Friday, November 12, 2010

आमासँग म

२५ कार्तिक। तदनुसार ११ नोभेम्बरका दिन। साँझको समयले छोप्नै लागेको बेला। आफ्नै धूनमा गफ गर्दै म र एकजना साथी कामबाट फर्कदै थियौँ। 'कलंकी जाने बाटो कता हो?' एक्कासी कानमा ठोक्कियो। हामी टक्क अडियौँ र अवाज आएतिर मोडियौँ। सामान्य कदको एकजना अधबैसे पुरुष, खकने झोला भिरेर क्लान्त र अनभिज्ञ भावमा उभिएको। आडैमा उभिदै गरेका महिला उभिनै नसकेपछि थ्याच्च भुइमा बसिन्- एउटा हात टाउकोमा, अर्को हात पेटमा राखेर। पछ्यौराले टाउको ढाकेकी, लुंगीलाई पटुकीले बेस्कन कसेको, कैयौँ दिनदेखि पानी देख्न नपाएको मैलो खुट्टा र मैलिएकै सामान्य चप्पल तथा लूगामा रहेकी ती महिला निकै थकित देखिन्थि। श्वास फुलेर पुरै शरीरलाई नै कम्पन दिईरहेझैँ लाग्थ्यो।

बबरमहलको नेपाल कला परिषद्बबाट प्रसुति गृह छिर्ने बाटो हुँदै कलंकीतर्फ जाँदै गरेका रहेछन् ती जोडी। तिनको गन्तव्य थियो धादिङ। काठमाडौ शहरको चमकधमकबीच गरिबी र अशिक्षाले पलपल खाइरहेको जीवनको चिनो बनेझै लाग्थ्यो तिनको शरिर र भेषभूषा। अनभिज्ञताले पूरै लपेटेको तिनको भावभंगीमा र तिनले तय गरेको पैदल मार्ग।

'आधा घण्टामा त कुनैपनि हालतमा पुगिदैन बा। अनि वहाँ त बिरामी हुनुहुन्छ जस्तो छ। गाडीमा जानुस्। नत्र तपाईहरुलाई रातभरि लाग्छ।'

'आधा घण्टा लाग्छ रे अब, यहाँबाट माथि गएपछि राजाको मूर्ति आउँछ रे (मतलब त्रिपुरेश्वर चोक) अनि सोझै जानु रे भने' उनी आफ्नो बाटो सही हो हैन भन्ने निर्क्यौल गर्ने चेष्टामा थिए। तर साथैमा रहेकी महिला भने बोल्न सक्ने अवस्थामा थिइनन्। चुपचाप निहुरिएर आफ्नो अवस्थालाई झेल्दैथिइन्।

शिक्षण अस्पताल, सिनामंगलबाट २१ दिनपछि डिस्चार्ज भएपछि अलपत्र परेछन् उनीहरु। दिउँसो २ बजेदेखि पैदल हिडेर बबरमहलको त्यो गल्लीमा अइपुगेका ती जोडीलाई बाटोमा सोधेजति सबैले कलंकी पुग्ने छोटो बाटो देखाइदिएपछिको उनीहरुको साहसको नजिता थियो त्यो। साथमा कौडी नभएपछि गाडीले लान मानेन। अनि उनीहरु हिड्न थाले। कलंकी पुगेपछि जसोतसो धादिङ कसो नपुगिएला भन्ने ती अधवैसे पुरुषको अड्कल थियो। ग्याष्ट्रिक- आम नेपालीको साझा र सामान्य सम्पत्ति- बिग्रिएर अल्सर भयो। अब अप्रेसन गर्नुपर्ने रे। त्यसको लागि मंसीरमा आउनु भनेर अस्पतालले छुट्टि दियो। फर्केर अस्पताल आउने तिनको अवस्था त परै जाओस् तत्काललाई घर पुग्ने समेत ठेगान छैन। कठै ! सच्चा नेपाली जन। खाजा न बिश्राम, लगातारको हिडाईले बल्ल तल्ल त्यहाँ टेक्न आइपुगेका ति दुईजनालाई देख्दा मन अमिलो भयो। यी सब तामझाम, साधन स्रोत र सुविधाहरु बेकारका लागे। के गर्ने ति सबै कुराको साँठगाँठ मान्छेको दुःख र समस्यासँगभन्दा बढ्ता अर्थसँग छ। अनि यो समय र मान्छेको मानसिकता पनि अर्थकेन्द्रित भइसकेको छ। मेरो सोधाईमा तिनको जवाफ दिने क्रम चलिरहँदा तरकारी किनेर फर्कदै गरेका अन्य दुई महिलाहरुको पनि ध्यान केन्द्रित भयो।

'हामी गाडी चढाइदिन्छौ। अब जाउँ गाडी चढ्न। नत्र ढिला हुन्छ।' मेरो यो कुरामा अलि अप्ठ्यारो मानेर अलिकति ठाउँको उठाएर हातले इशारा गर्दै थिइन् बिरामी महिला। ती पुरुष चुप लागे। तरकारी किनेर फर्केकी एक महिलाले बचेकुचेको पैसा नगनीकनै दिइन्– 'लिनुस यो पैसा केही किनेर खानुस् गाडी उहाँहरुले चढाइदिनुहुन्छ।' अर्की महिला चाहि मसँग त कत्ति पनि पैसा नै छैन भन्दै चुक्‌चुकीदै थिइन्। एकैछिन हराएपछि कहाबाट हो कुन्नि पचास रुपैया ल्याएर दिइन्। हामी गाडी चढ्नेतिर मोडियौँ। सुस्तरी हिड्दाहिड्दै ती महिला पुनः थुचुक्क बसिन् २० मिटर नहिड्दै। हरेक २० मिटरको दुरीमा बस्नैपर्ने तिनको अवस्था एकदिनको नतिजा हैन, सोच्दैखेरी पनि आइयाऽऽऽ कत्ति नमिठो भने। हतारहतार गाडी रोकेर उनीहरु चढे। बिरामीलाई सिट मिलाइदिन अनुरोध गर्यौ हामीले। उनीहरु चुपचाप गाडी चढे, अनि गाडीको गतिसँगै टाढा भए। थाहा छैन ती आफ्ना गन्तव्यमा पुगे-पुगेनन्। कतै कलंकीको सडक पेटीमा ज्यानमा सिउरेको एक जोर लुगामा चिसो सिरेटोसँगै कठ्यांग्रिए कि !

मैले ति बिरामीलाई नजिकबाट नियाल्न खोजे बीच बाटोमा, झिसमिसे अध्यारोमै भएपनि। तिनी एकदम परिचित र मेरै आफ्नै पो रहेछिन्। उमेरले ४० ननाघेकी होलीन् तर उनको मुहारमा अनगिन्ती दुःख र पीडाका धर्साहरु लमतन्न परेका। उमेरभन्दा बढी नै बुढ्यौली पालेर तिनी शान्त तलाउझैँ एकैनासको भाव बोकेर मौन छिन्। तनमनमा हुरी लुकाएर आफ्नो शरिरलाई सिन्कीझैँ सुकाएर चुपचाप जे आइपर्छ त्यही गर्ने बानी बसालेकी, सकीनसकी संघर्ष गरिरहेकी ती महिलासँग म खूब नजिक छु, तिनको मनको गहिराईसम्मै। मैले उनको कष्ट र बेदनालाई धेरै अघि नै एकदमै नजिकबाट छामेको छु, ओल्टाइपल्टाइ हेरेको छु, देखेको छु र केही गर्न नसक्ने आफ्नो विवशतासँग पनि जुधेको छु। आँखाको चेपचेपबाट लुकाएर आँसुको उपहारबाहेक अरु दिन नसक्नुको अकर्मण्यता मुटुमा रोपेको छु। मेरो लागि नै यी सब परिचित छन् भने भुक्तभोगीको लागि यी र यस्ता कुरा त नित्य कर्म अन्तर्गतको व्यायाम हो। जुन कोही कसैको लागि स्वस्थकर नभएपनि जीवनको एक अभिन्न कर्म मानी गर्नैपर्नै एउटा आदत बसीसकेको छ। हो यस्तै आदत बसाल्न बाध्य भएकी, दुःखमाथि दुःखको भारी खेपेकी मलाई जन्म दिने मेरै प्यारी आमा। हो तिनी मेरी आमा नै हुन्। उबेलाको मेरी आमा र यिनमा कुनै अन्तर छैन। जो कुनै प्रश्न र शंकाबिना जस्तोसुकै यात्रामा पनि अघि बढिरहन्छिन्। कहिलेकाही उनको मौनता र शान्त स्वभावमा जोडले ढुंगा हानेर बिथोल्न र थोरै भएपनि मुर्मुरोपन निकाल्न औद्यी जोड गरे। तर म हार्छु। उनको धैर्यताको अगाडि मेरो जोड त्यसै बिलाउँछ।

आमा मुश्किलले आफ्नो पाइला चाल्दै जान्छिन् म उनको पटुकीको फुर्का समातेर उनीसँगै हुन्छु। उनी टुसुक्क कुनै ढुंगामा बस्छिन् या त यसै घाँसको बुट्यानमा थचारिन्छिन् श्वास फुलाएर। कहिलेकाही त लहरे खोकी नै लागेर हुरुक्कै हुन्छिन्। म के गरुँ कसो गरुँ ? भन्ने उकुसमुसुसँगै उनीतिर हेर्छु। उनको पिठ्युमा हात राख्छु। तिनी मतिर हेरेर मुश्किलले हाँसेझैँ गर्छिन्। मलाई राम्ररी थाहा छ मेरो माया मानेरै यसो गरेकी हुन् उनले। हामी धामी (झाँक्री) कहाँ झारफुक गर्न हिडेका छौ। त्यसो त पहिलेपहिले १५ मिलेट मै पुग्थिन् रे मेरी आमा। यो पाली त बिहानको भात खाएर घरबाट हिडेको घाम त टाउकामै आइसकेछ- उनी आफैले भनिन्। मैले नि यसो हेरे, मेरो छाया देखिन। आमाको छाया नि देखिन, पड्के छाया मध्यदिनको घामले खाएछ।

कान्ले उकालोले पनि आमालाई धेरै दुःख बेसायो। मनमा मायाको बाढी उर्लेर आउँछ। पहिले पहिले घाँस दाउरा गर्दा तिनै बाटोमा ठम्‌ठम्ती बडेमानको भारी बोकेर मलाई डोर्‌याउँथिन्। तैपनि तिनी म भन्दा कता हो कता बढ्तै हिड्थिन्। म भन्थे 'आमा कत्ति छिटो हिडेको ? मेरो खुट्टै पुग्दैन।' अहिले म ८ वर्षको छु। उनी ४० वर्षकी। म उनको नातिनी भन्न सुहाउने देखिन्छु। उनको धेरै दाँत छैनन्। मखमली चौबन्दी चोलोको रंग खुइलिएर बेरंगको देखिन्छ। लुंगी थोत्रो भएर बुट्टा हराएका। अनि हातैले बुनेको खेस (खाडी)को पटुका भने सबैभन्दा राम्रो देखिन्छ। त्यसको टुप्पामा राम्रो फूलबुट्टा पनि आमाले आफै भरेको। गहुँगोरो सुलुत्त परेको मुहारमा दाँत नभएपनि उनको दुर्लभ थोते हाँसो मेरो लागि उपहार सरह। हुन त म नि कहाँ गतिलो देखिन्छु र ! कपाल कति दिनदेखि नकोरेर लट्टा परेको। लुगा मयलले कट्कटिएको। खाली खुट्टा, त्यो पनि मयलले ढाकेको। खैरो रंगको पोलिस्टरको सर्ट खुम्चिएर माथि माथि सरेको, टाँक फुस्किएर हुपसियोले धानेको, निलो फ्रक ठाउँ ठाउँमा च्यातिएको। यसो आफैलाई हेर्दा प्वाखबिनाको कुखुराको चल्लाझैँ देख्छु। अनि मनमनै आफ्नो लुगा देखेर खिस्स हाँस्छु– 'भोत्लोङ्गे चल्ला' उपनाम भिरेर।

आमा फेरी उठ्छिन्। 'हिड्', संकेत गर्छिन् इशाराले। म फेरी उनको पटुकाको फुर्को समात्छु। एवं रितले हाम्रो बाटो काटीरहेछौँ। केही पाइला हिड्यो, बिसायो। हिडिरहेको बाटोसँग मलाई उठ्नु रिस उठेको छ। म सानो भएकोमा पनि उठ्नु रिस उठेको छ। 'म अलिक ठूलो भएको भए तपाईलाई बोकेरै लैजान्थे हगि !' ओहो उनी त क्या मज्जाले हासिन्। के चाहियो र मलाई। मनमनै सोचे- साँच्चै म उनलाई बोक्न सक्ने भए त झनै मख्ख पर्थिन्, अनि उनलाई यत्रो कष्ट नि हुन्नथ्यो नि ! म किन ढिलो बढेको होला छिः

बल्ल तल्ल हामी धामी दाईकोमा पुग्यौँ। तर घरमा केही छैनन्, धत्तेरीका। दैलोमा ओछ्याइएको गुन्द्रीमा आमा कुक्रुक्क परेर सुतिन्। मैले देखेअनुसार उनी जहिलेपनि त्यसैगरी सुत्थिन्। सुत्दा पनि आरामले निष्फिक्री सुत्न केले नदेको होला कुन्नी ? कोही देखिन्छन् कि भनेर म एताउति चाहार्छु। धमिनी भाउजु घाँस बोकेर देखा परिन् माथि बारीको कान्लामा। धामी दाई र खेतालालाई खाजा पुर्याउन गएकी रहेछिन्। भारी गोठमा बिसाएर घरभित्र छिरिन्। घट्‌घट् अमखोरामा पानी पिइन्। धामी दाईलाई लिन जाउ भनेर मलाई औलाले बाटो देखाएर पठाइन्। आमासँग केही सोध्दै थिइन् धमिनी भाउजु। म सरासर बारीको कान्ला नाघ्दै उकालो लागे मनमा ठूलो आश लिएर। मेरो खल्तीमा बसेको मोबाइल थरथरी काम्न थालेपछि म आफूलाई सिंहदरबारको पूर्वी गेटनेर हिडीरहेको पाउँछु। धामी दाई त मेरै खल्तीमा पो रहेछ- भावुक सम्झनाको बिट मार्दै भने।

12 comments:

Bed Nath Pulami said...

लौ वेलकम ब्याक .....कैलाश जी !
सिन्धुली गढी तिर ...फिलिली ..लाग्नु'भा थियो निकै समयको लागी पो हराउनु भो -कैलाश जी !

मननै कुटुक्क खाने गरी लेख्नु भएछ ! यस्तै छ हाम्रो समाजको यथार्थता ! समाज र जीवनशैली परिवर्तन गराउने नाममा आफै परिवर्तन भएर हराउछन -लीडरहरु !......अनि सर्बसाधारणको नियति तपाईले चित्रण गर्नु भएको पात्र जस्तै भएर बस्छ ! पढ्दै जादा अन्त्य भएको मसो नै पाइन !

Dilip Acharya said...

धेरैपछि लेख्नु भएछ तर क्या लेख्नु भएछ ! । धेरै दिनसम्म नभुल्ने गरेर लेख्नुभा'छ । तपाईँको ब्लगमा भएका अत्यन्त उत्कृष्ट मध्यको एउटा पोस्ट ।

वसन्त बलामी said...

तपाइँको संस्मरणले भावुक बनायो । अगाडी मलाइ बोक्दै ,दाइलाइ दोर्‍याउँदै घाँस दाउरा गरेकी मेरी आमाको तस्वीर पनि सँगै आइरह्यो ।

कैलाश said...

धन्यबाद बेदनाथाजी, फिलिली गाको अनि हराको नि । दिलिपजीले मन पराइदिनु भएकोमा म दङ्ग छु । बसन्तजीलाई धेरैपछि देख्दा खुशी लाग्यो । सायद हामीजस्तो आम गाउँले नेपालीहरुको साझा भोगाई होला यो ।

Prabesh said...

दिलीप दाइले भनेजस्तै एकदमै उत्कृष्ट लेख दिदी । शब्दसँग बग्दै जाँदा मेरो आँखाअगाडि पर्दामा चलचित्र चलिरहेको जस्तो लाग्यो...तपाईँका यी शब्दमा साँच्चै नै जादु छन्...

RRijal said...

तपाइँको ब्लगमा आज बल्ल पाइला टेकेँ। भोगाइ लाइ मनन गरेर यसरी भावमूलक ढंगले प्रस्तुत गर्ने तपाइँको शैली नबिर्सने भएँ। हाम्रो समाजका शहर र अर्ध-शहर हरुमा दैनिक कसै न कसैले यस्ता घटना देखेकै, सुनेकै हुन्छ। "सँधै सबै स्रोत र साधनको साँठगाँठ अर्थ भन्दा बढि मानवता सँग भएको" उदाहरणको लागी धन्यवाद ।

sangamkirati said...

बास्तबिकता भने पनि यथार्त भने पनि हामी नेपालीहरुको जिबनचार्य प्राय यसरी नै बितिरहेको हुन्छ!तितो सत्य ओकलेको छ!तपाईको लेखले कैलाश जी!!!धेरै-धेरै धन्यबाद,यसरी नै नया-नया खुराकहरु पडन पाईराखौ!!!!!

बिमल गिरी said...

लामो समय पछी बैनी कैलाशलाई देख्न पाइयो। सबै सस्मरण सरर हेरे,मन ढक्क फुलेर आयो। के गर्ने? हामी नेपालीहरुको जिन्दगी यसरीनै बितिरहेको हुन्छ। धन्यवाद बैनी,यसरी नै नया-नया खुराकहरु पडन पाईराखौ!!

मनु ठाडा मगर (MANU) said...

लौ दिदी म त तपाइको कुटि तिर छिर्न निकै ढीला गरेछु । आफै पनि बिरामी हुनुहुन्छ अनि सिन्धुली तिरै फिलीली हो की भन्ने सोच्दै थिएँ । कहाली लाग्दो तितो यथार्थलाई प्रस्तुत गर्नु भएछ। धेरै दिन पछि यहाको नया लेख धित मर्ने गरी पढे एउटा अनुरोध यस्तै उत्कृष्ठ लेखकी धनि तपाइ केही छिटो छिटो खुराकहरु बाड्नु भएमा म त धेरै आभारी हुने थिए । अचेल त खै एभरेष्ट पनि पाउन छोडेकी छु तपाईको कुटी पनि सुनसान हुदा म त बिरक्तिदै बसि रहन्छु पो है दिदी ।

कैलाश said...

प्रवेशजी, रिजालजी, किरातिजी,बिमलजी र मनु नानीलाई धन्यबाद। मनु बैनी बितेको केहि समय म लेखन कार्यमा अलि निस्क्रिय रहे त्यसैले सुनसान भो। एभरेस्ट पुन पाउनु हुन्छ अब। बिरक्तिनु चाही भएन है कुनै हालतमा।

दीपक जडित said...

पहिले नै आएर चुपचाप पढेर भावुक बनेर बाहिरिएको थिएं । आज फेरी दोहोरिएँ उसैगरी भावुक बनेर ।

roshi kharel said...

kailash, hunata maile kehi ta timro mukh bata ani kehi timro lekhan padher timro tito vastbikata thorai janeko chu tara pani pheri padhada dherai khusi lagyo bhanau athawa dukha lagyo, tara sabda ko selection, wakya ko bagai ra sangai timro atit lai sarai nai majja le pokhe ki chai,dherai khusi lagyo padhera. really appreciated....