Wednesday, April 21, 2010

कोदास्की, गुराँस र हिउँसँग कालिञ्चोकमा नयाँ वर्ष

वैशाखको याम, तैपनि तुवाँलो र कुहिरोको मुस्लो। प्राय तुवाँलो र कुहिरोभित्रै ढाकिएर बस्ने गौरीशंकर, कालिञ्चोक डाँडा अनि त्यहाँबाट देखिने ठाउँहरु। मनमोहक दृश्यहरु। हिम शृंखलासँग नजिकिने, मनमोजी भएर प्राकृतिक सुन्दरतासँग ओद्यी रम्ने धोको अधुरै रहने हो कि भन्ने आशंका थियो मनमा। मंसीरदेखि माघसम्म हिउँले ढाकिने ३,८४२ मिटर उचाईमा रहेको कालिञ्चोक डाँडो, कुरी भञ्याङ, घ्याङ डाडो र अन्य थुम्काहरुमा माघयता हिमपात परेको थिएन। संयोग, चैत मसान्त र नयाँ वर्ष थालनीको संयुक्त रात गडगडाएर असिना-पानी पर्यो। त्यो रात हामी चरिकोट बजारमा थियौँ। तुवाँलो र कुहिरो हट्यो। हामी पुग्ने गन्तव्य स्थल चिमालले सेतै थियो। हिउँले ढाकेर थप सेताम्मे र मोहक भयो। बुर्कुसी मारेर उत्ति नै खेर हिउ खेल्न पुगौँ भन्ने मन भो। (कालिञ्चोक भगवतिको आँगनमा हाम्रो समूह - १ जना फोटो खिच्ने साथी छुटेको छ)।

वैशाख १ गते गन्तव्यमा पुग्न उकालो लागियो एकाविहानै। डाँडैडाडा, भीरपाखाहरु, लेकाली वनस्पति। बनपाखाभरी लाली गुराँस। उचाई बढ्दै गएपछि सेतै फुलेका चिमाल। सेतो पहिरनमा आफूलाई सजाएर प्रकृतिले हामीलाई पाइला चाल्न लोभ्याइरहेका थिए। जति उकालो लाग्यो, उति नै अग्ला गगनचुम्बी डाँडा अघिल्तिर नै उभिन पुगिन्छ। पार गर्ने डाँडाहरुको शृंखला नसकिए पनि जति माथि चढ्यो उति नै रमाइलो। प्रकृतिको वास्तविक र सुन्दर छटाहरुका लोभलाग्दो दृश्यलाई मनभरी अंकमाल गर्दै, तिनको सुगन्धको मजा लिदै तीब्र श्वासप्रश्वास र मिठो थकानसँगै उकालो लागिरहृयौँ हाम्रो समूह। हाम्रो समूहमा ६ वर्षकी प्राष्टा पनि थिइन्। प्रत्येक अग्लो डाँडाको शीरमा उभिन पुग्दा एउटा बेग्लै उचाई छोएको अनुभूतिले पुन उकालो चढ्ने उर्जा दिइरहृयो। ती डाँडाहरुमाथि उभिएर हेर्दा एकाविहानै कुहिरोको घुम्टो खोलेर कुमारी गौरीशंकर हिमाल आडैमा उभिएर मुस्काउँदै स्वागत गरिरहेझैँ लाग्थ्यो।
(चरिकोटबाट देखिएको कुहिरोको घुम्टोबाट बाहिर निस्केर निष्फिक्री हाँसेको गौरीशंकर हिमाल)।

अधिकांश डाँडाहरु आफू सामुन्ने आफ्नै उचाईमा उभिएझैँ देखिए। तन केही थाकेझैँ भएपनि मन त त्यसै फुरुङ्ग। त्यहीमाथि प्राष्टाको फुर्ति, त्यो नाकै ठोक्किने उकालो र मुटु चिसो हुने भिरालोमा पनि आफ्नो आमा बाबुभन्दा कुशलतापूर्वक हिडीदिँदा हामीलाई थप उर्जा मिल्यो। उनलाई न लेक लाग्यो न थकान लाग्यो। न खुट्टा दुख्यो। केही बेर गले भनेर बिसाए पछि पुनः उस्तैगरी फूर्ति जागेको देख्दा हामीलाई पनि थप जोश आउँथ्यो।
(फायर क्याम्प गरेपछि प्राष्टासँग रमाउँदै)।

चरिकोटबाट उकालो लागेपछि प्राकृतिक दृश्यावलोकन र रसापन त छँदैछ। त्यसको साथमा देउराली, थाङसा, गैरी, कुरी भञ्याङलगायतका बिसाउनीहरुमा कोदास्कीको स्वाद लिँदै केही साथीहरु जोशिइरहे। कोदोको रक्सी र आधुनिक हृवीस्कीको नामबाट फ्युजन गरेर साथीहरुले स्थानीय कोदोको रक्सीको न्वारान त्यसरी गरे। 'चुरोटले खाइमारेको फोक्सोलाई कोदास्कीको टेको लाएर उकालो चढ्ने हो नि' जस्ता वहाना बनाउँदै कोदास्कीको घुट्को लिए साथीहरुले। हामीले बाटोमा चाहिने सबै सामानहरु बोकेका थियौँ- मिस्री, चक्लेट, लसुन, बिस्कुट, ग्लुकोज, काजु, बदाम, पानी पर्दा ओढ्ने प्लाष्टिकको घुम, छोकडा आदि। त्यसको अलावा काठमाडौँ उपत्यकाको हावापानी, प्रदुषण, अस्तव्यस्त दिनचर्याबाट मुक्त हुँदै कालिञ्चोकतर्फलाग्दा कोदास्की, लोकल कुखुराको मासु, चौरीको दुध र छुर्पीले पनि यात्राको मिठास थप्यो। चिसो मौसममा अखबरे/डल्ले खुर्सानीकोको स्वादमा तात्तातो थुक्पा। त्यस्तैगरी ढिडो, आलु र अन्य दुग्धजन्य परिकारको स्वाद। आहा ! मुखैमा झुण्डिरहने स्वाद। बाटो आसपास पहेलो पाकेको ऐँसेलुको स्वाद पनि धेरै पनि लिन पाइयो। (आहा ऐँसेलु !)

केही थकान र धेरै उत्साहसँगै कालिञ्चोक भगवतीको डाँडो फेदैमा रहेको फलामे गौँडामा पुग्यौँ हामी। त्यहाँबाट हेर्दा कालिञ्चोक डाँडाबाहेक अरु सबै फुच्चाफुच्ची देखिन थाल्यो। फलामे गौडासँगै रहेको कुरीमा बास बस्ने योजनाअनुरुप हामी त्यहाँ पुग्यौँ। नयाँ वर्षर जनै पूणिर्मामा कालिञ्चोकको विशेष पूजाआजा गरिने हुनाले बास बस्ने थलोहरुमा मान्छेको घुइँचो थियो। त्यही घुइँचोमा हामीपनि मिसियौँ। एकातिर थामी जातिको परम्परागत नाचगान/साँस्कृतिक झाँकी थियो। अर्कोतिर कुरी भञ्याङका पसले र तीर्थालुहरु तामाङ सेलो र आधुनिक गीतको तालमा महिला-पुरुष सालाखाला नाच्दा कुरी भञ्याङ रातैभरी घन्कियो। हामी भने लोकल कुखुराको मासुसँग टन्न खाना खायौ। र चौरीको दुध खाएर सुस्तायौँ। तन सुतेको थियो। मन र कान चाहिँ सुतेन। (कुरी भञ्याङबाट उकालो लागेपछि कालिञ्चोक चुचुरोमा टेक्दै गरेका यात्रुका लस्कर)।

भोलिपल्ट विहानै कुरी भञ्याङबाट कालिञ्चोकको डाँडो उक्लिने लस्कर लाग्यो। त्यही लस्करमा थियौँ हामी पनि। नाकै ठोक्किने उकालो, बाक्लो कुहिरोको, भुइभुइबाटै छुन सकिने श्वेत चिमाल, पाखा नाङ्गो देखिने तर भुइभरी थरीथरीका रंगीचंगी फुल बुट्टा। गन्तव्यमा पुग्नै लाग्दा हाम्रो समूहका दुइ साथीलाई लेक लाग्यो। लेक लाग्दा गर्नुपर्ने सामान्य उपचार गर्दै जसोतसो चुचुरोमा पुग्यौँ हामी। (कालिञ्चोक भगवतिको मन्दिरमा रहेको खाल्डो, जहाँ बाह्रैमास पानी सुक्दैन)।

किंवदन्तीअनुसार तीन दिदीबहिनीमध्ये सबैले पुज्ने ठाउँ रोज्ने महांकाल भगवति, अर्को, त्रिपुरासुन्दरी भगवति, र कसैले नभेट्ने ठाउँ रोज्ने देवी कालिञ्चोक भगवति हुन्। साँच्चै त्यहाँ पुगेपछि कसैले नभेट्ने ठाउँ नै रोजेकी रहिछन् ती भगवतिले भन्ने लाग्यो। तर अचम्मको कुरा कसैले नभेट्ने भनेर हिडेकी देवीकै खातिर त्यत्रो भीड लागेको थियो र प्राय लाग्ने गर्छ। कालिञ्चोक भगवतिमा पाठी बली चढाइदो रहेछ। त्रिपुरासुन्दरीलाई कसैले पनि हेर्न नहुने मान्यता र विश्वास गरिन्छ भने महांकाल भगवतिलाई सामान्य रुपमा पूजाआजा गरिदै आइएको छ। यी दुबै भगवति दोलखा बजार आसपास नै छन्। दोलखा भिमसेनको दर्शनमा जाँदाखेरी त्रिपुरासुन्दरी भगवतिको मन्दिर पनि जाने जिद्द गरे। त्यसो त मेरै जिद्दले आसपासका ओढार, गुफा, ढिस्कादेखि ढुंगाहरु समेत चाहारियो। (त्रिपुरासुन्दरी भगवतिको मन्दिर, जहाँ भगवतिको दर्शन गरिएमा रगत छादेर मरिने किंवदन्ती छ। र यहाँ बली दिइएमा यो घरभन्दा बाहिर निकाल्न नहुने, परिवारजनबाहेक अरुले प्रसाद खान नहुने हुनाले यो घरको भुइतलामा खाने र बाँकी रहेको भित्रै गाँड्ने गरिन्छ। माथिल्लो तलामा भने भगवतिलाई थुनेर राखिएको विश्वास गरिन्छ)।

कालिञ्चोक डाँडामा उभिदा कुहिरोसँग गज्जबको लुकामारी चल्यो। एकनजर हेर्न नभ्याउँदै दृश्यहरुलाई कुहिरोले छोप्थ्यो। अनि एकैछिनलाई कुहिरो हट्थ्यो। त्यो उचाइमा खेलेको लुकामारी र हिउँसँगको सामीप्यताले उकालो चढ्दाखेरीको सबै अप्ठ्यारा पनि कत्ति मिठो लाग्यो। अझ चुचुरोबाट गौरीशंकर, सगरमाथा, रोल्वालिङ हिमशृंखलाका साथै अनगिन्ती हिमालहरु देख्दा कस्को मन नरमाउँला? लुकामारी खेल्दाखेल्दै डाँडाबाट वरपर हेर्दा उन्मादका साथ मिलेर बसेको भीर पहरा, चौर/नागीहरु हेर्दाको बेग्लै मज्जा। चुचुरोदेखि फर्कदा नागीमा बसेर फायर क्याम्पको मजा समेत लिन चुकेनौ हामी। त्यो उकालो, त्यो थकान, त्यो दुखाई सबै एकपलमा कहाँ बिलायो कहाँ। ओहो ! मान्छेको थकान, पीर, चिन्ता भगाउने प्रकृतिमा कत्रो शक्ति। आफूभित्रै इन्द्रधनुषी चमात्कार सँगाल्ने कत्रो सामिप्यता। कालिञ्चोक चुचुरोबाट फर्केर यी पाइलाहरु ओरालो लागे। तर मन भने त्यही चुचुरोमा, त्यहीका दृश्य र वातावरणमा अडिइरहृयो। नयाँ वर्षको अवसर पारेर कालिञ्चोकको यात्रा गर्दाको आनन्द यी शब्दहरुमा कहाँ र ? तर यसो हेर्दा त्यहाँका बनजंगल बिस्तारै मासिदै गएको देख्दा भने मनमा चिसो पस्यो।
(कालिञ्चोक चुचुरोबाट देखिने हिमदृश्य)

7 comments:

सूर्य/सिकारु said...

मनमोहक दृश्य अनि लोभलाग्दो यात्रा। हेर्ने अनि पढने अवसर दिनुभएकोमा कैलाश जी लाई धन्यबाद !

mahesh said...

very nice photo. thanks for posting

Dilip Acharya said...

आहा ! फोटोहरु हेरेर यो पोस्ट पढ्दा मात्रै पनि त्यहीँ पुगेजस्तो लाग्यो । फोटोहरु अझै बढी राख्‍नुभएको भए हुन्थ्यो जस्तो लाग्दैछ ।

साँच्चै कालिञ्चोक चुचुरोमा अहिले पनि हिँउ पर्छ ?

कैलाश said...

अहिले पनि हैन दीलिपजी नयाँ वर्षको राती असिना पानी परेको थियो। त्यही बेला त्यो चुचुरोमा हिउँ परेको थियो। टन्टलापुर घाम लागेर दिनभरमा पग्लिहाल्यो नि। अँ फोटोहरु बढी राख्दा नि हुनेथियो। धेरै फोटो राख्दा साह्रै लामो टाँसो होला अनि पढ्ने भन्दा हेर्ने बढी होला भनेर नराखेको नि।

Basanta said...

अति मनमोहक नियात्रा! तपाईँहरुको टोलीमा आफैं मिसिएजस्तो अनुभूति भईरहेछ। यात्राको आनन्द बाँड्नुभएकोमा हृदयदेखिनै धन्यबाद!

दीपक जडित said...

अहा! 'म पनि त्यो यात्रामा तपाईंहरुसँग मिसिन पा' भए?' रोचक प्रस्तुतिका साथ स्थान विवरण पढ्दै तस्विरहरु पनि हेर्दा रमाईलो लाग्यो ।

कैलाश said...

दीपकजी नि मिसिनु भा भए त बेग्लै मज्जा हुन्थ्यो नि। काठमाडौमै हुनुभएको भए त पक्कै म निम्ता दिन्थे नि।