Friday, July 02, 2010

अल्छे ब्लगर

मेरो ब्लग लामो समयदेखि लम्पसार परेको देख्दा सबैलाई थाहा भइसकेको छ- अब्बल अल्छे ब्लगर परे। कुटीमा चहलपहल हुन पनि ठूलै उत्सव हुनुपर्ने झैँ भयो अब त। केही दिन अघि सक्रिय ब्लगर जोतारे धाईवा (जीवन कार्की)ले च्याटमा '१ नम्बरको अल्छे' भन्दा मलाई खूब घत पर्यो। म निकै बेर हाँसे। म हाँसीरहेकै बखत उनले 'यसैमा ब्लग गर्नुस्' भनेर सुझाए। यसो विचार गरेः सक्रिय रहेकाहरुले अल्छे ब्लगरका बारेमा लेख्नुभन्दा अल्छेले नै एकपल्टलाई झारो टार्दा बेसै होला भन्ने सोचे र उनको सुझावलाई माने। फेरी उनले 'म पर्खेर बस्छु है' भनेर अल्छेलाई झक्झकाउदै उत्साह पनि दिए। धाईवाजीले सोचेअनुरुप होला नहोला। राम जाने। मैले यति नै जाने।

मेरो विचारमा अल्छे ब्लगरमा हुने या हुनुपर्ने केही गुणहरु छन्। जसले अल्छेको पहिचान दिन्छ। त्यसैको आधारमा अल्छे ब्लगरको कोटामा नियुक्त हुन उपयुक्त वा अनुपयुक्त भनेर खुट्टयाउन सकिन्छ। यी कुरामा सहमत-असहमत या थपथाप गर्न पनि ब्लगर साथीहरुलाई आग्रह छ। जे भएपनि यो चाहिँ अल्छे ब्लगरको जुझारु अनुरोध हो है।

अल्छे ब्लगरका गुणः
अल्छे ब्लगरको ब्लग पोष्टबीचको दुरीको अन्तराल एकदमै लामो हुनु नै उसको प्रमुख पहिचान हो। कार्य व्यस्तताको कारणले पनि यो हुनसक्छ। तर जहाँ इच्छा त्यहाँ उपाय भन्ने उक्ति पनि लागू हुन्छ होला। किनकी वरपरका केही परिचित व्लगरहरुले साइबरमा धाइधाइकन पनि समय समयमा ब्लग गरेकै छन् भने कम्प्यूटर, इन्टरनेटको पहुच र सुविधा भएका ब्लगरहरुले पनि समयमा अपडेट गरेका हुँदैनन्।

१. बीस दिन, महिना, दुई महिना, तीन महिनामा एउटा टाँसो हालेर ब्लगलाई त्यान्द्रोझैँ झुण्ड्याएर बेला बेलामा व्युझाउँने। तर ब्लगिङ भने नछाड्नु।
२. टाँसो हालेको केही दिनसम्म केही प्रतिक्रिया आए कि भनेर ब्लगमा छिर्ने तर बिस्तारै आफैले आफ्नो ब्लगमा छिर्न कम गर्नु। तर अर्को टाँसोको लागि भने बेलाबेलामा हल्का सोच्नु।
३. आफ्नो ब्लगमा हप्ता वा पन्ध्र दिनमा एउटा पोष्ट हाल्न पनि साइत नजुराउनु तर छरछिमेकी ब्लगतिर भने अपडेट हुनासाथ चाहार्न नछाड्नु। मन लागे कमेन्ट पनि ठेलीहाल्नु, बेलाबेला 'ह्या के लेख्नु' भन्दै कमेन्ट नठेलीकनै बाहिरिनु।
४. टाँसो हाल्नुपर्ने भनेर धङधङी बोक्दाबोक्दै छरछिमेकमा टाँसोको ओइरो लागिसक्दा पनि आफ्नोमा एउटा पनि ठेल्न नसक्नु।
५. आफूले सोचेझै अरुले ठेलीसकेछन् भने एउटा गतिलो बहाना 'अर्कैले गरिसकेछ अब मैले किन गर्नु' भन्दै आफैलाई सम्झाउँदै बस्नु।
६. किन ब्लग चाँडो चाँडो अपडेट नगरेको भनेर कसैले सोधेमा स्पष्टीकरण दिने खुराकको खाँचो नपर्नु। यद्यपि जाँगर चलाएमा अपडेट हुन सक्ने कुरा आफैलाई भलीभाँती थाहा हुनु।
७. ब्लगर हुँ पनि होईन पनि 'खै...' भन्ने दोसाँधमा बस्नु। तर मौका परेमा ठाँटले म पनि ब्लगर हुँ भन्न रुचाउनु।
८. कहिलेकाही ब्लगिङ छाड्दिन्छु भन्ने तैपनि छाडीहाल्न चाहि नसक्नु। ब्लगिङको मोह बोक्ने तर मोहलाई व्यवहारमा उतार्न ढिलाई गर्नु।
९. अल्छे ब्लगरकै रुपमा सही तर ब्लगिङ चाहिँ गर्छु भनेर ओकेजनल्ली अपडेट गर्नु। जे पायो त्यही विषयलाई पक्रेर ठेलिदिनु।
१०‌. छिमेकीको अपडेटहरु हेर्दा दंग पर्नु तर आफ्नो अपडेट देख्दा 'अब गर्छु' भन्दै बस्नु।

अब साथीहरुले पनि केही थप्नुस्, घटाउनुस्। स्वीकार्नुस्, नकार्नुस्। यी गुणहरु तपाईमा छन् भने अल्छे ब्लगरको एउटा समूह नै खडा गरुँ कि? कि चाहिँ जाँगरे ब्लगरमा लाम्कौ कि?

15 comments:

राजेश नतांश said...

अल्छी गरेरै भए नि मज्जाको टाँसो टाँस्नुभएछ कैलाश जीले.....पोष्ट पढ्दै खित्ता छोडेर हासेँ हे...हे...हे....अल्छीको गुटबन्दीमा नलाग्नुहोस् है । जाँगर लिएर लम्कनुहोस् । हामी तपाईका पारखीहरु छौ हैं ।

Bed Nath Pulami said...

कैलाश जी .... यी माथि भनिएका कुनै पनि बुदा हरुमा थप घटको सुझाब दिनु पनि .... केहि जागर नै चलाउनु पर्छ ......अनि अल्छे संघ को सदस्यता लिन त ... केहि पनि नगरी बस्नु पर्यो होइन र !

बरु यो टासो संगै तपाइँ र टासो तास्नुस भनेर भनि टोपल्ने जीवन जी लाइ धन्यबाद ! त्यहि मेसोमा यसो कुटी तिर एकछिन भए'नि बिश्राम गर्न त पाइयो !

Jotare Dhaiba said...

यो अल्छे महात्म्य अपरम्पार लाग्छ, झन् यो 'ट्याग' ब्लगरमा जोडिएपछि त रचनात्मक अल्छेपनको पनि छनक मिल्यो ! :)
यसैले मैले यो जादुमयी अल्छे पुराणबारे भोक्ताको रूपमा रहनुभएकी तपाईं आफैँलाई लेख्न आग्रह गरेको मैले ।
रमाइलो गरी लेख्नुभएछ अल्छे ब्लगरको परिचय । मैले पनि थपेँ है एउटा बुँदा -

११. लेख्ने विषय बिटाका बिटा थुपार्नु र लेख्नु पर्‍यो भने चैँ 'ब्लग लेखेर आइफल टावर त्यतिविधि अग्लो भएको हो र' भन्दै नीच मार्नु ।

प्रदिप said...

अल्छी ब्लोग्गर हजुर मात्र नभएर प्रया ब्लोगर नै हुन्छन् तर अल्छी नै सहि हजुर को लेखाइ मा तागत चाँही पक्कै छ बरु यसलाई खेर जना नदिने की Kailash ji ?

कैलाश said...

हाहाहा 'अल्छी'हुनु राम्रो हैन। तैपनि अल्छे ब्लगरको सूचीबाट आफैले आफूलाई नउकासुञ्जेलसम्म यही टाँसो र साथीहरुको प्रतिक्रिया बेलाबेलामा पढ्दा मजै आउँछ होला। आखिर 'कुनै न कुनै बहाना चाहियो'।

सूर्य/सिकारु said...

कैलाशजीका बुदामा जस्तै म पनि अल्छी ब्लगर को उपाधि ताक्नेमा पुगेछु । अल्छिपनाको जाँगरिलो टासो मिठो लाग्यो ।

manu said...

saarhi jaati hai di tapai ta. esto alchhi ko kura garea pani kuti nai nachodu nachhodu parnu bho tara sachai ko jaadumayee sabda haruko parkhai maa ma pani dherai din dekhi rumaliyeki thia aja balla dhit marna paiyo tara dhilaa bhayechha ma pani no 1 alchhe parerai yo bhayeko ho bhanna ma chukaudina, alchhi garerai sahi tapai le ramailo taso badnu bho dhanyabaad yaha lai

Dilip Acharya said...

धेरैपछि झुल्किनु भयो तर दामी पोस्ट गयो है !
खुब मजा आयो यो अल्छी ब्लगरको गुणहरु पढ्दा !!

Milan said...

हे हे.... रमाईलो लाग्यो... १ देखि ११ सम्म कै बुँदा मलाई नै भने जस्तो लाग्छ.... अल्छे ब्लगर को भेलै भए म नि महाअल्छे अल्छे लाई पछार्ने हैसियत राख्छु ;)

कृष्णपक्ष said...

अर्को महाअल्छी छ यहाँ, उसका गुण र चरित्रको बयान गर्ने हो भने माथिका बुंदाहरु त केहि पनि हैनन् । कैलाशजी, गज़ब लाग्यो पोस्ट ।

कैलाश said...

कृष्णपक्षजी लौन त्यस्तो मात दिने बयान गरु न। पढ्न मजा आउँछ नि हगि!

sangamkirati said...

हा!!हा!!!हा!!!सारै घत लाग्यो कैलाश जी!!तपाईको टासोले कतै मलाई नै त् भनेको हैन????? जस्तो भान हुने गरि!!!!!!

आनन्द said...

आफु त कमेन्ट गर्न अल्छि गर्ने ब्लगर परे !
तै पनि एस्ता राम्रो लेख्ने अल्छि ब्लगर ले लेखेकै राम्रो भनेर, जागर चली हल्छ कि भनेर कमेन्ट गरि दियको !

लौ म पनि waiting!
:D

Nirajan Thapa said...

कसैको कार्यव्यस्ततालार्इ मजाकको विषय बनाउनु भएन नी कैलाशजी । अनि अर्को कुरो जे पायो त्यो विषयमा ब्लगिड नगर्ने भद्र ब्लगहरहरू पनि छन् भन्ने कुरोलार्इ हामीले विर्सन भएन नी ।

Dilli Malla said...

कैलाश जी, म पनि यतै आउँ कि क्या हो, अल्छे ब्लगर संघ खोलौँ, सकभर अध्यक्ष, त्यही नपाएर उपाध्यक्षसम्म बनाइदिनुस् है मलाई पनि ।