Friday, February 06, 2009

गोरखा जेल ब्रेकको संस्मरण पढेपछि

१२८ पृष्ठको एउटा किताब पढिसके हिजै राती। पढ्न शुरु गरेको त लगभग हप्तादिन भयो। ब्लगमा के चाहि ठेल्ने होला भन्ने सोचले पनि पिरोलिरहेको थियो। यसो विचार गर्दा यसैलाई ठेल्ने निधो गरे मैले।

'बन्द पर्खालदेखि खुला आकाशसम्म' नामक उक्त किताब २०५७ चैत १७ गतेका दिन गोर्खा जेल ब्रेक गर्ने ६ जना क्रान्तिकारी महिलामध्येकी नेतृत्व प्रदान गर्ने उमा भुजेल (क. शिलु)द्वारा लेखिएको हो। २०६३ मा पहिलोपल्ट प्रकाशन भएको उक्त पुस्तकमा समेटिएको अधिकांश कुरा धेरैको लागि नयाँ कुरा नहुन सक्छ। क्रान्तिकारी खेमाका या त्यसप्रति चासो राख्नेहरुसँग त यसबारेमा अझ शिरपुच्छारसम्मको नालीबेली थाहा होला। हुन त जेलब्रेक गरेको समयदेखि नै यसबारेमा विभिन्न ढंगले चर्चा परिचर्चा हुँदै आइरहेको विषय हो। हुन पनि माओवादी सशस्त्र जनयुद्धको दौरानमा क्रान्तिकारी युवा महिलाहरुले देखाएको साहस र प्राप्त गरेको सफलता नेपालको सन्दर्भमा मात्रै नभएर विश्वक्रान्तिकै इतिहासमा उदाहरणीय काम भएको र विशेष महत्व बोकेको पुस्तकको मन्तव्यमै (क‌. प्रचण्डद्वारा)उल्लेख गरिएको छ।

२०५२ फागुन १ गते नेकपा माओवादीले जनयुद्धको घोषणा गरेकै समयदेखि भूमिगत भइ पार्टीमा सक्रिय रहेकी उमाले आफू गिरफ्तारीमा परेदेखि जेलजीवनबाट मुक्त हुँदासम्मको घटना र अवस्थालाई क्रमैसँग शब्दमा उनेकी छिन्। २०५६ कार्तिक १३ गतेका दिन उनी गिरफ्तारीमा परिन्। त्यसपछि उनीद्वारा आवश्यक जानकारी र सूचना फुत्काउँने हत्कण्डा अपनाउदै कहिले कहाँ कहिले कोद्वारा सोधपुछ तथा शारिरीक र मानसिक यातनाको क्रम शुरु हुन्छ। २०५६ पुस २२ र २५ मा अदालतमा पेश गरिन्छ। विभिन्न आक्रमणमा संलग्न रहेको पुष्टि गर्न र स्वीकार्न लगाउन त्यसो गरिएको थियो। उनीमाथि लगाइएको अभियोग सही भएपनि ठाडै अस्वीकार गर्दै उनी बचिन्। र माघ १८ मा तारिखमा धाउने गरी अदालतले छाड्यो। तर त्यही दिन उनलाई पुनः गिरफ्तार गरियो। र माघ २५ मा उनलाई जेल चलान गरियो। त्यसपश्चात गोर्खा जेलभित्रको दिनचर्या शुरु हुन्छ।

जेलबाट बाहिर निस्केर सशरिर क्रान्तिमा सहभागिता जनाउँने भित्री चाहनाले पटक पटक जेल बाहिर निस्किने उपाय अपनाउँछन् उनी लगायत ५ जना क्रान्तिकारी महिला बन्दीहरु। ती उपायहरु सफल नभइसकेपछि सामूहिक छलफल, विचार विमर्शपश्चात सुरुङ निर्माण गर्ने निष्कर्षमा पुग्छन्- उमा भुजेल, कमला नहर्की, सञ्जु अर्याल, मीना मरहठ्ठा र रीता विक। सुरुङ निर्माणको मध्यतिर अर्का क्रान्तिकारी महिला थपिन्छिन्- एञ्जिला विक। त्यसपश्चात उनीसहित ६ जनाको संयुक्त प्रयास र साहसले अन्तत उनीहरु आफ्नो उद्देश्यमा सफल हुन्छन्। र क्रान्तिको यात्रामा ऐतिहासिक रुपमा सह्रानीय कदम चालेर सफलताको श्रेय लिने हैसियत कायम गर्छन्। क्रान्तिकारी महिलाका पक्षमा एउटा महत्वपूर्ण इतिहास रच्न सफल हुन्छन्।

जेल र जेलभित्रको विभत्स अवस्था, अमानविय र कुटिल व्यवहारको बारेमा विभिन्न पत्रपत्रिकाहरुमा पढ्न पाइने जानकारी, विभिन्न दस्तावेज र प्रतिवेदनहरु र जेलजीवन काटेर बाहिर आएका केही व्यक्तिहरुको भनाई, भोगाई र संस्मरणात्मक लेखाईकै भरमा मैले जेलजीवनलाई बुझेको हुँ। खोजतलास नगरीकन सहजै उपलब्ध हुने धेरैजसो सामग्रीहरुमार्फत जेलजीवन र जेलको अवस्था पढ्दा धेरै नै कहाली लाग्थ्यो मलाई। खासगरीकन जनयुद्धको सेरोफेरोको सन्दर्भमा क्रूरता र अमानवीयताको चरम चुली नाघेको पाउँथे। जुनसुकै अभियोगमा जेल पसेपनि स्वत शारिरीक र मानसिक यातनाको भागीदार भएकै सुनिन्थ्यो। पढिन्थ्यो। जीतमान बस्नेतको 'अँध्यारा २५८ दिनहरु' नामक पुस्तकमा उनलाई दिइएको बर्बर यातना पढ्दा आङै सिरिङ्ग भएर कैयौ दिन म तनाबमा परेको थिए (हुन त उनी जनयुद्धका सशस्त्र क्रान्तिकारी थिएनन्। र यी दुबै फरक अवस्थाका र फरक ठाउँका जेल बसाईका संस्मरण हुन्। जेल जीवनको कुराको सन्दर्भमा मात्रै दुबैलाई सम्झेको हुँ)।

यो संस्मरणमा अमानवीय व्यवहार र जेलभित्रको असजिला पक्षाहरुको चित्रण भेटिन्छ। तर अन्य बन्दीहरु भन्दा धेरै हिसाबले फरक, अनुभवी र चनाखोपनकै कारणले हुनसक्छ आफ्नो अनुकूल वातावरण निर्माण गरेका कुरा, एकआपसबीचको एकताको कुरा, आपसी तालमेलको कुरा, वैचारिक क्षमताका आधारमा धेरै कुराहरुमा अनूकलता ल्याइएको कुरा बढीमात्रामा यस संस्मरणमा भैटिनु स्वभाविकै देखिन्छ। उद्देश्य प्राप्तिको लागि अरुका लागि झिनामसिना लाग्ने कुराहरुमा पनि होशियार बन्दै विभिन्न स्वभावको आडमा सामुन्ने उभिएको व्यक्तिको आँखै अगाडी आफ्नो भित्री उद्देश्यमा लगातार लम्कीरहन्छन् उनीहरु। कहिले अवला नारीको रुपमा, कहिले क्रान्तिकारीको रुपमा, कहिले मायालु दिदीबहिनीको रुपमा आफूलाई ढाल्दै सँगैको व्यक्तिलाई समेत आफ्नो गुदी कुरा फुत्काउँनबाट जोगिन्छन् उनीहरु। जेलमा पर्याप्त स्रोत साधनको अभाव हुनु नयाँ कुरा हैन। तर तरिका पुर्याएर ती स्रोत साधनप्रति पहुँच राख्न सक्नु र भरपूर उपयोग गर्ने क्षमता हुँदा, वैचारिक र शारिरिक शक्ति कम हुन नदिइकन सही संयोजन गर्दा उनीहरुले जेल ब्रेक गर्न सकेको प्रष्ट छ।

शुरुमै उमाले स्वीकारेकी छिन्- "जीवनमा लेखन क्षेत्रमा कहिल्यै हात नहालेको मेरो लागि यो पुस्तक लेख्नु सुरुङ खन्दाजत्तिकै अप्ठ्यारो महसुस भयो। लामो समय बितिसकेकाले जेल बसाई र जेल तोड्ने क्रममा भएगिरएका सम्पूर्ण विषयवस्तुलाई जस्ताको तस्तै सजीव रुपमा प्रस्तुत गर्न त अवश्य सकिएको छैन। जेल ब्रेकका सहयोद्धा क. कमला नहर्कीलगायतका कमरेडहरुसँग सल्लाह गर्न पाएको भए विषायहरु अलि व्यवस्थित हुने थिए होला"। त्यसैको धरातलमा उभिएर एउटा साधारण पाठकको हैसियतले उनको लेखनीलाई पढ्दा मैले भन्नैपर्ने कुरा खासै छैन। नेपालका क्रान्तिकारी महिलाका यस कदमबारे पढेपछि क्रान्तिकारीका जेलजीवनबारेको एक अंशको बारेमा थोरबहुत जानकारी मिल्यो। र, आत्मबल, निडरताकासाथ हिम्मत नहारीकन दृढतापूर्वक आफ्नो काममा लागि पर्नु नै सफलतातिर उन्मुख हुनु हो भन्ने लाग्यो। जीवनमा जति दुःख कष्टहरुसँग जुध्यो, जति पीडा र व्यथासँग साक्षात्कार भयो, जति धेरै जडिलतासँग घूलमेल भयो त्यत्ति नै मात्रामा क्रमिक रुपमा आत्मविश्वास र निडरता पलाउँदै जाँदो रहेछ र जीवनको हरेक आपतविपतमा पनि डर कम हुन्छ भन्ने लाग्थ्यो मलाई। यो संस्मरण पढेपछि यो कुराप्रति थप विश्वास पलायो। क्रान्तिकारीता र उद्देश्यतर्फ उन्मुख हुँदाको यो कदम साँच्चिनै मलाई मननयोग्य लाग्यो।

6 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

असल मसला युक्त खजना । प्रसंशा योग्य कुराको प्रस्तुती ।
निचोड सहित को तपाईको विचार पनी उचित छ -
"जति धेरै जडिलतासँग घूलमेल भयो त्यत्ति नै मात्रामा क्रमिक रुपमा आत्मविश्वास र निडरता पलाउँदै जाँदो रहेछ र जीवनको हरेक आपतविपतमा पनि डर कम हुन्छ "

Dilip Acharya said...

त्यो 'जेल-ब्रेक' याने मुख्य रुपमा सुरुङ कसरी खनीएको रहेछ र कसरी सुरुङ खन्दा पनि कसैलाई थाहा हुन सकेन भन्ने कुराको जिज्ञासा भने बाँकि नै रह्‍यो । त्यस बारेमा अलिकता लेखिदिनु भएको भए हामीजस्तो किताब हातमा नपरेकालाई पनि अलिकता जानकारी हुन्थ्यो नि !।

badri said...

यो लेख पड्दा केही भएपनी किताब नै पढेजस्तो लाग्यो

कैलाश said...

दीलिपजी 'जेल ब्रेक' नामक अर्को पुस्तक पनि म पढ्दैछु। पढि सकेपछि सुरुङ खनिएको नालीबेलीबारे फेरी ठेल्ने सोचमा छु।

दीपक जडित said...

ए ! ल ल , म चैं अनिमात्रै कमेण्ट ठेलुँला । हे हे

tara said...

हो त तेसै गर्नु पर्ला, अब म त बिदेश तिरै हराएर बसेको मान्छे किताब त पढ्नै पर्ने जस्तो लाग्यो तर हामीले एसो चाहेको बेला झट्त कहाबाट पाउनु तेसैले कृपया कष्ट गरिदिनु होला है दिज्यु। अब एसलाई तपाईंको हिसाब मा कष्ट नहोला कि तपाईंको काम नै लेख्ने होइन र ? हुनत लेख्न नि सजिलो कार्य त होइन है सबै काम अाफ्नो ठाउमा उतिकै गहरो र उस्तै बिशेषता बोकेका हुन्छन है। अझ तपाईंले त उक्त किताब पुरै पेज ठेल्ने त होइन होला, पक्कै छानबिन केलकाल र निफन नाफन गर्दै कती गाहारो हुने हो ? हामीलाई यहाँ पढ्न त सजिलो पो छ त। जेहोस् पुस्तकको बारेमा हामी माझ पनि share गर्न तम्सिने तपाईंको साहसलाई मुरी मुरी धन्यवाद।