Friday, March 20, 2009

"Perfume" र पानी

पानी नै पानी भएको देशमा पानी नै कम भएर लोडसेडिङ भएको रे! तै तै काकाकुल बनेको काठमाडौँमा आज त पानी दर्किने ठूलै सम्भावना देखिँदैछ। रुन्चे मौसम धीत मरुन्जेल रोए त कति जाती हुन्थ्यो भनेर सबैको मनमा पक्कै छ। तर बाछिटामै सीमित भइरहेको छ। गड्याङगुडुङको धमाका पनि भइराछ। कतै बाछिटा बाक्लिदै गएर रमाइलो भइहाल्छ कि भन्ने आशमा छु म। साथै दुईजना साथीहरुको याद पनि आयो। किनकी उनीहरुले केही दिन अघि मेरो हातमा थमाएका थिए- परफ्यूम। 'पानीको खूब सर्टेज रैछ। पानी त ल्याउँन सकिन्न। तिमीलाई ई यो चिनो। मूड चल्यो भने ज्यानमा छ्यास्‌छुस्‌ पनि पार!' पानीको दुःखप्रति औँल्याउँदै र मैले कहिल्यै परफ्यूम प्रयोग नगरेकोप्रति सचेत हुँदै भएपनि चिनो दिएका थिए एउटा साथीले (पानी नहुँदा नुहाउँन नपाएपछि यसो ज्यानमा छर्केर हिड्दा बासनै आउँला कि त!)। अर्को साथीले चाहिँ 'लोडसेडिङ्ले भनेजस्तो फिल्म हेर्न नपाएपनि चाहेको खण्डमा रातभर बसेरै पनि हेरिहाल्छौ नि हगि?' भन्दै फिल्म दिए- 'Perfume: The Story of a Murderer'।

दुबै परफ्यूम थाँती रहेका थिए। छ्यास्‌छुस पार्ने परफ्यूमको म प्रेमी परिन। तैपनि साथीले दिएको उपहारको महत्व अलग्गै हुन्छ। खासगरी हेर्ने परफ्यूमको लागि ताक पार्नै सकिराखेको थिइन। मौका जुराए मैले हिजै रातीको १२ बजे, बत्ती आएपछि। रोचक लाग्यो। एकपल्ट हेरीसकेपछि फेरी दोहोर्याएर हेर्न मन लाग्यो। अनि यसबारेमा ब्लगमा ठेल्दिने सोच पनि। म अहिले मनमनै सोच्दैछु। बाहिर खूब पानी दर्कीरहोस् (खूब त हैन भुईको धूलो मेटिनेसम्मको परिराखेको छ। बेलाबेलामा बिजुली पनि चम्किरहेको छ)। म यहाँ बसेर ब्लगमा लेखिरहुँ। लेख्दालेख्दै अड्किए भने बाहिर परिरहेको पानीको बाक्लो मुस्लो हात्केलामा थापु। हत्केलामा थाप्दाथाप्दै ब्लगमा अब फेरी यसरी लेख्छु भन्दै सोचीरहेको हुनेछु। हत्केलाबाट पानीको थोपा उछिट्टिएको देख्दा थाहै नपाई मैले भोगीरहेको समय उछिट्टिरहेको महशुश गरुँ। अनि हत्तपत्त ब्लग लेख्न बसुँ। तर, कसैगरी बिजुली चाहि नमरोस्! कसैगरी पनि। नत्र फेरी बिजुली ब्युझिँदाखेरी यही कुरा, यही रुपमा लेखिन र ब्लगमा पब्लिस नै नहुन सक्छ। लौ बर्बाद! अलिअलि छिटाएको पानी पनि हरायो। नमिठो या तीतो हुनेगरी कुनै चीजको स्वाद लिएपछिको अनुहारको भावझैँ देखिएको मौसमले थप पानी पार्ला कि नपार्ला कुन्नी? म चाहिँ परफ्युमको बारेमा लेख्न थाले।

सन् २००६ मा Tom Tykwer को निर्देशनमा बनेको १४७ मिनेटको "Perfume" १८औँ शतान्दीको फ्रान्सको एउटा आश्चर्यजनक कथा हो। जसलाई crime, Romance, Drama, Thriller फिल्मको रुपमा लिइएको छ। जहाँ अद्भूत सुघ्ने शक्ति लिएर आएको एक अनौठो व्यक्ति Jean-Baptiste Grenouille (जसको खास नाम Ben Whishaw हो)(सु)गन्धकै भरमा बाँच्छ र त्यसैको लागि जेसुकै पनि गर्छ। उसले मानव शरीरको आकर्षित सुगन्ध पत्ता लगाउँछ र त्यसलाई सँधैको लागि कैद गर्न २५ जना केटीहरुको हत्या गर्छ र त्यसबाट चाहेजस्तै परफ्यूम बनाउँछ। अन्तत त्यो सुगन्धित परफ्युमकै सुगन्धद्वारा फाँसी हुनुको सट्टा देवदूतको दर्जा पाउँछ। उक्त सुगन्धले हरेक व्यक्तिमा माया-प्रेम पैदा गराउँछ। रोमाञ्चित मात्रै हैन सबैलाई लठ्ठ नै पार्छ। त्यही परफ्यूमले संसारलाई आफ्नो हातमा राख्न सक्ने क्षमता बोक्छ। तरपनि Jean-Baptiste Grenouille विरक्त नै हुन्छन्। किनकी उनले न त ले भित्रैदेखि चाहेको सुगन्ध पाउँछ, न त माया नै। हरेक बासना या सुगन्धलाई सँधैको लागि कैद गर्ने उसको एउटै उद्देश्य पूरा भएपछि उनीसँग अर्को कुनै चाह रहँदैन। रहन्छ त सिर्फ उसले गुमाएको माया र सुगन्ध। जो एउटा केटीको शरीरमा भेटेको हुन्छ। आफ्नै अज्ञानताको कारणले उक्त केटीलाई मारिदिन्छ। तर उसको अद्भूत सुघ्ने शक्तिले पहिल्याएको अति मोहक र दुर्लभ सुगन्धप्रतिको लगाव र मोह ऊबाट कहिल्यै टाढा जाँदैन। बरु त्यही मोह र अतृप्तपना पुरा गर्न नसक्दा गुमनाम भईदिन्छ।

Jean-Baptiste Grenouille (नायक) सन् १७३८ जुलाई १७मा पेरिसको एकछेउमा रहेको माछा बजारको दुर्गन्धित ठाउँमा जन्मिन्छ। जुन पेरिस शहरभरिको सबैभन्दा बढी गन्ध आउँने ठाउँ हुन्छ। आमाले अघिल्ला ४ सन्तानलाई फोहोरको डंगुरमा फ्यालेझैँ Jean-Baptiste लाई पनि फ्याकिदिन्छ। अति नै दुर्गन्धित ठाउँमा पनि Jean-Baptiste को अकल्पनीय सुघ्ने शक्तिले बचाउँछ। फ्रेन्चमा Grenouille को अर्थ भ्यागुता हुँदोरहेछ। पात्रको विशेषता र यो शब्दको अर्थबीच पनि तालमेल रहेछ। जन्मनासाथ हरेक चीजको कोष-कोषको अलग अलग गन्ध पहिचान गर्छ। हरेक चीजमा निहित बासना/गन्धको आधारमै उसले त्यो चीजलाई चिन्न थाल्छ। हरेक सजीव/निर्जीव जतिपनि चीजबीजहरु छन् ती सबैको पहिचान गर्न उसको सुघ्ने शक्ति नै काफी हुन्छ। ऊ अनाथालयमा हुर्किन्छ। एकदम कम बोल्छ। १३ वर्षको उमेरमा अनाथालयबाट बेचिन्छ र Giuseppe Baldiniले नकिनेसम्म रातदिन त्यही फ्याक्ट्रीमा १५/१६ घण्टा काममा घोटिन्छ। सामान पुर्याउन शहर जाँदा आश्चर्य हुने गरी एउटा साधारण तर सुन्दर केटीको शरीरको (सु)गन्धमा लठ्ठिन्छ। उसको अन्जानपनले केटी मार्छ। केटीको शरीरमा भएको गन्धलाई पागलसरी सकेसम्म आफूले सुँघेरै लिन खोज्छ। र, उसको जीवनको उद्देश्य बन्छ- उत्कृष्ट सुगन्धलाई सँधैको लागि सुरक्षित गर्ने।

Grenouille मा निहित अनौठो शक्तिले जन्माएको त्यो कदमलाई त्यही शक्तिले अगाडि बढाउँछ। सही प्रक्रियागत/संरचनागत ज्ञान र प्रयोगको कमी पूरा गर्ने खोजीमा नामुद परफ्यमुर Giuseppe Baldini कहाँ पुग्छ। Baldini ३० वर्षअघि फ्रान्सबाट पेरिस छिरेका हुन्छन्। नयाँ र माग अनुरुपको परफ्युम बनाउँन नसकेर बेकम्मा सरह भइसकेको अवस्थामा Grenouille को सहयोगमा उनको ब्यापार फेरी चुलिन्छ। Baldini मख्ख छन्। तर Grenouilleको सुगन्धको चाह अतृप्त नै रहन्छ। त्यसैले परफ्युम बनाउँने प्रक्रियागत विधि पूर्ण रुपमा सिकेर फेरी ऊ नयाँ (सु)गन्धको खोजीमा निस्किन्छ। हजारौ गन्धले भरिपूर्ण सुरुङभित्र केही वर्ष निष्फिक्री बिताउँछ। एउटा गन्ध, जुन उसको जीवनको पहिलो र प्रमुख चीज हो, को कमी महशुश गर्छ र बाहिरिन्छ। बाहिरिएपछि Laure Richis (प्रमुख महिला पात्र)को शरीरको गन्धप्रति केन्द्रित हुन्छ। त्यही गन्ध कैद गर्ने भित्री हेतुले परफ्युम फ्याक्ट्रीमा कामदार बन्छ। फ्याक्ट्रीमा काम गर्नुको अलावा लगातार केटीहरुको हत्या गर्दै उनीहरुको सुगन्ध कैद गर्नतिर ज्यानप्राण दिएर लाग्छ। युवती हत्या गर्दै परफ्यूम बनाउँने क्रममा कतिपय दृश्यहरु निकै नै क्रूर लाग्छन्। मानौ उसको लागि मानव र अन्य चीजबीजबीच कुनै फरक नै छैन। सुन्दर र आकर्षक युवती हत्या आतंकको हाहाकार मच्चिन्छ शहरभरि। कर्फ्यू जारी हुन्छ। पूरै पेरिस काँप्छ। थर्कमान हुन्छ। त्यो माहौलसँग Grenouilleलाई कुनै चासो हुन्न। न त ऊप्रति कसैलाई शंका नै।

अन्ततः Laure Richisको सुगन्ध कैद गर्न सफल हुन्छ ऊ। १२ वटा उत्कृष्ट परफ्युम बनाउँछ। तीमध्येबाट पनि अझ अति उत्कृष्ट परफ्यूम बनाउँछ। त्यसलगत्तै ऊ पक्राउ पर्छ। कडा भन्दा कडा कानुनी सजाय दिने, यातना दिनेदेखि फाँसी दिने घोषणा हुन्छ। पेरिसवासीहरु त्यसको लागि सहमत हुँदै जम्मा हुन्छन्। परफ्यूमको एक थोपा बोतलबाहिर निकाल्दा सबै उसैको खुट्टामा निहुरिन्छन्। सबैले उसलाई निर्दोष, मायालु र अति सुन्दर देख्छन्। अर्को थोपा बाहिर आउँदा उसलाई सबैले जिससको दूत मान्न थाल्छन्। भीडमा उक्त परफ्यूमको गन्ध फैलाउँनासाथ भीड एकअर्कासग मायाप्रेम गर्नमा हराउँछन्। जब भीड ब्युझन्छन् लाज र आत्मसम्मानका कारणले कोही पनि बोल्न सक्दैनन्। ऊ देवदूतको रुपमा आएर बिलाएको मानिन्छन्। उसको सट्टा परफ्यूम फ्याक्ट्री परिसरमा भेटिएको विभिन्न प्रमाणका आधारमा परफ्यूम व्यापारी महिला (फ्याक्ट्री मालिक)को प्रेमीलाई फाँसी दिइन्छ। ऊ आफू जन्मेको ठाउँमा पुगेर भएभरको परफ्युम आफूमाथि खन्याएर संसारबाटै नाटकीय तरिकाले विलाउँछ, रातको ११ बजे सन् १७६६ जुन २५का दिन।

बाहिर चियाउँदा पानी नपर्लाझैँ छाँटकाट देख्छु म। अँध्यारो वातावरण उज्यालो हुँदै गइरहेको छ। बाहिर निस्केर यसो नियाले। माटोको बेग्लै गन्ध छ। सिमेन्टेड ठाउँमा थोरै तातो बाफ आइरहेको भान हुन्छ। म फर्केर फेरी लेख्न थाल्छु।

Grenouille पात्रमा मानवी र दानवी दुबै गुण छ। रुप, सौन्दर्य, यौवन, प्रेम, यौनजस्ता कुराप्रति आशक्ति नराखीकनै पनि युवतीहरुको शरीरमा रहेको सुगन्धकै आधारमा छानी छानी २५ जना जवान, सुन्दर र आकर्षक युवतीहरुको हत्या गर्छ। मानवीय भावना तथा पाप धर्मको मापदण्डअनुरुप यो उसको दानवीपना नै हो। युवतीहरुको कपाल काटेर मुडुलै पार्ने र उनीहरुको पुरै शरीरमा जेलजस्तै पदार्थ (मलाई भन्न आएन खासमा त्यो के चीज हो कुन्नी? लिटो जस्तै देखिन्थ्यो) दलेर त्यसलाई खुर्पाले बिस्तारै जम्मा पार्ने अनि उक्त पदार्थमा कपाल राख्ने। अनि कपालबाट फेरी उक्त पदार्थ निकालेर परफ्यूम बनाउने प्रकृयामा हाल्ने। युवतीहरुलाई सर्वाङ्गै पारेर जहाँ भेटेको हो त्यही फालीदिने गर्छ। शुरुमा एउटा युवतीलाई नै मारेर जारमा हालेर तताएर सुगन्ध कैद गर्ने कामको परिक्षण गर्छ। त्यसपछि सुगन्ध कैद गर्ने उचित बस्तुकै रुपमा मात्र युवतीहरुको शरीरलाई लिन्छ। र आफ्नो काममा सफल हुन्छ। उसको पृष्ठभूमि, हुर्काइबढाइ, भोगाई, अज्ञानता, लक्ष्यप्राप्तिको एकोहोरोपनाजस्ता पक्षले उसको क्रूरतालाई पृष्ठपोषण गरेको छ।

यो फिल्म जर्मन लेखक Patrick Suskind ले सन् १९८५ मा जर्मनी भाषामा लेखेको उपन्यासमा आधारित छ। Penguin Booksले प्रकाशन गरेको उक्त उपन्यासको नाम Das Parfum हो। उपन्यासमा Grenouilleको गेटअपको सन्दर्भमा लेखिएको रहेछ- 'hissed out in a reptile fashion'। Ben Whishaw को अभिनय कमालको छ। Grenouille स्वयं अपराधी मानसिकताको हैन। उत्कृष्ट नतिजा पाउँनलाई अपनाएको गलत तरिका भने अपराध नै हो। तैपनि अपराध गरेको कुनै खालको पश्चाताप हुँदैन। न त ग्लानी नै। हामीकहाँ भनिन्छ नि 'चिलाइ न कनाई' भनेझैँ। उसलाई पाप-धर्मजस्ता कुरासँग कुनै सरोकार छैन। भगवान तथा शैतानी गुण/अवगुणहरुसँग कुनै खालको आसक्ति छैन। त्यसैले होला उपन्यासमा 'एन्टी क्राइस्ट' पात्रको चित्रण गरिएको रहेछ। न त दुनियाँदारीसँग नै उसलाई कुनै खालको चासो छ। सुगन्धबाहेक हरु चीज उसकोलागि अस्तित्वहीन लाग्छ। सुगन्ध पनि त्यस्तो जुन युवतीकै शरीरमा मात्रै हुन्छ। संसारै लठ्ठ पार्ने, आफ्नो बसमा पार्ने सुगन्धित शक्ति बनाएर पनि लाचार देखिन्छ। आफूलाई कमजोर र अतृप्त नै पाउँछ। यो उसमा रहेको मानवीय पक्ष हो सायद। Grenouille सुगन्ध प्राप्तिको खातिर शैतानको रुपमा चित्रित भएको छ। तर त्यही सुगन्धको आडमा भगवानको दर्जा पनि लिएको छ। त्यस अर्थमा परफ्युम या सुगन्धले मानिसको दिमागलाई पूरै डोर्याएको छ। आत्मसन्तुष्टि, सन्तोष र अन्तरमनको शान्ति प्राप्त गर्न नसक्दा सारा संसारलाई डोर्याउने सामर्थ्य पैदा गर्ने मान्छे आफू भने गन्तव्यहीन हुन्छ। त्यो सुगन्धित सृजना सम्पूर्ण पेरिसवासीहरुको लागि चमत्कारी, अति मनमोहक भएपनि आफ्नो लागि महत्वहीन र बेकामे हुनु, आफ्नो अस्तित्व आफैले महशुश गर्न नसक्नु नै Grenouilleले जानी नजानी गरेको जति पनि नराम्रा कामको सजाय हो।

कथावस्तुअनुरुप संसारमा जेजति गन्ध या सुगन्ध छन् सबैको आ-आफ्नै सुगन्ध हुन्छन्। ती सबैमध्यै उत्कृष्ट र स्वर्गीय आनन्द दिने सुगन्ध मानवमै हुन्छ। मानव शरीरको मोहक सुगन्ध आकर्षक र भर्खरका युवतीहरुकै मात्र हुँदो हो? ज्यानलाई यसबारेमा ज्ञान भएन। या त सायद यो फिल्मको Grenouille पात्र युवती भइदिएको भए बेजोड युवाहरुकै शरीरको मोहक सुगन्ध प्राप्तिको कथा हुँदो हो कि? जे भएनि फिल्म चाहिँ क्रिएटिभ, रोमान्चित र बेग्लै स्वादको लाग्यो। फिल्म हेर्दाहेर्दै र हेरीसकेपछि झन् मलाई एउटा कुरा जान्ने उत्सुकता लागेको छ। यो फिल्म हेरेपछि Feminist तथा सुन्दरी प्रतियोगितालाई युवतीहरुको शारिरिक सुन्दरताको बिक्री गरेको ठान्नेहरुको कस्तो प्रतिक्रिया हुँदो हो? यो फिल्मको कुन चाहिँ पाटोलाई बढी केलाउँदा हुन्? खैर, यो पनि आकाशको दर्कने पानी हत्केलामा थापेर मजा लिउँला भने सरहझैँ नै हो क्यार।

लु खा! मैले लेख्ने कुरा यति हो। अहिलेलाई ब्लग लेख्ने धन्दा सकाए। यसो बाहिर हेर्छु। बादल फाटेर उज्यालो देखिएको छ। खाने (पिउने)पानीको अभाव छँदैछ। अब त झन् सुख्खा मौसम छिप्पिदैछ। खडेरी लम्बेको लम्बेकै हुने हो भने त छ्यास्‌छुस् पार्ने परफ्यूम पनि काम लगाउनैपर्ला नि? 'प'बाट पानी नभएको खण्डमा 'प'बाट परफ्यूमको विकल्प पनि खुलै राखौ न!

6 comments:

Yumesh Pulami said...

फिलिम हेरे जस्तरी नै मैले पनी पढी भयाए ....
तर यसले नकारात्मक शन्देश पो दिन्छ की जस्तो लाग्छ .... कतै .... कुनै ब्यक्ति ले फिलिम को पात्रले जस्तै .... तोड तरिका अपनाउने त होइन ' प ' यानी parfume को लागी ................ जून कुरा नै लाइफ हो भन'ठानेर ।

ब्लग ..... मा हरेक आफ्ना कुराहरु शेयर गर्न कति सजिलो र मज्जा हुने है कैलाश जी ?

Anonymous said...

केही समय अगाडी मैले नि यो फिल्म हेरेको थिएँ | फिल्मको प्रस्तुतीकरण साच्चै खतरनाक छ |

यू ट्यूब मा यो फिल्म यहाँ उपलब्ध छ

http://www.youtube.com/watch?v=DAC1VnKqBt4

Dilip Acharya said...

कैलाशजी,
तपाईले यो टाँसो टाँस्नु भन्दा ४-५ दिन अगाडी देखि नै मेरो ब्लगरोलमा 'perfume' भनेर देखीन थालेको थियो , शायद 'ड्राफ्ट' पोष्ट वा सेड्युलमा राख्‍नु भएकोले होला । धेरै चोटि आएर पनि हेरें, तर बल्ल नाम परिवर्तन भएर 'perfume र पानी' भएर आएछ ।

तपाईको लेखन शैली राम्रो भएर हो कि फ्लिम नै राम्रो भएर हो, यो पढेपछि मलाई पनि 'हेरौं- हेरौं ' भा'छ।

झन माथि मिलनजीले लिन्क पनि दिनु भएको रहेछ अब फुर्सदमा हेर्छु ।

Unknown said...

सामान्य प्राकृतिक नियमको आधारमा रहेर हेर्दा नारी शरिरको सुगन्धबाट Perfume भन्दा पनि Cologne बनिनु पर्ने हो , जस्ले पुरुषहरुलाई मात्र
आकर्षण गर्न सक्छ । मलाई पनि हेर्न मन लाग्यो कैलाशजीको लेखाई पढेर ।

कैलाश said...

साँच्चै नै हो नि बेदनाथ जी ब्लगमा लेख्दाको मजै बेग्लै छ। अनि फिल्मले दिने सन्देश त दुबै नै हुन्छ नि। त्यसलाई ग्रहण गर्नेमा पनि भर पर्छ होला नि त। फिल्म हेरीसक्नु भएको मिलनजीलाई धन्यवाद लिंक राखीदिनुभएकोमा।

दीलिपजी खासमा कुरा यस्तो भयो। अबको दिनमा कुन कुन शीर्षकमा लेख्ने भनेर लिस्ट बनाउँदै ड्राफ्‍टमा राख्दाखेरी यही पोष्ट चाहिँ पब्लिस्ड हुन पुगेछ। त्यो पनि शिर्षक मात्रै। पोष्टलाई डिलिट गर्नुबाहेक अरु विकल्प थिएन मसँग त्यसबेला। किनकी त्यति बेला मैले बिजुली बत्तिको तालिकाअनुसार शुरुको केही भाग मात्रै कम्प्युटरमा हेरेको थिए। पुरा हेरीसकेपछि पानी पनि थपेर ल्याए। दीपकजी नारी शरिरको लागि देखाइएको प्राकृतिक सुगन्धको मामिलामा चाहि सायद तपाईको कुरा सही होला। तर नारीको शरीरको सुगन्धमा बढी जोड दिइएको भएपनि त्यही सुगन्ध परफ्‍यूमको रुपमा आउँदा नारीपुरुष सबैमा उत्तिकै आकर्षण र मादकता पैदा गर्छ।

Surath Giri said...

यो फिल्म साँच्चै राम्रो बनेको छ तर पनि खै मलाई भने यस फिल्म ले उक्त किताब लाई अझै न्याय गर्न सकेन की जस्तो लाग्यो । किताब अत्यन्तै उत्कृष्ट छ । हुनत किताब म जत्तीको कल्पनिक आयम चलचित्रमा देखाउन असम्भव हुने भएकाले पनि होला !