Friday, January 16, 2009

म भट्टीवाल्नी, आज पाठशालाका कुरा सुन्नुस्

काठमाडौको एकछेउमा एउटा भट्टीपसल छ। म त्यहाँको साहुनी। मुखै फोरेर भनुँ न- भट्टीवाल्नी। अली पहिलेसम्म अरु अरु पनि पसलमा हुन्थ्यो। तर यो नयाँ सरकारले पिउँदा लाग्ने चीज बेग्लै बनाउँने भनेदेखि भने मेरो भट्टी बेग्लै बनाएको छु- अलिक फराकिलो गरेर। प्रायजसो उही अनुहार, उही समूहका व्यक्तिहरुको अनेक कुराकानी, विचार, गन्थनमन्थन, आक्रोश, खुशी, पीडा सुन्न पाइरहन्छु। अनि उनीहरुको थेत्तरपन, काँतरपन, निर्लज्जपन, हाकिमीपारा, धाक-रबाफ, फाईफुट्टीपन, मर्दाङ्गीपनलाई पनि कहिलेकाही झेल्नैपर्छ। के गर्नु त्यो मेरो बाध्यता पनि हो। अनि मेरो व्यावसायिकताभित्र लुकेको मानवता पनि। जहिले अरुको सुन्दा सुन्दा वाक्क भए भनुँ भने पनि धर नपाउने। के गर्नु यस्तै नै छु- म, मेरो काम, अनि मेरो दिनचर्या। तर आज म केही कुरा भन्छु। देशमा अनेकथरीको तन्त्र आको बेलामा पनि नभने कहिले भन्नु र? कि कसो हो कुन्नी? भनेर म आफैले आफैलाई सोध्दा 'होत्तनि'भन्यो। लज्जा त भनेर आज त भन्दैछु। तर म राम्रा कुरा मात्रै सुनाउँछु है। भट्टीको नराम्रा कुरा त भन्नै पर्दैन। किनकी त्यस्ता नराम्रा कुरालाई त हावाले नि उडाएर टाढाटाढासम्म लैजान्छ रे। तर राम्रा कुरा चाहिँ खेपैपिच्छे दोहोर्याइराख्दा मात्रै फैलिन्छ रे क्या। भनेको सुनेको मैले नि। अनि आधाउँधी त साँचो नै हो भन्ने ला'छ मलाई नि।

आजकाल त यो बिजुलीबत्ती नहुनाले पनि धेरै मान्छेहरु ओइरिन थालेका छन् मेरो भट्टीमा। त्यसहिसाबले ब्यापार नि हुन्छ। चुरोटको धुवाले कोठानि धमिलिन्छ। हल्लाखल्ला र खैलाबैलाले माहोल नि तात्तिन्छ। अनि कहिलेकाही किचलो हुनु त सामान्य कुरा भो यो लाइनमा। ए साँची! पहिला पहिला त खाली लोग्नेमान्छेहरु र विदेशी स्वास्नीमान्छेहरु मात्रै आउँथे। आजकाल त जमाना निकै बद्लिदै छ। स्वास्नीमान्छेहरु पनि आउँछन्- भर्खरकादेखि लिएर पाका पाका जस्ता लाग्नेहरु। बाबै! उनीहरु पनि मजाले चुरोट सल्काएर सानसँग धुवा उडाउँदै ठुल्ठुला राजनीतिका कुरा गर्छन्। हातमा रक्सीको गिलास लिएर कस्तो निर्धक्कसँग बस्छन्।

शुरु शुरुमा त उनीहरुलाई देखेर मेरो मुख आऽऽऽ को आऽऽऽ हुन्थ्यो। आँखा एकोहोरिएर उनीहरुको चर्तीकलातिरै अडिन्थ्यो। अनि साह्रै अचम्म लाग्थ्यो। कस्ता नकचरी, बाइफाले अनि थेत्तर र'छन् भनेर मनै पराउन्नथे म। यिनका घरमा को को छन्? किन यसरी बिग्रिएका होलान्? यिनलाई कसैको डर लाउन्न कि क्याहो? भन्ने सोचेर म भुतुक्कै हुन्थे। तर बिस्तारै बिस्तारै उनीहरुको कुरा सुन्दै जाँदा, व्यवहार हेर्दै लादा त नयाँ कुरा हैन रहेछ भन्ने लाग्न थाल्यो। अनि उनीहरु हाम्रा देशका गन्नेमान्ने आइमाईहरु नै होलान् भन्ने अड्कल काटे। तर मजस्ता चाही पक्कै हैनन् है भन्ने पनि मजाले बुझे। अनि कि, आइमाईले भट्टी मात्रै चलाउने हैन भट्टीमा गएर ती लोग्नेमान्छेहरु जत्तिकै रमाउन पनि हुने रहेछ भन्ने पनि मनमा लागेको छ। तर यही कुरा मेरो लोग्नेलाई चाहि पिटिक्कै ठिक लाग्दैन। खै किन हो कुन्नी मैले के खा'र बुझ्नु? त्यसैले मैले नि मेरो मनमा लाग्या कुरा लोग्नेलाई भनेकै छुईन अहिलेसम्म। भन्न नि सक्दिन होला सायद। मैले भन्न नसके के भो र मेरा सन्तानले आफै बुझ्छन् झैँ ला'छ मलाई। एता सुन्नुस् न, मैले भनेको थिएँ नि, ती आइमाईहरु गन्नेमान्ने नै होलान् भनेर। बाफरे, हो त रहेछ नि। म पनि ठीकै अड्कल काट्दो रहेछु गाँठे।

मेरा भट्टीमा आउनेमध्येमा एउटा टोली छ। त्यो टोली हप्तामा एकदिन झुल्किन्छन्, हप्ताभरीको कुराकानी एकअर्कासँग फुकाउँछन् अनि हराउँछन्। अनि फेरी त्यस्तैगरी अर्को हप्तातिर देखिन्छन्। उनीहरु साह्रै मिजासिला अनि राजनीतिसम्बन्धी धेरै कुरा गर्ने, देशमा भइरहेको हरेक घटनाप्रति जानकार रहने अनि खुला विचारका लाग्छन् मलाई। उनीहरुको अनेकथरीको कुराले मैले नि धेरै कुरा था पाउछु। कहिलेकाहीँ त अचम्ममा पर्छु म उनीहरुको कुरा, एकअर्काको कुरामाथि अरु कुरा थपेको देखेर। अनि एकअर्कालाई बुझेको र आदर गरेको देखेर। अनि उनीहरुले मेरो भट्टीलाई आफ्नै हिसाबले नामाकरण गरेका छन्- पाठशाला। अनि उनीहरुमध्येको कोही एकजनालाई पालैपालो गरेर भेलापिच्छे माट्साप बनाउँछन्। अनि अनेकवली कुराकानी शुरु गर्छन्। एकआपसमा वादविवाद गर्छन्। उनीहरुको टोलीमा कहिलेकाही अघि मैले माथि भनेझैँ आइमाईहरु पनि सामेल हुन्छन्। उनीहरुले नै भनेका कहिलेकाही आउने चाही विशेष अतिथि रे पाठशालाका। अनि क्या गजबले तालमा ताल मिलाएर कुराकानी गर्छन्। कहिलेकाही त झगडै गरे जत्तिकै चर्काचर्की पनि पर्छ। तर एकैछिनमा फेरी कस्तरी मिलीहाल्छन्। उनीहरुलाई देखेर त नि छक्क पर्छु। यस्तो भट्टीमा आएर मजाले रक्सीसक्सी पिउँछन्। चुरोटसुरोट तान्छन्। अनि कत्रा कत्रा ठुल्ठूला योजना सोजना खै संघीय राज्य, के के जाती बाँडफाँडका कुरा, फलाना पार्टीले यस्तो गर्यो, उस्तो गर्यो, फलानले यस्तो लेख्यो, खै के के हो के के भनेर कुराकानी गर्छन्। तर पनि उनीहरुको व्यवहार भने अरु जड्याहाँ र रक्स्याहा जस्तो हुन्न। मेरै लोग्नेकै बारेमा म यसो विचार गर्छु। अहँ, म त्यस्तो पाउँदिन। खैर, सबै उनीहरु जस्तै भइदिए त कस्तो होला हगि? भन्ने सोचेर घरीघरी म त्यसै फुरुङ्ग हुन्छु। अरुझैँ जाँड खाने मान्छे पनि सद्दे हुँदारहेछन् भनेर म घरीघरी दंग नि पर्छु।

साँची त, खै कुन कुरासँग जोडेर राखे उनीहरुले मेरो भट्टीको नयाँ नाम। तर सुन्दाखेरी मेरो कानलाई सन्चो हुन्छ। अनि मन पनि फुरुङ्ग हुनेगर्छ। उनीहरुको अगाडी उभिँदा मलाई मेरो भट्टी र जाँडसाँड बेच्ने काम पनि निकै ईज्जतीलो पेशा हो भन्ने लाग्छ। उनीहरुले मेरो विचार पनि बुझ्नेगर्छन् कहिलेकाहीँ। व्यापार कस्तो चल्दैछ? कमाई कत्तिको हुँदैछ? केटाकेटीहरु के गर्दैछन्? यस्तै पारिवारिक कुराकानीदेखि देशमा भइरहेको के के जातीबारेमा मेरो मनमा के छ? मैले कसरी बुझेको छु भन्ने पनि सोध्न भ्याउँछन्। उनीहरुको त्यो सोधाईले मैले पनि मनमा केही कुरा गुन्नु उन्नुको मतलब फेला पारे। अनि आजकाल त धेरैजसो कुराहरुमा मेरो चासो बढेको छ झैँ ला'छ। अनि पहिले भन्दा कुरा नि अलिक बढी नै बुझ्न थालेछु कि भन्ने नि ला'छ। तर अरुलाई भनुँ भने बढी भईखाकी भन्लान् भन्ने पीर'नि छ मनमा। मेरो आमाले म तरुनी छँदा मलाई सम्झाउँदै भन्नुहुन्थ्यो 'संगत गुणाको फल'। हो र'छ भन्ने ला'छ। सँधै उही मात्तिएका/पात्तिएका पिउनकै लागि मात्र पिउँनेहरुको संगतले त के उँभो लागिदोरहेछ र? के नै कुरो बुझिदोरहेछ र? सँधै यस्तै यस्तै मान्छे मेरो भट्टीमा आउँने जाने गरेमा त धेरै कुरा बुझ्न सक्ने रहेछु।

त्यो टिभी अनि एफएमहरुले दिने सम्‌चार त उनीहरु आको बेलामा था पाउँछु म। बत्ती हुँदा नि त्यत्ति सारो सम्‌चार हेर्ने अनि सुन्ने चलन हुन्न मेरोमा। अरुले भनेको 'अरे'को भरमा बस्नुपर्थ्यो। अस्ती भर्खरै मात्रै सबैजना खूबै दुःखी भए- जनकपुरको एकजना आइमाई पत्रकार मारेको भनेर। त्यो भन्दा अघि नि अरु थुप्रै कुरामा यस्तै चिन्ता गर्दै थिए उनीहरु। अब यो लोडसेडिङको राजनीतिबारेमा नि थुप्रै कुरा गर्छन्। अनि विशेष अतिथिमा आउने आइमाईहरु भाको बेलामा त अरु बेला भन्दा फरक, खै के भन्थे हौ....अ... याद आयो जेण्डर हो क्यारा। हो हो, त्यही भन्थे। हौ त्यो भन्ने शब्दबारेमा नि कुरा गर्छन्। तर मैले चाहि गाँठ्ठी कुराको भ्याउ पाएको छुइन। तर त्यो चीज निकै भयंकर नै होला भन्ने ला'छ।

आच्या! भुसुक्कै भो नि। भट्टीवाल्नी भएर पनि मैले त भट्टीमा आएका ग्राहकझैँ लम्बेतान कुरा पो सुनाउँन पुगेछु। यस्तै पारा हो भने मेरो भट्टी सुक्दैन होला त? कसरी सुक्ला र भन्ने भा'छ तपाईको मनमा? अब ग्राहकले गर्ने आधा काम मैले नै भ्याइदिएपछि सुकेन त? ए अँ, एउटा कुरा त भनेरै छाड्छु है। हिजो मात्रै मलाई मनपर्ने टोलीको एकजना माट्साप निकै चाँडै आइपुगे। आएर सँधै झैँ 'हैन माट्साप म त चाँडै पाठशाला आइपुगे। सबै चाँडै भेला हुने कि?' भनेर मोबाइल नि गरेनन्। ग्राहक धेरै थिएनन् मेरा नि। उनले चुरोट मगाए सँधै खानेगरेको- सुर्य। अनि मेरो हालचाल, व्यस्तता सोध्न थाले। कुरा गर्दै जाँदा मलाई बत्ती नहुँदा कसरी कामकाज चलाउँदै हुनुहुन्छ भनेर सोधे। मैले आफ्नो कठिनाई र थप कसरत हूबहू बताए। उनी त झनै सोचमग्न पो देखिए।

बोल्दाबोल्दै मैले भनिदिए उनलाई- 'यो चिम कस्ले बनायो कुन्नी तर त्यो मान्छेले जानेन'। एक्कासी उनले भने 'कसरी?'
'कसरी हुनु नि अब। चिम त बनायो नि तर त्यसलाई बिजुली चाहिने किन बनायो त? अरु देशमा मात्रै फिट भयो नि त। खै हामीकहाँ त फिट भएन नि'। मलाई हेरेर मजाले हाँसे सही थप्दै भन्न थाले- 'हो नि साँची। अनि यो गाडी बनाउनेले पनि पेट्रोल अनि डिजेल चाहिने किन बनाएको होला हगि? अनि यो टिभी बनाउनेले पनि त बिजुली चाहिने बनायो नि हैन?'।
'हो नि' भन्दै म पनि हाँसे। तर एकैछिनमा उनले मलाई सोधे- 'यस्तो कुरा कहाँबाट पत्ता लगाउनुभो तपाईले?'।
'तपाईहरुकै गफगाफबाट नि' मेरो कुराले उनी छक्क परे। अनी मैले नै भने- 'खै अस्ती मात्रै तपाईहरुले भनेको सुनेको मैले। अरु देशको जस्तो संघीयता नेपालमा फिट हुन्न भन्ने कुरा। त्यही भएर मैले नि अरुले बनाएको चीम हाम्लाई फिट नभएको होला भनेर जोडेको नि'।

'ए त्यसो भा कुरा सही सुन्नुभो तर पूरै बुझाउन बाँकी भएछ। पूरै कुरा बुझ्नको लागि आज हाम्रो विशेष पाहुना हुने हो त?'
आम्मै! राम राम राम, मेरो त होशै उड्यो नि एकछिनलाई त। मैले भन्दै थिए नि अघिनै। नराम्रो कुरा हावाले फैलाउँछ भनेर। मेरो दिमागमा नि त्यो चुरोटको धुवा उडाएको आइमाई पो आयो। हातमा गिलास लिएर विशेष पाहुना बनेको मात्रै देखे। अरु कुरा त केही नि देखिन। अनि मेरो त मुहारै रातो भयो। मुखै सुकेझैँ लाग्यो।

'दिदी तर्सिनुपर्दैन त्यसरी। हामी आज तपाईले बुझ्नेगरी कुरा गर्छौ। तपाई आफ्नो काम गर्दै सुन्न सक्नुहुन्छ। अनि नभ्याएको बेला छुटेको कुरा, नबुझेको कुरा भ्याएको बेलामा आएर सोध्न सक्नुहुन्छ। अनि विशेष पाहुना हुनुभएन त?'
'ए त्यसरी त हुन्छ नि किन नहुनु र' ए रात्तै, कस्तो ट्याक्कटुक्क कुरा मिलाएको बा। दिमागले नि कत्ति छिटो भ्याको त।
'तपाई आजदेखि हाम्रो पाठशालाको नियमित विशेष पाहुना है त दिदी। तपाईलाई लागेको कुरा हामीसँग जहिले सोधे नि, भने नि हुन्छ' अहो म पो उनीहरुको नियमित पाहुना रे। लौ जा। जिब्रो बाहिर निकालेरै टोकेछु। तर बडो खुशी छु म। सन्नुस् न खुशी नहुनु पर्ने कारण के नै छ र हैन त। कमसेकम यो लोडसेडिङले मेरो लागि यत्ति त राम्रो गरेको छ। धन्य लोडसेडिङ। तर १६ घण्टाभन्दा बढी चाहि नहोस् बरु चाँडै कम होस् भन्ने मेरो भित्री मनदेखिको प्रार्थना छ। त्यसको बदलामा लोडसेडिङ कम हुनासाथ पाठशालाका ती टोलीको कुरा कम सुन्न पाइए पनि ठिकैछ। कस्तो लाग्यो त मेरो कुरा तपाईहरुलाई? भट्टी र भट्टीवाल्नीका कुरा नि सुन्ने हो भन्ने त लागेन कतै? जे लागे नि भन्नुस् है। अब मेरा लागि तपाई नि विशेष पाहुना। ती माट्सापले भनेझैँ क्या त। नमस्कार!

8 comments:

वसन्त said...

भट्टीवाल्नी दिदिको कति सोझो बुझाइ,अनि कति सरल कुरा । उहाँका गन्थन पढिरहँदा मलाइ हाम्रा अनपढ आमाहरूको सम्झना भइरहेको थियो । तर भट्टीलाइ पाठशाला बनाउने कुरा चाहि अलि नपच्ने पो हो कि जस्तो लाग्यो है मलाइ त । फेरि पनि उहाँका गन्थन भने पढ्न पाइरहूँ है ।

दीपक जडित said...

यौटा मिठो ब्यँग्य ' अरु देशको जस्तो सँघियता नेपालमा फिट नभए जस्तै अरु देशमा बनेको चिम पनि नेपालमा फिट नभएको ' भन्ने बाहेक अरु केहि बुझेको भए त मरिजाउँ । तपाईँकै भट्टी पसल अगाडी नाङ्लोमा पसल नथापे सम्म बुझ्न गाह्रै होला जस्तो ।

ThE KiRaT said...

Very nice way of expressing feelings. Sometimes I envy you, the capacity you have to express in a different way. People don't care their surroundings and the ones below them but they have their own understandings and principles others should respect too. Anyway Kailash ji very nice writing.

उजेली said...

सानो कुरालाई पनि रमाईलो तरिकाले लम्ब्याउन सक्ने तपाईँको खूबी चैँ मान्नैपर्छ कैलास जी !! खासमा कुरा चैँ हाम्रो देसमा व्याप्त लोडसेडिङ्को समस्या र च्वास्स संघियता थपिएको छ । कुरा त्यति हो दुई लाइनमा सकिने । तर कस्तो राम्रो पृष्ठभूमि तयार पार्नुभएर अनि कति मजाले गन्गनाउन सक्नुभाको !! साह्रै मजा आयो पढ्नलाई !!

Kobit "Durga" said...

कैलाश जि
नमस्ते !
खाट्टी कुरा भाट्टी मा ही ही ----- बस्तु बिषय साह्रै मिठो गरी पस्किनु भएछ कैलाश जि, लेख राम्रो छ, तपाईंको लेख मा एउटा छुट्टै मिठास छ, यही नै तपाईंको बिशेष हो, यो मलाई मन पर्ने पाटो हो, लेख को तात्पर्य र अर्थ सही ठाउमा छ, सत्य हो ३ करोड नेपाली को भाग्य र भबिस्य को कुरा गरिन्छ भाट्टी मा, सही हो कि देश को नियम कनुन को कुरा गरिन्छ तास र जुवा को खाल मा, यो यथार्थ हो कि रोग र भोक को कुरा गरिन्छ त्रिपाल मा, गरीबी र नाङो बदन को भाषान गरिन्छ खुल्ला टुडिखेलमा, शिक्षा र दिक्षान्ता को कुर गरिन्छ एउटा बिध्यर्थी को फेल म, यस्तै छ हाम्रो नेपाल म !! मेरो नेपाल मा !!

दुर्गा

कृष्ण said...

कैलाशजी तपाइको लेखन शैलीको बयान गरी नसक्नु छ । तपाइँ लेख पढ्नको अानन्द छुट्टै छ ।
अन्य यस्तै पढ्न मन लाग्यो । भन्छन नी once more........

बेदनाथ पुलामी ( उमेश ) said...

लौजा मेरो पनी नमस्कार है नमस्कार कैलाश जी - ऐ तर भेट्दा खेरीको हो की बिदा हुदा खेरीको हो कुनि थाहै भएन ।
- आच्या !! मलाई पनी भट्टिको कुरा गर्दा धेरै पो लाग्यो क्याहो ! काईदाको गफ पो जादो रहेछ नि !

ह..ओसsss त फेरी फेरी आउला ......भट्टीपसलमा ब्लोगिंग को गजब को नशा चदेको रहेछ - रक्सीको नशाले छड़ला तर यसले छाड्दै न रहेछ नि ।

कैलाश said...

सँधैझैँ सबैलाई उही धन्यवाद छ।

कुनाकानीको बसन्तजी यहाँ यो टाँसोमा भट्टीमा गरिएको कुराकानी र त्यो कुराकानीको प्रक्रियागत चित्रणलाई प्रतिबिम्बित गर्ने हेतुले मैले भट्टीलाई पाठशालाको उपमा भिराएकी हुँ। त्यसो हुनासाथ पाठशालालाई नराम्रो पारेको या भट्टीसँग दाँजेको हैन। सकारात्मक सोचको पाटोबाट हेर्दा सबैकुरा सकारात्मक लाग्छन् भने किन त्यसो नगर्ने भन्ने मात्र मेरो एउटा सानो विचार हो।

अनि दीपकजी म फेल भएछु यसपाली कुरा बुझाउनलाई। एक टुक्रा व्यङ्ग्यलाई मिठो मान्दै अरु नबुझेकोमा मरि नै जाने त? हत्तेरी। त्यसो त नगरु है। फेरी म अनि मेरो भट्टी अनि मेरा कुरा नै ज्यानमारा बन्ला भन्ने पो डर भो। (ठट्टा पनि गर्दा त रमाइलै हुँदोरहेछ।)तर कुरा बुझाउन नसक्दाखेरी मेरो भट्टीअगाडि नाङलो पसल थाप्ने हैन कि भट्टीमै पसेर कुरा बुझ्नु ठीक होला नि?

किराँत जी, उजेलीजी, कृष्णजी तपाईहरुको शब्दहरुको बदलामा म धन्यवादबाहेक अरु के भनुँ र? हो मलाई कहिलेकाही मेरा आसपासका एकदमै सानो मानिने वा ख्यालै नगरिने कुराहरुले पनि दिमाग खाइरहेको हुन्छ। अनि त्यसैलाई अभिव्यक्त गर्छु यसरी।

ए गाँठे हो। दुर्गाजीको हाम्रो नेपालमा के के गरिन्छ भन्ने कुरा पढ्दा त मलाई मज्जा आयो।

अनि बेदनाथजी रक्सीको नशा चाहि मलाई अलिक था भएन। तर त्यसैको गन्थन लेख्नै परेमा चाहि थाहा पाउनैपर्ला कि त? तर ब्लगिङको नशा चाहि थोरबहुत चढेकै हो क्यारे। हेरौ कहिलेसम्म चढ्छ। सायद भट्टीमा कुराकानी हुन नछाडुञ्जेल त नशा नउत्रेला कि त?