Monday, September 19, 2011

भुइचाल आऽऽऽयो... मेरो, मेरो...

लामो समयपछि मेरो जन्मघरका हर्ताकर्ता काकासँग संवाद गर्दैथिए (धेरैपछि कुटीमा झुल्किएझैँ), हिजो साँझ। सन्चो विसन्चो र समय अन्तरालमा भए गरेका कुराहरुको बेलीबिस्तार सुन्दै सुनाउँदै गर्दै थियौ एकापसमा। दशैँको योजनाबारे सोधखोज हुँदैथियो उताबाट- "दशैँमा आउने होकी भनेर बाटो हेर्दैछु। धेरैजसो काम सकियो, अब दशैँ आयो।" एक्कासी "भुइचाल आऽऽऽयो भुइचाल आऽऽऽयो भुइचाल आऽऽऽयो"को आवाज आयो। "मेरो, मेरो, मेरो, मेरो"को एकोहोरो गुञ्जन आउँदैथियो मोबाइलले टुइक्क आवाज गर्यो र सम्पर्क टुटायो।

त्यत्ति हुँदा नहुँदै टेबल काम्न थाल्यो। झल्याकझुलुक बत्ति जाने आउने हुन थाल्यो। म मोबाइलको नेटवर्क खोज्दै झ्यालनेर उभिएको थिएँ झ्यालको डण्डी समातेर। कोठामा झुण्डिएको झुल एकतमासले हल्लिन थाल्यो। म एताबाट उता, उताबाट एता हुँदैथिए। छोरोलाई भने ओछ्यानै कोक्रो सरह भैराथ्यो। झल्याँस्स सम्झे, भुकम्प आउँदा सुरक्षित हुने ठाउँ खोजे। टेबलमुनि छिरे छोरालाई च्यापेर। तर टेबल आफै नर्तकीझैँ हल्लिदै थियो। तै तै टेबलसँगको हाम्रो सहकार्य र क्यमेस्ट्री भने मिलीराथ्यो। घरै नर्तकी बनेको थियो। धन्न संयमित भूकम्प थिएछ। केहीबेरमै शान्त भयो। धेरै खति पनि गरेन। सडकमा मान्छेहरुको भीड र उत्तिकै होहल्ला। सबैको हातमा मोबाइल। तर भूकम्पले त मोबाइलको पो सातो पुत्लो लिएर हिडेछ। विचरा "उसै त कुन, कानमा लुर्के सुन" भनेझैँ। मेरो नि मोबाइल संवाद अपुरै थियो र भूकम्पको असर पनि बुझौँ भनेर पुन: असफल प्रयत्न गरे मोबाइलको भाँडोलाई चलाएर। अहँ, इन्तु न चिन्तु भएको मोबाइलले केही पार लाएन।

४५ सालको भूकम्पमा पनि यो पालीको जसैगरी "भुइचाल आऽऽऽयो" भन्ने आवाजसँगै "मेरो, मेरो"को आवाज कता कता सुनेको अलिअलि याद छ। "मेरो, मेरो"को किस्सा यस्तो छ। जब भुकम्प आउँछ त्यसले सहकाल लैजान्छ रे (सायद क्षति गर्छ भनेको हुनुपर्छ) त्यो सहकाल बचाइराख्नको लागि भुकम्म आइरहेकै बेला अन्नबाली वा सिक्कालाई माना, पाथी वा डालोमा भर्दै "मेरो, मेरो" भन्यो भने अन्नबालीको सह रहन्छ रे। त्यही भएर ४५ सालमा बोजुले ज्यानको ख्याल नगरीकन उफ्रेर भकारीमा पसेर "मेरो, मेरो"को आलापसँगै पाथीमा धान भर्दै खन्याउँदै गर्नुभएको रहेछ। मलाई चाहि आमाले "उठ् उठ् बाहिर आइजा" भन्दै तान्न खोज्दै हुनुहुन्थ्यो। म भने ओछ्यानमा लडीबुडी खेल्दै थिए। त्यसबेला आसपासका केही घर चर्केका र भत्केका थिए। बारीका कन्लाहरु झरेका थिए। हाम्रो भने केही क्षति भएको थिएन। धन्न यसपाला पनि केही क्षति भएनछ।

घरको सबैभन्दा माथिल्लो तलाबाट भुइतलामा ओर्लिएका छिमेकी भूकम्प गइसकेपछि लगलग काम्दै थिए। उनको ६ वर्षे छोरो लल्याकलुलुक भएर भ्यात्त भूइमा पछारिदै रुन थाले। बच्चालाई सामान्य स्थितिमा ल्याउन केही समय लाग्यो। भगवानको चमत्कारको कथा बनाएर भनेपछि अलि विश्वश्त भयो ऊ। म चाहि टेलिभिजनमा आँखा घुमाउन थाले केही जानकारी हासिल गर्ने हेतुले। मनमा भने "मेरो, मेरो"को प्रसंग घुमिरहेथ्यो। ४५ मा बोजुले "मेरो, मेरो" भन्दै सह धानेको रे। अब अहिले ६८ मा आएर आमा पुस्ताले पनि धाने। पालो त मेरो पुस्तामा नि आउँछ होला त नि! दृश्य आँखामा नाच्छ, "भुइचाल आऽऽयो, मेरो, मेरो, मेरो, मेरो" ओठमा मुस्कान छाउँछ- "बोजु, आमाका पुस्ताले त अन्नबालीलाई मेरो मेरो भने, मेरो पालोमा चाहिँ केलाई भन्ने होला?"। खैर, "मेरो, मेरो"को ओखति कहाँ बनेको र कस्ले कसरी बनायो भन्ने थाहा छैन। यसले भुकम्पको क्षति रोकथाम गर्छ गर्दैन, सहकाल बाँचिरहन्छ रहदैन त्यो पनि थाहा छैन। मनको विश्वास न हो। जसको विश्वास छ, आडभरोसा टिकाइराख्ने एउटा झिनो कडी भने हुनसक्ला। र मनलाई संयमित राख्न सघाउला सायद।

यो भूकम्पमा ज्यान गुमाउनेहरू सबैप्रति श्रद्धाञ्जलीसहित...

5 comments:

Unknown said...

कैलाशजीलाई ब्लगमा फर्काउन पो आएको थिएछ क्या हो यो पालीको भैंचालो त?

भैंचालोमा हामी पनि मेरो मेरो भन्छौं कैलाशजी, केहि होस् नहोस् मेरो मेरो भन्दा मेरो केहि जोगिन्छ कि विनाशकारी भैंचालोमा भन्ने कुराकै विश्वासले यसो भनिएको हुनुपर्छ ।

जे होस् कुटी उज्यालो देखियो र खुसी लाग्यो ।

भैंचालोमा ज्यान गुमाउनुहुनेहरु प्रति मेरो पनि हार्दिक श्रद्धाञ्जली !!

कैलाश said...

हेहेहेहेहे हो कि क्याहो दीपक जी। न्यानो स्वागतको लागि धन्यबाद तपाईलाई।

Dilip Acharya said...

हो , दीपकजीले भन्नु भएको ठिकै हो.. भूइचालोको हलचलले ब्लग फेरि चलेको जस्तो लाग्यो मलाई पनि ।

यसपालाको 'झट्का' भने डरलाग्दै थियो है :)

कैलाश said...

ए बा ! मरिन्छ कि बाचिन्छ केहि ठेगान रहेन अब ब्लगमा त लेख्ने पर्यो नि हगी दिलिप जी?

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK