Tuesday, November 11, 2008

सित्तन ! कफी गफको

यसो नियालेर ल्याउँदा कुटीभित्र पकाईतुल्याई नगरेको पनि धेरै दिन भएछ। खाली गफैगफ मात्रै गरिएछ। आज केही त बनाउँनै पर्यो। एकदम सजिलो अनि च्वाट्ट स्वादको अचार बनाउने मन थियो पहिलेदेखि। आज अल्छी पनि अलिअलि लागेको छ। यस्तो बेलामा छिटो छरिटो तर जिब्रोमा झुण्डिने स्वाद तयार पार्नुपर्यो। Hmm.. त्यसको लागि के को अचार बनाउँ त? अँ, आज रुख टमाटरको अचार बनाउनुपर्यो। जुन मलाई असाध्यै मन पर्छ। र म प्राय बनाउने पनि गर्छु। फेरी पनि यहाँ बनाउँदैछु।

* त्यसको लागि एउटा रुख टमाटर लिने।
* त्यसलाई पोल्नुस् या बफाउने (ताकि त्यसको बोक्रा मजाले उछिल्न सकियोस्)। अनि टमाटरको बोक्रा उछिल्ने।
* तीन बीरा लसुन या तीन-चार ओटा टिम्बुर लिने।
* स्वाद अनुसारको नून र खूर्सानी लिने।

नून, खुर्सानी, लसुन या टिम्बुरलाई पहिला सिलौटामा पिस्ने। त्यसपछि उछिलेको टमाटरलाई राखेर पिस्ने। बस अचार तयार भो। अब यसलाई के सँग खाने? अचार मत्तै खाएर त के मजा आउनु र ! अब के सँग खानु त भन्ने पनि सोच्नु पर्यो। हुन त खानासँग खाँदा नि च्वाँक हुन्छ। तर आज त्यसो नगरु क्यार।

त्यो फ्रेन्च फ्राइ भन्छन् नि धेरैले क्या- आलुलाई चारपाटे आकारमा लामो लामो औँलाझैँ काटेर तेलमा तारेको। त्यसैसँग खाँदा त बढिया हुन्छ नि। त्यसैले अब त्यो बनाउने पनि थोरै जाँगर निकाल्नु पर्यो। त्यसको लागि पहिला आलुको बोक्रा तास्ने। अनि त्यसलाई चारपाटे लामो आकारमा काट्ने। काटेको आलुलाई नुन र पानीमा राखेर उमाल्ने। एकैछिन उमालेपछि त्यसलाई सुख्खा पार्ने। सुख्खा भएपछि तेलमा तार्दै निकाल्ने। बस्, पाकिगो यो फ्रेन्स फ्राइ भन्ने चीज पनि। (हुन त नउमालीकन सिधै तेलमा फ्राइ गर्दानि हुन्छ। तर त्यसो गर्दा धेरै चिल्लो हुन्छ। तारेर सुख्खा पारेर फ्राइ गरेमा चिल्लो कम हुन्छ र आलु तारेको तेल पनि सफा रहन्छ। जसलाई पुन प्रयोग गर्न सकिन्छ।)

अब फ्रेन्च फ्राइ र अचार अगाडी राख्ने, अचारमा फ्रेन्च फ्राइ चोप्दै मजा लिई लिईकन खाने। अलिअलि जाडो पलाएको छ त्यसैले एक-एक कप कफी पनि हात हातैमा लिउँ। अनि साथीहरुसँग गफ (जस्तै ब्लगर मित्र उजेलीजीको गफगाफ नै Add गरी दिउँ न, कि कसो हो?) गर्दै केहीबेर बिताइदिउँ। लौन साथीहरुलाई सोध्न त झण्डै बिर्सेछु पो मैले। छुट्टिनु अघि सोध्नै पर्यो- कस्तो लाग्यो त सित्तनसहितको कफी गफ? हुन त, 'गफै त भएन अनि कस्तो भयो भन्नु खै' भन्नुहोला। अब गफ पैदा गर्ने काम चाहीँ आफैले म्यानेज गर्ने है त।

8 comments:

Yumesh Pulami said...

कैलाश जी संग मैले भनेको थिए नि -लास्ट वीक म नेक्स्ट वीक नै भएपनि तपाइको ब्लगको खुराक पढउला भनेर -चाट मा ।
.......पर्खेर बसेको मानिशलाइ -राम्रो र चोटिलो खाजा पो दिनु भो त!
मलाई बनाउन नआऐ पनी खान चाहि साह्रै मनपर्छ ।
ल न त संगै बसेर -काफ़ीको चुस्की संगै गफ गरौन त !

narendra said...

o ho kailash jee,
pakau na ma pani ramro hunuhudo rahe6 ni.gajab lagyo.

Aakar said...

खै, मैले रुख टमाटर भनेकै बुझिँन ।
मलाई त बनाउन अल्छि लागेर आयो, बनेको भेट्टाए त, खाइहालौँ लागेको छ ।

कैलाश said...

लौ आकार जी के पो गरु? खै अब त्यसको अँग्रेजी नाम मलाई थाहा भएन। त्यस्तै हुन्छ होला भनेर मैले त्यसको तस्बीर पनि सँगै दिएकै छु नि। त्यही तस्बीर हेरेर त्यही रहेछ भन्ने बुझ्नुस अहिलेलाई चाहि।

Basanta said...

मुखै रसाएर आयो। यस्तो अन्याय त गर्दिनु भएन नि यार:)

Unknown said...

निक्कै सिपालु हुनुहुन्छ तपाईँ पकाउन तुल्याउन भन्ने त पहिले नै थाहा भएको हो , यो रुख टमाटरको अचारपनि निक्कै स्वादिष्ट पस्किनुभएको हो । वसन्तजीले भन्नुभए झैं मुख रसाएर आयो साँच्चै । अनि आकारजी , रुख टमाटर भनेको साँच्चै नबुझ्नु भएको हो र ? बुझ्न झ्याउ लाग्दैन भने परिचय यस्मा छ है - http://www.hort.purdue.edu/newcrop/morton/tree_tomato.html#Description

कैलाश said...

ओहो दीपकजीले मेरो र आकारजीको उल्झनलाई सुल्झाइदिनुभो त्यसको लागि धन्यवाद। अनि बसन्तजीले भनेझैँ अन्याय त गरेको छुईन है। झन् Tips पो दिदैछु त्यो पनि लोभलाग्दो र जागरिलो पारामा कि कसो हो?

Anonymous said...

कैलाश जि !
खुब मिठो सँग खुबाउनु भो ! धेरै धेरै धन्यवाद है ।
पालो को पैचो भन्छ्न , तपाईंले खुबाउनु भो , अब म पनि खुबाउछु तपाईं लाई ।
--------------------------------------
म काममा बिजी भएकी भन्ने कि कहिले काही खुब अल्छि भन्ने ! खोइ के भन्ने के ! हो त्यस्तो भएको बेलामा " रातात्युइ " भन्ने बेल्जियम को खाना बनाउन खुब मन पराउछु । किन थाहा छ कैलाश जि ? सबै एउटै भाडो मा पाक्छ :)
अब कसरी बनाउने भन्नुस् न ? लौ सुन्नुस् ! तपाईंलाई मन पर्ने मासु या माछा लिनुस् । अब कती भन्नु हुन्छ भने त्यो चाँही तपाईं जती खानु हुन्छ त्यती नै मात्रामा अर्थात २०० ग्राम - ५०० ग्राम । ओलिभ तेल मा फु चे प्याज ( सानो खाल को प्याज - यस्को स्बाद ठुलो प्याज भन्दा मिठो हुन्छ ) मसिनो तुक्रा गरी कातेर हल्का फ्राइ गर्नुस् - अब मासु या माछा राम्रै सँग फराइ गर्नुस् - त्यस पछी त्यसइमा आलु - फर्सी - ठुलो खुर्सानी - गाजर - गोल्भेदा - भिजाएको च् ना - राख्नुस् । आराम ले मन्द तापामा खुब समय लगाएर पकाउनुस् । पाकी सके पछी खानु भन्दा अघी ( थाल मा पस्कनु भन्दा अघी ) धनीया या अन्य कुनै पनि किसिमको हरियो या सुकेको मसलादार झार पात ( झार पात भनेर यहाँ मैले खाने झार जन्य बस्तु को कुरा गरेकी छु ) माथि बाट चर्कनुस् - छर्कनुस् ।
रातात्युइ तयार भो !
यस्तो खाना मजाले फ्रिज मा राखी २-३ पटक खान सक्नु हुन्छ ( कुनै बेला समय अभाब हुँदा यस्तो खान सजिलो हुन्छ । सजिलो मात्रै होइन मिठो पनि हुन्छ । फुर्सद मा एक दिन बनाएर खानु स है :)