Tuesday, January 27, 2009

एक दिनको हाईकिङ र 'काकाकोला'को रमाइलो

धेरै जनाको समूह, तन्नेरीदेखि पाकासम्मका व्यक्तिहरु। एकै गन्तव्यमा हिडेका। न देशको राजनीतिप्रतिको चिन्ता। न जलविद्युतको अभावप्रतिको टेन्सन। न कैयौ दिनदेखि नउठाइएको फोहोरको डंगुरको चिन्ता। न अरु खालको समस्याग्रस्त दिमाग। एकदिन भएनि खुला र स्वतन्त्र मन। मजासँग गाउँ नि हेर्ने। रमाइलो नि गर्ने। उपत्यकामा खुम्चिएको ज्यानलाई यसो तानतुन पनि पार्ने। अनि आ-आफ्नो पाराले मजा लिने। आहा! क्या मस्ती। ६०/६५ जनाको जमात एउटै गाडीमा कोचिएर पनि खूब रौसीरहेका हामी। पुसको जाडो भएनि हूलमूल र मनमा पलाएको एकप्रकारको जोशले गर्दा होला खासै चिसो महशुश भएन। कोही खाँदिएर २ जनाको सिटमा ४ जना बसेका। कोही थाँक्रोमा झुण्डिएका सर्लक्क सर्लक्क काक्रोझैँ बसको डण्डी समाएर झुण्डिएका। झुण्ड झुण्डमा आ-आफ्नै तालमा रमाउँदै अघि बढिरहेका हामी। म कुरा गर्दैछु गत पुस २८ गते शनिबारको दिन धुलीखेल-देवीथान-काभ्रेभञ्याङ-नमोबुद्ध हुँदै पनौतीसम्मको हाईकिङको।

२० देखि ६० वर्षसम्मका व्यक्तिहरु टोलीमा सामेल थियौँ। त्यसैले पनि यात्रा रमाइलो र रोचक हुने सबैको ठहर थियो सायद। यात्राको संयोजकको भार उठाएका विमल दाई चाहि को को आए, को को बाँकी रहे भन्ने बारेमा खैलाबैला गर्दै थिए। निर्धारित समयभन्दा ढिला पुगेकोमा केही साथीहरुले भित्तामा टाँस्ने पोष्टरै बनाउँला जत्तिकै रमाइलो पारामा टाँग्न खोजे मलाई। अनि शुरु हुन्छ हाम्रो यात्रा।

गत सालको भन्दा नयाँ नयाँ अनुहार थुप्रै थपिएका थिए यसपाली। गाडी आफ्नै गतिमा गुड्दै थियो। हामी घुम्न निस्केका मनुवाहरु आ-आफ्नै सूरमा बुद्धि बिलासिता गर्दै, कुराकानीमा चटनी थप्दैखेरी थाहै नपाई धुलीखेल पुग्यौ। त्यहाँ पुगेपछि यात्रामा च्यापु हल्लाउन केही फलफुल र खानेकुराको जोहो गरेर पोको पन्तुरा कसियो र लागियो देबीथानको उकालोतिर। तब हाइकिङको मेलो बस्यो। उकालो चढ्दाखेरी खासै खैलाबैला भएन। सास फुलेर, रक्तसञ्चारको गति तीब्र भएर धेरैजसोको ज्यानै रन्किएको थियो। पाकेको गोलभेडाझैँ मुहार बोकेर, ज्यानलाई दुई खुट्टाले घिच्याउनै भारी मानेको बेला, विहानको जाडो छल्न भिरेको ज्याकेट र सुईटरहरु नै कहाँ फालुँ भन्ने बेलामा के को खैलाबैला गर्नु त अनि। त्यसैले हिड्न सक्ने बूतानुसार कहिले अगाडि, कहिले बीचमा त कहिले पछाडि हुँदै मिसमासे पारामा उकालो काट्यौ प्रायजसोले। खगेन्द्र दाई, जगन्नाथ दाई, हरि दाई, बिष्णु दाई, कुमार दाई, झलक दाई लगायतका समूहभित्रमध्येमा सबै हिसाबले पाका मानिने दाईहरु भने उकालोमा ठम्ठम्ती हिडीरहेका थिए- अगुवा बनेरै। हिडाईको बेग देखेर कतिले त र्यालै काढे। अनि भन्दैथिए 'अहो! क्या तन्दुस्तीपना' ('हुन त यो शरिरलाई जसो गर्यो उसै हुने हो, हामी अल्छी भएर बिग्रेका' भनेर कसैले भनेको पनि सुने)।

उही दिनचर्या। उही कामकाज। उही ठाउँ। उही परिवेश। उही रहनसहन। सबैकुरा उही र उस्तै माहौलबाट बाहिर निस्कँदाको उमंग सबैमा छाएको थियो। एकोहोरो कामकाज र परिवेशबाट मुक्त हुनुको साथै दिमाग र शरिर दुबैलाई स्फुर्त बनाउँने लालचले धेरैलाई त्यहाँ पुर्याएको थियो। देबीथानबाट काभ्रेभञ्याङ हुँदै ध्वजापताका र कलात्मक गुम्बाले झकीझकाउ नमोबुद्धको डाँडोमा पुग्यौ। हाम्रो प्रमुख गन्तव्य त्यही थियो। शुरुमा उकालो लाग्दा विशेष व्यक्तिको जन्त गएझैँ लागेथ्यो। तर नमोबुद्धसम्म पुग्दाखेरी समूहका मान्छेहरु छ्यालब्याल भएका थियौ। कोही तलै छुटेका। कोही डाँडोमा पुगेर घुम्दै गरेका। केही साथीहरु र पाका दाईहरु चाहि डाँडोको आडैमा रहेको पसलतिर छिरे। हामी केही साथीहरुसहित छुटेका साथीहरुको प्रतिक्षामा डाँडोको वरपर घुमघाममा लाग्यौ। फोटो सोटो नि खिच्यौ। केहि खानेकुरालाई भौतिक कारवाही पनि गर्यौ।

डाँडोमा सबै पुगेपछि सबैले आ-आफ्नो पोका फुस्काए। बाफरे बाफ! उकालो चढ्दा बीचबीचमा चापचापचुपचुप च्यापु नहल्लाएका साथीहरुले पोका फुस्किएपछि त निर्मम तरिकाले नै खानेकुरालाई भौतिक कारवाही गरे। भन्छन् नि 'हूलमूलमा जीउ जोगाउनु-अनिकालमा बीउ जोगाउनु'। त्यस्तै त्यस्तै पो देखे मैले त। अगाडि जो पुग्यो र जो जोसँग गतिलो खान्की थियो। उनीहरु जत्ति सबैको खानेकुरा हेर्दाहेर्दै सकिगो। अगाडिदेखि नै पेट पुजा गर्दै हिडेको भएनि आफूले नि छानी छानी दनक दिइयो। कहाँ छाड्नु र हैन? कुरै छैन नि।

कस्तो लाग्यो त साथी भनेर मैले मनोजलाई सोधेको थिए भोलिपल्ट। 'धेरै रमाइलो भयो नि। अनि आफैले बोकेको खानेकुरा आफैले खान पाइएन' भने उनले। तर कोही पनि खाली पेट हुनुपर्ने अवस्था त रहेन। अँ साँची त, रमिताले मेरै अनुरोधमा गुन्द्रुक साँदेर बोकेको थियो। पोहोरजस्तै यो साल नि गुन्द्रुक रुचाउने साथीहरु टन्नै रहेछन्। एकैछिनमा भाँडो रित्तियो। अनि पछाडि आउने साथीहरुले त सुघ्न नि पाएनन्। साथी नेत्रले नयाँ पत्रिकामा 'गुन्द्रुकको अमिलो अचारचाहिँ कैलाशले भरिसक्के सबैलाई चटाइन्' भन्ने एकवाक्य टुच्च हालेछन्। त्यो पढेपछि मलाई फोन गरेर र भेटेको बेलामा 'हाम्लाई सौतेनी व्यवहार गर्ने तिमी' भन्दै केही साथीहरुले रिँगाए। साथीसाथी रमाइलो गर्नु न छ आखिर। अनि रमिताले नि मलाई भन्यो- 'के हो? बोक्ने चाहिँ अर्कै नाम चाहि कैलाशको?'। 'हो नि यार! लेख्नेलाई कारवाही गरौ त?' भन्ने मन भाथ्यो। तर भनिन मैले। तिनले नि देखेको कुरा लेखे। बाँकी सोधेनन्।

जे होस् खानपिन भयो रमाइलोसँग। खान त सगोलमै हो पोहोर पनि र अहिलेसाल पनि। तर पिनको कुरामा अघोषित रुपमा दुईटा गुट रह्यो दुईटै साल। पोहोर साल काकाकोला भन्दै कोकाकोला पिउँदै गरेको साथीहरु एकैछिनमा दुगुना फुर्तिलो र रौसे भएर निस्केपछि मैले सोधखोज गरे। कोकाकोला, पेप्सी, स्प्राइटजस्ता पेय पदार्थमा थोरबहुत 'लाग्ने तरल पदार्थ' मिसाएर काकाकोलाको न्वारन गरेर दनक दिएपछिको नतिजा पो रहेछ। अनि कोकाकोला या पानी मात्रै खाने एक गुट अनि अर्को त उही काकाकोला गुट। गुट जे भएनि रमाइलो गर्ने मामिलामा कोही भन्दा कोही कम रहेनन्। फरक यति हो कोही कोकाकोलाकै भरमा रमाए। कोही काकाकोलासँगै। काकाकोलाको त्यो रन्कोमा यो सालभन्दा पोहोरसाल अलिक बढी नाचगान, ख्यालठट्टा, सायरीजस्ता कुराहरु फुत्किएका थिए। यो साल भने खासै त्यसो हुन सकेन। गीतमै बढी केन्द्रित रह्यो। लामो दुरीको यात्रा भएकोले पनि होला सायद।

मुख्य गन्तव्य भेटिसकेपछि अर्को गन्तव्य निर्धारण भयो- कुटितिर लम्किने। र ओरालो लागियो। ओरालो लागेपछि भने हल्लाखल्लाको माहौल बन्यो। केही साथीहरु ठाडो भाकाको दोहोरी निकाल्दै केटीहरुलाई उकास्दै थिए। जुवारी खेल्नलाई जोरी खोज्दै थिए। भएपनि यो काममा केटीहरुको साथ पाएनन्। केही गरि गाउँदागाउँदै टुक्का मिलेन वा गीतको शब्द आएन भने भन्थेः 'हत्तेरी! गीतको पोको हरायो। लौ न पोको खोज्नुपर्यो'। गीतको पोको कसै न कसैको झोलामा थियो भन्ने संकेत मैले पाए। कोही भने त्यहाँको जनजीविका, दृश्यहरुसँगै रमाइरहेका, आफ्नो क्यामेरामा कैद गरिरहेका, आँखै वरपर पहेलै पाकेको सुन्तलायुक्त लटरम्म रुखसँगै रमाउँदै हिडिरहेका। ओरालोको आधाउधी बाटो काटेपछि कतिपय साथीहरुलाई घर पुग्ने र काम गर्ने चटारोले दिमागलाई गाँज्न थाल्यो। र पनौती बस पार्कमा पुगेर चाँडै आफ्नो कुटीमा पुग्नेगरी पाइला लम्काउन थाले। हामी बीचैमा रह्यौ। घरी काकाकोलाको करामत सुन्ने झुण्डमा हाँस्नको लागि घुस्दै, घरी त्यहाँको वातावरण र सुर्यास्तलाई नियाल्दै, घरी बेग्ला बेग्लै झुण्डको अनेकओली गफगाफ सुन्दै।

हामी पनौती बसपार्क आइपुग्दा एक लट साथीहरु काठमाडौँ हुईकिई सकेछन्। पछि रहेका हामी धेरै थियो र रुटको गाडी नपाएपछि रिजर्भ गर्ने काम भयो। तर फेरी त्यही बेला हाम्रा अगुवा दाईहरुमध्येबाट ३ जना त गायब भइदिए त्यहीको त्यही। समूहबाट ३ जना विछोड हुँदाको त्यो क्षणमा काकाकोलाको इनर्जीको भरपूर उपयोग भयो। गाडीभित्र अघिल्तिर र पछिल्तिर बसेका दुई गुटका थरीथरीका चुड्के गीत, पश्चिमी भेगको ठाडो भाका, झ्याउरे, सुदूरपश्चिमको देउडादेखि पुर्वेली भेगको लम्बेतान भाकाहरु सुन्न पाइयो। गायब भएका दाईहरुकै सन्दर्भमा निकै गीत बने त्यहाँ। एकपछि अर्को गर्दै गीतको शब्दैपिच्छे उनीहरु गायब भएकै कुरा समेटिदै थियो। हामीमध्येकै एकजनाले 'हो, ठ्याक्कै यही लाइन उनीहरु आएपछि रिपिट गर्नु है'भनेको सुने। अरुले पनि सहमति जनाए। कसैको मोबाइलको नेटवर्क नभएपछि सम्पर्कै हुन नसक्दा कुरेको केही सीप लागेन। सबैजना केही रिसाए पनि। अनि गाडी गुड्यो काठमाडौतिर। केही बेरमा फेरी सम्पर्क भयो र पुनःमिलन भयो हाम्रो। पुनःमिलनपछि पनि धेरथोर त्यही सेरोफेरोको गीत सुनियो। जे भएनि शब्दसञ्जाल र गीतको आडमा अलिअलि पेलपाल भयो। त्यसमाथि काकाकोलाको रमाइलोको बहाना त ज्यूदै छँदैथियो। अनि सिरियसली लिने कुरै भएन।

गाडी काठमाडौतिर हुईकिरहेको थियो। गाडीभित्र बसेका काकाकोलाको दमसहित र रहितका हामीहरुमाझ भने वातावरण रन्किरहेकै थियो। गिताङ्गे टोली लोकगीतको भाका छाडेर आधुनिक तथा पप गीतहरुमा उक्लियो। त्यत्ति भएपछि रिमिक्समा नपुग्नै त कुरै भएन। पाकाहरु भने आफ्नै पारामा गफिनतिर लागे। ठिटौलाहरु चाही घोक्रोको कसरतमै रमाइरहेका देखिन्थे। त्यत्तिञ्जेलसम्म केहीको काकाकोलाको दम खत्तम भएपनि केहीको भने यथावतै रहेको भान हुन्थ्यो। त्यत्तिकैमा काठमाडौ छिरियो। साँझ छिप्पिदै गएपछि र काठमाडौको हावापानीले छोएपछि त हाईकिङ र काकाकोलाको रमाइलो मन मस्तिष्कको एउटा कुनामा थन्कोमन्को लाग्न थालेछ क्यारा। गाडीमा हल्लाखल्ला सेलाउँदै गयो। बीचबीचबाट साथीहरु फुत्त फुत्त निस्केर कुटीतिर जान थाले। आफूपनि लागियो कुटीतिरै।

(भनु भने थुप्रै कुरा निस्किन्छ। सोझो कुरो कुटीको लागि समय निकाल्न सकिन। बल्लबल्ल आज यो यात्रा संस्मरण लिएर झुल्किए। छिमेकमा चियाउँदाखेरी मनुजीको ब्लगमा हाईकिङको फोटोसहित छोटो जानकारी मात्रै भेटे। मैले लम्बाइदिए थोरै।)

12 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

ओहो ! यस्तो यात्रा भने पछि मनै फुरुङ्ग हुन्छ त्यस मा अझ रमाइलो हुनुपर्छ ! अरु के चाहिनु र ?

काकाकोला चाहि भट्टीवाल्नी को पाठशालाबाट लानु भएको थियो -जस्तो लाग्यो नि ? तपाई को कुरा सुन्दा त !

तर मलाई त त्यो भन्दा गुन्द्रुक को अचार नै ठीक लाग्छ - तपाइले कुरो उठाउदा - जिब्रोमा रसनै झरला जस्तो भयो ।

नमोबुद्धको दृर्श्य मैले Manu जी को ब्लगमा हेरेको थिए । राम्रो नै रहेछ ।

Dilip Acharya said...

खासै टाढा नभए पनि यि ठाँउहरुमा जान कहिल्यै मिलको छैन र पुग्न पाएको छैन । तपाईको यात्रा विबरण पढेरै आफू पनि त्यहि थीएँ भन्ने सोचेँ मैले पनि ।

साँच्चै नयाँ पत्रिकाको अनलाईन संस्करणमा त तपाईको फोटो पनि देखै जस्तो लाग्छ हैन ? ।
अनि यो काकाकोला तपाईहरुमाझ त पुरानो भैसकेको रहेछ, आफूले त बल्ल आजै हो सुनेको नाम।

sangamkirati said...

होइन हौ!! यो काकाकोला भन्ने नाम चहि कुन चिजको परेछ हौ!ठम्याउनै गार्हो भयो मलाई त!जे होस यात्रा रमाईलै भएछ।आफु नपुगे पनि पुगे जस्तै लाग्यो।मलाई पनि!!!!!

दीपक जडित said...

काकाकोलाको महत्व चैं त्यो यात्रामा अलि भव्यनै भएजस्तो , हत्तेरिका म किन त्याँहा रहेनछु जस्तो लाग्यो है । त्यो राष्ट्रब्यापि तहल्का मचाउने गुन्द्रुकको अचार झन कस्तो मिठो भा'थ्यो होला ? कुरा सुन्दामा नै जिब्रो रसाउने ; हैन के हालेर साँधेथ्यौ भन भन रमिता ? भन्नुजस्तो क्या ।

Basanta Gautam said...

रमाइलो यात्रा संस्मरणको लागि धन्यबाद! मनुजीको ब्लग र कान्तिपुरमा खगेन्द्र संग्रौलाको लेखबाट पनि अलि अलि जानकारी पाइएको थियो।

Sumiran said...
This comment has been removed by the author.
Sumiran said...

पोस्ट रोचक लाग्यो। कान्तिपुरमा खगेन्द्रजीले किन ग्लानी व्यक्त गर्नु भयो भन्ने कुराको अझ बिस्तारमा जानकारी पाइयो

Pritam said...

oho sarai ramro lekh lagyo...thanks for sharing it..
happy blogging

सिकारु said...

कैलाशजीको यात्रा संस्मरण निकै अर्थिलो पारामा पढे । अति रोमान्चित भएको पाए । धन्यबाद

B.J. Dummali said...

la gajabko yaatra bhaechha khusi lagyo, kailash bahini kahile kahi ktm bhanda bahira ko koseli pani paskanuhos hai.

उजेली said...

धेरै रमाईलो यात्रा र यात्राको बर्णन पनि !!

कैलाश said...

हा हा हा हो नि बेदनाथजी भट्टीवाल्नीकै देन हो। कोकाकोलालाई काकाकोला बनाउने जिनिस अरु कहाँबाट बोक्नु त। अनि दीलिपजी यो काकाकोला पुरानो भएर पुनः न्वारन पनि भइसकेको छ अहिले त। तर त्यो चाहि अर्को पाली मात्रै सार्वजनिक गर्नुपर्ला हगि? अनि नयाँ पत्रिकामा भएको फोटो चाहि ठिकै देख्नुभयो भन्नुपर्ला।

संगमजी नाम जे सुकैभएनि तपाई हामीमाझ एकदमै चीरपरिचित, अझ भनौ न लोकप्रिय 'जिनिस' भन्ने बुझे हुन्छ नि। दीपकजी काकाकोलाको महत्व त थियो नि त्यहाँ। अनि गुन्द्रुकको अचार त साह्रै मिठो थियो। त्यसको जोडा मकै भटमास पनि थियो नि हौ। अनि गुन्द्रुक चाहि नि दीपकजी, तपाईले 'के के हालेर साँध्यौ रमिता' भनेजस्तै म चाहि 'फेरी साँधेर ल्याउन न रमिता' भन्नुजस्तो नि हौ।

अनि बसन्तजी र सुमीरनजीले त खगेन्द्र दाईको लेख पढेरै पनि धेरै जानकारी लिइसक्नुभएको रहेछ। त्यही भएपनि पुन मेरो गन्थन पढेर प्रतिक्रिया दिनुभो। खुशी लाग्यो। सिकारुजीको कुरा मैले स्पष्ट बुझिन। अर्थिलो पाराले भनेको मतलब के होला कुन्नी। अर्थ लगाई लगाई भन्नुभाको हो कि भन्ने अनुमान लगाए मैले त। बिजे दाजु, यसो सकेसम्म त कुटीमा राखु भन्ने नै मन हुन्छ नि। मिलेसम्म राखुला नि। प्रीतमजीलाई पनि happy blogging । उजेलीजी यात्रा रमाइलो भएर वर्णन पनि रमाइलो भएको होला नि हगि?

मुख्य कुरो, अन्तमा सबै सबैलाई धन्यवाद।