Monday, March 09, 2009

थेत्तर काठमाडौँ

होली पर्वको विशेष दिनको कुरा गरेको हैन मैले यहाँ। होलीको आफ्नै महत्व छ। जुन नकार्न सकिदैन। दशैँमा टीका थाप्न दिन तोकिएकै भएपनि साइत चाहिने, तिहारमा फूलमाला लगाउने दिन तोकिएपनि साइत कुर्ने तर होली पर्वको सन्दर्भमा किन मान्छेहरु यत्तिका थेत्तर र अनियन्त्रित? किन यत्तिका उछृङ्खल र उत्ताउला? यही प्रवृत्ति देखेर होली पर्वको नाम सुन्नासाथ लोला आतंक मात्रै सदृश्य यो मानसपटलमा घुम्छ। यो हविगत म एक्लोको हैन अवश्य पनि। अधिकांश महिला, त्यसमाथि पनि युवतीहरुको पीडा र भोगाई हो यो। लोला हान्नेसँगको वितृष्णा र क्रोध त सालैपिच्छे चुलिदै गइरहेको छ। हुँदाहुँदा होली पर्वसँगै वितृष्णा हुने बेला भइसक्यो।

हरेक साल जब यो होली पर्व नजिकिदै जान्छ। भनौ न होली पर्व १५ दिन अगावैदेखि यो उपत्यकाका धेरैजसो (मूल सडकबाहेक)बाटो, गल्ली जहाँसुकै हिड्दाखेरी प्राय केटीहरु नै लोलाका शिकार भइरहेका हुन्छन्। प्राय महिला त्यसमा पनि युवतीहरुकै शरिरलाई निशाना बनेको देखिन्छ। भर्खरका केटीहरुकै उपस्थितिमा जोड दिने गरिन्छ। यद्यपि त्यहाँ सबैखालका बटुवाहरु गन्तव्यतिर लम्कीरहेका हुन्छन्। हेर्दाखेरी जाबो लोला हान्ने भन्ने लाग्न सक्ला। तर लोलाको विकृतिभित्रको चेत अचेत मनस्थिति र पाटोमध्ये युवती र लोलाबीचको दुरी निर्धारणकर्ताको मनस्थितिले पनि विकृत रुप धारण गरेकै छ। यसै सन्दर्भमा मेरा सहकर्मी पुरुष साथीहरुलाई कुनै दिन गल्तीले लोलाले लाग्यो भने "आज म निकै हेण्डसम देखिएछु भन्ने भ्रम परेको थियो। तर भ्रम धेरै बेर रहेन" भन्ने गरेको सुन्छु। कुनै वयस्क व्यक्ति या पुरुषलाई लागेमा लोला हान्ने व्यक्ति आफै केही हच्किएको पनि देखेको छु। यदि त्यही लोला युवतीलाई लागेमा निर्धक्कसँग मुस्काउँछन्। सामान्य लाग्ने यो अभिव्यक्ति सही हो। र व्याङ्ग्यात्मक पनि छ।


होली पर्वको कैयौँ दिन अघिदेखि हरेक दिनजसो कुनै युवती आफ्नो शरिरमा लोला बज्रेपछि रिसले चुर्मुरिदै फत्फताइरहेको दृश्य देख्न सकिन्छ। तर लोलाद्वारा सताइएको ती युवतीको अवस्थाप्रति सबैको ध्यान तानिएपनि त्यसबारेमा कसै कसैले फाट्टफुट्ट एकाध शब्द खर्चेबाहेक अरु केही गरेको देखिदैन। न गर्ने नै उपाय हुन्छ। कही कतै यही कुराले नराम्रोसँग तनाब नै पैदा गरेको पनि हुन्छ। लोला हिर्काउने व्यक्ति सामुन्ने छ या कुन झ्यालबाट या कुन घरबाट लोला प्रहार भएको भन्ने मात्रै पत्ता लागेको खण्डमा तनाब पैदा भएको पनि देखिन्छ। घरका झ्यालका सीसा फुट्नेगरी ढुंगा प्रहार भएको पनि देखिन्छ, सुनिन्छ। लोला हान्ने पक्ष र खेप्ने पक्षबीच वादविवाद र गाली गलौजको स्थिति पैदा भएको पनि देखिन्छ। तर यस्ता घटनाले लोला हान्ने हतोत्साही भएको पाएको छुइन, न त लोला हान्ने प्रवृत्तिमा कमी नै आएको छ। लोला हान्नु गलत हो अरुलाई दुःख दिनु हो भन्ने सामान्य बुझाई भएपनि यसमा के आनन्द छ कुन्नी? कुन चाहिँ सन्तुष्टिको आडमा लोला हान्ने प्रवृत्ति न त कम हुन्छ न त सुधार नै हुन्छ।

जथाभावी लोला हान्नेलाई केको मजा हुन्छ कुन्नी हान्ने नै जानुन्। तर लोला खाएर आनन्द मानेको आजसम्म सुन्न पाएको छुइन मैले। लोला खेप्दा न्वारनदेखिको रिस चुलिन्छ मेरो त। ज्यानमा बज्रिएको लोला खेपेर मानसिक पीडा र तनाव, फोहोर पानीको दुर्गन्ध लिएर, कपडा निचोर्दै या टक्टकाउँदै, दुखेको शरिर सुम्सुमाउँदै चुपचाप गन्तव्यतिर हिड्नुपर्दा आफ्नो मानो खाएर बिना सित्तिमा अर्काको कुटाई खाएझैँ भइरहन्छ। बिना गल्तीको सजाय भोग्ने निर्दोष र लाचार व्यक्ति बनाइदिन्छ लोला आतंकले।

काडमाडौँ बसाईको १० वर्षे समयावधिको अन्तरालमा हरेक होली पर्वमा लोला आतंक नियमित र पीडादायी नै भएको देख्छु र भोग्छु पनि। तैपनि लाचार छु। काठमाडौ आउनु अघि लोला कुन जिनिस हो भन्ने भारेमा अत्तोपत्तो थिएन। काठमाडौका अधिकांश मान्छे पनि बाहिरबाटै आएका हुन्। र तिनै मान्छे काठमाडौ बाहिर गएर पनि होली मनाउँदा हुन्। तर काठमाडौमा बस्दाखेरी लोला हान्नैपर्ने, आफू नहानेपनि आफ्नो आँखै अगाडि केटाकेटीहरुले मनलागी लोला हानेको देख्दा सम्झाउने सम्म जिम्मेवारी नलिने यो चलनलाई के भन्ने। अभिभावकले आफ्ना सन्तानलाई सम्झाउन सके या होलीकै दिन मात्र होली या लोला खेल्ने कुरामा मनाउँन सकेमा लोला आतंक कम हुने देखिन्छ। अधिकांश लोला प्रहार गर्नेहरु स्कूले केटाकेटी नै देखिन्छन्। उनीहरुलाई उक्साउने काममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ती भन्दा समझदार व्यक्तिहरु पनि उत्तिकै जिम्मेवार छन्। या हामीपनि उत्तिकै जिम्मेवार छौँ भन्दा ठिक हुन्छ।

यही प्रसंगमा एउटा अड्चन पनि छ। यो ठाउँमा कस्ले कसलाई सम्झाएर कस्ले टेर्ने? एउटा घरको हरेक कोठापिच्छे एक एक ओटा परिवार बसेका हुँदाहुन्। मेरै कोठाबाट नहानिएपनि म आफै बसेको घरबाट कुनै न कुनै व्यक्तिलाई लोला हानिन्छ। तर उनीहरुलाई सम्झाउने मेरो के हैसियत? बच्चाबच्चीको मामिलामा अरुले केही भनेको खण्डमा अभिभावकहरु लड्न भिड्नसम्म तयार भएको पनि देखेको छु। त्यसैको नतिजा हो जोसुकैले पनि कसै न कसैको लोला प्रहार खेप्नै पर्ने हुन्छ। खै यो काठमाडौलाई यत्तिका विधि थेत्तर पार्ने हामी मनुवाहरुलाई के भनौँ? सके त चोँकेमा उनेर कपडा सुकाएझैँ सुकाइदिनुजस्तो भन्नु पनि नहुने! फेरी भनिनै हाले पनि के नै हुने? यहाँ कस्को कस्लाई मतलब छ र? हामी सबै थेत्तर। लोला हान्ने हानेरै थेत्तर भएका। खेप्नेहरु खेपेरै थेत्तर भएका। हेर्नहरु हेरेरै थेत्तर भएका। यसो सरकारी नीति नियमतिर नछिरेकै बेस होला। त्यो पनि हामी जस्तै थेत्तरले बनाउँने हो। अनि हामी जस्तै थेत्तरले नै कार्यान्वयन पनि गर्ने हो। अनि हामीजस्तै थेत्तरले नै नियम नमान्ने पनि हो। अब यो थेत्तरै थेत्तरको यो जमातमा के होला?

7 comments:

Dilip Acharya said...

यो नराम्रो संस्कार (पर्वलाई नै नराम्रो भनेको भने हैन है) त झन झन जटिल हुँदै गयो हो ।

फेरी दिउसै बीच बाटोमा गोली हान्नेहरु त निस्फिक्री हिँडने बेलामा अब यो लोला हान्नेलाई रोक्न कसलाई फुर्सद होला र ।

प्रशासनीक कमजोरी आफ्नै ठाँउमा छ, तर हाम्रो आफ्नै नैतीकता पनि कहिल्यै उठन सकेन यो मामीलामा ।

Basanta said...

साह्रै दु:ख लाग्छ यस्तो देख्दा। हामी नेपालीहरु अत्यन्त परपीडक बन्दै गईरहेका छौँ। अरुलाई दुखेको, अरुको बिग्रेकोमा हामीलाई आनन्द लाग्छ।

वर्षौं भईसक्यो यो लोला-आतंकले महिलाहरुलाई यातना दिएको तर यसलाई निर्मूल पार्न सम्बन्धित कसैले चासो दिएका छैनन्। फागुको याम छउञ्जेल कुरा चल्छ, त्यसपछि सबैले बिर्सन्छन्।

आफ्ना छोराहरुलाई अलिकति पनि संस्कार दिन नसक्ने कस्ता बाउआमाहरु?!

Unknown said...

'फेरी दिउसै बीच बाटोमा गोली हान्नेहरु त निस्फिक्री हिँडने बेलामा अब यो लोला हान्नेलाई रोक्न कसलाई फुर्सद होला र ।'दिलिपजीको कुरामा हो मा हो थप्दै 'यो होली पर्व नै केहि वर्षमा अपभ्रँस हैन अपभ्रष्ट भएर लोला पर्व कहलिन थाल्ला ।'

Prabesh said...

यस्तै चल्दै आएको छ, यस्तै चल्दै जान्छ होला । जबसम्म मान्छेमा आफैँ चेतना आउँदैन, यी थेत्तरालाई जति कडा व्यवस्था गरेपनि हुँदैन !!

Yumesh Pulami said...

ह्यापी होली .... कैलाश जी !
हुन त मार्का त परेकै हो .... तर सहमति मा खेल्नु चाहि उचित नै हो

Unknown said...

Dipak jadit jee sanga 100 to 100 sahamat chhu, ho sahi ho, tara pani maanchhe bhaera janme pachhi bujhna parchaa arkaako markaa haru, tara tyasto bhalaadmee ko chha yahaa?????

Muhahahhahahhahah sabai ,,,,,,,,,,,,

Tain Tain fish,,,,,

Muhahahhahhahahha

Happy holi hai ,, tara ma ta Lola handina hai .....!

sangamkirati said...

होलिको बारेमा यो लेख सारै उचित लाग्यो।हुनत कैलाशजिको हरेक लेखहरु उचित नै लाग्छ। मलाई तर बिषेस होलिको बारेमा म पनि कैलाश जि को कुरामा सतप्रतिसत सहमत छु। अनि सबै मित्रहरुको भनाई पनि सबै राम्रो छ।यो होलि खेल्दा चहि मेरो बिचारमा सबैको सहमतिमा खेलेर रमाईलो गर्दा राम्रो होला किन कि अपरिचित ब्याक्तिलाई लोला हान्दा हुनसक्छ उ कुनै कामबिसेषले हिडिरहेको हुन्छ।रमाईलो मात्र नसम्झेर अरुको पिरमर्कालाई पनि बुझेर रमाईलो गरे कसो होला?