Friday, January 30, 2009

ब्गलर मित्रहरुसँग अल्छी र दिक्कदारीको कुरा

टुप्लुक्क साहित्य संसारका दीपकजी अनलाईन देखिनुभो। केहीबेर उहाँलाई नबोलाईकन बसे। मनले धरै दिएन। 'दीपकजीबाटै कामको शुरुआत गर् केटी' मनमनै आफैलाई आदेश दिँदै दीपकजीलाई कोट्याए- 'नमस्कार दीपकजी'। मेरो दिक्कपनले जन्माएको कदमको पहिलो शिकार बन्नुभो दीपकजी (क्या भाग्यमानी हगि म) मनमनै यस्तै सोच्दै गफिनतिर लागे। त्यसबेला उहाँले पोष्ट गर्नुभएको 'माथ्लो घरको ढिकी' भन्ने कथामा मलाई केही कुरा भन्न मन थियो। त्यहीबाट कुरा शुरु भयो। हाम्रो साक्षात्कार नभएपनि ब्लगिङमार्फतै चिनैकै आडमा म भन्दैछु- दीपकजी त साह्रै 'कूल' मान्छे (चिसिएको भनेको चाहिँ हैन है फेरी)। उहाँको दिमाग चाटेर दिक्क लगाउने सोच राख्नु नै व्यर्थ हो भन्ने मलाई थाहा थियो। त्यसैले म भाग्यमानी भए भनेको क्या। यहाँ अलिकति ब्रेक लिन्छु है- दीपकजीसँगको च्याटिङबाट।

मैले ब्लगिङ शुरुगरेयता एक खालको सम्बन्ध सञ्जाल बनेको छ केही ब्लगर साथीहरुसँग। सायद प्राय ब्लगरहरुमा यो कुरा लागू हुन्छ। ती सञ्जालमध्येबाट प्रायजसो च्याटिङमा भेट हुने केही ब्लगर मित्रहरुको दिमाग चाटेको थिए मैले, केहि दिन अघिपछिको फरकमा। मलाई एकदिन साह्रै दिक्क लागेको थियो। घरी दिमाग नै खाली खाली लाग्थ्यो। घरी थुप्रै कुराहरुले जकडेको जस्तै लाग्थ्यो। केही गर्न पनि मन नपरेको अनि जे गरेपनि चित्त बुझेको थिएन। अनि त्यही बेला सोचेजस्तो काम पनि नबनेको। लास्टै बोरिङ भइराथ्यो। भएभरको झ्याउँ जति मेरै दिमागमा उम्रेको झैँ क्या। त्यसलाई हटाउने ध्याउन्नमा दिमागमा एउटा कुराले क्लिक गर्यो- दिक्क लाग्दा ब्लगर साथीहरु के के गर्दा रहेछन्? दिमाग चाटेर ब्लगमा ठेल्दिने सोचको जन्म भयो। त्यसमा तीनदिनभित्र भेटिएकालाई सोधीहाल्ने निधो गरे। को को भेटिए त मेरो 'दिक्कदारी संवाद'को सेरोफेरोमा। भेटघाट गरौ है त सामुहिक रुपमै।

अर्को ब्लगर मित्रको दिमाग चाट्ने मौका जुर्यो- CaFe मंगलम्‌का जोतारे धाइबाजीसँग। जोसँग मेरो चिनजान ब्लगिङभन्दा अगावै भएको हो। तैपनि ब्लगिङले हामीबीच थप नजिकको साइनो गाँस्न टेवा दियो। उनी अनलाईन देखिनासाथ मैले च्याप्पै पक्रे- 'तपाईसँग केही कुरा सोध्नुपर्ने छ'। 'अप्ठ्यारो मान्नुपर्दैन' सजिलै अनुमति पाए। के के न सोध्न लाग्यो भन्ने भयो उहाँलाई। 'अल्छी लाग्यो भने तपाई के गर्नुहुन्छ नि?' अल्छी लाग्नु त मानव स्वभावै हो भन्ने मान्यतासँगै सबैलाई कुनै न कुनै बेला त अल्छी लागी नै हाल्छ भन्दै मैले सोझै प्रश्न फ्याँके। 'लौ!' आश्चर्यजनक उत्तरले मेरो अनुमान सही निस्क्यो। एकछिन उहाँको चालचुल देखिन।

'चुपचाप बस्छु, अल्छी कहिले जान्छ भनेर। या त टहलिन कतै निस्किन्छु' बल्ल बल्ल भेट्दा नि कस्तो बाहियात कुरा गरेको होला भन्ने मनगर्दै एकैछिन सोचेर भन्नुभयो उहाँले। 'कुनै काम नभएपछि बहानाबाजीको रुपमा पनि अल्छी लाग्दोहोला कि??' किन अल्छी लाग्दो हो भन्ने मेरो जिज्ञासामा भन्नुभो उहाँले। 'अनि दिक्क नि?', 'दिक्क? तपाईले यसरी नै के के सोधीराख्नु भयो भने लाग्छ... हा हा हा...' मलाई स्वाद पर्यो। किनकी मैले अपेक्षा गरेकै जबाफ आयो (मेरो हेराईमा इमान्दारिता पनि देख्छु यो शब्दमा)। फेरी दिक्क पार्ने मनसायले भने- 'के था यो तपाईको धैर्यताको परिक्षाको घडी पो हो कि?', 'के था, त्यो उदाहरण पनि तपाईको प्रश्नकै एउटा नमूना कसो नहोला?' ए बा उहाँले त ठ्याक्कै बुझेरै उत्तर दिनुभो। फेरी पनि मैले सोध्न छाडिन- 'टिप्स त दिनुस् न केही'

'धुम्धुम्ती बस्नु, अध्यात्मिक किताब पढनु, वा मन बहलाउन नजिकको रमाइलो ठाउँतिर जानु या मनमिल्ने साथीसँग कुरा गर्नु'। लौ जा दिक्क लाग्दा यत्तिका कुरामध्ये एउटा गर्दा त कसो केही न केही नहोला हगि? अनि दिक्क पनि भाग्न सक्ला? 'भाग्न सक्छ। ग्यारेण्टी त छैन। मान्छेपिच्छेको स्वभाव हुन्छ नि।' हो त नि। कसैलाई के ले छुन्छ। कसैलाई के ले। कसैलाई त्यसैले। कसैले अर्कैले। धाइवाजीको कुरोमा दम छ। त्यसो त एउटै मान्छेमा पनि यही कुरा लागू हुन्छ नि। सँधै एउटै कुरा गर्दा मात्रै पनि दिक्कपना नभाग्न सक्छ। धाइवाजीले पनि यही कुरा भन्नुभो। क्या गाह्रो कुरो हगि?

'तपाईसँग केही कुरा सोध्नुपर्नेछ भन्नुहुन्थ्यो। खास कुरा यही नै हो त? म त जिल्ल परे नि!' लौ खा त मैले दिमाग चाटेर अलमलमै पारेछु। म आफै हाँस्दै लेखे- 'हो नि त। अहिलेलाई मेरो लागि यहि कुरा थियो दिमागमा। अनि त'। क्या सजिलो कुरा। दिमागमा जे आयो त्यही सोधे मैले। के फरक पर्यो र। फेरी फेरी वार्ता जारी रहने कुरासँगै बिदा हुने कुरा गर्न थाल्नुभो धाइवाजीले। दिमाग चाट्नुको आशय खोल्दै थोरै संकेत दिए। नत्र फेरी दिक्क मानेरै बस्नुहोला भनेर पनि कुरा फुकाए (साथीहरुको दिमागमा दिक्कपन पैदा गरेर छाडेभने त म आफै दिक्क हुन्छु फेरी)। सटिक जवाफ दिनुभो 'सायद कुटीमार्फत नै!'। कुटीमार्फत नै दिमाग चाटेको कुरा बाहिर आउँछ भन्ने पनि सोच्न भ्याउनुभएछ। साह्रै जाती।

मेरो प्रश्नले झ्याउ उम्रेर गायब भएको हो कि भन्ने पारेरै अफलाइन हुनुभएको अर्का ब्लगर दाई हुनुहुन्छ- दुम्माली दाई। २ महिनापछि कसो कसो गर्दा अनलाईन भेटिनुभो। ब्लगिङ सुस्ताएको बारेमा उहाँले भन्नुभयो- '९०% भुँडी भर्ने ब्यस्ततामा बित्छ समय। १०% मा के के मात्रै गर्नु' अहो कस्तो खँदिलो क्यालकुलेसनयुक्त व्यस्त दिनचर्या। कुरै गर्न पनि मुश्किल। भएनि मैले अल्छिको कुरा कोट्याए। केहीबेरसम्म जवाफ आएन। त्यसपछि उहाँ अफलाईन हुनुभो। त्यही दिन पुनः अर्को पल्ट हाम्रो भेट भयो। फेरी मैले त्यही प्रश्नको तगारो लगाए। हालचालको प्रसंगमा त फ्याट्टै फ्याट्टै शब्दको लेनदेन भाको थियो। अल्छीको सन्दर्भमा भने दुबै पल्ट मौन रहनुभयो। के थाहा? मान्छेलाई कत्रो कत्रो काम फत्ते पार्ने चटारोमा यो कैलाश चाहिँ नानाभाँती कुरा सोध्दै बस्छ, भन्ने सोच्नु भयो कि त? या त लोडसेडिङको मायाजालमा फस्नुभयो कि?

ढेन्टेडेन.........।

अब दीपकजीको Cool अवस्थामा जाउँ। त्यस्तैउस्तै कुराकानीको बीचैमा मैले प्रश्न तेर्याए। उहाँले मजाले भन्नुभयो- 'म त You Tube मा छिर्छु, र कि त बिसमिल्लाह खानको सहनाई सुन्छु। कि चाहिँ गजलहरु सुन्छु' एकैछिनपछि मेरो स्क्रीनमा पुन ठेलेर पठाउनुहुन्छ- 'कि बासुरीका धुन, तबलाको धुन सुन्छु' अहो मधुर धुन र मधुर संगीतसहित अल्छीको सेलिब्रेसन। मलाई त्यो शब्द पढ्दैमा रमाइलो लाग्यो। फेरि कति मजाले खुरुखुरु जवाफ दिइहाल्नु भो। 'हुन त अल्छी लाग्यो भने जे गरेनि हुन्छ है'। दिक्क लागेको बेला भएनि मलाई रमाइलो लाग्दै थियो कुराकानी। अल्छी लाग्नु त उहाँको लागि सबैभन्दा सजिलो कुरा पो रहेछ बाबै। 'खासमा भन्ने हो भने अल्छी लाग्नु जत्तिको सजिलो केही हुँदैन क्या जिन्दगीमा। जे गरेनि भयो। अल्छी लागेकै त हो नि' लौ जा अल्छी जाबो त हो नि के फरक पर्यो र? जाबो अल्छी मार्ने सय उपाय भनेझैँ।

आफूले १६ घण्टे लोडसेडिङको मार खेपीरहेको बेला सबै विद्युतीय र नेटकै खुराकको कुरा गर्नुभो दीपकजीले। हत्त न पत्त भनिहाले- 'ती सब त विद्युतिय माध्यमबाट सञ्चालित हुन्छन्'। त्यसको जवाफमा अर्को कुरा फुत्कियो- 'गीत गाउने। म त्यो पनि गर्छु'। यति भनिसकेपछि मैले भने- 'ब्लगरहरुलाई अल्छी लाग्यो भने के के गर्दा रहेछन् भन्ने जान्न मन लाग्या थियो। तपाईबाटै शुरु गरिहालेछु बा'। 'हा हा हा' मजै मानेर हाँस्नुभो क्यारा दीपकजी (भलै त्यो देख्न असक्षम थिए म)। 'यो कैलाश भन्ने जन्तु पनि के के गरिहिड्छ' भन्ने सोच्नुभो सायद भन्ने पनि अनुमान लगाए मैले। उहाँ हाँसेको कल्पना गर्नासाथ मलाई दिक्कदारीको झ्याउपनाबारे कोट्याउने मन भयो। 'तर नि दीपकजी दिक्क लाग्नु र अल्छी लाग्नु अलि भिन्नै कुरो हैन र?'

'हो त' दिक्कपना र अल्छीपनाको फरक अवस्थालाई उहाँको दिमागले उहिल्यै मजाले खुट्टाइसकेछ। 'अल्छी लाग्दा त सजिलो पो हुन्छ। दिक्क लाग्यो भने चाहिँ अप्ठ्यारै हुन्छ' उहाँको झटपट उत्तरले यही बुझे। मलाई पनि ठ्याक्कै यस्तै लाग्छ। यहाँनेर आइपुगेपछि दीपकजी मेरो प्रश्नप्रति पुन सचेत बन्नुभो- 'तपाईले के पो सोध्नु भाथ्यो?' मैले दिक्क लाग्दाको कुरा सोधेको बताएपछि- 'मैले त अल्छीमा लगेर पो मिसाइदिएछु'। उहाँको यो कुरा पढेपछि पो म झसंग भए र टाइप गरे- 'ए ला! बा तपाई निकै ब्यस्त पो हुनुहुन्थ्यो कि? मैले भुसुक्कै पारे क्यारा'।

'दिक्क लाग्दा त अल्छी लागेको हुँदैन नि। मनपर्ने खानेकुरा बनाएर खाने नि, चट्ट अमिलो-पिरो-नुनिलो-गुलियो सब मिलाएर। पिरोले कानको जरी नै तताउने पारे नि हुन्छ' लु खा अल्छी लाग्दा पो काम गर्न जाँगर चल्दैन त। दिक्क लाग्दा त चल्छ नि। त्यसैले दीपकजीको यो टिप्स पनि लागू हुन्छ नि धेरैलाई। उहाँको कुराले मलाई नि हाँस उठ्यो र हाँसे- 'हे हे हे'। बिजुली जाने बेला भयो। मलाई अरु कुरा नि सोध्नु मन थियो दीपकजीसँग। तर बाध्यता। जाहेर गरे- 'ला दिपकजी बिजुली जान लाग्यो १ मिनेट समय मात्र बाँकी भो'। बाँकी रहेको समयको भरपूर उपयोग गर्दै मैले दीपकजीसँग मेरो आशय बताए। उहाँले भन्नुभो- 'मैले लख काटीसके एकछिन अगाडि', 'क्या बाठो बाई, तपाई त' भनीहालु जस्तो।

अर्को दिन भोजपुरे ब्लगका बिजे बान्तावा भेटे। हरियो बत्तीमा पिल्पिलाउँदै गरेका। उहाँसँग पनि ब्लगिङले नै नाता जोडेको हो। संयोगबस उहाँ र म एउटै गाविसका र एउटै स्कूलमा १२/१३ वर्ष पहिले पढेका रहेछौ। उहाँलाई पनि अठ्ठाए उसैगरी। क्या संयोग, अल्छी र दिक्कपना दुबैको पोखरीमा चुर्लुम्म डुबेर बसीराख्नु भएको रहेछ। मेरो प्रश्न झर्न नपाउँदै भन्नुभो- 'धेरै नै लाग्छ। अनि चुपचाप बस्छु। मौन रहन्छु' अल्छीले उहाँको त हातै लाग्दैन रे। केही नै गर्न मन लाग्दैन रे। लु खा। उहाँको च्याटिङको वेग हेर्दा नि त्यो त प्रष्टै थियो। कहिले झटपट जवाफ लेखीहाल्ने। कहिले थुप्रै समय कुराउँने। मैले झक्झकाइन भने त हरियो बत्ति बालेर मौनधारण नै गर्ने। सायद अल्छी भगाउँने तरकीपको खोजीमै हुनुहुन्थ्यो कि। निकैबेरपछि मलाई नै सोध्नुभयो- 'के पो गर्नु हौ बैनी? तपाई नै भन्नु न' मैले दिएको सल्लाहले पनि उहाँलाई कही लगेन। 'किन-किन अल्छी पनि अनि दिक्क पनि सँगै लागेर आउँछ कहिलेकाही' दिक्दारी पारामा नाक खुम्चाएकै गन्ध आयो। अहो च्याउँ-झ्याउँ सँगै पलाएछ। दिपकजीले भनेको 'सजिलो अल्छीपना' बिजेजीको लागि साह्रै असजिलो मोडमा पो पुगेको बेला परेछ। त्यसमाथि दिक्कदारीपनाले समेत घर्लप्पै छोपेको छ। बब्बालै दिक्क लागेको हो कि क्या हो भन्ने मेरो सोधाईले दिक्कपनाको जालोबाट फुत्किएझैँगरी भन्नुभो- 'अब के अपडेट हुनेवाला छ?', 'त्यही सामाग्री त जोड्दैछु नि म'। 'ए हो, ल ल। स्वादिलो लिएर आउनु है' दिक्कपना भाग्नेखालको है भन्ने मनसाय राख्दै फेरी ठेल्नुभो- 'सरी है झ्याउँ कुराको लागि'। झ्याउ लागेको बेला भएनि सरी भन्ने जाँगर चाहिँ कहाँबाट आएछ त? म हाँस्दै थिए यस्तै सोचेर। उहाँ बिलाउनुभो आफ्नै दुनियाँमा। थाहा छैन उहाँलाई कत्तिको स्वादिलो लाग्ने हो यो पोष्ट।

Hm....के बाँकी रह्यो? अँ। म के गर्छु अल्छी लाग्यो भने? गीत सुन्दै मजाले लमतन्न परेर सुत्छु। पूरै शरिरलाई कहि कतै पनि कुनै खालको जोर नदिईकन स्वतन्त्र छाडिदिन्छु। दिमागलाई गीतमै केन्द्रित गर्छु। बिस्तारै अल्छी हट्दै जान्छ। अनि बज्दै गरेको गीतमा स्वर खाप्न थाल्छु। धेरथोर समय खर्चेर अल्छी मर्यो भने उठेर गीतको धुनमा हल्लिन थाल्छु। बस्। अनि दिक्क लाग्यो भने चाहिँ अलिक गाह्रै पर्छ। दीपकजीले भनेझैँ। दिक्दारीपनलाई फकाउन म अनेकै गर्छु। दिक्क लाग्नुको कारण र वरपरको वातावरणअनुसार म थुप्रै कुरा गर्छु। हेर्न मन परेको फिल्म या डकुमेन्ट्री खोजेर हेर्छु। कुनै साथीसँग घुम्न निस्किन्छु। कुनै पाचके गफ (जे पायो त्यही खालको)मा भुलिन्छु। विभिन्न खालको गीत सुन्छु। डायरी लेख्छु मनमा जे आयो त्यहीबारेमा। लेखीसकेपछि मन परेन भने च्यातिदिन्छु। साथी या आफन्तसँग सल्लाह मिलाएर कुनै परिकार बनाएर खान्छु। भएभरको कपडा निकालेर आफ्नो ज्यानलाई प्रयोगशाला बनाउँछु। यी सबै चाहिँ मेरो निर्णयको अनुकूल वातावरणमा हुने कुरा भए। यदि त्यसो नहुने भएमा जे गर्नुपर्ने हो त्यही काम जबर्जस्ती आफैलाई पेलेरै गरिरहन्छु। गरिरहन्छु। गरीरहेकै कामबाट छुटकारा नपाएर दिक्क लागेको भन्ने नलागुञ्जेल गरिरहन्छु। त्यसो लाग्न थालेपछि त्यो कामबाट छुटकारा पाउनासाथ दिक्दारीपना धेरै कम हुन्छ। अनि अरु त्यस्तै उस्तै कुराले थपथाप पेलिदिने। बस्। आखिर दिक्क पनि आफ्नै हो। अल्छी पनि आफ्नै हो। लाग्छ। हट्छ।

नोटः यो टाँसो तयार पार्ने क्रममा अप्रिय या झिँझट लागेको पनि हुनसक्छ साथीहरुलाई। त्यसो भएको भए माफ गर्नुहोला। यहाँ समेटिनुभएका ब्लगर मित्रहरुलाई धन्यवाद। अझ धेरै ब्लगर मित्रहरुको कुरा राख्ने मन हुँदाहुँदै पनि त्यतातिर गईन। एक, ब्लगर मित्रहरु सबै व्यस्त हुनुहुन्छ। दुई, नाई नाई भन्दाभन्दै भएभरको सबै खाई भनेझैँ मेरो लेखाईको डोरी असाध्यै तन्किने। त्यसै त यत्तिका विधि लामो भो। पढ्नेलाई अल्छी मात्रै हैन दिक्कदेखि पनि महादिक्क लाग्न सक्छ। यस्तै खालका अरु टाँसो राख्ने नराख्ने बारेमा तपाई मित्रहरुकै विचारले निर्धारण गर्नेछ।

14 comments:

B.J. Dummali said...

मलाई मात्र अल्छि लाग्छ भनेको त, होइन सबै साथीलाई नै लाग्दो रहेछ, कैलाश बहिनीले यो चट्ट नुन, तेल, मसला अनि खोर्सानी मिलाएर तयार पार्नु भएको यो परिकार पहिला पढ्न पाउँदा अल्छि टाढा भएर भाग्यो। यो एउटा लेखाई मात्र नभै कैलाश बहिनीले दिएको सन्देश हो किनकि हामि अल्छि ले भौतारिरहेको बेला उहाँलाई अल्छि नलागी यसरी लेख्नु उहाँले दिनु भएको सन्देस हो हामिलाई।

म यो लेखको लागि धेरै धेरै धन्यबाद दिदैं फेरि फेरि पनि लेख्न नभुल्नु होला।

बि. जे. बान्तवा / भोजपुर said...

म अल्छि मान्दै नेटमा आको थिएँ, टुप्लुक्क थुप्रै ब्लगर साथीहरु लाइनमा भेंटे अनि ब्लग कै कुरामा अल्छि लाग्दै बहिनी कैलाश सँग लामो कुरा भयो, भन्दा पनि बहिनिले हामी गफगाफ गरेको समेत अल्छि नमानी प्रकाशन मा ल्याएर चकित बनाईदिनु भयो । साँच्चै भन्नु पर्दा बहिनी ले जहिले पनि नुन तेल मसला ले चट्ट परेको परिकार तयार पार्नु हुन्छ । जहिले पनि एकपल्ट छिर्ने गर्छु भोजपुरे ब्लग अप्डेट गर्दा । आज पनि यस्तै साईत जुर्‍यो, लहै बहिनी धन्यवाद जहिले पनि यसरी नै इस्वरले जोस् र जाँगर पैदा गराओस, यहीं कामना गर्दै बिदा लिन्छु अर्को अप्डेट हेर्न छिर्नेछु, त्यतिन्जेलको लागि जदौ ।
उहि बि जे बान्तवा भोजपुरे ब्लग

बेदनाथ पुलामी ( उमेश ) said...

हैन , कैलाश जी - अल्छि लागेको कुरा भन्नु हुन्छ अनि कसरी यतिका चाख्लाग्दा कुराहरु जागर चलाएर नै पोस्ट गर्नुहुन्छ ? यो त जागर को कुरो'भो नि ! प्रसंग मात्रै अल्छि को कतै बल्छी त थाप'या होइन ? जेहोस अल्छिको कुरो अल्छि नमानिकन गर्नु भएको रहेछ ।

मैले हिजो मात्र फेस बुक मा - "आज शुक्रबार छुट्टिका दिन कसरी बिताउने हो कुनि ? योजना नै छैन" भनेर आफ्नो स्टाटसमा लेखेको थिए ब्लगर मित्र जोतारे धाइबाजी ले राम्रो पुस्तक पढेर शेयर गर्नु न भन्नु भएको रहेछ - त्यसो गर्न सकिएन अल्छि न परे सुतिएछ मज्जाले , अनि तपाईको अफ़लाइन मेसेज पनि हेरे उठेर । पकै आज केही गर्नु भयो होला भनेर ब्लग खोलिहेरेको त त्यहा पनी अल्छिकै कुरा उठाउनु भएको रहेछ । म त मलाई मात्र .....होला भनेको त !सबैलाई उस्तै ...सास्ती । अल्छि नभएको देखाउन यत्रो लामो जात्रा लेखे है , सरी है ।



यस्तै खालका अरु टाँसो राख्ने की नराख्ने ? भनेर सोध्नु भए को रहेछ के हो आफ्ना मीठा गफहरु सुनाउने मन छैन की क्या हो ? वास्तविकता र यथार्थ लेख्न माहिर हुनुहूनछ तपाई - लेख्दै जानुस । धन्यवाद !

सिकारु said...

वास्तवमा भन्नु पर्दा आल्छि पना बाटै ग्रसित भएर जागरको भकारि खोज्दै हिडने क्रममा साथिहरुको ब्लगको ढोका नै मेरो लागि आल्छिपनाको ओषधि हुने गर्दछ । जागरले थकाई नमारे प्रतिकृया पनि लेख्ने नभए पढेरै भएपनि छोडने ।
आजपनि त्यसैको उपचार गराउने क्रममा यसो कैलासजीको कुटिमा चियाउने प्रयास गरे । तर प्रसंगले बिल्कुलै नयाँ स्फुर्ति जनायो ।
अल्छिपनाको ग्रसित् स्थितिलाई पनि कैलाशजीले कस्तो जागरिलो स्वादमा पस्कनुभएको । स्वाद मानि मानि खाइयो ।अनि मनमनै आफुलाई पनि यसरि भलाकुसारि गर्ने दिन कहिले जुर्ने होला भन्ने बेगले पनि तान्न लाग्यो । सोचे जुर्ला नि कुनै दिन।

ल कैलाश् जी मिठो पोस्टको लागि धन्यबाद ।

दीपक जडित said...

कुटीमा अल्छी र दिग्दारीको कुरा आउँछ भन्ने थाहा भै सकेकोले होला र टाँसोको पात्र पनि भईएको छ भनेर समेत थाहा भै सकेकोले होला टाँसोको बारेमा प्रतिक्रिया लेख्न पो अलमल्ल परिएछ । जे होस् प्रस्तुतीमा नविनता दिनुभयो - पढ्दा आफैंलाई देखेपनि रमाईलो लाग्यो ।

वसन्त said...

कैलाश दिदिले अल्छिपना र दिक्दारीपना कसरी हटाउने गर्नुहुन्छ भनेर लेख्नुभएछ । उहाँ अल्छिपन भगाउन पो ब्लगीङ गर्नु हुन्छ भन्ने लाग्यो मलाइ त,तर यो कुरा भने लेख्न छुटाउनु भएछ । म नयाँ भएर हो कि ब्लगको मर्म नबुझेर या अलि साहित्यीक भाषा नबुझेर हो पढ्नु अगाडि जाँगर थियो पढिसकेपछि पो दिक्दारीले छोप्न खोज्यो मलाइ त

sangamkirati said...

सबैको आ-आफ्नै बिचार र परिकल्पनाहरु पड्न पाईयो।अनि को-कस्ले के गर्नु हुदो रहेछ अल्छि लागेको बेलामा भन्ने पनि मजाले पड्न पाईयो।अब आफ्नो बारे भन्नु पर्दा अल्छि लाग्यो भनेआफु त मस्त सुत्ने हो एक निन्द्रा अनि जागे पछि देखा जाएगा!!

IT Freak said...

Well,

My simple answer would be go online and search for something worth reading.

What do you suggest me ;)

Jotare Dhaiba said...

गजब पो भयो कैलाशजी । सधैं अरुहरुलाई नै निशाना साँधेर लेख्ने मान्छे मलाई नै सिकारमा एउटा पात्र बनाउनुभएछ ।
तर तपाईंको यो अल्छिपन हो कि के हो, अल्छिको बहानाम यसरी उपयोगी टाँसो लेख्नमा जाँगर पो चलाऊनु भयो ।
तपाईंको यस प्रयासले आम अल्छिपीडितहरुलाई गोरेटो पनि धेरै तवर्ले सुझाएको छ है । बरु धेरै जनसँग खोस्राखोश्री पार्दा तपाईंलाई पो दिक्कताको बेलामा झन् हैरानी भो ।

कैलाश said...

बेदनाथजीको सुझाबको लागि धन्यवाद। अनि सिकारुजी तपाई हामी छउञ्जेल त यस्ता भलाकुसारी चलाउन सकीहाल्छौ नि। अहिले पनि भलाकुसारी चलिराखेकै छ। स्वरुप मात्रै फरक छ। आउँदो दिनमा झपक्कै पार्दै जाउँला नि हुन्न?

बसन्त भाई (दिदी भनीसक्नु भो। त्यसैले भाई भन्न मन लाग्यो)यो टाँसो पढेपछि दिक्कदारीपनाले छोप्न खोजेछ। साधारणा कुरो हो यो। अचम्म मान्दिन म। अनि यो टाँसोकै लागि नयाँ पुरानो या ब्लगको मर्म र साहित्य बुझ्ने तपाईको दक्षताप्रति औँला उठाउनुपर्ने कुनै कारण पनि छैन है। मेरो लागि सजिलो हुने, राम्रो लाग्ने कुरामामा अरुको पनि उस्तै विचार हुन्छ भन्ने हुँदैन। अनि अल्छीपन हटाउने ध्येयमा ब्लगिङ गर्ने स्टेजमा पुगेको छुईन म अहिलेसम्म। तर अल्छी लागेको बेलामा भयो भने ब्लगहरु चाहार्ने चाहि गर्छु म। अब उप्रान्त के होला के नहोला थाहा छैन।

Well, IT & Business Talkका मित्रको कुरा सही हो। स्रोत साधन र पहुँच भएसम्म किन त्यसो नगर्नु? मजाले गर्ने नि। तर लोडसेडिङको दिक्कदारीको मारले गर्दा मैले त्यतातिर खासै ध्यान नदिएको नि।

धाइवाजी यस्तै छ यहाँको चलन। मिलेमतोमै सही ढंगले हामी एकअर्काको निशाना बन्दै भलाकुसारी गर्दा एकआपसको सम्बन्धमा थप उर्जा मिल्छ नि त हैन? अनि यो पोष्टको निर्माणक्रम र यहाँ देखिइसकेपछि पनि हैरानी त सबैलाई भएकै हो नि। मात्रा र प्रकृति मात्रै भिन्न भएको होला।

सबैलाई बढिया धन्यवाद।

Anonymous said...

hana yo sabai laai bokaa banaaiye chha ni hau, kyaa gajaba

Anonymous said...

blogger haru laai nai baliko bokaa banaako dekhdaa chahi malai dherai ramaailo laagyo yastai gardai garnu hai kailaash didi. subhakamana

प्रदिप said...

I REALY FELTENJOY TO READ OUT THIS TOPIC IN YOUR BLOG KAILAS JEE.tHANKS FOR YOUR ROMANTIC ARTICLE AND SORRY FOR WRITTEN IN ENGLISH BECAUSE NOW A DAYS MY PC HAVING UNIC CODE SOME ERROR.aNYWAY I ALSO LIKE TO LOOP OF THS BLOGGFER FOR FUTURE CORESPONDSE CAN YOU SEND YOUR ARTICLE TO ME FOR MY SMALL BLOG.
WITH BEST REGARDS,
PRADIP

tara said...

खोइ मलाई त अल्छि लागेको बेला ईन्टरनेट खोल्ने गर्छु अनि एस्तै ब्लग चाहार्ने गरेको छु, मलाई अरुहरुको सस्मरण पढ्न भनेपछी निकै जागर चलेर आउछ है नढाटी भन्नु पर्दा, ड्युटी मै रहदा र काम गरिरहदा पनि अल्छि लागेको र झन्झट लागेको बेलामा म ब्लग खोली हाल्छु, तर मलाई अन्य ब्ल्गहरु हेर्ने त कहिले भ्याउनु र खोइ, साच्चै भन्नु पर्दा म उमेश जि को माइ संसार र नेपाल प्लस लाई कहिले पनि छुटाउदिन तर अस्तिमात्र यो तपाईंको कुटिको दर्शन पाउन सके तब मलाई त न्वारन देखीको जागर पो चलेको छ त। यहाँ बाट भित्र थुप्रै ब्लगहरु भेटिए पनि म त यो कुटिमै अल्मली रहेको छु, म मेरो अल्छिपनाले हो कि एतिको बेफुर्सदिलो बनाएको............l