक हिसाबकिताब हो यो। यो मृल्यबृद्धिको तीब्र प्रगतिलाई 'अग्रगामी छलाङ' नभने के भन्ने त खै? फेरि चीजबीजलाई मात्रै किन र के को हुट्‌हुटी नि हामीलाई चाहिएकै बेलामा सजिलै अनि कम मूल्यमै उपलब्ध हुनलाई। तिनले कस्को बाउँके के खाइदेका थिए र?

फेरी काठमाडौ टेकेकै बेलाको कुरा कोट्याउँछु। उसबेला सडक किनार किनारमा बडेबडेमानका रुखहरु थिए। हरियोपरियो थियो। बाटोघाटो सफा थिए अहिलेको तुलनामा। बाग्मतिकै पानी पनि तुलनात्मक रुपमा सङ्लो बग्थ्यो। फोहोरका डंगुरहरु कम हुन्थे। घरहरु कम थिए। अब अहिले त सडकमा धूवाँ धूलोको मात्रा बढेको छ। रुखहरु मासिए। कतैकतै बाटोघाटोको आकार बढेपनि सवारी साधनको चाप त्योभन्दा बेसी नै बढेको छ। ईँटा थुपारेझै घरहरु बनीसके। अझै बन्दैछन्। तैपनि ती कुनै पनि घर होलोखोकुला छैनन्। खाली हुने कुरा त कल्पानाबाहिरकै कुरा। बहालवालाहरुले कोठासमेत पाउँन मुश्किल छ। यी सबैकुराले गर्दा अरु के के प्रगति भयो भन्ने थुप्रै लेखाजोखा गर्न सकिन्छ होला। अहिलेको प्रसंगमा यो टाँसोको लागि चाहिँ प्रदुषणको प्रगति नै सान्दर्भिक देख्छु। गतिवान् भइ प्रगति गरेकोमा बधाई छ प्रदुषणलाई।

हामीकहाँ आजकाल एकदमै 'छलाङ' मार्दै अझ भनु न 'बुर्कुसी' मार्दै प्रगति पथमा अघि बढिरहेका पक्ष वा तत्वहरु धेरै छन्। माथि भनेकाजस्तै थुप्रै तत्वहरु छन् हामीसँग। हाम्रै वरपर। त्यसैले ती र त्यस्ता अग्रगामी तत्वहरुको छलाङ साँच्चै नै पल पल अनुभूत गर्न सकिन्छ। किनकी यस्ता कुराहरुसँग हाम्रो अटुट सम्बन्ध छ। साधारणतयः मानव सम्भयतासँग गाँसिएका हरेक पक्षहरुमा मापनयोग्य वा प्रष्ट खालको सकारात्मक परिवर्तन वा सफलतालगायतका सन्दर्भमा छलाङ मारेको भन्ने गरिन्छ। यो पनि सफलताकै सन्दर्भ हो। तर मानव या मानव सभ्यताको सफलता भन्दा अलि बेग्लै प्रसंगमा। यो मानव कार्यको सहजताको लागि सँधै घोटिदै आएका तत्वहरुले मारेको छलाङको कुरा हो। त्यसैले तिनको प्रगतिप्रति हामी खुशी हुनैपर्ने बाध्यता छ। नभएमा आफ्नै मुहारमा थप चाउरी पर्ने प्रवल सम्भावना भन्दा पनि पक्का नै छ। आखिरमा यो भनेका ती तत्वहरुको अग्रगामी छलाङ र प्रगतिका चिन्हहरु हुन्। लोडसेडिङ बढ्यो। यो लोडसेडिङको प्रगति हो। मूल्यबृद्धि बढ्यो। यो पनि मूल्यबृद्धिकै प्रगति हो। प्रदुषण बढ्यो। यो पनि उही त हो। हामीले यस्ता कुराहरुसँग प्रतिस्पर्धा गरेकै हैनौ। अनि के को खस्‌खस्‌। भलै त्यो प्रगति हाम्रो हैन। त्यो छलाङ हाम्रो पक्षमा छैन। तैपनि बी पोजिटिभ यार। आखिर प्रगति भनेको प्रगति नै त हो नि!

8 comments:

एकल यात्री said...

प्रगति हुनु राम्रो कुरा हो । तर एकको प्रगतिले दोश्रोलाई असर गर्नुहुन्न । बालीमा कीराको प्रगति हुनु बालीको दुर्गति हो । रोगको प्रगति हुनु स्वास्थ्यको दुर्गति हो । मृत्युको प्रगति हुनु जीवनको दुर्गति हो । अँध्यारोको प्रगति हुनु उज्यालोको दुर्गति हो । प्रगति सबैले गरुन् । तर कसैको दुर्गति नहोस् । कि कसो ?

Chaitanya said...

बेजोड व्यंग ! दिनदिनै भोगिरहेको हुनाले यथार्थ भन्नु पो बेश हो कि ? जे होस् खुबै रमाईलो लाग्यो पढेर |

सूर्य/सिकारु said...

कैलास जी को धेरै पछी व्यंग्य सहितको यथार्त पढन पाइयो ।
प्रगति जे सुकैमा भएपनि सकारात्मक र फाइदाजनक त हुने पर्ने हो ।

कैलाश said...

एकल यात्री र सिकारुजीसँग म सहमत छु। मैले भन्न खोजेको पनि त्यही हुँ व्यङ्ग्यात्मक शैलीमा। हुन त थुप्रै कुरा हुनैपर्ने र नहुनुपर्ने हो भनेर हामी मजैले छुट्टाउन सक्छौ। जे सुकै भनेपनि यी सबै दुर्गति या तत्वहरु मानव सभ्यता र मानव निर्माणकै कारण भइरहेको हो भनेर पनि कसरी भुल्नु खै। आखिरमा हामी आफैले सृजना गरेको हो। सबै कुरा फाइदा मात्रै हुन्नन्। प्रगतिसँगै जोडिएर आएका यी कुराहरुलाई जे भने नि हुन्छ।

manu said...

hahahha didi sachai mitho lekhai maa tito bastabikata paskinu bho.j bhaye ni pragati pragati nai ho ani negative sochera matra k garnu sabai ai be positive ta bhannai parchha.anuway thanks

Milan said...

तितो भए नि सत्य यहि हो...अब यसमा बी पोजेटिभ हुनु बाहेक अरु उपाय नै छैन ...
राम्रो ब्लग

Khusiya said...

Kailash ji tapaile yakdamai ramro kuro lekhnuvo

Nepalean दौंतरी said...

लड सेडिगंकी जय भन्नु पर्ने अबस्था छ। अब गरिबीसंगै लोडसेडिगंको सित पनि नेपालीको गहिरो सम्बन्ध रहने छ।