Friday, January 29, 2010

Be Positive यार !

हाम्रो सोझो बुझाईमा बिजुलीले बिश्राम लिएको अवस्था लोडसेडिङ हो। आफूलाई पायक पर्नेगरी लोडसेडिङको तालिका खोजेर टाँसे दुईहप्ता अघि। त्यसको अर्को हप्ता लाग्दा नलाग्दै फेरी त्यसको सट्टामा नयाँ तालिका आयो। त्यसलाई टाँस्नै पर्यो। फेरी यो हप्ता नसकिदै त्यसको सट्टा नयाँ तालिका आयो। छलाङ मार्दै प्रगति पथमा लम्कीरहेछ लोडसेडिङ। उसको प्रगतिमा साथ दिनलाई पनि त सकभर नयाँ नयाँ तालिका टाँसेर गमक्क पर्नैपर्यो। अब झन् लोडसेडिङलाई टेवा दिनसक्ने सुक्खा मौसम पनि आउँदैछ। मैले काम गर्ने ठाउँमा हिजो (२-४) र आज (३-५) गरी जम्मा २-२ घण्टा बिजुली चल्छ। बाँकी समय बिजुलीले पूरै बिश्राम लिन्छ। निदाउँछ। उसो त हामी पनि २४ घण्टामा ८-९ घण्टा या केही घटबढ गरेर निदाउँछौ। आराम लिन्छौ। त्यसैले बिजुलीको पनि आराम लिने अधिकार छ। उसको यो अधिकारमा हामी मानिसले किन व्यर्थैमा टाउँको रिङगाउने। भलै २४ घण्टामा २४ घण्टा किन बिश्राम नलियोस्। टाउँको रिङ्गाएर हुनेवाला केही छैन।

अब मृल्यबृद्धि। १० वर्ष अघि म काठमाडौ छिरे। उसबेला ३ रुपैयाँमा सार्वजनिक गाडी चढेको याद छ मलाई। आजसम्म आइपुग्दा न्यूनतम मात्रै १२ रुपैयाँ त भएको छ नि। उसबेला ४५० मा ग्यास उपलब्ध थियो। आजको दिनमा १२५० मात्रै पुगेको छ। गएको २ वर्षभित्रै खाद्य पदार्थ वा तरकारीदेखि लिएर अन्य उपभोग्य बस्तु, डेरा भाडालगायत सबैमा ह्वात्तै मूल्यबृद्धि हुँदा किन जंगिनु ब्यर्थैमा। हाम्रो आयस्रोतमा बृद्धि नभएर के भो र उपभोग्य संस्कृतिमा त बृद्धि भएकै छ नि। त्यहीमाथि यो त ती तत्वहरुको प्रगति नै हो। हाम्रो पक्षमा तत्वहरुको प्रगति नभएर के भो त। बेलाबेलामा कृतिम या साँच्चैको अभाव भइदिएपनि जसोतसोगरी फेरी उपलब्ध भइहाल्छन् आखिरी।

बिजुलीले विश्राम लिएकै मौकामा हिजो (१४ माघ)को Republica Daily मा आँखा डुलाउँदै थिए। एउटा नमूना फेला पारे। महिनादिनमा कन्स्ट्रक्सनको सामग्री- सीमेन्टको भाउ १८-३२ प्रतिशत बढेको र रडको भाउ २२ प्रतिशत बढेको छ। डिसेम्बर २००९ र जनवरी २०१० को तुलनात्मक हिसाबकिताब हो यो। यो मृल्यबृद्धिको तीब्र प्रगतिलाई 'अग्रगामी छलाङ' नभने के भन्ने त खै? फेरि चीजबीजलाई मात्रै किन र के को हुट्‌हुटी नि हामीलाई चाहिएकै बेलामा सजिलै अनि कम मूल्यमै उपलब्ध हुनलाई। तिनले कस्को बाउँके के खाइदेका थिए र?

फेरी काठमाडौ टेकेकै बेलाको कुरा कोट्याउँछु। उसबेला सडक किनार किनारमा बडेबडेमानका रुखहरु थिए। हरियोपरियो थियो। बाटोघाटो सफा थिए अहिलेको तुलनामा। बाग्मतिकै पानी पनि तुलनात्मक रुपमा सङ्लो बग्थ्यो। फोहोरका डंगुरहरु कम हुन्थे। घरहरु कम थिए। अब अहिले त सडकमा धूवाँ धूलोको मात्रा बढेको छ। रुखहरु मासिए। कतैकतै बाटोघाटोको आकार बढेपनि सवारी साधनको चाप त्योभन्दा बेसी नै बढेको छ। ईँटा थुपारेझै घरहरु बनीसके। अझै बन्दैछन्। तैपनि ती कुनै पनि घर होलोखोकुला छैनन्। खाली हुने कुरा त कल्पानाबाहिरकै कुरा। बहालवालाहरुले कोठासमेत पाउँन मुश्किल छ। यी सबैकुराले गर्दा अरु के के प्रगति भयो भन्ने थुप्रै लेखाजोखा गर्न सकिन्छ होला। अहिलेको प्रसंगमा यो टाँसोको लागि चाहिँ प्रदुषणको प्रगति नै सान्दर्भिक देख्छु। गतिवान् भइ प्रगति गरेकोमा बधाई छ प्रदुषणलाई।

हामीकहाँ आजकाल एकदमै 'छलाङ' मार्दै अझ भनु न 'बुर्कुसी' मार्दै प्रगति पथमा अघि बढिरहेका पक्ष वा तत्वहरु धेरै छन्। माथि भनेकाजस्तै थुप्रै तत्वहरु छन् हामीसँग। हाम्रै वरपर। त्यसैले ती र त्यस्ता अग्रगामी तत्वहरुको छलाङ साँच्चै नै पल पल अनुभूत गर्न सकिन्छ। किनकी यस्ता कुराहरुसँग हाम्रो अटुट सम्बन्ध छ। साधारणतयः मानव सम्भयतासँग गाँसिएका हरेक पक्षहरुमा मापनयोग्य वा प्रष्ट खालको सकारात्मक परिवर्तन वा सफलतालगायतका सन्दर्भमा छलाङ मारेको भन्ने गरिन्छ। यो पनि सफलताकै सन्दर्भ हो। तर मानव या मानव सभ्यताको सफलता भन्दा अलि बेग्लै प्रसंगमा। यो मानव कार्यको सहजताको लागि सँधै घोटिदै आएका तत्वहरुले मारेको छलाङको कुरा हो। त्यसैले तिनको प्रगतिप्रति हामी खुशी हुनैपर्ने बाध्यता छ। नभएमा आफ्नै मुहारमा थप चाउरी पर्ने प्रवल सम्भावना भन्दा पनि पक्का नै छ। आखिरमा यो भनेका ती तत्वहरुको अग्रगामी छलाङ र प्रगतिका चिन्हहरु हुन्। लोडसेडिङ बढ्यो। यो लोडसेडिङको प्रगति हो। मूल्यबृद्धि बढ्यो। यो पनि मूल्यबृद्धिकै प्रगति हो। प्रदुषण बढ्यो। यो पनि उही त हो। हामीले यस्ता कुराहरुसँग प्रतिस्पर्धा गरेकै हैनौ। अनि के को खस्‌खस्‌। भलै त्यो प्रगति हाम्रो हैन। त्यो छलाङ हाम्रो पक्षमा छैन। तैपनि बी पोजिटिभ यार। आखिर प्रगति भनेको प्रगति नै त हो नि!

Friday, December 25, 2009

Kid आजकाल

एकाबिहानै निद्रामै मैले भने 'हेलो'।
'गुड मर्निङ फूफू। तपाई मेरो बर्थ डेमा आउनु है जसरी पनि' एकदमै टठिलो र तिखो स्वर कानमा पर्यो।
'कहिले?'
'पुसको इलाभेन गते हो नि मेरो बर्थ डे। तपाईले बिर्सिनु भयो कि क्या हो? त्यो दिन भोली हो, स्याटर्डे। पक्का आउनु है। तपाईलाई बाई अरुलाई पनि बोलाउँछु म।'

भदाको फोनले मलाई ब्युझाएन मात्रै। सोचमग्न पार्यो। घडी हेर्दा साढे पाँच बजेको थियो। आजकाल त त्यत्तिबेला सम्म राती नै हुन्छ। त्यहीमाथि जाडोको याम छ। काम नभएसम्म न्यायो सिरक छाडेर उठ्ने जाँगरै चल्दैन। यो केटाले चाहिँ सबैलाई जगाउँन अनि निम्तो दिन भ्याइसकेछ। अचम्म!

ऊ भोलीदेखि ४ वर्ष नाघेर पाँच वर्षमा लाग्दैछ। उसको नाम सक्षम हो। उसैले मोबाइल फोनबाट दिएको निम्तोको कुरा गर्दैछु म। साँच्चै मैले त भदाको जन्मदिन बिर्सिएको रहेछु। यद्यपि हरेक साल उसको जन्मदिनमा हामी सामान्य रुपमा भेला भएर मनाउँदै आएका थियौँ। र ऊ जन्मेको पनि हिजै हो जस्तो लाग्छ सम्झँदाखेरी। तरपनि उ त हेर्दाहेर्दै ठूलो भइसकेछ। आजकालको माहौललाई बुझ्ने भइसकेछ। ए बा !

मेरो बाल्यकाल सम्झँदा मैले ४ या ५ सालको हुँदाखेरी के के गर्थे। कसरी सोच्थे। मलाई एकरत्ति याद छैन। त्यसभन्दा धेरै पछिसम्म पनि मलाई धेरैजसो कुराबारेमा ज्ञान थिएन। साह्रै लद्‌दु भएर होला। अहिलेका बच्चाहरुमा देखिने Understanding, smartness, cleaverness देख्दा म दंग पर्छु। अनि जमानाअनुसारको हुनैपर्यो नि भन्ने लाग्छ। किनकी उनीहरुको जमाना बढी प्रतिस्पर्धात्मक, रफ्तारको र सृजनात्मक हुन्छ अवश्य पनि हाम्रो भन्दा। त्यसबेला झनै Survival of the Fitest को माहौलमा टिक्नु जो पर्नेछ।

खासगरी यो कुरा यहाँ ठेल्नयोग्य लाग्नुमा एउटा कारण छ। पोहोर साल नै दाजुले भन्नुभएको थियो कि 'अब हाम्रो तर्फबाट यहि सालसम्म मात्रै हो। सक्षम आफैले पहल गर्न सक्ने भएपछि जे सुकै गरोस्'। दाईको आसयमा हामी सबैले सहमति जनाएका थियौँ। र सबैजनाले यो वर्ष वर्थ डे भनेर मनाइने छैन भन्ने बुझाई राखेका थियौँ। त्यसै पनि यो वर्थ डे, एनिभर्सरीलगायतका कुराहरु मान्नेप्रति मेरो जोड रहँदैन। र मानाउँनैपर्ने संस्कृति पनि हो जस्तो लागेको छैन यतिञ्जेलसम्म। तर पुस्तान्तरको क्रममा आफ्ना यथावत् रहेका सोच र व्यवहारमा पनि अन्तर ल्याउँनुपर्ने र अपडेट गर्नैपर्ने अवस्था आइपर्ने रहेछ।

दाईको आसय जे थियो त्यसलाई सक्षमले बुझेरै यो पल्ट आफ्नो बर्थ डे मनाउँन ऊ आफै पहल गर्न थालेछ। सक्षमलाई दाईको आसयको बारेमा थाहा छ/छैन। तर ऊ आफैले पहल गरेर यो पालीको उसको वर्थ डे मनाउनै पर्ने भएको छ। भाउजुसँग कुरा गर्दा अझ बढी कुरा थाहा भयो। आमा बाबा भन्दा अगाडि उठेर आफ्नो स्मरणलाई ताजा पार्नलाई अघिल्लो अघिल्लो वर्षहरुमा मनाएको वर्थ डेको फोटो हेरेछ सक्षमले। त्यसपछि यो पालीको तयारीमा जुटेछ केटो। उसले दुईटा शर्त राखेछः पहिलो आफूले जो जो नाम दिन्छ सबैलाई बोलाउँने। दोस्रो उनीहरुको नम्बर र मोबाइल उपलब्ध गराउने। अनि त भट्टाभट फोन गर्दै वर्थ डे मनाउँने तरखरमा लागेछ सक्षम।

अब सक्षमले कुरा मिलाएरै छाड्यो। अझ भनौ न आफ्नै पहलमा आफ्नो बूताले भ्याएसम्म पहल गरेर आमा बाबालाई आफ्नो वर्थ डे मनाउँनु पर्ने कुरामा सहर्ष खुशी पारे। उनको साथीभाई सबै सक्षमको वर्थ डेमा जाने भनेर फुरुङ्ग। सक्षम आफै असाध्यै खुशी भएर फुर्तिलो बनेको छ। अर्कोतिर पोहोर साल सक्षमको बाबाले निर्क्यौल गरेको धारणा पनि एक हदसम्म पूरा भएकै छ। 'That's the spirit' भनु जस्तो सक्षमको कुरा सुन्दा म केही हर्षित भए। केही सतर्क पनि। यति सानै उमेरमा आफुले भनेको र चिताएको कुरा पुर्याउँनलाई देखाएको जागरुकता र ढिपीलाई लिएर सायद खुशी नै हुनुपर्छ होला अभिभावक वर्गले। त्यसैले मलाई यो प्रसंगमा भन्न मन लाग्यो 'वाह्‌! Kid आजकाल'।

अन्तमा सक्षमलाई जन्मदिनको धेरै धेरै शुभकामना। उनको चाहना, इच्छा पूरा होऊन्। भविष्य राम्रो होस्।
(माथिको तस्बीरमा अघिल्लो जन्मदिनको अवसरमा केक खाँदै उनै भोलीको Birthday Boy सक्षम)

Thursday, December 17, 2009

१ मिनेटको बहानामा उत्सब

'पुरै १ मिनेट किन बढाएको? १ मिनेटमा यहाँ एउटा फिल्म बन्छ।' वाफरे १ मिनेटको पनि यत्रो महत्व?

राष्ट्रिय सभा गृह हलभित्र १३ डिसेम्बर साँझ 'The Devotion of Matthieu Ricard' (67 min, Netherlands, 2008)फिल्म हेर्न छिर्यौँ हामी। ६७ मिनेटको फिल्मलाई साथी (सागर)ले ६८ मिनेट भनेर पढेपछि छेवैको अर्को साथीले यस्तो प्रतिक्रिया दियो । भर्खरै 7th Kathmandu International Film Festival (KIMFF) 2009 सकियो। त्यही फेस्टिभलको फिल्म हेर्दाहेर्दैको प्रसंग थियो यो। समयको हिसाब गर्दा ४ मिनेट २० सेकेण्ड देखि १०८ मिनेटसम्मको फिल्म थिए त्यहाँ । खैर, यो टाँसोमा उक्त फेष्टिभलको हैन, 1 Minute Documentary Film Fest को कुरा राख्छु। Documentary for Social Transformation (DOST)ले उक्त फेष्टिभलको आयोजना गर्यो। समूहमा सचिन, सागर, रुख, श्रीधर, जानुका, रुपलगायतका साथीहरु सक्रिय रहे।


साथीहरुलाई १ मिनेटवाला फेष्टिभलको रन्को चढेको थियो सभा गृहमा फिल्म हेरिरहँदा। केही नयाँ, केही चुनौतिपूर्ण रमाइलोपनाको खोजीमा रमाउने र आ-आफ्नै क्षेत्रमा सक्रिय रहेका युवा साथीहरुले यो फेष्टिभल गर्ने विचार फुर्‍याउँदा म आफैसँग घोत्लिएको थिए। कस्तो चाहिँ होला है? परिक्षण र सिकाइको रुपमा लिएर जाने निधो गरे साथीहरुले। भन्दैथिए साथीहरु, यो फेष्टिभलमा रुचि भएकाहरु जो पनि बोर्ड मेम्बर, जो पनि फिल्म मेकर र जो पनि दर्शक तथा विश्लेषक बन्ने हो, तर फिल्मको कन्टेन्ट १ मिनेटभन्दा धेरै हुनुहुन्न। त्यो भन्दा कम भए नि हुन्छ। यसमा सबैको सहमति भयो र फेस्टिभल गर्ने दिन जुर्यो- १७ डिसेम्बर। फिल्म फेष्टिभलको लागि मार्टिन चौतारीले जम्मा हुने थलो र फिल्म स्क्रिनिङको निशुल्क जोहो गरिदियो । फेस्टिभलको लागि जुटेका साथीहरु यो experimental work हो let's see भन्ने जोशमा थिए। अन्य धेरैलाई अनौठो लाग्यो। केहीलाई भने पत्यारै लागेन।

मात्रै १ मिनेटको डकुमेन्टी? लौ कसरी? जानकारी पाएपछि धेरैले यसबारेमा सोधखोज गरे। उपत्यकाभित्र र बाहिरबाट मात्र हैन देश बाहिरबाट पनि इमेलमार्फत साधेनी भएको थियो। फिल्म या डकुमेन्टी बन्नलाई कुन कुन कुरा जरुरी छ, कुन कुन पक्षको संयोजन हुनुपर्छ भन्ने कुरातर्फ ध्यान नदिइकन, कुनैपनि खालको औपचारिक प्रक्रियामा नछिरिकन, आफूसँग भएको प्रविधिसँग खेल्दै खुबी प्रदर्शन गर्ने र रुचिकर सिकारु तथा पोख्त भइसकेकाहरुलाई समेत मात्रै १ मिनेटको फिल्म मेकिङद्वारा सानो जमघट हुने मौका मिल्यो। जम्मा २४ वटा डकुमेन्टी फिल्म प्रदर्शन भए। दर्शकहरु पनि जिज्ञासु भावमा थुप्रै संख्यामा उपस्थित भए।

अब लागौ २४ वटा फिल्मतिर। रुप कुमार विकेको 'Das Deusi'ले जर्मनी भाषामा देउसी खेलेर जर्मनीतिरै जाने युवाहरु इच्छा व्यक्त गरेको थियो। विकेकानुसार Das भनेको जर्मनीमा the हो। तर एकजना दर्शकले फिल्म हेरेपछि भने 'देउसी पनि दास बनेछ'। सचिन घिमिरेको छुवाछुतसम्बन्धी 'लाज नभएको मान्छे' र जर्मनमा रामकृष्ण भजन गाएर हिडेको रमाइलो 'Ramkrishne in Germany'को दृश्यकथा हो। खेलकुद र खानाको प्रभाव पढाईमा पनि पर्छ भन्ने
सन्देश लिएर 'बालबालिकाहरुमा खेलकुद र खानाले पार्ने प्रभाव' मार्फत् १३ वर्षे अभिनाश अर्याल आए। परम्परागत नेपाली समाजमा एउटा घर, परिवार, अन्नबाली, पशुपंक्षी, बाटोघाटो भए जीवन सम्पन्न हुन्छ भन्दै 'The Rich' लिएर विश्व दर्शन नेपाल देखा परे। त्रिविको केन्द्रिय पुस्तकालय छेउ भाँडा माझेर गुजारा गर्ने बालकको कथा 'To Whom it May Concern'मा समेटेर प्रकाश लुईटेलले सटिक व्यङ्ग गरे। समीर कुमार जोशीले लागू पदार्थ प्रयोगकर्ताको नियतिलाई 'मन्द विषको गुलाम'मा कैद गरेका छन्।

उज्जवल ढुंगानाको 'हामी: Barbarism'ले निर्ममतापूर्वक पशु काट्ने/मार्ने र खाने हामी मानवको स्वभाव र परम्परालाई उनेको छ। यो फिल्ममा देखाइएको दृश्यले दर्शक, फिल्म मेकर र आयोजकबीच Film Making ethics बारे बहस समेत चलायो। सवारी दुर्घटनासम्बन्धी प्रतिकार कार्की र कला पौडेलको 'जोशमा गुमाएको होस्‌', १० वर्षिया ऋद्धिका थापाले आफ्नो वरपरका दृश्यलाई 'My Eye' शीर्षकको Photometry मा सजाए। त्यस्तैगरी श्रीधर न्यौपानेको 'त्रास' र 'Torture' गणेश थापा- जर्ज दाईको 'जब' र '?', रघुबर नेपालको 'Towards' र 'भोटे दाईको डोको', अभिनाश विक्रम शाहको
'Memories of a Sparrow', दिपेश घिमिरेको 'निरन्तर', प्रताप अधिकारीको 'क्लाइमेट चेन्ज इन नेपाल', शिवशरण कोइरालाको 'मेरो कथा', विकास प्रधानको 'One heart One people', राजेन्द्र महर्जनको 'स्कूलपेटी छेउ' नामक नेपाली डकुमेन्ट्री फिल्महरु प्रदर्शन भए। भारतका २ वटा 'Dhannobiti' (Ayesha Maria Mualla, India) र 'General Compartment' (Shilpi Gulati and Sharanya Gautam, India)नामक डकुमेन्ट्री पनि प्रदर्शन भए।

फिल्म प्रदर्शन र छलफलपश्चात मार्टिन चौतारीमा फिल्मसम्बन्धी अनुसन्धानरत अनुभव अजीतले आफ्नो छोटो विश्लेषणात्मक विचार राखे। युवाहरुको जमातले यही फेष्टिभलमा अर्को एउटा प्रदर्शन पनि गरे- कला प्रदर्शन। मार्टिन चौतारीको बगैचाभरि ठेचोका ५ जना युवा कलाकारहरुको विविध चित्रहरु राखिएको थियो। ती चित्रहरु मनमोहक र सुन्दर थिए। साँच्चै एउटा रचनात्मक उत्सब नै भयो।

अब फेरी फिल्मकै कुरातर्फ लागौ। मार्टिन चौतारीको हल दर्शकले खचाखच भरिएको थियो। प्रत्येक फिल्म हेर्दा एक खालको विषयवस्तु र मनोरञ्जन त छँदैथियो। फिल्म हेरिसकेपछिको अन्तरक्रियामा दर्शक र फिल्म मेकर दुबैको दृष्टिकोण पनि उजागर भयो। केही डकुमेन्ट्रीले १ मिनेटको समयावधिमा देखाउँन खोजेको कुरा स्पष्टसँग देखाएको थियो भने केहीले विषयको थालनी मात्रै गरेझैँ लाग्थ्यो। तैपनि १ मिनेटको डकुमेन्ट्री कस्तो हुँदो हो? भन्ने जिज्ञासालाई यो फेष्टिभलले परिपूर्ति गर्यो। प्रत्येक फिल्म सकेपछि बीचबीचमा भएको मत मतान्तर र भिन्न भिन्न दृष्टिकोणले उपस्थित दर्शक र फिल्म मेकर अनि DOST समूहलाई समेत एउटा पाठ भयो।

फिल्म मेकर १० वर्षे ऋद्धिका थापा, १३ वर्षे अभिनाश अर्याल, संसारकै छोटो फिल्म 'त्रास', नेपालमा बनेको जर्मनी फिल्म 'Das Deusi' र नेपालीले बनाएको जर्मनी फिल्म 'Ramkrishne in Germani'लगायतका कुरालाई लिएर DOST समूह फुरुङ्ग थियो। साथै फेष्टिभल सम्पन्न भएपछि १ मिनेटको फिल्म फेष्टिभलको मर्म मर्न नदिने हौसला प्रदान भएको अनुभव गर्दै उत्साहित पनि देखिए। केही नयाँपन, केही फरक स्वादको खोजीमा रहेका युवाहरुको स्वतस्फुर्त एउटा प्रयास हो यो फेष्टिभल। जुन खर्चको हिसाबले किफायती र पूर्ण रुपमा व्यक्तिको रुचि र तत्परतामा भर पर्ने सामूहिक कार्यको नमूना मान्न सकिन्छ।

यो फेष्टिभलको निरन्तरता हुने नहुने, यसले कुन रुपधारण गर्ने या नगर्ने भन्ने जस्ता आगामी कुनै योजना छैन। तर फेष्टिभल सम्पन्न भइसकेपछि DOST का साथीहरु थप उत्साहित भएको पाए। नाम कहलिएका, सबैले मानेका र धेरै खर्चमा सम्पन्न हुने त्यस्ता फेस्टिभलका सामुन्ने यो फेस्टिभलको ठाउँ कही नहरला। तर १ मिनेटको डकुमेन्ट्री बनाउँनु आफैमा निकै नै अप्ठ्यारो र साँघुरो काम हो। सबै अवस्थामा लागू नभएपनि आफूले भन्न या लेख्न खोजेको कुरा ६० शब्दमा प्रष्ट भन्नु र १ मिनेटमा एउटा कथावस्तु समेट्नु खँदिलो सृजना गर्नु हो। कतिपय अवस्थामा दबाबपूर्ण कार्य पनि हुन जान्छ सायद। यस्ता सृजना सबैले सँधै गर्न सक्ने कमै हुन्छ। र सबैमा लागू हुन्छ भन्ने पनि हुन्न।

'लामा लामा डकुमेन्ट्री हेरेर अघाएकाहरुलाई भोक जगाउने काम पनि हो' हलभित्र फिल्म हेर्दाहेर्दै एकजना दर्शकले आफ्नो विचार यसरी राखेका थिए। समयको महत्वलाई बुझ्दै, आफ्नो सृजनशीलतालाई एकआपसमा बाँड्ने, प्रतिक्रिया-सुझाब लेनदेन गर्ने र सृजनालाई निखार्ने र चलिआएको चलनभित्रै नयाँपन खोज्दै आफ्नो कार्यक्षमता देखाउने एउटा अभ्यासको रुपमा मैले यो फेष्टिभललाई लिए। यसको निरन्तरताको लागि थुप्रै कुराहरु हुनुपर्ने र तिनले थुप्रै पाटाहरु समेट्नुपर्ने, सिक्नुपर्ने बाध्यता र खाँचो पनि छ। त्यसको बाबजुद निरन्तरताको अपेक्षा गर्ने लोभ भने जगाएको छ। हरेक experimental workको अविध छोटो भएकै जाती। र त्यस्ता केही रुचिकर र राम्रा परिक्षण कार्य पाकोपनतिर लम्केकै राम्रो।

Wednesday, December 02, 2009

किराती र साकेलाः केही चर्चा

किरातीहरूले बर्षेनि दुइपल्ट उभौली–उधौली (वैशाख पूर्णे र मंसिर पूर्णे) साकेला धुमधामसँग मान्ने गर्छन्। अहिले यो टाँसो लेखिँदाखेरी उधौली साकेलाको बेला छ। प्रकृतिका पुजारी मानिने राई, लिम्बू, सुनवार, याक्खालगायतका किरातीहरू साकेला पर्वमा पूजाआजा, नाचगान,खानपिन तथा भेटघाट गर्ने गर्छन्। प्राकृतिक प्रकोप नहोस्, सहकाल रहोस्, अन्नबाली सप्रियोस, कुलपित्री खुसी होऊन‍्, सबैको सुब्बेफाब्बे होस् भन्ने प्रार्थना गर्दै साकेला चाड मनाउने गरिन्छ। त्यसैले साकेला किरातीहरूले सगोलमा मान्दै आइरहेको परम्परागत–मौलिक चाड हो। यो फोटो खुलामञ्चमा गत वैशाख पूर्णेको उभौली साकेला मनाउँदै गरेको बेला खिचेको हुँ। यहाँ पंक्तिबद्ध नाचीरहेकाहरु किराँत लिम्बु हुन्।

आजकल मौलिक–सांस्कृतिक पक्ष अनि आधुनिकीकरण र रमझमको मिश्रणसँगै साकेला परम्परा धानिन थालेको देखिन्छ। त्यसको अलावा सामूहिक रूपमा साकेलामान्ने किरातीहरू भित्रै विविधता छ। 'दस राई एक भान्सा' भनी चिनिने किरातराईहरूभित्रै फरक–फरक भाषा बोलिनु,र अहिले आएर 'पदवी' र 'थर' बीचको फरकपनाको बुझाइ र खोजाइले त्यस्ता विविधता बाहिर देखिन थप बल पुगको छ। त्यसो त 'राई' शब्दावली बाउबाजेकोपालादेखि भिर्दै आएको नासो हो। त्यही शब्दावली प्रत्येक आधिकारिक प्रमाणपत्रमा अंकित भएर बसेको छ। यद्यपि यसबारेमासत्य तथ्य इतिहास कोटयाउने, अध्ययनअनुसन्धान गर्ने र आफ्‍नो सही पहिचान खोतल्ने काममा केही व्यक्तित्व सक्रिय छन्।

आजकाल राई भन्नासाथ कुन राई? भनेर प्रश्न वा जिज्ञासा नराख्ने किरातीहरू विरलै भेटिन्छन्। यो प्रश्न जातीय नश्ल पहिचान तथा स्वपहिचानको खोजीको क्रममा सिर्जना हुँदै आएको चेतनाले ल्याएको हो भन्दा अत्युक्ति नहोला। 'राई' शब्दावलीको सट्‍टा कुलङ, थुलङ, बाहिङ, चाम्लिङ, लोहोरुङ, याम्फू, पुमा, दुमी, लगायतका आ–आफ्‍ना थर लेख्ने अभ्यास दिनानुदिन बढ्‍दो छ। त्यही अनुरुप प्रमाणीकरणको चरणमा आफ्‍नो स्वपहिचान कायम हुनुपनेतर्फ पनि धेरैको जोड रहेको छ। 'आदिवासी जनजातिसूचि परिमार्जन उच्चस्तरीय कार्यदल' समक्षपरेका पहिचान आवेदनले त्यसलाई पुष्टि गर्छ।

किरातीहरूको सन्दर्भमा 'एक जाति किराती, बहुभाषा बहुसस्कृति' भन्ने प्रसिद्ध वाक्यले किरातीहरूको वास्तविक चिनारी बोकको छ। किनकी बहुभाषा बोल्ने र जातीयता तथा भौगोलिकताको आधारमा भिन्न संस्कृति बोकका किरात राई, सुनवार,याक्खा, लिम्बुलगायतकाहरू भए पनि किराती जातिकै पहिचानभित्र समेटिदै आएका छन्। यी किरातीहरूबीचको विविधताभित्रकै एकतामध्ये एउटा संस्कृतिले राष्ट्रिय पहिचान कायम गरिसकेको छ। जसलाई साकेला नामले पुकारिन्छ। यो साकेला शब्द सबै किराती भाषाहरूमा फरक फरक रूपमा अभिव्यक्त गर्ने गरेको पाइन्छ। माझ किराँत क्षेत्रमा 'साकेला', 'साक्खेवा' वा 'साकेन्वा',पल्लो किरात क्षेत्रमा 'साखेवा' र ओल्लो किरातमा 'स्याँदर सील' नामले पुकारिन्छ। जे नामले पुकारे पनि साकेलाको अर्थ, यसको ऐतिहासिकता र मिथकमा लगभग समानता पाइन्छ। यस साकेवा संस्कृति वा चाडको उपलक्ष्यमा नेपाल सरकारले समेत राष्ट्रिय बिदा दिइसकेको छ। यसले साकेला संस्कृतिको प्रवर्द्धन तथा संरक्षणको बाटो फराकिलो बनाएको छ। यहाँनेर यो मौकालाई किरातीहरूले कुन रूपमा उपयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ।

साकेला परम्पराले किरातहरूको पहिचानलाई वृहत रूपमा फैलाउन सघाएको मात्र छैन, उनीहरूको मौलिक र सांस्कृतिक पक्ष उजागर समेत गरेको छ। तसर्थ साकेला किरातहरूको एउटा मौलिक–सामूहिक परम्परा हो, जसले समाजमा उनीहरूको अस्तित्व जोगाउन र फैलाउन सघाएको छ। यसरी साकेला परम्पराले केही हदसम्म किरातीहरूको एकतालाई धान्दै आएको मान्न सकिन्छ। एकातिर उनीहरूको मौलिक–संस्कृतिको निरन्तरता र जगेना भइरहेकोछ। अर्कोतिर आपसी सद्‍भावसहित नयाँपुस्तामा संस्कृति तथा परम्परागत ज्ञान,शैली, कला हस्तान्तरण समेत भइरहेको छ।

सबै किरातीहरू साकेला मान्न एकैथलोमा भेला हुन्छन्। त्यही भेलालाई नियाल्दाखेरी पनि किरातीहरूभित्र रहेको बहुसस्कृतिको अस्तित्व भेटिन्छ। बेग्लाबेग्लै समूह–समूह अनुसारकै साकेला सिली टिप्ने (चराचुरुङ्गीको हाउभाउ, खेतीपाती गर्नेशैली, शृगारका शैलीको नक्कल गर्ने) कला, पहिरन, भेषभूषा तथा सांस्कृतिक पक्षहरू देख्न सकिन्छ। यसरी साकेला चाडले यस्ता विविध खाले कला–संस्कृति,परम्पराको माध्यमबाट सहअस्तित्व र सहपहिचानको समन्वय र जगेना गर्दै आइरहेको देखिन्छ। अहिले समग्र नेपालको पुनसंरचनाको चटारोको बखतमा किराती जातिभित्रको बहुभाषा र बहुसांस्कृतियुक्त सामूहिक पहिचान पनि संक्रमणकालिन अवस्थामा रहेको छ। तैपनि साकेला संस्कृतिको महत्व र आकर्षणमा भने कमी आएको छैन।

अध्येता डा. लाल–श्याँकारेलु रापचा भन्छन्, 'किराती जातिको सांस्कृतिक धरोहर साकेला सिली नै हो।' साकेला सिलीको विविधताकै अध्ययन अनुसन्धानमार्फत प्रकृति–भौगोलिक–वातावरणीय विशेष जीवजन्तु तथा पुर्खासम्म पुग्न सकिने उनको तर्क छ। केही अनुसन्धाताहरूको प्रयास र अभ्यासले उनको तर्कलाई बल पनि मिलेको छ। यसरी किरातीहरूको ऐतिहासिकता र सांस्कृतिक पक्षलाई साकेला संस्कृतिले समेटदै आइरहेको बुझिन्छ।

एउटा पश्चिमा मिथक छ, प्राचीनग्रीकमा सबै मानिसहरू एकै भाषा बोल्थे। भगवान् नै उनीहरूको लागि सम्पूर्ण कुरा थियो । उनीहरूले भगवान‌्‍सम्म पुग्न सक्ने टावर बनाउन थाले- 'बाबेलको टावर'। उनीहरूबीचमा भाषिक एकता थियो। समन्वय थियो। समझदारिता थियो। दिनानुदिन टावरको उचाइ आकाशिदै गयो। सामान्य मानिसहरू पनि भगवा‌न‌्‍को स्थानसम्म पुग्न सक्ने र त्यसको प्रभावबाट बच्न भगवान‌्‍ले जुक्ति रचे। ती मानिसहरूबीचको एकता तोडीदिए। मानिसहरूबीच फरक-फरक भाषा उत्पन्न गराइदिए। त्यसपछि कसैले कसैको कुरा बुझेनन्। मानिसहरूबीच असमझदारिता, अन्यौलता र एकलकाँटेपना शुरु भयो। र भगवान‌्‍सम्म पुग्ने माध्यम बाबेलको टावर अलपत्र पर्‍यो।

मिथकमा भाषिक विविधताले उनीहरूबीचको समन्वय, समझदारितामा खलल पुग्यो। र सामूहिक उद्देश्य प्राप्तिकोमार्ग र अभ्यास बीचैमा तुहियो ।किरातीहरूको सन्दर्भमा भाषामा अवश्य पनिविविधता छ। तर, भाषिक विविधताको बाबजुद अहिलेसम्म समग्र किरातकै पहिचान बोक्दै आइरहेका छन्। भाषाको कुरा गर्दा, लिम्बु बाहेक 'राई-किराती' भन्ने साझा नामभित्र सबै किरातीहरूको भाषालाई समावेश गरिएको छ। यद्यपि राई-किराती भाषाभित्र समेटिएका भाषाहरू परस्परमा नबुझिने खालका छन्। पछिल्लो जनगणनाले २५ ओटा राई भाषाहरू देखाएको छ। तर जर्मन सरकारले सन् १९८१-८४ ‍मा गरेको सर्वेक्षणमा ३४ ओटा राई-किराती भाषाहरू किटान गरेको छ। सर्वेक्षण तथा जनगणनाले जे-जति संख्या तोकको भएपनि किरात राईहरू भित्रको भाषिक विविधताको प्रमाण मिलेको छ।

भाषिक तथा अन्य विविधता कै कारणले बाबेलको टावर अलपत्र परेझेँ किरातीहरूको सामूहिक उद्देश्य र पहिचान अलपत्र पर्नबाट जोगाउँनेतर्फ सोच्नुपर्ने बेला पनि आइसकेको छ। स्वपहिचानको खोजीमा किरातीहरू एकापसमा पूर्ण रूपमा विभक्त हुन सक्दैनन्। तर समन्वय र एकताको खाँचो रही नै रहन्छ। समन्वय तथा एकताको एउटा माध्यम हो- साकेला संस्कृति। त्यसैले किरातीहरूको लागि सांस्कृतिक पाटोबाटमात्र नभई थुर्पै पाटोबाट साकेला एउटा मियो बन्न सक्छ। त्यसका लागि साकेला संस्कृतिलाई शुद्ध मनोरञ्जन, रमझम, खानपान, जमघटको मात्रै बहाना बन्ने सम्भावनाबाट मुक्त गर्नुपर्छ।

Friday, November 27, 2009

ककस समूह र आदिवासी जनजाति महिला

अन्तरिम व्यवस्थापिकामा नियमानुसार महिला सभासद्‍ समिति (ककस) स्थापित भयो। औपचारिक समिति भएकोले त्यो शक्तिशाली पनि थियो। संविधान सभा गठन भएपछि महिला समिति बनाउने भनेर त्यसलाई भंग गरियो। तर महिला समिति बन्न सकेन। न त महिला ककसबारे नियमावलीमा उल्लेख नै गरियो। संविधानसभामा संलग्न सबै सरोकारवाला समूहहरु (महिला, दलित, जनजाति, मधेसीलगायतका)लाई औपचारिकता दिन नसकिने व्यवस्थापकीय र व्यवहारिक कारण देखाइ ककसलाई औपचारिकता दिइएन।

संविधान सभा भन्दा पहिले संख्यात्मक हिसाबले महिलाहरु कम रहेकोले सामूहिक आवाज बनाउन एउटा 'प्लेटफर्म'को खाँचो थियो। अहिले त्यो संख्यामा गुणोत्तर वृद्धि भएको र अन्य सरोकारवाला समूहहरुलाई समेत ध्यान दिँदा आर्थिक भार बढ्‍ने, संयोजनलगायतका पक्षमा व्यवहारिक कठिनाइ थपियो। त्यसो हुँदा संविधानसभामा ककसले औपचारिकता पाउनुपर्ने अडान त्याग्नु परेको महिला ककसकी संयोजक दामाकुमारी शर्मा बताउँछिन्। उनी भन्छिन्– 'व्यवहारिक र प्राविधिक पक्षलाई बुझेर हामी सहमत नहुँदा नहुँदै पनि सहमत हुन बाध्य भयौँ।'

संविधान निर्माणको क्रममा महिला सरोकारका विषय उठान गर्नु र त्यसको कार्यान्वयनको लागि दबाब दिनु अझ महत्वपूर्ण कुरा हो। त्यसैले साझा सवालमा सभासद्‍हरु एउटै मियोमा बाँधिनको लागि अनौपचारिक समूह बनाउन सकिने सहमति भयो। त्यही अनुरुप नयाँ संविधान लैंगिक मैत्री बनाउन, समग्र महिलाहरुको हक अधिकारका लागि एकजुट हुन, दलगत प्रतिनिधित्वको अलावा महिलाका पक्षमा सामूहिक आवाज मुखरित गर्न १ सय ९७ जना महिलाहरुको अनौपचारिक समूह बन्यो। त्यस्तै गरी दलित सभासद्‍हरूले 'दलित सभासद्‍ मञ्च' र आदिवासी जनजाति सभासद्‍हरुले 'आदिवासी जनजाति सभासद्‍ सभा' गठन गरे।

अहिले सडक, सदन हुँदै संविधानसभामाफत जनजाति महिलाहरुको वास्तविक सवाल र प्रतिनिधित्व गराउने एक माध्यम हुन्- सभासद्‍ समूह (ककस)। जनजाति महिलाहरुको सन्दर्भमा जनजाति ककस र महिला ककसले उत्तिकै प्रभावकारी भूमिका खेल्न सक्छन्। २०६५ माघमा अनौपचारिक रुपमा जनजाति सभासद्‍ सभा गठन भएपनि २०६६ साउनमा आएर मात्र औपचारिक रुपमा घोषणा भयो। उक्त घोषणामा २१८ जनजाति सभासद्‍मध्ये १२५ जना सभासद्‍हरुले साझा अवधारणापत्रमा हस्ताक्षर गरे। त्यसमध्ये विभिन्न दल (एनेकपा माओवादी, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माले, राष्ट्रिय जनशक्ति पार्टी)का प्रतिनिधि गरी ३८ जना महिलाहरु संलग्न छन्। साझा अवधारणापत्रमा "आदिवासी जनजाति महिलाको पहिचानलाई स्थापित गर्न र आदिवासी जनजाति महिला विरुद्ध हुने सबै प्रकारको जातीय र लैंगिक विभेद अन्त्य गर्नको लागि संवैधानिक, कानूनी र प्रशासनिक व्यवस्थाको सुनिश्चितता" भनी उल्लेख गरिएको छ। यो वाक्यांशलाई कुनै हिसाबले सही ढंगमा अब बन्ने संविधानमा समेट्‍न सकिएमा मात्रै पनि जनजाति महिलाका पहिचान र अधिकार सुनिश्चित हुन्छ। आदिवासी जनजाति महिला, आदिवासी जनजाति र सम्पूर्ण महिलाहरुबीच तालमेल र सही बुझाइ भएमा त्यो काम सम्भव हुन्छ।

अन्य ककसको दाँजोमा महिला ककसको सक्रियता निकै छ। संविधान सभा निर्माणमा पुगेका महिलाहरुले १९ वटा राजनैतिक दलको साथै विभिन्न वर्ग, धर्म–संस्कृति, समूह–समुदाय र आदिवासी–जाति–जनजातिको प्रतिनिधित्व गरेका छन्। दलगत प्रतिनिधित्वसँगसँगै विविध प्रतिनिधित्व र सहभागिताप्रति महिला ककसको चासो के–कस्तो छ? भन्ने चाहिँ अति महत्वपूर्ण विषय हो।

नेपाली महिलाका अधिकारलाई सकेसम्म संविधान सभामाफत सुनिश्चित गर्ने उद्देश्यले महिला सभासद्‍हरु 'संसदीय महिला आन्दोलन'मा उत्रेका छन्। उनीहरूले प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष ज्ञापनपत्र पेश गर्दै अन्तरिम संविधानले व्यवस्था गरेअनुरुप मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागी नभए व्यवस्थापिका संसद अबरुद्ध गर्ने समेत चेतावनी दिएका थिए। महिला ककसभित्रै पनि २३ सदस्यीय समिति छ। त्यसमा एनेकपा माओवादीका ३ जना, नेकपा एमाले र नेपाली काँग्रेसका २/२ जना र अन्य १६ वटा दलबाट १/१ जनाको प्रतिनिधित्व छ। प्रारम्भिक अवधारणापत्र तयार पार्ने काममा ५ जनाको उपसमिति बन्यो। उक्त उपसमितिमा माओवादीका दामा कुमारी शर्मा र रुपा विक, काँग्रेसका इश्वरी न्यौपाने र मोहमदी सिद्धिकी र नेकपा एमालेका उषाकला राई संलग्न थिए। पछिल्लो समयमा महिला ककसले तीनवटा विषयगत उपसमितिहरु गठन गरी संविधान निर्माण, व्यवस्थापिका र महिला माथि हुने हिंसासम्बन्धी सवालहरुमा आफ्नो क्रियाकलाप केन्द्रित गरेको छ । यसको संयोजक क्रमश: उषाकला राई (नेकपा एमाले), इश्वरी न्यौपाने (नेपाली काँग्रेस) र कल्पना राणा (नेकपा संयुक्त) रहेका छन्।

विशेषगरी विभिन्न दलका प्रतिनिधिहरुलाई समग्र महिलाको साझा सवालमा एकीक ृत गराउने, बाहिरका महिलाका सवाललार्इ सदनमा उठाउने, आ–आफ्नो पार्टी तथा संविधान सभा समितिहरुमा महिलाका मुद्दाहरु राख्ने काममा महिला ककस सक्रिय छ। विभिन्न विषयगत दशवटा समिति र संवैधानिक समितिसमेतलाई महिला ककसले आफ्नो अवधारणापत्र बुझायो। अवधारणापत्रमार्फत मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वमा कुनैपनि प्रकारले लैंगिक विभेद हुनु हुँदैन भन्नेतर्फ नै महिला ककसले दबाब दिइरहेको छ। लैंगिक विभेदको अन्त्य र महिलामाथि हुने हिंसा निर्मूलबारे प्रस्तावनामा उल्लेख गरिनुपर्ने र 'महिलाका अधिकार' भनेर संविधानमा छुट्टै धारा राख्नुपर्ने वा विशेषाधिकारको व्यवस्था हुनुपर्ने, एकल महिला, बादी महिला, जेष्ठ नागरिकहरुको हकमा उनीहरुले प्रस्तावना पेश गरेका छन्। यसरी हेर्दा महिलाभित्रको विविधता केही हदसम्म झल्किन्छ।

लामो समयदेखि चलेको नेपाली महिला आन्दोलनले उठाउँदै आएको लैंगिक मुद्दा सम्पूर्ण महिलाको सरोकारको विषय हो। तर त्यो आन्दोलनले सम्पूर्ण नेपाली महिलाहरुको हकमा प्रभावकारी भएन। आदिवासी जनजाति महिला, दलित महिला, मधेसी महिला, मुस्लिम महिलाहरुको फरक फरक आन्दोलन र आवाज उठ्‍नु यसैको नतिजा हो। लैंगिक मुद्दाले मात्रै सबै महिलाहरुको समस्यालाई सम्बोधन गर्दैन भन्ने स्पष्ट छ। संविधान निर्माणको प्रक्रियामा महिला अधिकारको पक्षमा निरन्तर खबरदारी गर्न विविध पृष्ठभूमि बोकेका सबै महिलाहरु एकै थलोमा आउनैपर्ने आवश्यकता छ। साथै महिलाका फरक फरक पृष्ठभूमि र सरोकारका विषयहरुको आधारमा सामूहिक दबाब दिने काम पनि सँगै हुनुपर्छ। किनकि जातीय, भाषिक, वर्गीय, सामाजिक–सांस्कृतिक मुद्दाहरु पनि विविध नेपाली महिलाहरुको लागि उत्तिकै महत्वपूर्ण छन्।

विविध जाति, वर्ग, सिमान्तीकृत, अल्पसंख्यक महिलाका प्रतिनिधित्व सुनिश्चित हुने अचुक सूत्र समावेशीता र समानुपातिकता नै हो भन्ने धेरैको तर्क छ। यो सूत्र महिला तथा जनजातिको सन्दर्भमा पनि लागू हुन्छ। त्यत्ति हुँदाहुँदै पनि आदिवासी जनजाति महिला सभासद्‍हरुले लैंगिक र जातीय मुद्दालाई गाँसेर लैजानुपर्ने आवश्यकता छ। जनजाति ककस र महिला ककसबीच जातीय तथा लैंगिक सवालमा सामूहिक रुपमा औपचारिक/अनौपचारिक छलफल भएको छैन। महिला ककसमा संलग्न जनजाति महिलाहरुले लैंगिक मुद्दा उठानमा सघाइरहेका छन्। त्यस्तैगरी जनजाति ककसमा संलग्न जनजाति महिलाहरुको ध्यान जातीय मुद्दामै बढीजसो केन्दि्रत भएको छ। जातीय र लैंगिक मुद्दा जनजाति महिलाको प्रत्यक्ष सरोकारको विषय हो। त्यसैले आदिवासी जनजाति महिला सभासद्‍हरु आफै पनि जातीय र लैंगिक मुद्दाको संयोजनमा लाग्नुपर्ने देखिन्छ। यसमा विभिन्न ढाँचामा जनजाति महिलाबारे बाहिरबाट आवाज उठाउने सबैको साथ र दबाबको उत्तिकै खाँचो छ।
(फोटोः देवान राई र रिता राज)।