Friday, May 14, 2010

कनेक्सनः हङकङ-नेपाल

महंगो र गतिशील शहर- हङकङ। महंगीको लागि विश्वको पाँचौँ श्रेणीमा पर्दछ। तसर्थ महंगै जीवनयापन स्वभाविक हो। कामको बोझले थिचिएका जीवन। पहिलो प्राथमिकता काम। कामअनुरुपको दाम। फुर्सद भन्ने शब्दको स्थान नै नभएको दिनचर्यायुक्त जीवनशैली र शहर। परिवारकै सदस्यबीचमा पर्याप्त कुराकानी र देखभेट हुन पनि हाम्मे हाम्मे। त्यसैले पूर्व तयारीमा हरेक काम कुराको लागि समय तालिका मिलाउदै जानुपर्ने बाध्यता। एकप्रकारको यान्त्रिक र दौडधुपको जीवन जिउनुको विकल्प छैन। त्यही जीवनशैली र व्यस्तताको उपभोग र उपयोग गर्नमा हङकङे नेपालीहरु तल्लीन छन्।

सुरक्षित, सुविधासम्पन्न र गतिशील जीवनशैली। व्यस्तता र भागदौडमै अर्थोपार्जनको सुनिश्चितता छ। अर्थोपार्जनसँगै जोडिएका विविध पक्षहरु छन्। हतारको दिनचर्या, आधुनिक परिवेश, खुला यौन परिवेशले दिएको सुविधा वा ल्याउन सक्ने चुनौति तथा पारिवारिक कलह जस्ता कुरामा सजग हुनु त छँदैछ। यस्ता कुराको नकारात्मक प्रभावले खिन्नता पैदा नगर्ने हैन। तर खिन्नतासँगै जिवन्तताको अनुभूति दिलाउने पक्षहरु अनगिन्ती छन्।

हङकङे नेपालीको जीवनशैली, कथाव्यथाबारे लेखिरहने प्रकाश केसीले हङकङको भागदौडपूर्ण एघार वर्षे अनुभूति साट्दै एचके डट कममा लेखेका छन् 'भागदौडपूर्ण जीवन भए पनि हङकङमा जीवन अत्यन्तै सुरक्षित र सुनिश्चत छ, जीवन जीवित र सञ्चारित छ।' बाह्र वर्षेदेखि हङकङको कामकाजी जीवन बिताउदै आएकी इमकला राईको कथन पनि केसीसँग मिल्दोजुल्दो छ। उनी भन्छिन् 'हङकङको दिनचर्यामा कामबाहेक अरु कुरामा एकदमै कम समय बच्छ। त्यसमा खल्लो लाग्नु स्वभाविक हो। तर विस्मात् नै हुन्छ भन्ने हैन। अरुले पनि विस्मात् मानेरै बसेको पनि मैले देखेको छुइन। किनकी त्यही कामको व्यस्तताले जीवनमा धेरै कुरा सुनिश्चित गरिरहेको हुन्छ।' (राई नेपाल आएको मौकामा गरेको कुराकानीलाई कोट गरेको हुँ।)

राईले बीस वर्षअघि पवन बस्नेतसँग अन्तरजातीय प्रेमविवाह गरिन्। बाह्र वर्षपहिले उनी आइडीमा हङकङ छिरिन् र श्रीमान्‌लाई पनि उतै बोलाइन्। त्यसपश्चात श्रीमान्-श्रीमति हङकङमै काम गर्दै बेलामौकामा नेपाल आवतजावत गर्दै आएका छन्। उनीहरुको परिवार- छोरा अरनिको र छोरी चाँदनी काठमाडौँमा बस्छन्। बस्नेत कामको अलावा एनेकपा माओवादीको भातृ संगठन 'नेपाली जनअधिकार सरोकार समाज', हङकङको सचिवको रुपमा कार्यरत छन्।

कसिलो समयतालिकाको बाबजुद इन्टरनेटको प्रयोग, टेलिफोनमा परिवार-साथीभाईसँग अपडेट हुनु तथा सम्बन्धलाई जीवित राख्नु, नेपाली तथा देश अनुरुपको चार्डपर्व मान्नु, पारिवारिक भेटघाट, सामुहिक जमघट, घुमघाम, टेलिभिजन हेर्नु, पत्रपत्रिका तथा पुस्तक पढ्नुलगायतका क्रियाकलापमा बढी संलग्न हुन्छन् हङकङे नेपालीहरु। भौगोलिक रुपमा परिवार, देश र समाजसँग टाढा बस्नुपर्दाको बेग्लै पीडा छ। त्यो भन्दा पनि घुम्न र भेटघाटमा हङकङ पुगेका परिवारलाई पर्याप्त समय दिन नसकेको खण्डमा भने थप पीडा हुन्छ उनीहरुलाई।

चाँदनी र अरनिको गत चार साल लगातार बाआमासँग दशैँ तिहार मान्न हङकङ पुगे। बाआमाको व्यस्तताले गर्दा प्रायजसो रुममै टेलिभिजन हेर्नु, इन्टरनेट र्सच गर्नुमै दिन बित्ने गर्छ। त्यसो गर्नु पट्यार लाग्छ। बरु नेपालमै बसेर आफन्त र साथीहरुसँग रमाइलो गर्नु मजा लाग्छ उनीहरुलाई। बेलामौकामा लुगा, खेलौना (डल), चक्लेट अनि आवश्यकीय सामग्रीहरु बाआमाले उपहारस्वरुप पठाइदिँदा रमाउँछन्। लामो समयसम्म अलग्गिएर बस्न नपरेको भएपनि देश अनुसारको भेष भनेझैँ विशेष अवसरमा उपहार लेनदेन गर्ने गर्छन् राई दम्पत्ति। फेसनको रुपमा आएको भएपनि अहिलेको परिवेशमा उपहार लेनदेनको संस्कृतिले सम्बन्धलाई थप गाढा बनाउने या ताजा पार्न सघाउँछ। तर उपहार लेनदेन त्यत्ति ठूलो कुरा नलाग्ने, बरु सन्तुलित र व्यवस्थित जीवनयापन गर्न सक्नु, व्यक्तिगत र सामजिक जीवन सँगै अघि बढाउँन सक्नु नै उपलब्धि ठान्छिन् राई। अफिसको काम र परिवारको जिम्मेवारीको बाबजुद लन्च (खाना खाने) समय, रातीको समयलाई समेत सही ढंगले सदुपयोग गरेर निस्वार्थ भावले सामाजिक कार्यमा खटेका श्रीमान्‌प्रति उनी गर्व गर्छिन्।

वर्षदिन अघि आइडीमै हङकङ पुगेकी ललितपुर निवासी कमला थापाको परिवार नेपालमै छन्। श्रीमान् धन खड्गी र दुई छोरी- सराहना र इलोना। (थापाको श्रीमान् धन खड्गीसँगको कुराकानीलाई यहाँ राखेको छु)राई दम्पत्तिझैँ थापा र खड्गीले पनि पन्ध्र वर्षअघि अन्तरजातीय प्रेम विवाह गरे। पारिवारिक चुनौतिसँग जुधेर पारिवारिक जीवन अघि बढाए। विशेषगरी सन्तानको भविष्य राम्रो बनाउने भित्री इच्छाले कमला थापालाई हङकङ पुर्‍यायो। थापा हङकङ जानुअघि छुट्टिएर बस्न नपरेकोले शुरुको केही समय निकै सकसपूर्ण बित्यो दुबैको। उता थापालाई त्यहाँको रहनसहन र वातावरणमा घुलमिल हुन पनि केही समय लाग्यो। अहिले त्यहाँको भागदौडको एक अंग बनिसकिन् उनी। होटल क्षेत्रमा कार्यरत उनको समय कामैकाममा बित्ने खड्गीले बताए। हप्ताको एकदिनको बिदामा राम्रोसँग आराम गर्न नि नपाउँने कुरा राख्दै थापाप्रति माया दर्शाए खड्गीले। तर त्यो व्यस्तता बेकारमा जाँदैन। त्यसले जीवनमा केही परिवर्तन अवश्य ल्याउँछ भन्दै आशा पनि व्यक्त गर्न भुलेनन् उनले।

अहिले सञ्चारको युगमा एकअर्कासँग गाँसिएर रहने सुविधा थुप्रै माध्यमहरुले दिएका छन्। यी दुई परिवारलाई भने टेलिफोनको माध्यमले एकअर्काको समिपमा राखेको छ। राई भन्छिन् 'हामी कहिलेकाही एता र उता बस्दाखेरी पनि टाढा छौँ झैँ लाग्दैन। दिनमा कम्तिमा ३-४ पटक कुराकानी हुन्छ। यसरी कुरा गर्दा हरेक कुरा सेयर हुन्छ र सबै कुरा थाहा हुन्छ।' अहिलेको युवा पुस्तामा अरु भन्दा पनि खासगरी जन्मदिन मनाउने प्रचलन निकै बढेको छ। आफ्ना सन्तानले पनि अरु भन्दा आफ्नो जन्मदिनमा पारिवारिक या अलि ठूलै जमघट गर्न र त्यसको अवसरमा उपहार पाउँदा निकै खुशी हुने गरेको दुबै परिवारको अनुभव छ।

उपहारको सन्दर्भमा खड्गीले खुलेरै भने 'छोरीहरुलाई पठाउँछ। हामी चाहि दिनहुँ नै टेलिफोनमै गिफ्ट लेनदेन गर्ने गर्छौ। अरु विभिन्न झमेला गरिरहनुभन्दा यो नै उत्तम उपाय।' इन्टरनेट फोनको सर्वसुलभ र सस्तो सुविधाले घण्टौँ कुराकानी गर्दै सहज रुपमा सम्पर्कमा रहन सघाएको छ।

हङकङको आधुतिकता, स्वतन्त्रता, अभिभावक र बच्चाहरु सँगै समय बिताउन नसक्नु र हङकङको स्कूले पढाई राम्रो नहुनु जस्ता कुराप्रति जागरुक भएर यी दुबै परिवारले नेपालमै बच्चाहरुको स्कूलको पढाईको व्यवस्था गरेका छन्। माया र अभिभावकत्व दर्शाउने समयको के कुरा! सँगै खाना खान र बस्न पनि गाह्रो हुने यथार्थलाई उजागर गर्दै राई भन्छिन् 'त्यहाँ गयो भने खाली मोबाइलमा मात्रै आमाबाउ र बच्चाहरुको भेटघाट हुन्छ। पैसा मात्रै सबैथोक हुन्छ भन्ने हैन।'

नेपाली चाडबाडको खुशी र रमाइलो हङकङे नेपालीहरुको मनमा हुन्छ। तर व्यवहारमा उतार्न धौ-धौ पर्छ। चाडपर्वको आसपासमा सबैलाई पायक पर्नेगरी मिति तय गरेर मान्ने गरिन्छ। त्यसैले नेपालको चाडपर्व मनाउने शैली, स्वाद र अपनत्वको बेग्लै महत्व हुन्छ। तर पनि चाडपर्व मनाउन वा कामबाहेक अन्यत्रको लागि समय नपाउँदा ठूलो कुरा लाग्दैन। बरु व्यस्त शहरमा फुर्सद हुनु बोझिलो र सजाय सरोबर हुन्छ।

2 comments:

वेद नाथ पुलामी said...

यस्तै कनेक्सहरुकै कारण ले हाम्रा रिति , सस्कृति र जीवन शैलीहरु हुदै जादैछन .... कैलाश जी ! अनि मलाइ लाग्छ यसमा केहि राम्रा र केहि नराम्रा सस्कारहरु पनि जोडिएर आएका हुन्छ तर !
धेरै राम्रकुरा अपनाउदा केहि नराम्रा कुराहरु आए भनेर आफ्नो गति नै रोक्ने हो भने त ... परिवर्तन नै भएन नि ... तर यो समय नै परिवर्तन छ नि !

त्यसको लागि केहि उदाहरणहरु पनि यहाले प्रस्तुत गर्नु नै भएको छ नि !

दीपक जडित said...

हङकङे नेपालीको जीवनशैली र रहन सहनको बारे जानकारी मुलक यो लेखको लागी कैलाशजीलाई धन्यवाद! पक्कै पनि हङकङमा नेपालीहरुको नेपाली साहित्य र कला प्रति निक्कै योगदान छ । चाडपर्व ईत्यादि मनाउने तरिका अन्यत्र समेत उस्तै भएपनि हङकङेहरु अलि अगाडी नै छन् जस्तो मलाई लाग्छ ।