Thursday, July 08, 2010

फिलिलि.... सिन्धुली गढी

'सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै
कतिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो'

ऐतिहासिकता बोकेको त्यो सिन्धुली गढी अनि त्यसैको सेरोफेरोमा रचिएको यो प्रख्यात लोक गीत धेरैले सुनेको र धेरैको मुखमा झुण्डिएको हुनुपर्छ। गायक कृष्णविक्रम थापाको स्वरमा गुञ्जिने यो गीत सुन्दा सिन्धुली गढीस्थित दरबार उति नै सुन्दर, आकर्षक होला, जति पहिले थियो भन्ने लाग्न सक्छ। तर यो गीतको भाव बोक्ने सामर्थ्य अब त्यो दरबारमा रहेन। यद्यपि गीत रहुञ्जेलसम्म गीतमा उक्त दरबार सदैव उत्तिकै सुन्दर भई बाँचीरहनेछ कालान्तरसम्म।
सिन्धुली गढी घुमेर हेर्दाः दरबार...।

सिन्धुली गढी पुग्नु अघि त्यहाँको दरबार कस्तो होला ? गढीहरु कस्ता होलान् ? कस्ता थिए अनि कस्ता भए होलान् ? भन्ने कौतुहलता मनमा थियो। त्यहाँ पुगेपछि थाहा भयो– कृष्णविक्रम थापाको स्वरमा जीवित रहेको दरबार अब भग्नावशेष भइसकेछ । पर्यटकीय महत्वको स्थल हैन अब पुरातात्विक महत्वको गढी बनिसकेछ। बाँकी रहेका भौतिक संरचनाको संरक्षण अलि पहिल्यै भएको भए यसले पर्यटकीय स्थलको रुपमा विकसित हुने थप सम्भावना बोक्थ्यो सायद भन्ने भान हुन्छ। तर दरबारबाहेक गढीहरुमा भने संरक्षण गरिएकैले जे जति र जस्ता संरचना छन्, अहिलेसम्म बचेका हुन्।
जापानको सहयोगमा बनेको फिलिलि बाटो।

केही हप्ता अघि मात्रै ऐतिहासिक थलो सिन्धुली गढी, दरबार र व्यवस्थित नागबेली सडकसँग साक्षात्कार हुने मौका मिल्यो। स्थानीयसहित आठ जनाको समूहमा हामी सिन्धुलीको कमलामाई नगरपालिकाबाट गढीतर्फ लाग्यौँ मध्यान्हतिर। जापानकै लगानी र निगरानीमा बनेको सडक हाम्रो लागि गन्तव्यतर्फ लम्कदाको मुख्य आकर्षणको विषय बन्यो। साँघुरा देखिने पहाडका भित्ताहरुमा सजिलैसँग घुमाइएका आकर्षक सडक, वर्षायाममा पानी काट्‍न बनाएका कलबर्ट, वरपरको रमणीय प्राकृतिक दृश्यहरुसँगै हामी गढी चढ्‍दै थियौँ। प्रदुषणयुक्त खाल्डाखुल्डी बाटोमा अटाइनअटाइ घस्रीने गाडीमा यात्रा गर्दागर्दाको हैरानी त्यहाँ रहेन- फिलिलि गाडी गुड्यो। मनै चंगा। अझ हाम्रो भ्रमण टोलीमा लेखक खगेन्द्र सँग्रौला दाई पनि भएकाले विशेष रमाइलो थियो। त्यहाँको भूगोल र सडकको बनोटसँग दंग पर्दै गरेका उनको मुखबाट एक वाक्य फुत्कियो 'बाटोचाहिँ काइदाको बनाएछन्'। स्थानीय सहकर्मीहरु पनि साथै भएको हुनाले जानकारी थुत्न हामीलाई सजिलो थियो। सिन्धुली गढीको विशेषता, महत्व र इतिहासका पक्षसँग जानकार बन्दै हामीले बाटो कटायौँ। साथै विश्वकपको रन्को पनि चलेकोले छोटो विश्रामकै रुपमा विचविचमा धेरथोर त्यसको चर्चासँगै हामीले गढीको प्रमुख गौँडामा पाइला टेक्यौँ। प्रमुख गौँडा प्रवेशद्वार। यो द्वार केही समय अघि मात्रै बनाइएको हो। पुरानो द्वारको आधारमा यो द्वार बनाइएको रहेछ।

अँग्रेज र गोर्खालीको युद्धमा गोर्खालीको जीत हुनुमा त्यहाँको भौगोलिक बनोट पनि प्रमुख पक्ष थियो। त्यहाँ पुग्दा लाग्यो, त्यो कुरा सत्य रहेछ। गौँडाको भूगोल निकै उचाईमा छ। त्यहाँबाट बैरी (दुश्मन)हरु आए-गएको सजिलै देख्न सकिने र जताततै सिस्नु र अरिङ्‍गालको गोलो भएको हुँदा त्यत्तिबेला दुश्मन 'यहाँको झारै बैरी, किरै बैरी' भन्दै भागेका थिए रे ! स्थानीयबासी दाई मोहन बराल वरपरका सिस्नु्‍घारीतिर देखाउँदै हामीसँग भन्दै थिए। गौँडालाई चौतारामा रुपान्तरण गरिएको रहेछ। वरपर लहलहाउँदो सिस्नुघारी, बिचमा ठूलो बरपिपलको जोडा र सिरसिरे बतासले यात्रीहरुलाई लोभ्याइरहेको थियो। त्यसपछि हामी सोझै गढी दरबारतिर हानियौँ। दरबार हेरेर गढीतिर लाग्दै गर्दा थक्‌थक् मान्दै खगेन्द्र दाई भन्दैथिए 'कम्तीमा यसको भौतिक संरचना मात्रै बचाउन सकिएको भए अर्कै महत्वको हुन्थ्यो यो स्थल।' भग्नावषेश दरबारलाई वरपर पलाएका बोटविरुवाहरुले ढाकेझैँ देखिन्थ्यो अलि परबाट हेर्दा। छेउमै पुग्दा ईटाद्वारा निर्मित दरबारको मोटामोटा भित्ता, केही बाँकी रहेका झ्याल र बिम मात्र थिए। स्थानीयबासी दाई उज्जवल बरालले बच्चाबेला देखेको दरबारको सम्झना गर्दै भने 'म सानोछँदा दरबारमा जस्ताको छानो थियो, झ्यालहरु थिए, यो दरबार दुईतले थियो।' अहिले छानाको नाम निशान छैन। झ्यालहरु भ्वाँङमा परिणत भएका छन्।
गढीस्थित ठूलो किल्लाको बीचमा रहेको ईनार। जसलाई केही समयअघि मात्रै मर्मत गरिएको प्रष्टै देखिन्छ।

बनोटको हिसाबले एकदमै टिकाउ देखिने दरबारलाई संरक्षण नपुगेकैले भौतिक संरचना मासिदै गएको प्रष्टै हुन्थ्यो। दरबार र गौँडा पुग्दैखेरी उहिलेका शासकहरुले आफ्नो राज्य टिकाउनको लागि रोजेको भौगोलिक उत्कृष्टता, दुश्मनसँग लड्नलाई अपनाएको दुरदर्शितालाई मनमनै सलाम दिए। सुरक्षाकोनिम्ति खडा गरिएका गौँडा उचाईमा छ। मुख्य मुख्य गढी (किल्ला)हरु उचाईमा छन्। पिउने पानीको भण्डारणको लागि एउटा दीर्घकालीन इनार छ। सुरक्षामा खटिनेहरुको लागि ढुंगा खोपेर बनाइएको गहिरो कुवा छ, जसमा धारा पनि जडान गरिएको छ। दरबार उचाईमा भएपनि थुम्काको आडमा सुरक्षित बनाइएको छ। छेवैमा ठूलो टुँडीखेल छ, जहाँ भर्खरै मात्रै एकीकृत नेकपा माओवादीले भारत विरुद्ध भण्डाफोर अभियानबारे आमसभा गरेर अभियानको आरम्भ गरेको थियो। गढीको चुचुरोमा उभिँदा नेपालको विशिष्ट भौगोलिकता : हिमाल, पहाड, तराईलाई एकै साथ देख्न पाउनु एउटा आनन्दको क्षण थियो। गढीस्थित टुँडीखेल। जहाँ भर्खरै माओवादीको अभियानमा प्रयोग गरिएको हेलीप्याडको निशान आलै छ।

कमलामाई र गढीको यात्रामा आधा घण्टाको दुरीमा छाला काढ्‍ने गर्मी र मनै लोभ्याउने शितलताको अनुभव गर्‍यौँ। गुड्दागुड्दैको गाडीबाट अचानक हातको चोरी औँला एउटा थुम्कोतिर सोझ्याउँदै सञ्जय दाईले भने 'ऊ त्यो सक्कली भद्रकाली हो। सबैभन्दा पहिले भद्रकाली यहि उत्पति भएको हो। पछि काठमाडौमा सारिएको हो रे' तर त्यसभन्दा बढी त्यसबारेमा सोधखोजै भएन। मैले झ्यालबाहिर हात निकालेर क्यामेरा सोझ्याइहाले हत्त न पत्त। सक्कली भद्रकाली उत्पति भएको मानिने थुम्को।

सिन्धुली गढीको चुचुरामा घुमीरहँदा दरबारको सुन्दरता बोकेको त्यही गीत मुखमा झुण्डिरहेको थियो। सायद म नजानिदोगरी गुन्गुनाइरहेको थिएँ। एक्कासी समूहमा कसैले भन्यो : सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै कतिमा राम्रो दरबार... हैन, अब त 'सिन्धुली गढी लेट्‍स् गो बडी भत्कि नै सक्यो दरबार...' भन्नुपर्ने भएछ।

10 comments:

Unknown said...

रोचक लाग्यो यो यात्रा स्मरण । कुनै दिन पुग्ने अभिलाषा छ, सिन्धुली । तपाईंको टांसो पढेर झनै धेर जानकारी मिल्यो । लेखाइको लागि धन्यवाद !

Chaitanya said...

बडो रमाइलो गढी रहेछ, संरक्षण गरि राखेको भए झन् कति राम्रो हुँदो हो ?

Unknown said...

So nice and useful information...Thank Kailash ji..

Unknown said...

दरबार ढलेर भग्नावशेष नै भए पनि यात्रा संस्मरण र तस्बिरहरु हेर्दा भने मलाई पनि एक चोटि मौका मिलाएर जानै पर्ला जस्तो लागेको छ ।

Yumesh Pulami said...

लौ म पनि फिलिली घुमे तपाई संगै - ढिलै भा'नि !
हुन् त हो रहेछ गित ले भने जस्तो रहेन छ अब !

Unknown said...

बेसरी रमे म पनि फिलिलि कैलाश जी । एभरेष्ट साप्ताहिकदेखि नै म तपाईको पाठक हुँ । सधैँ सुन्दर सिर्जनाहरु पाठ गर्ने मौका मिलिरहोस । कलम कहिलै नथाकोस ,शुभकामना कैलाश जी ।

कैलाश said...

Bishnunand Chamling ji, tapaiko comment pauda malai khusi lageko 6. kutima aaunu vayekoma thank you very much. tapaiko blog pani ramro 6. nirantartako kamana.

LB Ghising said...

धेरै धेरै धन्यवाद यहाँलाई। मेरो जन्मभुमी सिन्धुलीको बारेमा लेख पढ्न पाउँदा धेरै नै खुशी लाग्यो। अझ तस्विर र वर्णनले त त्यही आँफैँ घुमिरहेको अनुभुती भयो।

Basanta said...

रोचक यात्रा-संस्मरण!

dipsaro said...

mero janmabhumi ko yatra gari yatra sansmaran lekhidinu bhayekoma bhitri hridaya dekhi nai dhanyabad!...yastai lekh haru aagami dinma pani padhna paun...yahi anurodh ra apeksha rakhdachhu.