Wednesday, May 19, 2010

सत्यवादी चरनदास चोर

गर्वका साथ चोर्ने पेशा अँगालेका चरनदास। उनलाई आफ्नो चोर्ने कौशलता र कार्यप्रति खूब लगाव छ। खूब गर्व छ। आफ्नो पेशाप्रतिको इमान्दारिता, ख्यालख्यालमै गरेको वाचाप्रति समेत अडिग रहने र साँचो बोल्ने प्रण पूरा गर्ने क्रममा उ सामान्य चोर रहदैन। सम्मानित र नामी चोर बन्न पुग्छ। इमान्दारिता र सत्य बोल्ने साहसका कारण, साहसकै साथ उ मारिन्छ। उसको हत्या त हुन्छ तर उसको सत्यता र इमान्दारिताको जय जयकार पनि हुन्छ। यो सार हो, लोक नाटक 'चरनदास चोर'को। गत आइतबार (जेठ २) राष्ट्रिय नाचघर जमलमा मण्डला थिएटरकै निम्तामा ११ जनाको जम्बो टोली नाटक हेर्न पुगेका थियौँ। त्यही अवसरको फाइदा उठाएर ब्लगमा ठेल्दैछु। मञ्चमा चरनदासको चर्तिकला।


चोर्दाचोर्दै सरकारी ढुकुटी चोर्ने इच्छा पूरा गरेपश्चात दरबारमा हाजिर हुँदा आफ्नो परिचय दिन्छ उः 'म चरनदास। चोर। यी दुबैलाई मिलाएर भन्दा म 'चरनदास चोर'। त्यसबखत चरनदासको आत्मविश्वास र स्वाभिमान देख्दा कुनै सम्मानित पद र पेशा अँगालेका र सम्मानित पदवी हासिल गरेका व्यक्तिले संसारसामु आफ्नो परिचय दिएभन्दा फरक लाग्दैन। चोर्नुलाई आफ्नो धर्म ठान्ने चरनदास रानी समक्ष सफाई दिँदै भन्छनः 'म आफ्नो धर्म कर्म कसरी बिर्सन सक्छु।' जिम्मेवारी बोध नभएको एउटा सामान्य चोरमा इमान्दारिता, मानवीयता र सत्यवादको दह्रो प्रतिबद्धता पलाएपछि सबैलाई आश्चर्य लाग्छ। चोरेर भाग्ने क्रममा अन्जानमै गुरुसँग चारवटा वाचा गर्छन् चरनदासः 'सुनको थालमा नखाने, हात्ती घोडामा सवार नहुने, रानीसँग बिहे नगर्ने र कुनै पनि हालतमा शासक नबन्ने।' गुरुले एउटा वाचा थपिदिन्छनः 'झुट नबोल्ने।' चरनदासले यी पाँचैओटा वाचा पूरा गर्छ।
दरबारमा चरनदासको बयान लिदै रानी।

चरनदासको प्रतिबद्धता र इमान्दारिताको अप्रत्यासित परिक्षाको घडीसँगै कथा अगाडि बढ्छ। सरकारी ढुकुटीबाट सुनको पाँचओटा मोहर चोरेपश्चात दरबार पुर्याइन्छ। रानी चरनदास चोरबाट औद्यी प्रभावित हुन्छिन्। एउटा चोरको सत्यवादी आचरण र इमान्दारिता देख्दा रानीमा उप्रति प्रेम र आदरभाव पलाउँछ सम्मानस्वरुप हात्ती घोडाको लावालस्करसहित दरबार ल्याउने प्रबन्ध हुन्छ। चरनदासको अस्विकृतिपछि बाँधिएर जबरजस्ती दरबार आइपुग्छ उ। चरनदासलाई सुनको थालमा भोजन दिन्छिन् रानी। क्रमिक रुपमा रानीले आफूसँग बिहे गर्ने र शासक बन्ने प्रस्ताव राख्छिन्। लोभ, लालचरहित स्वाभिमानी चरनदासलाई गुरुसँग गरेको वाचा तोड्ने र महायज्ञ गर्ने उपाय समेत सुझाउछिन् रानी। उसलाई ती प्रतिष्ठित ओहोदा, सम्मान र प्रस्तावहरु फुच्चे लाग्छ आफ्नो वाचा र पेशाअघिल्तिर। आखिर प्रतिबद्धता पूरा गर्न उ विचलित हुँदैन। चरनदासको अडिगपनसँग सम्झौता गर्दै रानीले अन्तिम अनुरोध गर्छिनः 'ठीक छ। तर हामीबीच जे जति कुरा भयो, तिमी कसैसँग भन्नै छैनौ।' निर्धक्क भइकन चरनदास चोर जवाफ दिन्छः 'तपाईलाई थाहै छ। मैले झुट नबोल्ने प्रण गरेको छु।' आफ्नो ओहोदा, मान सम्मान र इज्जत बचाउनको खातिर रानी आक्रोशित बन्छिन्। र उनकै आदेशमा चरनदास चोर काटिएर मारिन्छ। यसरी समाजमा कुख्यात मानिने पेशा अँगालेका तर सत्यवादी जीवन झुठो बोल्न नमान्दा मारिन्छ। तर पनि जीवित नै रहन्छ, सत्यताको अनुयायी बनेर।

भारतीय रंगमञ्चका एक शिखर व्यक्तित्व हबिब तनविरले सन् १९७५ मा राजस्थानको एउटा चोरको कथालाई लिएर परम्परागत लोक शैलीमा यो नाटक तयार पारेका थिए। यो नाटक नेपालीमा रुपान्तर गरेर साँस्कृतिक संस्थान जमलमा मञ्चन गर्ने काम मण्डला थिएटरले गर्यो। यसका निर्देशक रंगकर्मी राजन खतिवडा, कलाकारहरु दयाहाङ राई (चरनदास), विजय बिस्फोट (गुरु), लुनिभा तुलाधर र सृजना सुब्बा (रानी), शान्ति गिरी (मन्त्री), आशान्त शर्मा (हवल्दार) लगायत शर्मिला महर्जन, कामेश्वर चौरसिया, मानस राज, उमेस तामाङ, शौरभ न्याउपाने, टंक टाइथर, कला सँग्रौला, बबिता ढकाल रहेका छन्। पात्रहरुको हाउभाउ, बोलीचाली, संवाद, विभिन्न लोक भाकामा गाइएका कोरस गीतले भारतीय लोक शैलीको नाटकलाई नेपाली लोक शैलीमा ढालिन सघाएको छ। चरनदास चोरको मञ्चनपश्चात दर्शकमाझ उभिएका सम्पूर्ण टिम।

एनेकपा माओवादीको आम हडतालको कारण नाटक अभ्यासमा गाह्रो भएको र मञ्चनको तिथि समेत विचल्लीमा परेपछि निर्देशक राजन खतिवडा चिन्तित बनेका थिए। अहिले नाटक मञ्चन गर्दा उनी भन्छनः 'बन्द खुलेपछिका केही दिनको अभ्यासपछि मञ्चनमा जुटेका छौँ। यो सामुहिक काम हामी सबैको निम्ति रंगशिल्पीहरुको एउटा अर्को अभ्यास भएको छ।' चोरको पनि नाटक हुन्छ र ? चोर अनि इमान्दारिता र सत्यवादी व्यक्ति एकै हुन्छ र ? भनेर प्रश्न गर्ने र सोच्नेहरुको लागि पेचिलो जवाफ बनेको छ नेपालीमा रुपान्तर गरिएको नाटक चरनदास चोर।

5 comments:

Basanta said...

नाटकको स्वाद हामीसंग पनि बाँड्चुड गर्नुभएकोमा हार्दिक धन्यबाद!

आजाद अजनवी said...

उसो भये म पनि जाने अब नाटक हेर्न ।

दीपक जडित said...

रंगमञ्चमै हेर्दा कस्तो हुन्थ्यो कुन्नि? यसरी तपाईंको ब्लगमा हेर्दा पनि नाटक हेरेजस्तै भयो । बेलाबेला हामीले हेर्न नपाउने रंगमञ्चको नाटकहरु देखाई नै रहनुहोला है कैलाशजी ।

Dilip Acharya said...

रमाइलो कथा रहेच चरनदासको । सोच्दैछु, हाम्रा नेताहरुले 'चरनदास चोर' संग सिक्नै पर्ने धेरै कुरा रहेछन ।

Chaitanya said...

गजब रमाइलो रहेछ कथाबस्तु | चोर भएर पनि निष्ठावान चरणदास ! हामीकहाँ पनि ठुल्ठूला चोरहरु छन् , तर झुठ खूब बोल्छन, मानौं सबैले थाहा पाईसकेपछी पनि उनीहरु चोर होइनन् |