Monday, April 14, 2008

विकल्पको खोजीमा उर्लेका सबैप्रति सलाम


राजनीतिप्रति कम चासो राख्ने व्यक्तिमध्ये म पनि पर्छु। सायद भुत्ते दिमागको कमाल पनि हुन सक्छ। राजनीति र विविध पार्टीहरुको सिद्धान्तबारे चारकोष टाढा रहेर पनि यसपालीको निर्वाचनमा भने खुब चाख लाग्यो। त्यसैले धेरै कुरा सिक्ने मौका मिल्यो। त्यसको लागि सञ्चारका विविध माध्यम तथा मेरो वरपरको चुनावी माहोल र राजनीतिप्रति केही चासो राख्ने साथीभाईहरुलाई धन्यवाद दिनैपर्छ मैले। सायद यो कुरामा कुनै शंका छैन कि यो पल्टको एेतिहासिक र आश्चार्यजनक निर्वाचनले कुनैपनि राजनैतिक दलसँग सरोकार र सम्बद्धता नभएको स्वतन्त्र व्यक्ति तथा नागरिकको ध्यानाकर्षण गर्ने थुप्रै कुराहरु भएकोले नै सारा जनमानस माझ यो निकै नै लोकप्रिय र चर्चा परिचर्चाको विषय बनी नै रहेको छ।

लामो समयको पर्खाइपछि आ-आफ्नो अनुकूलको संविधान बनाउने मौका जुर्नु, नयाँ नेपाल निर्माणको संघारमा सबैको प्रतिनिधित्व हुने स्थिति, नेपाली राजनीतिमा नयाँ नेतृत्व र नयाँ विकल्पको खोजी हुने क्रममा नेपाली जनताले नेतृत्वको अभिभारा सुम्पिएका छन्- परिवर्तनशील, उदयीमान र नयाँ व्यक्तित्वहरुको पक्षमा। नयाँ नेपाल, पुरानै विचारधारा, पुरानै अनुहार, थोत्रो र फेल भइसकेका उही योजनाले के होला भन्ने जिज्ञासा मैले धेरै सुन्दै आइरहेको थिए। तरपनि अहिले देखिएझैँ यत्तिका उलटपुलट, उथलपुथल र नयाँ-शक्तिशाली क्रान्ति नै आइहाल्ला भन्नेतिर सोच्ने र त्यसप्रति ढुक्क हुने सायदै थिए होलान्। ठूल्ठूला विज्ञ, विश्लेषक तथा व्यक्तित्वहरुको भनाई र विचारले धेरैको लागि अप्रत्यासित परिणाम र घटनाको रुपमा अगाडि आएको अवस्थालाई देखाउँछ। जे भएपनि जनताको शक्ति, एकता र 'पटक पटक अरुलाई हेरेकै हो, यसपटक यसलाई हेरौँ न त' भन्ने विचारको परिणामले नयाँ विकल्पको खोजी गरेको कुरा प्रष्ट पारेको छ। जे भयो त्यो एकदिन हुनु नै थियो। त्यहीमाथि शान्तिपूर्ण, वैधानिक र छिटफूट घटनाबाहेक संयमित तवरले हुन पुगेको संविधानसभाको रुप देख्दा जो सुकैपनि चकित नहुने कुरै भएन। यद्यपि आगामी दिनहरुबारे निश्चिन्त हुने स्थिति भने छैन।

चुनावी परिणामको आश्चर्यजनक स्थितिले धेरैलाई चकित, कसैलाई दुखित, कसैलाई हर्षित पारिरहेकै बेलामा कान्तिपुरको प्रत्यक्ष प्रसारणमा बहस कार्यक्रममार्फत तीनजना राजनीतिक विश्लेषक आ-आफ्ना विचार र विश्लेषण पेश गरिरहेका थिए। तीमध्येका सीके लालले भनेका एउटा कुरा साह्रै घत पर्‍यो मलाई। उनको विचार थियो 'नयाँ नेतृत्व र परिवर्तनको लागि जोखिम उठाएका जागरुक जनसागरलाई सलाम'। साँच्चै नै जनताकै शक्तिले लामो समयदेखि सत्तासीन पक्षलाई गतिलो झापड, वृहत मोर्चा र शक्तिशाली दलको यथास्थितिवादी चिन्तन र अहंको समाप्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै स्थान र दृष्टिकोणको निर्माण गरेको छ- हाम्रो राष्ट्र नेपालले। त्यसलाई सही सावित गर्ने दल र व्यक्ति छानेरै जनताले चुनौती दिएको छ। त्यसलाई कुन मोडमा पुर्याउँछन्‌ हेर्न बाँकी छ। जे होस् महान जनताहरुले आफ्नो अधिकारको प्रयोगमा देखाएको अग्रसरता, नयाँपन र सचेततालाई हृदयभरिको सलाम। (फोटो साभारः हिमाल खबर.कम)

गति परिन्थ्यो कि प्रचण्डलाई हेर्न पाए ...

भोट हाल्ने रहर हुँदाहुँदै विभिन्न कारणवस मत खसाल्न नपाएको झोँकमा चुनावको अघिल्लै दिनदेखि रन्थनिएका थियौँ- हामी ३ जना मनुवाहरु। छट्‍पटिदै कहिले चोकतिर कुद्‍दै, कहिले टेलिभिजनमा चुनावी माहौल हेर्दै समय काट्‍दै थियौँ। धेरैजसो आफन्तजनले 'चुनावको दिन बाहिर नजानु' भनेपनि मन कहाँ मान्थ्यो र। अन्ततिर केही झडप र झमेला भएपनि उपत्यकामा निकै संयम र शान्तिपूर्ण तवरले चुनाव सम्पन्न भएकोमा औधी खुशी लाग्न थाल्यो। अब फेरी खुल्दुली रह्यो चुनावी परिणामको। विशेषगरी नेकपा माओवादीका उम्मेदवारका साथै बौद्धिक वर्गमा निकै रुचाइएका र असल मानिएका अन्य दलका उम्मेदवारहरुको पनि विजयले हामीमा एक किसिमको उत्साह र उमंग छायो। चारैतिर अन्य दललाई उछिन्दै अगाडि अगाडि मत परिणाम बटुल्न सफल भएका माओवादीका उम्मेदवारहरुको विजय घोषणासँगै कौतुहलता निकै बढ्‍दै गयो ।

काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहको विजयसँगै बेग्लै रौनकको शुरुआत भएपश्चात राजधानीको माहोल तातियो। विस्तारै विजय जुलुसको रौनक बाक्लियो। शनिवारको दिनमा हामी सबै माओवादी अध्यक्ष प्रचण्डको विजय घोषणा र विजय उत्सवको दृश्य हेर्न निकै लालायित थियौँ। टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेकोले र एफएमहरुबाट पनि जानकारी आइरहेकोले सजिलो थियो कहाँ के भइरहेछ भन्ने थाहा पाउन। उपत्यका बाहिर जानुपर्ने मेरो काम भएपनि अन्तर्राष्ट्रय सम्मेलन केन्द्रतर्फ लाग्ने निधो गरे। बाटोमा एक मित्रसँग भेट भयो र लम्कियौँ त्यतातिर। तर आधा बाटोमा पुग्दानपुग्दै आँखा उघार्नै नहुनेगरी बटारिदै तीब्र बेगमा आएको हावा हुण्डरी र मुसलधारे पानीले अगाडि जान सकेनौँ र खाजा खाने निहुँ पारेर कुनै एउटा पसलमा छिर्‍यौँ।

हावा हुरी र पानी थामिएपनि मन खल्लो पार्दै कोठामा फर्केर आए। मेरा दुइजना साथी या आफन्त जे भनेपनि हुन्छ, हरु के हावा हुरी, के पानी नभनीकन प्रचण्डको विजय जुलुसमा एकैछिनभएपनि सामेल हुन पुगेका थिए। निथ्रुक्क भिजेर, हावा र हुरीले उडाउँनै खोजेपनि प्रचण्डको एक झलक पाउने आशामा भेला भएका ठूलो जमातमाझ २-३ घण्टा उभिएर आएका उनीहरु गनगन मलाई सुनाउँन थाले। त्यसले मेरो मनलाई केही मात्रामा भएपनि राहत मिल्यो। भीडमा एक बृद्धा भन्दैथिइन रे 'आज प्रचण्डलाई हेर्न मात्रै पाएपनि गति परिन्थ्यो कि'। प्रचण्डको दर्शन पाइने पर्खाइमा २ नम्बरको गेटबाहिर सारा जमात बसेका थिए रे। तर प्रचण्ड कतिबेला कुन गेटबाट बाहिरिए र कता लागे त्यस भीडलाई थाहै भएनछ। त्यही भीडबाट कोही एकजनाले प्रचण्ड बाहिरिएको खबर दिएपछि उनीहरु निराश हुँदै फर्केर आएका थिए। मलाई थम्थमाउँदै भन्दैथिए-'टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमा राम्ररी हेर्न पाईन्थ्यो, त्यहाँ गएर त न प्रचण्डलाई हेर्न पाइयो, न अरुतिरको चुनावी परिणामबारे राम्ररी सुन्न पाइयो, बरु हावाहुरी र पानीले बिजोग बनायो'। तर कोठामा फेरी अर्को आपत- लोड सेडिङको। त्यसपछि त लोड सेडिङको फाइदा उठाउँदै घमासान रुपमा चुनावी गफ शुरु भइ त हाल्छ।

प्रचण्डलाई भेटेर फूल दिने इच्छा बोकेका एक छिमेकी पनि निराश हुँदै फर्केका थिए। विजय घोषणा भएपश्चात प्रचण्डले दिएको मन्तव्यले प्राय उनका शुभचिन्तकहरु दंग र फुरुङ्ग भएका थिए। विजय जुलुसमा सामेल हुन पुगेका कैयौँ जनमानसहरु त्यही मन्तव्यको भरमा फर्किनु परेको थियो। (फोटो साभारः हिमाल खबर.कम)

Wednesday, April 09, 2008

नयाँ साल, नयाँ नेपालको लागि

नयाँ साल र नयाँ नेपाल २०६५ को मूरीका मुरी, भकारीका भकारी हार्दिक शुभकामना छ । जय होस् नयाँ नेपालमा तपाई-हाम्रो-सबैको ।

नयाँ नेपाल, नयाँ संविधान बन्ने बनाउँने बहानामा हाम्रो मनमा पलाएको उमंग, आशा र अनेकौ योजनाहरु जति पनि छन् । ती सबै आज सुन्दर कोपिला छन् । भोलीको दिनमा स्वच्छ रुपमा फक्रिन र फुल्ने अवसर मिलोस । प्रत्येकको मनमस्तिष्कमा खुशीयालीले बास गर्न सकोस् ।



नयाँ साल र नयाँ नेपालको प्राङगणमा पाइला हाल्दै गरेका हामी सम्पूर्णको दिन शुभ र स्वच्छरुपले आरम्भ होस् । कतिपय समुदायले सेतो रंग पवित्रता र शान्तिको प्रतीक मान्छन् र आत्माको रोजाई ठान्छन् । जे भएपनि अबको दिनमा हिंसा र आतंकको अन्त्य र शान्ति र अमन चयनको वातावरण स्थापित हस् ।


नयाँ नेपालमा प्रशस्तै आशाको किरण देखा परोस् । जसले सबैजनाको लागि सुनौलो विहानी ल्याओस् । राम्रो भन्दा पनि अझ राम्रो विकल्प तथा विचारहरुको ढोका खोलोस् ।



नयाँ साल र नयाँ नेपालमा रंगीन र उमंगभरी जीवन जीउने प्रेरणा सँधैभरि मिलोस् । उमंग र उत्साह ओइलाउन नपाओस् ।

Tuesday, April 08, 2008

छाता ओझेल पारीदेउ बर्खे झरीमा ...

(घना बादलको पसिना, दुबोमाथि टल्किएको असिना)

सम्झीदै बिर्सिदै काठमाडौंमा केही दिन पानी पर्‍यो । गत शुक्रबारको दिन त मजाले असिना नै बर्सियो । र, आइतबारको दिनको झरीले कार्यालय कामकाजमा बफादारी नै गर्‍यो भन्नुपर्ला कि ? ठ्‍याक्कै १०-५ को ड्‍युटी निभायो नि त त्यसैले । असिनासँग रमाउँने र तस्बीरमा उतार्ने रहरले कुत्कुतायो अनि एकछिन कामकाज छाडेरै बाहिर निस्के । त्यो पानीले वर्षायाम लागेको आभाष दियो । गाउँघरको परिवेश र चहलपहलको स्मरण गरायो । गाउँघरमा बाली लगाउने समय भएछ । मुठ्‍ठी छरेर मुरी उमार्ने बेला आएछ । यही समयको वर्षाले गाउँघरमा खेतीपाती गर्ने ठूलै चहलपहल ल्याउने गर्थ्यो। सबैजना आ-आफ्नो बारी जोत्ने, खन्ने तर्खरमा तल्लीन हुन पुग्थे । अहिले पनि उस्तै खेती किसानीमा तल्लीन माहौल छ गाउँघरमा । आफ्नो बाल्यकाल पनि त्यही क्रियाकलापमा गुज्रेकोले हुनसक्छ उतैतिरको स्मरण दिमागमा घुमीरहन्छ । त्यहीको सम्झना गडेको छ मनमा । यस्ता कैयौ झरी, वर्षायाम काटियो त्यो परिवेशमा । सायद त्यसैले । गाउँघरमा आफूभन्दा ठूलाबडाले भन्ने गर्थे 'बर्षेझरीले ज्यान गल्दैन' । त्यसैले त गीत बन्यो क्यारे छाता ओझेल पारीदेउ वर्षे झरीमा । तर शहरको वातावरणमा त वर्षे न हिउँदे दुवै झरी विषालु नै सावित भएका छन् मेरा निम्ति ।

अब कुरा गरौँ चुनावी वर्षाको । अहिलेको माहोलमा पनि चुनाव शब्दको उच्चारण नगरिए त उल्कै होला । फेरी जहाँ, जोसँग भेटेपनि कुरा फुत्किन्छ उही चुनावको । वर्षायाममा साना ठूला सबै खोला खोल्सामा भेल बाढी आएझैँ शहरको सडक, गल्ली, कुनाकाप्चा सबैतिर चुनावी प्रचारप्रसारको खहरे उर्लियो । रौनाक र रंगरुप नै अर्कै बन्यो नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको पहुँचमा रहेको स्थानहरुमा । २५ गते रातको १२ बजेदेखि नेपाल सरकारले खहरे नियन्त्रण तथा रोकथामको उर्दी गर्‍यो । कैयौँ ठाउँमा चुनावी खहरे मात्रै हैन असिना नै पर्‍यो । जसले चुनावको मौकामा कोपिला लागेका वा फुल्न लागेको चिचिलाहरुलाई चिमोट्‍यो पनि । तैपनि निमिट्यान्नै हुनेगरी घातक असिना बर्साई नभएकोले चुनाव हुने र परिणाम पर्खने ठूलै हिम्मत र आशा छ । वातावरण र परिवेश हेर्दा असिनाको त्यो चुटाइ साधारण नभएपनि एकदमै असाधारण भनि हाल्न पनि मिल्दैन होला । आखिरमा कहिलेकाही सिमसिमे पानी, कहिलेकाही दर्कने पानी त कहिलेकाही असिना पानी पनि हाम्रो जरुरत कै अंश त हुन् नि ।

अरु जे सुकै भएपनि प्राकृतिक रुपमा बर्षिने असिना पानीको सुन्दरता, श्वेतपना र मनमोहकतामा रमाउनुको मज्जै अर्कै छ । प्रकृति र प्राकृतिक बस्तु आफैमा सुन्दरता हुन्छ । जुन मलाई असाध्यै मन पर्छ ।

Friday, April 04, 2008

एक जुगमा एक दिन- संविधान कोर्ने

राजनीति भनेको फोहोरी खेल भन्ने कुरा सानैदेखि सुन्दै आएँ । अनि मनमनै सोच्थे, जानजानी यस्तो फोहोरी खेल किन खेल्नु त ? म भएदेखि नखेलीकन हाइसन्चोले बस्थे । अहिले बल्ल थाहा हुँदैछ, राजनीति भनेको देश चलाउने संयन्त्र वा कडी रहेछ । र यो आफैमा फोहोरी हुँदैन ।

अहिले निकै चहलपहल छ । सबै भन्छन् कमैको जीवनमा संविधान बनाउने सुवर्ण मौका आउँछ । मेरो एकजना दाइ पनि त्यसै भन्छन् । ऋण तिर्नलाई विदेशीएका उनी चुनावमा भोट हाल्न नपाउँदा न्यास्रिरहेका छन् । अर्काको नून खाएपछि गुण मान्नै पर्‍यो । गुण् मानेपछि ऋण तिर्नेपर्‍यो । के गर्ने ? धेरैजसो नातेदार, आफन्तहरु उपल्लो मुलुकमा हड्‍डी घोट्‍दैछन् । यहाँ भने सबै दलका नेता तथा कार्यकर्ताहरु संविधान बनाउनलाई धुमधामसँग बाँझो फोरे सरह भाषण जोत्दैछन् । मलाई पनि दिनमा ३, ४ पटक चुनावी रन्कोले फन्को मारेकै छ । बडो गजब छ । जे होस् रमाइलो लागेको छ, नयाँ संविधान बन्ने कुरा सोच्दा । त्यही माथि दिनदिनैको अनेक घटना र परिघटना सुन्न र देख्न पनि पाइएकै छ । सञ्चारका माध्यमहरु जति सबैमा रौनाक बेग्लै छ । उता राजनीतिक पार्टीहरुको आ-आफ्नो नारा र घोषणfपत्रसहितको उर्दी, अनुरोध वा स्वार्थको कुरा फेरी छुट्टै छ ।

मेरो पनि कत्रो सपना थियो, जिन्दगीमा पहिलो चोटि भोट हाल्ने त्यो पनि संविधान लेख्ने उम्मेदवार छान्नको लागि । तर सपना साकार नहोला जस्तो छ । गाउँमा नाम टिपाउने कस्ले ? यहाँ आफैले नै टिपाइएन, अनि कुरा ख्याउरिएन त । हुन त घर बस्नु सट्टा हाफ पाइन्ट लगाई लगाई पोहोर-परार सालको जनआन्दोलनमा कुदैकै हो नि । तैपनि यो राजनीति भन्ने जिनिस के चाहिँ हो त भन्ने यो दिमागमा स्पष्ट हुन सकेकै छैन । अर्कोतिर घरपरिवार र नातागोतालाई सोध्यो भने झन् अर्को अलमलमा पर्छु । सबै भन्छन् यो राजनीतिबारे हामीलाई थाहा छैन र थाहा पाउनु पनि छैन । अनि यो चुनाव त झन नेतालाई कुर्सीको जोहो गरिदिने चुनावबाहेक अरु हुँदै होइन भन्ने लेँडे ढिपी नै गर्छन् । अनि कसरी भयो एक जुगमा एक दिन मात्र हुने संविधान सभाको चुनाव ?

नेताहरुको भाषण, भोट माग्ने शैली, तँछाड र मछाँड गर्दै एकअर्कामा आरोप प्रत्यारोप गरेको देख्दा त मलाई पनि यो संविधान लेख्ने उम्मेदवार चयनको चुनाव होइन की भन्ने भान हुन्छ । ४८ सालको चुनावमा गाउँमा 'घाम', 'रुख' अनि 'घर' मा भोट हाल्ने भनेझैँ लाग्थ्यो । त्यत्तिबेला आफू परियो एक नम्बरको गोक्ते । पछि ५२ सालमा पनि चुनाव भयो । त्यसमा भोट हाल्ने उमेर नभएको भन्थे मलाई । तर खै कसले हो कुन्नी हातमा थमाएको झण्डा बोकेर अगाडि अगाडि त हिडेकै थिएँ । गाठ्‍ठी कुरा नबुझीकन हिडेकोले लाज पनि निकै लागेको थियो ।

त्यत्तिबेला गाउँमा निकै चहलपहल र विभाजन पनि आएको थियो । त्यो पनि मलाई याद हुँदैन थियो होला । खेतीपाती शुरु भएको बेला भएकोले दैनिक कामकाज र मेलापातमा समेत निकै असर पुर्‍याएको हुँदा याद भयो । गाउँका बुझ्ने र जान्ने भनाउँदा पुरुषहरुको बास घरमा एकछिन पनि नहुने । अनि वर्षायामको बेला घर, खेत सबैको बोझ जति आइमाइ केटाकेटीको थाप्लोमा । अनि कहाँ कहाँका मान्छेहरु आएर स्कूल स्कूलमा पनि नाचगान गर्थे भोट खसाल्नेबारेमा गीत गाउँदै । गाउँमा भने फलाना एमालेको पर्ममा हामी किन जाने, फलाना काँग्रेसको बारी खन्न र जोत्न हामी किन जाने भन्ने गर्थे । पूजाआजा तथा सामान्य रीतभातको बेला पनि त्यही भन्थे । चुनाव सकिएपछि पनि यो कुराले केही समय गाउँघर निकै बिथोल्यो । पछि विस्तारै सेलाउँदै गयो र फेरी स्थिति सामान्य हुँदै गयो ।

अहिले फेरी त्यही स्थिति छैन भन्न सक्दिन म । किनकी अहिले पनि धेरै ठाउँमा यो चुनाव अरु सबै भन्दा भिन्न र महत्वपूर्ण त भन्ने कुरा बुझ्न र बुझाउनै सकिएको छैन भन्ने मेरो ठम्याइ छ । जो राजनीतिमा चासो राख्दैनन् उनीहरुलाई बुझाउने कसरी र कस्को दायित्व ? भन्न त प्वाक्कै भनिन्छ हामी सबैको हो । म पनि त्यसै भन्छु । तर त्यो जाँगर र अभिप्राय बोकेर खट्‍ने मान्छे कति नै होलान् र ? धेरैजसोको भोट सामेल नभइकन चुनाव सकिन्छ होला, यदि चुनाव भइहालेछ भने । नत्र त के के हुन्छ कुन्नी ? कसैलाई थाहा छैन सायद । नेपालको धेरैजसो युवा जनशक्ति अर्काको मुलुकमा, ६१ सालमा भोट लिस्ट बनाउँदा उमेर नपुगेका कति छुटेका छन् । कतिपय पढ्‍ने र कामको चक्करमा चोकेमा झुण्डिएकाहरु होलान् (जो भोट हाल्न गाउँ जान पनि सक्छन्‍, नजान पनि सक्छन्), अनि अर्को राजनीतिप्रति भुत्लो भाङ चासो नराख्नेहरु पनि कति छन् ।

एकचोटि मात्रै आउने यो मौका त हो । र, उलटपुलट उथलपुथल पनि हुन्छ होला । तर लाटा सोझा बोल्ने, मरे भनिएकाहरु जुरुक जुरुक उठ्‌ने चाहिँ कुन्नी है ।